बिहीबार १०.०७ अंकले घट्यो नेप्से

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक १०.०७ अंकले घटेर २७३०.१७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३७ कम्पनीको ७९ लाख ५८ हजार ७५२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, एशियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

कृषि समितिद्वारा सात सदस्यीय उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विभिन्न विषयगत क्षेत्रको अध्ययन तथा प्रतिवेदन तयारीका लागि सात सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिका सभापति अशोक चौधरीले बैठकले प्रादेशिक प्रतिनिधित्व र विषयगत विशिष्टतालाई ध्यानमा राख्दै उक्त उपसमिति गठन गरेको हो । उपसमिति गठनका क्रममा सभापति चौधरीले केवल प्रतिनिधित्व मात्र नभई सम्बन्धित विषयमा अध्ययन गरी ठोस प्रतिवेदन तयार पार्न सदस्यहरूको चयन गरिएको स्पष्ट पारे ।

नवगठित उपसमितिमा डा. सुजता तामाङ, खगेन्द्र कर्ण, ज्ञानेन्द्र महत, गंगा लक्ष्मी अवाल, चन्देश्वर मण्डल, ताहिर अली बार र प्रेमबहादुर बयक सदस्य छन् ।

समितिले कृषि, वन लगायतका क्षेत्रका लागि आवश्यकताअनुसार थप उपसमितिहरू समेत निर्माण गर्दै लैजाने लक्ष्य राखेको छ । उपसमितिको गठनसँगै समितिको बैठक यही जेठ १ गते बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको छ । न्युज एजेन्सी नेपाल

७ वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर

वाणिज्य बैंकहरूले जेठ महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन्। बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहनु र कर्जा प्रवाह न्यून हुनुका कारण ब्याजदर निरन्तर ओरालो लागेको हो।

बैंकहरूले हरेक महिनाको अन्तिम दिन आगामी महिनाका लागि लागू हुने ब्याजदर सार्वजनिक गर्ने प्रचलनअनुसार बिहीबार जेठ महिनाको नयाँ ब्याजदर सूची सार्वजनिक गरेका हुन्।

वैशाखको तुलनामा जेठमा ७ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ बैंकले अघिल्लो महिनाकै दर कायम राखेका छन्। केही बैंकले दर घटाएपछि समग्र औसत ब्याजदरमा कमी आएको हो।

व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैंकहरूले दिने अधिकतम ब्याजदर औसतमा ०.०५९५ प्रतिशत बिन्दुले घटेको छ। वैशाखमा औसत अधिकतम ब्याजदर ४.४०२५ प्रतिशत रहेकामा जेठमा ४.३४३ प्रतिशतमा झरेको छ। यो दर चैत महिनाको उपभोक्ता मुद्रास्फितिभन्दा पनि कम रहेको छ।

अधिकांश बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४ देखि साढे ४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनाको उपभोक्ता मुद्रास्फिति ४.४७ प्रतिशत रहेको थियो। मुद्दती निक्षेपको अधिकतम ब्याजदर नै मुद्रास्फितिभन्दा तल झरेपछि वित्तीय क्षेत्रमा यसबारे चासो बढेको छ।

सरकारको नीति तथा कार्यक्रममा भदौं २३ छ, २४ छैन : सांसद कँडेल

काठमाडौं :  प्रतिनिधिसभाका सांसद पुष्पराज कँडेलले सरकारको नीति तथा कार्यक्रमले देश कुन दिशामा जाने भनेर केहि पनि बोल्न नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै सांसद कँडेलले सरकारको नीति तथा कार्यक्रम संविधानको मर्म अनुसार आउन नसकेको बताएका छन् ।

उनले अहिले १६ आवधिक योजना चलिरहेको जानकारी दिंदै सरकारको नीति तथा कार्यक्रममा यसको शब्द समेत नपरेको गुनासो गरेका छन् । उनले सरकार योजनावद्ध रुपमा जाने भन्ने कुरा नीति तथा कार्यक्रममा नदेखिएको बताउँदै योजना आयोगलाई एउटा थिंक ट्याङ्गका रुपमा मात्र लिइएको बताए ।

सांसद कँडेलले नीति तथा कार्यक्रममा शब्दहरु धेरै रहेको बताउँदै भदौ २३ को घटनाका बारेमा धेरै चर्चा रहेको बताउँदै भर्दौ २४ को विषयमा मौन रहेको बताएका छन् । उनले सरकारको १०० दिने प्रतिवद्धताको सातौं बुँदामा सात दिनभित्रमा भदौं २४ गतेको घटनामा छानविन आयोग बनाउने भनिएको भए पनि आज ४६ दिन बढी बितिसक्दा समेत त्यो हुन नसकिरहेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा वैज्ञानिक चुरे उत्खनन्बारे उल्लेख भए पनि यसको प्रभाव र असरका विषयमा केहि नखोलिएको सांसद कँडेलले बताए ।

मूल्य समायोजनको माग गर्दै निर्माण व्यवसायी आन्दोलित

काठमाडौं : विभिन्न माग राख्दै आन्दोलनरत निर्माण व्यवसायीहरुले सरकारी निकायमा धर्ना दिएका छन् । अत्यधिक मूल्यवृद्धिका कारण निर्माण कार्यमा परेको प्रभाव समाधान गर्न माग गर्दै आन्दोलनरत निर्माण व्यवसायीहरुले बिहीबार देशभरका जिल्ला प्रशासन कार्यालय, जलश्रोत तथा सिंचाइ विभाग, सडक विभाग लगायतका सरकारी निकायमा धर्ना दिएका हुन् ।

