दलहरूसँग आचारसंहिताबारे छलफलमा निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल सुरु गरेको छ । छलफल निर्वाचन आयोगको कार्यालयमै छलफल सुरु भएको छ ।

आगामी २१ फागुनमा हुने निर्वाचनको तयारी र आचारसंहिताबारे दलहरुसँग छलफल भइरहेको आयोगले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत, तमलोपा लगायतका दलका नेता सहभागी छन् ।

दल तथा उम्मेदवारले पालना गर्नु पर्ने आचारसंहितालगायतका विषयमा छलफलकेन्द्रीत छ।

यसपटक राजनीतिक दल र उम्मेदवारले चुनावी घोषणा पत्र आयोगमा बुझाउनु पर्ने र प्रत्यक वर्ष त्यसको कार्यान्वयनको अवस्थाको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने प्रावधान थपिएको छ ।

राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता सूचीमा नाम दर्ता सुरु

काठमाडौं। राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने भएको छ।

निर्वाचन आयोगले बिहीबारबाट राष्ट्रिय परिचपत्रको विवरणको आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको हो। यसका लागि बुधबार रातभरि प्राविधिक तयारी र परीक्षणका काम भएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउनेछ।

यही ३० कात्तिकसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ। मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लाग्दा थपिने नयाँ मतदाताको संख्या पनि बृद्धि हुँदै आएको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदाता सूचीमा नाम लेखाउन मिल्ने भएपछि अब बाँकी दिनमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यले थप रफ्तार पाउने आयोगका अधिकारीहरू बताउँछन्।

यसअघि बुधबार प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी थिइन्। छलफलमा आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीसहितका अधिकारीहरू थिए।

छलफलको क्रममा आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्न लागिएको जानकारी गराएको थियो।

छलफलमा राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरे पनि सहभागी थिए। उनले राष्ट्रिय परिचय पत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताएका थिए।

राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने भएको छ ।

यससम्बन्धी व्यवस्थाको शुभारम्भ बिहीबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका छन् ।

अस्ट्रेलियामा सडक दुर्घटनामा तीन नेपालीको मृत्यु

काठमाडौँ । अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रामीण क्षेत्र स्टोनलीमा भएको भीषण सवारी दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन नेपालीले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेमा ४१ वर्षीय पुरुष, ३१ वर्षीया श्रीमती र तीन वर्षीय छोरा रहेका छन् । उनीहरू सवार कारलाई मालबाहक ट्रकले ठक्कर दिँदा घटनास्थलमै तिनै जनाले ज्यान गुमाएको रिपोर्टमा उल्लेख गरिएको छ ।

दुर्घटनामा दम्पतीकी आमा गम्भीर घाइते भएकी छन् र उनलाई हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइएको छ । चिकित्सकका अनुसार उनको अवस्था स्थिर रहेको छ ।

 

स्टार स्पोर्ट्सबाट खोसियो एनपीएल लाइभको एक्सक्लुसिभ राइट, अब एउटा नेपाली च्यानलमा पनि आउने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको प्रत्यक्ष प्रसारण नेपाली च्यानलमार्फत पनि हुने भएको छ । स्टार स्पोर्ट्ससँगै अर्को एउटा नेपाली टेलिभिजन च्यानलबाट समेत एनपीएल दोस्रो सिजन प्रसारण हुने भएको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिता सुरु हुनुभन्दा चार दिन अगाडि मात्रै यसअघि निकालेको ठेक्का संशोधन गर्दै स्टार स्पोर्ट्सँगै नेपाली च्यानलबाट पनि खेल प्रसारण गर्न लागेको छ । ४ नोभेम्बरमा नेपाल प्रिमियर लिगको नेपाल भित्रको प्रसारण अधिकार (लिनियर टेलिभिजन) बिक्रीका लागि सङ्घले टेन्डर निकालेको थियो ।

विदेशी च्यानललाई मात्रै छनोट गर्न ठेक्का निकालिएको भन्दै नेपालका टेलिभिजन च्यानल सञ्चालकहरूले विरोध गरेपछि क्यानले प्रतियोगिता सुरु हुन केही दिन अघि मात्रै ठेक्का संशोधन गरेको हो । क्यानका अनुसार अघिल्लो सिजनको जस्तै यो सिजन पनि स्टार स्पोर्टसले नेपाल प्रिमियर लिग प्रसारण गर्ने समझदारी बनिसकेको छ । तर, बिहीबार ठेक्का संशोधन गर्दै क्यानले नेपाली च्यानलहरूलाई पनि ठेक्कामा भाग लिन सक्ने गरी सूचना निकालेको छ ।

यसअघि इच्छुक प्रसारकसँग साधारण अनुभवअन्तर्गत विगत पाँच वर्षमा नेपालमा कम्तीमा एक अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रसारण अधिकार पाएको हुनुपर्ने सर्त तोकिएको थियो । अहिले क्यानले त्यसलाई संशोधन गर्दै विगत पाँच वर्षमा इच्छुक संस्थाले कुनै पनि आन्तरिक, क्षेत्रीय वा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रसारण अधिकारमा संलग्न भएको प्रमाण पेस गर्नुपर्नेछ ।

स्टार स्पोर्ट्सले नेपाल प्रिमियर लिग दोस्रो सिजनको एक्सक्लुसिभ अधिकार पाइसकेको छ । अर्थात् स्टार स्पोर्ट्ससँग मात्रै प्रतियोगिता अवधिभर खेलको प्रत्यक्ष प्रसारण गर्ने अधिकार थियो । खेलको हाइलाइट्सका साथै अन्य कन्टेन्ट क्यानबाट स्वीकृति लिएर सोही च्यानलले मात्रै प्रसारण गर्न पाउँथ्यो ।

तर, क्यानले त्यसलाई पनि संशोधन गर्दै ‘नन-एक्सक्लुसिभ’ प्रसारण अधिकार (लिनियर टेलिभिजन) बनाएको छ । अर्थात् अब अर्को एउटा नेपाली च्यानलले पनि नेपालमा एनपीएलका सबै खेल, हाइलाइट्स तथा अन्य कन्टेन्ट प्रसारण गर्न पाउने बाटो खुलेको छ ।

त्यसैगरी, क्यानले ठेक्काको न्यूनतम बिड मूल्य एक करोड रुपैयाँ तोकेको छ । ठेक्का प्रक्रियामा कम्तीमा दुई वटा कम्पनीले जोइन्ट भेन्चर (संयुक्त लगानी) गरेर प्रस्ताव पेस गर्न सक्छन् । तर, नेपाल प्रिमियर लिग भने एउटा मात्रै च्यानलमा प्रसारण गर्नुपर्ने सर्त संशोधनमार्फत थप गरिएको क्यानले जनाएको छ ।

शुक्रबार दिउँसो तीन बजेसम्म इच्छुक संस्थाले ठेक्काको डकुमेन्ट खरिद गर्न सक्नेछन् भने प्रस्ताव शनिबार मध्यान्न १२ बजेसम्म बुझाइ सक्नुपर्नेछ । क्यानले शनिबार दिउँसो १ बजे ठेक्का प्रस्ताव खोल्ने तयारी गरेको छ ।

क्यानले ४ नोभेम्बरमै भारतबाहेकका सबै देशहरूमा एनपीएल प्रसारणका लागि ओटीटी प्लेटफर्ममार्फत एक्सक्लुसिभ अधिकार बिक्री गर्ने टेन्डर खुलाएको थियो । त्यसको नतिजा भने क्यानले आधिकारिक रूपमा सार्वजनिक गरिसकेको छैन ।

