कांग्रेसले माग्यो प्रधानमन्त्री बालेनको जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको जवाफ माग गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह बीचैमा उठेर हिँड्नु अशोभनीय भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ माग गरेको हो ।

कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री बाहिरिनु सामान्य विषय नभएको बताउँदै प्रधानमन्त्रीको जवाफ माग गरिन् ।

“हिजो बिरलै देखिने दृष्य देख्यौँ । प्रधानमन्त्री बाहिरिनु सामान्य विषय होइन,” उनले भनिन्, “सरकारबाट स्पष्ट जवाफ दिइयोस् । पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हो । हामी प्रधानमन्त्रीको जवाफ चाहन्छौँ ।”

नयाँ बजेटको सिलिङ १८ खर्ब ९० अर्ब

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रूपैयाँको बजेट सिलिङ तोकिएको छ । मंगलबार अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले अर्थ समितिको बैठकमा आगामी आवको बजेटको सीमाबारे जानकारी दिएका छन् ।

उनका अनुसार राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको स्रोत र खर्चको आवश्यकतालाई ध्यानमा राखेर यो सिलिङ तय गरेको हो । यसै सिलिङमा रहेर बजेट निर्माण गर्न विभिन्न मन्त्रालय र निकायहरूलाई सीमा पठाइसकिएको उनले जानकारी दिए ।

सचिव उपाध्यायले भने, ‘मन्त्रालयगत बजेट सूचना प्रणालीमा सबै मन्त्रालयले आफ्नो योजना र विवरण प्रविष्ट गरिसकेका छन् । अहिले अर्थ मन्त्रालयले प्रत्येक मन्त्रालयसँग बजेटका प्राथमिकता, अनावश्यक खर्च कटौती र अधुरा आयोजनाका बारेमा छुट्टाछुट्टै छलफल गरिरहेको छ ।’

त्यस्तै, उनले चालू आर्थिक वर्षको पुँजीगत खर्च हालसम्म २६ प्रतिशत भएको छ । अर्थ मन्त्रालयबाट सम्पादन भइरहेका रकमान्तर लगायतका कार्यहरू सम्बन्धित मन्त्रालयबाट नै हुने र यसबाट पुँजीगत खर्चमा बढोत्तरी हुनेगरि जिम्मेवारी दिएको उनले जानकारी दिए ।

राष्ट्रपति र सभामुख बीच भेटवार्ता

काठ्माण्डौ- राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बीचमा भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

अर्थ समितिद्वारा ४ वटा कार्य क्षेत्रगत उपसमिति गठन

काठ्माण्डौ- प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले ४ वटा कार्य क्षेत्रगत उपसमिति गठन गरेको छ ।

समिति सभाकक्ष सिंहदरबारमा मंगलबार बसेको बैठकले सार्वजनिक वित्त, वित्तीय क्षेत्र तथा आर्थिक विकास, निजी क्षेत्र तथा लगानी प्रवर्द्धन र वित्तीय तथा संघीयता अध्ययन उपसमिति गठन गरेको हो ।

उपसमितिको कार्यअवधि ६ महिनाको रहने छ भने आवश्यकताअनुसार वा १ महिना नबढ्ने गरी लिखित प्रगति प्रतिवेदन उपलब्ध गराइ समितिमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरिएको छ।

१०० रुपैयाँभन्दा बढीको वस्तुमा भन्सार कडाइबारे अर्थमन्त्रीले के भने ?

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सीमा क्षेत्रमा आम नागरिकलाई दैनिक उपभोगका सामग्री खरिदमा सहजीकरण गर्ने बताएका छन् । तर, संगठित तस्करी र राजश्व चुहावट नियन्त्रणमा भने कडाइ गर्ने उनको भनाइ छ ।

मंगलबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति बैठकमा मन्त्री वाग्लेले १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था वर्तमान सरकारले ल्याएको नभई दशकौँदेखि कायम रहेको नीति भएको बताए ।

अघिल्लो सरकारको आर्थिक ऐनमै समेत उक्त व्यवस्था उल्लेख भएको स्मरण गराउँदै त्यसको कार्यान्वयनमा विगतमा कमजोरी, बेवास्ता वा नियोजित लापरबाही भएको हुनसक्ने संकेत गरे ।

 मन्त्री वाग्लेको भनाइ :

यो १०० रुपैयाँभन्दा बढी वस्तुमा भन्सार लाग्ने इत्यादि नियमहरू यो हाम्रो सरकारले ल्याएको होइन । यो दशकौँ अगाडिदेखि चलिआएको र योभन्दा अगाडिको सरकारको आर्थिक ऐनमा पनि उल्लेख भएको चिज हो । आजका दिनमा १०० रुपैयाँभन्दा बढी सामानमा बोर्डर सीमानामा बसेर नेपालको सार्वभौमिकताको रक्षा गर्ने, हैन, मुख्यतः तराई मधेसका नेपाली नागरिकहरूलाई दैनिक जीवनयापनमा सहजीकरण गर्ने नै यो सरकारको नीति रहेको छ । त्यसैले त्यसलाई हामी बढाउँछौँ तर त्योसँगै जेलिएर आएको असाध्यै डरलाग्दो विकराल तस्करीको समस्या, राजश्वको चुहावट नियन्त्रण गर्न भने हामी निर्मम ढंगले अगाडि बढ्छौँ ।

