सरकारले एकदिनमै गर्‍यो १७ अर्ब बढी भुक्तानी

काठमाडौं । चालु आर्थिक वर्ष अन्तिम साता प्रवेश गर्नै लाग्दा सरकारले भुक्तानीको गति ह्वात्तै बढाएको छ ।

बुधबार एकदिनमै १७ अर्ब ९ करोड रुपैयाँ बराबर भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकबाट देखिएको छ । कानुन अनुसार आज सरकारले गर्ने भुक्तानीको चेक काटिसक्नुपर्छ । सोहीकारण अहिले भुक्तानी प्रणालीमा जाम हुने समस्या आएको छ ।

स्थानीय तहले सञ्चालन गर्ने सूत्र प्रणालीमा देशैभरि समस्या देखिएको छ । यस्तो समस्या भुक्तानी गर्ने अन्तिम दिन अझ बढी देखिने गर्छ । कार्यालयका अनुसार बुधबारसम्म कुल बजेट खर्च १५ खर्ब ३१ अर्ब ९७ करोड बराबर भएको छ ।

मंगलबार बजेट खर्च १५ खर्ब १४ अर्ब ८७ करोड बराबर थियो । पूँजीगत खर्च बुधबारसम्म लक्ष्यको ४० प्रतिशतमात्र छोएको छ । यस वर्ष कुल १ खर्ब ६३ अर्ब १७ करोड बराबर पूँजीगत खर्च भएको छ ।

सरकारले ४ खर्ब ७ अर्ब पूँजीगत खर्चको लक्ष्य राखेको छ । यस वर्ष कुल बजेट भने १९ खर्ब ६४ अर्बको कार्यान्वयन भइरहेको छ । राजस्व संकलन बुधबारसम्म लक्ष्यको ७८.१५ प्रतिशतमात्र भएको  छ ।

कुल १४ खर्ब ८० अर्बको लक्ष्य राखिएको राजस्वमा संकलन भने ११ खर्ब ५६ अर्बमात्र भएको छ ।

सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको भेट

काठ्माण्डौ। सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गेका छन्।

भेटका अवसरमा सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको महहत्वपूर्ण लजिस्टिक सहयोगप्रति आभार व्यक्त गरे।

उनले नेपाल र भारतबीचको सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता, सांस्कृतिक तथा सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटीलगायतका क्षेत्रमा रहेका विभिन्न द्विपक्षीय संयन्त्रमार्फत सम्बन्ध अझ सुदृढ हुँदै गएको बताए। उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको उनको भनाइ थियो।

उनले नागरिक उड्डयन, रेल तथा बस सेवामार्फत कनेक्टिभिटी विस्तारले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गर्दै भविष्यमा थप उडान, रेल तथा बस रुट विस्तार हुने अपेक्षा व्यक्त गरे।

सभामुख अर्यालले भारतको लोकसभाका सभामुख ओम बिरलालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिँदै दुवै पक्षका लागि उपयुक्त समयमा उनलाई नेपालमा स्वागत गर्न तत्पर रहेको बताए।

उनले भारतको संसदलाई लोकतन्त्रको दृढ संरक्षकका रूपमा सधैँ उच्च सम्मानका साथ हेर्दै आएको उल्लेख गर्दै आफ्नो गौरवपूर्ण इतिहासमा भारतको संसदले लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

सभामुख अर्यालले नयाँ प्रतिनिधि सभाको गठनपछि माननीय बिपिन आचार्यको नेतृत्वमा १० सदस्यीय नेपाल–भारत संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिँदै उक्त समूहले अन्तर–संसदीय सहयोगलाई नयाँ गति प्रदान गर्ने विश्वास व्यक्त गरे।

उनले संसदीय कूटनीतिले नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यसले दुवै देशका सांसदहरूबीच आपसी समझदारी, अनुभव आदानप्रदान तथा एकअर्काका प्राथमिकता र आकांक्षाप्रति सम्मान अभिवृद्धि गर्ने बताए।

सभामुख अर्यालले भारतले संसदीय प्रक्रियाको प्रभावकारिता, पारदर्शिता र पहुँच अभिवृद्धिका लागि डिजिटल समाधान तथा ‘नेसनल ई–विधान एप्लिकेसन’ लगायतका प्रविधिमैत्री अभ्यास अवलम्बन गरेकोमा प्रशंसा व्यक्त गर्दै भारतको डिजिटल संसदीय प्रणाली, कागजरहित कार्यप्रणाली तथा प्रविधिमैत्री विधायी अभ्यासबाट ज्ञान आदान–प्रदानको अपेक्षा व्यक्त गरे।

उनले नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै नेपालको विकास प्रयासमा भारतको निरन्तर सद्भावना र सहयोग महत्वपूर्ण रहेको बताए। साथै, नेपाल र भारतले आपसी सहकार्य र साझेदारीमार्फत साझा शान्ति, समृद्धि र प्रगतिका निम्ति निरन्तर मिलेर कार्य गर्ने विश्वास व्यक्त गरे।

भेटमा राजदूत श्रीवास्तवले भारतका लोकसभाका सभामुख ओम बिरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी गराउँदै नेपालका सभामुख तथा सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययन तथा अवलोकनका लागि भारत भ्रमणको निमन्त्रणा दिएका थिए।

उनले संसदीय कूटनीति र उच्चस्तरीय राजनीतिक संवादले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै व्यापार, कनेक्टिभिटी, ऊर्जा, शिक्षा तथा जन–जनबीचको सम्बन्ध विस्तारमा भारत सरकार निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।

१७ जेठको घटनामा संसदीय मर्यादा उल्लंघन, सभामुखलाई अधिकार प्रयोग गर्न सुझाव

काठमाडौं । प्रतिनिधिसभाको १७ जेठमा भएको घटनाको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको ठहर गर्दै सभामुखलाई प्राप्त विशेषाधिकारको प्रयोग गर्न सुझाव दिएको छ ।

समितिले अमर्यादित र उत्तेजक शब्द प्रयोग भएको अवस्थामा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्दै त्यस्ता अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मका व्यवस्थालाई सभामुखले कठोरतापूर्वक गर्नु गराउनुपर्ने आवश्यकता देखिएको सुझाव दिएको छ ।

सभामुखको सचिवालयले जारी गरेको प्रेसनोट अनुसार समितिले माननीय सदस्यहरूले पालना गर्नुपर्ने गरी प्रतिनिधिसभा नियमावलीमा उल्लेख भएका आचारसंहिता तथा नियमहरुको पूर्ण परिपालना गर्ने गराउने विषयलाई सांसद स्वयं, संघीय संसद् सचिवालय तथा सभामुखले गम्भीरतापूर्वक लिनुपर्ने सुझाव दिएको छ ।

