आर्थिक वर्षको पहिलो ७ महिनामा वाणिज्य बैंकहरूको नाफा सामान्य घट्यो

काठमाण्डौ- चालू आर्थिक वर्षको माघ मसान्तसम्म देशका २० वाणिज्य बैंकहरूले ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५.४ प्रतिशतले कम हो ।

साउनदेखि माघसम्मको अवधिमा १० वटा वाणिज्य बैंकको नाफा बढेको छ भने बाँकी १० बैंकको नाफा घटेको छ । नाफा कमाउनेमा नबिल बैंक ५ अर्ब ३८ करोड रुपैयाँसहित पहिलो स्थानमा छ । यस्तै दोस्रोमा ग्लोबल आईएमई बैंकले ४ अर्ब १४ करोड र तेस्रोमा कुमारी बैंकले ३ अर्ब १७ करोड रुपैयाँ कमाएका छन् ।

नाफा वृद्धिमा कुमारी बैंक सबैभन्दा अगाडि रहेको छ, जसको नाफा अघिल्लो वर्षको तुलनामा ३ सय २९ प्रतिशतले बढेको छ । सिद्धार्थ बैंकको नाफा झन्डै दोब्बर अर्थात् ९९.५७ प्रतिशतले वृद्धि भएको छ । नाफामा सबैभन्दा ठूलो गिरावट लक्ष्मी बैंकमा देखिएको छ ।

लक्ष्मी बैंकको नाफा ८४.७३ प्रतिशतले घटेर जम्मा २४ करोड २७ लाखमा सीमित भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन्स बैंकको नाफा पनि ३६ प्रतिशतभन्दा बढीले घटेको छ ।

 

नेप्सेमा सामान्य अंकको वृद्धि

काठमाडौं- सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अंकले बढेर २८२४.९० बिन्दुमा कायम भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्से २३.८७ अंकले बढेको थियो ।

आइतबार नेप्सेमा कुल १४ अर्ब ३२ करोड माथिको कारोबार भएको छ । बिहीबार भने नेप्सेमा कुल १३ अर्ब ९४ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएकामध्ये १२४ कम्पनीको सेयर मूल्य बढ्दा १३० कम्पनीको घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

नेपाल र हङकङको मैत्रीपूर्ण खेलका लागि ४९ खेलाडी प्रारम्भिक प्रशिक्षणमा

काठमाडौं : नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेलका लागि ४९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । बिहीबार नियुक्त भएका नयाँ प्रशिक्षक गुल्लिएल्मो एरेनाले ४९ जनाको जम्बो टोली घोषणा गरेका हुन् ।

नेपालले चैत १२ मा दशरथ रंगशालामा हङकङविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने छ  । यो मैत्रीपूर्ण खेल नेपालले एएफसी एसियन कप लाअ‍ोसविरुद्धको खेलअघि तयारी स्वरुप खेलिने छ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु : 

अभिषेक लिम्बू, आदित्य शाक्य, अजय चैधरी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आविष्कार खड्का, आयुष घलान, भरत खवास, विशाल सुनार, दिप कार्की, दिपेश गुरुङ, दिनेश हेन्जन, दिवाकर चौधरी, जर्ज प्रिन्स कार्की, जिलेस्पी जंग कार्की, किरण चेम्जोङ, किरण सुनार, केतिश रत्न छुन्जु, कुशल देउवा, लक्ष्क्षु थापा, लकेन लिम्बू, मणि लामा, मनिष डाँगी, मिलन राई, नवयुग श्रेष्ठ, ओसेन्द्र कटुवाल, पदम भट्टराई, पदम कुमार तामाङ, पेमा दोर्जे लामा, प्रदिप बुढाथोकी, प्रदिप लामा, प्रताप सिंह राई, रामबाबु कुमार शाह, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सकल रेग्मी, सनिस श्रेष्ठ, सरोज तामाङ, शंकर थारु, सेजन राज गौतम, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, सुरज गुरुङ, योगेश धिमाल, योगेश गुरुङ र युवराज खड्का ।

आठ महिनाको विकास खर्च १९ प्रतिशत मात्रै

काठमाण्डौ – चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको पुँजीगत खर्च अत्यन्त कमजोर रहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार दोस्रो चौमासिक अवधिसम्ममा जम्मा १९.२४ प्रतिशत मात्र पुँजीगत खर्च भएको हो ।

सङ्घीय सरकारको कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेटमध्ये फागुन मसान्तसम्म ९ खर्ब २६ अर्ब ५८ करोड रुपैयाँ अर्थात् ४७.१८ प्रतिशत खर्च भएको छ । चालू शीर्षकमा ५४.३७ प्रतिशत र वित्तीय व्यवस्था शीर्षकमा ५४.८९ प्रतिशत खर्च भएको छ ।

यस्तै राजस्वतर्फ वार्षिक लक्ष्यको ४९.८९ प्रतिशत अर्थात् ७ खर्ब ६५ अर्ब १० करोड रुपैयाँ सङ्कलन भएको छ । कर राजस्वमा ५१.४ प्रतिशत र गैरकर राजस्वमा ४५.७८ प्रतिशत असुली भएको छ । वैदेशिक अनुदान भने वार्षिक लक्ष्यको २४.७८ प्रतिशत मात्र प्राप्त भएको कार्यालयले जनाएको छ ।

 

दृष्टि दोष पहिचान गर्न ‘विद्यालय आँखा जाँच’ कार्यक्रम

कञ्चनपुर- विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखामा देखिने दृष्टि दोष समयमै पत्ता लगाई उपचारको व्यवस्था गर्न कञ्चनपुरमा ‘विद्यालय आँखा जाँच कार्यक्रम’ सञ्चालन गरिएको छ । बालबालिकाको अध्ययनमा प्रत्यक्ष प्रभाव पार्ने दृष्टि समस्यालाई समयमै पहिचान गरी समाधान गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो ।

नेपाल नेत्रज्योति सङ्घको आर्थिक सहयोग तथा गेटा र महेन्द्रनगर आँखा अस्पतालको समन्वयमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत जिल्लाका १० सरकारी तथा सामुदायिक विद्यालयका करिब तीन हजार विद्यार्थीको आँखा परीक्षण गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममार्फत विद्यालयमै पुगेर विद्यार्थीको आँखा जाँच गर्ने, दृष्टि दोष पत्ता लगाउने र आवश्यक उपचारको व्यवस्था मिलाइने भएको छ ।

गेटा–महेन्द्रनगर आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत वीरसिंह धामीका अनुसार विद्यार्थीमा देखिने दृष्टि समस्यालाई प्रारम्भिक चरणमै पहिचान गर्न विद्यालयमै पुगेर आँखा परीक्षण गर्ने अभियान सञ्चालन गरिएको हो । विद्यार्थीको आँखा जाँच गरी दृष्टि दोष देखिएमा तत्काल आवश्यक परामर्श दिने गरेका छौँ । चश्मा आवश्यक पर्ने विद्यार्थीलाई निःशुल्क चश्मा, औषधि उपलब्ध गराउने र उपचार आवश्यक परे गेटा तथा महेन्द्रनगर आँखा अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाएका छौँ ।

उनका अनुसार विद्यालय उमेरका बालबालिकामा दृष्टि दोष देखिने समस्या बढ्दो क्रममा छ । एक अध्ययनले विद्यालयमा अध्ययनरत करिब ३.५ प्रतिशत विद्यार्थीमा दृष्टि दोष हुने देखाएको छ । यस्तो समस्या समयमै पत्ता नलागेमा बालबालिकाको अध्ययनमा ध्यान केन्द्रित गर्ने क्षमता र समग्र शैक्षिक उपलब्धिमा असर पर्ने सम्भावना रहने वरिष्ठ नेत्र अधिकृत धामीले बताए । विद्यालयमा पढ्ने बालबालिकाले आफ्ना समस्या सहज रूपमा अभिव्यक्त गर्न नसक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक पर्ने उनको भनाइ छ ।

