लालबहादुर बोहरा
उप-प्राध्यापक, जयपृथ्वी बहुमुखी क्याम्पस
भोपुर, बझाङ
सुदूरपश्चिम विश्वविद्यालय (सुपवि)ले आफ्नो प्राज्ञिक दायरालाई दिनप्रतिदिन यो वा त्यो रुपमा स्तरीयरुपमा फराकिलो पार्दै गएको छ। आवधिकरुपेण सुपवि आफै तथा त्यसका आंगिक निकायहरुले सञ्चालन गर्ने प्राज्ञिक सभासम्मेलन, कार्यशाला, सिकाइ आदानप्रदानमूलक गोष्ठी, तालिम, सहकार्य, अनुसन्धान, आदिका मार्फत विश्वविद्यालयको प्राज्ञिक संस्कार, आचरण, कार्यशैली तथा कार्यरत प्राध्यापक र कर्मचारी तथा विद्यार्थीहरुको पेशागत विकासमा नवप्रवर्तनमुखी तवरले रुपान्तरण र विकास हुँदै गएको छ। यो आफैमा स्वयम विश्वविद्यालय तथा सुदूरपश्चिमेली समुदायका निम्ति गौरवको बिषय त हो नै साथै यस क्षेत्रको समुल अध्ययन र अनुसन्धानमार्फत विकास र समृद्धिको डिपार्चर आधारस्तम्भ पनि हो। हालै सुपविले ‘सम्पदा, नवप्रवर्तन र रुपान्तरण बिषयक आफ्नो तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन बढो भव्यताकासाथ सम्पन्न गरेको छ। यस लेखमा मैले उक्त प्राज्ञिक सम्मेलनमार्फत सञ्चालन भएका विविध गतिविधिहरु तथा तिनका तात्कालिक तथा दिर्घकालीन प्रभावका बारेमाचर्चा गर्ने अनुमति चाहन्छु।
सुपवि केन्द्रीय कार्यालयको परिसरमा गत केही बर्षदेखि प्रति फेब्रअरी महिनामा नेपालसहित दुनियाँभरका प्राज्ञ, बिज्ञ,प्राध्यापक, विश्वविद्यालयका पदाधिकारी, अनुसन्धाता, र शोधार्थीहरुको समुपस्थितिमा अन्तर्राष्ट्रिय सम्मेलनहरु सञ्चालन हुँदै आएका छन्। यसपटक पनि यही फेब्रअरी १७, १८ र १९ गते सम्पदा, नवप्रवर्तन र रुपान्तरण बिषयक अन्तर्राष्ट्रिय सम्मेलनको तेस्रो संस्करण सम्पन्न भएको छ। तेइस देशहरु (नेपाल, भारत, भुटान, बंगलादेश, पाकिस्तान, श्रीलंका, मलेशिया, सिंगापुर, हङ्कङ, जापान, कोलम्बिया, फिलिपिन्स, चाइना, दक्षिण कोरिया, पोल्याण्ड, न्युजिलेण्ड, इस्टोनिया, बेलायत, जर्मनी, अष्ट्रेलिया, स्विजरलेण्ड र अमेरीका)का झण्डै ३०० बढी प्रतिनिधिहरुको गर्भिलो उपस्थिति, कार्यपत्र प्रस्तुति, सिकाइ आदानप्रदान, छलफल, आदि, जस्ता गतिविधिहरुका कारण विश्वविद्यालयको गरिमा, प्राज्ञिक दायरा र अध्ययन/अनुसन्धानको घनत्व बढेर गएको छ।