त्यसैगरी, समितिले अभिमुखीकरण तथा आचारसंहिता सम्बन्धी सचेतना अभिवृद्धि, दलीय नेतृत्व र प्रमुख सचेतकहरूको भूमिकालाई प्रभावकारी बनाउने, सुरक्षा तथा प्रविधि व्यवस्थापनमा सुधार गर्ने, अन्तर्राष्ट्रिय असल अभ्यासहरूको अनुकरण गर्ने, आचरण अनुगमन समितिलाई सक्रिय बनाउने, संसद् सचिवालयको जनशक्ति तथा प्रविधि सुदृढीकरण गर्ने, राजनीतिक दलहरूको आन्तरिक अनुशासन र उत्तरदायित्व अभिवृद्धि गर्ने, नजिर व्यवस्थापन, सिसिटिभी निगरानी तथा अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा कार्यव्यवस्था परामर्श समितिको सक्रियता र प्रशासनिक सहजीकरणलाई थप प्रभावकारी बनाउन सुझाव दिएको छ ।

गत १७ जेठमा भएको घटनाको छानबिन गर्न समितिमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी संयोजक तथा आन्तरिक स्रोत तथा योजना व्यवस्थापन महाशाखा प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिग्देल सदस्य थिए ।

सीमा विवादबारे सरकारको स्पष्ट जवाफ माग्दै विपक्षीको विरोध जारी

काठ्माण्डौ- प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता दिएका छन्।

बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले एउटै विषयमा निरन्तर विरोध भइरहेकाले विपक्षी दलका तर्फबाट एक जना सदस्यलाई सङ्क्षिप्त धारणा राख्न समय दिएका थिए।

नेपाली कांग्रेसकी हरिनादेवी कामीले प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ…’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने तथा उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरे।

त्यसपछि अन्य विपक्षी दलका सांसदहरूले पनि बोल्न समय माग गरेपछि सभामुख अर्यालले सबै विपक्षी दललाई बोल्न समय दिए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की यशोदाकुमारी बरालले विपक्षीले पटक–पटक उठाउँदै आएको विषयमा सरकारले सुनुवाइ नगरेको भन्दै ध्यानाकर्षण गराइन्।

सोही पार्टीका भीमकुमार बुढामगरले नेपाली जनता आफ्नो भूमिको रक्षाका लागि प्रतिबद्ध रहेका बेला प्रधानमन्त्रीले राष्ट्रियतासँग जोडिएको आफ्नो अभिव्यक्ति सच्च्याउनुपर्ने माग गरे।

यसैगरी, श्रम संस्कृति पार्टीका पूर्णप्रसाद लिम्बूले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाए भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओलीले सो विषयमा सत्ता पक्षको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरिन्।

कैलालीमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियो थेरापिस्ट पक्राउ

कैलाली कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेपछि करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिजियो थेरापिस्ट अनिल तिवारी रहेको प्रहरीले जनाएको छ ।

तिवारीले ल्याब इन्चार्ज उमेश बजगाईँमाथि अस्पतालभित्रै कुटपिट गरेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । आफूमाथि कुटपिट गर्ने तिवारीलाई कारबाही गर्नुपर्ने माग गर्दै बजगाईंले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रेमकुमार राईलाई निवेदन दिएका थिए

सोही निवेदनमा टिकेर अस्पतालले इलाका प्रहरी कार्यालयमा कारबाहीको माग गर्दै निवेदन दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

स्रोतकाअनुसार मधेश प्रदेश घर भएका तिवारी २०७२ सालतिर नेपाली कांग्रेसका रतन खड्का अस्पताल व्यवस्थापन समिति अध्यक्ष भएका बेला ज्यालादारी काम गर्ने गरी थेरापी विभागमा राखिएका थिए । २०७६ तिर उनी करार सेवामा राखिएका थिए ।

सोही बेलादेखि उनी अस्पतालभित्र राजनीतिक पहुँचका आधारमा हैकम चलाउँदै आएका थिए । टीकापुर अस्पतालले केही दिनअघि ल्याब सम्बन्धीका सामान खरिद गरेको थियो । त्यसमा ल्याब इन्चार्जसहितलाई आर्थिक अनियमितताको आरोप लगाएर तिवारीले मेसुलाई उजुरी दिएका थिए ।

सोही विषयमा सोमबार दिउँसो तिवारीकै कार्यकक्षमा छलफल भइरहेका बेला उनले सुरुमा बजगाईं र मेसु राईमाथि अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरेको स्रोत बताउँछ । आफूसँग बिना कारण निहुँ खोज्न भन्दै बजगाईं आफ्नो कार्यकक्षतिर गएका थिए ।

सोही क्रममा तिवारीले उनीमाथि कुटपिट गरेका थिए । विवादको विषय नखुलाए पनि तिवारीले मेसुकै अगाडि आफूलाई गालीगलौज र दुर्व्यवहार गरेपछि त्यहाँबाट कार्यकक्षतिर निस्किएको बताए । तिवारीले त्यहीँ आएर कुटपिट गरेका उनी बताउँछन् ।

तिवारीले बजगाईंमाथि कुटपिट गरेको विषयमा छानबिन गर्न अस्पताल व्यवस्थापन समितिले पनि समिति गठन गरेको छ ।प्रहरीले पनि उनलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुखको आग्रह

काठमाडौं – सभामुख डोलप्रसाद अर्यालले संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सीमा विवादबारेको अभिव्यक्तिमा प्रश्न उठाएर विपक्षी दलहरूले ४० दिनदेखि बैठकको सुरुमा विरोध गर्दै आएका छन् ।

निरन्तर एउटै विषयमा सबै विपक्षी दलका सांसदहरूले विरोध गर्दै आएपछि सभामुखले बिहीबार विपक्षी दलहरूको तर्फबाट एक जनाले कुरा राख्ने र सभालाई अगाडि बढाउने प्रस्ताव राखे ।

त्यसअनुसार नेपाली कांग्रेसकी सांसद नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई समय दिए ।

तर एक जनाले मात्रै कुरा राखेर अगाडि बढ्ने विषयमा विपक्षी दलहरू सहमत भएनन् ।

त्यसपछि संसद्मा विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुख अर्यालले आग्रह गरेका हुन् ।

‘मैले माननीय सदस्यहरूलाई आग्रह गरे बमोजिम नै माननीय सदस्यहरूको विरोध गर्ने शैली पनि … विरोध पनि के विषयमा मात्रै बोल्नुस्, त्यहाँबाट बाहिर नजानुस् भनेर सभामुखले भनिरहनुपर्ने अवस्था आउनु राम्रो होइन’ सभामुख अर्यालले भने ।

उनले अगाडि थपे, ‘त्यसकारणले जुन विषयवस्तुको लागि विरोधको सुरुवात गरिएको छ । त्यहीभित्र बसेर आफ्ना भनाइ राख्दाखेरि त्यसको अँैचित्य पनि पुष्टि होला ।’

यत्ति भनेर सभामुख अर्यालले विपक्षीको तर्फबाट एक जनाले मात्रै बोल्ने प्रक्रियाका निम्ति आग्रह गरे ।

‘सबै माननीय सदस्यहरूलाई विपक्षी बेन्चतर्फ मेरो अनुरोध, फेरि पनि एक जना माननीय सदस्यले यहाँहरु सबैलाई प्रतिनिधित्व गर्दै बोलि नै सक्नु भएको हुनाले हामी दैनिक कार्यसूचीमा प्रवेश गरौं ।’