राजश्व चुहावटका संघीय, प्रादेशिक, स्थानीय जुन समितिहरू छन्, तिनीहरूलाई हामी पूर्ण रूपमा परिचालन गर्छौं । गृहमन्त्री र अर्थमन्त्रीको द्वैध संयोजकत्वमा रहने एउटा उच्चस्तरीय राजश्व परिचालन कमिटी छ । हामी इलिगल स्मग्लिङ यो र्‍याकेटहरू दिनमा २० चोटी वारपार गरेर आएर नेपाली सीमापट्टिका गोदामहरूमा सामान राखेर हाम्रो स्वदेशी उत्पादनहरूलाई चाहिँ क्षति पुर्‍याउने नियतले गर्ने यो अवैध तस्करी इत्यादिहरूमा हामी निर्मम ढंगले लाग्छौँ । तर, आम नागरिक, पारि गएर साबुन किन्ने, पारि गएर चिनी किन्ने आम दैनिक जीविकोपार्जनका लागि दिनुपर्ने सुविधामा फेरि हामी हदैसम्म लचिलो हुन्छौँ ।

यसबारे हिजो नीति कार्यक्रममा पनि बोलेका छौँ । सीमाना भनेको सिमाना हो । त्यसैले सिमानाको विषयमा अवैध गतिविधिमा निर्मम तर वैध र मानवीय कुराहरूमा हदैसम्मको उदारता हामी अपनाउनेछौँ र यसमा आधुनिक प्रविधिहरू, क्यामेरा, फेस रिकग्निसन डिभाइसहरू, नाइट भिजनका कुराहरू, एआई, यी सबैमा आधुनिक प्रविधिमा हामी जानका लागि यसपालि गृह मन्त्रालयलाई उल्लेख्य रूपमा चाहिँ बजेट विनियोजन पनि गर्दैछौँ । र, सशस्त्र प्रहरी जसले हाम्रो सिमानाको रक्षा गरिरहेको छ, पेट्रोलिङ गर्छ, उनीहरूलाई पनि साधनस्रोत सम्पन्न बनाउन यसपालि हामीले बोर्डर पोस्टहरूदेखि लिएर अन्य उपकरणहरूमा पनि ठूलै विनियोजन गर्ने, लगानी गर्ने योजना बनाएका छौँ । न्युज एजेन्सी नेपाल

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनीत

नेकपा एमाले संसदीय दलको उपनेतामा प्रतिनिधिसभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन्।

एमाले दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोनयन गरेको सचिव महेश बस्नेतले जानकारी दिए। अर्याल एमाले केन्द्रीय सचिव समेत हुन्।

यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत थिए।

राजश्व अनुसन्धान विभाग खारेज गर्ने प्रकृया अघि बढिसक्यो : अर्थसचिव

काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले सरकारले कानुनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको मंगलबार बसेको बैठकमा उपाध्यायले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयले पहिलो निर्णयबाटै १५ वटा असान्दर्भिक तथा समयसापेक्ष नरहेका कानुन खारेजी प्रक्रियामा लगिएको जानकारी दिए ।

“वर्तमान अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णयबाट नै १५ ओटा असान्दर्भिक कानुन खारेजी प्रकृयामा अघि बढेका छन्,” उनले भने ।

निजी क्षेत्र तथा व्यावसायिक समुदायले लामो समयदेखि जटिल र दोहोरो कार्यक्षेत्रका कारण असहज महसुस गर्दै आएको राजश्व अनुसन्धान विभाग खारेज गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको उनले बताए । विभाग खारेजसँगै त्यसले गर्दै आएका कामहरू सम्बन्धित निकायहरूमा हस्तान्तरण गरिने र त्यसका लागि आवश्यक कानुनी तथा प्रशासनिक तयारी भइरहेको उनको भनाइ छ ।

“बिजनेस कम्युनिटीले असहज महसुस गरेको राजश्व अनुसन्धान विभाग खारेज गर्ने प्रकृया अघि बढिसकेको छ,” उनले भने ।

अर्थसचिव उपाध्यायले हाल राजश्व अनुसन्धान विभागले गर्दै आएका जिम्मेवारीहरू राजश्व विभाग, भन्सार विभाग तथा सम्पत्ति शुद्धीकरण विभागमार्फत सञ्चालन भइरहेको जानकारी दिए । अब ती निकायहरूलाई अझ प्रभावकारी बनाउने गरी कामको पुनःसंरचना गरिने बताए ।