पाँच नयाँ दलले प्रमाणपत्र पाए, २१ दल दर्ता प्रक्रियामा

काठमाडौ २७ कात्तिक। निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्तामा पनि चाप देखिएको छ । प्रतिनिधिसभा निर्वाचनको घोषणा भएयता पाँच वटा नयाँ राजनीतिक दल दर्ता भइसकेका छन् । त्यसबाहेक २० वटा नयाँ र एकीकरण प्रक्रियाबाट आएको एउटा दल पनि दर्ता प्रक्रियामा छन् । पुराना पार्टीहरू माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसहित विभिन्न दल एकीकरण भएर बनेको नेपाली कम्युनिस्ट पार्टी दर्ता प्रक्रियामा छ । आयोगको राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार एकीकरण भएर आएका सहित २१ वटा दल दर्ताका निवेदन विचाराधीन छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने दिन नजिकिँदै गर्दा नयाँ राजनीतिक दल थपिने क्रम बढेको हो ।

२३ र २४ भदौको जेन–जी आन्दोलनपछि धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टी, बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत सहभागी रहेको दिनेशराज प्रसाईं नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी तथा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल दर्ता भएको छ । नागरिक उन्मुक्ति पार्टी, नेपालले बुधबार दर्ता प्रमाण पत्र पाएको हो ।

त्यस्तै, निर्वाचन घोषणापछि दुई वटा राजनीतिक दलबाट विभाजित भएर दुई नयाँ दल थपिएका छन् । जनमत पार्टीबाट विभाजन भएर जनस्वराज पार्टी गठन भएको छ । त्यस्तै, नेपाल जनमुक्ति पार्टीबाट विभाजन भएर गठन गरिएको राष्ट्रिय जनमुक्ति पार्टी पनि आयोगमा सूचीकृत भइसकेको छ । योसँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १ सय २६ पुगेको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञ भट्टराईले बताए । यसअघि आयोगमा दर्ता रहेको वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानको दर्ता भने खारेजी भएको छ । गौतमले आफ्नो दललाई एकीकृत समाजवादी पार्टीमा एकीकरण गराएका थिए ।

त्यस्तै, कुलमान घिसिङको समर्थन रहेको अनुप उपाध्याय नेतृत्वको उज्यालो नेपाल पार्टी, अजयकुमार राई नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टी, गोपीलाल न्यौपाने नेतृत्वको नेपाल लिबरल पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल दर्ता प्रक्रियामा छ । नवराज सुवेदी नेतृत्वको जनयुग पार्टी, खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल, हिमालयबहादुर चन्द नेतृत्वको नेपाल राष्ट्रिय युवा पार्टी र योगेन्द्र मण्डलले राष्ट्रिय ऊर्जाशील पार्टी, नेपाल दर्ताका लागि निवेदन दिएका छन् ।

त्यसैगरी, चन्द्रप्रकाश सुवेदीले सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलले राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठले नागरिक सर्वोच्चता पार्टी, रियाज अहमद शेषले राष्ट्रिय स्वराज पार्टी दर्ताका लागि आयोगमा प्रक्रिया बढाएका छन् ।

अन्तरजिल्ला मतदानको व्यवस्था गर्न आयोगलाई प्रधानमन्त्रीको सुझाव

काठमाडौ २७ कात्तिक। प्रधानमन्त्री सुशीला कार्कीले अन्तरजिल्ला मतदानको व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएकी छिन् । प्रधानमन्त्रीले बुधबार निर्वाचन आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालय बोलाएर देशभित्रै करिब १५ लाख मतदाता मतदानबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्न ध्यानाकर्षण गराएकी हुन् ।

आयोगका अनुसार पढाइ, रोजगारी, व्यापार–व्यवसाय वा अन्य कारणले करिब १२ देखि १५ लाख मतदाता जिल्लाबाहिर हुँदा ०७९ को निर्वाचनमा मत हाल्न पाएका थिएनन् । यो अवस्था अन्त्य गर्न आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा अस्थायी मतदाता नामावली तयार गर्ने र अग्रिम मतदान गराउने प्रस्ताव गरेर १८ असार ०८० मा गृह मन्त्रालय पठाएको थियो । गृहबाट मस्यौदा अगाडि नबढेका वेला प्रधानमन्त्री कार्कीले देशभित्र मतदानबाट वञ्चित कार्यक्षेत्रमा रहेका मतदातालाई सम्बोधन गर्न आयोगका पदाधिकारीसँग छलफल गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचनमा उम्मेदवारको खर्च घटाउन र मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको व्यवस्था गर्न कति सम्भव छ भनेर सोधेकी थिइन् । ‘कार्यक्षेत्रबाट मान्छे ओसार्दा हैरानी भयो । यसैकारण खर्चिलो भयो, अन्तत: भ्रष्टाचार बढायो, हामी त सुशासन कायम गर्न आएको हो । जहाँ कार्यरत छ, त्यहीँबाट भोट हाल्ने उपाय के हो, व्यवस्थापन कसरी गर्न सकिन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार राम रावलले भने, ‘आयोगका पदाधिकारीले यसको सबल र दुर्बल पक्ष राख्नुभयो । यो कुरा छलफलकै क्रममा छ । निष्कर्षमा पुगिसकेको छैन ।’ आयोगका पदाधिकारीले समय, स्रोत र सरकारले गर्ने निर्णय एवं आयोगको ‘स्ट्रेन्थ’ पनि हेर्नुपर्ने धारणा राखेका थिए ।

आयोगका एक आयुक्तका अनुसार कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले समानुपातिकतर्फ कार्यस्थलबाटै मतदान गराउन सकिने धारणा राखेका थिए । ‘समानुपातिकतर्फ हामीले यसअगाडि पनि निर्वाचनमा खटिने कर्मचारी, कारागारका कैदी, वृद्धाश्रमका सदस्य र ब्यारेकमा रहेका सुरक्षाकर्मीलाई कार्यरत स्थलबाटै मतदानको व्यवस्थापन गर्दै आएका छौँ,’ उनले भने, ‘सम्माननीयज्यूको चासोलाई समानुपातिकतर्फ व्यवस्थापन गर्न सकिन्छ । यसमा थप गृहकार्य आवश्यक छ ।’ तर, प्रत्यक्षतर्फ भने मतदानको व्यवस्था गराउन कानुन नै नरहेको र सुरुमा कानुन संशोधन गर्नुपर्ने उनको भनाइ थियो । त्यसपछि प्रत्यक्षतर्फ व्यवस्थापकीय जटिलता रहेको, समयको चाप र १६५ निर्वाचन क्षेत्रमै छुट्टै बुथ थप्नुपर्ने, कुन बुथमा कति मतदाता हुन्छन् भन्ने पनि थाहा नहुने भएकाले चुनौतीपूर्ण रहेको भण्डारीको भनाइ थियो ।

भण्डारीले सरकारले स्रोतसाधन र सुविधा दियो भने समानुपातिकतर्फ कार्यस्थलबाटै मतदान गराउन आयोग तयारै रहेको बताए । ‘प्रधानमन्त्रीले स्रोतसाधन दिन्छु भन्नुभएको छ । थप गृहकार्यपछि टुंगो लाग्ला,’ उनले भने ।

यसअघि ०७९ को निर्वाचनमा तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निजी क्षेत्रका काम गर्ने मान्छेलाई आगामी निर्वाचनबाट जो मान्छे जहाँ छन्, त्यहीँबाट मताधिकार दिन ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए । त्यहीअनुसार उनले अस्थायी मतदातामार्फत अग्रिम मतदानको व्यवस्थासहित कानुन मस्यौदा गरेर पठाएका थिए । आयोगका प्रवक्ता नारायण भट्टराईले कार्यस्थलबाटै मतदान गराउने सन्दर्भमा प्रधानमन्त्रीबाट चासो व्यक्त भएको र सम्भव भएसम्म आयोगले व्यवस्थापन गर्ने बताए । यो विषय अहिले छलफलमै रहेको उनको भनाइ छ ।

