यातायात सेवा कार्यालय सञ्चालनमा आएसँगै पूर्वी कैलालीका नागरिकलाई सहज

द एभरेष्ट पोष्ट
११ वैशाख २०८३ १७:१२
यातायात सेवा कार्यालय सञ्चालनमा आएसँगै पूर्वी कैलालीका नागरिकलाई सहज

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले  कैलालीको लम्कीचुहा-४ बलियामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गर्नुभएको छ । आज एक कार्यक्रमकाबीच उहाँले सेवा कार्यालयको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा मुख्यमन्त्री शाहले जनतालाई सेवा प्रवाह गर्नका निमित्त प्रदेश सरकार कटिबद्ध भएर लागिरहेको बताए। उनले यातायात व्यवस्था सेवा कार्यालयको स्थापनासँगै यस क्षेत्रका जनताले राहतको अनुभूति गर्ने विश्वास व्यक्त गरे।

“जनप्रतिनिधिहरूले जनताले दिएको जनमतको सम्मान गर्दै जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्छ”, मुख्यमन्त्री शाहले भने, “मुलुकको विकासका लागि तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व हुनुपर्छ।”

टीकापुरमा प्रस्तावित टीकापुर विज्ञान तथा प्राविधिक विश्वविद्यालय निर्माणका लागि सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिँदै मुख्यमन्त्री शाहले आधुनिक प्रविधिको युगमा विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याए। उक्त विश्वविद्यालयले क्षेत्रीय पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे।

सेवा कार्यालय स्थापनासँगै लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिकालगायत क्षेत्रका जनतालाई सहजता हुनेछ।

कार्यालय व्यवस्थापनका लागि स्थानीय झुप्रे रावतले पाँच वर्षका लागि आफ्नो घर निःशुल्क उपलब्ध गराएका छन्। लम्कीचुहा नगरपालिका–४ का वडाध्यक्ष ताराप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन वडा नं ३ का वडाध्यक्ष लवबहादुर शाहीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस