६ सुकुम्वासी परिवारलाई पुर्‍याइयो दशरथ रंगशाला

काठमाडौं । थापाथलीस्थित वाग्मती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली भएको छ । सुकुम्वासी बस्दै आएको बस्ती सरकारले खाली गरेको हो ।

काठमाडौं महानगरपालिकाको नगरप्रहरीले आज थापाथलीको सुकुम्वासी बस्तीमा डोजर लगाएको थियो ।

“यहाँबाट आफू घरबारविहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रंगशालामा लगिएको छ,” प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले भनेको छ ।

बस्तीका टहरा हटाउनुअघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगरीय प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मध्यपूर्वमा युद्ध शुरु भएपछि ३० हजारभन्दा धेरै स्वदेश फर्किए : परराष्ट्र मन्त्रालय

काठमाण्डौ- मध्यपूर्वमा युद्ध शुरु भएपछि ३० हजारभन्दा धेरै नेपाली नागरिक त्यस क्षेत्रबाट स्वदेश फर्किएका छन् । अमेरिका र इरानबीचको युद्धले मध्यपूर्वमा तनाव बढेपछि वैदेशिक रोजगारीलगायत काममा गएकामध्ये ३० हजारभन्दा धेरै नेपाली घर फर्किएका परराष्ट्र मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार ती नागरिक तत्कालको परिस्थितिका कारण र बिदामा घर फर्किएका हुन् । त्यसमध्ये २१ हजार नेपाली नागरिक कतारबाट फर्किएका मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिए ।

यसै गरी मन्त्रालयको कन्सुलर सेवा विभागले शुरु गरेको अनलाइन पोर्टलमा अहिलेसम्म ८७ हजार ८१९ जनाले आफ्नो अवस्थाका बारेमा विवरण दर्ता गराएका छन् । इरानको हर्मुज क्षेत्रमा पानीजहाजसहित पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइको पहल भइरहेको महाशाखाका प्रमुख खड्काले जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार मन्त्रालयले युद्ध प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक सहजताका लागि आपतकालीन प्रतिकार्य समूहमार्फत काम गरिरहेको छ ।

विश्वकप लिग–२ः यूएईविरुद्ध दीपेन्द्रको अर्धशतक

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा उनले यूएईविरुद्ध ५९ बलमा अर्धशतक बनाएका हुन्। उनले ४ चौका १ छक्का प्रहार गरे।

एकदिवसीयमा उनको यो छैटौं अर्धशतक हो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ताजा स्थितीमा ३४.१ ओभरमा ६ विकेटको क्षतिमा १३९ रन जोडेको छ।

युएईविरुद्ध नेपालकाे सय रन पूरा

काठ्माण्डौ- आईसीसी विश्वकप लिग-टु अन्तर्गत नेपालले युएईविरुद्धकाे जारी खेलमा सय रन पूरा गरेकाे छ।

शनिबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेकाे नेपालले २३.२ ओभरमा ५ विकेट गुमाउँदै सय रन पूरा गरेको हो।

नेपालका ओपनर अशिफ शेख ७ रन अर्का ओपनर कुशल भुर्तेल २४ रन बनाएर आउट भए। भिम सार्की १० रन बनाएर पेभिलियन फर्किँदा, कप्तान राेहित २ रनमै समेटिए। बसिर अह्म्मद २० रनमा आउट भए।

क्रिजमा अहिले उपकप्तान दिपेन्द्र सिंह ऐरि २८ र आरिफ शेख ५ रन बनाएर खेलिरहेका छन्।

थापाथलीको सुकुम्बासी बस्ती गरियो खाली

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।

सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुमबासी हटाउन निर्देशन दिएसँगै आज बिहानैदेखि त्यहाँ बसिरहेकाहरु अन्यत्र गएका हुन् । उक्त क्षेत्रमा ठूला सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि आजै काठमाडौं महानगरपालिका–९ गैरीगाउँको सुकुमबासी बस्ती पनि खाली गर्ने तयारीमा आफूहरु रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

शर्मा नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको रजिस्ट्रेशन कोर्डिनेटर

कोलोराडो, १२ बैशाख ।

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको रजिस्ट्रेशन कोर्डिनेटरको जिम्मेवारी परिवेश शर्मा लाई दिईएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिले आगामि मे २२ देखि २५ (जेठ ८–११) सम्म अमेरिकाको कोलोराडोमा आयोजना गर्न गईरहेको सम्मेलनका लागि शर्मालाई रजिस्ट्रेशन कोर्डिनेटरको जिम्मेवारी दिएको हो ।

रोजगारीसंगै समाजसेवामा सक्रिय शर्मालाई नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य  सम्मेलनको रजिस्ट्रेशन कोर्डिनेटरको जिम्मेवारी दिईएको अनेसास केन्द्रीय समितिले जनाएको छ ।

सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न नौ वटा उपसमिति गठन गरिएका छन् । जसमध्ये रजिस्ट्रेशन प्रमुखको जिम्मेवारी शर्माले पाएका हुन् ।

सम्मेलनमा संसारभरीबाट दुई सयभन्दा बढि नेपाली साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको छ ।

दाहाल नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको स्वयमसेवक व्यवस्थापन कोर्डिनेटर

कोलोराडो, १२ बैशाख ।

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको स्वयमसेवक व्यवस्थापन कोर्डिनेटरको जिम्मेवारी सुशील दाहाललाई दिईएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिले आगामि मे २२ देखि २५ (जेठ ८–११) सम्म अमेरिकाको कोलोराडोमा आयोजना गर्न गईरहेको सम्मेलनका लागि दाहाललाई स्वयमसेवक व्यवस्थापन कोर्डिनेटरको जिम्मेवारी दिएको हो ।

व्यवसायसंगै समाजसेवामा सक्रिय दाहाललाई नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य  सम्मेलनको स्वयमसेवक व्यवस्थापन कोर्डिनेटरको जिम्मेवारी दिईएको अनेसास केन्द्रीय समितिले जनाएको छ ।

सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न नौ वटा उपसमिति गठन गरिएका छन् । जसमध्ये स्वयमसेवक व्यवस्थापन प्रमुखको जिम्मेवारी दाहालले पाएका हुन् ।

सम्मेलनमा संसारभरीबाट दुई सयभन्दा बढि नेपाली साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको छ ।

कार्की नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको यातायात तथा अतिथि व्यवस्थापन कोर्डिनेटर

कोलोराडो, १२ बैशाख ।

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको यातायात तथा अतिथि व्यवस्थापन कोर्डिनेटरको जिम्मेवारी अर्जुन कार्कीलाई दिईएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिले आगामि मे २२ देखि २५ (जेठ ८–११) सम्म अमेरिकाको कोलोराडोमा आयोजना गर्न गईरहेको सम्मेलनका लागि काकीलाई यातायात तथा अतिथि व्यवस्थापन कोर्डिनेटरको जिम्मेवारी दिएको हो ।

व्यवसायसंगै समाजसेवामा सक्रिय कार्कीलाई नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य  सम्मेलनको लायजन कोर्डिनेटरको जिम्मेवारी दिईएको अनेसास केन्द्रीय समितिले जनाएको छ ।

सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न नौ वटा उपसमिति गठन गरिएका छन् । जसमध्ये यातायात तथा अतिथि व्यवस्थापन प्रमुखको जिम्मेवारी कार्कीले पाएका हुन् ।

सम्मेलनमा संसारभरीबाट दुई सयभन्दा बढि नेपाली साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको छ ।