आयोगले गृह मन्त्रालयमा प्रस्ताव गरेको कानुनको मस्यौदाको दफा ३६, ९८ र ९९ मा प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि छुट्टै अस्थायी मतदाता नामावली तयार गर्ने उल्लेख छ । यसअन्तर्गत तीनै तहका सरकारी कार्यालयमा कार्यरत कर्मचारी, चारवटै संगठनका सुरक्षाकर्मी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, निर्वाचन पर्यवेक्षक, तीनै तहको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, कानुनबमोजिम सञ्चालित वृद्धाश्रममा बसेका व्यक्ति, कारागारमा रहेका थुनुवा वा कैदी, मतदान हुने दिन वा सोभन्दा अघिदेखि मतदान हुने दिनसम्म विदेश भ्रमण गर्ने मतदाता, कुनै व्यापार, व्यवसाय, रोजगारी वा स्वास्थ्योपचारका कारणले आफ्नो मतदाता नामावली रहेको वडामा उपस्थित भई मतदान गर्न असमर्थ हुने मतदाताले निर्वाचन हुने दिनभन्दा अघि नै आयोगले तोकेको दिन र तोकेको मतदान केन्द्रमा उपस्थित भई अग्रिम मतदान गर्नुपर्ने भनिएको छ । हालको कानुनी व्यवस्था मतदाताले निर्वाचन हुने दिन सम्बन्धित मतदान केन्द्रमा आफैँ उपस्थित भई मतदान गर्नुपर्नेछ । कार्यस्थलबाट मतदान गर्न नपाउँदा मतदानको अधिकारबाटै वञ्चित हुनुपर्ने अवस्था छ ।

अनेरास्ववियुको नेतृत्व विवाद सतहमा

काठमाडौ २७ कात्तिक। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको विवाद सतहमा आएको छ ।

जेनजी आन्दोलनका क्रममा राजीनामा घोषणा गरेका अध्यक्ष डा.सुजन कडरिया संगठनको काममा फर्किएपछि उनलाई स्वागत गर्ने र रोक्ने पक्षबीच विवाद बढेको हो ।

महासचिव दीपक धामीले वक्तव्य जारी गरेरै कडरियालाई अनेरास्ववियुको गतिविधिबाट टाढा रहन भनेका थिए । ‘जेनी आन्दोलन पश्चात देशमा घटित परिस्थितिको हवाला दिई दृढतापूर्वक नेतृत्व गर्नुपर्ने बेला संगठनलाई ध्वस्त पार्ने नियतका साथ कायरतापूर्वक राजीनामा दिएर अध्यक्ष पद परित्याग गरेका निवर्तमान अध्यक्ष सुजन कडरियाले गरेको गैरजिम्मेवार, अराजक र अनुशासनहीन हर्कतप्रति अनेरास्ववियु घोर भर्त्सना गर्दछ,’ धामीले वक्तव्य जारी गरेरै भनेका थिए ।

एमालेले ‘घर फर्क अभियान’ चलाएकै दिन (२४ कात्तिकमा) कडरिया अध्यक्षको हैसियत सहित अनेरास्ववियुको कार्यालय गएका थिए । जेनजी आन्दोलनका बेला तोडफोड भएको कार्यालयमा आफ्नो तस्वीर राखेरै उनले नियमित काम थालेका थिए ।

त्यसैदिन कडरियाले वक्तव्य जारी गरेर जेनजी आन्दोलनका क्रममा राजीनामा घोषणा गरेका अरु सबै नेताहरुलाई पनि आ–आफ्नो भूमिकामा फर्कन अपिल गरेका थिए । ‘हाम्रो मातृ पार्टी नेकपा एमालेले आह्वान गरेको घर फर्क अभियानलाई हामी उत्सुकता र जिम्मेवारीपूर्वक समर्थन गर्दै आफ्ना सम्पूर्ण कार्यकर्तालाई तत्काल आफ्नो जिम्मेवारीमा फर्कन हार्दिक अपिल गर्दछौं,’ कडरियाले वक्तव्यमा भनेका थिए ।

कडरियालाई केही पदाधिकारीले जुलुस सहित केन्द्रीय कार्यालयमा लगेका थिए । र, कार्यालयमै अध्यक्ष कडरियाले सम्बोधन समेत गरेका थिए ।

लगत्तै, महासचिव धामीले परित्याग गरिसकेको अध्यक्ष पदमा नफर्कन चेतावनी दिँदै वक्तव्य जारी गरे ।

महासचिव धामीको प्रतिवाद भने उपमहासचिव कमल जोशीले गरे । अध्यक्ष कडरिया र महासचिव धामीले जस्तै उपमहासचिव कमल जोशीले पनि संगठनको लेडरप्याडमै वक्तव्य जारी गर्दै अध्यक्ष कडरियालाई हटाउने षड्यन्त्र नगर्न चेतावनी दिएका छन् ।

‘विद्यार्थीमाथि गोली चल्दा नैकिताको आधारमा अध्यक्षले सामाजिक सञ्जाल मार्फत राजीनामा दिनु स्वभाविक र नैतिक कदम थियो,’ जोशीले लेखेका छन्, ‘पार्टी केन्द्रीय समिति सदस्य सहित थुप्रै नेताहरुले राजीनामा दिँदा पनि पार्टीले त्यसलाई अस्वीकार गरेको अवस्थामा, पार्टीहरुसँग प्रत्यक्ष सरोकार राख्ने विद्यार्थी संगठनका अध्यक्षविरुद्ध कुनै कारबाही नहुँदा, आफ्नो पद र जिम्मेवारीको ख्याल नगर्ने महासचिवको रवैयाले संगठनभित्र ध्रुवीकरण बढ्दै गएको छ ।’

जोशीले धामीलाई पद हडप्ने योजना अन्तर्गत गतिविधि गरेको समेत आरोप लगाएका छन् । ‘महाधिवेशनको मण्डपबाट निर्वाचित अध्यक्षलाई अपदस्थ गरेर, दुई जना सिनियर उपाध्यक्षहरु हुँदाहुँदै संगठनको पद हडप्ने दुस्साहस नगर्नका लागि अनुरोध गर्दछौं,’ जोशीले वक्तव्यमा भनेका छन् ।

मानव सङ्गीत र एआई छुट्याउन नसक्ने अवस्थामा मानिसः विश्वव्यापी सर्वेक्षणको निष्कर्ष

पेरिस । हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसका लागि कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा कम्पोज गरिएको सङ्गीतबिचको भिन्नता छुट्याउन झण्डै असम्भव भइसकेको देखाएको छ ।

फ्रान्सस्थित सङ्गीत स्ट्रिमिङ प्लेटफर्म डिजरका लागि पोलिङ फर्म इप्सोसले गरेको अध्ययनमा करिब नौ हजार सहभागीलाई एआईले पूर्णरूपमा उत्पन्न गरेको दुई वटा सङ्गीत क्लिप र मानवद्वारा सिर्जना गरिएको एउटा क्लिप सुन्न आग्रह गरिएको थियो । नतिजा अनुसार, “सर्वेक्षणमा सहभागी ९७ प्रतिशत व्यक्तिले एआई-निर्मित र मानव-निर्मित सङ्गीतबिचको स्पष्ट भिन्नता छुट्याउन सकेनन्”, डिजरले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