हालसम्म दोधरा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका तीनवटा विद्यालयमा आँखा जाँच कार्यक्रम सम्पन्न भइसकेको छ । ती विद्यालयका एक हजार १५५ विद्यार्थीको आँखा परीक्षण गरिएको छ । परीक्षणका क्रममा ६५ विद्यार्थीमा दृष्टि समस्या देखिएपछि निःशुल्क चश्मा वितरण गरिएको छ भने २७ जना विद्यार्थीलाई थप उपचारका लागि गेटा तथा महेन्द्रनगर आँखा अस्पतालमा रेफर गरिएको वरिष्ठ नेत्र अधिकृत धामीले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत एक सय ५० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गर्ने लक्ष्य राखिएको छ । यससँगै आवश्यक पर्ने विद्यार्थीलाई औषधि वितरण तथा उपचार सेवा पनि निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ । उनी भन्छन्, “बालबालिकामा दृष्टि दोष हुने प्रमुख कारणमा आँखाको कमजोरी, लामो समयसम्म मोबाइल वा टेलिभिजन प्रयोग, अपर्याप्त प्रकाशमा पढाइ, पोषणको कमी तथा आनुवंशिक कारणसमेत रहने गर्छन्, यस्तो समस्या समयमै पत्ता नलागे बालबालिकाले बोर्डमा लेखिएको कुरा स्पष्ट देख्न नसक्ने, पढाइमा रुचि कम हुने, टाउको दुख्ने वा आँखा दुख्ने समस्या देखिन सक्छ ।”

वरिष्ठ नेत्र अधिकृत धामीले अभिभावकलाई आफ्ना बालबालिकाको दृष्टि अवस्थाबारे समय–समयमा जानकारी लिन आग्रह गरे । उनका अनुसार विद्यालय प्रशासनले माग गरेमा चिकित्सकसहितको टोली विद्यालयमै पुगेर निःशुल्क आँखा परीक्षण सेवा प्रदान गर्न तयार रहेको छ । यसले ग्रामीण तथा दूरदराजका विद्यार्थीलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने अपेक्षा गरिएको छ ।

“बालबालिकाको आँखा राम्रो भएमात्र उनीहरूको सिकाइ प्रक्रिया प्रभावकारी हुन्छ”, अधिकृत धामीले भने, “दृष्टि स्पष्ट भएमा पढाइमा ध्यान केन्द्रित गर्न, पाठ्यपुस्तक पढ्न तथा कक्षाकोठामा शिक्षकले सिकाउने विषयवस्तु बुझ्न सजिलो हुन्छ, त्यसैले विद्यालयस्तरमै आँखा परीक्षण गर्नु महत्त्वपूर्ण हुन्छ ।” -रासस

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन उनको निवास भक्तपुर गुण्डु पुगेकी छिन् ।

पिता मोहनप्रसाद ओलीको निधनपछि शोकमा रहेका अध्यक्ष ओलीलाई सान्तवना दिन प्रधानमन्त्री कार्की गुण्डु पुगेकी हुन् । उनले ओलीका पिता मोहनप्रसादको तस्वीरमा श्रद्धाञ्जली अर्पण गरेकी छिन् । यसअघि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी गुण्डु पुगेर अध्यक्ष ओलीलाई सान्तवना दिएकी थिइन् ।

ओलीका पिताको ९७ वर्षको उमेरमा भक्तपुरको नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको थियो। ओलीलाई यसअघि नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता वालेन शाहलगायतले समवेदना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा अफवाह नफैलाउन यूएईमा रहेका नेपालीलाई राजदूतावासको आग्रह

काठमाण्डौ- संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन र असुरक्षा सम्बन्धी सामग्री पोस्ट नगर्न आग्रह गरेको छ । यूएईमा विकसित सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै दुतावासले अप्रमाणित सूचना सामाजिक सञ्जालमा फैलाउनेलाई कडा कानूनी कारबाही हुन सक्ने चेतावनी पनि दिएको छ ।

राजदूतावासले जारी गरेको तेस्रो परामर्शमा यूएईको कानून बमोजिम त्यस्ता गैरकानूनी कार्यमा संलग्न व्यक्तिलाई कम्तीमा एक देखि दुई वर्षसम्म जेल सजाय र १ लाखदेखि २ लाख दिरहामसम्म जरिवाना हुन सक्ने उल्लेख छ ।

राजदूतावासले युएईमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई अज्ञात स्रोतबाट आएका हल्ला प्रसार नगर्न र तस्बीर तथा भिडिओ पोस्ट नगर्न भनेको छ । साथै, मिसाइल आक्रमण तथा आक्रमण निस्तेज पारिएका र जमिनमा झरेका टुक्राहरुको फोटो खिच्ने, नजिक जाने र छुने कामबाट टाढा रहन पनि राजदूतावासले अनुरोध गरेको छ ।

यूएई सरकारले निर्दिष्ट गरेका सुरक्षा मापदण्डहरू पूर्णरूपमा पालना गर्न र साथीभाइलाई पनि जानकारी दिन राजदूतावासको आग्रह छ ।

रास्वपाले टुंग्यायो समानुपातिक सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । आइतबार (चैत १) बसेको सचिवालय बैठकबाट ५७ जनाको नाम चयन गरिएको पार्टीका प्रवक्ता मनिष झाले बताए ।

खसआर्य १७, जनजाति १६, दलित आठ, मुस्लिम तीन, मधेसी नौ र थारू क्लस्टरतर्फ चारजनाको नाम टुंगो लगाइएको उनले जानकारी दिए । यसमध्ये ४८ महिला रहेका उनले बताए ।

यो नामावली आजै निर्वाचन आयोगमा बुझाइने उनले जानकारी दिए । नामावली रुजु गरेर आयोगले नै सार्वजनिक गर्ने उनले बताए ।

इनिशा विकलाई न्याय माग्दै रौतहटमा प्रदर्शन

रौतहट– सुर्खेतको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय दिलाउन माग गर्दै रौतहटमा प्रदर्शन भएको छ । घटनाप्रति आक्रोश व्यक्त गर्दै युवाहरूले दोषीलाई कडा कारबाहीको माग गर्दै सडकमा हरेक दिन  प्रदर्शन गर्दै आएका छ्न् ।

युवाहरूले ‘इनिशालाई न्याय दे’, ‘बलात्कारीलाई फाँसी दे’, ‘महिला अधिकारको रक्षा गर’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सरकारलाई खबरदारी गरिरहेका छ्न् । प्रदर्शनकारीहरूले घटनामा संलग्न दोषीलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याई कडा सजाय दिनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

युवा अभियन्ता संजिप विश्वकर्माले नेपालमा यसअघि पनि महिला तथा बालिकामाथि हुने हिंसाका धेरै घटनामा पीडितले न्याय नपाएको उदाहरणहरू रहेको बताउदै दलितमाथीको  घटनामा न्याय नपाईने र यो अवस्था दोहोरिन सक्ने आशंका व्यक्त गर्दै दोषीलाई कुनै पनि बहानामा उम्काउन नहुने बताए।

ढिलो न्याय दिनु अन्याय सरह हुने भएकाले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने बिश्वकर्माले बताए ।  यस्ता घटनाहरू रोक्न सरकार, सुरक्षा निकाय र समाज सबै जिम्मेवार भएर लाग्नुपर्ने नागरिक समाजका अगुवाहरुको भनाइ छ ।

