निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च सरकारले ब्यहोर्ने

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएका छन् । बुधबार सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले प्रेस ब्रिफिङमार्फत निर्णयहरु सार्वजनिक गरेका हुन् ।
जस अन्तरगत सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यद्यपि सार्वजनिक बिदाका दिनहरू निर्धारण भने भइसकेको छैन ।
यसैगरी निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । बैठकले प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी घाइते भएमा त्यसको खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको हो ।
सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार प्रेस ब्रिफिङमार्फत उक्त निर्णय सुनाएका हुन् । त्यस्तै, यस अवधिमा मृत्यु भएका सुरक्षाकर्मीको परिवारलाई सरकारले आर्थिक सहायता उपलब्ध गराउने पनि सरकारले निर्णय गरेको छ ।

थुनामुक्त भए दुर्गा प्रसाईं

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन् ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको थियो । उनलाई  जिल्ला प्रहरी परिसरको हिरासतमा गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपसहित प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको थियो । सोहीआधारमा प्रहरीले प्रसाईंलाई फागुन ४ गते काठमाडौंबाटै पक्राउ गरेको थियो ।

उनलाई मंगलबार नै छोड्न आदेश जारी भए पनि कार्यालय समयमा आवश्यक प्रक्रिया पूरा हुन नसकेपछि आजमात्रै हिरासत मुक्त भएका हुन् ।

नेपाल र हङकङले मैत्रीपूर्ण खेल खेल्ने

काठ्माण्डौ – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।

यी दुई टोलीबिच खेल चैत १२ गते दशरथ रगंशालमा हुनेछ। नेपालले यसअघि गत जुनमा पनि हङकङसँग खेलेको थियो। उक्त खेल गोलरहित बराबरीमा रोकिएको थियो।

नेपाली पुरुष टोलीले एएफसी एसियन कप छनोटको तेस्राे चरणको खेल खेल्न बाँकी छ। यद्यपि नेपाल छनोटबाट बाहिरिसकेको छ।

निर्वाचन सामग्री र मतपत्र ७५ जिल्लामा पुग्यो

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याइएको छ ।

काठमाडौं र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ ।

प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र ७५ जिल्ला पुर्‍याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।

काठमाडौं र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्‍याइनेछ । रासस

राष्ट्र बैंकबाट मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं- नेपाल राष्ट्र बैंकले केही नीतिगत व्यवस्था गर्दै विद्यमान लचिलो कार्यदिशालाई निरन्तरता दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै आर्थिक गतिविधिलाई चलायमान बनाउन केही महत्त्वपूर्ण नीतिगत सुधारहरू गरेको छ ।

बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा परिमार्जन गर्दै ऋणीले वर्षको कम्तीमा लगातार ७ दिन कर्जाको बक्यौता १० प्रतिशतभन्दा कम गर्नुपर्ने विद्यमान व्यवस्थालाई बढाएर ३० प्रतिशत पुर्‍याउने व्यवस्था गरेको छ । यसका साथै, कृषि, ऊर्जा र साना उद्यममा प्रवाह गरिने क्षेत्रगत कर्जाको दायरा विस्तार गरी पर्यटन, सूचना प्रविधि र निर्यातमूलक उद्योगलाई पनि समावेश गरिएको छ । महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित भएका व्यवसायीहरूका लागि १० प्रतिशत ब्याज असुल गरी कर्जा पुनर्संरचना वा पुनरतालिकीकरण गर्न सक्ने सुविधासमेत प्रदान गरिएको छ ।

वित्तीय क्षेत्रको सुदृढीकरणका लागि बैंकले डिजिटल भुक्तानी र प्रविधि क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । डाटा सेन्टर, क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्सजस्ता पूर्वाधार निर्माणमा हुने विदेशी लगानीलाई सहजीकरण गरिने समीक्षामा उल्लेख छ । यस्तै, चेकको प्रयोग घटाउँदै विद्युतीय कारोबारलाई प्राथमिकता दिने र ५ लाख वा सोभन्दा बढीको भुक्तानी अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने व्यवस्थालाई थप कडाइ गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा (एनपीएल) भने केही बढेर ५.४२ प्रतिशत पुगेको छ, जसलाई व्यवस्थापन गर्न बैंकले सजगता अपनाउने जनाएको छ । पुस मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति र विप्रेषण आप्रवाहमा उत्साहजनक वृद्धि भएको देखिएको छ । २०८२ पुससम्ममा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले बढेर १०६२ अर्ब ९३ करोड पुगेको छ भने शोधनान्तर स्थिति ५०१ अर्ब २४ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तै, उपभोक्ता मुद्रास्फीति २०८१ पुसको ५.४१ प्रतिशतको तुलनामा घटेर २०८२ पुसमा २.४२ प्रतिशत कायम भएको छ ।

युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ : राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको ४ वर्षपछि पनि युक्रेनको एकता कायम रहेको र रुसले आफ्नो लक्ष्य हासिल गर्न नसकेको बताएका छन् ।