“राजश्व अनुसन्धान विभागसम्बन्धी कानुन खारेजीसँगै त्यसका कार्यसम्पादन अन्य विभागहरूमा सारिँदै छ । राजश्व विभाग र भन्सार विभागबाट राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागबाट कार्यसम्पादन गराइँदै छ,” उनले भने, “राजस्व अनुसन्धान विभागको काम अन्य निकायहरूबाट गराउने गरी कानुनी सुधारको काम भइरहेको छ ।”

एउटै प्रकृतिको काम विभिन्न निकायबाट हुँदा प्रशासनिक दोहोरोपन, निर्णय प्रक्रियामा ढिलाइ तथा व्यवसायिक वातावरणमा अनावश्यक दबाब सिर्जना भएको भन्दै उनले अब सरकारले जिम्मेवारी स्पष्ट गर्ने र संस्थागत दक्षता बढाउने दिशामा सुधार अघि बढाएको बताए । –न्युज एजेन्सी नेपाल

लिग–२ः सन्दीपले लिए स्कटल्याण्डको चार विकेट

विश्वकप लिग २ अन्तर्गत जारी खेलमा स्कटल्याण्डविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ।

नेपालको लागि सन्दीप लामिछानेले एक्लैले चार विकेट लिएका हुन्।

स्कटल्याण्डका जर्ज मुन्सेय ७५ रन बनाएर आउट भए। यस्तै,, कप्तान रिचि ४ रनमै समेटिए।

ताजा स्थितीमा स्कटल्याण्डले २५ ओभरमा चार विकेट गुमाएर १२८ रन बनाएको छ।

एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको थियो ।

चाँदीको भाउ पनि आज एकैदिन तोलामा ३ सय ५५ रुपैयाँले बढेको छ । हिजो तोलाको ५ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर तोलाको ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

कञ्चनपुरमा ९६ परिवारलाई लालपुर्जा

 कञ्चनपुर  । कञ्चनपुरमा ९६ परिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति कञ्चनपुरले चार हजार ९८५ लगत सङ्कलन गरिएकोमा आयोग विगठन हुनुपूर्व ९६ परिवारलाई पुर्जा वितरण गरिएको जनाएको हो । भूमि समस्या समाधान आयोग जिल्ला समितिका अनुसार सबैभन्दा बढी बेदकोट नगरपालिकामा ९१ पुर्जा वितरण गरिएको छ । सो कार्यालयका प्रमुख नेत्रप्रकाश पन्तले आयोगका काम अनियमित हुँदा बेदकोटमा एक हजार ७० लगत सङ्कलन गरिएकोमा ९१ पुर्जा वितरण गर्न सफल भएको बताए । बेदकोट नगरपालिकामा ३०८ भूमिहीन दलित, २०५ भूमिहीन सुकुमवासी र नौ हजार २१ अव्यवस्थित बासोबासी गरेर नौ हजार ५३४ भूमिहीन परिवार रहेका छन् ।  त्यसै गरी बेलडाँडी गाउँपालिकाका पाँच परिवारलाई पुर्जा वितरण गरिएको पन्तले बताए । उनले बेलडाँडी गाउँपालिकामा ३८ लगत सङ्कलन गरिएकोमा सात पुर्जा तयार गरिए पनि पाँच पुर्जा वितरण गर्न सकिएको बताए । बेलडाँडी गाउँपालिकामा चार हजार ४०३ अव्यवस्थित बासोबासी, १९५ भूमिहीन सुकुमवासी र १५७ परिवार भूमिहीन दलित गरेर चार हजार ७५५ परिवार भूमिहीन रहेको उनले बताए ।

विसं २०८१ चैतमा आयोगले पूर्णता पाए पनि सुशीला कार्की सरकारले गत २३ असोजको मन्त्रीपरिषद् बैठकमार्फत भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो तर गत कात्तिक १२ गते सर्वोच्च अदालतले सो निर्णय बदर गरेपछि पुनः लालपुर्जा वितरणको काम अगाडि बढाइए पनि गत २२ गते वर्तमान सरकारले नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ जारी गरेसँगै आयोग विगठन भएको हो । आयोग विगठन भएपछि राजस्व बुझाएका चार सय परिवार लालपुर्जाबाट वञ्चित भएका छन् ।

आयोग विगठन गरिएपछि भीमदत्त नगरपालिकामा २०८ पुर्जा, कृष्णपुर नगरपालिकाका ८० पुर्जा र दोधाराचाँदनी नगरपालिकाका १०२ तयार पुर्जा वितरणको काम अलपत्र परेको छ । भूमि समस्या समाधान आयोग जिल्ला समितिले चार हजार ९८५ लगत सङ्कलन गरेकोमा अन्तिम निर्णय भएर चार सय पुर्जा वितरणका लागि मालपोतमा पठाउने काम बाँकी रहेको बताउनुभयो तर आयोग विगठन भएसँगै तयार भएका ती पुर्जा वितरणको काम भने रोकिएको कार्यालयका प्रमुख पन्तले बताए ।  जिल्लामा दुई हजार ७७२ भूमिहीन दलित, चार हजार ६८ भूमिहीन सुकुमवासी र ६७ हजार ७६४ अव्यवस्थित बसोबासी रहेका छन् ।  दोधाराचाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले ९९ परिवारलाई पुर्जा वितरणको काम अन्तिम चरणमा रहे पनि पुर्जा वितरण गर्न नसकिएको बताए  ।