बलात्कार तथा महिला हिंसाका घटनामा संलग्न अपराधीलाई कानुन अनुसार कडा सजाय दिनैपर्ने साथै पीडितलाई न्याय दिलाउन राज्यले प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै हरेक दिन प्रदर्शन जारी रहेको छ ।  महिला तथा बालिकामाथि हुने हिंसाका घटनाविरुद्ध समाज एकजुट हुनुपर्ने आवश्यकता रहेको अधिवक्ता बिपीन गौतमको तर्क छ ।

सुर्खेतमा भएको उक्त घटनाले देशभर आक्रोश फैलाएको त छदै छ, घटनाले समाजको चित्र र सरकारको रबैया समेत प्रस्ट पारिदिएको गौतमले बताए ।

बैतडी सहित सुदूरपश्चिममा चैत लागेसँगै ‘भिटौलो सुरु’

वाशुलिङ बैतडी, चैत १ गते ।चैत महिना सुरु भएसँगै बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत ‘भिटौलो’ पर्व सुरु भएको छ ।

विशेषगरी बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ लगायतका जिल्लामा चैत महिनाभर माइती पक्षका दाजुभाइले विवाहित छोरीबहिनीलाई उनीहरूको घरमै पुगेर भेट्ने चलन रही आएको छ ।

भिटौलो सुदूरपश्चिमको पुरानो सांस्कृतिक परम्परा हो । यस अवसरमा दाजुभाइ तथा माइती पक्षका आफन्तले मीठोमसिनो परिकार, फलफूल, कपडा तथा अन्य सामग्री लिएर छोरीबहिनीको घरमा पुग्ने गर्छन ।

भेटघाटसँगै एकदुई दिन ससुरालीमै बसेर परिवारबीच दुखसुख साटासाट गर्ने चलन रहेको स्थानीय संस्कृतिका जानकार धीर बहादुर बिष्टले बताउछन्।

पहाडबाट तराईतिर बसाइँ सरेका परिवारले पनि यो परम्परालाई निरन्तरता दिँदै आएका छन । टाढा बसोबास गर्नेहरू पनि चैत महिनामा सकेसम्म छोरीबहिनीलाई भेट्न जाने प्रयास गर्छन ।

समाजमा चैत महिनाभित्र दिदीबहिनीलाई भेट्न नजाँदा अपशकुन हुने विश्वास पनि रहेको बिष्टले बताए ।यही कारणले दाजुभाइ कहिले भेट्न आउलान् भन्ने प्रतीक्षामा दिदीबहिनीहरू बाटो कुर्ने चलन अझै जीवित छ ।

आफ्ना दाजुभाइ नहुने महिलालाई छिमेकी वा गाउँका अरू दाजुभाइले पनि गएर भेट्ने परम्परा रहेको पाइन्छ ।भिटौलोले माइतीघरबाट पराइ घर गएकी दिदीबहिनीप्रति माया, सम्मान र आत्मीयता प्रकट गर्ने अवसर प्रदान गर्ने विश्वास गरिन्छ ।

यसले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सांस्कृतिक पहिचानका रूपमा लिइन्छ ।पहिले भिटौलो जाँदा घरमै उपलब्ध परिकार, अन्नबाली तथा घरेलु सामग्री लिएर जाने चलन थियो ।

पछिल्लो समय भने बजारबाट किनेर लैजाने सामग्रीको प्रयोग बढ्दै गएको पाटन नगरपालिका ३ का स्थानीय हेमन्ती पन्तले बताए।

भिटौलो पर्वका कारण चैत महिनाभर स्थानीय बजारमा पनि चहलपहल बढ्ने गरेको स्थानीय व्यापारी बिरेन्द्र भट्टले बताए।

परम्परादेखि चल्दै आएको यो चलन आज पनि सुदूरपश्चिमका समुदायमा दाजुभाइ र दिदीबहिनीबीचको मायाको प्रतीकका रूपमा जीवित रहेको शैल्यशिखर नगरपालिका ४ का स्थानीय धाना भट्टले बताए ।

 

रवि लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्ध रिटमा सुनुवाइ हुँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।

यसअघि फागुन २७ गते न्यायाधीशद्वय सपना मल्ल प्रधान र श्रीकान्त पौडेलको संयुक्त इजलासले नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको  थियो।

आदेशमा हेर्न नमिल्ने गरी पेशी नतोक्न र बीचमा स्थगन पनि नगर्न भनिएको छ। सोही आदेश बमोजिम आजदेखि लामिछानेविरुद्धको अभियोग फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुन लागेको हो।

गत माघ ६ गते न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले  विपक्षीको नाममा कारण देखाउ आदेश र अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश दिएको थियो।

माघ ८ गते डा.मनोज कुमार शर्मा र बालकृष्ण ढकालको इजलासमा सुनुवाइका लागि पेशी चढेपनि सो दिन हेर्न नमिल्ने सूचीमा परेको थियो। त्यसपछि माघ ११ गते न्यायाधीश डा.मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले अन्य आदेश जारी गरेको थियो। फागुन १५ गते सुनुवाइका लागि पेशी तोकिए पनि सुनुवाइ भएन।

अधिवक्ता दिनेश त्रिपाठी,युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ। रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन्।

साथै महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णय मुद्दाको अन्तिम निर्णय नभएसम्म कार्यान्वयन नगर्नु र कार्यान्वयन गर्न कुनै पनि कानुनी प्रक्रिया अवलम्बन नगर्नु -नगराउन अन्तरिम आदेशको माग समेत गरिएको छ।

महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने  निर्णय गरेको थियो। महान्यायाधिवक्ता सविता भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने  बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी थिइन्। उक्त निर्णयपछि प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका लामिछाने  चितवन-२ बाट भारी मतका साथ विजयी भइ संसदीय यात्रा तय गरेका  छन्।

लामिछानेले आफूविरुद्ध लगाइएका मुद्दामध्ये सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी कसूर गरेको भन्दै सरकारी वकिल कार्यालयले लगाएको अभियोग फिर्ता लिइदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए। त्यसपछि महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने निर्णय फिर्ता लिएकी थिइन्। उक्त निर्णयलगत्तै सर्वोच्चमा रिट परेको थियो।

मध्यपूर्व क्षेत्रका १४ देश छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन

इरानले मध्यपूर्वमा रहेका अमेरिकी अड्डाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई त्यस क्षेत्रका १४ वटा देश छाड्न अपील गरेको छ । अमेरिकी दूतावासले चेतावनी दिँदै तुरुन्तै इराक छाड्न भनेको बीबीसीले जनाएको छ ।

यसअघि हिजो बगदादमा रहेको अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार भएपछि अमेरिकाले आफ्ना नागरिकलाई इराक छाड्न भनेको थियो ।

इरान समर्थित लडाकु समूहहरूबाट उत्पन्न गम्भीर खतरालाई ध्यानमा राख्दै दूतावासले इराकमा बसिरहेका अमेरिकी नागरिकलाई स्वदेश फर्कन भनेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले हिजो ओमानबाट गैर–आपत्कालीन सरकारी कर्मचारी र सरकारी कर्मचारीका परिवारका सदस्यहरूलाई बाहिरिन आदेश दिएको छ ।  -एजेन्सी

डढेलो व्यवस्थापन सप्ताह आजदेखि शुरू

काठमाण्डाै – ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ आजदेखि ‘वन डढेलो व्यवस्थापन सप्ताह’ शुरू भएको छ ।

वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति २०६७ अनुसार हरेक वर्ष चैत १ देखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन सप्ताह’ मनाउँदै आएको छ । वनमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरी सप्ताह मनाउन लागिएको हो ।

वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना बढाउनु नै महत्त्वपूर्ण रहेको र सप्ताहका अवसरमा सबै डिभिजन वन कार्यालय, वन उपभोक्ता समूह, विकास तथा संरक्षण साझेदार संस्था तथा सम्बन्धित सरोकारवाला निकायलाई आ–आफ्नो कार्यक्षेत्रमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह  गरेका छन् ।