४ वर्ष अघि सन् २०२२ फेब्रुअरी २४ तारिखमा शुरू भएको रुसको आक्रमणले पूर्वी युक्रेनको धेरै भाग पूर्ण रुपमा क्षति भइसकेको छ । लाखौं विस्थापित भएका छन् । युक्रेनीहरूले आक्रमणको शुरूवाती दिनहरूमा प्रतिरोध गरेका थिए । पछिल्लो समय रुसले आफुले कब्जा गरेको भूभाग सम्झौताबाट नपाए लडेरै भएपनि लिने चेतावनी दिएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफुहरुले बलियो, सम्मानजनक र दिगो शान्ति चाहेको बताएका समाचार संस्था एपीले जनाएको छ । युक्रेनले अमेरिका र अन्य सहयोगीहरूको सुरक्षा ग्यारेन्टीबिना सम्झौतामा हस्ताक्षर नगर्ने स्पष्ट अडान राख्दै आएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन सरकारले तयार पारेको रुस विरोधी प्रस्तावमा भएको मतदानमा अमेरिकाले भाग नलिई तटस्थ बसेको छ । मतदानमा कूल १ सय ७ देशले प्रस्तावको पक्षमा मतदान गरेका छन् भने रुस, बेलारुस, इरान र उत्तर कोरियासहित १२ देशले विपक्षमा मतदान गरेका छन् ।

त्यस्तै, अमेरिकासहित आर्मेनिया, ब्राजिल, हंगेरी, कजाकिस्तान, सर्बिया र उज्वेकिस्तान गरी ५१ देशहरू तटस्थ बसेका छन् ।

कञ्चनपुरको मणिकाधाममा पहिलोपटक विद्युत् सेवा पुग्यो

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम)मा पहिलोपटक नियमित विद्युत् सेवा पुगेको छ । यस अगाडि भक्तजन अँध्यारोमा पूजाआराधना गर्न बाध्य थिए ।

नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले करिब रु ६५ लाख लागतमा मुडकादेखि धारापानीसम्म करिब पाँच किलोमिटर क्षेत्रमा ८२ पोल जडान गरी ‘ट्रान्सफर्मर’ स्थापना गरेर विद्युत् आपूर्ति सुरु गरेको छ । पोल गाड्ने, तार तान्ने, इन्सुलेटर जडान गर्ने र ट्रान्सफर्मर राख्ने सम्पूर्ण काम ठेक्का प्रक्रियामार्फत सम्पन्न गरिएको हो ।

विद्युत् सेवा विस्तारसँगै मन्दिर परिसर, नवनिर्मित भजनघर तथा आसपासका क्षेत्रमा बल्ब जडान गरी क्षेत्र झिलीमिली बनाइएको छ । यसअघि साँझपख पूजा, आरती र धार्मिक कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने गरेकामा अब सहज भएको स्थानीयवासी बताउँछन् ।

वडा नं ९ का अध्यक्ष रमेशबहादुर ऐरले विद्युत् सेवा विस्तारले धार्मिक गतिविधि सञ्चालनमा सहजता ल्याएको उल्लेख गरे ।

‘पहिले अँध्यारोका कारण भक्तजनले सास्ती खेप्नुपर्थ्यो, अब मन्दिर परिसर उज्यालो बनेको छ’, उनले भने ।

धाम क्षेत्रका पूर्वध्यक्ष भरतबहादुर ऐरका अनुसार विद्युत् सेवा पुगेपछि धाम क्षेत्रमा हुने धार्मिक कार्यक्रम, सत्सङ्ग तथा भजनकीर्तन रातिको समयमा पनि व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने भएको छ ।

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको मणिका धाममा हरेक वर्ष फागुन शुक्ल पक्षको नवमीको राति र दशमीको दिन परम्परागत मेला (जाँत) लाग्ने गर्दछ । यस वर्ष फागुन १३ (आज) र १४ गते मेला आयोजना हुँदैछ । बैजनाथ बाबाको दर्शन गर्दा इच्छित फल प्राप्त हुने विश्वासले नेपाल र भारतका हजारौँ दर्शनार्थी यहाँ आउने गर्दछन् ।

झिलीमिली उज्यालोले अब मणिका धामलाई अझ आकर्षक बनाएको छ र क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

विद्युत् सेवा विस्तारसँगै यस वर्षको मेलामा रातिको समयमा आउने भक्तजनले अँध्यारोको सास्ती खेप्न नपर्ने भएको छ । विद्युत् सेवा विस्तारसँगै धार्मिक कार्यक्रम, रातको पूजा, मेला सञ्चालन र स्थानीय व्यापार–व्यवसायमा नयाँ ऊर्जा थपिने भएको छ । -रासस

चुनावलाई ध्यानमा राखेर खाना पकाउने एलपी ग्यासको आयात बढाएको निगमको दाबी

काठमाण्डौ – चुनावलाई ध्यानमा राखेर नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको जनाएको छ ।

बजारमा ग्यासको अभाव हुन नदिन भारतीय आयल कर्पोरेसनबाट ग्यासको लोडिङ उच्च दरमा भैरहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । उनकाअनुसार हिजो यो वर्षकै सबैभन्दा धेरै परिमाणमा ग्यास लोड भएको छ ।

हिजो एकै दिन एक सय ३८ बुलेट ग्यास लोड भएको निगमका कार्यकारी निर्देशक भट्टले जानकारी दिए । बजारमा अहिले पनि खाना पकाउने ग्यास सहज पाउन नसकेको उपभोक्ताको गुनासो छ । तर निगमले बाहिर आएजस्तो कुनै अभाव र समस्या नरहेको साथै चुनावको अवधिमा पनि ग्यासको आपूर्ति नियमित नै हुने दाबी गरेको छ ।

 

निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्न आयोगको आग्रह

काठ्माण्डौ- फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रचारप्रसारका क्रममा कुनै प्रकारको बाधाअवरोध नगर्न निर्वाचन आयोगले सबै सरोकारवालालाई आग्रह गरेको छ।