पीत पत्रकारिता, बिचौलिया र भ्रष्ट कर्मचारीतन्त्रको कोपभाजनमा सुधारको राजनीति

टीका पौडेल ।

नेपालको समकालीन राजनीतिक परिदृश्यलाई नजिकबाट हेर्दा एउटा रोचक तर जटिल चित्र देखा पर्छ। एकातिर परिवर्तनको आकांक्षा बोकेर आएका नयाँ राजनीतिक शक्तिहरू छन्, जसले पारदर्शिता, सुशासन र जवाफदेहिताको कुरा गरिरहेका छन्। अर्कोतिर, लामो समयदेखि जरा गाडेर बसेका संरचनात्मक समस्याहरू छन्, जसले हरेक सुधार प्रयासलाई चुनौती दिइरहेका छन्। यही द्वन्द्वको केन्द्रमा आज राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाह जस्ता नेतृत्वहरू देखिन्छन्, जसले पुरानो प्रणालीसँग ठोक्किँदै नयाँ मार्ग निर्माण गर्ने प्रयास गरिरहेका छन्।

यद्यपि, सुधारको यो प्रयास एकरेखीय र सहज छैन। विशेषगरी पीत पत्रकारिता, बिचौलिया तन्त्र र भ्रष्ट कर्मचारीतन्त्र जस्ता तीन प्रमुख तत्वहरूले यस्तो वातावरण सिर्जना गरिरहेका छन्, जसले सुधारको गति मात्र होइन, त्यसको विश्वसनीयतालाई पनि प्रभावित पारिरहेको छ। यी तीनवटै तत्व अलग–अलग देखिए पनि व्यवहारमा एकअर्कासँग गाँसिएका छन्, र तिनको संयुक्त प्रभाव अझ गहिरो हुन्छ।

नेपाली मिडियाको सन्दर्भमा कुरा गर्दा, यसले लोकतन्त्रको सुदृढीकरणमा ऐतिहासिक योगदान दिएको छ भन्नेमा विवाद छैन। तर पछिल्लो समय केही मिडिया प्लेटफर्महरूमा देखिएको प्रवृत्तिले चिन्ता बढाएको छ। विशेष गरी केही अनलाइन न्युज पोर्टलहरू र ट्याब्लोइड शैलीका प्रकाशनहरूले सनसनीपूर्ण सामग्रीलाई प्राथमिकता दिने गरेको आरोप लाग्दै आएको छ। यही प्रवृत्तिलाई “पीत पत्रकारिता” भनेर आलोचना गरिन्छ। यस्तो पत्रकारितामा समाचारको गहिराइभन्दा यसको प्रस्तुतिको प्रभावलाई बढी महत्त्व दिइन्छ। शीर्षकहरू उत्तेजक बनाइन्छन्, सन्दर्भहरू काटछाँट गरिन्छन्, र कहिलेकाहीँ अप्रमाणित सूचनालाई पनि प्राथमिकता दिइन्छ।

यसको सबैभन्दा खतरनाक पक्ष भनेको “मिडिया ट्रायल” हो। जब कुनै सार्वजनिक व्यक्तित्व वा पदाधिकारीविरुद्ध आरोप लाग्छ, त्यो कानुनी प्रक्रियाबाट प्रमाणित हुनुअघि नै मिडियामा दोषी जस्तै चित्रित गरिन्छ। यस्तो अवस्थामा जनमत तीव्र रूपमा प्रभावित हुन्छ र सम्बन्धित व्यक्तिमाथि तत्कालीन दबाब सिर्जना हुन्छ। नेपालमा केही मन्त्रीहरूले छोटो समयमै पद त्याग गर्नुपरेका घटनाहरूलाई धेरैले यही प्रवृत्तिसँग जोडेर हेर्ने गरेका छन्। यद्यपि, हरेक घटनाको कारण केवल मिडिया हो भन्ने निष्कर्ष निकाल्नु अतिसरलीकरण हुन सक्छ, तर मिडियाको प्रभाव अस्वीकार गर्न पनि सकिँदैन।

पीत पत्रकारिताले सिर्जना गर्ने अर्को समस्या भनेको दीर्घकालीन नीतिगत बहसको क्षय हो। जब सार्वजनिक विमर्श सनसनी र आरोप–प्रत्यारोपमा केन्द्रित हुन्छ, तब गहिरो विश्लेषण र समाधानमुखी संवाद ओझेलमा पर्छ। यसले सुधारका प्रयासहरूलाई कमजोर बनाउँछ, किनकि सुधारको लागि स्थिरता, स्पष्टता र जनसमर्थन आवश्यक हुन्छ।

मिडियाको यो प्रवृत्तिसँगै नेपालमा गहिरो जरा गाडेर बसेको अर्को समस्या हो—बिचौलिया तन्त्र। बिचौलियाहरू औपचारिक संरचनाभित्र नपरे पनि, तिनको प्रभाव अत्यन्त शक्तिशाली हुन्छ। उनीहरूले पहुँच, सम्बन्ध र अनौपचारिक नेटवर्कको प्रयोग गरेर निर्णय प्रक्रियामा हस्तक्षेप गर्छन्। सेवा प्रवाहदेखि नीति निर्माणसम्म, बिचौलियाहरूको उपस्थितिले पारदर्शिता र निष्पक्षतालाई कमजोर बनाउने गरेको आरोप लाग्ने गरेको छ।

बिचौलियापन किन यति व्यापक छ भन्ने प्रश्नको उत्तर राज्यका औपचारिक संयन्त्रहरूको कमजोरीसँग जोडिन्छ। जब सरकारी सेवा पाउन प्रक्रिया जटिल हुन्छ, समय लाग्छ, र अनिश्चितता बढी हुन्छ, तब नागरिकहरू वैकल्पिक उपाय खोज्न थाल्छन्। यही ठाउँमा बिचौलियाहरू सक्रिय हुन्छन्। उनीहरूले काम छिटो गरिदिने वा “समस्या समाधान” गरिदिने वाचा गर्छन्, तर त्यसको मूल्य तिर्नुपर्छ। यसरी, बिचौलिया तन्त्र केवल व्यक्तिगत स्वार्थको परिणाम होइनस यो प्रणालीगत कमजोरीको उपज पनि हो।

तर यसको असर गम्भीर हुन्छ। यसले समान अवसरको अवधारणालाई कमजोर बनाउँछ, किनकि पहुँच र पैसाले काम गराउन सकिने वातावरण बन्छ। यसले भ्रष्टाचारलाई संस्थागत बनाउँछ र राज्यप्रति जनविश्वास घटाउँछ। जब नयाँ राजनीतिक शक्ति वा नेतृत्वले यस्तो संरचनालाई चुनौती दिन खोज्छ, तब उनीहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रतिरोध सामना गर्नुपर्छ। यो प्रतिरोध सधैं देखिने हुँदैन, तर यसको प्रभाव गहिरो हुन्छ।

यही सन्दर्भमा भ्रष्ट कर्मचारीतन्त्रको भूमिका पनि महत्वपूर्ण हुन्छ। नेपालको निजामती सेवा प्रणालीमा लामो समयदेखि सुधारको आवश्यकता औंल्याइँदै आएको छ। सेवाग्राहीहरूले ढिलासुस्ती, अनावश्यक झन्झट, र कहिलेकाहीँ घुस माग्ने प्रवृत्तिको गुनासो गर्दै आएका छन्। यद्यपि धेरै कर्मचारीहरू इमानदार र कर्तव्यनिष्ठ छन्, केहीको व्यवहारले सम्पूर्ण प्रणालीलाई नकारात्मक बनाएको छ।