सप्ताहको अवसरमा जनचेतना अभिवृद्धि कार्यक्रम, समुदाय तथा विद्यालयस्तरीय अभिमुखीकरण, प्रचारप्रसार अभियान, जोखिमयुक्त क्षेत्रहरूको अनुगमन, वन क्षेत्रमा अग्निरेखा निर्माण, सरसफाइ तथा अन्य उपयुक्त डढेलो व्यवस्थापनसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले विशेषगरी सुदूरपश्चिम, बागमती र कर्णाली प्रदेशमा डढेलोको जोखिम उच्च देखिएको बताए । डढेलोको भौगोलिक वितरणले तराई–चुरे तथा मध्यपहाडी वन क्षेत्रमा जोखिम उच्च रहेको सङ्केत गरेको उहाँले जानकारी दिए ।

नेपालमा सुक्खायाम शुरू भएसँगै विशेषगरी फागुनदेखि जेठसम्म वन क्षेत्रमा डढेलो लाग्ने गर्छ । डढेलोका कारण वन स्रोत, जैविक विविधता, वातावरणीय सन्तुलन, जलस्रोत, मानव स्वास्थ्य तथा जनधनमा गम्भीर नकारात्मक प्रभाव पर्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि समयमै प्रभावकारी पूर्वतयारी, समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको विभागले जनाएको छ ।

घट्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लो कारोबारको तुलनामा आज सुन प्रतितोला चार हजार आठ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुन प्रतितोला तीन लाख नौ हजार चार सय रूपैयाँमा कारोबार हुँदै छ। अघिल्लो कारोबारमा सुन प्रतितोला तीन लाख १४ हजार दुई सय रूपैयाँमा कायम भएको थियो।

यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला दुई सय २५ रूपैयाँले घटेर पाँच हजार दुई सय ७० कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रचण्ड अब संसदका साक्षीमात्रै

काठमाडौं । गत साता चुनावी प्रचारका क्रममा रुकुम पूर्व पुगेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिना संकोच एउटा दाबी गरे, ‘म मात्रै हो अहिले नेपालमा एउटा नेता, जो जहाँ गएपनि चुनाव जित्छ ।’

चुनाव जित्नकै लागि आधा दर्जनपटक निर्वाचन क्षेत्र बदलेका र चुनावको मुखमा दुई दर्जन कम्युनिस्ट घटक जोडेका प्रचण्डले माओवादी आन्दोलनको आधार क्षेत्र रुकुम पूर्वबाट १० हजार २४० मत ल्याएर जित निकाले । रुकुम पूर्व माओवादी जनयुद्धमा अत्यधिक जनधनको क्षति भएको जिल्ला हो । यो पार्टीको जुनसुकै उम्मेदवार उठे पनि जित्ने क्षेत्र हो । प्रचण्डले मत पाएको हाराहारी त यहाँ पार्टी सदस्य र शुभचिन्तक नै छन् ।

यसरी चुनाव जितेपछि पनि प्रचण्डले बिना आत्ममूल्याङ्कन र स्वीकारोक्ति दिएको अभिव्यक्तिले नेपाली राजनीतिका केही गम्भीर प्रश्न र विरोधाभासहरू अद्यापि बाँकी रहेको संकेत गर्छ ।

प्रचण्डले जहाँ गए पनि चुनाव जित्ने ‘अजेय’ नेताको रूपमा आफूलाई प्रस्तुत गरे  । तर, तथ्यले अर्कै कथा भन्छ । रोल्पा र काठमाडौँ हुँदै, सिरहा, चितवन, गोरखा र अहिले रुकुम पूर्वसम्म आइपुग्दा उनले जतिपटक निर्वाचन क्षेत्र बदलेका छन्, त्यसले उनको आत्मविश्वास होइन, असुरक्षालाई संकेत गर्छ ।

यदि उनी साँच्चै जहाँ पनि जित्ने नेता हुन् भने, किन हरेक चुनावमा उनी ‘सुरक्षित आश्रय’ खोज्दै नयाँ जिल्ला पुग्छन् ? यो प्रश्नको उत्तर जनसाधारणलाई पनि थाहा छ । विभिन्न आन्दोलनबाट खारिएका सचेत मतदातालाई दिनदहाडै ढाँट्ने गरी प्रचण्डले दिएको अभिव्यक्तिले जेनजी आन्दोलनपछिका ओली अभिव्यक्तिहरूलाई सम्झाएका छन् ।

माओवादी आन्दोलन कुनै बेला नातावाद र कृपावादको कडा आलोचक थियो । तर, पछिल्लो दशकमा प्रचण्ड आफैं चरम परिवारवादमा फसेको आरोप लाग्दै आएको छ । सत्ता र शक्तिको आडमा छोरी र बुहारीलाई स्थापित गर्न खोजिएको भन्दै पार्टीभित्र र बाहिर चर्को आलोचना भयो ।

भलै भरतपुरमा गरेको कामका कारण छोरी रेनुलाई हेर्ने आम दृष्टिकोण फरक छ र उनीप्रति मतदाताको केही सहानुभूति पनि देखिन्छ ।

यसपटकको जनादेशले त्यसको निर्मम जवाफ दिएको छ- अवसर पाएका छोरी र बुहारी दुवै पराजित भए । तर, पार्टीका सुप्रिम कमान्डर भने सुरक्षित क्षेत्रमा गएर आफू मात्र जित्न सफल भए । पार्टीका धेरै शीर्ष नेताहरू पनि पराजित भएका छन् । यसले नेतृत्वले सिंगो आन्दोलनलाई भन्दा आफ्नो राजनीतिक स्वार्थलाई मात्र केन्द्रमा राख्यो भन्ने भाष्यलाई थप बलियो बनाएको छ ।

चुनाव जितेपछि टुटफुट र विभाजन हुने कम्यनुिस्ट पार्टी र समूहहरू चुनावको मुखमा एकजुट हुन्छन् । प्रचण्डले चुनावकै मुखमा साना-ठूला गरी दुई दर्जनभन्दा बढी कम्युनिस्ट पार्टी र समूहलाई एकता गर्दै विशाल कम्युनिस्ट केन्द्र बनाएको दाबी गर्थे । तर, ती एकता कागजमा मात्र सावित भए ।

२०६४ सालमा प्रत्यक्षतर्फ आधाभन्दा बढी सिट जितेर दुई तिहाइ बहुमत नजिक पुगेको पार्टी आज प्रत्यक्षतर्फ १०/१२ सिटमा अग्रता लिने दयनीय अवस्थामा आइपुगेको छ । रास्वपा जस्तो नयाँ दलले अभूतपूर्व जित निकाल्दै पुराना दलहरूलाई नराम्ररी खुम्च्याइदिँदा माओवादी पार्टी खुम्चिएर मरिच जस्तो बनेको छ । तर, पार्टी यो स्तरमा झर्दा पनि नेतृत्वले त्यसको नैतिक जिम्मेवारी लिएको देखिँदैन ।

संसदलाई ‘खसीको टाउको राखेर कुकुरको मासु बेच्ने पसल’ को उपमा दिँदै हजारौं नागरिकले ज्यान गुमाउने गरी युद्धको नेतृत्व गरेका प्रचण्ड आज त्यही संसदमा सानो आकारमा खुम्चिंदा पनि आफूलाई शक्तिशाली देखाउन तल्लीन छन् ।

सामान्य संसदीय खेलबाट होइन, हिंसात्मक आन्दोलनबाट संसदमा छिरेर ‘अहिले के को टाउको राखेर के को मासु बेच्नुहुन्छ कमरेड ?’ भनेर प्रश्न गरे उनले केही न केही जवाफ त देलान् तर त्यसबाट प्रश्नकर्तालाई चित्त बुझाउन भने मुस्किल हुनेछ ।