तर, विवक्षी दलहरूले मानेनन् ।

४ ऐन र एउटा नियमावली खारेज गर्दै सरकार

काठमाडौं । सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्दैछ ।

यस निम्ति अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ ल्याएका छन् । यसको दफा ५ मा खारेजी र बचाउ सम्बन्धी प्रावधान छ ।

जसमा चार वटा ऐन खारेज गर्ने प्रस्ताव छ ।

(क) प्रादेशिक विकास योजनाहरु (कार्यान्वित गर्ने) ऐन, २०१३

(ख) नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४

(ग) आय टिकट दस्तुर ऐन, २०१९

(घ) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२

(ङ) वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५

यसबाहेक राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली २०७९ पनि खारेज गर्ने प्रस्ताव विधेयकमा छ ।

प्रस्तावित विधेयकअनुसार विधेयक ऐनमा रुपान्तरित भएर लागू हुँदाका बखत राजस्व अनुसन्धान विभागमा दर्ता भई विभागबाट अनुसन्धान भइरहेका वा अनुसन्धान पूरा भए तापनि मुद्दा दायर हुन बाँकी रहेका उजुरी अन्य निकायमा सर्नेछन् ,

यस्तो विषय आयकर, अन्त:शुल्क, मूल्य अभिवृद्धि कर र गैरकर सम्बन्धी भए आन्तरिक राजस्व विभागमा सर्नेछ ।

चोरी निकासी वा पैठारी सम्बन्धी विषय भन्सार विभागमा सर्नेछ ।

विदेशी विनिमयसँग सम्बन्धित कसूरको हकमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ११क बमोजिम तोकिएको अनुसन्धान अधिकारीमा सर्नेछ ।

यो ऐन प्रारम्भ हुँदाका बखत राजस्व अनुसन्धान विभागमा रहेका अभिलेखलाई नेपाल सरकार, अर्थ मन्त्रालयको निर्णय बमोजिम तत् तत् निकायमा सर्ने गरी व्यवस्थापन गर्ने भनिएको छ ।

कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई तीव्रता दिएको छ ।

अदालतबाट कैद सजायका साथै जरिवाना तोकिएर फरार रहेका विभिन्न मुद्दाका फरार अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीले जिल्लाभर विशेष सक्रियता बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले गत वैशाख यता हालसम्म ७१ जना फरार अभियुक्तलाई पक्राउ गरी अदालत पेस गरिएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ गत वैशाखमा ३४ जना, जेठमा १४ र असारको हालसम्म २३ जना फरार अभियुक्त पक्राउ परेका छन् ।

“ज्यान मार्ने उद्योग, कर्तव्य ज्यानदेखि लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ गर्ने क्रम निरन्तर छ”, प्रवक्ता रावतले भने, “कैद सजाय तोकिएका अभियुक्तहरु अदालत हुँदै कारागार चलान भइरहेका छन् ।” फरार अभियुक्त पक्राउ गर्न सादा पोसाकमा प्रहरी परिचालन भएका छन् ।

“अदालत र प्रशासन कार्यालयबाट फरार अभियुक्तहरुको लिष्ट मागेर हामी खोजी कार्यमा जुटेका छौँ”, उनले भने, “अपराध गरेर फरार रहेपनि कारबाहीको दायरामा ल्याउन प्रहरी सक्रिय रहन्छ ।”

हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो

धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा डीएसपी चौधरीले व्यक्त गरेको भनाइबारे जानकारी लिन र आवश्यक सोधपुछ गर्न उनलाई जिल्ला बोलाइएको जनाएको हो।

कैलालीका प्रमुख जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी) नरेन्द्र चन्दका अनुसार डीएसपी चौधरीलाई अन्य विषयमा काउन्सिलिङका लागि जिल्ला बोलाइएको थियो। सोही क्रममा उक्त भिडियो सार्वजनिक भएपछि भिडियोमा दिएको अभिव्यक्तिबारे पनि सोधपुछ गरिने उनले बताए।

‘हामीले उहाँलाई अन्य विषयमा काउन्सिलिङ र कुराकानीका लागि बोलाएका थियौँ। त्यससँग सम्बन्धित केही विषय पनि थिए। यहीबिच भिडियो भाइरल भयो। त्यसैले भिडियोमा दिनुभएको अभिव्यक्तिबारे पनि बुझ्ने काम हुन्छ,’उनले भने।

कार्यक्रममा बोल्दै डीएसपी चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति वा राजनीतिक नेतृत्वको नभई कानुनअनुसार काम गर्ने संस्था भएको बताएका थिए।

‘हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हो, अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाली पुलिस हौँ, केपी ओलीलाई थुन्ने पनि यही पुलिस हो, यो बद्रीले राष्ट्रपतिले लगाउन पाउनु हुन्न भन्ने,’ भन्ने अभिव्यक्ति दिएका थिए।

भिडियोमा उनले आफ्नो भनाइ मन परे ताली बजाउन आग्रह गरेपछि कार्यक्रममा उपस्थित विद्यार्थीहरूले ताली बजाएको देखिन्छ। त्यसक्रममा उनले आफू प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्रहरी सेवामा प्रवेश गरेको उल्लेख गर्दै प्रहरी संगठन राजनीतिक आधारमा नभई कानुनी प्रक्रियाअनुसार सञ्चालन हुने धारणा पनि राखेका थिए।

डीएसपी चौधरीले कार्यक्रममा बोलिएको भिडियो सार्वजनिक नगर्न अनुरोध गरेको आवाज पनि भिडियोमा सुनिन्छ। उक्त भिडियो भने सामाजिक सञ्जालमा सार्वजनिक भयो।

लालझाडी गाउँपालिकाले वितरण गरेको छात्रवृत्तिप्रति विद्यार्थीको असन्तुष्टि

कञ्चनपुर : लालझाडी गाउँपालिकाले वितरण गरेको छात्रवृत्तिप्रति एक विद्यार्थीले असन्तुष्टि जनाएकी छिन् ।गाउँपालिकाकी एक विद्यार्थीले आफूले पाएको रु. २,५५० सम्बन्धित निकायको बैंक खातामा असन्तुष्टि जनाउँदै फिर्ता गरेकी हुन।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत स्कुल अफ एग्रीकल्चर, टिकापुरमा कृषि विज्ञान अध्ययनरत बिपना रानाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले रकम फिर्ता गरेको जानकारी दिँदै छात्रवृत्ति वितरण प्रणालीमाथि प्रश्न उठाएकी हुन्।

उनले फेसबुकमा लेखेकी छन्, “एउटै गाउँपालिका भित्र कसैलाई बढी रकम र कसैलाई अत्यन्तै न्यून रकम दिइँदा शैक्षिक योग्यताको मूल्यांकन कसरी भयो ? मैले छात्रवृत्ति पाएको रकम फिर्ता गरेको होइन, छात्रवृत्ति वितरण प्रणालीलाई निष्पक्ष, पारदर्शी र वास्तविक योग्यताका आधारमा बनाउन आग्रह गर्दछु ।”