९ महिनामा १६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाण्डौ- नेपाल भित्रिने रेमिट्यान्स अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा १६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भएको हो । राष्ट्र बैङ्कले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को नौ महिना अर्थात् गएको चैतसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले बढेको थियो ।

गएको चैतमा रेमिट्यान्स आप्रवाह दुई खर्ब नौ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ९४ हजार १८६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ९३ हजार २५९ रहेको छ ।

गएको चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको औसत उपभोक्ता मुद्रास्फीति २.३९ प्रतिशत रहेको छ । कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब ७३ करोड रहेको छ ।

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभा वैठक बस्दै

काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्ने छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३–८४ को बजेट समेत प्रस्तुत हुनेछ ।

आईसीसी विश्वकप लिग–२ : स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप लिग–२ अन्तर्गत सातौँ श्रृंखलाको पहिलो खेलमा स्कटल्यान्डविरुद्ध नेपालले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर ब्याटिङको निर्णय लिएका हुन् । दुवै टोली जितका साथ शृंखलाको सुरुआत गर्ने लक्ष्यमा छन् । नेपाल र स्कटल्यान्डबीच हालसम्म १० एक दिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् ।

जसमा नेपालले पाँच र स्कटल्यान्डले चार खेल आफ्नो पक्षमा पारेका छन् । एक खेल भने नतिजाविहीन बनेको छ । त्रिवि क्रिकेट मैदानमा भएको दुईवटा खेलमा भने नेपाल विजयी भएको छ ।

 

सुदूरपश्चिम सरकारले अस्पतालमा खटाएका कर्मचारीलाई मेयरको अवरोध

कैलाली । लम्की चुहा अस्पतालको लागि सुदूरपश्चिम प्रदेश सरकारले खटाएका कर्मचारीलाई लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले काममा अवरोध गरेकी छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले लम्कीचुहा अस्पतालका लागि निमित्त मेडिकल सुपरिटेन्डेन्टमा आठौँ तहका मेडिकल अफिसर डा. कमलेश प्रसाद यादव र छैटौँ तहका लेखा अधिकृत गणेश विष्टलाई खटाएको थियो ।
वैशाख १५ गते सामाजिक विकास मन्त्रालय (प्रदेश सचिवस्तर) को निर्णयबाट यादव र सोही दिन आर्थिक मामिला मन्त्रालयले विष्टलाई कामकाज गर्न खटाउने निर्णय गरेको थियो ।

सरकारले खटाएर सोमबार अस्पतालमा पुगेका  लेखा अधिकृत गणेश विष्ट र  प्रशासन ,प्राविधिक दुवै हेर्ने गरी पुगेका जनस्वास्थ्य निरीक्षक  लक्ष्मी श्रेष्ठलाई नगरप्रहरीले तत्काल त्यहाँबाट हट्न आग्रह गरे ।

मेयरको निर्देशनमा भन्दै नगरप्रहरीले त्यहाँ काम गरिरहेका कर्मचारीलाई दुई पटकसम्म त्यहाँ नबस्न भने । त्यतिबेलासम्म मेसु अस्पताल पुगिसकेका थिएनन् ।

दुई पटकसम्म नगरप्रहरी र त्यसपछि अर्का एक जनालाई सन्देश पठाउँदा पनि दुई कर्मचारी मेयरको कार्यकक्षमा नगएपछि स्वयम् मेयर उपस्थित भएकी थिइन् ।

‘यहाँ नबस्नुहोस्, नगर प्रमुखज्यूले बोलाउनु भएको छ भनेर दुई पटकसम्म नगरप्रहरी आउनुभएको थियो,’ एक कर्मचारीले भने, ‘मेसु आइपुग्नु भएको थिएन । हामीले उहाँ आएपछि आउँला भन्यौँ । त्यसपछि फेरि एकजनालाई बोलाउन पठाउनु भयो । त्यसपछि पनि हामी नगएपछि मेयरसाव आफैँ आउनुभयो ।’

प्रदेशबाट खटिएका कर्मचारी भएकै स्थानमा पुगेर मेयर शाहीले तत्काल यहाँबाट बाहिरिन आग्रह गरिन् । बरु उनले आफ्नो कार्यकक्षमा आउन आह्वान गरिन् ।

‘यो नगर अस्पताल हो । यसको अध्यक्ष म हुँ,’ उनले प्रदेशबाट खटिएर आएका कर्मचारीलाई भनिन्, ‘तपाईंहरूले हामीसँग समन्वय गर्नुपर्छ । आउनुहोस्, मेरो कार्यकक्षमा बसौँ, कुरा गरौँ ।’