बहुविधामा आधारित यस अन्तर्राष्ट्रिय सम्मेलनले ‘सम्पदा, नवप्रवर्तन र रुपान्तरण’ बिषयक मुख्य थिम र दर्जन बढी अन्य सब-थिमहरुमा आधारित भएर प्राज्ञिक बहसको उठान गरेको छ। सामाजिक, सांस्कृतिक सम्पदा, इतिहाँस, अर्थतन्त्र, रोजगारी, पेशाव्यवसाय, अन्तर्राष्ट्रिय सम्बन्ध, कुटनीति, आदि, देखि विज्ञान तथा प्रविधिमा आएको नवप्रवर्तन र कृतिम बौद्धिकतासम्मका तमाम बिषयबस्तुहरुका बारेमा सविस्तार छलफल गर्ने प्रयास गरेको छ। समग्रमा सम्मेलनले सुपविको आँगनीबाट ज्ञान, विज्ञान र प्रविधिकामार्फत स्वदेश तथा बिदेशको सामाजिक-सांस्कृतिक अवस्थिति, नवप्रवर्तन, सम्भावना र सामना गर्नुपर्ने चुनौंतिका बारेमा विश्वभरका प्राज्ञहरुलाईहातेमालो गर्दै साझा सवालहरुमा एकाकार भएर अगाडि बढ्न प्रेरित गरेको छ।
सम्मेलनको मुख्य थिम र सब-थिमहरुलाई मध्यनजर गरी पाँचवटा बिशेष प्रस्तुति (प्लेनरी स्पिच), तीनवटा समुह छलफल (प्यानल डिस्कसन्), ४५ वटा आमन्त्रित प्रस्तुति (इन्भाइटेड स्पिच), १६२ वटा मौखिक/प्राविधिक प्रस्तुति,र २९ वटा पोस्टर प्रदर्शनहरुसहित जम्माजम्मी २४४ वटा प्राज्ञिक कार्यपत्रहरु प्रस्तुत गरी छलफल र अन्तरक्रियामार्फत सार्वजनीक गरिएका छन् भने दर्जन बढी साँस्कृतिक झलकहरुमार्फत देशीबिदेशी पाँहुनाहरुलाई मनोरञ्न दिलाउने काम भएको छ।
औपचारिक कार्यक्रमका साथै अनौपचारिक बसाइकाक्रममा समेत सम्पूर्ण सहभागिहरु निकै लाभान्वित भए होलान्। दिनभर जसो भइरहने चियानास्ता र लन्चब्रेकमा सहभागिहरू एकआपसमा चिनापरिचय गर्दै व्यक्तिगत भलाकुसारी, पेशागत तथा संस्थागत गतिविधि, प्राज्ञिक संस्कार, आदिका बारेमा समेत गफगाफ गरिरहेका सुनिन्थे। त्यतिमात्र हैन भावि दिनहरुको नियमित सम्पर्कमार्फत आ-आफ्नो प्राज्ञिक दायरालाई फराकिलो बनाउन सामाजिक संन्जाल जस्तै मोबाइल नम्बर, फेसबुक, वाट्सेप, भाइबर, आदि आदानप्रदान गरिरहेकासमेत देखिन्थे। सम्मेलनको सेरोफेरोमा यी सबै गतिविधिहरुलाई नियाल्दा लाग्थ्यो सुपविको आँगनमा एक अभूतपूर्व र जीवन्त प्राज्ञिक महोत्सव मन्थन भइरहेको थियो।उपस्थितसहभागितहरु व्यक्तिगत र सामुहिकरुपमा मन, ज्ञान र विज्ञान एकआपसमा माझिरहेका थिए। वर्तमानको भेटघाटबाट भविस्यकालागि आ-आफ्नो पेशागत विकासलाई सुनिश्चित गर्दै थिए। साँच्चिकै कर्णाली वारिको नेपालकालागि यो नै प्राज्ञिक घनत्वका हिसाबले सबैभन्दा ठूलो र फराकिलो जमघट हुन सक्दछ। सम्मेलन आयोजक समितिको उचित व्यवस्थापन र व्यस्त खटनपटनका कारण मात्र त्यति ठूलो घनत्व भएको कार्यक्रमलाई तीन दिनभित्र सम्पन्न गर्न सकिएको हो ।
सम्मेलनमार्फत सुदूरपश्चिम प्रदेश अन्तर्गतका सामाजिक र प्राकृतिक सम्पदाहरुको अध्ययन/अनुसन्धान गरी सम्प्रेषण गरिनुपर्ने कुराले पनि प्रयाप्तरुपमा प्रशय पाएको छ। प्राज्ञहरुले यो क्षेत्र अँझै पनि भर्जिनरुपेण अवस्थित रहेकाले अनुसन्धाताहरुको ध्यान यसको खोज/अनुसन्धान गरी विश्वव्यापिकरण गर्नमा जानुपर्ने कुरामा जोड दिएका छन्। सम्मेलनमार्फत यसको अगुवाइ सुपविले गर्नुपर्ने भाष्य अगाडि सारिएको छ । यसलाई पनि सम्मेलनको एउटा महत्वपूर्ण माइलस्टोनका रुपमा हामीले लिनै पर्दछ।