गाँउपालिकाबाट +२ , स्नातक र स्नातकोत्तरमा अध्ययन गर्ने प्राविधिक धार र साधारण धार गरी जम्मा १४१ जनासम्मलाई ४ लाख ७५ हजार रुपैया बराबरको छात्रवृत्ति प्रदान गरिएको छ । प्राविधिक धार अध्ययन गर्ने विद्यार्थीलाई अधिकतम १२ हजार रुपैया र साधारण धार तर्फ अध्ययन विद्यार्थीलाई २ हजार ५ सय ५० रुपैयासम्म छात्रवृत्ति वितरण गरेको छ ।

लालझाडी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बजेट तथा कार्यक्रमअनुसार उच्च शिक्षा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि अध्यक्ष विशेष छात्रवृत्ति वितरण गरेको थियो।

यस विषयमा प्राविधिक त्रुटि भएको हुन सक्ने लालझाडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले बताएका छन ।

छात्रवृत्तिका लागि आवेदन परेका सबै विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका छौ , थप जानकारी सार्वजनिक हुन बाँकी रहेको छ भनेर लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले बताए ।

यस विषयमा गाउँपालिकाका अध्यक्ष निर्मल रानासँग बुझ्दा आफूलाई यस विषयमा कुनै पनि थाहा नभएको बताए। यस विषयमा प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखामा बुझ्ने रानाले सुदूरपत्रअनलाइनलाई बताए।

अब गेटामा विश्वविद्यालयको सुविधा सम्पन्न शिक्षण अस्पताल बन्ने स्थानीयको अपेक्षा

धनगढी : गेटा अस्पताल सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेसँगै गेटा अस्पताल अब विश्वविद्यालयकाे शिक्षण अस्पताल बनेको हो ।

२०८० कार्तिक १ गते देखि गेटामा स्वास्थ्य मन्त्रालय मातहत सञ्चालन गर्ने गरी तत्कालीन गेटा मेडिकल कलेज पूर्वाधार समितिले निर्माण गरेका अस्पतालका संरचना गेटा अस्पताललाई हस्तान्तरण गरेर गेटामा ५० शय्याको गेटा अस्पताल सञ्चालनमा आएको थियो । गेटामा २०७१ सालमा गेटा मेडिकल कलेज पूर्वाधार समिति गठन गरेर भौतिक संरचना निर्माण सुरु गरिएको थियो । पछि समिति खारेज भए पनि अस्पताल र विश्वविद्यालय छुट्टा छुटै सञ्चालनमा रहेका थिए ।

गेटामा सरकारले ६ सय शय्याको अस्पताल सहित चिकित्सा शिक्षा अध्यापन गर्ने उद्देश्यले करिब ७ अर्ब खर्चिएर भौतिक संरचना निर्माण गरेको छ । जसका लागि अस्पतालका ओपिडी, इमर्जेन्सी भवन, विश्वविद्यालयको प्रशासनिक, एकेडेमी भवन, होस्टेल, आवास लगायतका भवन निर्माण गरिएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सँगै अब गेटामा निर्माण गरिएका सबै संरचना विश्वविद्यालयको मातहतमा आए पनि अझै सबै संरचनाको प्रयोगमा आउने सुनिश्चित भने हुन सकेको छैन । हाल ६०० शय्याको अस्पतालको भवनमा ५० शय्याको अस्पतालका मात्रै आंशिक रूपमा प्रयोगमा आएको छ भने विश्वविद्यालयको प्रशासकीय बाहेकका भवन प्रयोगविहीन अवस्थामा छन् ।

विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालनका लागि आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिए पनि अस्पताल भवन पूर्ण क्षमतामा सञ्चालनको भने सुनिश्चितता गरेको छैन ।

गेटाका स्थानीय लोकेन्द्र धामीले बुधबारको मन्त्रिपरिषद्को निर्णयमा सरकारले शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्ने भने पनि कति शय्यामा सञ्चालन गर्ने स्पष्ट पार्न नसकेको बताए ।

उनले शैक्षिक कार्यक्रम सञ्चालन सँगै अस्पताल सञ्चालनको लागि पनि ठोस कार्यक्रम सरकारले ल्याउनु पर्ने बताए । यद्यपि उनले गेटा अस्पताललाई विश्वविद्यालय मातहत ल्याउन चिकित्सा शिक्षा अध्ययन हुने बाटो खुलेको बताए । ‘गेटा अस्पतालको नाममा रहेको गेटा अस्पताललाई ढिलो भए पनि विश्वविद्यालय मातहतमा ल्याएर शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको कुरामा म सरकारलाई धन्यावाद दिन चाहन्छु’ विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिका सदस्य समेत रहेका उनले भने ‘यसले अब आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पठनपाठन हुने कुराको बाटो खोलेको छ ।’

उनले अब सरकारले गेटामा अलपत्र परेका अर्बौँका संरचना पनि सही सदुपयोग गर्छ भन्नेमा आफूहरूको अपेक्षा रहेको बताए । उनले अस्पतालमा हाल सामान्य भिडियो एक्स–रे सेवा पनि बन्द रहेको अवस्था रहेकोमा यो यस्ता समस्या पनि हट्ने आशा रहेको बताए । उनले सुदूरपश्चिमको गौरवको यस योजनाका अझै पनि कुनै रोक्ने चलखेल भए आफूहरू पुनः एकजुट भएर दबाब दिने बताए ।

स्थानीय विनोद विष्टले विश्वविद्यालय ऐन पारित हुने बेलै यसका सम्पूर्ण अङ्गहरू विश्वविद्यालय मातहतमा ल्याउनु पर्नेमा ढिलो भए पनि सरकारले गरेको निर्णय सकारात्मक भएको बताए । उनले ऐन जारी भएसँगै गेटामा ३ सय शय्याको अस्पताल सञ्चालन हुनुपर्ने प्रावधान भए पनि त्यसमा अझै पनि ढिलाइ भइरहेको बताए ।

‘यो निर्णय अनुसार अब सरकारले छिटो भन्दा छिटो शिक्षण अस्पताललाई कम्तीमा ३ सय शय्यामा सञ्चालन गर्ने र चिकित्सा शिक्षाको कार्यक्रम अरू आवश्यक पर्ने सम्पूर्ण मापदण्डहरू पुरा गर्नुपर्छ’ विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिका सदस्य समेत रहेका उनले भने ‘राष्ट्रिय चिकित्सा ऐन अनुसार एमबिबिएस लगायतका चिकित्सा शिक्षाका सिट निर्धारण गर्नुपर्छ । यसमा पनि सरकारले ध्यान दिनुपर्छ ।’ उनले यी सबै कामका लागि सरकारले चाँडो भन्दा चाँडो विश्वविद्यालयका पदाधिकारी नियुक्त गरेर चाँडो भन्दा चाँडो काम अगाडी बढाउनु पर्ने बताए ।