सर्वेक्षण अक्टोबर ६ देखि १० सम्म ब्राजिल, बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, जापान, नेदरल्यान्ड्स र संयुक्त राज्य अमेरिकामा सञ्चालन गरिएको थियो । डिजरका अनुसार आधाभन्दा बढी सहभागीले फरक छुट्याउन नसक्दा आफूलाई ‘असहज’महसुस गरेको बताएका थिए । अध्ययनका क्रममा एआई प्रविधिको व्यापक प्रभावबारे पनि प्रश्न सोधिएको थियो ।

करिब ५१ प्रतिशत उत्तरदाताले एआईका कारण स्ट्रिमिङ प्लेटफर्ममा ‘कम गुणस्तरको सङ्गीत’ बढ्ने विश्वास व्यक्त गरे भने झण्डै दुई तिहाइले यसले ‘सङ्गीतमा मौलिक रचनात्मकता घटाउने जोखिम’ रहेको धारणा राखे । डिजरका प्रमुख कार्यकारी अधिकृत एलेक्सिस ल्यान्टर्नियरले विज्ञप्तिमा भन्नुभयो, “यो सर्वेक्षणले श्रोता समुदायले सङ्गीतप्रति गहिरो चासो राख्छन् भन्ने स्पष्ट रूपमा देखाउँछ । उनीहरू एआईले बनाएको वा मानिसले सिर्जना गरेको ट्र्याक सुन्दै छन् भनेर थाहा पाउन चाहन्छन् ।”

कम्पनीका अनुसार पछिल्ला महिनामा यसको प्लेटफर्ममा एआई-निर्मित सामग्रीको अपलोड दर तीव्र गतिमा बढिरहेको छ र यस्ता गीतले ठुलो सङ्ख्यामा श्रोता पनि पाएका छन् । सन् २०२५ को जनवरीमा प्रत्येक दिन स्ट्रिम गरिएका १० मध्ये केवल एउटा ट्र्याक एआई-निर्मित थियो, तर दश महिनापछि त्यो अनुपात बढेर तीनमध्ये एक अर्थात् दैनिक झण्डै ४० हजार एआई गीतसम्म पुगेको छ ।

सर्वेक्षणमा सहभागी ८० प्रतिशत उत्तरदाताले एआई-निर्मित सङ्गीतलाई स्पष्टरूपमा चिह्न लगाएर प्रस्तुत गर्नुपर्ने माग गरेका छन् । डिजर हालसम्मको एक मात्र प्रमुख स्ट्रिमिङ प्लेटफर्म हो जसले आफ्ना प्रयोगकर्ताका लागि पूर्णरूपमा एआई-निर्मित सामग्रीलाई व्यवस्थितरूपमा लेबल गर्दै आएको छ । यस वर्षको जुन महिनामा द भेलभेट सनडाउन नामक एउटा ब्यान्डको गीत स्पोटिफाइमा भाइरल भएपछि यो विषयले थप चर्चा पाएको थियो ।

पछि मात्र त्यो गीत वास्तवमा एआई-निर्मित भएको पुष्टि भएको थियो । सो ब्यान्डको सबैभन्दा चर्चित गीत ३० लाखभन्दा बढी पटक स्ट्रिम गरिएको छ । यस घटनापछि स्पोटिफाइले कलाकार र प्रकाशकलाई सङ्गीत निर्माणमा एआई प्रयोगबारे स्पष्ट खुलासा गर्न प्रोत्साहित गर्ने ‘स्वैच्छिक उद्योग आचारसंहिता’ मा हस्ताक्षर गर्न आग्रह गर्ने घोषणा गरेको छ । रासस/एएफपी

मधेशका मुख्यमन्त्री नियुक्तिबारे आगामी आइतबार विस्तृत बहस हुने

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे आगामी आइतबार प्रारम्भिक आदेश दिने संकेत गरेको छ ।

सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भनी ३० कात्तिक (आगामी आइतबार) का लागि पेशी तोकेको हो ।

सर्वोच्चले उक्त दिन मुख्यमन्त्री नियुक्तिसम्बन्धी निर्णय, मन्त्रिपरिषद् गठनसम्बन्धी कागजात लगायतका निर्णयहरूसमेत हेर्नेछ ।

कृष्णप्रसाद यादवसहित मधेश प्रदेका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश पाण्डेयको इजलासले आगामी आइतबार दुवै पक्षलाई छलफलका लागि झिकाएको हो ।

त्यतिबेला संयुक्त इजलासमा रहने दुई न्यायाधीशले प्रारम्भिक रुपमा नै सरकार गठन प्रक्रियामा कैफियत रहेको देखेमा अन्तरिम आदेश जारी गर्न सक्नेछन् ।

र, अन्तरिम आदेश जारी भएमा मुख्यमन्त्रीलाई दीर्घकालीन प्रकृतिको कामकाज गर्न बन्देज लगाउने आदेश हुनसक्छ ।

जसको प्रारम्भिक संकेत मंगलबारको आदेशमा स्पष्ट देखिन्छ ।

सर्वोच्चले बुधबार नै मंगलबारको रिट निवेदन र आदेशको फाइल (मिसिल) पनि आगामी आइतबार सुनुवाइका क्रममा पेश गर्न आदेश दिएको छ ।

जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन्नँ : लेखक

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले बुधबार आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा सरकारका तर्फबाट लिखित र मौखिक कुनै पनि जानकारी नगराइएको बताएका हुन् ।

‘मलाई आजसम्म सरकारको वा सरकारको कुनै पनि निकायले लिखित रूपमा या मौखिक रूपमा स्थानहद गरेको या पासपोर्ट रोक्का गरेको जानकारी दिएको छैन, सूचना दिएको छैन, सोधेको छैन, किन रोक्का गर्ने किन नगर्ने भनेर,’ लेखकले भने, ‘कुन संविधान, कुन कानुन कुन ऐनको कुन प्रावधान बमोजिम के औचित्यका लागि के प्रयोजनका लागि, कति अवधिका लागि मलाई स्थान हद गरियो भन्ने कुरा मलाई जानकारी छैन ।’

उनले दुई महिना अघि आफू र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद तोकेर राहदानी रोक्का गरेको वर्तमान सरकारको निर्णय समाचारका माध्यमबाट सुनेको बताए ।

‘निवर्तमान प्रधानमन्त्री र म लगायतलाई स्थान हद गरेको छ रे । अनि पासपोर्ट रोक्का गरिएको छ रे,’ पूर्वगृहमन्त्री लेखकले भने, ‘म रे किन भन्दैछु भने सरकारले, सरकारका सम्बन्धित निकायले दुई महिना पहिला स्थान हद गर्ने र पासपोर्ट रोक्का गर्ने निर्णय गर्‍यो भनेर समाचारबाट सुनियो ।’

तत्कालीन गृहमन्त्री लेखकले जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । बैठकमा घटनाबारे ब्रिफिङ गर्दै उनले सुरक्षा संयन्त्रलाई आफूले कुनै पनि अप्रिय घटना नहोस् भनेर सजग गराएको दाबी गरे ।

‘प्रधानमन्त्री र मन्त्रीले त्यो आदेश दिने विषय पनि होइन, दिनु पनि पर्दैन । मैले क्याजुलिटी नहोस् भनेर २२ गते साँझ पनि मिटिङमा भनेको छु,’ लेखकले बैठकमा भने, ‘दोस्रो दिन बिहान पनि मैले गृहसचिव र दुवै प्रहरीका आईजीपीलाई क्याजुटिली नहोस् है । क्याजुलिटी कुनै पनि हालतमा हुनुहुन्न पटक–पटक भनेको छु । त्यो कुरा नेपाल प्रहरीका महानिरीक्षकले सञ्चारमाध्यममा व्यक्त पनि गर्नुभएको छ ।’

भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित

काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । बुधबार (कात्तिक २६) काठमाडौंमा आयोजित पार्टी समायोजनक कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रावललाई पार्टीमा भित्र्याएका हुन् ।

यसअघि नेपाली कम्युनिस्ट पार्टी र रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान नेपाल’बीच पेरिसडाँडामा सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

सहमति पत्रमा देश र जनताको सर्वोपरी हित एवं सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणको अभिभारा देशसामु रहेको उल्लेख छ ।

नेत्रहीन महिला टी–२० विश्वकपमा नेपालकाे विजयी शुरुआत

काठमाण्डाै – भारतमा चलिरहेको नेत्रहीन महिला टी–२० विश्वकपमा नेपालले विजयी शुरुआत गरेको छ ।

श्रीलङ्काले दिएको ८८ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमै मात्र १ विकेट गुमाएर भेटायो । नेपालकी मनकेशी चौधरीले २२ बलमा नटआउट ६१ रन बनाइन् । श्रीलङ्काकी सन्दया निलान्थीले १ विकेट लिइन् ।

यसअघि दिल्लीमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनायो । श्रीलङ्काकी कप्तान तथा विकेटकिपर मिहिरानी दुलान्जलीले सबैभन्दा धेरै २३ रन बनाइन् । नेपालकी कान्ति योगीले ३ विकेट लिइन् ।

नेपालले अब दोस्रो खेलमा पर्सि शुक्रवार भारतसँग खेल्नेछ ।

हिजोदेखि शुरू भएको नेत्रहीन महिला टी–२० विश्वकपको फाइनल खेल आउँदो मङ्सिर ७ गते हुनेछ । पहिलो संस्करणको प्रतियोगितामा भारत, नेपालसहित, अमेरिका, श्रीलङ्का, अस्ट्रेलिया र पाकिस्तान गरी ६ वटा देशको सहभागिता रहेको छ ।

राष्ट्रिय सभा चुनाव : निर्वाचन चिह्न मंसिर १४ गते प्रदान गरिने

काठमाडौं । राष्ट्रिय सभाको चुनावमा भाग लिने राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि आगामी मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने भएको छ ।

आयोगले निकालेको तालिकाअनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ताको स्वीकृति र निर्वाचन चिह्न प्रदान मंसिर १४ गते हुनेछ ।

निर्वाचन कार्यक्रम स्वीकृति र नेपाल राजपत्रमा प्रकाशन गर्ने मंसिर १६ गते गर्ने तालिका छ ।

मतदाता नामवली (निर्वाचक मण्डल) तयार गरी स्वीकृत गर्ने काम आगामी पुस ५ गते हुनेछ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सोही दिन गर्ने तालिका छ ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना पुस १६ गते हुनेछ । निर्वाचन कार्यक्रम संचालन पुस २० गते देखि २८ गते सम्म हुनेछ भने निर्वाचन प्रचार प्रसारको समय पुस २८ गतेदेखि माघ ८ गतेसम्म हुने तालिका तय भएको छ ।

मतदान आगामी माघ ११ गते विहान ९ बजेदेखि दिउँसो ३ बजे सम्म हुनेछ । सोही दिन मतगणना सुरु हुनेछ ।

निर्वाचनमा प्रदेशसभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहन्छन् ।

प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख-उपप्रमुखको मतभार १९ रहेको छ ।

प्रदेशमा रहेका प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखको संख्यालाई आधार मानेर प्रदेशगत मतभार तयार पारेको हो ।

कोशी प्रदेशमा १० हजार १३५ मतभार छ । मधेश प्रदेशमा १० हजार ८३९, बागमती प्रदेशमा १० हजार ३५२, गण्डकी प्रदेशमा ६ हजार ४१० र लुम्बिनी प्रदेशमा ८ हजार ७५३ मतभार रहेको छ । कर्णाली प्रदेशमा ५ हजार १२२ र सुदुरपश्चिम प्रदेशमा ६ हजार १५३ मतभार रहेको छ ।

राष्ट्रिय सभा सदस्यको रिक्त १९ मध्ये १८ पदका लागि चुनाव हुँदैछ । मनोनीत सांसद वामदेव गौत्तमको ठाउँमा भने सरकारले अर्को व्यक्तिको नाम सिफारिस गर्नेछ ।

बाँकी १८ पदका लागि चुनाव हुनेछ । कोही प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

वि.सं. २०७६ फागुनमा निर्वाचित भएर आएका राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । उक्त स्थानमा चुनाव हुन लागेको हो ।

शिक्षा मन्त्रालयले विद्यालयका नाममा भएका जग्गाको विवरण माग्यो

काठ्माण्डौ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालय र सिकाइ केन्द्रका नाममा भएका जग्गा र भोगचलनको अवस्थाबारे विवरण मागेको छ।

मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत सामुदायिक विद्यालय र सिकाइ केन्द्रका नाममा भएका जग्गा विवरण, तिनको भोगचलनको अवस्था र जग्गासम्बन्धी के कस्ता समस्या छन् भनेर देशैभरिबाट त्यसको विवरण उपलब्ध गराउन लागेको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय र सिकाइ केन्द्रका जग्गा हिनामिना भएको भनी जिल्लाहरूबाट जानकारी आएको अवस्थामा विवरण जुटाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आफूले निर्देशन दिएको बताए।

हाल मुलुकभर ३५ हजार ४४७ कूल विद्यालय रहेकामा ७३ प्रतिशत सामुदायिक विद्यालय रहेका छन्

प्रचण्ड–माधवसँग भीम रावलको सात बुँदे सहमति

काठ्माण्डौ- नेपाली कम्युनिस्ट पार्टी र भीम रावलको ‘मातृभूमि जागरण अभियान, नेपाल’बीच एकताका लागि सात बुँदे सहमति भएको छ ।

नेपाली कम्युनस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, संह–संयोजक माधवकुमार नेपाल र जागरण अभियानको तर्फबाट भीम रावलले औपचारिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै बाह्य हस्तक्षेप र दबाबवाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने, समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक-सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने, आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति भएको छ ।

नेपाली कम्युनिस्ट पार्टीमा रावलको वरीयता र जिम्मेवारी आन्तरिक सहमतिमा टुंगो लगाइने भएको छ ।

सात बुँदे सहमति : 

(१) नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै वाह्य हस्तक्षेप र दवाववाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने ।

(२) समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक-सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने ।

(३) आगामी ६ महिना भित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने। महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने। सबै तहमा र मातृभूमि जागरण अभियान, नेपाल अन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने ।

४) नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमी जागरण अभियान, नेपालका संयोजक डा. भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने ।

(५) पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने ।

(६) पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने। सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने ।

(७) पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गर्ने ।

लोक सेवा आयोगद्वारा कर्मचारी माग

काठमाडौं- लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ ।

बुधबार आयोगले एक सूचना प्रकाशित गर्दै निजामतीतर्फ प्राविधिकको राजपत्रांकित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूमा १७० जनाको लागि आवेदन खुलाएको हो ।

आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट भर्न सकिने सूचनामा उल्लेख छ ।

योग्यता पुगेका इच्छुक नागरिकले आगामी मंसिर १६ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म आवेदन दिन सकिने छ ।

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे

एजेन्सी फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्नुका साथै लाखौं मानिस विस्थापित भएको अधिकारीहरुले बुधबार बताएका छन् ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद (एनडीआरआरएमसी) आइतबार सुपर आँधीको रूपमा आएको फङ-वङले उत्तर-मध्य लुजोन पार गर्दा अवतरण हुनु अघि कम्तिमा २७ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना अझै बेपत्ता रहेको बताएको छ ।