निमित्त मेडिकल सुपरिटेन्डेन्ट नपुगेको हुँदा मेयरको कार्यकक्षमा नआएको बताएका उनीहरू पछि मेसु पुगेपछि मेयरको कार्यकक्षमा गएर छलफल गरेका थिए । छलफलमा पनि मेयर शाहीले प्रदेश सरकारले बनाएको समिति वैधानिक नभएको र उक्त अस्पतालको अध्यक्ष आफू रहेको भन्दै आफूसँग समन्वय गर्न सुझाव दिएकी थिइन् ।

सुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक अस्पताल सञ्चालनका लागि चालु आर्थिक वर्षमा साढे चार करोड रुपैयाँ विनियोजन गरेको छ । त्यसका लागि समेत पुगेका कर्मचारीहरूलाई मेयरले उक्त बजेट बनाउँदा प्रदेश सरकारले बनाएको समितिसँग नभई आफूसँग समन्वय गर्न सुझाव दिएकी थिइन् । ‘अस्पताल हाताभित्र नआउनु होला, यसको एमओयू भएको छैन,’ मेयर शाहीले भनेकी थिइन्, ‘बजेट बनाउँदा मसँग समन्वय गर्नुहोला । प्रदेश सरकारले बनाएको समिति वैधानिक होइन ।’

लम्कीचुहा नगरपालिकाले सञ्चालन गर्दै आइरहेको उक्त अस्पताल हस्तान्तरणको अहिलेसम्म सम्झौता भएको छैन । अस्पताल हस्तान्तरण नहुँदै सुदूरपश्चिम प्रदेश सरकारले अस्पताल व्यवस्थापन समिति गठन गरेको थियो । प्रदेश सरकारले रामबहादुर विष्ट अध्यक्ष रहने गरी ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वारलाई सदस्यमा नियुक्त गरेपछि मेयर क्रुद्ध छिन् ।

अस्पताल प्रदेशलाई हस्तान्तरण नभएका कारण अहिले नगर प्रमुख सुशीला शाहीको अध्यक्षतामा रहेको विकास बोर्ड पनि यथावत् छ ।

एउटै अस्पतालमा दुई समिति सक्रिय हुँदा अहिले प्रदेशका कर्मचारीहरूलाई त्यहाँ काम गर्ने वातावरण नभएको उनीहरूको बुझाइ छ । मेयरले समस्या समाधान नहुँदासम्म अस्पतालमा नआउन भनेपछि प्रदेशबाट जिम्मेवारी लिएर अस्पताल गएका कर्मचारीहरू सोमबार त्यसै फर्किए ।

प्रदेश सरकारले मुठभेड निम्त्याउन खोज्योः मेयर शाही
लम्की चुहा नगरपालिकाकी मेयर शुशीला शाहीले प्रदेश सरकारले कर्मचारी पठाएर मुठभेड निम्त्याउन खोजेको बताएकी छन् ।

सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले मुख्यमन्त्री र उनी निकटका व्यक्तिबाट पछिल्लो समय देखाइएको शैली लोकतान्त्रिक संस्कारभन्दा षड्यन्त्रको अभ्यासजस्तो देखिएको बताएकी छन् ।

‘लुकेर रेकर्डिङ गर्ने, मुठभेडको वातावरण सिर्जना गरेर तनाव भड्काउन खोज्ने, नियम–कानुनलाई कुल्चेर एकलौटी ढंगले हस्तक्षेपकारी नीति लागू गर्ने प्रवृत्तिले सरकारको वास्तविक चरित्र उजागर गरेको छ,’ उनले लेखेकी छन्, ‘अझ गैरकानुनी समिति बनाएर अस्पतालजस्तो संवेदनशील क्षेत्रको हाताभित्र चोर शैलीमा प्रवेश गर्नु सत्ता दम्भको चरम नमुना हो । जनताको करबाट चलेको सरकार नै कानुन मिच्दै हिँड्ने हो भने नागरिकले न्याय र सुशासन कहाँ खोज्ने ?’

मेयर शाही कांग्रेसबाटै निर्वाचित हुन् । कांग्रेसबाटै निर्वाचित भएर मुख्यमन्त्री भएका कमलबहादुर शाहलाई उनले सत्ता जोगाउन लागेको आरोप समेत लगाएकी छन् ।

‘यो घटनाले मुख्यमन्त्रीको नेतृत्व क्षमता होइन, सत्ता जोगाउन जुनसुकै हद पार गर्न तयार कमजोर मानसिकता छर्लङ्ग पारेको छ । लोकतन्त्रको आवरण ओढेर अधिनायकवादी शैली अपनाउने यस्तो कर्तुतले अन्ततः जनताको विश्वास होइन, केवल अविश्वास र विरोध मात्र कमाउनेछ,’ उनले लेखेकी छन् ।
वैशाख १४ गते सर्वोच्च अदालतले अस्पताल विवादबारे परेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