यद्यपि, प्रचण्डले सगर्व भनेका छन्, ‘थोरै सिट ल्यायो भनेर प्रचण्डलाई हेप्ने दुस्साहस नगरुन् । जंगलमा सिंह हिँडिसकेपछि अरुको के हालत हुन्छ, हामी सबैलाई थाहा छ ।’

उनको यो भनाइ सुन्दा उनकै विगत याद आउँछ । कुनै बेला कम्युनिस्ट आन्दोलनका पुराना हस्ती मोहनविक्रम सिंहविरुद्ध विद्रोह गर्दा प्रचण्ड भन्ने गर्थे, ‘आन्दोलन कहाँ पुग्यो थाहा छैन । जनता कहाँ पुगिसके थाहा छैन । आफू प्रमुख नेता हुन पाए भइहाल्यो ।’

आज प्रचण्ड ठ्याक्कै त्यही विन्दुमा उभिएका छन् । आन्दोलन छिन्नभिन्न छ, पार्टी खुम्चिएको छ । हिजोका आधार क्षेत्रहरूमा माओवादी आन्दोलनकै सहयोद्धाहरू भिडिरहेका छन् ।

उनी आफैं सहिद पुत्रलाई चुनाव हराएर विजयको अहंकार देखाइरहेका छन् । सडकमा विजय जुलुस निकालेर हिंडिरहेका छन् । तर प्रचण्ड अझै भनिरहेका छन्, ‘म नै संसदको सिनियर नेता हुँ ।’

प्रचण्डले अझ अगाडि बढेर भने, ‘कुनै पनि पूर्वप्रधानमन्त्रीले नजित्दा म एक्लो भएँ ।’ उनले आफ्नै पार्टीका सहसंयोजक पूर्वप्रधानमन्त्री माधव नेपालको पराजयको समेत जिम्मा लिन चाहेनन् । बरू त्यही नतिजामा गर्व गरे । सायद, प्रतिकूलतालाई अनुकूलतामा बदल्ने उनको यो पुरानै शैली हो ।

तर प्रचण्डले नभुलुन्, अब प्रतिकूलतालाई आन्दोलनको होइन, व्यक्तिगत अनुकूलतामा बदल्ने बानीले नै हो उनी चाउरिंदै गएका छन् ।

के प्रचण्ड संसदमा सिनियर नेता भएर उनले पार्टीको नीति लागु गर्न सक्छन् ? संसदका अब्बल प्रश्नकर्ता प्रेम सुवालले समेत यो चुनावमा पराजित भएको बिर्संदै प्रचण्डले आफ्नो अत्यधिक खुम्चिएको भूमिकालाई नजरअन्दाज गरिरहेका देखिन्छन् ।

आज रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो ।

प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज आइतबार बैठक बस्ने जानकारी गराएका छन् ।

उनले सभापति रवि लामिछानेको निर्देशानुसार सचिवालय बैठक आज बिहान १० बजेका लागि तय गरिएको सूचनामा उल्लेख गरेका छन् ।

प्रवक्ता झाका अनुसार बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने छ । बैठकका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिसको एजेन्डा तय गरिएको छ ।

 

इनिसा मृत्यु प्रकरण : चार किशोरको पोलिग्राफ र डिएनए परीक्षण गरिँदै

काठमाडौं ।  सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका चार किशोरको पोलिग्राफ र डिएनए परीक्षण सुरु गरिएको छ । पोलिग्राफ जाँच शुक्रबारबाटै सुरु भएकामा डिएनए परीक्षणका लागि चारैजनाको रगतको नमुना नेपाल प्रहरीको महाराजगन्जस्थित विधि विज्ञान प्रयोगशालामा ल्याइएको छ । साथै, बलात्कारपछि मुत्यु भएकी इनिसाको यौनांगबाट लिइएको स्वाब पनि प्रयोगशालामा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार शुक्रबारदेखि पोलिग्राफ जाँच सुरु भएको बताए । शनिबार बिदाका दिन भएकाले आइतबारदेखि निरन्तरता दिइने उनको भनाइ छ । ‘इनिसा बलात्कार घटनामा पक्राउ परेका चारमध्ये शुक्रबार एक किशोरको बयान भयो । त्यसलगत्तै पोलिग्राफ परीक्षण पनि भयो । शनिबार बिदा भएकाले अब आइतबारदेखि पुन: बयान र पोलिग्राफ परीक्षण हुन्छ,’ डिएसपी बुढथापाले भने, ‘बयान र परीक्षणपछि घटनामा संलग्न व्यक्ति यकिन होला ।’

चारै किशोरहरूको डिएनए परीक्षणका लागि रगतको नमुना र मृतक इनिसाको स्वाब प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको सुर्खेत प्रहरी प्रमुख सुधीरराज शाहीले जानकारी दिए । प्रयोगशालाबाट रिपोर्ट आएपछि मात्रै थप तथ्य खुल्ने उनले बताए । ‘पक्राउ परेका चार किशोरको रगतको नमुना र मृतकको स्वाब परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइएको छ । त्यहाँबाट रिपोर्ट आएपछि मात्रै घटनामा संलग्नबारे यकिन होला । अनुसन्धानमा प्राविधिक परीक्षणलाई पनि सावधानीपूर्वक हेरेका छौँ,’ उनले भने ।

सुर्खेतको गुर्भाकोट नगरपालिका– ६, बडाखोली स्थायी घर भई वीरेन्द्रनगर– १ बस्दै आएकी इनिसा २३ फागुनमा वीरेन्द्रनगर– ४ स्थित सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । लगत्तै उनलाई प्रादेशिक अस्पताल कालागाउँमा पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । यौनांगबाट अत्यधिक रक्तस्राव हुँदा उनको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ ।

जिप्रका सुर्खेतका अनुसार घटनामा संलग्न १६ वर्षीय एक किशोर घटना भएकै दिन पक्राउ परेका थिए । त्यसको भोलिपल्ट इनिसाको परिवारले सामूहिक बलात्कार भएको भन्दै अन्य तीन किशोरविरुद्ध पनि जाहेरी दिएपछि १५, १६ र १७ वर्षका उनीहरू पक्राउ परेका थिए । सुर्खेत प्रहरी प्रमुख शाहीले घटनामा संलग्न व्यक्ति लगभग पहिचान भएको र केही प्राविधिक तथ्य अझै संकलन गर्न बाँकी रहेकाले नखुलाइएको बताए ।

गोरखामा माईक्रो दुर्घटनामा सात भारतीयको मृत्यु

गोरखा, ३० फागुन ।
मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र पाँच पुरुष रहेका छन् । मृत्यु भएका सातै जना मनकामना दर्शन गर्न आएका भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुरज अर्यालका अनुसार माइक्रोमा मनकामना दर्शन गर्न आएका १४ जना तीर्थयात्री, चालक र सहचालक गरी १६ जना रहेका थिए ।

दुर्घटनामा सात जनाको मृत्यु भयो । घाइते ७ जनाको भने उद्धार गरेर आँबुखैरेनी अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरीले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।

श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सांसदका चार नाम

श्रम संस्कृति पार्टी ले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने सांसदहरूको नाम टुङ्ग्याएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा उक्त पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गर्दै ४ सिट सुरक्षित गरेको थियो। सोही आधारमा पार्टीले चार जना सांसद सिफारिस गर्ने निर्णय गरेको हो।

पार्टीकी केन्द्रीय कोषाध्यक्ष समिता राईका अनुसार आदिवासी महिलातर्फ हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलातर्फ अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल तथा आदिवासी जनजातितर्फ पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने टुङ्गो लागेको छ।

समानुपातिक सांसद छनोटलाई लिएर पार्टीभित्र केही समयदेखि विवाद चुलिएको थियो। खस आर्य कोटामा पहिलो नम्बरमा रहेका जीवन विष्टले आन्तरिक मतभेदकाबीच समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका थिए।