आयोगले पछिल्लो समय निर्वाचनमा सहभागी राजनीतिक दल तथा उम्मेदवारको चुनावी प्रचारप्रसार गतिविधिलाई विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ।

पछिल्लो समय केही राजनीतिक दल वा उम्मेदवारका कार्यक्रम अन्य दल, कार्यकर्ता वा व्यक्तिबाट अवरोध गरिएको बारे गुनासो प्राप्त भएको कारण यसो नगर्न आयोगले अनुरोध गरेको हो।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ (१( (ङ)  अनुसार कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा अवरोध पुर्‍याउन नहुने स्पष्ट व्यवस्था छ। साथै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० (१) (क)  अनुसार कसैलाई उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्‍याउने, थुनछेक गर्ने वा गराउने कार्य दण्डनीय मानिन्छ।

उक्त कसुर गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान रहेको आयोगले स्मरण गराएको छ।

आयोगले आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने जिम्मेवारी सबै राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवालाको भएको उल्लेख गर्दै प्रचलित संघीय कानुन विपरीतका गतिविधि नगर्न अनुरोध गरेको छ। आचारसंहिता उल्लंघन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनी पनि आयोगले दिएको छ।

विगतका निर्वाचनमा भन्दा सुरक्षा व्यवस्था मजबुत

काठमाडौं ।  सुरक्षा निकायका प्रमुखहरूले यसपटकको निर्वाचन सुरक्षा तयारी विगतका निर्वाचनमा भन्दा मजबुत रहेको प्रधानमन्त्री सुशीला कार्कीलाई ब्रिफिङ गरेका छन् । मंगलबार प्रधानमन्त्रीनिवासमा भएको सुरक्षासम्बन्धी छलफलमा सुरक्षा तयारी सन्तोषजनक रहेको निष्कर्ष निकालिएको हो । बैठकमा सहभागी एक अधिकारीका अनुसार केही निर्वाचनविरोधी समूह सक्रिय भए पनि ठुलो चुनौती नरहेको प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको छ । विगतका निर्वाचनमा भन्दा निर्वाचनविरोधी समूह कम रहेको र सुरक्षाकर्मीको संख्या विगतमा भन्दा धेरै भएकाले सुरक्षा व्यवस्था अहिलेसम्मकै मजबुत रहेको सुरक्षा प्रमुखहरूको भनाइ थियो । यसपटकको निर्वाचनमा तीन लाख ४० हजार सुरक्षाकर्मी परिचालित हुने र विगतको तुलनामा यो धेरै भएको सुरक्षा निकायको ब्रिफिङ छ ।

यद्यपि, निर्वाचनविरोधी समूहले सामाजिक सद्भाव भड्काउने प्रयास गर्न सक्ने भएकाले उनीहरूमाथि निगरानी बढाउने निर्णय भएको छ । ‘खासगरी होलीको समयमा कुनै समूहले योजनाबद्ध रूपमा सामाजिक सद्भाव भड्काउने गतिविधि गर्न सक्छन् भन्ने छ,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘त्यसकारण खासगरी तराईमा थप सुरक्षा सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ ।’ तराईमा १९ फागुनमा होली छ । त्यस दिन मंगलबार परेकाले भोलिपल्ट पनि होली मनाइने र निर्वाचनको अघिल्लो दिन पर्व मनाउने क्रममा झडप हुन सक्ने भएकाले सुरक्षा निकाय त्यस्ता गतिविधि रोक्न चनाखो हुनुपर्नेमा जोड दिइएको छ ।

प्रधानमन्त्री कार्कीले चुनौती सिर्जना गर्न सक्ने सम्भावित व्यक्ति र समूहको पहिचान गरी कडा निगरानी र नियन्त्रणका उपाय अपनाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयद्वारा जारी प्रेसनोटमा उल्लेख छ । बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै विभिन्न जिल्लामा जाँदा निर्वाचनका लागि जनतामा उत्साह रहेको सुनाएका थिए ।
हिमाली क्षेत्रमा मौसमको चुनौतीबारे पनि छलफल भएको थियो । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको दिन सामान्य नै हुने आकलन गरेकाले चुनौती नरहेको गृह मन्त्रालयका अधिकारीले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

‘हाई अलर्ट’मा सुरक्षा निकाय
निर्वाचन आयोगमा मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकमा सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीले निर्वाचन तयारीमा ‘हाई अलर्ट’मा रहेको ब्रिफिङ गरेका छन् । बैठकमा प्रहरी प्रमुख दानबहादुर कार्कीले मधेशका केही जिल्लामा देखिएको घटना पनि साम्य भइसकेको र सम्भावित घटना रोक्न संवेदनशील जिल्लालाई ‘हाई अलर्ट’मा राखिएको बताए । ‘सानातिना विरोध गर्ने हुन सक्छन् । उच्च निगरानी र अलर्टमा छौँ । निर्वाचनलाई कुनै सुरक्षा समस्या हुँदैन,’ उनले भनेका थिए । नेपाल–भारत सीमा ७२ घण्टा बन्द गर्न सरकारलाई सिफारिस गर्ने र मदिरा बिक्री–वितरण सात दिन बन्द गर्ने निर्णय गरिएको छ ।

भारतसँग जोडिएका सबै सीमा नाका बन्द हुने

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द गरिने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीवार राति १२ बजेसम्म भारतसँग सीमा जोडिएका जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहने छन् ।

