अपराजित रहँदै सेमिफाइनलमा नेपाल, अब श्रीलंकासँग खेल्ने

काठमाडौं । छैटौँ एसियन बिच गेम्स २०२६ अन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा नेपालले बंगलादेशलाई हराएको छ । नेपालले बंगलादेशलाई ३८–३६ ले पराजित गरेको हो ।

यो जितसँगै नेपालले समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनल खेल्ने भएको छ । नेपाल समूहमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । नेपालले अब श्रीलंकाको सामना गर्नेछ ।

बंगलादेशविरुद्ध नेपालले पहिलो हाफमा १९–१७ ले अग्रता बनाएको थियो । दोस्रो हाफमा अग्रतालाई कायम राख्दै नेपालले जित दर्ता गरेको हो ।

नेपालले समूह चरणको पहिलो खेलमा चाइनिज ताइपेईलाई ४८–३२ ले हराएको थियो । नेपालले समूह चरणको दोस्रो खेलमा थाइल्यान्डलाई ४९–३३ ले पराजित गरेको थियो ।

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी तिव्र रुपमा हुदै

खेम राज उपाध्याय।

आगामि जेठ महिनाको दोस्रो साता अमेरिकाको कोलोराडोमा आयोजना हुन गईरहेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी तिब्र रुपमा भईरहेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय समितिले हरेक दुई वर्षमा आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको नवौ श्रृंखला यस पटक अमेरिकाको कोलोराडो राज्यमा हुदैछ । सम्मेलनमा संसारभरीबाट दुई सयभन्दा बढि नेपाली साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको छ ।

अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेले संसारभरी छरिएर रहेका ख्यातिप्राप्त नेपाली साहित्यकारहरुलाई सम्मेलनमा सहभागिताका लागि पत्राचार गरिएकोमा थुप्रै साहित्यकारहरुले सहभागी हुने प्रतिबद्धता जनाएको बताए ।

उनले संसारभरीबाट आउने नेपाली साहित्यकारहरुलाई स्वागत गर्न आफूहरु आतुर रहेको बताए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टि (बीओटी)का सभापति पदम विश्वकर्माले सम्मेलन आयोजनाका लागि कोलोराडोको वेष्टमिनिष्टरस्थित होटल ड्रुरी इन प्लाजा चार दिनका लागि बुक गरिएको जानकारी दिए ।

उनले सम्मेलन आयोजनाका लागि झण्डै ५० हजार डलर खर्च हुने अनुमान गरिएको बताए ।

नेपाली साहित्यकारको अभूतपूर्व जमघट हुने विश्वास गरिएको सम्मेलनमा नेपाली, अंग्रेजी भाषासंगै नेवारी, डोटेली लगायतका भाषाका शत्रहरु सञ्चालन गरिने छन् ।

सम्मेलनमा नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमका साहित्यकारहरुको मात्र सहभागिता  रहने छैन, बिओटी सभापति विश्वकर्माले भने, भारतको आसाम, सिक्किम, दार्जिलिङ, भुटान, म्यानमार र विश्वका विभिन्न मुलुकमा रहेका नेपाली साहित्यकारहरुले सहभागिता जनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

नेपाली साहित्यकारको अभूतपूर्व जमघट हुने विश्वास गरिएको सम्मेलनमा नेपाली, अंग्रेजी भाषासंगै नेवारी, डोटेली लगायतका भाषाका शत्रहरु सञ्चालन गरिनेछन् ।

ख्यातिप्राप्त अंग्रेजी लेखिका डा. ज्याकलिन ज्याकलिन केरबेक, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, मदन पुरस्कार बिजेता साहित्यकार डा. नवराज लम्साल, रामलाल जोशी, निलम कार्की निहारिका, छुदेन काविमो, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी,पूर्व अध्यक्षहरु पुरु सुवेदी, मोहन सिटौला, गीता खत्री, राधेश्याम लेकाली, गोबद्र्धन पूजा,अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, पूर्व अध्यक्ष सन्ध्या पहाडी, पूर्व महासचिव ऋषभदेव घिमिरे, श्रीओम श्रेष्ठ रोदन, चर्चित साहित्यकार महेश पौडेल, श्रेष्ठ प्रिया पत्थर, गंगा लामिटारे, डा. टीका लम्साल, डा. तुलसी आचार्य, डा. खेम अर्याल, डा. संगीता स्वेच्छा, बाबा बस्नेत,  तीर्थ अधिकारी, मोहन सिटौला, तुलसी आचार्य, टीका लम्साल, केशव बैरागी माईला लगायत दर्जनौ साहित्यकारहरुले सहभागी हुने प्रतिबद्धता जनाएको आयोजकले जनाएको छ ।

सम्मेलनमा सहभागिताका लागि भारतको सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङलाई समेत पत्राचार गरिएको छ ।

उनले भाषिक विविधता र त्यही विविधतामा हुर्किएको नेपाली समाजको प्रतिबिम्ब सम्मेलनमा देख्न र महशुस गर्न पाईने बताए ।

अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनमा विश्वका झण्डै ४० मुलुकबाट दुई सयभन्दा बढि साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको बताए ।

सम्मेलनमा नेपाल सहित विश्वका विभिन्न मुलुकमा रहेका साहित्यकारहरुलाई आमन्त्रण गरिएको जानकारी दिदै थुप्रै साहित्यकारहरुलाई सम्मेलनमा सहभागी हुने प्रतिबद्धता गरेको सिटौलाले सुनाए ।

सम्मेलनमा नेपाली साहित्यका विषयमा मात्र चर्चा गरिने छैन्, विश्वका पछिल्ला चर्चित साहित्यिक कृति र स्रष्टाका बारेमा समेत चर्चा गरिनेछ, उनले भने, जसले युवा पुस्तालाई उत्कृष्ट साहित्यिक कृति सृजनाका लागि उत्प्रेरित गर्ने छ ।

नेपाली भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरुसंग साक्षात्कार गर्न पाउने यो दुर्लभ अवसर साहित्यको महाकुम्भ हो, अनेसासकी केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीले भनिन्, यो अवसर नगुमाउन साहित्यप्रेमी र स्रष्टाहरुलाई आग्रह गर्दछौ ।