भ्रष्टाचार केवल पैसासँग सम्बन्धित हुँदैनस यो कार्यसंस्कृतिसँग पनि सम्बन्धित हुन्छ। निर्णय लिन नचाहने, जिम्मेवारी पन्छाउने, वा नियमलाई आफ्नो अनुकूल व्याख्या गर्ने प्रवृत्ति पनि भ्रष्टाचारकै एक रूप हो। यस्तो अवस्थामा सुधारका प्रयासहरू कार्यान्वयनमा नै अड्किन्छन्। नीति राम्रो भए पनि, कार्यान्वयन कमजोर हुँदा अपेक्षित परिणाम आउँदैन।

जब यी तीनवटै तत्व—पीत पत्रकारिता, बिचौलिया तन्त्र र भ्रष्ट कर्मचारीतन्त्र—एकअर्कासँग गाँसिन्छन्, तब सुधारको प्रयास झनै जटिल बन्छ। उदाहरणका लागि, कुनै सुधारात्मक कदमले बिचौलियाको स्वार्थमा असर पार्छ भने, त्यसविरुद्ध नकारात्मक प्रचार हुन सक्छ। यदि मिडियाको एक हिस्सा सनसनीपूर्ण प्रस्तुतीकरणतर्फ झुकेको छ भने, त्यो प्रचार अझ तीव्र हुन्छ। त्यही समयमा, प्रशासनिक तहमा अवरोध सिर्जना हुन सक्छ, जसले निर्णय कार्यान्वयनमा ढिलाइ गराउँछ। यसरी, सुधारको प्रयास बहुआयामिक चुनौतीसँग जुध्न बाध्य हुन्छ।

यही परिप्रेक्ष्यमा राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाह जस्ता नेतृत्वहरूको प्रयासलाई बुझ्न आवश्यक छ। उनीहरूले ल्याएको मुख्य सन्देश भनेको पारदर्शिता, जवाफदेहिता र प्रणाली सुधार हो। तर यस्ता प्रयासहरू तत्काल परिणाम दिने खालका हुँदैनन्। जनताले छिटो परिवर्तनको अपेक्षा गर्छन्, तर संरचनात्मक सुधार समयसाध्य हुन्छ। यही अन्तरले निराशा र आलोचना जन्माउँछ, जसलाई कहिलेकाहीँ मिडियाले अझ बढाइचढाइ प्रस्तुत गर्छ।

तर यहाँ एउटा महत्वपूर्ण प्रश्न उठ्छ—के यी सबै चुनौतीहरू कुनै विशेष समूहलाई असफल बनाउने योजनाबद्ध प्रयास हुन्रु वा यी दीर्घकालीन संरचनात्मक समस्याहरूको परिणाम मात्र हुन्रु यथार्थमा, दोस्रो दृष्टिकोण बढी सन्तुलित देखिन्छ। यस्ता समस्याहरू कुनै एक पार्टी वा नेतृत्वसँग मात्र सीमित हुँदैनन्। जो कोही सुधारको बाटोमा हिँड्छ, उसले यिनै चुनौतीहरू सामना गर्नुपर्छ।

यसैले, समाधान पनि व्यापक र दीर्घकालीन हुनुपर्छ। मिडियामा नैतिकता र जिम्मेवारी बढाउन आवश्यक छ, तर त्यसका लागि नियमन मात्र पर्याप्त हुँदैनस मिडिया साक्षरता पनि आवश्यक हुन्छ। बिचौलिया तन्त्रलाई कमजोर बनाउन प्रशासनिक प्रक्रिया सरल, पारदर्शी र डिजिटल बनाउनुपर्छ। कर्मचारीतन्त्रमा सुधार ल्याउन प्रोत्साहन र दण्ड दुवै आवश्यक हुन्छ—इमानदारलाई सम्मान र भ्रष्टलाई कडा कारबाही।

अन्ततः, नेपालको सुधार यात्रा केवल राजनीतिक नेतृत्वको जिम्मेवारी होइनस यो समाजका सबै तहको साझा प्रयास हो। नागरिकहरूले पनि आफ्नो भूमिकालाई बुझ्नुपर्छ—अप्रमाणित समाचारलाई नफैलाउने, बिचौलियाको सहारा नलिने, र पारदर्शी प्रक्रियालाई समर्थन गर्ने। जबसम्म समाज स्वयं परिवर्तनका लागि तयार हुँदैन, तबसम्म कुनै पनि सुधार प्रयास पूर्ण रूपमा सफल हुन सक्दैन।

नेपाल आज एउटा निर्णायक मोडमा छ। यदि पीत पत्रकारिता, बिचौलिया र भ्रष्ट कर्मचारीतन्त्र जस्ता संरचनात्मक समस्याहरूलाई गहिराइमा गएर सम्बोधन गरियो भने, सुधारको बाटो सहज हुन सक्छ। अन्यथा, नयाँ नेतृत्व र नयाँ सोच पनि पुरानै समस्याको जालमा अल्झिन सक्छ। त्यसैले आजको आवश्यकता आरोप–प्रत्यारोपभन्दा माथि उठेर यथार्थपरक विश्लेषण, सहकार्य र दीर्घकालीन दृष्टिकोण अपनाउनु हो। यही बाटोले मात्र नेपाललाई स्थायी सुशासन र दिगो विकासतर्फ अग्रसर गराउन सक्छ।

प्रधानमन्त्री बालेनले भने- ‘बाचा बिर्सेको छैन, अतिक्रमणकारी र सुकुम्बासी छुट्याउछौँ’

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने बताएका छन् । थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने विषयमा चौतर्फी चासो र प्रश्न उठेपछि सामाजिक सञ्जाल (फेसबुक) मा पोष्ट गर्दै शाहले अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याउने बताएका हुन् ।

‘काठमाडौँका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित छन् । अनि देशभर लाखौँ सुकुम्बासी छन् । त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो ।’, उनले लेखेका छन्, ‘हामी सरकारमा छौँ । अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ । देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ । वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ ।’

वर्षायाममा सुकुम्बासी बस्तीमा बाढी पसेको फोटो सेयर गर्दै शाहले उक्त समस्यमा समाधानका लागि आफूले बारम्बार लेख्दै र बोल्दै आएको पनि उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहले अब सरकारले नदी किनारका सुकुम्बासीहरुको जीवनसँग खेलवाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति नगर्ने बरु उनीहरुलाई उचित ठाउँमा व्यवस्थापन गर्ने बताएका छन् ।

‘उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहने ?’, उनले लेखेका छन् ‘उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौँदेखि झुलाइयो, त्यसै गरी अबका वर्षहरूमा पनि झुलाइराख्नु ? नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो ? पक्कै पनि जोखिमरहित व्यवस्थापन उहाँहरूको अधिकार हो ।’

त्यस्तै, नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदीखोलाहरू दुर्गन्धित भइरहेको पनि शाहले उल्लेख गरेका छन् । यो स्थानान्तरणले काठमाडौँको ढल निकास प्रणालीलाई सहज बनाउने भन्दै यी विविध कारणले नै थापाथली, गैरीगाउँ र मनोहरा लगायत काठमाडौँका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेकाहरुलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको पनि प्रधानमन्त्री शाहले बताएका छन् ।

त्यस्तै, उनले आफू उम्मेदवार रहेको झापामा गरेको बाचा र पार्टीको बाचापत्रमा लेखिएको प्रतिबद्धता अनि प्रधानमन्त्रीका रुपमा छानिएका ‘सरकारका १०० वटा गर्नै पर्ने काम’ र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने बुँदा ९२) नबिर्सिएको भन्दै ती बाचाहरु पूरा गर्न आफूहरु आन्तरिक तयारीमा रहेको पनि बताएका छन् ।