नोभेम्बर-४ मा आएको कालमेगी चक्रवातले मध्य फिलिपिन्समा बाढी र पहिरो निम्त्याउदा  २३२ जनाको मृत्यु हुनुका साथै ११२ जना बेपत्ता भएको तथा ५०० बढी घाइते भएको जनाइएको छ । चक्रवातका कारण अधिकाशं मृत्यु सेबु प्रान्तमा भएको रिपोर्ट गरिएको छ, जुन सेप्टेम्बर-३० मा आएको ६.९ म्याग्निच्युडको भूकम्पबाट पनि धेरै पीडित छ ।

एजेन्सीका अनुसार चक्रवातले लाखौं बासिन्दालाई विस्थापित गरी घर, खेतबारी र सडक तथा पुल सहित प्रमुख पूर्वाधारको विनाश निम्त्याको छ । फङ-वोङ यस वर्ष फिलिपिन्समा आएको २१ औँ उष्णकटिबंधीय चक्रवात थियो जसले देशको वार्षिक औसत २० आँधीलाई पार गरेको छ । रासस/सिन्ह्वा 

दुर्गा प्रसाईं समूहले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझायो

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको छ ।

आज गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले मागपत्र बुझाएका हुन् ।

मागपत्र बुझाएपछि सुरु भएको वार्ता आजलाई सकिएको वार्ताको सहजीकरण गरेका अधिवक्ता विनोदमणि भट्टराईले जानकारी दिए ।

मागपत्रमा संविधान खारेजदेखि, राजसंस्था पुनर्स्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्म छन् । साथै बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहाका माग पनि प्रसाईंले राखेको छ ।

पहिलो नम्बरमा नेपाल नेपालीले नै बनाउने र यहाँको व्यापार पनि नेपालीले नै गर्न पाउने वातावरण बनाउन माग गरेका राखेका छन् ।

त्यस्तै संविधान खारेज गरी बौद्ध किराँत सहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र संवैधानिक राजसंस्थाको स्थापना गरिनुपर्ने माग गरिएको छ । यो विषय जनमत संग्रहमार्फत टुंग्याउनुपर्ने पनि माग उनको छ ।

त्यस्तै प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला पुरानै अवस्थामा कायम गर्नुपर्ने माग छ ।

बैंक वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिम रकम उठाई बैंक र व्यवसायीलाई छुट्याउनुपर्ने माग गरिएको छ ।

नेपालमै सीपअनुसारको रोजगारी र खाडीका जेलमा बस्न बाध्य करिब ७ हजार युवालाई सरकारको पहलमा स्वदेश फिर्ता गराउनुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ ।

सर्वहारा र भुईँमान्छले लघुवित्त र सहकारीबाट लिएको २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने माग प्रसाईं समूहले राखेको छ ।

यसैगरी २० लाख भन्दा बढीको ऋण २५ किस्ताबन्दीमा पाँच प्रतिशत ब्याजदरमा तिर्न पाउनुपर्ने सुविधाको माग पनि प्रसाईं समूहले राखेको छ ।

जर्जियामा टर्कीको सैन्य कार्गो विमान दुर्घटना २० जनाको मृत्यु

एजेन्सी- टर्कीको एक सैन्य कार्गो विमान जर्जियामा दुर्घटना हुँदा विमानमा सवार  २० जनाको मृत्यु भएको छ। टर्कीका रक्षामन्त्री यासर गुलरले बुधबार यस दुखद घटनाको पुष्टि गरेका छन्।

टर्कीको सी १३० सैन्य कार्गो विमानअजरबैजानबाट टर्कीतर्फ फर्कने क्रममा अजरबैजान सीमा नजिकै जर्जियाको सिघनाघी मा दुर्घटनाग्रस्त भएको बताइएको छ। टर्कीको दुर्घटना अनुसन्धान टोली बुधबार बिहानै दुर्घटनास्थलमा पुगेको र धेरै ठूलो क्षेत्रमा फैलिएको विमानको भग्नावशेषको निरीक्षण गरिरहेको टर्कीका प्रसारक हाबर्टुर्कले जनाएको छ।

टर्कीको सरकारी एजेन्सी अनाडोलु एजेन्सीले मंगलबार जर्जियाली उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै विमान जर्जियाको हवाई क्षेत्रमा प्रवेश गरेको केही मिनेटपछि नै सम्पर्कविहीन भएको जानकारी दिएको थियो। विमानले कुनै संकट संकेत जारी नगरेको पनि प्राधिकरणले बताएको छ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ र जर्जियाली विदेशमन्त्री माका बोटचोरिशभिलीले आफ्ना टर्कीका समकक्षीहरूप्रति समवेदना व्यक्त गरेका छन्। अनाडोलु एजेन्सीका अनुसार राष्ट्रपति अलियेभले एक सन्देशमा भनेका छन्, ‘जर्जियाली भूमिमा भएको दुर्घटनामा हाम्रा सैनिकहरूको ज्यान गएको खबरले हामी गहिरो स्तब्ध भएका छौं।’

विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।

भारतमा जारी ब्लाइन्ड महिला टी-२० विश्वकपमा नेपालको विजयी सुरुवात

काठमाडौं । भारतमा जारी ब्लाइन्ड महिला टी-२० विश्वकपमा नेपालले विजयी सुरुवात गरेको छ ।

नेपालले आफ्नो पहिलो खेलमा बुधबार श्रीलंकामाथि ९ विकेटको शानदार जित हासिल गरेको हो । श्रीलंकाले दिएको ८८ रनको लक्ष्य नेपालले ५.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

ओपनर मनकेसी चौधरीले २२ बलमा अविजित ६१ रनको आक्रामक पारी खेलिन् । बिन्दा पुनले ८ बलमा १३ रन बनाइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनाएको थियो । मिहिरानी दुलान्जलीले सर्वािधक २३ रन बनाइन् ।

नेपाली महिला राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान

काठमाण्डौ – नेपाली महिला राष्ट्रिय क्रिकेट टोली भारत गएको छ । उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा भोलिदेखि आउँदो मङ्सिर ३ गतेसम्म हुने खेलका लागि टोली हिजो भारत गएको हो । नेपाली महिला टोलीले देहरादुनमा स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपालले भारतको राजस्थान, पश्चिमबङ्गाल र उत्तराखण्डसँग ६ खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रिय सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालले पहिलो खेल भोलि राजस्थानसँग खेल्नेछ । यस्तै कात्तिक २८ गते उत्तराखण्डसँग, कात्तिक २९ गते पश्चिमबङ्गालसँग, मङ्सिर १ गते राजस्थानसँग, मङ्सिर २ गते उत्तराखण्डसँग र अन्तिम खेल मङ्सिर ३ गते पश्चिम बङ्गालसँग खेल्नेछ ।

विश्वकप क्रिकेट छनोटको तयारीका लागि महिला टोली भारत गएको हो । टोलीमा कप्तान इन्दु बर्मा, कविता कुँवर, साना परविन, रुबिना क्षेत्री, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सवनम राई, विन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सीमाना केसी र ममता चौधरी रहेका छन् ।

प्रचण्ड–माधवसँग मिसिँदै भीम रावल

काठमाडौं २६ कात्तिक। नेकपा एमालेबाट निस्कासनमा परेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गरेका नेता डा. भीम रावल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदैछन् । उनी आज काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत् नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन लागेका हुन् ।

कार्यक्रम आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको छ । कार्यक्रमलाई प्रचण्ड, माधव कुमार नेपाल र भीम रावलले सम्बोधन गर्ने तयारी छ ।

गत साता भृकुटीमण्डपमा आयोजित १० दलको एकता घोषणा समारोहमै रावललाई पनि आबद्ध गराउने तयारी थियो । कार्यक्रमको मञ्चबाटै प्रचण्डले भीम रावल आउन लागेको बताएका थिए । तर रावलबारे ‘थप छलफल’ आवश्यक रहेको भन्दै त्यतिबेला मिसिने निर्णय गरेका थिएनन् ।