अनेसासकी कोषाध्यक्ष अधिकारीका अनुसार सम्मेलनमा सहभागी हुन ईच्छुक व्यक्तिहरुका लागि तीन दिनको रजिष्टे«शन शुल्क ५० डलर निर्धारण गरिएको छ । अमेरिकाभन्दा बाहिरबाट आउनेहरुलाई निशुल्क खान र बस्न सुविधा छ । अमेरिकाका सहभागीहरुले भने होटलको शुल्क तिर्नुपर्नेछ ।

अनेसास केन्द्रीय समितिको आयोजनामा सञ्चालन हुने सम्मेलनको संयोजन अनेसास कोलोराडो च्याप्टरले गरिरहेको छ ।

अनेसास कोलोराडो च्याप्टर अध्यक्ष किरण अधिकारीले सम्मेलन आयोजनाका लागि मूल समितिसंगै विभिन्न नौ वटा उपसमिति गठन गरिएको जानकारी दिए ।

उनले सम्मेलन भव्य रुपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी तिव्र रुपमा भईरहेको बताए । सम्मेलनमा सहभागिताका लागि विश्वका बिभिन्न मुलुकबाट ख्यातिप्राप्त साहित्यकारहरुले देखाएको चासो र कोलाराडोस्थित नेपाली समुदायबाट प्राप्त भईरहेको सकारात्मक प्रतिक्रिया र सहयोगले आफूहरु निकै उत्साही भएको अधिकारीले सुनाए ।

अधिकारीका अनुसार सम्मेलनमा तीन दिन साहित्यका विविध विषयमाथि विभिन्न सत्रहरुमा छलफल र बहस हुनेछ । अन्तिम तथा चौथो दिन सम्मेलनका सहभागीहरुलाई कोलोराडोका विभिन्न स्थानको पर्यटकीय र ऐतिहासिक क्षेत्रको भ्रमण गराउने कार्यक्रम तय गरिएको छ ।

एन्फा अध्यक्ष नेम्वाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्षसहित २४ जनाको पासपोर्ट कालोसूचीमा परेको छ। गृह मन्त्रालयले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा राखेको हो। यससँगै उनीहरू विदेश यात्रा गर्न नपाउने भएको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एन्फा पदाधिकारीहरूमाथि छानबिन अगाडि बढाएपछि पासपोर्ट कालोसूचीमा राखिएको हो। कालोसूचीमा पर्नेमा नेम्वाङसहित उपाध्यक्ष दावा लामा, दीर्घबहादुर केसी, दीपक खतिवडा, विराट जंग शाही र सदस्यहरू दीपेन्द्र धिमाल, भरतबहादुर बुद्ध थापा, टिकाराम लामा, मनिराज विष्ट, रमेश ब्यञ्जनकार, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, भोजराज शाही, विकास नारायण श्रेष्ठ, रविन्द्र चान्द, अनिल मल्ल, मनिष जोशी, पेमा डोल्मा लामा, सरिला श्रेष्ठ मलेकु र रुपेश अधिकारी छन्। त्यस्तै किरण राई, रविन्द्र जोशी र इन्द्रमान तुलाधारको पासपोर्ट पनि रोक्का गरिएको छ।

राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको थियो। सोही समितिले गृहमा निवेदन पठाएपछि अध्यागमन विभागले उनीहरूको पासपोर्ट कालोसूचीमा राखेको स्रोतले बताएको छ।

विकासशील देशमा स्तरोन्नतिपछि औषधि र खोपको मूल्य बढ्ने खतरा

काठमाण्डौ- उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल अल्पविकसित देश (एलडीसी) बाट विकासशील देशमा स्तरोन्नति भएपछि औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुनसक्ने खतरा रहेको बताएका छन् ।

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा आज काडमाण्डौमा आयोजित एक कार्यक्रममा उनले अल्पविकसित देशबाट हुने स्तरोन्नति (एलडीसी ग्र्याजुएशन) पछि नेपालले अन्तर्राष्ट्रिय व्यापारमा पाउँदै आएका विभिन्न छुट र सुविधाहरू कटौती हुने भन्दै यसले विशेषगरी औषधि उत्पादन क्षेत्रमा ठूलो प्रभाव पार्ने बताए ।

महानिर्देशक बस्नेतका अनुसार नेपाल अहिले अल्पविकसित देशको सूचीमा रहेकाले औषधि र खोप उत्पादन गर्दा बौद्धिक सम्पत्तिको प्याटेन्ट अधिकार नलिइकनै उत्पादन गर्न पाउने विशेष सुविधा उपभोग गरिरहेको छ । तर स्तरोन्नति भएपछि नेपालले प्याटेन्ट अधिकार भएका कम्पनीहरूलाई रोयल्टी तिर्नुपर्ने हुन्छ । यसले गर्दा नेपालमै उत्पादन भइरहेका औषधिको मूल्य उल्लेख्य बढ्न सक्ने अवस्था रहने उनको भनाइ छ ।

नेपालले भारत र अन्य तेस्रो देशसँगको व्यापारमा पाउँदै आएका सुविधाहरू पनि एलडीसी ग्र्याजुएशनपछि नपाउने स्थिति रहने महानिर्देशक बस्नेत बताउछन् । उनका अनुसार यो चुनौती औषधि क्षेत्रमा मात्र सीमित नभई अन्य थुप्रै क्षेत्रमा पनि देखिनेछ ।

भविष्यमा आउन सक्ने यस्ता जोखिमहरूलाई सम्बोधन गर्न सरकारले अहिले नै जोखिम न्यूनीकरण रणनीति बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । यस्ता परिवर्तनले व्यावसायिक वातावरण र उपभोक्ताको क्रयशक्तिमा समेत प्रभाव पार्ने भएकाले यसबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको उनको भनाइ छ ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । सोमबार (वैशाख १४) बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामै बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिकलगायत विषयमा छलफल गरिने दुलालले बताए ।

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

काठमाडौँ-काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन सुरु गरेको हो ।