फागुन २० गते राति १२ बजेदेखि एम्बुलेन्स, ट्राफिक, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल सेवा, विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा तथा नम्बर प्लेटमा सिडी उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन र अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा मतदान कार्य नसकिएसम्मका लागि रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।

निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन उक्त निर्णय गरिएको उनको भनाइ छ ।

 

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको हो ।

उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

ट्रम्प प्रशासनले घोषणा गरेको विश्वव्यापी १० प्रतिशत नयाँ भन्सार कर लागू

राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले घोषणा गरेको नयाँ १० प्रतिशत विश्वव्यापी भन्सार शुल्क लागू भएको छ । गएको शुक्रवार अमेरिकी सर्वोच्च अदालतले यसअघिको ठूलो दरको आयात शूल्कलाई अवैध ठहर गर्दै रोक लगाएपछि ट्रम्पले केही घण्टामै नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्दै नयाँ १० प्रतिशत शुल्क लागू गरेका थिए ।

ह्वाइट हाउसले सन् १९७४ को व्यापार ऐनको धारा १२२ अन्तर्गत १५० दिनसम्म कंग्रेसको स्वीकृतिबिना शुल्क लगाउन सकिने व्यवस्था प्रयोग गरेको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पले आवश्यकता परे १५ प्रतिशतसम्म भन्सार कर  बढाउने चेतावनी पनि दिएका छन् तर अहिलेसम्म करको दर बढाउने औपचारिक निर्णय सार्वजनिक गरिएको छैन ।

पछिल्लो तथ्याङ्कअनुसार अमेरिकी व्यापार घाटा सन् २०२४ को तुलनामा २.१ प्रतिशतले बढेर झन्डै १.२ ट्रिलियन डलर पुगेको छ । यसअघि ट्रम्प प्रशासनले सन् १९७७ को अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन प्रयोग गर्दै कम्तीमा १३० अर्ब डलर बराबरको कर असुल गरिसकेको छ । तर सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पले आफ्नो अधिकार नाघेको भन्दै त्यसलाई रोेकेको थियो ।

ट्रम्पले अदालतको निर्णयलाई अव्यवहारिक, कमजोर र अत्यन्तै राष्ट्रविरोधी भन्दै आलोचना गरेका छन् । यसैबीच, अमेरिकाको निर्णयपछि विभिन्न देशहरूले आफ्ना व्यापार सम्झौताहरू पुनर्मूल्यांकन गरिरहेका छन् । नयाँ भन्सार करले विश्वव्यापी व्यापार र कूटनीतिक सम्बन्धमा थप तनाव सिर्जना गर्ने सङ्केत देखिएको विश्लेषण भइरहेको छ । -एजेन्सी

 

५ देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं- विभिन्न ५ देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राजूतहरूले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । राष्ट्रपतिसमक्ष अस्ट्रेलिया, साउदी अरब, चीन, मालदिभ्स, तुर्किये गणतन्त्रका राजदूतले ओहोदाको पत्र बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

साम्बाको उपचारका लागि २४ घण्टामै उठ्यो डेढ करोड, सहयोग रोक्न आग्रह

काठ्माण्डौ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि आवश्यक रकम जुटेको भन्दै सहयोग अभियान रोक्न आग्रह गरेकी छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले देश-विदेशका समर्थकबाट प्राप्त अपार माया र सहयोगप्रति कृतज्ञता व्यक्त गरेकी हुन्।

घुँडाको गम्भीर चोटको शल्यक्रियाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अपेक्षित सहयोग नपाएपछि साम्बाले सोमबार मात्रै आम समर्थकहरूसँग सहयोगको अपिल गरेकी थिइन्।

उनको अपिलको २४ घण्टा नबित्दै स्वदेश तथा विदेशबाट गरी करिब डेढ करोड रुपैयाँ संकलन भएको छ।

साम्बाले लेखेकी छन्, ‘मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ। मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ-संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ।’

यसअघि अस्ट्रेलियाको व्यावसायिक लिग ‘निन्जा ए-लिग’ खेल्ने क्रममा न्युजिल्यान्डको क्लब ‘वेलिङटन फोनिक्स’ बाट ब्रिसबेन रोअरविरुद्ध खेल्दा साम्बाको दाहिने घुँडाको एसिएल र एमसिएल पूर्ण रूपमा च्यातिएको थियो।

उनले जम्मा भएको रकमले उपचार खर्च मात्र नभएर कतारमा हुने लामो बसाइँ र यातायात खर्चसमेत पुग्ने बताएकी छन्। उनले भनिन्, ‘यो साथ र वाचाले मलाई अझ बलियो बनाएको छ। यही ऊर्जाले म आफ्नो शल्यक्रिया र पुनर्स्थापनामा शतप्रतिशत मिहिनेत गर्नेछु।’

साथै, उनले आफू आबद्ध क्लब वेलिङटन फोनिक्सले पनि बिमा रकम निकासा गरी थप सहयोग गरिरहेको जानकारी दिँदै शल्यक्रियाको प्रक्रिया चाँडै अघि बढ्ने विश्वास व्यक्त गरेकी छन्।

साम्बाले खेलाडीका रूपमा आफूले कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि नभएर समर्थकहरूको माया र भरोसा भएको बताएकी छन्।

‘यो चोटले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकाएको थियो। तर तपाईंहरूको साथले मलाई फेरि उठ्ने साहस दिएको छ,’ उनले भनेकी छन्।