गत चैत २४ गते नगरपालिकाले सर्वोच्च अदालतमा लम्कीचुहा अस्पतालको विवादबारे अन्तरिम आदेश माग्दै रिट दायर गरेको थियो ।

सर्वोच्चको निर्णयसँगै प्रादेशिक अस्पताल सञ्चालनबारे बाटो खुलेको हो । तर, प्रदेश सरकारले पठाएका कर्मचारीहरूलाई मेयरले बाधा पु¥याएपछि फेरि अस्पतालको विवाद चर्किने देखिएको छ ।

यस्तो छ विवादको अन्तर्य
यसअघि लम्कीचुहा नगरपालिकाले सञ्चालन गर्दै आएको अस्पताललाई सोही नगरपालिकाको सहमतिमा प्रदेशस्तरीय बनाउने निर्णय गरिएको थियो ।

नगरपालिकाकै निर्णयानुसार प्रदेश सरकार हुँदै संघीय सरकारले पनि उक्त अस्पताललाई प्रदेशस्तरीय बनाउन स्वीकृति प्रदान गरिसकेको थियो तर प्रदेश सरकारले अस्पतालमा व्यवस्थापन समिति गठन गरेपछि नगरपालिकाले सम्झौताविना समिति बनाइएको भन्दै विरोध जनाएको छ ।

लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीको अध्यक्षतामा गतवर्ष असोज १७ गते बसेको अस्पताल विकास समितिको बैठकले १५ शय्याको रूपमा सञ्चालनमा रहेको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

फागुन २१ गते सुदूरपश्चिम प्रदेश सरकारले र जेठ २६ गते संघीय मन्त्रिपरिषद् बैठकले ५० शय्यामा स्तरोन्नति गर्दै प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेका थिए ।

प्रदेश सरकारले मंसिर १२ गते अस्पतालका लागि ओएन्डएम स्वीकृत गर्दै पुस २० गते परशुराम नगरपालिका र लम्कीचुहा नगरपालिकालाई सम्झौताका लागि पत्राचार गरेको थियो ।

परशुराम नगरपालिकाबाट नगर प्रमुख र प्रशासकीय अधिकृत उपस्थित भई सम्झौता गरेका थिए भने लम्कीचुहाबाट कोही पनि सम्झौता गर्न उपस्थित भएनन् ।

तेस्रो पटकसम्म पत्राचार गर्दा पनि सम्झौता गर्न नआएपछि सरकारले समिति गठन गरेको बताएको थियो ।

प्रदेश सरकारले अस्पताल व्यवस्थापन समिति गठन आदेशका आधारमा रामबहादुर विष्टलाई अध्यक्ष तथा सशिरा शाही, धीरेन्द्र थापा, भीम थारु र हिमाल स्वारलाई सदस्यमा नियुक्त गरेको थियो । यता नगर प्रमुख सुशीला शाहीले भने आफूलाई छलफलका लागि नबोलाइएको बताएकी छन् ।

कर्मचारी समायोजन र आर्थिक हिसाबबारे छलफल नगरी समिति गठन गरिएकोप्रति उनले असन्तुष्टि व्यक्त गरिन्। साथै, समितिको गठनमा प्रदेश सरकारले समन्वय नगरेको उनको दाबी छ ।

प्रदेश सरकार र स्थानीय तहबीचको विवाद लामो समयसम्म चल्दा अस्पतालको सेवा प्रवाहमा समस्या पर्ने देखिन्छ ।

मुख्यमन्त्री शाह र मेयर शाही दुवै कांग्रेसका नेता हुन् र एउटै वडाका बासिन्दा पनि हुन् । पहिले निकट सम्बन्ध रहे पनि पछिल्लो समय उनीहरूबीच तिक्तता बढ्दै गएको छ । उक्त व्यक्तिगत विवादको प्रभाव अस्पताल व्यवस्थापनमा समेत देखिएको छ ।

मुख्यमन्त्री र मेयरबीचको विवादका कारण प्रदेश सरकारले विनियोजन गरेको बजेट फ्रिज हुने जोखिम समेत बढेको छ ।

रवि ओडको सम्बन्ध विच्छेदको मुद्दा अदालतद्वारा अस्वीकृत

धनगढी । नेपाल आइडल सिजन–२ का विजेता, गायक रवि ओडको सम्बन्ध विच्छेदको मुद्दामा कञ्चनपुर जिल्ला अदालतले उनको दाबी नपुग्ने फैसला सुनाएको छ ।

श्रीमतीसँग कानुनी रूपमा छुट्टिन पाउँ भन्दै ओडले दायर गरेको मुद्दामा अदालतले डिभोर्स नहुने ठहर गरेको हो । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश सूर्यप्रसाद भण्डारीको एकल इजलासले साेमबार उक्त मुद्दाको अन्तिम सुनुवाइ गर्दै ओड र उनकी श्रीमतीबिचको सम्बन्ध विच्छेद नगर्ने फैसला गरेको छ ।