‘सरकारले शैक्षिक कार्यक्रमका लागि बजेट विनियोजन गरेपछि पदाधिकारी नियुक्तिमा ढिलाइ हुँदा ती कार्यक्रम अगाडि बढ्न सक्ने अवस्था छैन’ उनले भने ‘हालसम्म विश्वविद्यालय सञ्चालनका लागि जुन विलम्ब भएको छ त्यसको पनि क्षतिपूर्ति हुने गरी सरकारले छिटो भन्दा छिटो काम अगाडि बढाउनु पर्छ ।’

सरकारले बुधवार मन्त्रिपरिषद्बाट गेटा अस्पताललाई विश्वविद्यालयको शैक्षिक अस्पताल बनाउने निर्णय गरे पनि यसअघि नै अस्पतालको ओपिडी भवनमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल लेखिसकेको थियो । सरकारले विश्वविद्यालयमा आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्दै बजेट पनि विनियोजन गरेको छ । तर, चिकित्सा शिक्षा अध्ययनका लागि चाहिले अस्पतालको स्तरोन्नतिमा भने अझै ध्यान दिइएको छैन । यद्यपि सरकारले चालु शैक्षिक सत्रमा गेटामा चिकित्सा शिक्षा अध्यापनका लागि सेती, महाकाली र टीकापुर अस्पताल सँग सहकार्य गर्ने जनाएको छ ।

कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ

कञ्चनपुर प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई तीव्रता दिएको छ ।

अदालतबाट कैद सजायका साथै जरिवाना तोकिएर फरार रहेका विभिन्न मुद्दाका फरार अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीले जिल्लाभर विशेष सक्रियता बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले गत वैशाख यता हालसम्म ७१ जना फरार अभियुक्तलाई पक्राउ गरी अदालत पेस गरिएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ गत वैशाखमा ३४ जना, जेठमा १४ र असारको हालसम्म २३ जना फरार अभियुक्त पक्राउ परेका छन् ।

“ज्यान मार्ने उद्योग, कर्तव्य ज्यानदेखि लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ गर्ने क्रम निरन्तर छ”, प्रवक्ता रावतले भन्नुभयो, “कैद सजाय तोकिएका अभियुक्तहरु अदालत हँुदै कारागार चलान भइरहेका छन् ।” फरार अभियुक्त पक्राउ गर्न सादा पोसाकमा प्रहरी परिचालन भएका छन् ।

“अदालत र प्रशासन कार्यालयबाट फरार अभियुक्तहरुको लिष्ट मागेर हामी खोजी कार्यमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “अपराध गरेर फरार रहेपनि कारबाहीको दायरामा ल्याउन प्रहरी सक्रिय रहन्छ ।

विवादमा परेका ४ अध्यादेश स्वतः निष्क्रिय हुँदै

काठमाडौँ — सरकारले वैशाखमा जारी गरेका आठ अध्यादेशमध्ये चार अध्यादेश संविधानले तोकेको ६० दिनको समयसीमाभित्र संसद्बाट स्वीकृत हुन नसक्ने भएपछि स्वतः निष्क्रिय हुने भएका छन् । बाँकी चार अध्यादेशमध्ये पनि दुई वटा मात्र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित भएका छन् भने अन्य दुई अध्यादेश अझै समितिमै छलफलको चरणमा रहेकाले समयमै प्रतिनिधिसभा र राष्ट्रिय सभाको सम्पूर्ण प्रक्रिया पूरा गरी प्रमाणीकरण गराउन चुनौती देखिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ देखि २२ वैशाखसम्म आठ वटा अध्यादेश जारी गरेका थिए । ती अध्यादेश २८ वैशाखमा संघीय संसद्का दुवै सदनमा टेबुल भएका थिए । संविधानको धारा ११४ अनुसार संसद्को दुवै सदनमा अध्यादेश पेस भएको ६० दिनभित्र त्यसलाई प्रतिस्थापन गर्ने विधेयक दुवै सदनबाट पारित भइसक्नुपर्छ । अन्यथा अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था छ । २८ वैशाखमा टेबुल भएका अध्यादेशको ६० दिनको संवैधानिक समयसीमा २५ असारमा पूरा हुँदै छ ।

प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि स्थगित

प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बस्ने भएको छ।

पन्ध्र मिनेटका लागि स्थगन भएको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित भएको हो।

विशेष कारणबस स्थगन भएको आजको बैठक यही असार २५ गते बिहीबार ११ः०० बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले निर्धारण गरेका सङ्घीय संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

काठमाडौं- सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।

उनका अनुसार, बुधबारको बैठकले सरकारको मुख्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू:

१. काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय

२. कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान

३. ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ स्वीकृत

४. ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत

५.कारागार नियमावली: ’कारागार नियमावली, २०८३’ स्वीकृत

६. मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत

७. भ्रष्टाचार विरुद्धको दोस्रो रणनीति योजना स्वीकृत

८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने

कैलालीको गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न सरकारको स्वीकृति

कैलाली । सरकारले कैलालीको गेटा अस्पताललाई शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटालाई शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव थिए ।

इरानसँगको युद्धविराम अन्त्य भएको ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरान युद्धविराम अन्त्य भएको घोषणा गर्नुभएको छ । टर्किएको एङ्करामा भइरहेको उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सम्मेलनमा बोल्दै ट्रम्पले अब आफूले उनीहरूसँग ‘डिल’ नगर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

इरानसँग अब वार्ता गर्नु समय वर्बादी मात्रै रहेको भन्दै ट्रम्पले अमेरिका अब आफ्ना प्राथमिक काममा केन्द्रित हुन चाहेको बताए । क्यान्सरलाई शुरूमै काटेर हटाउनुपर्ने आफ्नो धारणा रहेको उनको टिप्पणी छ ।

यसअघि हर्मुज जलमार्गमा तेल बोकेका ३ वटा ट्याङ्करमा आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले ८० भन्दा धेरै इरानी निशानाहरूमा आक्रमण गरेको अमेरिकाले बताएको थियो । त्यसपछि ट्रम्पको यस्तो भनाइ आएको हो ।

तेल ट्याङ्करहरूमा आक्रमण भएको घटनाबारे इरानले जिम्मेवारी लिएको छैन । तर अमेरिकाले आक्रमण गरेपछि इरानले पनि आफूले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएको छ ।

गएको महिना दुई देशबीच सबै मोर्चामा युद्धविराम विस्तार समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

यसैबीच नेटोका प्रमुख मार्क रुटले इरानले शुरूमा युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकी आक्रमण पूर्णतः आवश्यक रहेको दाबी गरेका छन् ।

इरानी संसद्का सभामुख मोहम्मद बोर गालिबाफले भने अमेरिकाले नै युद्धविरामको समझदारी उल्लङ्घन गरेको दाबी गर्नुभएको बीबीसीले जनाएको छ ।

युद्धविराम भङ्ग भएको ट्रम्पको घोषणासँगै अन्तर्राष्ट्रिय तेल बजारमा तत्कालै मूल्यवृद्धि भएको छ । ट्रम्पको भनाइ बाहिरिनुअघि प्रतिब्यारेल तेलको मूल्य ७६ अमेरिकी डलरभन्दा केही कम थियो । तर लगत्तै यसको मूल्य बढेर ७८ डलर पुगेको छ । तेलको मूल्य अझै बढ्ने अनुमान छ । एजेन्सी

उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गरेका हुन्।

सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्त्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।

उनले उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार–निजी क्षेत्रबिच नियमित र परिणाममुखी संवादको आवश्यकताबारे सुझाव प्रस्तुत गरेका थिए।

प्रधानमन्त्री शाहले प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण तथा सुधारका कार्य अघि बढाइने बताउनुभयो । उहाँले आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने स्पष्ट पारे ।

निजी क्षेत्रसम्बद्ध उद्योगी व्यवसायीहरूको प्रतिनिधिमूलक संस्थाका प्रमुख तथा पदाधिकारीहरूसँग भएको उच्चस्तरीय छलफलबाट मुलुकको उद्योग व्यवसाय प्रवर्द्धन, लगानीका लागि वातावरण सुधार, सरकार र निजी क्षेत्रबिचको सहकार्यसहित निजी क्षेत्रमैत्री नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

३० अंकले घट्यो नेप्से

काठमाडौं : बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। अघिल्लो दिन मंगलबार २४.५७ अंकले बढेको नेप्से परिसूचक यसदिन ३०.०९ अंकले घटेर बन्द भएको हो। नेप्से घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ। मंगलबार ४ अर्ब ४० करोड बराबरको कारोबार भएको थियो।

यसदिन ३६२ वटा स्क्रिप्सको  ८४ लाख ६३ हजार १५ कित्ता सेयर ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ रुपैयाँमा कारोबार भयो। कारोबारमा आएकामध्ये २५ वटा स्क्रिप्सको मूल्य बढ्दा २४७ वटाको घट्यो। ५ वटा स्टक्सको मूल्य भने यस दिन घट्यो।

यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाए। सो बैंकको सेयर १३.४१ प्रतिशतले घट्यो।कारोबार रकमका आधारमा  ११ प्रतिशत केबीएल डिवेन्चर २०८९ शीर्ष स्थानमा रह्यो। सो कम्पनीले ६२ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। म्युचुअल फण्डबाहेक बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।

अनियमितताबारे विवादपछि टिकापुर अस्पतालका कर्मचारीबीच कुटाकुट

यशोदा शर्मा, धनगढी । 

टिकापुर अस्पतालका दुई कर्मचारीबीच भएको कुटाकुटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। मंगलबार दिउँसो अस्पतालको प्रयोगशाला (ल्याब) मा कार्यरत उमेशप्रसाद बजगाई र फिजियोथेरापिस्ट अनिलकुमार तिवारीबीच हातपात भएको हो।

सामाजिक सञ्जालमा सार्वजनिक भएको अस्पतालको सीसीटीभी फुटेजमा तिवारी दौडिएर आएपछि बजगाईँमाथि मुक्का प्रहार गरेको देखिन्छ। त्यसपछि बजगाईँले पनि प्रतिकार स्वरूप लात प्रहार गरेका छन्। केही बेरमै अन्य कर्मचारी आएर दुवैलाई छुटाएको भिडियोमा देखिन्छ।

अस्पतालका सूचना अधिकारी पदमराज भट्टले ल्याबमा भएको भनिएको अनियमितताका विषयमा बजगाईँ र तिवारीबिच लामो समयदेखि असहमति रहेको बताए। उनका अनुसार सोही विषयमा भएको विवाद मङ्गलवार हातपातमा परिणत भएको हो।

‘अनियमितताका विषयमा पहिलेदेखि नै विवाद हुँदै आएको थियो। हिजो त्यो हातपातमा परिणत भयो,’ भट्टले भने, ‘घटना प्रहरीसम्म पुगिसकेकाले यसबारे अहिले थप टिप्पणी गर्न मिल्दैन। अनुसन्धानपछि थप कुरा खुल्नेछ।’

यता, इलाका प्रहरी कार्यालय टिकापुरले घटनाबारे अनुसन्धान सुरु भएको जनाएको छ। कार्यालयका प्रमुख (डीएसपी) प्रकाश डाँगीका अनुसार घटनासम्बन्धी निवेदन दर्ता भइसकेको छ। ‘भर्खरै निवेदन दर्ता भएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा सम्बन्धित कर्मचारीलाई बोलाएर दुवै पक्षसँग घटनाबारे बुझ्नेछौँ। अहिले नै विवादको यकिन कारण भन्न सकिने अवस्था छैन,’ उनले भने।

डीएसपी डाँगीका अनुसार ल्याबका कर्मचारी बजगाईँले तिवारीविरुद्ध निवेदन दिएका छन्। निवेदनमा आफूलाई बिना कारण कुटपिट गरिएको उल्लेख गर्दै तिवारीमाथि कानुनी कारबाही गर्न माग गरिएको प्रहरीले जनाएको छ।

प्रतिनिधि सभाबाट दुई विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको छ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनका लागि गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

त्यसैगरी बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ।

बजेट विवादबारे छलफल गर्न पौडेल र कँडेल धनगढीमा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ गठबन्धनभित्र देखिएको विवादबारे छलफल तथा वस्तुस्थिति बुझ्न नेपाली कांग्रेस र नेकपा (एमाले) ले केन्द्रबाट प्रतिनिधि धनगढी पठाएका छन्।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल र नेकपा (एमाले) का नेता डा. पुष्प कँडेल बुधबार धनगढी पुगेका हुन्। दुवै नेताले अहिले धनगढीस्थित होटल रूवसमा आ-आफ्नो दलका प्रदेशस्तरीय नेता तथा सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन्।

छलफलमा बजेट विवाद, सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टि तथा आगामी योजनाबारे कुराकानी भइरहेको स्रोतले जनाएको छ।

दलभित्रको छलफलपछि मुख्यमन्त्री कमलबहादुर शाहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। ‘कांग्रेस महामन्त्रीज्यूले दिउँसो २ बजे मुख्यमन्त्रीज्यूलाई भेट्ने समय तय भएको छ,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।

आज बिहान नेपाली पौडेल र कँडेल एउटै विमानमार्फत धनगढी पुगेका थिए। धनगढी पुगेपछि दुवै नेता छुट्टाछुट्टै छलफलमा जुटेका हुन् ।

महामन्त्री पौडेलले दिउँसो १ बजेदेखि धनगढीस्थित होटल रूवसमा उपलब्ध केन्द्रीय सदस्य, नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सदस्य, मन्त्री तथा प्रदेश सभा सदस्यहरूसँग बजेट विवादबारे छलफल गरिरहेका छन्।

उता, एमाले नेता डा. कँडेलले पनि सोही समयदेखि सोही होटलको छुट्टै कक्षमा पार्टीका प्रदेशस्तरीय नेता मन्त्री तथा सांसदहरूसँग छलफल गरिरहेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेट असार १ गते प्रस्तुत गरे पनि २३ दिनपछि मात्रै प्रदेश सभामा टेबुल गरेको थियो। मंगलबार बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले बजेट, विनियोजन विधेयक तथा अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक टेबुल गरेका थिए।

बजेट टेबुल भएसँगै सत्ता साझेदार एमालेले संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। एमाले संसदीय दलले यसअघि नै बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव ल्याउने निर्णय गरिसकेको छ।