यातायात सेवा कार्यालय सञ्चालनमा आएसँगै पूर्वी कैलालीका नागरिकलाई सहज

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले  कैलालीको लम्कीचुहा-४ बलियामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गर्नुभएको छ । आज एक कार्यक्रमकाबीच उहाँले सेवा कार्यालयको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा मुख्यमन्त्री शाहले जनतालाई सेवा प्रवाह गर्नका निमित्त प्रदेश सरकार कटिबद्ध भएर लागिरहेको बताए। उनले यातायात व्यवस्था सेवा कार्यालयको स्थापनासँगै यस क्षेत्रका जनताले राहतको अनुभूति गर्ने विश्वास व्यक्त गरे।

“जनप्रतिनिधिहरूले जनताले दिएको जनमतको सम्मान गर्दै जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्छ”, मुख्यमन्त्री शाहले भने, “मुलुकको विकासका लागि तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व हुनुपर्छ।”

टीकापुरमा प्रस्तावित टीकापुर विज्ञान तथा प्राविधिक विश्वविद्यालय निर्माणका लागि सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिँदै मुख्यमन्त्री शाहले आधुनिक प्रविधिको युगमा विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याए। उक्त विश्वविद्यालयले क्षेत्रीय पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे।

सेवा कार्यालय स्थापनासँगै लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिकालगायत क्षेत्रका जनतालाई सहजता हुनेछ।

कार्यालय व्यवस्थापनका लागि स्थानीय झुप्रे रावतले पाँच वर्षका लागि आफ्नो घर निःशुल्क उपलब्ध गराएका छन्। लम्कीचुहा नगरपालिका–४ का वडाध्यक्ष ताराप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन वडा नं ३ का वडाध्यक्ष लवबहादुर शाहीले गरेका थिए।

मानव अधिकार आयोगको निर्देशन – सुकुम्बासीमाथि अत्यधिक बल प्रयोग नगर्नू

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अतिक्रमित जग्गा खाली गराउँदा अत्यधिक बल प्रयोग नगर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै आयोगले सुकुम्बासी बस्ती खाली गराउने सरकारको तयारीप्रति ध्यानाकर्षण भएको जनाएको छ । आयोगले भनेको छ, “नेपाल सरकारबाट २०८३ वैशाख १२ गतेदेखि काठमाडौँ जिल्लाको बागमती किनारलगायत विभिन्न स्थानमा बसोबास गरेका सुकुम्बासीहरूको घर टहरा हटाउने भनिएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ ।”

आयोगले अतिक्रमित जग्गा खाली गराउँदा अत्यधिक बल प्रयोग नगर्न पनि निर्देशन दिएको छ । ‘…आयोगका सिफारिशहरू र सर्वोच्च अदातलबाट भएका आदेशको कार्यान्वयन गर्दै वास्तविक सुकुम्बासीहरूको पहिचान एवं आवश्यक व्यवस्थापन गरी अतिक्रमित जग्गाका घर टहरा खाली गराउने क्रममा अत्यधिक बलको प्रयोग नगर्न र संयमित हुन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,’ आयोगले भनेको छ ।

आयोगले वास्तविक सुकुम्बासीको पहिचान गरेर वैकिल्पक व्यवस्था गर्न भनेको छ ।

सरकारले शुक्रबार साँझ ७ बजेसम्म थापाथलीका लगायतका नदी किनारका सुकुम्बासीलाई घर टहरा खाली गर्न भनेको छ ।

विपिन जोशीको परिवारलाई १० लाख सहयोग उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

‘अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजामा भएको घटनामा परी मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने,’ उनले मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै भने ।

सरकारले यसअघि मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू मात्रै सार्वजनिक गर्दै आएको थियो ।

आज भने सरकारले हालसम्मका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको हो ।

ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद

नयाँ दिल्ली- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सामाजिक सञ्जालमा गरिएको एक विवादास्पद अभिव्यक्तिले भारत–अमेरिका सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ । भारतले उक्त टिप्पणीलाई कडा शब्दमा अस्वीकार गर्दै अनुचित र वास्तविकतासँग असम्बन्धित भएको जनाएको छ ।

बुधबार राति ट्रम्पले सामाजिक सञ्जालमा साझा गरेको पोस्टमा अमेरिकामा जन्मिएका सबैलाई स्वतः नागरिकता दिने संवैधानिक व्यवस्थामाथि आलोचना गरिएको थियो । सो पोस्टमा विशेषगरी भारतीय आप्रवासीहरूलाई लक्षित गर्दै उनीहरूले अमेरिकी मूल निवासीहरूलाई रोजगारी नदिने र अङ्ग्रेजी भाषामा दक्षता नभएको आरोप लगाइएको थियो । त्यस्तै, भारतलाई ‘नरक’ भन्दै गरिएको टिप्पणीले थप विवाद निम्त्याएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ती अभिव्यक्तिहरूलाई ‘स्पष्ट रूपमा अज्ञात, अनुपयुक्त र खराब स्वादमा’ भएको प्रतिक्रिया दिए । उनले यस्ता भनाइहरूले भारत–अमेरिका सम्बन्धको वास्तविक स्वरूप झल्काउन नसक्ने बताउँदै दुई देशबीचको सम्बन्ध दीर्घकालीन आपसी सम्मान र साझा हितमा आधारित रहेको उल्लेख गरे । यसैबीच, भारतीय मूलका अमेरिकी डेमोक्रेट सांसद अमी बेराले पनि ट्रम्पको टिप्पणीको आलोचना गर्दै यसलाई ‘आपत्तिजनक, अज्ञानी र पदको गरिमाभन्दा तल’ रहेको बताएका छन् ।

उनले ट्रम्पले आप्रवासी परिवारहरूले भोग्ने सङ्घर्ष कहिल्यै अनुभव नगरेको टिप्पणी गरे । हिन्दू अमेरिकन फाउन्डेसनले समेत उक्त पोस्टप्रति आपत्ति जनाउँदै यसलाई ‘घृणित र जातिवादी अभिव्यक्ति’ को संज्ञा दिएको छ । संस्थाले यस्तो अभिव्यक्तिले समाजमा विद्यमान जेनोफोबिया र जातीय विभाजनलाई अझ बढावा दिने चेतावनी दिएको छ ।

अमेरिकामा आप्रवासन नीतिमा कडाइ ल्याउने आफ्नो प्रमुख एजेन्डाअन्तर्गत ट्रम्पले विशेषगरी भारतीय प्राविधिक कामदारहरूले प्रयोग गर्ने भिसा प्रणालीलाई लक्षित गर्दै आएका छन् । यसले दुई देशबीचको सम्बन्धमा थप जटिलता थपेको छ । यसअघि पनि भारत–पाकिस्तानबीचको तनावका क्रममा आफ्नो मध्यस्थतालाई पर्याप्त महत्त्व नदिएको भन्दै ट्रम्पले भारतप्रति असन्तुष्टि जनाउँदै व्यापारिक क्षेत्रमा समेत दबाब सिर्जना गर्न उच्च शुल्क लगाएका थिए ।

यसले दुई देशबीचको कूटनीतिक सम्बन्धमा चिसोपना ल्याएको विश्लेषण गरिएको छ । रोचक पक्ष के छ भने, विशेषगरी चीनसँगको रणनीतिक प्रतिस्पर्धालाई ध्यानमा राख्दै विगतका अमेरिकी प्रशासनहरूले विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भारतसँग सुदृढ सम्बन्ध कायम राख्न निरन्तर प्रयास गर्दै आएका थिए ।