उनले अझ मजबुत भएर फर्कने र पुनः नेपालको जर्सी लगाएर देशका लागि खेल्ने दृढ संकल्प व्यक्त गरेकी छन्।

‘मेरो तर्फबाट धन्यवाद मात्र पर्याप्त हुँदैन। तपाईंहरूको यो माया र समर्थनको साँचो धन्यवाद भनेको मेरो पुनरागमन हुनेछ,’ साम्बाले लेखेकी छन्।

यसअघि साम्बाले एन्फाले सहयोग नगरेको गुनासो गरेपछि एन्फाले विज्ञप्ति जारी गर्दै आफूहरू पन्छिन नखोजेको स्पष्ट पारेको थियो।

एन्फाले साम्बाको उपचारका लागि कतार फुटबल संघ र परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको दाबी गरेको थियो।

एन्फा प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञप्तिमा व्यावसायिक क्लब फुटबलमा खेलिरहँदा घाइते भएमा उपचारको जिम्मा सम्बन्धित क्लबकै हुने अन्तर्राष्ट्रिय प्रचलन रहे पनि साम्बाको चाहनाबमोजिम कतारमा उपचार गराउन पहल भइरहेको उल्लेख छ।

नेपाली महिला फुटबल टिमले फिफा अन्तर्राष्ट्रिय विन्डोमा सिरिज खेल्ने

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबल फेडेरेसन-फिफा) विन्डो २०२६ अन्तर्गत नेपालले ४ देश सम्मेलित सिरिज खेल्ने भएको छ। थाइल्यान्डमा हुने यस सिरिजमा नेपालले २ खेल खेल्नेछ। यो खेल थाइल्यान्डको रात्चाबुरी स्टेडियममा हुनेछ।

नेपालले कंगो, थाइल्यान्ड र ओसियानासँग सिरिज खेल्ने टुंगो लागेको छ। एक देशसँग टुंगो लाग्न बाँकी छ।

नेपालले अप्रिल १२ मा पहिलो खेल कंगोसँग खेल्नेछ। नेपालले दोस्रो खेल अप्रिल १५ मा खेल्नेछ। प्रतिस्पर्धी भने पहिलो खेलको नतिजामा भर पर्छ। पहिलो खेल जितेको खण्डमा दोस्रो खेलको विजेता टोलीसँग खेल्नेछ।

हारेको खण्डमा दोस्रो खेल हार्ने टिमसँग नेपालले खेल्नेछ। फिफाले सार्वजनिक गरेको विन्डोको खेल तालिकामा नेपालको पुरुष टोलीको भने कुनै पनि खेल समावेश गरिएको छैन।

बालेनको भाषणलाई सच्याउँदै रविले भने- डोरीले होइन कानूनले बाँध्ने भनेको हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको एक अभिव्यक्ति विवादित बनेपछि सच्याउने प्रयास गरेका छन् । आज इटहरीमा बालेनसँग स्टेज सेयर गर्दै उनले निर्माण व्यवसायीलाई फकाउने प्रयास गरे ।

बालेनले केही दिनअघि एक भाषणमा ठेकेदारलाई बाँधेर वा थुनेर भए पनि बाटो चाँडो बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसको विरोधमा निर्माण व्यवसायीहरुले एक विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्ति सच्याउन र माफी माग्न चेतावनी दिएको छ । आज आफ्नो भाषणमा बालेनले यो विषयमा केही टिप्पणी गरेनन् । रविले भने बालेनको भाषणलाई फरक व्याख्या गरे ।

उनले भने, ‘रास्वपाले आफ्ना कुरा राख्दा कतिपय मान्छे आत्तिएको देखिएको छ । म निर्माण व्यवसायी साथीहरुलाई भन्न चाहन्छु, तपाईंहरुले विज्ञप्ति निकाल्नु पर्दैन । ठूला/ठूला इक्वीपमेन्ट खरिद गर्ने तयारी गर्नुस, रातारात कसरी विकास निर्माण गर्ने हो, त्यतातिर लाग्नुस । देश विकासको दिशामा अघि बढिसक्यो । हामी असुरक्षित भएका हौं कि भन्नुभएको छ । त्यस्तो हुँदैन। हामीले डोरीले बाँध्ने भनेको होइन, कानूनले बाँध्ने भनेको हो ।’

रवि त्यसपछि कांग्रेस सभापति गगन थापाप्रति सोझिए । थापाले विकासका काम चाँडो गर्न १२/१५ वटा कानून फेर्नुपर्ने बताएका थिए ।

रविले भने, ‘२०/३० वर्ष सांसद र मन्त्री बनेपछि १२/१५ वटा कानून फेर्नुपर्छ भन्ने बल्ल ज्ञान आयो ? तपाईंको ज्ञान तपाईंसँगै राख्नुहोला ।’

३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं- फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

आयोगले निर्वाचनमा मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले बिदा दिन सरकारलाई आग्रह गरेको थियो।

मंगलबार २१.६२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ- साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२८ कम्पनीको ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब २३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । यस कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, नेपाल एसबिआई बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

कैलालीमा चुनावका दिन अत्यावश्यक बाहेकका सवारी साधन चलाउन निषेध

धनगढी: २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका दिन सवारी साधन प्रयोगमा रोक लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कैलाली ले २० गते बुधबार राति १२ बजेदेखि २१ गते मतदान कार्य सम्पन्न नहुञ्जेलसम्मका लागि सवारी साधन सञ्चालनसम्बन्धी सूचना जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार उक्त अवधिमा एम्बुलेन्स, ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बहान, अस्पताल सेवा तथा विद्युत सेवाजस्ता अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन गर्न पाइनेछ।

