लैङ्गिक हिंसा रोकथाम, नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाण्डाै – प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवम् महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्थासम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रियसभाबाट पारित भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा प्रस्तुत भएको प्रस्ताव छलफलपछि अध्यक्ष नारायणप्रसाद दाहालले पारित भएको घोषणा गर्नुभएको हो र सरकारलाई कार्यान्वयन गर्न निर्देशन दिए ।

सांसद रेनु चन्दले पेश गर्नुभएको गरेका १७ जना सांसदले समर्थन गरेका छन् । सांसद चन्दका अनुसार प्रविधिको विकाससँगै हिंसाको स्वरूप फेरिएको छ ।

अहिले पीडक र पीडित आमनेसामने नभई नक्कली परिचय प्रयोग गरेर विश्वको जुनसुकै कुनाबाट हिंसा हुन सक्ने अवस्था छ । साइबर स्टकिङ, साइबर बुलिङ, रिभेन्ज पोर्न, डीप फेक र अनलाइन ग्रुमिङजस्ता समस्याले महिलालाई मानसिक तनाव र डिप्रेसनसम्म पुर्‍याएको उनले बताए ।

चन्दका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ३७६ वटा साइबर मुद्दा दर्ता हुँदा अहिले यो सङ्ख्या १९ हजार नाघिसकेको छ जसमा धेरैजसो पीडित १८ देखि ३५ वर्ष उमेर समूहका छन् ।

सामाजिक सञ्जाल कम्पनीसँग सूचना आदानप्रदानको सम्झौता नहुँदा र साइबर ब्युरो काठमाण्डाैमै सीमित हुँदा दूरदराजका पीडित न्यायबाट वञ्चित भइरहेको गुनासो पनि सांसद चन्दले गरे । प्रस्तावमार्फत उनले प्रचलित कानून संशोधन गर्न, लैङ्गिक हिंसा स्पष्ट परिभाषित गर्दै विशेष कानून बनाउन, पाठ्यक्रममा डिजिटल सुरक्षा समावेश गर्न र प्रदेश तहसम्मै पीडितमैत्री संयन्त्र सुदृढ गर्न सरकारसँग माग गरे ।

छलफलमा भाग लिने सबै सांसदहरू प्रविधिजन्य हिंसा रोक्न सरकारले तत्काल कार्ययोजना बनाई पीडितलाई शीघ्र न्याय दिलाउने संयन्त्र स्थापना गर्नुपर्नेमा एकमत भएका छन् ।

 

लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा नियन्त्रणका लागि एकीकृत कानुन तर्जुमा गर्ने अवधारणापत्र तयार भएको बताएकी छिन्।

राष्ट्रिय सभाको बैठकमा ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नेसम्बन्धी सङ्कल्प प्रस्ताव’ का सम्बन्धमा सांसदहरूले राखेको जिज्ञासाको जवाफमा उनले कानुनमा समसामयिक सुधार आरम्भ भएको जानकारी दिइन्। सांसदले सङ्कल्प प्रस्तावमा उठाउनुभएको जिज्ञासा र विषयवस्तु समय सान्दर्भिक र व्यावहारिक भएको उनको भनाइ छ।

उनले भनिन्, “साइबर ब्युरोमा हाल १२ हजार ४१० उजुरी परेका छन् । जहाँबाट सङ्कल्प प्रस्तावको आवश्यकता र गाम्भीर्यतालाई थप पुष्टि गर्दछ ।” मन्त्री बादीले मन्त्रालय र अन्य निकायसँग समन्वय गरेर महिलामाथि हुने हिंसाको न्यूनीकरणका लागि आवश्यक पहलकदमी गरिरहेको बताइन्।

राष्ट्रियसभाका सांसद रेनु चन्दले प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नेसम्बन्धी सङ्कल्प प्रस्ताव पेस गरेकी थिइन्। रासस

२० वर्ष पछि पुनः दक्षिण कोरियाले पायो महिला प्रधानमन्त्री

काठमाडौं । दक्षिण कोरीयाको प्रधानमन्त्रीमा हान सेओङ सुक नियुक्त भएकी छन् । दक्षिण कोरीयाका राष्ट्रपति ली जे म्युङले सुकलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति प्रवक्ता काङ् यु-जुङले बुधबार घोषणा गरेका छन् ।

नियुक्ति जुलाई –१ देखि लागु भएको छ । यो सँगै हान ली जे म्युङको प्रशासनमा दोस्रो महिला प्रधानमन्त्री, किम मिन–सिओकको उत्तराधिकारी र देशको इतिहासमा ५० औँ प्रधानमन्त्री बनेकी हुन् ।