गत आइतबार साँझ प्रचण्ड, माधव नेपाल, प्रकाश ज्वाला, भानुभक्त जोशीलगायतसँग छलफल भएपछि भने रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन सहमत भएका थिए ।

गत वर्ष पुसमा पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेले पार्टीबाट निस्कासन गरेको थियो ।

त्रिविको जग्गा फिर्ता ल्याउने सरकारको गृहकार्य

काठमाडाैं २६ कार्तिक ।  त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन पुनर्पुष्टि र कार्यान्वयनको रूपरेखा कोर्न सरकारले कार्यदल गठन गर्ने भएको छ । समितिले तयार पारेको अध्ययन प्रतिवेदनको पुष्टि गर्न र छुटेका जग्गा थप खोजी गर्न एक साताभित्र कार्यदल गठन गर्ने निर्णय भएको हो । कार्यदलले खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन अवस्थाबारे सुझाव दिनेछ । र, त्यसपछि सिआइबीको सहयोगमा कार्यान्वयन गर्ने सरकारको तयारी छ ।

मंगलबार प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा बोलाएको बैठकमा शिक्षामन्त्री महावीर पुनले खोजबिन समितिले तयार पारेको प्रतिवेदनबारे जानकारी गराउँदै कार्यान्वयनपूर्व एक कार्यदल गठनको प्रस्ताव गरेका थिए । प्रधानमन्त्री कार्कीले शिक्षामन्त्री पुनको प्रस्तावमा सहमति दिँदै कार्यदल गठन गरी हिनामिना भएको त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रिया थाल्न निर्देशन दिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले सयौँ रोपनी जग्गा मिचिएको र खोसिएबारेको प्रतिवेदन विवरणसहित शिक्षामन्त्री, त्रिवि पदाधिकारी, जग्गा खोजबिन समितिका पदाधिकारीलगायतको संयुक्त बैठक बोलाएकी थिइन् । सोही बैठकमा मन्त्री पुनले त्रिविको जग्गा फिर्ता ल्याउन प्रधानमन्त्रीकै साथ–सहयोग चाहिने र कार्यदल बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।

‘त्रिविको जग्गा फिर्ता हिनामिना भएको प्रतिवेदनमै छ । फिर्ता ल्याउन प्रधानमन्त्री र अन्य निकायको सहयोग–साथ चाहिन्छ । थप एउटा कार्यदल बनाऊँ र कार्यदलले काम गरेपछि थप कार्यान्वयनमा जान सकिन्छ,’ बैठकमा शिक्षामन्त्री पुनको भनाइ थियो, ‘त्रिविको जग्गा जसरी पनि फिर्ता ल्याउनुपर्छ । कार्यदलले प्रतिवेदन दिएपछि कार्यान्वयन गर्न सजिलो हुन्छ । सिआइबीको सहयोग लिएर कार्यान्वयन गर्न सकिन्छ ।’

त्यसपछि प्रधानमन्त्री कार्कीले हिनामिना भएको त्रिविको जग्गा फिर्ता ल्याउनैपर्ने भन्दै आवश्यक कदम चाल्नसमेत त्रिवि पदाधिकारी र शिक्षामन्त्री पुनलाई आग्रह गरिन् । ‘त्रिविको जग्गामा क–कसले प्रयोग गरेका छन् भन्नेबारे विगतको प्रतिवेदनमा पनि छ । यसमाथि थप कार्यदल बनाएर कार्यान्वयनतिर लैजानुपर्छ,’ बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘बल प्रयोग गरेर कसैले जबर्जस्ती त्रिविको जग्गा खोस्न पाइँदैन । तपाईंहरू काम गर्नुस्, कुलपतिको नाताले के–के गर्नुपर्छ म तयार छु ।’

त्रिवि उपकुलपति प्रा.डा. दीपक अर्यालले आफूहरूले त्रिविको जग्गाको वास्तविकता प्रधानमन्त्रीलाई बताएको बताए । उनका अनुसार प्रधानमन्त्रीले त्रिविको जग्गा अपचलन सम्बन्धमा चासो दिएको र बैठकमा दुईवटा निर्णय भएको बताए । ‘तत्काल थप एउटा कार्यदल बनाउने र त्रिविको जग्गा थप खोज्ने भनेर निर्णय भएको छ । उक्त कार्यदलको समयावधि सीमित राखिनेछ,’ उनले भने, ‘त्यसपछि आवश्यकताअनुसार अन्य निकायको सहयोग लिएर जग्गा खाली गराइनेछ ।’

मन्त्री पुनका स्वकीय सचिव डा. सागर ढकालले प्रतिवेदन कार्यान्वयनका लागि अर्को कार्यदल बनाउने र त्यसपछि सिआइबी अध्ययन र कार्यान्वयन गर्ने बताए । ‘तत्काल कार्यदल बनाउने र उसको काम सकिएपछि सिआइबीलाई थप अध्ययन तथा कार्यान्वयन गर्न दिने भन्ने भएको छ,’ उनले भने, ‘पुरानो प्रतिवेदनमा गृहकार्य र अध्ययन नयाँ कार्यदलले गरेपछि कार्यान्वयन गर्न सजिलो हुन्छ भन्ने छ । एक साताभित्र गठन हुने कार्यदलले यसअघिको प्रतिवेदनका विवरण थप प्रमाणित गर्छ, त्यसपछि थप अध्ययन र कारबाहीका लागि सिआइबीलाई जिम्मा दिइनेछ ।’

मंगलबारको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेल, त्रिवि पदाधिकारी, मुख्यसचिव एकनारायण अर्याल, जग्गा खोजबिन समितिका पदाधिकारीलगायत सहभागी थिए । सबै मन्त्रीहरूले त्रिविको जग्गा खाली गर्नुपर्ने र अतिक्रमणमुक्त गर्नुपर्नेमा जोड दिएका थिए ।

हाल शिक्षामन्त्री पुनले त्रिवि जग्गासम्बन्धी प्रतिवेदन खोतलिरहेका छन् । उनले मन्त्रालयका कर्मचारी, त्रिवि पदाधिकारी र शिक्षाविद्हरूसँग समेत बैठक बसेर त्रिविको जग्गा कसरी फिर्ता ल्याउने भन्नेबारे छलफल गरिरहेका छन् । शिक्षा मन्त्रालयले एक साताअघि नै त्रिवि जग्गा हिनामिनासम्बन्धीको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो ।

केपी ओली नेतृत्वको सरकारले लुकाएका प्रतिवेदन शिक्षामन्त्री महावीर पुनले २६ असोजमा सार्वजनिक गरेका थिए । त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले साढे पाँच महिना लगाएर तयार पारेको १७९ पेज लामो प्रतिवेदन २ पुस ०८१ मै निवर्तमान प्रधानमन्त्री ओलीलाई बुझाएको थियो । विज्ञहरूले अध्ययन प्रतिवेदन बुझाएको १५ दिनमै कार्यान्वयनमा लैजाने मापदण्ड बनाए पनि ओलीले गुपचुप राखेका थिए ।

अस्ट्रेलियामा भेटियो सिङ भएको ‘लुसिफर’नामक मौरीको प्रजाति

सिड्नी– अस्ट्रेलियामा अहिले सिङ भएको मौरी भेटिएको छ । वैज्ञानिकहरूले यसलाई मेगाकाइल (ह्याकेरियापिस) लुसिफर नाम दिएका छन्, जसको स्वरूप र नाम दुवैले निकै ध्यान आकर्षित गरेको छ ।