अदालतका शाखा अधिकृत एवं सूचना अधिकारी राजेन्द्रबहादुर चन्दका अनुसार, दुवै पक्षको बहस र प्रमाणका आधारमा अदालतले सम्बन्ध विच्छेद नहुने निर्णय लिएको हो । ‘अदालतले रविको माग बमोजिम सम्बन्ध विच्छेदको फैसला गरेको छैन, यद्यपि फैसलाको पूर्ण पाठ तयार हुन भने केही समय लाग्नेछ।’, उनले भने ।

सूचना अधिकारी चन्दका अनुसार विस्तृत फैसला पूर्ण पाठ तयार भई आउन करिब एक महिना लाग्न सक्छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका निवासी रवि ओडका लागि यो दोस्रो कानुनी झमेला थियो। यसअघि उनकी श्रीमतीले रवि विरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै २०८० चैत २० गते इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।

उक्त मुद्दामा सुरुमा पाँच लाख रुपैयाँ धरौटीमा छुटेका ओडलाई २०८१ असारमा अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको थियो। वैवाहिक बलात्कारको मुद्दा जिते पनि आफूहरू सँगै बस्न नसक्ने भन्दै रविले सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाएका थिए । तर, यस पटकको अदालती फैसला भने उनको विपक्षमा आएको छ ।

नेपाल आइडल सिजन–२ को उपाधि जितेपछि नेपाली साङ्गीतिक आकाशमा चम्किएका ओड गायन र अभिनय दुवै क्षेत्रमा उत्तिकै सक्रिय छन् । उनका थुप्रै गीतहरू चर्चामा छन् भने दर्जनौँ म्युजिक भिडियोमा उनले आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन्। व्यक्तिगत जीवनका यी उतारचढावका बिच पनि उनको कलाकारिता यात्रा भने निरन्तर जारी छ।

डा. खनालको संयोजकत्वमा अनेसासको निर्वाचन समिति गठन

कोलोराडो, १२ मे ।
अनेसास केन्द्रीय कार्यसमितिको शनिवार बसेको बैठकले आगामी २०२६२०२८ कार्यकालको केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न डा.चूडामणि खनालको संयोजकत्वमा तीन सदस्य निर्वाचन समितिको गठन गरेको छ।

समितिका अन्य सदस्यमा डा. मुकुन्द वाग्ले पथिक र अम्बिका लोहनी रहेकी छन् । निर्वाचित समितिले आगामी भानु जयन्तीबाट आफ्नो कार्यकाल शुरु गर्नेछ ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेर नसक्दै हिँडे प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह संसद बैठक हलबाट बाहिरिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

तर, राष्ट्रपतिले सो नीति तथा कार्यक्रम नसक्दै उनी बाहिरिएका हुन् ।

सरकारले ड्रोन तथा नाइट भिजन क्यामेराबाट सीमा नाकाको निगरानी गर्ने

काठमाडौं । सरकारले ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग गरी सीमा नाकामा अवैध गतिविधि नियन्त्रण गरिने जनाएको छ ।

आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त विषय राखिएको हो ।“सीमा नाकाहरूमा अनुहार पहिचान प्रणाली, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार स्थापना गरिनेछ  । ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गरिनेछ,” राष्ट्रपति रामचन्द्र पौडेलले भने ।

सीमा क्षेत्र विकास कार्यक्रम मार्फत नागरिक सुरक्षा सम्बन्ध सुदृढ बनाइने बताए । सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने नीति कार्यक्रममा उल्लेख छ ।

आउँदाे दशकमा ३० हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाण्डौ- सरकारले आउँदो दशकमा ३० हजार मेगावाट बिजुली उत्पादन गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यो लक्ष्य हासिल गर्न ऊर्जा, वन, भूमि र वातावरणसम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गरिने बताए ।

उनले बिजुली उत्पादन, वितरण, प्रसारण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने उल्लेख गरे । उनका अनुसार ऊर्जामा आधारित उद्योग प्रवर्द्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गर्ने सरकारको लक्ष्य रहेको छ ।

राष्ट्रपति पौडेलले अन्तरदेशीय ऊर्जा व्यापार सम्झौताहरूलाई दीर्घकालिन लगानी आकर्षित गर्ने माध्यम बनाइने बताए ।

सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा शेयर लगानीको विकल्प प्रदान गर्ने नीति पनि लिएको छ ।

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

काठमाण्डौ – सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी ‘सफ्टवेयर’ ‘डिजिटल’ सेवालाई प्रवर्द्धन गर्ने जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय सदनको संयुक्त बैठकमा आज सरकारको आर्थिक वर्ष २०८३र०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यो जानकारी गराएका हुन् । सरकारले साइबर सुरक्षा, हरित कम्प्युटिङ र एआई कम्पुटेशन निर्यातलाई प्रवर्द्धन गर्ने उनले उल्लेख गरे ।