दक्षिण कोरियाको राष्ट्रिय सभाले हान सेओङ–सुकलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्न गरेको मतदानमा १६६ मत पक्षमा र सत्तापक्ष र सरकार समर्थक दलहरूबाट उपस्थित १६७ सदस्यहरू मध्ये एक विपक्ष मतको साथ अनुमोदन गरेको जनइएको छ । हान यस पदका लागि अयोग्य भएको तर्क गर्ने मुख्य विपक्षी दल पिपुल पावर पार्टी (पिपिपी) ले बहिष्कार गरे तापनि जुन ३० मा पूर्ण अधिवेशनमा मतदान भएको थियो ।

लघु तथा मध्यम उद्यम (एसएमई) मन्त्रीका रूपमा कार्यरत हान सेओङ-सुक प्रधानमन्त्री नियुक्ति भएसँगै २० वर्ष पछि दक्षिण कोरियाले पुनः महिला मन्त्री पाएको छ।

‘कर्मचारी महोदय’ भइरल भएपछि केपीले भने- जिब्रो हो लट्पटिन्छ, ट्रोल बनाउनेलाई धन्यवाद

प्रतिनिधिसभा बैठकमा सभामुखलाई ‘कर्मचारी महोदय’ भनेर सम्बोधन गरेपछि चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले मानवीय त्रुटिका कारण शब्द चिप्लिएको बताएका छन्।

उनले यसलाई सिकाइको प्रक्रियाका रूपमा लिँदै सामाजिक सञ्जालमा आफूलाई ट्रोल बनाउनेहरूलाई धन्यवाद समेत दिएका छन्।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खनालले संसद्‌मा कर्मचारीहरूको समस्याबारे बोल्दाबोल्दै आफ्नो जिब्रो लट्पटिएको बताए। ‘सिकाईको प्रक्रिया हो, जिब्रो हो लट्पटिन्छ,’ उनले भने, ‘ठीक छ, ट्रोल बनाउनेहरूलाई धन्यवाद दिन चाहन्छु, ताकि उहाँहरूको सन्तान र परिवार भोलि कर्मचारी भएर यसरी नै ट्रोलको सिकार बन्न नपरोस्।’

सांसद खनालले संसद्‌मा कर्मचारीको विषयमा बोल्दाबोल्दै निर्धारित समय सकिएर माइक काटिएको भए पनि सञ्चारमाध्यमहरूले सभामुखले नै माइक काटेको जस्तो गरी समाचार सम्प्रेषण गरेको भन्दै असन्तुष्टि जनाए।

‘कर्मचारीले काम गर्न र तलब पाउन नसकेको पीडादायी अवस्थाबारे बोल्दाबोल्दै अन्तिम समयमा माइक काटिएको हो,’ उनले थपे, ‘तर मिडियाले सभामुखले नै रिसले माइक काटेको जस्तो गरी समाचार सम्प्रेषण गरे।’

आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा आफ्नो निर्वाचन क्षेत्र कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा भइरहेको ढिलाइबारे बोल्ने क्रममा उनले सभामुखलाई ‘कर्मचारी महोदय’ भनी सम्बोधन गरेका थिए।

माइक काटिनुअघि सांसद खनालले लम्कीचुहा अस्पताललाई नेपाल सरकार मन्त्रिपरिषद्ले २०८२ जेठ २६ गते स्वीकृति दिइसकेको भए पनि प्रदेश र स्थानीय सरकारको विवादका कारण सञ्चालन हुन नसकेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

स्थानीय तहको असमझदारीका कारण अस्पतालका कर्मचारीहरूले काम गर्न नपाएको र समयमा तलब समेत नपाएको विषयमा उनले संसद्को ध्यानाकर्षण गराएका थिए।

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायात भाडा समायोजन गर्न व्यवसायीको माग

काठ्माण्डौ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ।

नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २० र डिजेल/मट्टितेलमा प्रतिलिटर ३० ले मूल्य घटाएको थियो। त्यसपछि महासङ्घले भाडा समायोजनको माग अघि सारेको हो।

महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावसँगै सार्वजनिक यातायातको भाडा पनि पारदर्शी, वैज्ञानिक र वस्तुगत आधारमा निर्धारण तथा समायोजन हुनुपर्ने बताए।