उनीहरूले बजार मूल्यवृद्धि अनुसार नै ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, मूल्यवृद्धिका कारण काम रोखिएका आयोजनाहरुको म्याद थप गरी २०८४ असारसम्म काम गर्ने वातावरण मिलाउनुपर्ने, आगामी बजेटमा आयोजनाहरूको स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका छन् ।

ललितपुरस्थित जलस्रोत तथा सिंचाइ विभागमा धर्नाका क्रममा नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमिरेले मूल्यवृद्धिका कारण अहिलेको असारसम्म २३ अर्बभन्दा बढी घाटा हुने देखिएकाले उक्त घाटा पूर्ति निर्माण व्यवसायीले मात्रै गर्न नसक्ने बताए । ठेक्को मूल्य समायोजन नभए कुनै पनि आयोजनाहरू अघि बढाउन नसकिने उनले बताए।

 

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण देशभरका अधिकांश आयोजनाहरु बन्द भएकाले राज्य गम्भीर भएर व्यवसायीको समस्या सम्बोधन गर्न अग्रसर हुनुपर्ने उनीहरूको माग छ । उनीहरूले आफूहरूको माग सुनुवाइ नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए।

सुकुम्बासी बस्ती हटाउने तयारीविरुद्ध महेन्द्रनगरमा प्रदर्शन

कञ्चनपुर । सरकारले अध्ययनबिनै सुकुम्बासी बस्ती खाली गराउन खोजेको भन्दै त्रसित बनेका सुकुम्बासीहरूले महेन्द्रनगरमा प्रदर्शन गरेका छन् । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले बस्ती उठीबास गराउने सरकारी निर्णयविरुद्ध बिहीबार महेन्द्रनगर बजार परिक्रमा गर्दै शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।

उनीहरूले “जमिन कसको ? जोत्नेको”, “भूमि समस्या समाधान गर”, “सुकुम्बासीलाई लालपुर्जा दे”, “दमन बन्द गर”, “सुकुम्बासीलाई झुक्याउन पाइँदैन, डोजर हामीलाई चाहिँदैन” लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

भूमिहीन सुकुम्बासी सङ्घका केन्द्रीय सचिव आनन्द धामीले सुकुम्बासी बस्तीमा पुगेर सरकारी प्रतिनिधि तथा प्रहरीले पटक–पटक सोधपुछ गर्दै हैरानी दिने गरेको भन्दै आफूहरू त्रसित बनेको बताए ।

देशव्यापी कार्यक्रमअन्तर्गत बिहीबार महेन्द्रनगरमा पनि प्रदर्शन गरिएको उहाँले जानकारी दिए । महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा बसोबास गर्दै आएका करिब ६ सय भूमिहीन सुकुम्बासी पछिल्लो समय त्रसित बनेपछि शान्तिपूर्ण आन्दोलनमा उत्रिएको उनको भनाइ छ ।

सरकारले न्यायोचित ढङ्गले छानबिन गरेर उचित विकल्प दिएपछि मात्रै बस्ती खाली गराउनुपर्ने उनले माग गरे । हाल बसोबास गर्दै आएको स्थानमै जमिन उपलब्ध गराउन सकिने भए सोही ठाउँमा व्यवस्था गर्नुपर्ने, अन्यथा विकल्पसहित उचित स्थान उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

बस्ती खाली गर्न सूचना जारी गरिएपछि आन्दोलनमा उत्रिनुपरेको सालघारीस्थित ग्रिन टोलका उपाध्यक्ष मोतीलाल ओडाउले बताए । भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले उचित व्यवस्थापनबिना उठीबास गराउन खोजिए सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

ज्ञानेन्द्र शाहीले खोजे गृहमन्त्री

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सुकुम्वासी समस्या र यसक्रममा भएका घटनाको जवाफदेहिताका निम्ति राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने माग गरेका छन् ।

बिहीबार (वैशाख ३१) बिहान बसेको समिति बैठकमा नेता शाहीले सुकुम्वासी बस्ती व्यवस्थापनका नाममा प्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाए । यो विषयमा गृह प्रशासनको नेतृत्वले नै स्पष्टीकरण दिनुपर्ने उनले माग गरे ।

उनले सुकुम्वासी बस्ती हटाउने क्रममा सुत्केरीलाई घरबाट घिसारिएको र बालबालिकालाई पुस्तक समेत ल्याउन नदिई उठाइएको घटनाप्रति गम्भीर आपत्ति जनाए ।

“सुकुम्वासीको समस्या समाधान गर्ने र प्रहरी परिचालन गर्ने जिम्मेवारी गृह मन्त्रालयको हो,” उनले भने, “सुत्केरी र नाबालकमाथि भएको व्यवहारको जवाफ हामीलाई कर्मचारीबाट होइन, गृहमन्त्रीबाटै चाहिन्छ ।”