उनले सामाजिक सञ्जालमार्फत पदका लागि झगडा गर्ने समय नभएको भन्दै पार्टी र मतदाताको सम्मानका खातिर आफूले नाम फिर्ता लिएको बताएका थिए।

यसअघि समानुपातिक सूचीको विषयमा पार्टीभित्र विवाद बढेपछि पार्टी अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले सामाजिक सञ्जालमा ‘भात खाऊ, मेरो टाउको नखाऊ’ भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनले समानुपातिक विषयमा अनावश्यक विवाद गर्नेहरूलाई पार्टीबाट निष्कासन गर्नेसम्म चेतावनी दिएका थिए।

उक्त पार्टीले यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ पनि उल्लेखनीय सफलता हासिल गरेको छ। पार्टीले खोटाङ, भोजपुर र सुनसरी–१ गरी तीन निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ विजय हासिल गरेको छ।

समानुपातिकतर्फ पनि थ्रेसहोल्ड पार गरेपछि श्रम संस्कृति पार्टीले राष्ट्रिय दलको हैसियत समेत प्राप्त गरेको छ।

आठौं पटकको चुनावमा पराजित पूर्वमन्त्री रिजालको घोषणा : अब चुनाव लड्दिनँ

वीरगञ्ज- पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका छन् । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर–४ मा कांग्रेसबाट आठौं पटक उम्मेदवार बनेर पराजित भएका रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका हुन् ।

२०४८ सालयताको हरेक संसदीय निर्वाचनमा कांग्रेसको उम्मेदवार बन्दै आएका रिजालले चार पटक जीत र चार पटक हार व्यहोरेका छन्। २०४८, २०५१, २०६४ र २०७९ को निर्वाचनमा सांसदमा निर्वाचित भएका रिजालले २०५६, २०७०, २०७४ र हालै २१ फागुन २०८२ मा भएको निर्वाचनमा भने  पराजय व्यहोरेका थिए ।

फागुन २१ मा भएको निर्वाचनमा पर्सा क्षेत्र नम्बर–४ मा कांग्रेसले व्यहोरेको पराजयको समीक्षा गर्न शनिबार जगरनाथपुर गाँउपालिका–५ मसिहानीमा आयोजित कांग्रेसको क्षेत्रीय अगुवा कार्यकर्ता भेलामा बोल्दै पूर्वमन्त्री रिजालले अब आफूले संसदीय निर्वाचनमा प्रतिष्पर्धा नगर्ने घोषणा गरे । उनले चुनाव नलडे पनि क्षेत्रका जनताको सेवामा भने सक्रिय रहिरहने बताए ।

उनले भने, ‘आजै म घोषणा गर्छु अब म चुनाव लड्दिनँ । युवा पुस्तालाई साथ र समर्थन रहन्छ । तर चुनाव नलडे पनि यस क्षेत्रका जनताको सेवामा भने म लागि नै रहन्छु ।’ पर्सा क्षेत्र नम्बर–४ को विकास र समृद्धिका साथै यहाँका  जनताको समस्या सम्बोधन गराउनका लागि आफ्नो तर्फबाट हुन सक्ने हरेक प्रयास आफूले गरिरहने प्रतिबद्धता पनि उनले जनाए ।

फरक प्रसंगमा पूर्वमन्त्री रिजालले फागुन २१ को निर्वाचनमा आफू र कांग्रेसलाई मत दिने मतदाताहरुलाई आभार समेत दिए । परिवर्तनको लहरमा अन्य दल वा उम्मेदवारलाई मत दिएका कांग्रेसका कार्यकर्ता र समर्थकहरुप्रति आफ्नो कुनै गुनासो नरहेको भन्दै उनले अब पुनः आफ्नै पार्टी कांग्रेसमा फर्किन अपिल पनि गरे । जनता जनार्दन भएकाले जनमतको कदर आफूले गर्ने भन्दै उनले भने, ‘जनताको दुःख–सुखमा उभिने पार्टी भनेकै कांग्रेस हो । कांग्रेसलाई भरोसा गरेर घर फर्किन म आग्रह गर्छु ।’

रिजालले कांग्रेसबाट पालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गर्दै भने, ‘मालिक बन्ने कोशिस नगर्नु होला, जनताको सेवक बनेर काम गर्नु होला । म तपाइहरुकै साथमा छु र रहन्छु ।’ कांग्रेस क्षेत्रीय सभापति श्रीकान्तप्रसाद यादवको अध्यक्षतामा भएको उक्त भेलामा मधेस प्रदेश सरकारका वनमन्त्री शंकर चौधरी, कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेय, नेता बशिष्ठ नारायण कुर्मी, क्षेत्रीय सचिव बलिष्टर अहमद लगायतको पनि सहभागिता थियो ।

युद्धको तनावका कारण धनीहरुले मध्यपूर्व छाड्ने क्रम बढ्यो

अमेरिका- इजरायल र इरानबीच शुरू भएको युद्धले मध्यपूर्वको हवाई यात्रामा कोभिड–१९ पछिको सबैभन्दा ठूलो अवरोध ल्याएको छ । मिसाइल र ड्रोन आक्रमणले खाडीको आकाश अस्तव्यस्त बनेकाले व्यावसायिक उडानहरू व्यापक रूपमा रद्द वा अनिश्चित भएका छन् ।

यस्तो अवस्थामा आर्थिक रूपमा सक्षम भएकाहरु निजी जेट चार्टर गरी अन्यत्र जान थालेका सीएनएनले जनाएको छ । प्राइभेट जेट कम्पनी एयरएक्सका अध्यक्ष जोन म्याथ्युजका अनुसार अति–उच्च सम्पत्ति भएका परिवारदेखि बहुराष्ट्रिय कम्पनीका वरिष्ठ अधिकारीसम्मले उडान बुकिङ गरिरहेका छन् ।

चार्टर कम्पनी एसएचवाई एभिएसनका प्रमुख कार्यकारी बर्नार्डस भोस्र्टरका अनुसार सामान्य अवस्थामा मस्कट, दुबई र रियादबाट दैनिक १० देखि १५ वटा निजी जेट उड्ने गर्थे, तर गएको बुधबार मात्रै यो संख्या ९८ पुगेको थियो ।

मस्कटबाट इस्तानबुलसम्मको पाँच घण्टे उडानमा १२ जनालाई लैजान झन्डै २ करोड नेपाली रुपैयाँ बराबर १ लाख ४५ हजार अमेरिकी डलर तिरिएको छ । यो युद्धअघिको भाडाभन्दा १ सय ४२ प्रतिशत बढी हो ।

इस्तानबुल सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ, त्यसपछि एथेन्स र मुम्बई रहेका छन् । तर यो सुविधा मुट्ठीभर धनाढ्यका लागि मात्र हो, किनकि क्षेत्रमा बढीमा ५० वटा जेट मात्र उपलब्ध छन् । युद्धले एकातिर लाखौं सर्वसाधारण यात्रुको जीवन अस्तव्यस्त पारेको छ भने अर्कातिर धनाढ्यहरूका लागि करोडौंको व्यवसाय फस्टाएको छ ।

 

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई आज अनुदानमा मिनी पावर टिलर वितरण गरिएको छ । वडाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा ३२ जना किसानलाई मिनी पावर टिलर उपलब्ध गराएको हो।

वडा कार्यालयका अनुसार कृषि उत्पादनलाई आधुनिकीकरण गर्दै खेतीपातीमा समय र लागत दुवै घटाउने लक्ष्यका साथ किसानलाई मिनी टिलर वितरण गरिएको वडाध्यक्ष लालबहादुर ऐरले बताए। उनका अनुसार किसानलाई कृषिमा यान्त्रीकरणतर्फ आकर्षित गर्न वडा कार्यालयले बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरेको छ ।