यो सम्मेलन फराकिलो जमघट र प्राज्ञिक घनत्वका हिसाबले मात्र फरक रहेन, त्यो संगै कयौं अन्य आयामहरुका कारण पनि निकै गर्भिलो र उदाहरणीय रहनगयो। विकसित देशका विश्वविद्यालयस्तरीय कुनैपनि सभासम्मेलनहरु तथा प्राज्ञिक गतिविधिहरु दलीय राजनीतिको छाया र प्रभावबाट निकै टाढा रहन्छन् । विश्वविद्यालयहरु ज्ञानविज्ञान र नवप्रवर्तनका स्रोत भएकाकारण पनि राजनीतिक बिचार भन्दा टाढा राख्न सके तिनको स्तरलाई विश्वव्यापिकरण गर्न सकिने विश्वास गरिन्छ।
सुपविको हालै सम्पन्न सम्मेलनले पनि आम प्राज्ञिक जगतलाई त्यही खालको आभास दिलाएको छ। सम्मेलनको सुभारम्भदेखि समापन सम्म त्यसका गतिविधिहरु पूर्णतया बिशुद्ध प्राज्ञिकरुपमा सञ्चालन भए। तीनदिवसीय त्यो सम्मेलनमा अध्ययन, अनुसन्धान, ज्ञानविज्ञान, सम्पदा, नवप्रवर्तन र रुपान्तरण बाहेक अन्य केही प्रसंगले पनि प्रबेश पाएन। नेपाली राजनीतिको कुरुप उदाहरणस्वरुप कुनैपनि कार्यक्रमको अधिकाँस समय अतिथिहरुको सम्बोधनमा खर्चिने प्रचलन छ। यो सम्मेलनमा त्यो कुरुप र लज्जास्पद नेपालीपनको प्रचलनलाई पनि बिट मार्ने काम भयो।कार्यक्रम अवधिभर व्यक्ति भन्दा बिषयबस्तुलाई महत्व दिएर समयको खपत अर्थपूर्ण तवरले गर्न खोजेको देखियो ।
साँच्चिकै भनिन्छ, राजनीतिकर्मीहरुले एकघण्टा लगाएर अभिव्यक्त गर्ने कुरा प्राज्ञहरुले दश मिनेटमा सम्पन्न गर्न सक्दछन; त्यो पनि प्रष्ट र दिशानिर्देश हुने गरी। यो सम्मेलनका बिशिष्ट प्राज्ञदेखि अनुसन्धातासम्मैले त्यही प्राज्ञिक संस्कारको अनुसरण गर्ने प्रयास गरे। महिनौं लगाएर तयार पारिएका आ-आफ्ना कार्यपत्रहरुलाई तोकाएको समयावधि भित्र प्रस्तुतीसहित अन्तरक्रिया र निष्कर्षमा पुग्न समेत भ्याए। सिकारु अनुसन्धाताहरुले अनुभवी र बिशिष्ट प्राज्ञहरुबाट समयको सही सदुपयोग मात्र सिकेनन्, नयाँ ज्ञान उत्पादन गरी त्यसलाई सम्पदानसहित दस्ताबेजीकरण गर्दै प्राविधिकरुपमा प्रस्तुत गर्ने कलात्मक शैलीसमेत सिके।यसलाई पनि यो सम्मेलनको महत्वपूर्ण माइलस्टोनकारुपमा हेर्न सकिन्छ।