तर ट्रम्पको पछिल्लो अभिव्यक्तिले सो दीर्घकालीन रणनीतिमा प्रश्न उठाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोको आसन्न भारत भ्रमणको तयारी भइरहेका बेला यस्तो विवाद सतहमा आउनु अर्थपूर्ण मानिएको छ । कूटनीतिक वृत्तमा यसलाई दुई देशबीचको सम्बन्ध सुधार्ने प्रयासका लागि चुनौतीका रूपमा हेरिएको छ ।

सातामा ४९.७ अंकले घट्यो बजार, आज सामान्य बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ ।

यस दिन बजा १.५४ अंकले बढेर नेप्से परिसूचक २७८८.७० विन्दु कायम भएको छ ।

अघिल्लो दिन १७.०१ अंकले घटेको थियो । यो साताका बाँकी सबै दिन बजार निरन्तर घटेको हो ।

समग्रमा यो साता बजार ४९.७ अंकले घटेको नेप्सेले जनाएको छ । गत साताको अन्तिम कारोबार दिन नेप्से २८३८.४० विन्दुमा थियो ।

कारोबार रकम पनि सामान्य बढेको छ । हिजो पाँच अर्ब नौ करोडको कारोबार भएकामा आज पाँच अर्ब २७ करोड पुगेको छ ।

नेप्सेका अनुसार, आज १६८ कम्पनीको सेयर मूल्य घट्दा ८७ वटाको बढेको छ ।

तीन कम्पनी पाल्पा सिमेन्ट, शिखर पावर र माईखोला हाइड्रोको सेयर मूल्यमा सकारात्मक सकिर्ट (१५ प्रतिशत) लागेको छ ।

सुकुम्वासीले रास्वपालाई भने : सरकार पेलेर अघि बढे प्रतिकारमा उत्रिन्छौँ

काठमाडौं- काठमाडौंको अतिक्रमित सुकुम्वासी बस्तीका बासिन्दाले आफूहरूलाई हटाउने निर्णय कार्यान्वयन नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण गराएका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको नेतृत्वमा शुक्रबार काठमाडौंको बनस्थलीस्थीत रास्वपा पार्टी कार्यालयमा पुगेकाहरूले बस्ती हटाउने निर्णय कार्यान्वयन नगर्न माग गरेका हुन् ।

उनीहरूले पार्टी कार्यालयमा रास्वपाका केन्द्रीय सदस्य खेमराज साउदलाई ध्याकर्षण पत्र बुझाएको जनाएका छन् ।

त्यस क्रममा मानव अधिकार उल्लंघन हुने गरी काम नगर्ने र यस विषयमा सरकारसँग कुरा भइरहेको जवाफ प्राप्त भएको मोर्चाका महासचिव अर्जुन कुँवरले जानकारी दिए ।

आफूहरू सकारात्मक सन्देश आउने विश्वासमा रहे पनि सहजताका साथ एकताबद्ध भएर बस्न उनले आग्रह गरेका छन् ।

मोर्चाले सरकार एकतर्फी ढंगले जबरजस्त रुपमा अघि बढ्न खोजे प्रतिकार गर्ने चेतावनीसमेत दिएको छ ।

मोर्चाले जबरजस्ती उठिबासको सूचना तत्काल फिर्ता लिनुपर्ने, राष्ट्रिय भूमि समस्या समाधान आयोगको कार्य प्रक्रिया तत्काल सुरू गरि लगत प्रमाणीकरण र व्यवस्थापन अगाडि बढाउनुपर्ने, भूमि र आवासको अधिकारको सुनिश्चित गर्नुपर्ने लगायत माग राखेका छन् ।

हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम

काठमाडौं- हिन्दुकुश हिमालय क्षेत्रमा हिम आवरण दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले घटेको देखिएको छ । यसले गत वर्षको न्यूनतम् कीर्तिमान तोड्दै लगातार चौथो वर्ष औसतभन्दा कम हिम स्थायित्व देखाएको छ । यो तथ्य अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) द्वारा आज सार्वजनिक गरिएको ‘स्नो अपडेट–२०२६’ प्रतिवेदनमा उल्लेख छ । यस निरन्तर गिरावटले विश्वकै उच्च हिमाली क्षेत्रमा मौसमी हिम सञ्चिति प्रणालीगत रूपमा कमजोर हुँदै गएको सङ्केत गर्दछ ।

जसले यस क्षेत्रबाट उत्पन्न हुने १२ प्रमुख नदी बेसिनमा निर्भर करिब दुई अर्ब नागरिकको जल सुरक्षामा तत्काल र बढ्दो खतरा निम्त्याएको छ । तीमध्ये १० बेसिनमा अहिले औसतभन्दा कम हिम स्थायित्व रहेको छ । मेकङ, टारिम र तिब्बती पठारमा २४ वर्षको निगरानी अवधिमै सबैभन्दा न्यून स्तर रेकर्ड गरिएको छ ।

“हामीले देखिरहेको कुरा भनेको एक निरन्तर प्रवृत्ति हो, जहाँ मौसमी हिम सञ्चिति वर्षेनि घट्दै गएको छ”, ‘स्नो अपडेट–२०२६’का लेखक शेर मुहम्मदले भन्नुभयोे, “यो तथ्याङ्कले एक महत्वपूर्ण मोड देखाउँछ, १२ मध्ये १० बेसिन सामान्यभन्दा तल छन् र केहीले दुई दशककै न्यूनतम् स्तर छोएका छन् ।”

हेलमण्ड बेसिनमा वार्षिक बहावको ७७.५ प्रतिशत र आमु दर्यामा ७४.४ प्रतिशत हिउँ पग्लनबाट प्राप्त हुने भएकाले यस वर्षको हिम कमीले पिउने पानी, सिँचाइ, जलविद्युत् र पारिस्थितिक प्रणालीमा प्रत्यक्ष असर पार्ने प्रतिवेदनमा उल्लेख छ । यसले विशेषगरी पानी आपूर्ति र बाढी व्यवस्थापनमा चिन्ता बढाएको छ । घट्दो हिउँ पग्लनले वसन्तकालीन बहाव घटाउनेछ र तल्लोतटीय क्षेत्रमा पानी अभाव झन तीव्र बनाउनेछ ।

इण्डस, हेलमण्ड र आमु दर्या नदी बेसिनका किसानले बाली रोप्ने प्रारम्भिक मौसममै सिँचाइ अभावको सामना गर्नेछन् । मेकङ, याङेत्से (जहाँ थ्रि गर्जेज ड्याम सञ्चालनमा छ) र ब्रह्मपुत्र क्षेत्रमा जलविद्युत उत्पादन पनि प्रारम्भिक गर्मीयाममा सामान्यभन्दा कम हुने अपेक्षा गरिएको छ । यो सङ्कटलाई अझ गम्भीर बनाउँदै, लगातार कम हिमपात भएका वर्षहरूले भू–जल र माटोको आद्र्रता पुनःभरण हुन नदिएकाले भविष्यमा खडेरीको जोखिम बढेको छ ।

“हरेक सुक्खा अवधि अझ कडा प्रभाव पार्नेछ”, प्रतिवेदनमा भनिएको छ, “यी अन्तरसम्बन्धित समस्यामा क्षेत्रीय सहकार्य अब अत्यन्त आवश्यक भएको छ । यसमा आकस्मिक प्रतिक्रिया होइन, वैज्ञानिक आधारमा सक्रिय व्यवस्थापनतर्फ सोच्नुपर्छ ।” प्रतिवेदनका अनुसार केबल दुई नदी बेसिनमा मात्र औसतभन्दा बढी हिम स्थायित्व देखिएको छ । गङ्गा बेसिनमा १६.३ प्रतिशत र इरावडी बेसिनमा २१.८ प्रतिशत बढी हिम स्थायित्व देखिएको छ, यद्यपि यसले स्थानीय रूपमा केही राहत दिए पनि क्षेत्रीय सङ्कटलाई सन्तुलन गर्न पर्याप्त छैन ।