उनले समितिका सभापतिलाई ध्यानाकर्षण गराउँदै विषयवस्तुलाई गम्भीरतापूर्वक लिन र ‘टालटुल’ गर्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे । “सकेसम्म यस्तो संवेदनशील विषयमा प्रधानमन्त्री नै आउनुपर्ने हो, नभए गृहमन्त्री आउनैपर्छ,” उनले भने, “तर गृहमन्त्रीलाई बोलाउनुको साटो उल्टै सञ्चारकर्मीलाई बाहिर निकाल्नु प्रजातान्त्रिक पद्धति होइन ।”

नेता शाहीले देशको बहालवाला गृहमन्त्री वा मन्त्रालयको कार्यभार सम्हालेका जिम्मेवार व्यक्ति उपस्थित नभएसम्म समितिमा छलफलको औचित्य नरहने स्पष्ट पारे । उनले बहुमतका आधारमा प्रक्रिया अघि बढाउन खोजिए पनि त्यो लोकतान्त्रिक संस्कार र पद्धतिविपरीत हुने टिप्पणी गरे ।

उनले समितिको बैठक सञ्चालनको समयप्रति पनि असन्तुष्टि व्यक्त गरे । न्युज एजेन्सी नेपाल

लालपुर्जा नपाउन्जेल सुकुम्वासीलाई मासिक १५ हजार रुपैयाँ भाडा दिने सरकारको तयारी

काठमाडौं । सरकारले ‘वास्तविक’ सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका निम्ति मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार (वैशाख ३१) सरकारी प्रतिनिधिले यस्तो जानकारी गराएका हुन् ।

समिति सभापति हरि ढकालका अनुसार, सहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीले सुकुम्वासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेस गर्दै उक्त योजनाबारे जानकारी गराएका थिए ।

हाल काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनको पहिचानका निम्ति ‘स्क्रिनिङ’ भइरहेको र उक्त प्रक्रिया सकिएलगत्तै ‘फास्ट ट्रयाक’बाट लालपुर्जा वितरण गर्ने सरकारको लक्ष्य छ । सहरी विकास मन्त्रालयले यो प्रयोजनका निम्ति आवश्यक स्रोतको सुनिश्चितता भइसकेको समितिलाई जानकारी गराएको छ ।

साथै, होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी परिवारका बालबालिकाको शिक्षाका निम्ति विद्यालय बसको व्यवस्था गरिएको र सुत्केरी महिलाको पोषणका लागि उचित प्रबन्ध मिलाइएको सरकारी पक्षको भनाइ छ ।

“काठमाडौंको सन्दर्भमा होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको स्क्रिनिङ भइरहेको छ । उहाँहरूले लालपुर्जा नपाउन्जेलसम्मका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा दिने सरकारको तयारी छ र यसका लागि स्रोत सुनिश्चित भइसकेको जानकारी प्राप्त भएको छ,” सभापति ढकालले भने ।

सरकारले प्रस्तुत गरेको विवरण र कार्यप्रगतिको वस्तुस्थितिको यथार्थ बुझ्न संसदीय समितिले स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको छ । न्युज एजेन्सी नेपाल

नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न विश्व बैंकको चासो

काठमाडौं : विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा नेपालका लागि विश्व वैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) डेभिड सिस्लेनले शिष्टाचार भेटवार्ता गर्दै नेपालको शिक्षामा थप लगानी गर्ने इच्छा व्यक्त गरेका हुन् ।

भेटमा शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणका विषयमा विस्तृत छलफल भएको थियो । भेटवार्ताका क्रममा विश्व बैंकले नेपालको शिक्षा क्षेत्र, विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ । दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो भेटमा शिक्षामन्त्री पोखरेलले मन्त्रालयका वर्तमान प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, फाउन्डेसन लर्निङ सुदृढीकरण र शिक्षामा डिजिटाइजेशन तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको बताए ।‘गुणस्तरीय, समावेशी र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माण वर्तमान सरकारको मुख्य उद्देश्य हो’, मन्त्री पोखरेलले भने, ‘विकास साझेदार संस्थाहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाइनेछ ।’

भेटमा डिजिटल शिक्षाको पहुँच विस्तार, सिकाइ उपलब्धि सुधार र शिक्षा प्रणालीलाई समयानुकूल बनाउने विषयमा समेत छलफल भएको थियो ।

राज्य व्यवस्था समितिले सुकुम्बासी राखिएको ‘होल्डिङ सेन्टर’ अनुगमन गर्ने

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका ‘होल्डिङ सेन्टर’ को अवलोकन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बनेपाको होल्डिङ सेन्टरमा अहिलेसम्म कुनै समिति अनुमनमा नपुगेको जानकारी प्राप्त भएकाले बनेपा लगाएतका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरिएको सभापति हरि ढकालले जानकारी दिए ।

बैठकमा काठमाडौँको भूमिहीन सुकुम्बासी व्यवस्थापनमा सरकारले गरिरहेको कार्यका बिषयमा शहरी बिकास मन्त्रालय लगायत सरोकारवाला निकायसँग छलफल गरिएको थियो । छलफलका क्रममा भूमिहीन, सुकुम्वासीलाई स्क्रिनिंग पश्चात फास्ट ट्रयाकमा लालपुर्जा बितरण गर्ने र लालपुर्जा प्राप्त नभएसम्म मासिक १५ हजार घरभाडा दिने तयारी भएको जानकारी आएको सभापति ढकालले बताए ।बैठकमा सांसदहरुले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका बालबालिकाको पठनपाठनका बिषयमा चासो व्यक्त गरेका थिए । सो क्रममा सरकारले स्कूल बसहरू उपलब्ध गराएको, सुत्केरीहरूको पोषणका विषयमा उचित व्यवस्था प्रबन्ध गरेको जानकारी आएको सभापति ढकालले जानकारी दिए ।