शनिबार काठमाडौँका थापाथली, सिनामङ्गल–गैरीगाउँ र शान्तिनगर क्षेत्रमा नदी किनारमा अवैध संरचना हटाइएको थियो । यस्तै, आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहितका सुरक्षा निकायको सहयोगमा सरकारी टोलीले मनोहरा नदी किनारका अतिक्रमित संरचना हटाइरहेका छन्।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले सुरुआती चरणमा जोखिमयुक्त क्षेत्रका वस्ती हटाइने र दोस्रो चरणमा भूमिहीनको पहिचान गरी बसोबासको उचित व्यवस्थापन गरिने बताइन् । अतिक्रमित जमिन खाली गराउने क्रममा घरबारविहीन भएका नागरिकको प्रारम्भिक विवरण सङ्कलन गर्ने र बसोबासको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीहरू खाली गर्न थालिएको छ । वस्तीमा रहेका भौतिक संरचना भत्काउनुपूर्व त्यहाँ रहेका नागरिकका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरिरहेका छन्।

अतिक्रमित वस्ती खाली गर्ने क्रममा हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका प्राधिकरणले जनाएको छ । यसरी सम्पर्कमा आएकाहरूलाई तत्कालका लागि विभिन्न होटलमा बसोबास र खानपानको व्यवस्था मिलाइएको छ।

अभियानअन्तर्गत काठमाडाैँ उपत्यकाका साथै रुपन्देही, नुवाकोट, पर्सालगायत देशका विभिन्न स्थानमा अवैध रूपमा निर्माण गरिएका संरचना धमाधम हटाउन थालिएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्थित सरकारी जग्गा अक्रिमण गरी निर्माण गरिएका घरटहरा आज हटाइको छ । बुटवल उपमहानगरपालिकाले शनिबार नै सूचना जारी गर्दै सरकारी जग्गामा बनेका संरचना आफैँ हटाउन आग्रह गरेको थियो।

आजै नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्थानमा सरकारी जग्गा कब्जा गरी निर्माण गरिएका एक दर्जन सरकारी तथा ८६ निजी संरचना ‘गल्छी–रसुवागढी सडक योजनाको कार्यालय’ले हटाएको छ ।

यस्तै, नारायणी सिँचाइ तथा व्यवस्थापन कार्यालयले आज पर्साको गण्डक नहरको डिलमा अतिक्रण गरेर निर्माण गरिएका घर, टहरालगायत संरचना हटाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायको समन्वयमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने काम गरिएको वीरगन्ज महानगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिलकुमार कर्णले जानकारी दिए।

अर्थपूर्ण संवाद गर्न मानवअधिकार एलायन्सको आग्रह

मानवअधिकार एलायन्सले सुकुमवासी तथा भूमिहीनलाई वैकल्पिक व्यवस्थाविना हटाइनु मानवीय र मानवअधिकारको दृष्टिले उचित नभएको जनाएको छ । सङ्गठनका अध्यक्ष विदुर सुवेदीद्वारा जारी विज्ञप्तिमा बस्तीबाट हटाइएका परिवारमा देखिएको भय, असुरक्षा र अनिश्चतताले राज्य र नागरिकबीचको विश्वासलाई कमजोर बनाउने उल्लेख छ।

एलायन्सले प्रभावित समुदायसँग खुला, विश्वासपूर्ण र अर्थपूर्ण संवादको सुरुआत गरी बलपूर्वक विस्थापन नगर्न आग्रह गरेको छ। -रासस 

२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

सरकारले आइतबार पनि काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ।

शनिबार बाँकी रहेका संरचनाहरू भत्काउन र जग्गा खाली गर्न सरकारी टोली बिहानैदेखि कार्यक्षेत्रमा खटिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित गोठाटार बुद्धचोक र वडा नं. ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीहरू खाली गर्न थालिएको हो।

बस्तीमा रहेका भौतिक संरचना भत्काउनुपूर्व त्यहाँ रहेका मानिसहरूका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरेका थिए। यस क्षेत्रका संरचनाहरू भत्काइसकेपछि हिजो बाँकी रहेका काठमाडौं वडा नं. ९ स्थित गैरीगाउँ र वडा नं. ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गरिने सचिवालयले जनाएको छ।

शनिबार काठमाडौं वडा नं. ११ स्थित थापाथलीमा रहेको  जग्गा खाली गरिएको थियो। उक्त स्थानको जग्गा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा खाली गरिएको थियो।

बस्तीहरू खाली गर्ने क्रममा हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका छन्। उनीहरूलाई तत्कालका लागि विभिन्न होटलहरूमा बसोबास र खानपानको व्यवस्था मिलाइएको छ।

‘लाली बजार’ ले मलाई धेरै वर्षसम्म चिनाउँछ : स्वस्तिमा

काठमाडौँ। अभिनेत्री स्वस्तिमा खड्काले फिल्म ‘लाली बजार’ ले आफूलाई धेरै वर्षसम्म चिनाउने बताएकी छन् । फिल्मको हिस्सा बन्न पाएकोमा आफूलाई भाग्यमानी ठानेको उनको भनाइ छ ।

प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको विभिन्न पक्षबारे जानकारी दिन राजधानीमा आयोजित एक कार्यक्रममा उनले फिल्ममा अडिसन दिएर छानिएको जानकारी दिइन् । ‘राम्रो फिल्म बनाउने ब्यानर षट्कोण आर्ट्सले फिल्म निर्माण गर्ने भएकै कारण अभिनय यात्राको दश वर्ष पुरा भएपछि मैले ‘लुक टेस्ट’ का लागि अडिसन दिएँ’, उनले भनिन्– ‘फिल्ममा आमा र छोरीको कथा छ, तर मैले यसमा बादी महिलाको भूमिका निर्वाह गरेकी छु ।’

फिल्मको अभिनयका लागि आफैँ बर्दिया पुगेर अनुसन्धान गरेकी उनले त्यसका लागि थुप्रै आमाहरूलाई भेटेर कुराकानी गरेको बताइन् । ‘मैले देखेको र बुझेको भन्दा भिन्नै संसारमा एउटा ‘मधुवाला’ पात्र भएर बाच्न पाएँ’ उनले थपिन् । कार्यक्रममा फिल्मको विषयमा निर्माता म्याक्स दीपेश खत्री, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, रवीन्द्रसिंह बानियाँ, अभय बराल, गोविन्द सुनार, आशा पौडेल, समाइरा थापासँगै डेब्यु कलाकार विशाल देवकोटा र प्रशंसा सुवेदीले पनि फिल्मको विभिन्न पक्षबारे बताए ।

निर्माता म्याक्स दीपेश खत्रीले ‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’ देखि ‘लालीबजार’ सम्म आइपुग्दा आफूहरु विषयवस्तु उठानमा झनै गम्भीर भएको बताए ।