यता, सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र पनि बजेटलाई लिएर असन्तुष्टि देखिएको छ। आफ्नै दलका केही सांसद र मन्त्रीहरूले समेत बजेटप्रति असहमति जनाएपछि मुख्यमन्त्री कमलबहादुर शाह थप राजनीतिक दबाबमा परेका छन्।

संविधानअनुसार प्रदेश सरकारले प्रस्तुत गरेको बजेट असार मसान्तभित्र प्रदेश सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था रहेकाले केन्द्रीय नेताहरूको सक्रियतापछि बजेट विवादले निकास पाउने वा थप जटिल बन्ने भन्ने चासो बढेको छ।

मेसीले लेखे विश्वकप इतिहासकै अर्को अध्याय

काठमाडौं । लियोनेल मेसीका आँखा रसाइरहेका थिए । एटलान्टा स्टेडियमको बीच मैदानमा उनी आफ्ना टोलीका खेलाडीहरूको काँधमा टाउको राखेर भक्कानिएका थिए ।

केही मिनेटअघिसम्म ती आँसु विश्वकपबाट दर्दनाक बिदाइका हुन सक्थे । तर खेल सकिँदासम्म तिनै आँसु राहत, गर्व र अर्को ऐतिहासिक पुनरागमनको खुसीमा बदलिएका थिए

विश्व च्याम्पियन अर्जेन्टिनाले अन्तिम २० मिनेट बाँकी रहँदा इजिप्टसँग २–० ले पछि परेको अवस्थामा विश्वकपबाट बाहिरिने खतरा सामना गरिरहेको थियो ।

स्टेडियमको विशाल स्क्रिनमा निराश मुद्रामा माथितिर हेरिरहेका ३९ वर्षीय मेसीको दृश्यले लाखौं समर्थकको मन भारी बनाएको थियो ।

त्यही क्षणमा कतिपयले यो विश्वकपमा उनको अन्तिम खेल हुन सक्ने अनुमान गरिरहेका थिए । तर अर्जेन्टिनाले हार मानेन ।

अन्तिम १४ मिनेटमा तीन गोल गर्दै अर्जेन्टिनाले खेललाई ३–२ मा पल्टायो र विश्वकप इतिहासकै सबैभन्दा रोमाञ्चक पुनरागमनमध्ये एक रच्यो । निराशाबाट सुरु भएको रात अन्त्यमा उत्सवमा बदलियो ।

अझै उस्तै जादुगर

उमेर ३९ पुगिसकेको छ । मेसी पहिलेझैं लगातार दौडिँदैनन् । धेरै समय उनी हिँडेरै खेलको गति नियाल्छन् । तर उनी कहिले दौडिने, कहिले पास दिने र कहिले प्रहार गर्ने भन्ने निर्णय गर्ने उनको फुटबल मस्तिष्क भने अझै संसारकै तीक्ष्णमध्ये एक छ ।

इजिप्टका गोलकिपर मोस्तफा शोबेरले सुरुदेखि नै अद्भुत प्रदर्शन गरेका थिए । पहिलो हाफमा मेसीको पेनाल्टी बचाउँदै उनले अर्जेन्टिनालाई थप दबाबमा पारे । विश्वकप इतिहासमा मेसीले गुमाएको यो आठौं पेनाल्टी थियो भने एउटै विश्वकपमा (शुटआउट बाहेक) दुई पेनाल्टी गुमाउने पहिलो खेलाडी पनि बने ।

यासेर इब्राहिम र मोस्तफा जिकोका गोलले इजिप्ट २–० ले अघि बढ्दा विश्व च्याम्पियनको यात्रा लगभग समाप्त भएको देखिन्थ्यो ।

तर त्यसपछि मैदानमा फेरि मेसीको जादु बोल्न थाल्यो ।

७९औं मिनेटमा उनले दिएको उत्कृष्ट क्रसलाई क्रिस्टियन रोमेरोले हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए । त्यसको चार मिनेट १८ सेकेन्डपछि मेसी आफैंले बायाँ खुट्टाले शक्तिशाली प्रहार गर्दै बललाई क्रसबारमा ठोक्काएर जाली चुमाए र खेल २–२ मा पुर्‍याए ।

इजिप्टले अन्तिमसम्म संघर्ष गरे पनि इन्जुरी समयमा एन्जो फर्नान्डेजको निर्णायक हेडरले अर्जेन्टिनालाई ३–२ को अविश्वसनीय जित दिलायो ।

आँसु, उत्सव र अमर दृश्य

अन्तिम सिठी बज्नेबित्तिकै केही मिनेटअघि निराश देखिएका मेसीलाई उनका सहकर्मीहरूले काँधमा उठाएर हावामा उछाले ।

अर्जेन्टिनी समर्थकहरूले लामो समयसम्म स्टेडियम नछोडी गीत गाउँदै जितको उत्सव मनाए ।

मेसीका आँसु अब हारका थिएनन्। ती विश्वकपमा फेरि एकपटक चमत्कार रचेको सन्तुष्टिका आँसु थिए ।

विश्वकप इतिहासमा अर्को कीर्तिमान

यो खेलसँगै मेसीले विश्वकपमा नयाँ इतिहास पनि रचे ।

उनी विश्वकपको नकआउट चरणमा लगातार छ खेलमा गोल गर्ने पहिलो खेलाडी बने । जारी विश्वकपमा उनको गोल संख्या आठ पुगेको छ, जुन सन् १९७० मा जर्मनीका गर्ड मुलरले पहिलो पाँच खेलमा गरेको १० गोलयताकै उत्कृष्ट प्रदर्शन हो ।

पछिल्ला नौ विश्वकप खेलमा मेसीले १६ गोलमा प्रत्यक्ष योगदान दिएका छन्- १३ गोल र तीन असिस्ट ।

इंग्ल्यान्डका लागि बढ्यो चुनौती

अर्जेन्टिनाको यो जितले प्रतियोगिताको नकआउट समिकरण पनि बदलिदिएको छ ।

यदि अर्जेन्टिना पराजित भएको भए इंग्ल्यान्डको सम्भावित बाटो निकै सहज देखिन्थ्यो । तर अब इंग्ल्यान्डले क्वार्टरफाइनलमा नर्वेलाई हराए पनि फाइनल पुग्ने यात्रामा मेसी नेतृत्वको अर्जेन्टिनासँग भेट हुन सक्छ ।

पूर्व इंग्लिस गोलकिपर पाउल रोबिन्सनले भनेका छन्, ‘यो अविश्वसनीय थियो । अर्जेन्टिना लगभग प्रतियोगिताबाट बाहिरिसकेको थियो । तर त्यसपछि मेसी आए र खेलको सम्पूर्ण कथा बदलिदिए ।’

जहाँ मेसी छन्, त्यहाँ आशा अझै बाँकी हुन्छ

अर्जेन्टिना केवल मेसीमा निर्भर टोली होइन । यो टोलीमा प्रतिभा, अनुभव र हार नमान्ने मानसिकता प्रशस्त छ। तर जब सबैभन्दा कठिन क्षण आउँछ, त्यही बेला मेसीले आफू किन सर्वकालीन महान खेलाडीमध्ये एक हुन् भन्ने फेरि प्रमाणित गर्छन् ।