नवनियुक्त सचिव अधिकारीद्वारा पदभार ग्रहण

संसद् सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग उनले शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहणपछि नवनियुक्त सचिव अधिकारीले पदभार ग्रहण गरेका छन्।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल सुरु

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रममाथि ३५ वटा संशोधनको सूचना प्राप्त भएको व्यहोरा जानकारी गराए। छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरुलेआफ्नो धारणा राखिरहेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै आर्थिक वर्ष २०८३/८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीमा उल्लिखित असंसदीय शब्द प्रयोग नगर्न र बोल्ने क्रममा सो व्यवस्थालाई ख्याल गर्न पनि सबैसँग आग्रह गरे।

‘निमायवलीको नियम २१ को खण्ड (घ) मा उल्लेखित विषयमा सबै सांसदलाई संवेदनशील भइदिन आग्रह गर्दछु। अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्च्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने भन्ने यस बुँदालाई ध्यान दिन आग्रह गर्दछु’, उनले भने।

 अभिलेखबाट हटाउन निर्देशन

बैठकमा सभामुख अर्यालले सांसद गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गरेको ‘भरौटेहरु’ र ‘यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो गरी’ भन्ने शब्दहरु संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिए। यही वैशाख २९ गतेको बैठकमा सांसद पराजुलीले ती शब्द प्रयोग गरेका थिए। विपक्षी दलको तर्फबाट ती शब्द हटाउन माग भएको थियो।

 प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा देखाएको अस्वाभाविक कार्यशैलीप्रति चौतर्फी आलोचना

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा देखाएको एकपछि अर्को अस्वाभाविक कार्यशैलीप्रति चौतर्फी आलोचना भइरहेको छ । लोकतन्त्रमा संसद्प्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्नेमा उनको गतिविधिका कारण संसद्को गरिमामै क्षयीकरण हुने चिन्तासमेत व्यक्त हुन थालेको छ ।

सरकार गठन भएको साढे एक महिनामा प्रतिनिधिसभाका दुई अधिवेशन हुँदा प्रधानमन्त्री शाहले एक पटक पनि सम्बोधन गरेका छैनन् । प्रतिनिधिसभा निर्वाचनपछि १९ चैतमा भएको पहिलो संसद् बैठकमा नवनियुक्त प्रधानमन्त्री शाहले सम्बोधन नगर्दा राजनीतिक वृत्त र संसदीय अभ्यासका जानकार मात्रै नभई आम जनताले पनि आश्चर्य मानेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उनले झन् अस्वाभाविक गतिविधि देखाए ।

पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेको करिब ५० मिनेटपछि प्रधानमन्त्री बैठक छाडेर निस्किएका थिए । नीति तथा कार्यक्रम वाचनपछि राष्ट्रपतिलाई बिदाइ गर्दा पनि उनी उपस्थित भएनन् । राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधिसभामा टेबुल गर्ने क्रममा पनि प्रधानमन्त्री शाहले केही अभिव्यक्ति दिएनन् । राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री शाह किन बैठकबाट हिँडे भन्ने विषयमा सरकार वा उनको सचिवालयबाट कुनै कारण सार्वजनिक भएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेइजिङ पुगे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको निमन्त्रणामा उनी बुधबार साँझ बेइजिङ पुगेका हुन् ।

ट्रम्पलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पको यो करिब नौ वर्षयताको पहिलो चीन भ्रमण हो भने नोभेम्बर २०१७ पछिको दोस्रो चीन भ्रमण हो ।

चीन बसाइको क्रममा ट्रम्पले समकक्षी सी जिनफिङसँग भेटवार्ता गर्नेछन् ।

चीनको विदेश मन्त्रालयका अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध तथा विश्व शान्ति र विकाससँग सम्बन्धित प्रमुख विषयमा गहन विचार–विमर्श हुनेछ । दुई महाशक्ति राष्ट्रका प्रमुखबीचको यो भ्रमणलाई विश्वभर चासोका साथ हेरिएको छ ।

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा सङ्खुवासभाका प्रकाश अधिकारीलाई नियुक्त गरेका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले बुधबार अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन्। सभामुख डोलप्रसाद अर्यालले बुधबार बिहान मात्र अधिकारीको नाम नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थियो।

यसअघि सचिव रहेका हर्कराज राईलाई हटाएर अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरिएको हो। सङ्घीय संसद्को महासचिव र सचिवहरूको नियुक्ति तथा पदमुक्त गर्ने संवैधानिक व्यवस्थाअनुसार सभामुखको सिफारिसमा राष्ट्रपतिले सचिव नियुक्त गर्छन्।

सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवा निवृत्त कर्मचारी हुन्। २४ वर्ष निजामती सेवामा रहेका उनीसँग त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास र दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गरेको अनुभव छ।

आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन् । भट्टले बुधबार पदबाट दिएको राजीनामापत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएका हुन् । मन्त्रालय स्रोतले भट्टको राजीनामा दिएको पुष्टि गरेको छ ।

सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्दै नयाँ प्रक्रियाबाट नेतृत्व नियुक्ति गर्ने कार्यको थालनी गरेको छ । तथापि, सरकारको राजनीतिक नियुक्ति खारेजीमा आयल निगमको नेतृत्व परेको थिएन ।

तर, कामसँगै रास्वपा सरकारको निरन्तरको दबाबको प्रेसरमा रहेका महानिर्देशक भट्ट आफैँले राजीनामा दिएको बुझिएको छ ।

उखुको जुस बेचेरै दिनको तीन हजार आम्दानी

यशोदा शर्मा, कैलाली । 
कैलालीको धनगढीकी बिमला चौधरी विगत १० वर्षदेखि सडक किनारमा उखु जुस बेच्दै छिन् । उनले छोराछोरीको पढाइदेखि दैनिक घर खर्च यसैबाट चलाउँदै आएकी छिन् ।
सुरुमा महिला समूहबाट ऋण लिएर उनले यो व्यवसाय सञ्चालन गरेकी हुन । अहिले परिवारको आधारभूत आवश्यकता पूरा गर्ने माध्यम यहीँ बनेको छ । जुस बेचेरै दैनिक ३ हजार सम्म आम्दानी हुने उनी बताउँछिन् ।
‘घरमा अन्य आयस्रोत छैन । खेती किसानी गरे पनि ठुलो परिवार भएकाले वर्षभरि खानलाई पुग्दैन । सम्पूर्ण खर्च धानेकी यसैले धानेको छ,’ उनले भनिन् ।
बिलमाका दुई छोरा र एक छोरी छन् । उनले छोराछोरीलाई जुस बेचेर नै पडाइरहेकी छन् । जेठा छोरा र छोरी स्नातक तहमा अध्ययनरत छन् भने कान्छो छोरा १२ कक्षामा पढिरहेको उनले बताइन् ।
सुरुमा अहिलेको जस्तो आम्दानी नभए पनि सानो आम्दानीबाटै यहाँ सम्म पुगेको उनी बताउँछिन् । भन्छिन्, ‘सुरुसुरुमा आम्दानी कमै हुन्थ्यो त्यो बेला एक गिलासको २० रुपैयाँ थियो अहिले ४० रुपैयाँ पुगेको छ ।त्यसैले पहिलाको भन्दा आम्दानी राम्रो हुन्छ ।
उनी बिहान ९ बजे देखि राति ९ बजेसम्मै जुस बेच्छिन् । बिहानै देखि अबेर रातिसम्म काम गर्न बिलमालाई सहज त पक्कै छैन । तर परिवारको लागि दुःख गरिरहेकी छिन् । गर्मीको सिजनमा चिसो जुस खुवाएर अरूलाई शीतल पार्न उनी आफू भने दिउँसोको टन्टलापुर घाममा पिरोली रहन्छिन् ।

उखु व्यवसाय मौसममा निर्भर हुन्छ । गर्मीको समयमा मात्रै उनको व्यवसाय चल्छ । चिसो सिजन सुरु हुने बित्तिकै काम ठप्प हुन्छ ।चिसोमा गुजारा चलाउनको लागि विभिन्न ठाउँमा बेलरीको काम गर्ने गरेको विमलाले सुनाइन्  ।
महँगीको असर व्यवसायमा
पछिल्लो समय बजारमा बढेको महँगीको असर साना व्यवसायमा पनि परेको छ । अझ डिजेल र पेट«रोलको मूल्य वृद्धिले उखु पेल्ने मेसिन चलाउन निकै महँगो पर्छ ।  डिजेल, कागतीलगायतका आवश्यक सामानहरूको मूल्य वृद्धिका कारण लागत बढेको विमला बताउँछिन् ।

विमला जस्तै भारत घर भई धनगढीमा भाडामा बस्दै आएकी रेनु बर्माले पनि विगत ११ वर्षदेखि  रेनु जुस सेन्टर सञ्चालन गरी रहेका छन् । गर्मी सिजनमा यसबाटै मनग्य आम्दानी हुने बर्माले बताइन् ।


उनी अहिले उखु जुस पसल चलाउँदै परिवारको जिम्मेवारी सम्हालिरहेकी छन् । बिहान ८ बजेदेखि राति अबेरसम्म पसलमै खटिने उनी दिनभरि जुस बेच्ने र, राति पसल बन्द भएपछि उखु धुनेदेखि सरसफाइसम्मको काम सबै आफैँ गर्छिन् ।
‘दिनभर काममै हुँदा बच्चालाई पनि समय दिन सकिरहेको छैन,’उनले भनिन् । सुरुमा यो पसल सञ्चालन गर्न करिब डेढ लाख रुपैयाँ जति लगानी लागेको उनले बताइन् । अहिले यही पसलबाट उनको घर खर्च चलिरहेको छ । चिसो महिनामा भने काम ठप्प हुने भएकाले उनी धनगढीको बोरा डाँडीमा सिरक–डसना को काम समेत गर्छिन् ।
उनले जुस मेसिन राखेको जमिनको भाडा ३ हजार रुपैयाँ तिर्छिन् ।त्यसबाहेक दिनको १ सय रुपैयाँ नगरपालिकालाई पनि बुझाउनुपर्छ ।