यस्तै, नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधन र अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा निषेध गरिएको प्रशासनले जनाएको छ।

इजरायली संसदमा मोदीले गर्ने सम्बोधन त्यहाँको विपक्षी दलले बहिष्कार गर्ने

एजेन्सी : इजरायल भ्रमणमा जान लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको संसद नेसेटलाई गर्ने सम्बोधनलाई प्रमुख प्रतिपक्षी दलले बहिष्कार गर्ने भएको छ।

विपक्षीले भारतीय प्रधानमन्त्रीको विरोध गरेका भने होइनन्। यसको मुख्य कारण इजरायलको आन्तरिक राजनीतिक विवाद र सरकार-न्यायपालिका बीचको शक्ति संघर्ष हो। इजरायली सञ्चारमाध्यम ‘हारेट्ज’का अनुसार, इजरायली संसदका सभामुख अमिर ओहानाले मोदीको सम्बोधन हुने विशेष सत्रमा त्यहाँका सर्वोच्च अदालतका अध्यक्ष (प्रधानन्यायाधीश) आइज्याक अमितलाई निमन्त्रणा दिएका छैनन्।

इजरायलको स्थापित परम्परा र प्रोटोकलअनुसार यस्ता विशेष सत्रमा प्रधानन्यायाधीशलाई अनिवार्य आमन्त्रण गरिन्छ। प्रधानन्यायाधीशलाई नबोलाइएको पुष्टि गर्दै सभामुख ओहानाका प्रवक्ताले ‘यसमा कुनै नयाँ कुरा नभएको’ प्रतिक्रिया दिएका छन्।

विपक्षी नेताको चेतावनी : भारतलाई अपमानित गर्न चाहँदैनौँ
प्रधानन्यायाधीशलाई नबोलाइएको भन्दै विपक्षी नेता तथा पूर्वप्रधानमन्त्री यायर ल्यापिडले कडा विरोध जनाएका छन्। उनले गत साता नै सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई यस विषयमा हस्तक्षेप गर्न आग्रह गरेका थिए।

‘प्रधानमन्त्री नेतन्याहुले संसदका सभामुखलाई सर्वोच्च अदालतका अध्यक्षको बहिष्कार नगर्न निर्देशन दिउन्। हामी भारतका प्रधानमन्त्रीको सम्मानमा आयोजित सत्रमा सहभागी हुन चाहन्छौँ, तर त्यसका लागि सभामुखले वातावरण बनाउनुपर्छ’, ल्यापिडले लेखेका छन्।

ल्यापिडले प्रधानन्यायाधीशको बहिष्कार गर्नु भनेको प्रतिपक्षको पनि बहिष्कार भएको बताएका छन्। उनले डेढ अर्ब जनसंख्या भएको देशका नेताले ‘आधा खाली संसद’लाई सम्बोधन गर्दा भारतलाई अपमानित महसुस हुने भन्दै भारतीय दूतावाससमेत यो विवादले आत्तिएको दाबी गरेका छन्।

सभामुखको जुक्ति : खाली सिट भर्न पूर्वसांसदलाई बोलाउने
विपक्षी सांसदहरूले संसद बहिष्कार गर्ने धम्की दिएपछि सभामुख अमिर ओहानाले खाली सिटहरू भर्न पूर्वसांसदहरूलाई बोलाउने योजना बनाएका छन्। इजरायलको सार्वजनिक प्रसारक ‘कान’का अनुसार मोदीले आधा खाली संसदलाई सम्बोधन गर्नु नपरोस् भनेर सभामुखले यस्तो तयारी गरेका हुन्।

सभामुख ओहानाले विपक्षी नेता ल्यापिडको कदमलाई ‘राजनीतिक टकरावमा प्रयोग गरिएको अवैध हतियार’ भनेका छन्। उनले विश्वको एक प्रमुख शक्ति राष्ट्रसँगको सम्बन्धलाई नबिगार्न ल्यापिडलाई चेतावनी दिएका छन्।

सभामुखले प्रश्न गर्दै भनेका छन्, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीको सम्बोधनमा पनि प्रधानन्यायाधीशलाई बोलाइएको थिएन, त्यतिबेला उनले किन बहिष्कार गरेनन्? अहिले भारतका प्रधानमन्त्रीको मात्र किन बहिष्कार गर्न खोजिँदैछ? भन्ने कुरा ल्यापिडले भारतीय दूतावासलाई बुझाउनुपर्छ।’

न्यायपालिका र सरकारबीचको शक्ति संघर्ष
यो सम्पूर्ण विवाद नेतन्याहु सरकार र न्यायपालिकाबीच चलिरहेको लामो शक्ति संघर्षको नतिजा हो। नेतन्याहु सरकारले सर्वोच्च अदालतको शक्ति कटौती गर्ने कानुन ल्याउने प्रयास गरिरहेको छ।

सन् २०२५ को जनवरीमा आइज्याक अमित अदालतको अध्यक्ष चुनिएपछि त्यहाँका कानुनमन्त्री यारिभ लेभिनले अदालतको अध्यक्ष अमितको अधिकारलाई मान्यता दिन अस्वीकार गरेका थिए। सरकारका अन्य मन्त्रीहरूले पनि अदालतका महत्त्वपूर्ण आदेशहरू पालना नगर्न सार्वजनिक रूपमै अपिल गर्दै आएका छन्।