‘हामीले आफ्ना कामहरूमार्फत आफूलाई झनै परिपक्व बनेको महसुस ‘लाली बजार’ मा आइपुग्दा भएको छ’, खत्रीले भने– ‘यसपटक हामीले एउटा समुदायको पृष्ठभूमिमा रहेर आमा र छोरीको कथालाई दर्शकसामू ल्याएका छौँ ।’ विषयवस्तुका हिसाबले आफ्नो निर्माण रहेको फिल्ममध्ये ‘लाली बजार’ उत्कृष्ट भएको उनले सुनाए ।

कलाकार रवीन्द्रसिंह बानियाँले षट्कोण आर्ट्सबाट सामाजिक विषयमा फिल्म बनाउने तयारी गरिरहेकै समयमा ‘लाली बजार’ आफू कहाँ आइपुगेको बताए । ‘फिल्मले एउटी आमाको सङ्घर्षसँगै उसको ममतालाई देखाएको छ । यसमा मैले ‘टल्कजंग भर्सेस टुल्के’ पश्चात नकारात्मक भूमिका निर्वाह गरेको छु’, बानियाँले भने– ‘म एउटा शोषक र सामन्तको भूमिकामा छु । मलाई त्यो पात्र निर्वाह गर्दा नै गाह्रो भयो भने त्यहाँका दिदी बहिनीहरूले कसरी सहेर बस्नु भएको होला ? ।’ विषयको गम्भीरतालाई ध्यानमा राखेर  फिल्म तयार पारिएको बाँनियाको भनाइ छ ।

डेब्यु कलाकार विशाल देवकोटाले षट्कोण आर्ट्सको फिल्म र स्वस्तिमा खड्का जस्तो कलाकारसँग काम गर्न पाउने भएकाले अभिनय गरेको बताए । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म यम थापाले निर्देशन गरेका हुन् ।

अमेरिका–इरान दोस्रो चरणको वार्ता अनिश्चित

काठमाण्डौ- अमेरिका र इरानबीच हुने भनिएको दोस्रो चरणको वार्ता अनिश्चित भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित दोस्रो चरणको वार्ताका लागि पाकिस्तान जाने तयारीमा रहेका आफ्ना प्रतिनिधिलाई अन्तिम समयमा रोकेर यात्रा रद्द भएको घोषणा  गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत कार्यभारको चाप तथा इरानी नेतृत्वभित्र देखिएको असमझदारीका कारण यात्रा रद्दको निर्णय गरिएको उल्लेख  गरेका छन् ।

ट्रम्पले अमेरिकासँग वार्तामा सबै आवश्यक शक्ति रहेको बताउँदै यदि इरान पक्षले संवाद गर्न चाहन्छ भने सिधै सम्पर्क गर्न सकिने बताएका छन् । उनले आफ्ना ज्वाइँ जेरेड कुश्नर र विशेष दूत स्टिभ विटकोफको पाकिस्तान भ्रमण स्थगित गरिएको जानकारी गराएका बीबीसीले जनाएको छ ।

यस्तै पाकिस्तानमा रहेका इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पनि पाकिस्तानको औपचारिक भ्रमण सम्पन्न गरी इस्लामावाद छोडेका छन् । अमेरिका र इरानबीचको तनावपूर्ण अवस्थाका बीच फारसको खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

अमेरिका र इजरायलले गएको फेब्रुअरी २८ तारिखमा इरानमाथि संयुक्त रूपमा आक्रमण शुरु गरेका थिए, जसको प्रतिक्रिया स्वरूप इरानले हर्मुज जलमार्ग भएर हुने इन्धन ढुवानीमा प्रतिबन्ध लगाएको छ ।

पाकिस्तानले मध्यपूर्वको युद्ध अन्त्यका लागि प्रयास गर्दै आएको छ । यसअघि पहिलो चरणको वार्तामा कुनै प्रगति भएको थिएन ।

 

प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस

धनगढी- सुदूरपश्चिम प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँलाई शनिबार भेट गरी बजेट अधिवेशनका लागि सिफारिस पत्र बुझाएका छन्।

मुख्यमन्त्री शाहको सचिवालयका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैशाख १७ गते बिहीबार अपराह्न ४ बजे प्रदेशसभाको आठौँ अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ।

सिफारिस पत्र बुझाउन मुख्यमन्त्री शाह प्रदेश प्रमुख निवासमा पुगेका थिए। सो क्रममा समसामयिक राजनीति विषयमा पनि कुरा भएको सचिवालयले जनाएको छ।

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर। भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले ‘छोरीबुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम कार्यान्वयन गरेको छ ।

नगर क्षेत्रका जेहेन्दार, दलित, विपन्न वर्गका छोरीबुहारीलाई उच्च शिक्षा अध्ययनमा सघाउन नगरपालिकाले उक्त कार्यक्रम कार्यान्वयन गरेको हो ।

कार्यक्रमअन्तर्गत प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार एमबिबिएस अध्ययन गर्न दुई जनालाई जनही रु दुई लाख र इन्जिनियरिङ पढ्न तीन जनालाई जनही रु एक लाख छात्रवृत्तिस्वरुप प्रदान गरिनेछ ।

त्यसैगरी, नर्सिङ, फार्मेसी, विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकीलगायत अन्य सङ्कायमा अध्ययन गर्ने छ जना छात्रालाई जनही रु ५० हजार प्रदान गरिनेछ ।

“यो कार्यक्रमबाट आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भएका छात्रालाई राहत पुग्ने हाम्रो विश्वास छ”, प्रमुख प्रशासकीय अधिकृत बमले भने, “विशेषगरी विवाहपछि उच्च शिक्षालाई निरन्तरता दिन चाहने छोरीबुहारीका लागि यो उपयोगी हुनेछ ।” -रासस

एकैदिन २ हजार ७ सय रुपैयाँले बढ्यो सुन

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ ।

आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत शुक्रबारको तुलनामा आज आइतबार भने चाँदीको मूल्य स्थीर छ । चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँ कायम भएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

जोगबुडामा झाडापखालाका कारण एक बालकको मृत्यु

डडेल्धुरा। डडेल्धुराको भित्री मधेश जोगबुडामा झाडापखालाका कारण एक सात वर्षीय बालकको मृत्यु भएको छ । अत्यधिक गर्मी हुने चुरे क्षेत्रअन्तर्गत परशुराम नगरपालिका–२ मा झाडापखालाको प्रकोपसँगै बालकको मृत्यु भएपछि एकै परिवारमा शोक छाएको छ ।