रेनुले दिनमा तीन देखि ३५ सय सम्मको जुस बिक्री गर्छिन् ।
श्रीमानबाट आर्थिक सहयोग नपाएकी उनी भन्छिन्, ‘सबै खर्च आफैँले काम गरेर चलाउँछु । भात खानलाई पुगेकै छ, श्रीमानको भर पर्नु परेको छैन ।’
पछिल्लो समय बढेको बजारको महँगीले उनको व्यवसायमा पनि प्रभाव पारेको छ । बढ्दो खर्चका कारण नाफा कम हुँदा बचत गर्न नसकेको उनको भनाइ छ ।
सुरुमा अरूको सिरक–डस्नाको पसलबाट काम सुरु गरेकी उनले पछि आफ्नै पसल खोलिन र सँगै उखु जुस पसल पनि सञ्चालनमा ल्याइन् । अहिले उनले छोरालाई पनि बोलाएर दुई ओटा उखु जुस पसल चलाइरहेकी छन् ।
उनले आफूजस्तै अन्य महिलालाई पनि अरूको मजदुरी गर्नु भन्दा आफै काम गरेर आत्मनिर्भर बन्न सुझाव दिइन् । भन्छिन्, ‘अरूको आस गर्नु बेकार हो, आफैँ कमाउने र आफैँ खाने हो,’
काम गर्न अप्ठ्यारो भए पनि आफ्नो मेहनतले परिवार चलाइरहेकोमा रेनु सन्तुष्ट छिन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम छलफलको लागि राष्ट्रियसभामा पेस

 

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम छलफलका लागि राष्ट्रियसभामा पेस गरिएको छ ।

बुधबार बसेको सभाको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा छलफल सुरु भएको छ । राष्ट्रियसभाका १९ जना सांसदहरूले नीति तथा कार्यक्रममा आठवटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । न्युज एजेन्सी नेपाल 

 

नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । मंगलबार दोहोरो अंकले घटेको सेयर बजार बुधबार सामान्य अंकले घटेको हो ।

बुधबार नेप्से परिसूचक ४.१५ अंक (०.१५ प्रतिशत) ले घटेर २,७४०.२५ विन्दुमा पुगेर बजार बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ३९.४४ अंक (१.४१ प्रतिशत) ले घटेर २,७४४.४० विन्दुमा पुगेर बजार बन्द भएको थियो ।

बुधबार बजारमा कुल ३३९ कम्पनीका ५६ लाख ४३ हजार २८८ कित्ता सेयर ४२ हजार १७६ पटक किनबेच हुँदा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँको कारोबार भएको छ ।

बुधबार कारोबार भएका कम्पनीहरूमध्ये ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको सेयर मूल्य घटेको छ । यसबाहेक १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

यस्तै, सर्वाधिक नाफा कमाउने पहिलो कम्पनीमा एसियन हाइड्रोपावर रहेको छ । जसको सेयर मूल्य ११.४२ प्रतिशतले बढेको छ । यसैगरी बढी कमाउने कम्पनीमा क्रमशः एसवाई प्यानल नेपाल, हिमालयम बैंक लि. बोण्ड २०८६, एनआईसी एसिया ग्रोथ फण्ड–२, सेञ्चुरी डिवेञ्चर २०८८ रहेका छन् ।

बुधबार सर्वाधिक मूल्य गुमाउने ५ कम्पनीमा धौलागिरी लघुवित्त वित्तीय संस्था, झापा इनर्जी लिमिटेड, १० प्रतिशत सिटिजन्स बैंक डिवेञ्चर २०९०, रिजलाईन इनर्जी, आरबीबी फोकर ४०कम्पनी रहेका छन् ।

फेरि संसद्‌मा अवरोध, प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले प्रधानमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाउँदै संसदमा उपस्थित गराउन सभामुखसँग आग्रह गरेका हुन् ।

बैठकको पहिलो चरणमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षी दलका सांसदहरूले अवरोध गरेका थिए । त्यसपछि बैठक केही समय स्थगित गरिएको थियो । पछि नीति तथा कार्यक्रम टेबुल गर्न दिने सहमतिपछि विपक्षी दल बैठक सञ्चालन गर्न तयार भएका थिए ।

नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि त्यसबारे छलफल अघि बढाउनुअघि प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न कांग्रेसले सभामुखसँग रुलिङको माग गरेको हो ।

आङ्देम्बेले प्रधानमन्त्री साँच्चिकै अस्वस्थ भएको भए संसदलाई त्यसबारे जानकारी गराउनुपर्ने बताए । उनले विपक्षी दलका नेताले चासो व्यक्त गरिसकेको अवस्थामा सभामुखले स्पष्ट जानकारी दिनुपर्ने उल्लेख गरे ।

“हामीले सम्मानपूर्वक नीति तथा कार्यक्रम टेबुल गर्न दिएका छौँ । त्यसको जवाफका लागि प्रधानमन्त्रीको उपस्थिति आवश्यक छ, त्यसका लागि रुलिङ हुनुपर्छ,” उनले भने ।

सभामुख डीपी अर्यालले प्रधानमन्त्रीको उपस्थितिको विषयमा ध्यानाकर्षण भएको बताएका छन् । उनले नीति तथा कार्यक्रममाथि ३५ जना सांसदबाट संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिँदै प्रधानमन्त्रीको उपस्थितिबारे आजको बैठक सकिएपछि छलफल गरिने बताए ।