यो नयाँ मौरी प्रजाति पश्चिमी अस्ट्रेलिया राज्यमा फेला परेको हो । यसको जानकारी कर्टिन युनिभर्सिटीले मंगलबार सार्वजनिक गरेको छ । विश्वविद्यालयको ‘स्कुल अफ मोलिक्युलर एन्ड लाइफ साइन्सेज’ की वैज्ञानिक डा. किट प्रिन्डरगास्टले सन् २०१९ मा खतरामा परेका जंगली फूलहरूको सर्वेक्षणका क्रममा यस  मौरीलाई पत्ता लगाएकी थिइन् ।

डा. प्रिन्डरगास्टका अनुसार उक्त मौरीको अनुहारमा देखिने साना र तीखा सिँगहरू अत्यन्तै आकर्षक र असामान्य देखिन्थे । ‘महिलाको अनुहारमा यी अविश्वसनीय सिँगहरू थिए, जुन मैले पहिले कहिल्यै देखेकी थिइनँ’, उनले भनिन्।

नेटफ्लिक्सको चर्चित टेलिभिजन कार्यक्रम ‘लुसिफर’ की प्रशंसक समेत रहेकी उनले मौरीको अनौठो स्वरूपका कारण यसलाई ‘लुसिफर’ नाम दिन उपयुक्त ठानेका थिए ।

डा. प्रिन्डरगास्टले यस खोजलाई अस्ट्रेलियाको जैविक विविधताको दृष्टिले ऐतिहासिक भनेकी छन् । उनले भनिन्, ‘यो मौरी समूहको नयाँ सदस्य हो, जुन २० वर्षभन्दा बढी समयपछि वर्णन गरिएको पहिलो प्रजाति हो । यसले हामीले अझ कति नयाँ जीवनरूपहरू पत्ता लगाउन बाँकी छ भन्ने कुराको संकेत दिन्छ ।’

विशेषगरी खानी उद्योगका गतिविधिहरूका कारण देशी प्रजातिहरू गुम्ने जोखिम बढ्दै गएका क्षेत्रहरूमा यो खोजले अज्ञात र पत्ता नलागेका जीवहरूको संरक्षणका लागि चेतना जगाउने उनले आशा व्यक्त गरिन्।

‘धेरै खानी कम्पनीले अझै देशी मौरीहरूको अध्ययन गर्दैनन्’, उनले भनिन्, ‘त्यसैले हामीले केही प्रजातिहरूलाई आधिकारिक रूपमा वर्णन गर्नुअघि नै गुमाइरहेका हुन सक्छौँ । यी मौरीहरूले खतरामा परेका बोटबिरुवाहरू र सम्पूर्ण पारिस्थितिक तन्त्रलाई समर्थन गर्ने अत्यावश्यक भूमिका खेल्छन् ।’

डा. प्रिन्डरगास्टले भनिन्, ‘यदि हामीलाई कुन मौरीहरू कहाँ अवस्थित छन् र तिनीहरू कुन बोटबिरुवाहरूमा निर्भर छन् भन्ने थाहा छैन भने, हामीले तिनीहरू अस्तित्वमै छन् भन्ने पत्ता लगाउनुअघि नै मौरी र बोटबिरुवा दुवै गुमाउने खतरा बेहोर्न सक्छौँ ।’

वैज्ञानिकहरूका अनुसार संसारका अधिकांश फूल फुल्ने बोटबिरुवाहरू परागणकर्ताहरूमा, विशेष गरी मौरीहरूमा निर्भर छन् । तर बासस्थानको विनाश, खानी उत्खनन र जलवायु परिवर्तनका कारण धेरै देशी मौरी प्रजातिहरू हाल लोप हुने संकटमा छन् ।

नयाँ ‘लुसिफर मौरी’ को खोजले अस्ट्रेलियामा अझै धेरै अज्ञात जीवनरूपहरू अस्तित्वमा रहेको पुष्टि गरेको छ । वैज्ञानिकहरूले यसलाई मौरी संरक्षण र जैविक विविधता बचाउनका लागि नयाँ सुरुवातको रूपमा हेरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध देशभर एमालेको प्रदर्शन

काठमाडौं :  विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपाएमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन गरेको छ । मंगलबार एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत विभिन्न पालिकाहरूमा मोटरसाइकल र्‍यालीका साथै नारा जुलुससहित र्‍यालीको समेत आयोजना गरिएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो । यसैक्रममा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंको बसन्तपुर क्षेत्रमा जनप्रदर्शन तथा सद्भाव र्‍याली निकालेको थियो ।

एमाले नेता आनन्दप्रसाद पोखरेलले प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर प्रदर्शन गरेको जानकारी दिए । आफूहरूको प्रदर्शनलाई जागरण अभियानको रुपमा अघि बढाइएको उनले बताए।

एमालेले कात्तिक २९ गते जिल्लास्तर र आगामी मङ्सिर ६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने तयारी गरेको छ ।

मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु सार्वजनिक

काठमाडौँ । सोमबार बसेको  मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक गरिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएकाे छ ।

त्यस्तै भारतको विशाखापटनम्मा २०८२ कात्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने 30th Partnership Summit, 2025 मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएकाे सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरलेले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने लगायतका निर्णयहरू समेत मन्त्रिपरिषद् बैठकले गरेकाे छ ।

581893947_1006009891706868_6713242654750369269_n

579255448_843142588120953_6676478863976965999_n

एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क

काठमाडौं। एनसेलले आकर्षक ‘११ः११ एनसेल एप क्याम्पेन’ संचालनमा ल्याएको जनाएको छ, जसअन्तर्गत आज नोभेम्बर ११ को दिन एनसेल एपमार्फत रु. २०० वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकहरूमध्ये ११ जना भाग्यशाली ग्राहकले ११ दिन समयसीमा भएको ११ जीबी डेटा निःशुल्क कम्पनीले जनाएको छ।

११ः११ उत्सवको अवसरमा भोलि एक दिनका लागि संचालन हुने यो विशेष अफरको उद्देश्य प्रिपेड ग्राहकहरूलाई डेटाले पुरस्कृत गर्नुका साथै विश्वव्यापी ११ः११ ट्रेन्डसँग मेल खाने रमाइलो तथा आकर्षक अनुभव प्रदान गर्नु रहेको जनाइएको छ ।

‘वन स्टप सेल्फ–केयर एप’ का रूपमा चिनिने एनसेल एपमार्फत ग्राहकहरूले विभिन्न भ्वाइस तथा डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, मासिक बिल हेर्न, आफ्नो उपयोग गर्न बाँकी सेवाहरु हेर्न, रोमिङसहितका सेवासक्रिय÷निष्क्रिय गर्न, र गिफ्टका रूपमा सेवाका विभिन्न प्याकहरु पठाउन पनि सकिने कम्पनीको भनाइ छ ।

एपमा अनलाइन तथा अफलाइन गेमहरू खेल्ने, समाचारहरु हेर्न सकिने लगायतका अन्य रोमाञ्चक सुविधाहरू पनि उपलब्ध रहेका छन्। ग्राहकहरूले गुगल प्ले स्टोर वा एप स्टोरबाट एनसेल एप डाउनलोड गरी एपका सेवाहरूको फाइदा लिन बताइएको छ ।

११ः११ चीनबाट सुरु भएकोविश्वकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवको रूपमा विकसित भइसकेको एक टे«न्ड हो । ठूलो परिमाणका सेल, फ्ल्यास डिल, काउन्टडाउन अफर र सीमित समयका छुटहरूले गर्दा उपभोक्ताहरूमा ११ः११ को आकर्षण बढ्दो रहेको कम्पनीले जनाएको छ ।

खोज्नुहोस