यसविपरीत मेकङमा ५९.५ प्रतिशत, तिब्बती पठारमा ४७.४ प्रतिशत र सालविनमा ४१.८ प्रतिशत हिम स्थायित्वको कमी देखिएको छ । इसिमोडले राष्ट्रिय तथा स्थानीय निकायलाई तत्काल खडेरी तयारी तथा प्रतिक्रिया योजना सक्रिय गर्न, वास्तविक समय हिम तथ्याङ्कलाई जल व्यवस्थापनमा समावेश गर्न, पानी सञ्चय र दक्षता उपायमा लगानी बढाउन तथा अन्तरदेशीय जल सहकार्य सुदृढ गर्न आग्रह गरेको छ ।

सरकारको भन्सार नीतिलाई किराना व्यवसायी संघ कैलालीको समर्थन

धनगढी : नेपाल सरकारले सिमावर्ती नाकाबाट हुने चोरी पैठारी नियन्त्रण र राजस्व चुहावट रोक्न भन्सार प्रणालीमा १०० रुपैया भन्दा माथिका दैनिक उपभोग्य सामानमा कर असुल्ने प्रावधान लागु गरेकोमा किराना व्यवसायी संघ, धनगढीले पूर्ण समर्थन जनाएको छ।

संघका अध्यक्ष देबराज पाण्डेयद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त निर्णयलाई अर्थतन्त्र सुदृढीकरणका लागि स्वागतयोग्य भनिएको छ। खुला नाका र चोरी पैठारी नियन्त्रणका लागि सरकारको यो कदमप्रति उच्च सम्मान सहित पूर्ण समर्थन जनाउँछौं, विज्ञप्तिमा उल्लेख छ।

संघले सुदूरपश्चिमका सम्पूर्ण व्यवसायी र आम उपभोक्तालाई व्यक्तिगत स्वार्थ नहेरी सरकारको निर्णय सहर्ष स्वीकार गर्न आग्रह गरेको छ। दीर्घकालीन आत्मनिर्भरता र सुशासनका लागि यो निर्णय महत्वपूर्ण भूमिका खेल्ने संघको विश्वास छ।

विज्ञप्तिमार्फत सबै व्यवसायी र उपभोक्तालाई संयमता अपनाई इमान्दारीपूर्वक खरिद-बिक्री गर्न र गराउन संघले अनुरोध गरेको छ। साथै सिमावर्ती क्षेत्रमा खटिएका प्रहरी प्रशासन लगायत सरोकारवाला निकायलाई भन्सार नीति कार्यान्वयनमा विशेष सहयोग गर्न आग्रह गरिएको छ।

यो नीति कार्यान्वयनका क्रममा पर्न सक्ने समस्या समाधान गर्न कैलाली उद्योग वाणिज्य संघ लगायत वस्तुगत संघहरूसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता संघले व्यक्त गरेको छ। अन्तमा, सरकारको भन्सार नीति सफल बनाउन सबै किराना व्यवसायीलाई सुलभ मूल्यमा गुणस्तरीय सामान उपभोक्तासम्म पुर्‍याउन संघले अनुरोध गरेको छ।

थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा बस्दै आएका सुकुमवासीहरुले आफू बसेको घर खाली गर्न थालेका छन् । सरकारले बस्तीका संरचना भत्काउने तयारी गरेपछि उनीहरुले आज बिहानबाट सामान सारिरहेका छन् ।

प्रहरीले विहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेको थियो । यसअघि बुधबार गृहमन्त्री पदबाट सुदन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको उक्त निर्देशनअनुसार बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडैलले जिल्ला सुरक्षा समितिको बैठकमार्फत् सुकुमवासी बस्ती खाली गराउने निर्णय गराएका थिए । उक्त बैठकमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोललगायत सुरक्षा अधिकारीहरू सहभागी थिए ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार नै प्रहरीले बिहीबार साँझ थापाथलीलगायत काठमाडौंका ४ वटा सुकुमवासी बस्तीमा माइकिङ गरेको थियो । प्रशासनले पहिलोचरणमा काठमाडौं उपत्यकाको थापाथलीसहित ४ वटा सुकुमवासी बस्तीमा डोजर चलाउने जनाएको छ ।

सरकारले डोजर चलाउने सूचना पाएपछि कतिपयले आफैं बोकेर र कतिपयले गाडीमा लोड गरेर सामान सारिरहेका छन् । कतिपयले भने सरकारको निर्णय अवज्ञा गर्ने योजना अनुसार बस्ती खाली नगर्न आग्रह गरिरहेका छन् ।

जातीय छुवाछुत मुद्दामा १८ महिना कैद, १ लाख क्षतिपूर्ति

धादिङ ।

नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य हिम बहादुर पाठकलाई जातीय छुवाछुत गरेको कसुरमा जिल्ला अदालत धादिङले १८ महिना कैद तथा एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।

कुलोपानीको निहुँमा खेतमा पानी लगाउने क्रममा विवाद भएपछि सोही स्थानका ३६ वर्षीय रामबहदुर बिसुंखेलाई जातीय आधारमा विभेदपूर्ण शब्द प्रयोग गर्दै २०८२ असार १९ गते धम्की दिएको आरोपमा पीडितले भदौ १ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिनुभएको थियो ।

उक्त मुद्दा भदौ १९ गते जिल्ला अदालतमा दर्ता भएको थियो । त्यसको भोलिपल्ट भदौ २० गते अदालतले आरोपित वडा सदस्यलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । जिल्ला न्यायाधीश मनकुमारी जिएम बिकेको इजलासले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ को दफा ३ र ४ अनुसार ‘जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्न नहुने’ कानुनी प्रावधान उल्लंघन भएको ठहर गर्दै एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।

साथै, सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो कसुर गरेको भन्दै थप ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना थप गरिएको छ । यससँगै कुल १८ महिना कैद सजाय निर्धारण गरिएको हो । अदालतले दोषीबाट एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्तिसमेत दिलाउने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार राजेन्द्र लुइटेलले जानकारी दिनुभयो ।

सुदूरपश्चिमको वन व्यवस्थापनमा अन्योलः समाधान खोज्दै उपभोक्ता सडकमा

कञ्चनपुरः सुदूरपश्चिम प्रदेशका सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूहहरूले आफ्नो अधिकार सुनिश्चितता र दिगो वन व्यवस्थापन कार्यान्वयनको माग गर्दै आजदेखि धर्ना कार्यक्रम सुरु गरेका छन्।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालसहितका संस्थाको सहभागितामा गठन गरिएको प्रदेशस्तरीय आन्दोलन परिचालन समितिले आजदेखि एक सातासम्म सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अगाडि धर्ना कार्यक्रम सञ्चालन गरेको हो।

वन उपभोक्ता समूहहरूले लामो समयदेखि उठाउँदै आएका माग सम्बोधन नभएको भन्दै यसपटक चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् । वन व्यवस्थापन, कर प्रणाली, काठ–दाउरा सङ्कलन तथा बिक्रीवितरणसँग सम्बन्धित नीतिगत अस्पष्टता र व्यावहारिक कठिनाइका कारण सामुदायिक वन व्यवस्थापनमा असर परेको वन उपभोक्ता समितिका पदाधिकारीहरूको भनाइ छ।