एकै परिवारका चार जनालाई एक्कासी झाडापखाला लागेपछि अस्पताल लैजाने क्रममा ७ वर्षीय बालक युवराज बुढामगरको बाटोमै मृत्यु भएको हो ।

जोगबुडा प्रादेशिक अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार झाडापखाला लागेका मृतककी आमा र अन्य तीन बालबालिका अस्पतालमा भर्ना गरिएका छन् । उनीहरूको हाल उपचार भइरहेको छ । तीनै जना बालबालिकामा झाडापखाला देखिएको र आमा भने अत्यधिक तनावका कारण प्रभावित भएको उनले बताए ।

झाडापखाला लागेका उनीहरूको हैजाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको घिमिरेले जानकारी दिनुभयो । प्रारम्भिक रूपमा फूड पोइजनका कारण झाडापखाला र बान्ता भएको आशंका गरिएको छ । उनका अनुसार हाल उपचाररत सबैको अवस्था सामान्य रहेको छ ।

मनोहरा सुकुम्बासी बस्तीमा घरटहरा भत्काउन सुरु, १९ सय प्रहरी परिचालन

भक्तपुरको मनोहराखोला किनारस्थित सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ ।

आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका १ हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार उक्त बस्तीका बासिन्दाले आफैँ आफ्ना घरटहरा भत्काउने भनेपछि बिहान ९ बजेसम्मको समय दिइएको थियो । त्यसपछि भने काठमाडौं महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको हो ।

प्रहरी उपरीक्षक खड्काले भने, ‘यहाँका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन थालिएको छ ।’

यस बस्तीमा बस्तीमा ७७७ घरटहरा छन् । यसअघि शनिबार साँझ पनि यहाँ सातवटा ठूला पक्की घर भत्काइएका थिए । त्यसक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अवरोध गरिएको थियो । केही सुकुम्बासीले आक्रमण  गर्दा २२ सुरक्षाकर्मी घाइते भएका थिए ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा झुम अधिकारी निर्वाचित

धनगढी । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनबाट झुम अधिकारी सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्।

धनगढीस्थित होटल डिभोटीमा शनिबार सम्पन्न अधिवेशन महासंघका निवर्तमान अध्यक्ष प्रमोद पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सिटिइभिटी प्रदेश कार्यालय धनगढीका उपनिर्देशक देव सिंह धामी प्रमुख अतिथि तथा महासंघका केन्द्रीय सदस्य सुजित शर्मा अतिथिका रूपमा उपस्थित थिए।

सर्वसम्मत रूपमा चयन गरिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा राधिका साउँद, सचिवमा प्रकाश छेडाल, सह–सचिवमा शिव बुढा र कोषाध्यक्षमा  सपना रोकाया निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष अधिकारीले महासंघमार्फत सुदूरपश्चिम प्रदेशमा दक्ष जनशक्ति उत्पादन तथा रोजगारीका क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शान्तिपूर्वक सुकुमवासी बस्ती खाली गरियो

काठमाडौं । बागमती नदीकिनारको जग्गा अतिक्रमण गरेर बसेको बस्ती सरकारले शान्तिपूर्वक खाली गरेको छ । बस्ती खाली गरेर वास्तविक सुकुमवासी पहिचान गर्न ‘स्क्रिनिङ’ (विवरण संकलन) प्रक्रिया पनि साथसाथै सुरु गरेको छ । अब सरकारको प्रमुख जिम्मेवारी ‘वास्तविक सुकुमवासी’ पहिचान गरी उनीहरूको स्थायी व्यवस्थापन गर्नु हो ।

पूर्वसूचनाअनुसार शनिबार बिहानैदेखि थापाथली सुकुमवासी बस्तीबाट संरचना हटाउन सुरु भएको थियो । दिउँसोदेखि सिनामंगल–गैरीगाउँ क्षेत्र र भक्तपुरको मनोहरा क्षेत्रका सुकुमवासी बस्तीमा पनि डोजर चलाइएको थियो । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासनलगायतको समन्वयमा डोजर लगाएर संरचना भत्काइएको छ । थापाथली क्षेत्र शनिबार नै खाली गरिएको छ भने शान्तिनगर–सिनामंगल–गैरीगाउँ तथा मनहरा जडीबुटी क्षेत्रमा आइतबारसम्म लाग्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।

करिब १२ हजारको संख्यामा प्रहरी तैनाथीसहित महानगरका डोजर चल्दै गर्दा बस्तीका अधिकांश परिवार आफैँ सामान निकालेर निस्किएका थिए । कतिपय परिवारलाई सामान निकाल्न प्रहरीले सघाएको थियो । परिस्थिति असामान्य हुन सक्ने आकलन गरेको प्रहरी पानीको फोहरा, अश्रुग्यास, लाठीसहित तैनाथ थियो । तर, कुनै बल प्रयोगविना शान्तिपूर्ण रूपमा बस्ती खाली भएको छ । बस्ती छाडेकाहरू सरकारले आह्वान गरेको ‘स्क्रिनिङ’ प्रक्रियामा सामेल हुने क्रम जारी छ । शनिबार राति १०ः३० बजेसम्म १४४ परिवार ‘स्क्रिनिङ’ का लागि उपस्थित भएको सरकारी तथ्यांक छ । भूमि सुधार र सहरी विकास मन्त्रालय तथा काठमाडौं महानगरपालिकाको टोली स्क्रिनिङमा खटिएका थिए । टोलीले उनीहरूको व्यक्तिगत विवरण, पारिवारिक विवरण र सामानको विवरण लिएको थियो । उनीहरूलाई आश्रयस्थल पुर्‍याउन र उनीहरूको सामान ओसार्न पनि सरकारी गाडी प्रयोग गरिएका थिए ।