सोही अनुसार प्रधानन्यायाधीश अमितलाई संसदका परम्परागत कार्यक्रमहरूबाट बाहिर राखिँदै आइएको छ। यसअघि पनि प्रधानन्यायाधीशलाई नबोलाइएको भन्दै विपक्षीले इजरायली संसदको ७७औं स्थापना दिवसको विशेष सत्रसमेत बहिष्कार गरेका थिए।

मोदीको यो दोस्रो इजरायल भ्रमण हो। यसअघि उनी सन् २०१७ मा इजरायल गएका थिए भने इजरायली प्रधानमन्त्री नेतन्याहु सन् २०१८ मा भारत आएका थिए।

संसद् विघटनविरुद्धको मुद्दालाई लिएर सर्वोच्चमाथि एमालेले उठायो प्रश्न

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइमा आलटाल गरेको भन्दै सर्वोच्च अदालतमाथि नै असन्तुष्टि जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले एमाले‍ प्रतिनिधिसभा विघटनको विषयको संवैधानिक परीक्षण हुनुपर्छ भन्ने अडानमा रहेको बताएका हुन् ।

‘सर्वोच्च अदालतको आलटालले प्रतिनिधिसभा विघटन संवैधानिक परीक्षणमा नलैजानु संवैधानिक सर्वोच्चताको स्थापित गर्ने कुराबाट गम्भीर ढंगले विचलित हुनु हो,’ शाहीले भने । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटनको निम्ति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसकै आधारमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए । एमालेले सरकारको उक्त कदम असंवैधानिक भएको भन्दै संसद् पुनर्स्थापनाको मागसहित रिट दायर थियो । सर्वोच्चले उक्त रिटमाथिको सुनुवाइ समयमै नगरेको भन्दै एमालेले सर्वोच्च अदालतमाथि विभिन्न टिकाटिप्पणी गर्दै आइरहेको छ ।

निकोलस मादुरोलाई तत्काल रिहा गर्न भेनेजुएलाको माग

भेनेजुएलाका विदेशमन्त्री यभान गिलले अपदस्थ राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी हिरासतबाट तत्काल रिहा गर्न माग गरेका छन् ।

हिजो स्विट्जरल्यान्डको जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई सम्बोधन गर्दै विदेशमन्त्री गिलले मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई तत्काल रिहा गर्न माग गरेको समाचार संस्था अलजजीराले जनाएको छ ।

गिलले निकोलस मादुरोको अपहरणलाई ‘राजनीतिक अपरेशन’ का रूपमा वर्णन गर्दै भेनेजुएलाले आफ्नो मामिला आफैँ समाधान गर्नुपर्ने बताएका छन् । उनले मानव अधिकारलाई युद्धको बहानाका रूपमा प्रयोग गर्न नहुने भन्ने कुरामा जोड दिएको खबरमा उल्लेख छ ।

मादुरो दम्पती गएको जनवरी ३ देखि न्यूयोर्कको जेलमा छन् । गएको महिना अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेर मादुरोलाई पक्राउ गर्दै न्युयोर्क लगेको थियो । अमेरिकाले मादुरोलाई लागूऔषध कार्टेलको नेता भएको आरोप लगाउँदै आएको छ ।

अमेरिकाले मादुरोको ठाउँमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाएको छ । ‘सुरक्षित, उचित र न्यायोचित सत्ता हस्तान्तरण नहुँदासम्म’ भेनेजुएलाको शासन सत्ता अमेरिकाले नै चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ छ ।-एजेन्सी

 

काठमाण्डौ मेडिकल कलेजले साम्बाकाे उपचार निःशुल्क गर्ने

काठमाण्डाै– राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको उपचार काठमाण्डौ मेडिकल कलेज (केएमसी) ले निःशुल्क गर्ने जनाएको छ ।

महँगो उपचार खर्चका कारण समस्यामा परेको भन्दै साम्बाले हिजो सहयोगको अपील गरेपछि केएमसीको प्रशासन प्रमुख नारायणप्रसाद दाहालले उनी नेपालमै उपचार गर्न तयार भए अस्पतालले उपचारसहित सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेका छन् ।

कतारको अस्पेटार अस्पतालमा भएको अघिल्लो शल्यक्रियाको ग्राफ्ट र एमसीएलमा गम्भीर समस्यापछि साम्बालाई पुनः शल्यक्रिया गर्नुपर्ने भएको छ ।

हिजो सामाजिक सञ्जालमार्फत साम्बाले आफ्नो उपचारका लागि झन्डै ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै सहयोग आह्वान गरेकी थिइन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साम्बाको उपचारका लागि कतार फुटबल सङ्घलाई पत्राचार गरेको बताएको छ ।

अस्ट्रेलियन ए लिग फुटबल खेल्ने क्रममा डेढ महिनाअघि साम्बाको घुँडामा चोट लागेको थियो । वेलिङ्गटन फिनिक्समा आबद्ध उनी ब्रिस्बेन रोअरसँगको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किन पुगेकी थिइन् ।

 

सङ्क्रमणकालीन न्याय र निष्पक्ष चुनाव नेपालको प्राथमिकता : प्रधानमन्त्री कार्की

काठमाण्डाै – प्रधानमन्त्री सुशीला कार्कीले सरकारको प्राथमिकता मानव अधिकारलाई संस्थागत गर्नु र आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई शान्तिपूर्ण सम्पन्न गर्नु रहेको बताएकी छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई पीडितमैत्री र विश्वसनीय ढङ्गले टुङ्ग्याउन नेपाल प्रतिबद्ध रहेको उल्लेख गरिन्।