‘डिजिटल पार्क’ उच्च क्षमताका ‘डेटा सेन्टर’ र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई ‘टेक हब’ का रूपमा अघि बढाइने राष्ट्रपति पौडेलले बताए । ‘सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत लगानी सहजीकरण, सरकारी सहलगानीसहित नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराइनेछ’, उनले भने ।

स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने

काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने घोषणा गरेको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रत्स्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य बिमाको पुनः संरचना गरिने बताएका छन् ।

साथै, दुर्गम क्षेत्रका नागरिकहरूलाई विशेषज्ञ परामर्श सेवा उपलब्ध गराउन टेलिहेल्थ सेवा सञ्चालन गरिने बताएका छन् ।

उनले स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण र रोग नियन्त्रणका लागि रोग नियन्त्रण केन्द्र स्थापना गरिने बताएका छन् ।

संघीय तहमा महामारी नियन्त्रण र सार्वजनिक स्वास्थ्य अनुसन्धानका लागि राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला निर्माण गरिने योजना रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

तीन तहमा ‘बालबालिका उत्तरदायी बजेट कोड’ लागु गर्दै सरकार

काठमाडौं । तीनै तहका सरकारका बजेटमा ‘बालबालिका उत्तरदायी बजेट कोड’ लागु गर्ने घोषणा गरिएको छ । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घोषणा गरेको हो ।

“तीनवटै तहका सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागु गरिनेछ,” सोमबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, “आगामी आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गरिनेछ ।”

२०८७ सम्ममा सबै नागरिकलाई स्वच्छ खानेपानीको सुविधा सुनिश्चित गरिने

काठमाडौं । सरकारले वि.स.२०८७ सम्ममा सबै नागरिकलाई स्वच्छ खानेपानी तथा आधारभूत सरसफाइ सुविधा सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, “संवत २०८७ सम्ममा सबै नागरिकलाई स्वच्छ खानेपानी तथा आधारभूत सरसफाइ सुविधा सुनिश्चित गर्ने लक्ष्यसहित तीनवटै तहका सरकारको समन्वयमा एकीकृत कार्यक्रम कार्यान्वयन गरिनेछ ।”

ठूला अधुरा आयोजना शीघ्र सम्पन्न गर्ने बताए । तराई मधेसमा आर्सेनिकमुक्त पानी, डिप बोरिङ, सतही जल प्रणाली विकास गरिने बताए ।

करको दर घटाउने सरकारको घोषणा

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षदेखि करको दर घटाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा सोमबार सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

नापी र मालपोत सेवालाई एकीकरण गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले नापी र मालपोत सेवालाई एकीकरण गर्ने नीति अवलम्बन गरेको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन् ।

“नापी र मालपोत सेवालाई एकीकरण गरी जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा सबै स्थानीय तहमा विस्तार गरिनेछ,” पौडेलले भने ।

आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख र अद्यावधिक गर्ने प्रक्रिया अगाडि बढाउने उनले घोषणा गरे ।

सरकारले नेपाल कार्बन प्राधिकरण गठन गर्ने

काठमाडौँ । सरकारले वन क्षेत्रमा रेड प्लस कार्यक्रम सञ्चालन गर्न नेपाल कार्बन प्राधिकरण गठन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्राधिकरण गठन गर्ने बताएका हुन् ।

नीति कार्यक्रममा सामुदायिक वनलाई कार्बन क्रेडिटबाट प्रत्यक्ष लाभ दिने घोषणा भएको छ ।

भन्सारमा हुने न्यून विजकीकरण नियन्त्रण गरिने

काठमाडौँ । सरकारले भन्सार नाकामा हुने न्यून विजकीकरण नियन्त्रण गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त जानकारी दिएका हुन् ।

‘भन्सार नाकामा न्यून विजकीकरण नियन्त्रण गरिनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘मूल्य अभिवृद्धि लगायत सबै करको प्रणाली स्वचालित बनाइनेछ ।’

आयात वा निर्यात गरिने सामानको वास्तविक खरिद मूल्यभन्दा निकै कम मूल्य देखाएर भन्सारमा नक्कली बिल पेस गर्ने गैर कानुनी कार्य मानिन्छ । सरल भाषामा भन्नुपर्दा, सामान किन्दा धेरै पैसा तिरेको भए पनि भन्सारमा थोरै पैसाको मात्र बिल देखाउने काम नै न्यून विजकीकरण हो ।

सार्वजनिक संस्थानको वर्गीकरण गरिने

काठमाडौँ । सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानको वर्गीकरण गर्ने विषय उल्लेख छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सार्वजनिक संस्थानको वर्गीकरण, निजी क्षेत्रसँग सहकार्य गर्ने र क्षमता बढाउने र गाभ्ने विषय उल्लेख छ ।

खोज्नुहोस