स्थगित भएको संसद् बैठक शुरू

१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक एक घण्टापछि शुरू भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नहुँदा विपक्षी दलहरूले विरोध गरेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

तर, दलहरूबीच सहमति नहुँदा संसद् बैठक पुन: शुरू हुन समय लागेको हो ।

सभामुख अर्यालले बैठक सञ्चालनका लागि दलहरूसँग परामर्श गरेका थिए ।

आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल शुरू गर्ने कार्यसूची थियो तर प्रधानमन्त्री जवाफ दिन उपस्थित नभएको भन्दै विपक्षी दलले अवरोध गरेका थिए ।

सदनलाई औपचारिकतामा सीमित गर्न खोजेपछि विरोध गर्‍यौँ : साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्लाई औपचारिकतामा मात्र सीमित गर्न खोजेपछि आफूहरूले विरोध जनाएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठक बहिष्कार गरेर बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले संसद् मनखुसी चलाइरहेको र औपचारिकतामा मात्र सीमित गर्न खोजेपछि आफूहरूले विरोध जनाएको बताए ।

आफूहरूसँग जनताका प्रश्नहरू रहेकाले देशको प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्ने उनले बताए । नीति तथा कार्यक्रमको अध्ययनका लागि पनि पर्याप्त समय नछुट्याइएको भन्दै उनले जबरजस्ती संसदलाई अघि बढाउन खोजको आरोप लगाए ।

उनले सरकारको क्रियाकपाललाई अब जनताले मूल्यांकन गर्ने पनि बताए । हिमालयन टेलिभ्वाइस

‘सुदूरपश्चिम कचहरी २०८३’ आयोजना हुने

 कैलाली । सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका लागि ‘सुदूरपश्चिम कचहरी २०८३’ आयोजना हुने भएको छ।

आगामी जेठ २ र ३ गते धनगढीमा सञ्चालन हुने कार्यक्रमको तीव्र तयारी भइरहेको आयोजक सुदूरपश्चिम विकास फाउण्डेसनले बुधबार धनगढीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

फाउण्डेसनका अध्यक्ष शेरबहादुर शाहीले सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगसँगको सहकार्यमा आयोजना गर्न लागिएको बृहत् संवाद कार्यक्रमले सुदूरपश्चिम प्रदेशको सम्भावना र समृद्धि उजागर गर्ने विश्वास व्यक्त गरे।

प्रदेशमा शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी, कृषि, पूर्वाधार, सुरक्षित आप्रवासन तथा सुशासनका विषयमा आधारित नीतिगत बहस गरी साझा विकास दृष्टिकोण तयार गर्ने बताइएको छ ।
कार्यक्रममा उठेका निष्कर्ष तथा सुझावलाई नेपाल सरकारको आगामी बजेट तथा नीतिनिर्माण प्रक्रियामा समावेश गराउन केन्द्र सरकारसमक्ष पठाइने पत्रकार सम्मेलनमा बताइएको थियो ।

‘सुदूरपश्चिम प्रदेशमा पर्याप्त सम्भावनाहरू छन्। हामी बृहत् संवादमार्फत ती सम्भावनाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन चाहन्छौं,’  अध्यक्ष शाहीले भने, ‘हामी कार्यक्रममार्फत आएका सुझावहरूलाई लिखित रूपमा प्रदेश तथा संघीय सरकारलाई उपलब्ध गराउँछौं। ’
पत्रकार सम्मेलनमा सार्वजनिक अवधारणापत्रअनुसार सुदूरपश्चिम प्रदेश ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटन सम्भावनाले समृद्ध भए पनि अपेक्षित विकास हासिल गर्न नसकेको उल्लेख गरिएको छ।
प्रदेशमा गरिबी, बेरोजगारी, कमजोर पूर्वाधार, शिक्षा तथा स्वास्थ्य सेवामा असमान पहुँच, युवा पलायन तथा नीति कार्यान्वयनका चुनौती अझै कायम छन् ।

कार्यक्रममार्फत विकासका बहसलाई एउटै मञ्चमा ल्याएर सरकार, निजी क्षेत्र र समुदायबीच समन्वय तथा सहकार्य बढाउने लक्ष्य लिइएको अध्यक्ष शाहीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनारले प्रदेशको विकास प्राथमिकता, लगानीमैत्री वातावरण, पर्यटन प्रवद्र्धन, युवा रोजगारी तथा नीति सुधारका विषयमा ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको बताए।

उनले यस्ता संवादले नीति तथा योजनामा एकरूपता ल्याउन तथा विकासका मुद्दामा साझा समझदारी निर्माण गर्न सहयोग पुग्ने उल्लेख गरे।

उनका  अनुसार कार्यक्रमबाट सुदूरपश्चिमको दीर्घकालीन विकासका लागि व्यवहारिक सुझाव तथा कार्ययोजनासमेत तयार गरिनेछ, जसलाई ‘सुदूरपश्चिम घोषणापत्र’का रूपमा सार्वजनिक गरिने  छ।
दुई दिनको कार्यक्रममा संघ, प्रदेश तथा स्थानीय तहका सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, नागरिक समाज, सञ्चारकर्मी तथा विज्ञहरूको सहभागिता रहने बताइएको छ।
पत्रकार सम्मेलनको सहजीकरण सचिव पविन्द्र शाहीले गरेका थिए।