दुवै पक्ष संयमित हुँदा सहज वातावरणमै बस्ती खाली गरिएको र वास्तविक पीडित तथा आश्रय दिनुपर्ने संख्या यकिन गरी आश्रयस्थल पुर्‍याइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरराज पौडेलले बताए । ‘हामीले अपरेसन गरिरहेका छौँ, शनिबार सबै टहरा हटाएर सकिएन, फाइनल भएपछि मात्रै कति सुकुमवासीको उद्धार भयो तथा आश्रयस्थलहरूमा कतिलाई राखियो भनेर थाहा हुन्छ,’ उनले भने, ‘शनिबार साँझसम्म १४४ परिवारलाई आश्रममा पठाएका छौँ, त्यसपछि पुनर्स्थापन र स्थायी बसोबासबारे थप गृहकार्य गर्छौँ ।’

वर्षासँगै बीपी राजमार्गमा सवारी आवागमन रोक

काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन रोकिएको छ । काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा वर्षा भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा शनिबार (वैशाख १२) दिउँसोदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“मौसममा सुधार आई सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले अर्को सूचना प्रकाशन गरी बाटो सुचारु भएको जानकारी गराउनेछ,” प्रहरीले भनेको छ ।

विशेष गरी कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउनेनजिक स्थानमा वर्षासँगै समस्या निम्तने गरेको छ । त्यहाँ रोशी खोलामा अस्थायी ‘डाइभर्सन’ बनाइएको छ ।

गत वर्ष असोजमा बाढीले उक्त क्षेत्रमा सडक बगाएको थियो । त्यसपछि खोलामा डाइभर्सन बनाएर त्यहीँबाट सवारी आवागमन गरिँदै आएको छ ।गएको चैतमा पनि बाढीले सडक बगाएको थियो ।

हटाइयो गैरीगाउँको सुकम्वासी बस्ती

काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्वासी बस्ती पनि हटाइएको छ । खोला किनार अतिक्रमण गरी निर्मित संरचना र बस्ती भत्काउने सरकारको अभियानअनुसार शनिबार (वैशाख १२) गैरीगाउँको सुकुम्वासी बस्ती पनि डोजर लगाएर हटाइएको हो ।

थापाथलीस्थित सुकुम्वासी बस्तीको तुलनामा गैरीगाउँमा पक्की संरचना बनाइएको पाइएको छ । बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

बस्ती हटाउने क्रममा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ । सम्भावित अवरोध रोक्न सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको छ । हिमालयन टेली भ्वाइस

सोमपालले नेपाललाई दिलाए छैठौँ सफलता

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार नेपाल र यूएईबीचको खेल जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अहिले नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याउँदै यूएईले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा यूएईले छैटौँ विकेट गुमाएको छ । खेलको ३४ ओभर ३ बलमा सोमपाल कामीले नेपाललाई सफलता दिलाएका हुन् । सोमपालको बलमा यूएईका मोहम्मद वसिम आरिफ शेखबाट क्याच आउट भए । आउट हुनुअघि उनले ५१ बलमा ३४ रन बनाए ।

खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै २०० रनको योगफल बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९० बलमा पाँच चौका र दुई छक्कासहित ७५ रन बनाएका हुन् ।

नेपालको सुरुआत कमजोर रहँदा आसिफ शेख सात रनमै आउट भए भने कप्तान रोहित पौडेल केवल दुई रनमा पवेलियन फर्किए । त्यस्तै, कुशल भुर्तेलले २४ रन, बसिर अहमदले २० रन र करण केसीले २२ रनको योगदान दिए ।

अन्य खेलाडीहरूमा भीम सार्कीले १० तथा आरिफ शेखले र सोमपाल कामीले समान १५(१५ रन बनाए । बलिङतर्फ युएईका जुनैद सिद्दिकी, अजय कुमार र खुजैमा तनवीरले समान तीन विकेट लिए । युएई अहिले जबाफी ब्याटिङमा उत्रेको छ ।

सांसद विश्वराज पोखरेलले मागे माफी

गृह जिल्ला ओखलढुङ्गामा एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएको भिडियो भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले सार्वजनिक रूपमा माफी मागेका छन्।

पूर्वएआइजी समेत रहेका सांसद पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो बोली र व्यवहारमा संयमता नदेखिएको स्वीकार गरेका हुन्। घटनाबाट कसैको आत्मसम्मान र मर्यादामा चोट पुगेको भए उनले हृदयदेखि नै क्षमायाचना गरेका छन्।

सामाजिक सञ्जालमा भिडियो भाइरल भएसँगै उनको चर्को आलोचना भएको थियो। विज्ञप्तिमा उनले भिडियोलाई काटछाँट गरी अपूर्ण सन्दर्भमा प्रस्तुत गरिएको दाबी गरेका छन्। यद्यपि, सार्वजनिक पदमा रहँदा आफूले अझ बढी धैर्य र मर्यादा देखाउनुपर्ने उनले स्विकारेका छन्।

‘यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको छ,’ पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘यद्यपि, सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्थ्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु।’

सांसद पोखरेल ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा पुग्दा उक्त विवाद भएको थियो। आफू विद्यालय जाँदा स्वागत गर्न नआएको भन्दै उनले प्रधानाध्यापकमाथि आक्रोश पोखेका थिए।

भाइरल भिडियोमा उनले प्रधानाध्यापकलाई भनेका छन्, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ। तपाईं कर्मचारी हो। म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ। जिल्लाको एउटा माननीय आउँदा हेड मास्टरभित्र चुप लागेर बस्ने ?’

पोखरेलले यस घटनाका कारण पार्टी, शुभेच्छुक, विद्यालय परिवार र आम जनसमुदायमा पर्न गएको ठेसप्रति क्षमा माग्दै आगामी दिनमा थप जिम्मेवार र मर्यादित हुने प्रतिबद्धता जनाएका छन्।

May be an illustration of text

‘होल्डिङ सेन्टर’ पुगे २३ सुकुम्वासी परिवार

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापित ‘होल्डिङ सेन्टर’मा शनिबार (वैशाख १२) दिउँसोसम्म २३ सुकुम्वासी परिवार पुगेका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले उनीहरूको तथ्यांक संकलन गरिरहेको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयले जनाएको छ ।

थापाथली, गैरीगाउँलगायत स्थानबाट सुकुम्वासी होल्डिङ सेन्टरमा पुग्ने क्रम जारी छ ।

यस्तै, प्राथमिक स्वास्थ्य उपचारका निम्ति काठमाडौं महानगरपालिका–११ को बबरमहल, वडा–३१ को भीमसेनगोला र ३२ नम्बरको पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्र खुला राखिएको छ । त्यहाँबाट सामान्य प्राथमिक उपचार प्रदान गरिरहेको सचिवालयले जनाएको छ ।