तथ्यांकअनुसार रोमेरोले पहिलो गोल गर्दा अर्जेन्टिनाको जित्ने सम्भावना मात्र ०.६ प्रतिशत थियो । तर विश्व च्याम्पियनहरूले असम्भवलाई सम्भव बनाए ।

विश्वकपका थुप्रै नाटकीय खेलहरूमध्ये यो खेल पनि इतिहासमा लामो समय सम्झिइनेछ । र यसको केन्द्रमा फेरि एकपटक थिए- लियोनेल मेसी ।

आँसुबाट सुरु भएको रात अन्त्यमा अर्को अमर विश्वकप कथामा बदलियो । -बीबीसीबाट

 

संसद् स्थगित भएपछि हर्क साम्पाङले फेसबुकमा लेखे– परिपक्वताको अभाव भयो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले संसद् बैठक संचालनमा परिपक्वताको विषय उठाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठक सुरु भएको केही बेरमै स्थगित भयो । त्यसपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

‘संसद अवरुद्ध छ ! परिपक्वतााको अभाव भयो ! के गर्नु !’ उनी लेख्छन्, ‘नेपाली जनताले सांसद चुन्दा बुद्धि पुराउनु है ! अहिले पछुतो भैराछ ! संसार कहाँ पुगिसक्यो ! हामी नेपालीको काम छैन !  Lead by wisdom not by foolishness।’

संसद् बैठकमा पनि साम्पाङले प्ले कार्ड देखाएका थिए ।

बुधबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे । त्यसक्रमा साम्पाङले भने हातमा प्ले काड लिएर देखाएका हुन् ।

संसद् बैठक बस्दा हरेक दिन विपक्षीले विरोध गर्दै आएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का सीमा विवादबारेको अभिव्यक्तिलाई लिएर विपक्षीले विरोध गर्दैआएका हुन् ।

गत १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।,’

प्रधानमन्त्री बालेनको यस्तो अभिव्यक्तिपछि विपक्षीहरूले लगातार विरोध गर्दै आएका छन् । यो विषयमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने विपक्षीको माग छ ।

यो विषयमा मंगलबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत छलफल भएको थियो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा विपक्षी दलहरूले यो विषय कहिलेसम्म लम्बिने हो ? भनेर प्रश्न गरे । सरकारले जवाफ दिएर निकास दिनुपर्ने आग्रह गरेका थिए ।

बुधबार पनि विपक्षी दलका सांसदहरूले यही विषय उठाएका बैठकको सुरुमै विरोध गरेका हुन् ।

सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठ्माण्डौ। सभामुख डिपी अर्यालले एमाले सांसद राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। १५ मिनेट स्थगितपछि सुरु भएको बैठकमा सभामुखले सांसद राईको सबै अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।

बैठकको सुरुमै प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए। यसैबीच नेकपा सांसद राईले सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुन्न ? भन्दै प्रश्न गरेका थिए। लगत्तै उनलाई रोक्दै सभामुखले थप नबोल्न र आसन ग्रहण गर्न निर्देशन दिएका थिए।

त्यसलगत्तै एमालेका अरु सांसदले पनि उठेर विरोध गरेका थिए। यसैबीच रास्वपाकी सांसद टीका सङ्ग्रौला ले सभामुखप्रति अपमान भएको भन्दै नियमापत्ति गरेकी थिइन्।

सो सन्दर्भमा सांसद राईले माफी माग्ने सन्देश पठाएपछि सभामुख अर्यालले पुनः राईलाई बोल्न समय दिएका थिए। तर, राईले उल्टो सभामुखलाई  ‘तपाईँले ५ वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ, तपाईँले कुरा सुन्न पर्दैन?’ अभिव्यक्ति दिएका थिए।

विवादले नयाँ स्वरुप लिएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।

मन्त्रिपरिषद् बैठक बस्दै

बिहीबार मन्त्रिपरिषद्‍को बैठक बस्दैछ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो।

बैठक दिउँसो ३ः३० बजे सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

फिफा विश्वकप : अर्जेन्टिनाको ‘म्याजिकल’ १५ मिनेट, इजिप्ट ३-२ ले पराजित

काठ्माण्डौ- फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ १६) मा साविक विजेता अर्जेन्टिनाले इजिप्टविरुद्ध ३-२ को अविश्वसनीय पुनरागमन जित दर्ता गरेको छ।

खेलको ७९औँ मिनेटसम्म २-० ले पछि परेको अवस्थाबाट अर्जेन्टिनाले अन्तिम १० मिनेटमा गोल वर्षा गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

खेलको १५औँ मिनेटमा यासिर इब्राहिमको हेडरमार्फत इजिप्टले अग्रता लिएको थियो। अर्जेन्टिनाका लागि आजको दिन कठिन देखिन्थ्यो; कप्तान लियोनल मेस्सीको पेनाल्टी प्रहारलाई इजिप्टका गोलरक्षक मुस्तफा शोबेयरले विफल पारे। शोबेयरले पहिलो हाफमै एलेक्सिस म्याक अलिस्टर र जुलियन अल्भारेजका प्रहारलाई समेत रोक्दै इजिप्टको रक्षापंक्ति सम्हालेका थिए। ५९औँ मिनेटमा मुस्तफा जिकोले गरेको गोल भिडियो प्रविधि (भिएआर) मार्फत लिसान्द्रो मार्टिनेजमाथि भएको फाउलका कारण रद्द भए पनि ६७औँ मिनेटमा उनै जिकोले हैसेम हसनको पासमा गोल गर्दै इजिप्टको अग्रता दोब्बर पारेका थिए।

तर, च्याम्पियन टोलीको स्वभाव देखाउँदै अर्जेन्टिना खेलमा फर्कियो। ७९औँ मिनेटमा मेस्सीको क्रसमा क्रिस्टियन रोमेरोले हेड गोल गर्दै कमब्याकको ढोका खोले। त्यसको ४ मिनेटपछि (८३औँ मिनेट) स्वयं कप्तान मेस्सीले पहिलो प्रहारमै गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए। यो सँगै उनले आफ्नो कुल विश्वकप गोल संख्या २१ पुर्‍याएका छन्। जारी विश्वकप संस्करणमा भने उनको गोल संख्या ८ पुगेको छ, जुन सबैभन्दा धेरै हो।

खेल थप समयतर्फ धकेलिने निश्चित भइरहँदा ९०+२ औँ मिनेटमा एन्जो फर्नान्डेजले हेडरमार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३-२ को सनसनीपूर्ण जित दिलाए। बहादुरीपूर्ण प्रदर्शन गरे पनि इजिप्ट ऐतिहासिक जितको नजिक पुगेर स्तब्ध बन्न पुग्यो।

यो जितसँगै साविक विजेता अर्जेन्टिनाले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको छ, जहाँ उसले अब स्विट्जरल्याण्ड वा कोलम्बियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।

खोज्नुहोस