वैज्ञानिक वन व्यवस्थापन समिति सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्कलबहादुर बमका अनुसार विद्यमान बहुस्तरीय कर प्रणालीले वन उपभोक्ता समूहलाई आर्थिक रूपमा कमजोर बनाइरहेको छ। “वनबाट सङ्कलन हुने काठ–दाउरामा सङ्घ, प्रदेश, स्थानीय तह र आन्तरिक राजस्व कार्यालयबाट विभिन्न शीर्षकमा कर लाग्दा दोहोरो–तेहेरो करको भार परेको छ”, उनले भने, “यसले वन व्यवस्थापनमा लगानी गर्ने क्षमता घटाउँदै लगेको छ, त्यसैले एकद्वार कर प्रणाली लागू गर्नुपर्छ भन्ने हाम्रो मुख्य माग हो।”

सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले वन ऐन लागू भएको तीन वर्ष बितिसक्दा पनि आवश्यक नियमावली पूर्ण रूपमा कार्यान्वयनमा नआउनु चिन्ताजनक भएको बताए। उनका अनुसार दिगो वन व्यवस्थापन (सिल्भिकल्चर सिस्टम) कार्यविधि लागू नहुँदा सामुदायिक वनबाट काठ सङ्कलन गर्न नसकिएको र त्यसले वनमै काठ कुहिने अवस्था सृजना भएको छ।

“वनभित्र काठ कुहिरहेको छ, तर उपभोक्ताले बाह्य बजारबाट महँगो काठ खरिद गर्न बाध्य छन्”, उनले भने, “मलेसियालगायत विदेशी काठ उच्च मूल्यमा आयात भइरहेको छ, जबकि आफ्नै वनमा रहेको काठ प्रयोग गर्न नपाउने अवस्था अन्त्य हुनुपर्छ।”

सामुदायिक वन सहजीकरण समितिका सचिव वीरबहादुर राजवंशीले काठ सङ्कलनमा रोक लगाइँदा वन संरक्षणमा समेत असर परेको बताए। “वन व्यवस्थापनका लागि आवश्यक स्रोत जुटाउन कठिन भएको छ, वन हेरालु राख्न पनि समस्या भएको छ”, उनले भने।

आन्दोलनरत पक्षले प्रस्तुत गरेको २४ बुँदे मागपत्रमा दिगो वन व्यवस्थापन कार्यविधि तत्काल लागू गर्नुपर्ने, वन व्यवस्थापनका लागि घुम्ती कोष तथा सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने, सङ्घीय र प्रदेश वन नियमावलीबीचका बाझिएका प्रावधान संशोधन गर्नुपर्नेलगायत विषय समेटिएका छन्।

त्यसैगरी, वन उपभोक्ता समूहलाई काठ–दाउरा मूल्य निर्धारण र बिक्रीवितरणमा स्वायत्तता दिनुपर्ने, घाटगद्दीमा रहेको काठ आन्तरिक खपत गर्न पाउने व्यवस्था गर्नुपर्ने तथा आवश्यकताअनुसार अतिरिक्त काठ सङ्कलन गर्न पाउने व्यवस्था मिलाउनुपर्ने माग पनि राखिएको छ।

वन अतिक्रमण नियन्त्रण, नदी तथा चुरे क्षेत्रमा ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा कडाइ, काष्ठ तथा गैरकाष्ठ उद्योगलाई सहुलियत ऋण तथा अनुदान उपलब्ध गराउने व्यवस्था र प्रशोधनपछि निर्यातमा सहजीकरण गर्नुपर्ने विषय अघि सारिएको छ।

वैज्ञानिक वन व्यवस्थापन समिति सुदूरपश्चिम प्रदेशका महासचिव पुनाराम चौधरीका अनुसार सरकारी तथा गैरसरकारी संरचना निर्माणमा स्वदेशी काठको अनिवार्य प्रयोग गर्नुपर्ने, वन उपभोक्ता समूहको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने, अभिलेख तथा लेखा प्रणालीमा डिजिटल प्रविधिको प्रयोग गर्नुपर्ने र वन क्षेत्रको योगदानलाई राष्ट्रिय आयमा समेट्नुपर्ने माग राखिएको छ।

“वन उपभोक्ता समूहहरूले काठ लिलाम प्रक्रियामा देखिएको सिन्डिकेट अन्त्य गरी पारदर्शी ई–टेन्डर प्रणाली लागू गर्नुपर्ने, वन पैदावार व्यवस्थापनलाई सरल र प्रभावकारी बनाउनुपर्ने तथा स्थानीय समुदायको अधिकार सुनिश्चित हुनुपर्छ”, उनले भने, “सामुदायिक वन नेपालमा सफल संरक्षण मोडेलको रूपमा स्थापित भए पनि पछिल्लो समय नीतिगत अस्पष्टता, कर प्रणाली र व्यवस्थापनसम्बन्धी चुनौतीका कारण यसको प्रभावकारितामा प्रश्न उठ्न थालेको छ, त्यसैले सरोकारवाला सबै पक्षबीच संवाद र सहकार्यमार्फत दीर्घकालीन समाधान खोज्नु आवश्यक छ।”

आन्दोलनरत वन उपभोक्ता समूहहरूले आफ्ना माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्। दिगो वन व्यवस्थापन र स्थानीय समुदायको अधिकार सुनिश्चितता राज्यको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिँदै तत्काल ठोस कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।

कैलाली र कञ्चनपुरबाट खैरो हेरोईन र चरेशसहित एकै दिन १० जना पक्राउ

धनगढीः कैलाली र कञ्चनपुरबाट खैरो हेरोईन र चरेश तथा बिभिन्न ट्याब्लेटसहित एकै दिन १० जना पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिका–१ बाट ५१० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २५ वर्षीय राजन हमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। हमालालई बिशेष सूचनाको आधारमा उनको घर नजिकै रहेको कुखुराको फर्मको मुनितिर लुकाई छिपाई राखेको अवस्थामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।

यसैगरी घोडाघोडी नगरपालिका–५ देउकलियाबाट सोही नगरपालिका साडेपानी बस्ने १९ वर्षीय पुर्णबहादुर बिष्ट र १९ वर्षीय सुरज नेपालीलाई नियन्त्रित लागूऔषध नाइटाजिम ट्याब्लेट १७० पिस र चक्कु थान १ सहित बिहीबार बेलुका इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

यस्तै धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडबाट ४८० मिलिग्राम खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २८ वर्षीय जिवनबहादुर खड्का र कञ्चनपुरको पुनर्बास नगरपालिका–६ बस्ने १८ वर्षीय किशोरीलाई बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सेवन गरि रहेको अवस्थामा दुबैको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको बताएको छ।

उता कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ कञ्चन बहुमुखी क्याम्पस नजिकबाट ४३० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँ बस्ने ३२ वर्षीय हर्कबहादुर देउवा र सोही नगरपालिका–६ सिङपुर बस्ने ३६ वर्षीय दिलबहादुर चौधरीलाई बिहीबार साँझ इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको हो।

यसैगरी, दोधारा चाँदनी नगरपालिका–२ लठ्ठाघाट स्थित सोही ठाउँ बस्ने ४० वर्षीय गोर्खे दमाईले सञ्चालन गरेको पसलबाट ९ ग्राम ८३० मिलिग्राम लागूऔषध चरेशसहित निज र निजको १८ वर्षीय छोरालाई विहीबार साँझ इलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चरेशसहित बुवा छोरालाई पक्राउ गरेको हो।