“वडाबाट रु नौ लाख बजेट मिनी टिलर अनुदान कार्यक्रमका लागि विनियोजन गरिएको थियो,” उनले भने, “त्यही बजेटमार्फत ३२ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराइएको छ ।”

उनका अनुसार एक वटा मिनी पावर टिलरको बजार मूल्य रु ५६ हजार दुई सय ५० पर्छ । उक्त रकमको आधा अर्थात् रु २८ हजार वडाले अनुदानस्वरूप व्यहोरेको छ भने बाँकी रु २८ हजार किसान स्वयंले लगानी गरेका छन्।

“व्यवसायिक कृषि गरिरहेका तथा आगामी दिनमा व्यवसायिक खेतीतर्फ अघि बढ्न इच्छुक किसानलाई प्राथमिकतामा राखेर छनौट गरी मिनी टिलर वितरण गरेका छाैँ” उनले भने, “यसबाट खेतीपातीलाई आधुनिक बनाउँदै उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरेका छौं ।”शुक्लाफाँटा नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले कृषि क्षेत्रमा यान्त्रीकरणको प्रयोग बढ्दै गएमा किसानको श्रम र लागत दुवै कम हुने बताए ।“मिनी टिलरले खेत जोत्न, माटो पल्टाउन तथा रोपाइँअघिको तयारी गर्न सहज बनाउँछ,” उनले भने, “यसले किसानको समय बचत हुनुका साथै उत्पादन प्रक्रियालाई छिटो र व्यवस्थित बनाउँछ ।”

उनका अनुसार मिनी टिलर वितरणसँगै किसानलाई यसको प्रयोग र मर्मतसम्बन्धी प्राविधिक जानकारीसमेत दिइएको छ । किसानले उपकरण सही तरिकाले प्रयोग गर्न सकून् भन्ने उद्देश्यले खेत जोत्नुअघि अपनाउनुपर्ने सावधानी, खेत जोत्ने तरिका तथा काम सकिएपछि गर्नुपर्ने मर्मतसम्बन्धी जानकारी प्रदान गरिएको उनले बताए ।मिनी टिलर प्राप्त गर्ने किसान बुद्धिबहादुर चौधरीले यसले खेतीपातीको कामलाई धेरै सहज बनाउने बताए। उनका अनुसार यसअघि गोरु प्रयोग गरेर खेत जोत्नुपर्दा निकै समय र मेहनत लाग्थ्यो।“पहिला गोरुले खेत जोत्न निकै समय लाग्थ्यो,” उनले भने, “अब मिनी टिलर प्रयोग गरेपछि छिटो र सहज रूपमा खेत जोत्न सकिने भएको छ ।”

उनका अनुसार मिनी टिलरले खेत जोत्न मात्र नभई रोपाइँका लागि खेत तयार पार्न पनि सहयोग पुर्याउनेछ । समयमै खेत जोत्न सकिने भएकाले बाली लगाउने समय व्यवस्थापन गर्न पनि सहज हुने किसानहरूको भनाइ छ । कृषि यान्त्रीकरणका कार्यक्रम सञ्चालन गरेपछि किसानमा आधुनिक उपकरण प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको नगरपालिकाको कृषि शाखाका अधिकृत विनयराज जोशीले बताए । यसबाट खेतीपातीलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउनेतर्फ सकारात्मक प्रभाव पर्ने उनले उल्लेख गरे । -रासस

एमालेले टुङ्गो लगायो समानुपातिक सांसद

काठमाडौं : नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको   छ ।

जस अनुसार जनजातितर्फबाट महिला पुरुष गरी चार जना रहेका छन् । जनजातिबाट समानुपातिक सांसदको सूचीमा पर्नेहरुमा भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य रहेका छन् ।

यस्तै खस आर्यबाट महिला पुरुष गरी पाँच जना छानिएका छन् । जसमा  पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदाकुमारी बराल (पिछडिएको क्षेत्र), गुरुप्रसाद बराल र पुष्पराज कंडेल रहेको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

यस्तै थारुबाट एक जना कृपाराम राणा, दलितबाट दुई विष्णुमाया बिके, नीता घटानी छन् । त्यस्तै मधेसी (३ जना) महिला रिङ्ला यादव, यशोधाकुमारी यादव र पुरुषतर्फ चन्द्रेश्वर मण्डल छन् । मुस्लिमबाट महिला साजिदा सिद्दीकी रहेकी छन् ।

इनिशा बिक हत्या प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं- इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै युवाहरुले शनिबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

इनिशा बिक हत्या प्रकरणको निष्पक्ष छानविन गर्दै दोषीलाई कडा कारवाहीको माग गर्दै युवाहरुको एक समूहले शनिबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले बलात्कारीलाई फाँसी दिने कानून बनाउन माग गरेका छन् । त्यस्तै महिला तथा दलितमाथिको हिंसा अन्त्य गर, पिडितलाई न्याय दे लगाएतका नाराबाजी गरेका थिए ।  सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

इथानोल मिश्रित पेट्रोल प्रयोगमा ल्याउने नीति कार्यान्वयनमा

सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ। मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ शुक्रबार राजपत्रमा प्रकाशित भएको छ।

यो आदेशमार्फत स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवर्धन, रोजगारी सिर्जना, कृषि तथा जैविक स्रोतको उपयोग बढाउने र ऊर्जा क्षेत्रमा आयातमा निर्भरता घटाउने सरकारको लक्ष्य छ। आदेशअनुसार नेपाल आयल निगमले उपलब्धताअनुसार प्रति लिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्नेछ। आवश्यकताअनुसार मन्त्रिपरिषद्ले यो अनुपात घटबढ गर्न सक्ने व्यवस्था पनि आदेशमा गरिएको छ।

इथानोल उत्पादनका लागि प्रयोग गर्न सकिने कच्चापदार्थमा मोलासेस, नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ, पराल, मकैको ढोड, गहुँको छ्वाली, सिमल तरुल (कास्साभा), सडेगलेको अन्न, मर्चा (यिस्ट) र अन्य आवश्यक रसायन समावेश छन्। खाद्यान्नको दुरुपयोग रोक्नका लागि खाद्यान्नका रूपमा प्रयोग हुने अन्न इथानोल उत्पादनमा प्रयोग गर्न नपाइने व्यवस्था पनि गरिएको छ।

उद्योगहरूले प्रचलित कानुन अनुसार तोकिएका कच्चापदार्थबाट मात्र उत्पादन गर्नुपर्नेछ र उत्पादन गरिएको इथानोल नेपाल आयल निगमलाई मात्र बिक्री वितरण गर्नुपर्नेछ। यसले बजारलाई नियन्त्रित गर्दै इथानोलको प्रयोग पेट्रोलमा मिश्रणसम्म सीमित गर्ने नीति स्पष्ट गर्दछ।

उद्योगहरूले उत्पादन प्रक्रियामा वातावरणमैत्री उपाय अपनाउनुपर्ने, गुणस्तर मापदण्ड कायम गर्नुपर्ने र गुणस्तर परीक्षणको जिम्मेवारी आफ्नै प्रयोगशालाबाट गर्नुपर्ने आदेशमा उल्लेख छ। निगमले पनि प्रत्येक ट्याङ्करको गुणस्तर परीक्षण गरेर मात्र खरिद गर्नेछ।

इथानोलको मूल्य निर्धारण सरकारद्वारा सिफारिस समितिको सुझावमा प्रत्येक आर्थिक वर्ष सुरु हुनु अघि हुने छ। मूल्य निर्धारण नहुँदा अघिल्लो वर्षको मूल्य कायम रहनेछ। निर्धारित मूल्य प्रत्येक वर्ष साउन १ गतेदेखि लागू हुनेछ।

