विगतका निर्वाचनमा भन्दा सुरक्षा व्यवस्था मजबुत
निर्वाचनविरोधी समूहलाई निगरानी र नियन्त्रण गर्न निर्देशन
काठमाडौं । सुरक्षा निकायका प्रमुखहरूले यसपटकको निर्वाचन सुरक्षा तयारी विगतका निर्वाचनमा भन्दा मजबुत रहेको प्रधानमन्त्री सुशीला कार्कीलाई ब्रिफिङ गरेका छन् । मंगलबार प्रधानमन्त्रीनिवासमा भएको सुरक्षासम्बन्धी छलफलमा सुरक्षा तयारी सन्तोषजनक रहेको निष्कर्ष निकालिएको हो । बैठकमा सहभागी एक अधिकारीका अनुसार केही निर्वाचनविरोधी समूह सक्रिय भए पनि ठुलो चुनौती नरहेको प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको छ । विगतका निर्वाचनमा भन्दा निर्वाचनविरोधी समूह कम रहेको र सुरक्षाकर्मीको संख्या विगतमा भन्दा धेरै भएकाले सुरक्षा व्यवस्था अहिलेसम्मकै मजबुत रहेको सुरक्षा प्रमुखहरूको भनाइ थियो । यसपटकको निर्वाचनमा तीन लाख ४० हजार सुरक्षाकर्मी परिचालित हुने र विगतको तुलनामा यो धेरै भएको सुरक्षा निकायको ब्रिफिङ छ ।
यद्यपि, निर्वाचनविरोधी समूहले सामाजिक सद्भाव भड्काउने प्रयास गर्न सक्ने भएकाले उनीहरूमाथि निगरानी बढाउने निर्णय भएको छ । ‘खासगरी होलीको समयमा कुनै समूहले योजनाबद्ध रूपमा सामाजिक सद्भाव भड्काउने गतिविधि गर्न सक्छन् भन्ने छ,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘त्यसकारण खासगरी तराईमा थप सुरक्षा सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ ।’ तराईमा १९ फागुनमा होली छ । त्यस दिन मंगलबार परेकाले भोलिपल्ट पनि होली मनाइने र निर्वाचनको अघिल्लो दिन पर्व मनाउने क्रममा झडप हुन सक्ने भएकाले सुरक्षा निकाय त्यस्ता गतिविधि रोक्न चनाखो हुनुपर्नेमा जोड दिइएको छ ।
प्रधानमन्त्री कार्कीले चुनौती सिर्जना गर्न सक्ने सम्भावित व्यक्ति र समूहको पहिचान गरी कडा निगरानी र नियन्त्रणका उपाय अपनाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयद्वारा जारी प्रेसनोटमा उल्लेख छ । बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै विभिन्न जिल्लामा जाँदा निर्वाचनका लागि जनतामा उत्साह रहेको सुनाएका थिए ।
हिमाली क्षेत्रमा मौसमको चुनौतीबारे पनि छलफल भएको थियो । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको दिन सामान्य नै हुने आकलन गरेकाले चुनौती नरहेको गृह मन्त्रालयका अधिकारीले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।
‘हाई अलर्ट’मा सुरक्षा निकाय
निर्वाचन आयोगमा मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकमा सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीले निर्वाचन तयारीमा ‘हाई अलर्ट’मा रहेको ब्रिफिङ गरेका छन् । बैठकमा प्रहरी प्रमुख दानबहादुर कार्कीले मधेशका केही जिल्लामा देखिएको घटना पनि साम्य भइसकेको र सम्भावित घटना रोक्न संवेदनशील जिल्लालाई ‘हाई अलर्ट’मा राखिएको बताए । ‘सानातिना विरोध गर्ने हुन सक्छन् । उच्च निगरानी र अलर्टमा छौँ । निर्वाचनलाई कुनै सुरक्षा समस्या हुँदैन,’ उनले भनेका थिए । नेपाल–भारत सीमा ७२ घण्टा बन्द गर्न सरकारलाई सिफारिस गर्ने र मदिरा बिक्री–वितरण सात दिन बन्द गर्ने निर्णय गरिएको छ ।