“होल्डिङ सेन्टरमा आउनुभएका सुकुम्वासीहरूका लागि प्राथमिक उपचारको पनि व्यवस्था मिलाइएको छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

सरकारले शनिबार बिहानदेखि काठमाडौंका सुकुम्वासी बस्ती हटाउन थालेको छ । वाग्मती नदी किनारका सुकुम्वासी बस्ती खाली गरिएको हो ।

अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा चीनको बढ्दो प्रभाव

चीन विश्व शिक्षा बजारमा नयाँ प्रमुख विकास केन्द्रको रूपमा उदाउँदै गएको एक प्रतिवेदनले जनाएको छ । बेइजिङमा सार्वजनिक ‘मानवजातिको साझा भविष्य निर्माणमा योगदान गर्ने चीनमा अध्ययन’ शीर्षकको यो प्रतिवेदन चीनको सरकारी समाचार संस्था सिन्ह्वासम्बद्ध थिङ्क ट्याङ्क सिन्ह्वा इन्स्टिच्युटले तयार पारेको हो ।

प्रतिवेदनमा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा लामो समयदेखि प्रभुत्व जमाउँदै आएका परम्परागत शक्तिहरूको प्रभाव क्रमशः कमजोर हुँदै गएको उल्लेख छ । यसको सट्टा दक्षिण कोरिया र जापानजस्ता देशहरू अध्ययन गन्तव्यका रूपमा आकर्षक बन्दै गएका छन् ।

चीनले पछिल्ला वर्षहरूमा ‘शिक्षामा बलियो देश निर्माण’ भन्ने राष्ट्रिय रणनीति अघि सारेको छ । यस रणनीतिअन्तर्गत शैक्षिक प्रणालीको निरन्तर सुधार, क्षमता विस्तार र आधुनिकीकरणको प्रक्रिया तीव्र पारिएको छ । शिक्षा, अर्थतन्त्र र सामाजिक विकासलाई समन्वय गर्दै अघि बढाउने नीतिका कारण चीनले विदेशी विद्यार्थीहरूलाई आकर्षित गर्ने बलियो आधार तयार पारेको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदन अनुसार चीनले विश्वका १ सय ८३ देश तथा क्षेत्रसँग शैक्षिक सहकार्य स्थापना गरिसकेको छ । त्यस्तै, ६१ देशसँग शैक्षिक डिग्री आपसी मान्यताको सम्झौता भएको छ भने ४५ संयुक्त शैक्षिक कार्यक्रमहरू सञ्चालनमा रहेका छन् ।  -एजेन्सी

 

कूटनीतिक आचारसंहिता पालनामा परराष्ट्रमन्त्री खनालको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तारकेश्वर नगरपालिका–१० ले शनिबार (वैशाख १२) मनमैजुमा आयोजना गरेको कार्यक्रममा उनले कूटनीतिक आचरण प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पदधारण गरेका व्यक्ति सबैलाई समान रूपमा लागु गर्न आफूहरू लागिपरेको बताए ।

“प्रधानमन्त्री, मन्त्रीलगायत सबैलाई कूटनीतिक आचरण समान रूपमा लागु गर्नका लागि हामीले तालिमको व्यवस्था गरेका छौँ,” कूटनीतिक नियम सबैले पालना गर्नुपर्नेमा जोड दिँदै परराष्ट्रमन्त्री खनालले भने ।

फरक प्रसंगमा उनले सरकारले सुशासन र आर्थिक समृद्धिका पक्षमा काम गरिरहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रानुसार सुशासन र समृद्धिका निम्ति सरकारले काम गरिरहेको उनले उल्लेख गरे ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको उनले बताए । रासस

तीनकुनेस्थित गैरीगाउँको सुकुम्वासी बस्तीमा पनि चल्यो डोजर

काठमाडौँ- काठमाडौँको तीनकुनेस्थित गैरी गाउँको सुकुम्वासी बस्तीमा पनि सरकारले डोजर चलाएको छ ।

सुकुम्वासी बस्तीका घरटहरा भत्काउन काठमाडौँ महानगरपालिकाले पक्की घरहरूमा डोजर चलाएको हो । यसअघि थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर लगाएको थियो । घर टहराभित्र सामान सार्ने काम भइरहेको छ ।

थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा घरटहरा हटाइरहेका छन् ।

बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका करिब ४० प्रतिशत घरटहरा हटाइसकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए ।

“अवैध रूपमा बनाइएका संरचना हटाउन सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था कहीँ पनि छैन । त्यहाँ बसोबास गरिरहनुभएका नागरिकले सरकारको अभियानलाई सहयोग गरिरहनुभएको छ”, प्रजिअ पौडेलले भने, “सुकुमबासीलाई घरटहरा खाली गर्न सुरक्षाकर्मीले मद्दत गरिरहेका छन् ।” आवश्यक पर्नेलाई सुरक्षाकर्मीले मानवीय सहायता पनि गरिरहेका उनले जानकारी दिए ।

सरकारले दुई दिन अघि देखिनै जोखिमयुक्त सार्वजनिक क्षेत्रमा बसिरहेका सुकुमबासी तथा भूमिहीनलाई आफ्ना सरसामान, पशुचौपायलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्दै आएको थियो ।

थापाथली क्षेत्रमा अवैध संरचान हटाउन सुरक्षाकर्मी, प्राविधिक, डोजर अपरेटर, एम्बुलेन्स, सामग्री ओसापसार गर्ने ट्रक, उद्धार गरिएको नागरिकलाई पहिलो आश्रयस्थलसम्म लैजान कर्मचारी ओसार्न प्रयोग हुँदै आएका सवारीसाधन सञ्चालन गरएका प्रजिअ पौडेलले जानकारी दिए ।

“धेरैले आफ्नो व्यवस्थापन आफैँ गरेका छन् । सहयोग आवश्यक पर्नेहरू सरकारसँग माग्न आउनुहुन्छ, उहाँहरूलाई सोहीअनुसार व्यवस्थापन गर्छौं,” प्रजिअ पौडेलले भने ।