नेपाल आयल निगमले इथानोल खरिदका लागि उद्योगसँग सम्झौता गर्नुपर्नेछ र उद्योगले दैनिक आवश्यक परिमाण, तोकिएको स्थान र समयमा इथानोल उपलब्ध गराउनुपर्नेछ। उद्योगले सम्झौतामा उल्लङ्घन गरेमा प्रचलित कानुन अनुसार क्षतिपूर्ति माग गर्न सकिने व्यवस्था गरिएको छ।

इथानोल ढुवानीको जिम्मेवारी उद्योगलाई दिइएको छ। अत्यधिक ज्वलनशील र पानी अवशोषण गर्ने प्रकृतिको इथानोल ढुवानी गर्दा उच्च सुरक्षा मापदण्ड अपनाउनुपर्ने आदेशमा उल्लेख गरिएको छ। मन्त्रालयले सुरक्षित भण्डारण, मिश्रण र ढुवानीका लागि मापदण्ड तयार गरी लागू गर्नेछ।

सरकारले इथानोल मूल्य निर्धारण र उद्योगलाई सुविधा दिने सिफारिसका लागि समिति गठन गरेको छ। समितिको संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव हुनेछन् भने अर्थ, कृषि, गुणस्तर तथा नापतौल विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र नेपाल आयल निगमका प्रतिनिधि सदस्य रहनेछन् ।

आदेशअनुसार समितिले कच्चापदार्थ लागत, कर छुट, सुविधा, राष्ट्रिय प्राथमिकता उद्योग मान्यता, उपकरण आयातमा कर छुट, कृषक र कृषि सहकारीलाई मल/बिज/विद्युत् महसुलमा सहुलियतलगायत विषयमा सिफारिस गर्नेछ ।

यो नीति कार्यान्वयनबाट कृषि अवशेष र जैविक स्रोतको उपयोग बढाउने, नयाँ उद्योग स्थापना गर्ने र ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ। यसको कार्यान्वयनको प्रभावकारिता भने उद्योगको क्षमता, कच्चापदार्थको उपलब्धता तथा सरकारको नियमनमा निर्भर हुनेछ।

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको काठमाडौँ पिंक केयराथन शनिबार जावलाखेलस्थित फुटबल मैदानमा सम्पन्न भएको छ।

लेजरपोर्ट नेपालद्वारा आयोजित सो दौड प्रतियोगिताको २१.१ किलोमिटर हाफ म्याराथनतर्फ सन्तोषी श्रेष्ठ (नेपाल रन, धादिङ) पहिलो भएकी छिन् । यस्तै, राज्यलक्ष्मी रावल (नेपाल आर्मी) दोस्रो र सरस्वती भट्टराई (नेपाल आर्मी) तेस्रो भएकी छन्।

शनिबार बिहान छ बजे जुम्बा सत्रबाट सुरु भई विभिन्न दूरीका दौड प्रतियोगिता सञ्चालन गरिएको थियो।

कार्यक्रममा २१.१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटर दौड तथा ५ र ३ किलोमिटरका फन रन समावेश गरिएको थियो । दश किलोमिटर दौडतर्फ निर्मला केसी (नेपाल आर्मी) पहिलो, आशा राउत (सशस्त्र प्रहरी) दोस्रो र सुमित्रा चौधरी (नेपाल प्रहरी) तेस्रो भईन्।

हाफ म्याराथनका विजेतालाई क्रमश रु ५१ हजार, रु ३१ हजार र रु २१ हजार नगद पुरस्कार प्रदान गरिएको संस्थाका अध्यक्ष नमराज जोशीले बताए।

त्यसैगरी १० किलोमिटर दौडका विजेतालाई  रु ३१ हजार, रु २१ हजार र रु ११ हजार नगद पुरस्कारसहित विभिन्न उपहार प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा भारतको मुम्बईका गायक जनिष्ट जोशीले सांगीतिक प्रस्तुति दिएका थिए।

अध्यक्ष जोशीका अनुसार सन् २०१७ देखि निरन्तर आयोजना हुँदै आएको उक्त कार्यक्रममा यस वर्ष एक हजारभन्दा बढीको सहभागिता रहेको छ।

इरान पूर्ण रूपमा हारिसक्यो, मलाई अहिल्यै सम्झौता मञ्जुर छैन : ट्रम्प

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अहिले अमेरिकाको अगाडि पूर्ण रूपमा हारिसकेको र सम्झौताका लागि तयार भएको दाबी गरेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समार्फत एक पोस्ट गर्दै उनले इरान सम्झौताको पक्षमा भए पनि आफू अहिले नै कुनै पनि सम्झौता गर्ने मुडमा नरहेको स्पष्ट पारेका हुन्।

त्यस्तै  ट्रम्पले मूलधारका सञ्चारमाध्यमलाई ‘फेक न्युज’ को संज्ञा दिँदै उनीहरूले अमेरिकी सेनाको वीरतालाई लुकाएको आरोप लगाएका छन्। उनले भनेका छन्, ‘फेक न्युज मिडियाहरू इरानविरुद्ध अमेरिकी सेनाले कति उत्कृष्ट प्रदर्शन गरेको छ भन्ने कुरा जनतालाई बताउन हिचकिचाइरहेका छन्।’

यसअघि पनि ट्रम्पले अमेरिकी हमलाका कारण इरानका मुख्य सैन्य अखडाहरू ध्वस्त भएको र इरानको शक्ति निकै कमजोर भएको दाबी गर्दै आएका थिए। हालैका दिनमा अमेरिका र इरानबीचको सैन्य द्वन्द्वलाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा फरक-फरक दाबीहरू सार्वजनिक भइरहेका बेला ट्रम्पले यो आक्रोश पोखेका हुन् ।

मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र सजग रहेको बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका हुन् ।

पछिल्लो समय मध्यपूर्वमा विकसित घटनाक्रम र त्यसले हवाई सेवामा पारेको प्रभावका कारण नेपाली नागरिकहरूको आवतजावतमा प्रत्यक्ष असर परेको उल्लेख गरे ।

सम्भावित आपतकालीन अवस्थामा नागरिकका समस्या तत्काल सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी कन्ट्रोल रूम’ (आपतकालीन नियन्त्रण कक्ष) सञ्चालनमा ल्याइसकेको जानकारी उनले दिए ।

कन्ट्रोल रूममार्फत विदेशमा रहेका नेपाली नागरिक र स्वदेशमा रहेका उनीहरूका परिवारबीच मन्त्रालयले सूचना आदानप्रदान र समन्वयको सेतुका रूपमा काम गर्ने मन्त्री शर्माले प्रष्ट पारे ।

‘यस परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित र सहायतालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक समन्वय र समन्वयात्मक कार्यहरू अघि बढाइएको छ,’ उनले भने, ‘सम्भावित आपतकालीन अवस्थामा नागरिकको समस्या सम्बोधनका लागि परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी कन्ट्रोल रूम’ सञ्चालनमा ल्याएको छ । यस कन्ट्रोल रूममार्फत विदेशमा रहेका नेपाली नागरिकहरू तथा नेपालमा रहनुभएका उहाँका परिवार र आफन्तहरूको बीचमा परराष्ट्र मन्त्रालयले पुन: सेतुको काम गर्नेछ ।’

सम्बोधनकै क्रममा उनले पश्चिमी एशिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई कुनै समस्या वा कठिनाइ परेमा तत्काल त्यहाँस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहन र आफ्नो अवस्थाबारे जानकारी गराउन अपिल समेत गरेका छन् ।

उनले विषम परिस्थितिमा विदेशमा रहेका नेपाली नागरिकहरूको हकहित संरक्षणका लागि एनआरएनएले गर्दै आएको सहयोग र सहकार्य उल्लेखनीय रहेको बताए ।

 

खोज्नुहोस