यस्तै शुक्लाफाँटा नगरपालिका–१० नगरपालिका रोडबाट २१.४७ ग्राम चरेशसहित सोही नगरपालिका–९ सिसैया बस्ने ७० वर्षीय भिमबहादुर ऐरलाई विहीबार साँझ इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले संकास्पद बसि रहेको अवस्थामा चेकजाँच गर्दा चरेश फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।

२० औं लोकतन्त्र दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज २० औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।

सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागीतामा २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

२०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०६३ वैशाख ११ गते पुनर्स्थापना भएपछि विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

प्रधानमन्त्री बालेन सुकुमवासी बस्ती खाली गराउँदै

काठमाडौं ।  ९ भदौ ०७९ मा काठमाडौं महानगरपालिकाका तात्कालीन मेयर बालेन शाह र राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाबीच भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत संकलन र प्रमाणीकरणको प्रबन्ध गर्ने सहमति भयो ।

सहमति कार्यान्वयन हुनु त कता हो कता त्यसको तीन महिनापछि २०७९ मंसिर १२ गते काठमाडौं महानगरले थापाथली क्षेत्रमा डोजर लगायो । त्यसक्रममा बस्ती खाली गराउन गएका सुरक्षाकर्मीसँग स्थानीयको झडप भयो । विषय अदालतसम्मै पुग्यो ।

त्यतिबेला महानगरले सहमति कार्यान्वयन नगरेर आफूहरूलाई धोका दिएको भूमिहीनहरूको गुनासो छ ।

त्यति मात्र होइन, काठमाडौं महानगरबाट भूमि समस्या समाधान आयोगमा आवेदन दिनेको संख्या अत्यन्त न्यून छ । महानगरबाट जम्मा ५६ जनाको निवेदन प्राप्त भएको आयोगले जानकारी दिएको छ ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समतिले तीन वर्ष पहिले नै तयार पारेको प्रतिवेदन अनुसार काठमाडौं महानगरभित्र भूमिहीन दलित, भूमहीन सुकुमवासी र अव्यस्थित बसोवासीको संख्या २ हजार २४५ थिए ।

उनै मेयर बालेन प्रधानमन्त्री बनेपछि भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीले तीन वर्षअघिकै नियति भोग्नुपर्ने निश्चित प्राय: देखिन्छ ।

बालेन प्रधानमन्त्री बनेकै दिन मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरूमा ६० दिनभित्र देशभरका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीको एकीकृत डिजिटल लगत संकलन तथा प्रमाणीकारण सम्पन्न गर्ने भनिएको छ ।

त्यतिमात्र होइन सरकारले १००० दिनभित्र वास्तविक भूमिहीनलाई जग्गा उपलब्ध गराउने वा एकीकृत आवासमार्फत पुनर्वासको व्यवस्था मिलाउने घोषणा नै गरेको छ ।

पौडेल नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको लायजन कोर्डिनेटर

कोलोराडो, ११ बैशाख ।

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको लायजन कोर्डिनेटरको जिम्मेवारी रैवतराज पौडेललाई दिईएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिले आगामि मे २२ देखि २५ (जेठ ८–११) सम्म अमेरिकाको कोलोराडोमा आयोजना गर्न गईरहेको सम्मेलनका लागि  पौडेललाई लायजन कोर्डिनेटरको जिम्मेवारी दिएको हो ।

व्यवसायसंगै समाजसेवामा सक्रिय पौडेललाई नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य  सम्मेलनको लायजन कोर्डिनेटरको जिम्मेवारी दिईएको अनेसास केन्द्रीय समितिले जनाएको छ ।

सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न नौ वटा उपसमिति गठन गरिएका छन् । जसमध्ये लायजन प्रमुखको जिम्मेवारी पौडेलले पाएका हुन् ।

सम्मेलनमा संसारभरीबाट दुई सयभन्दा बढि नेपाली साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको छ ।

गुरुङ नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको भोजन व्यवस्थापन कोर्डिनेटर

कोलोराडो, ११ बैशाख ।

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको भोजन व्यवस्थापन उपसमितिको कोर्डिनेटरको जिम्मेवारी चन्द्र गुरुङलाई दिईएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिले आगामि मे २२ देखि २५ (जेठ ८–११) सम्म अमेरिकाको कोलोराडोमा आयोजना गर्न गईरहेको सम्मेलनका लागि युवा व्यवसायी गुरुङलाई भोजन व्यवस्थापन उप समितिको कोर्डिनेटरको जिम्मेवारी दिएईको हो ।

व्यवसायसंगै सामाजिक कार्यमा सक्रिय गुरुङलाई नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको भोजन व्यवस्थापन उपसमितिको कोर्डिनेटरको जिम्मेवारी दिईएको अनेसास केन्द्रीय समितिले जनाएको छ ।

सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न नौ वटा उपसमिति गठन गरिएका छन् । जसमध्ये भोजन व्यवस्थापन प्रमुखको जिम्मेवारी गुरुङले पाएका हुन् ।

सम्मेलनमा संसारभरीबाट दुई सयभन्दा बढि नेपाली साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको छ ।

अधिकारी नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सांस्कृतिक समिति कोर्डिनेटर

कोलोराडो, ११ बैशाख ।

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सांस्कृतिक समितिको कोर्डिनेटरको जिम्मेवारी विजयदेव अधिकारीलाई दिईएको  छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिले आगामि मे २२ देखि २५ (जेठ ८–११) सम्म अमेरिकाको कोलोराडोमा आयोजना गर्न गईरहेको सम्मेलनका लागि समाजसेवी अधिकारीलाई सांस्कृतिक समिति कोर्डिनेटरको जिम्मेवारी दिएको हो ।

साहित्य लेखनसंगै समाजसेवामा सक्रिय अधिकारीलाई नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सांस्कृतिक समितिको कोर्डिनेटरको जिम्मेवारी दिईएको अनेसास केन्द्रीय समितिले जनाएको छ ।

सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न नौ वटा उपसमिति गठन गरिएका छन् । जसमध्ये सांस्कृतिक समितिको प्रमुखको जिम्मेवारी अधिकारीले पाएका छन् ।

सम्मेलनमा संसारभरीबाट दुई सयभन्दा बढि नेपाली साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको छ ।

पौडेल नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको भेन्यु तथा लजिष्टिक्स कोर्डिनेटर

कोलोराडो, ११ बैशाख ।

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको भेन्यु तथा लजिष्टिक्स कोर्डिनेटरको जिम्मेवारी गैर आवासीय नेपाली संघ अमेरिकाका युवा उपाध्यक्ष प्रकाश पौडेललाई दिईएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिले आगामि मे २२ देखि २५ (जेठ ८–११) सम्म अमेरिकाको कोलोराडोमा आयोजना गर्न गईरहेको सम्मेलनका लागि युवा व्यवसायी पौडेललाई भेन्यु तथा लजिष्टिक्स कोर्डिनेटरको जिम्मेवारी दिएको हो ।

व्यवसायसंगै समाजसेवामा सक्रिय पौडेललाई नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको भेन्यु तथा लजिष्टिक्स कोर्डिनेटरको जिम्मेवारी दिएको अनेसास केन्द्रीय समितिले जनाएको छ ।

सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न नौ वटा उपसमिति गठन गरिएका छन् । जसमध्ये भेन्यु तथा लजिष्टिक्स प्रमुखको जिम्मेवारी पौडेलले पाएका छन् ।

सम्मेलनमा संसारभरीबाट दुई सयभन्दा बढि नेपाली साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको छ ।

खोज्नुहोस