सम्पन्न सम्मेलनमार्फत प्राज्ञहरुलाई नेपालीपनको स्वागत/सत्कार र सम्मान गर्ने प्रचलनले पनि निकै आकर्षण पायो। विश्वभरका प्राज्ञहरुले नेपालमा आएर आफ्नो प्राज्ञिक ज्ञान मात्र आदानप्रदान गरेनन् यहाँको संस्कार, संस्कृति, मुल्यमान्यता, मानसम्मान, आदिको समेत जीवन्त अनुभव गर्ने अवसर पाए। सम्मेलन आयोजकका तर्फबाट स्वदेशी तथा बिदेशी प्राज्ञहरुलाई नेपाली पहिचानसहितको स्वागत र मानसम्मानले पक्कै पनि यहाँको मौलिकतालाई विश्वव्यापिकरण गर्ने/गराउने अवसरसमेत जुरायो। नेपाली मौलिकता बोकेका साँस्कृतिक झलकहरु जस्तै देउडा, हुड्केली, सेलो, मारुनी, भुवोभस्सो, आदि, नाँचहरुले पनि सम्मेलनका पाँहुना र सहभागीहरुलाई बढो मनोरञ्जनका साथ जीवन्त साक्षात्कार गराउने काम भयो। यसले पनि सम्मेलनको उपलब्धीका रुपमा एउटा माइलस्टोन प्रदान गरेको छ।
सम्मेलनको अवधिभर प्राय सबैजसो गतिविधिहरु उदाहरणीय रहे पनि एउटा कुराले भने सम्मेलनको गरिमालाई लघुताभासतर्फ उन्मुख गरेको छ। त्यो के भने सुपवि भित्रका अधिकाँस प्राध्यापक तथा कर्मचारीहरुको सम्मेलनमा स्वस्फुर्त उपस्थितिको कमि। तथ्याङ्कले भन्छ, हाल सुपवि भित्र झण्डै छसय बढी प्राध्यापक र कर्मचारीहरु कार्यरत छन्। ती मध्य पुगनपुग सयजना जति मात्र सहभागिहरु सम्मेलनको समुद्धाटनमा सुपविबाट उपस्थित भए होलान्। पक्कै पनि विश्वभरका प्राज्ञहरु हाम्रो सम्मेलनका बारेमा जानकार हुँदा हाम्रा प्राध्यापक र कर्मचारीहरु त्यस सम्बन्धी बेखबर भएझैं अनुपस्थित हुनु सुखद कुरा हैन। दुःखको कुरा त के भने सुपवि बाहेक नेपालका अन्य विश्वविद्यालय तथा बिदेशबाट आएका प्रतिनिधिहरु हरेक सेसनमा व्यस्तताका साथ सहभागी हुँदा हाम्रा कतिपय स्थानीय साथिहरु भने सभाहल तिर बिरलै देखीए। समग्रमा सम्मेलनको सफलतातर्फ त हामी सबै उन्मुख भयौं तर त्यसको गरिमालाई अँझ बढाउन हाम्रो उपस्थिति बढी भन्दा बढी र हरपल हुनुपर्थ्यो, त्यसमा केही कमजोरी देखियो, हामी सबैले सुधार गर्नैपर्छ। आगामी दिनमा हामी थप रुपान्तरित हुनैपर्छ।हौं र हुनेछौं पनि।
अन्तमा, हाम्रो सम्मेलन तुलनात्मक रुपमा सफल र गतिविधिका हिसाबले नितान्त प्राज्ञिकरुपेण सम्पन्न भएको छ। यो सम्मेलन मार्फत विश्वदुनियाँले सुपविलाई नजिकबाट साक्षात्कार गरेको छ। दुनियाँभरका प्राज्ञहरुबाट कतिपय प्राज्ञिक संस्कारहरु सुपविले सिकेको छ भने कतिपय सुपविका तर्फबाट सिकाइएका छन्। समग्रमा सुपविद्वारा आयोजित सम्मेलनको तेस्रो संस्करणको सफल अवतरणसंगै चौथो संस्करणलाई थप उचाइका साथ सफल पार्नमा लागिपर्नु हामी सबैको दायित्व हो। पक्कै पनि सुपविको ओजलाई अँझै फराकिलो बनाउँन हामी सबैको हातेमालोको खाँचो छ। हामी सबैले बिगतका गल्तिबाट सिक्दै र रुपान्तरित हुँदै अगाडि बढ्न सके सुपविका आगामी दिनहरु थप राम्रा हुँदै जानेछन्, हामी सबैको त्यसैमा भलो छ।