सन् २०२६ का लागि परिषद्को अध्यक्षमा निर्वाचित हुनेहरूलाई बधाई दिँदै प्रधानमन्त्री कार्कीले विश्वले सामना गरिरहेका जलवायु परिवर्तन, द्वन्द्व र विपद् जस्ता जटिल सङ्कटहरूकाबीच मानव अधिकारको विश्वव्यापीकरणलाई कायम राख्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा सदस्य चुनावलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकारले सबै शक्ति परिचालन गरेको समेत जानकारी गराएकी छन् ।

विवाह बन्धनमा बाँधिए क्रिकेटर करण

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी विवाह बन्धनमा बाँधिएका छन् ।

भारतको चण्डीगढमा भएको समारोहमा करण र चलचित्र पत्रकार बर्षा बस्नेत विवाह बन्धनमा बाँधिएका हुन् । वर्षाले ४ दिनअघि आफुहरु विवाह बन्धनमा बाँधिएको उल्लेख गरेकी छन् ।

लामो समयदेखि प्रेममा रहेका उनीहरुले गत पुसमा इन्गेजमेन्ट गरेका थिए ।

आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न करण भारतमा थिए । वर्षा पनि खेल हेर्न भारत पुगेकी थिइन् । उनीहरूले उतै विवाह गरेको बुझिएको छ ।

२४ घण्टामै मतपरिणाम सार्वजनिक गर्ने तयारी

काठ्माण्डौ- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी तत्काल मतगणना कार्य सुरु गरिनेछ। ‘मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गर्ने हाम्रो योजना छ,’ उनले भने। समानुपातिकतर्फ भने एकदुई दिन लाग्न सक्ने जनाइएको छ।

आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरिसकेको र हाल कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको जनाएको छ। मतदान फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म सञ्चालन हुने तालिका छ।

सुदूरपश्चिममा मत हाल्न भारतबाट फर्किंदै कामदार

धनगढी- ऐतिहासिक जेनजी आन्दोलनपछि हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मताधिकार प्रयोग गर्न परदेसिएका कामदार स्वदेश फर्किन थालेका छन् । पर्याप्त रोजगारीको अवसर नहुँदा सुदूरपश्चिम प्रदेशबाट ठुलो सङ्ख्यामा मजदुरी गर्न भारत जाने बाध्यता छ । रोजगारीको सिलसिलामा त्यसतर्फ गएकाहरू निर्वाचनमा मताधिकार प्रयोग गर्न गौरीफन्टा नाका भएर फर्किरहेका छन् ।

निर्वाचनको मिति नजिकिँदै जाँदा अहिले दैनिक तीन सयभन्दा बढी नेपाली स्वदेश फर्किरहेको सीमा सुरक्षामा खटिएका अधिकारीले जानकारी दिएका छन् । रोजीरोटीको जोहो गर्न बाध्यताले भारत पसेकाहरू मुलुकमा परिवर्तनको आशा बोकेर फर्किरहेका छन् । अछामको मङ्गलसेन नगरपालिका–१३ का झुमाकान्छा ढुङ्गानाले विशेष गरेर मुलुकमा केही परिवर्तनको आश गरेर चुनावमा भोट हाल्न आएको बताए ।

सोमबार बिहान गौरीफन्टा नाकामा भेटिएका उनले थपे, “देशको परिस्थिति बदलिने आशमा आधा महिना ड्युटी छोडेर भए पनि भोट हाल्न आएका छौँ । हाम्रो एक मतले परिवर्तन हुन्छ भने जाउँ न त भनेर २५/३० जना साथीसँगै आइरहेका छौ । अरू पनि अब आउँछन् ।”

एक भोटले मुलुकमा परिवर्तन आएमा भारत गएर श्रम गर्दै आएका आफूहरूको पनि यतै रोजगारीको व्यवस्थापन हुने परदेशी कामदारको अपेक्षा छ । स्वदेशमा नै सामान्य किसिमको भए पनि काम गर्ने वातावरण बनोस् भन्ने उनीहरूको चाहना छ । पुराना दलबाट धेरै वर्षसम्म अपेक्षा गरिए पनि केही नभएको गुनासो गर्दै ढुङ्गानाले यस पटक मत बदल्ने सोचमा रहेको उल्लेख गरे।

उनीहरूले आफूहरूले मुलुकमा परिवर्तन र यतै रोजगारी चाहेको उल्लेख गरेका छन् । कैलालीको गोदावरी नगरपालिका–३ का प्रेम भण्डारीले मुलुकमै रोजगार बन्ने सबैको चाहना रहेको उल्लेख गरे। चुनावमा भोट हाल्न आएको सुनाउँदै उनले भने, “अब एक महिनासम्म यतै बस्छु ।”

आफूलाई कसैले बोलाउनुभन्दा पनि आफ्नो स्वविवेकले मताधिकारको प्रयोग गर्न आएको भण्डारीको भनाइ छ । सुदूरपश्चिम प्रदेशका नेपाली भारतको मुम्बई, दिल्ली, चेन्नई, गुजरात, सिमला, सुरत, रत्नागिरिलगायतका ठाउँमा गएर काम गर्ने गरेका छन् । सहरी क्षेत्रमा लामो समयका लागि काम गर्ने र सिमलालगायतको क्षेत्रमा छोटो समयका लागि काम गर्न जाने परिपाटी रहेको छ ।

खोज्नुहोस