थापाथलीका सुकुमबासीलाई त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाालामा राखिएको छ । त्यहाँ उनीहरूको विवरण सङ्कल भइरहेको छ । वास्तविक सुकुमबासी पहिचान भएपछि उनीहरूलाई अस्थायी बसोबासका लागि व्ययवस्था गरिएको स्थानमा स्थानानतरण गरिनेछ । अस्थायी बसोबासको प्रबन्ध शहरी विकास मन्त्रालयले गरिरहेको छ ।

“सुरक्षाकर्मीहरूले उहाँहरूका सरसामग्रीको सुरक्षा, अपङ्गता भएका, ज्येष्ठ नागरिक, बिरामी, अशक्त, दीर्घरोगी, बालबालिका, गर्भवती, सुत्केरीलगायत मानवीय सहयोग उपलब्ध गराइरहनुभएको छ”, प्रजिअ पौडेलले भने, “उपचार सेवा आवश्यक भएकालाई अपस्पताल पठाइएको छ ।” वस्तीबाट सामान सार्नका लागि सरकारी ट्रकको पनि प्रयोग गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलले आज काठमाडौँको थापाथली क्षेत्र र गैरीगाउँ सिनामङ्गल क्षेत्रका घरहटरा हटाइने जानकारी दिए । “समयले भ्याएसम्म आजै मनोहरा क्षेत्रमा पनि त्यस्ता बस्ती हटाउन सुरु गरिनेछ”, उनले भने ।

यसैबिच, मनोहराका सुकुमबासी पनि घरटहरा छाडेर गएका छन् । उनीहरूलाई सुरक्षाकर्मीले आफ्ना सामग्रीलाई सुरक्षित स्थानमा लैजान अनुरोध गरिरहेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार र आइतबार काठमाडौँ उपत्यकाका नदी किनारामा अवैध ढङ्गले बनाइएका घरटहरा हटाउन निर्देशन दिएका थिए । -रासस

सिनामंगलको सुकुम्वासी बस्तीमा डोजर चलाउन सुरु

काठमाडौं । सरकारले सिनामंगलस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउन सुरु गरेको छ । दिउँसो साढे १ बजेबाट डोजर चलाउन सुरु गएिको हो ।

यसअघि थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको थियो । थापाथलीको बस्ती भत्काइसकेपछि सिनामंगलमा डोजर चलाउन थालिएको हो ।

नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य

काठमाडौँ- आइसिसी क्रिकेट विश्वकप लिग –२ मा युनाइटेड अरब इमिरेट्सविरुद्ध  २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

उपकप्तान दिपेन्द्र सिंह ऐरीको अर्धशतकप्रेरित नेपालले  ४८.२ ओभरमा १० विकेट गुमाउँदै उक्त लक्ष्य दिएको हो । नेपालले सबै विकेट गुमाएर २०० रन बनाएको थियो । नेपालको निम्ति उपकप्तान दीपेन्द्रसिंह ऐरीले ७५ रनको अर्धशतकीय इनिङ खेले ।दीपेन्द्रले ९० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे ।

उनले आठौँ विकेटको निम्ति करण केसीसँग ४२ रनको साझेदारी गरेका थिए । धरमाएको नेपालको ब्याटिङले  ऐरीको इनिङबाट लय लिएको थियो । ओपनर कुशल भुर्तेलले २४ रन जोडे । करण केसीले २२, बसिर अहमादले २०, आरिफ शेख र सोमपाल कामीले समान १५ र भीम सार्कीले १० रन बनाए ।

यूएईका अजय कुमार र जुनैद सिद्धिकीले समान तीन विकेट लिए । खुजैमा तनविरले दुई विकेट लिँदा हैदर अली र मोहम्मद शहदादले समान एक विकेट लिए । खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् ।

तालिकाको पुछारमा रहेका यी दुवै लिग–२ मा खराब लयमा छन् । तालिकामा घरेलु टोली १२ अंकका साथ सातौँ स्थानमा छ । नेपालले २० खेल खेल्दा पाँच जित र १३ हार व्यहोरेको छ ।

नेपालको दुई खेल भने रद्द भएको थियो । यूएई भने समान खेल खेल्दा १० अंकका साथ तालिकाको आठौँ स्थानमा छ । यूएईले २० खेल खेल्दा पाँच जित र १५ हार व्यहोरेको छ ।

शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार

कञ्चनपुर। कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि सरकार वास्तविक पीडितको पहिचान गरी प्रक्रिया अगाडि बढाउने भएको छ । निकुञ्ज विस्थापित परिवारको अभिलेख सङ्कलन, जग्गा पहिचान तथा विवरण प्रमाणीकरण प्रक्रियालाई अघि बढाउने विषयमा सरकार गम्भीर हुँदै वास्तविक पीडित पहिचान गर्न लागेको हो ।

वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले निकुञ्ज प्रभावित परिवारको दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकतामा राख्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उच्चपदाधिकारीसँग छलफल गरेका छन् । उनले वास्तविक पीडितको पहिचान गरी दीर्घकालीन पुनस्र्थापना सुनिश्चित गर्न आवश्यक रहेको बताए ।

मन्त्री चौधरीका अनुसार विगतमा विभिन्न आयोगबाट सिफारिस भएका विवरण, जग्गाधनी प्रमाणपत्र वितरण तथा अन्य आधारलाई समेत मूल्याङ्कन गर्दै वास्तविक पीडितको पहिचान गरिनेछ । छलफलमा निकुञ्जबाट प्रभावित परिवारहरूको अभिलेख सङ्कलन, उपलब्ध जग्गाको पहिचान तथा लागत विवरणसँग प्रमाणीकरण (भेरिफिकेसन) गर्ने विषयमा विशेष जोड दिइएको छ ।

साथै, तथ्यमा आधारित योजना निर्माण गरी चरणबद्ध रूपमा कार्यान्वयन गर्ने सहमति भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । उक्त छलफलमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.बुद्धिसागर पौडेल तथा भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेललगायतको सहभागिता थियो ।

छलफलका क्रममा निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयहरूबीच समन्वयात्मक रूपमा अघि बढ्ने सहमति भएको मन्त्रालयका सचिव डा शर्माले जानकारी दिए । लामो समयदेखि व्यवस्थापनको पर्खाइमा रहेका निकुञ्ज पीडितहरूको समस्या समाधान अब प्राथमिकताका साथ अघि बढ्ने विश्वास व्यक्त गरिएको छ । -रासस

खोज्नुहोस