राष्ट्रिय सभामा सांसदहरुले मागे समस्याको दीर्घकालीन समाधान

सांसदहरुले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै जातीय विभेदका घटना न्यूनीकरण र रुग्ण उद्योग सञ्चालनमा ध्यान दिन पनि सरकारसँग आग्रह गरेका छन्।

सांसद कमला पन्तले मुलुकको गौरवका रुपमा रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनको तयारी सम्बन्धमा सरकारले जवाफ दिनुपर्ने बताइन्।  त्यसैगरी  सांसद जयन्ती राईले अतिक्रमण हटाउने क्रममा विस्थापित भएका सुकुमवासीको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण हुनुपर्ने बताइन्। त्यसैगरी सांसद दुर्गा गुरुङले दीर्घकालीन रुपमा सुकुमवासी समस्या समाधान गर्न सरकारसँग आग्रह गरेकी छिन् ।

सांसद नरबहादुर विष्टले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने योजना ल्याउन सरकारको ध्यानाकर्षण गरेका थिए । अर्का सांसद नारायणदत्त मिश्रले नागरिक अधिकार र लोकतन्त्रको रक्षामा सरकारको प्रतिबद्धता माग गरेका छन्।

सांसद भुवनबहादुर सुनारले जातीय विभेदका घटना नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन् । युवराज शर्माले सुशासन, मूल्यवृद्धि नियन्त्रण, विकास निर्माणलगायत विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका थिए भने सांसद राजेन्द्रलक्ष्मी गैरेले स्वास्थ्य क्षेत्रमा संवेदनशील हुन् सरकारलाई सुझाव दिएकी छिन् ।

सदन चलाउने विषयमा सभामुख अर्याल विपक्षी दलका नेतासँग छलफलमा

सभामुख डिपी अर्यालले विपक्षी दलका नेताहरुसँग सदन चलाउने विषयमा छलफल थालेका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को उपस्थितिको माग गर्दै विपक्षी दलले अवरोध गरेपछि १५ मिनेट बैठक स्थगित गरेर अर्यालले विपक्षी दलका नेतासँग छलफल थालेका हुन् ।

नेपाली कांग्रेसको संस्थापनइतर पक्षको भेला काठमाडौंमा सुरु

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको भेला काठमाडौंमा सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भेला सुरु भएको नेता डा. प्रकासशरण महतले जानकारी दिए ।

भेलामा वाग्मती प्रदेशका जिल्ला सभापति, निर्वाचित प्रतिनिधिको सहभागिता रहेको उनले बताए । “पार्टीको बृहत्त् एकताका लागि भेला बोलाइएको हो । जुन खालको समझदारी हुनुपर्ने हो, अझै हुन सकेको छैन,” महतले बाह्रखरीसँग भने, “एक-दुईपटकको भेटले सार्थक निष्कर्ष आइसकेको छैन ।”

कांग्रेस सभापति गगनकुमार थापाले वैशाख २९ गते केन्द्रीय कार्यसमितिमा १९ जना मनोनयन गरेपछि इतर पक्ष चिढिएको छ ।

देउवा पक्षका नेता पूर्णबहादुर खड्का तथा नेता डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमितिमा गरिएको मनोनयनलाई लिए असन्तुष्टि जनाएका छन् । दुवै नेताले उक्त मनोनयनले बृहत्तर पार्टी एकतामा ठेस पुगेको उल्लेख गरेका छन् ।

महतले पछिल्लो मनोनयन आफूहरूको सहमति भन्दा पनि व्यक्तिगत रूपमा भएको बताए । “जानेहरू व्यक्तिगत रूपले गएका हुन् । १५औँ महाधिवेशन निष्पक्ष रूपमा हुन्छ भन्ने सुनिश्चितता हुनुपर्‍यो,” महतले भने, “समझदारी गरेको छैन । एक-दुईपटक कुरा भए पनि कुनै समझदारी भएको छैन । भेलाले एकताको समझदारीको विषय टुंगो लगाउनेछ ।”

संस्थापन पक्षले प्रदेशस्तरीय भेला गरिरहँदा इतर पक्षले पनि समानान्तर रूपमा भेला सुरु गरेको छ । देउवा पक्षले मंगलबार कोसीको विराटनगरमा भेला गरेको थियो । कोसीको जिम्मा नेता कृष्णप्रसाद सिटौलालाई दिइएको थियो । वाग्मतीमा भेलाको समन्वय प्रकाशमान सिंह र महतले गरेका छन् ।

ढुङ्गाले लागेर वडा सदस्यको मृत्यु

बाजुरा ।  जिल्लाको बूढीगङ्गा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर वडा सदस्यको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–३ ताँप्राकी ३७ वर्षीया कल्पनादेवी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।

आज दिउँसो फालासैनबाट घर फर्किने क्रममा गुइगाड खोलाको पुल नजिकै भिरबाट खसेको ढुङ्गा लागेर उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

स्थानीयले खबर गरेपछि बार्जुगाड प्रहरी चौकीबाट खटिएको टोलीले थापालाई मृतावस्थामा फेला पारेको प्रवक्ता शाहीले बताए । थापा विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएकी हुन् ।

 

रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी असारमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ।

आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन हुने रास्वपा सचिवालय सदस्य तथा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए।

आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तोकेको हो।

यसअघि पार्टीले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।

खोज्नुहोस