उनले इन्धनको मूल्य बढ्दा भाडा वृद्धि गर्ने निर्णय हुने तर मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्योल सिर्जना गर्ने गरेको उल्लेख गरे।

अध्यक्ष सिटौलाका अनुसार सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्र नभई सवारी सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, श्रमिकको पारिश्रमिक, अतिरिक्त पाटपूर्जा, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई समेत वैज्ञानिक आधारमा मूल्याङ्कन गरिनुपर्ने आवश्यकता छ।

लगातार ७ काराेबार दिन घटेकाे शेयर बजार ४४ अङ्कले बढ्याे

काठमाण्डाै। लगातार ७ कारोबार दिन घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ५९ अङ्कले बढेर २ हजार ६५२ दशमलव ९३ विन्दुमा पुगेको छ ।

आज सबै समूहको सूचक बढेकोमा जलविद्युत्, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको सूचक २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज २५२ वटा कम्पनीको शेयर बढेकोमा १७ वटाको घटेको छ । यस्तै ६ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज स्नो रिभर्सको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर ५ दशमलव २१ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३६२ वटा कम्पनीका ९५ लाख ४७ हजार कित्ता शेयर ३ अर्ब ८६ करोड रुपैयाँमा किनबेच भएको छ ।

 

कैलालीमा विद्यालयबाट फर्कने क्रममा बेपत्ता बालिकाको शव फेला

धनगढी । कैलालीमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी बालिकाको शव फेला परेको छ ।

विद्यालयबाट एक्लै घर फर्कने क्रममा बेपत्ता भएकी कैलालीको लम्कीचुहा नगरपालिका–४ अमरपुरकी छ वर्षीया बालिका मनिषा विकको शव खोलामा भेटिएको हो ।

सोही पालिकाको वडा नम्बर ५ मा रहेको रोरा खोलामा करिब २४ घण्टापछि आज बालिकाको शव भेटिएको हो । वडा नम्बर २ मा रहेको जनचेतना आधारभूत विद्यालय कक्षा नर्सरीमा अध्ययनरत बालिका मङ्गलबार साढे ९ बजेदेखि बेपत्ता भएकी थिइन ।

विद्यालयबाट एक्लै घर फर्कने क्रममा खोलाले उनलाई बगाएको आशङ्का गरेर हिजो दिनभरि खोलामा खोजीकार्य गरिएको थियो।

पानी घटेपछि आजमात्रै बालिकाको शव भेटिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । अभिभावक भारतमा रहेकी बालिका हजुर आमासँग बस्दै आएकी थिइन् । पानी परेपछि मङ्गलबार कैलालीको सबै खोलानालामा बाढी आएको थियो ।

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा रास्वपासँग मानव अधिकार आयोगको पत्र

काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पत्रचार गरेको छ।

रास्वपाले बालबालिकालाई दलको सदस्यता दिएको  भन्दै   समाचार सार्वजनिक भएपछि आयोगले बुधबार पत्राचार गरेको हो। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले जारी गरेको प्रेस विज्ञप्तिअनुसार रास्वपाको महाधिवेशनमा १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको उल्लेख भएको र त्यस्तो कार्य प्रचलित नेपाली कानुन तथा नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने आयोगको ठहर गरेको छ।

विज्ञप्तिमा राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१९१० अनुसार उक्त विषयमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन रास्वपालाई अनुरोध गरिएको  छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनका क्रममा सार्वजनिक भएको प्रतिवेदनमा पार्टीले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्यता वितरण गरेको विवरण बाहिर आएपछि उक्त विषय विवादमा परेको हो।

मेसीले गोल गर्दै गरून्, म चाहिँ ट्रफीसहित फ्रान्स फर्कन चाहन्छु – एम्बाप्पे

काठमाडौं । विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमानको दौडमा फ्रान्सेली सुपरस्टार किलियन एम्बाप्पे अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको निकै नजिक पुगेका छन् । तर, एम्बाप्पेको ध्यान भने जुलाई १९ मा न्युयोर्कमा हुने फाइनलमा विश्वकपको ट्रफी उचाल्नेमा बढी केन्द्रित देखिएको छ ।

एम्बाप्पेले मंगलबार भएको अन्तिम ३२ को खेलमा स्वीडेनलाई ३-० ले पराजित गर्ने क्रममा दुई गोल गरे । यो दुई गोलसँगै उनी मेस्सीको नाममा रहेको विश्वकपको सर्वाधिक १९ गोलको कीर्तिमानभन्दा मात्र एक गोलले मात्र पछि छन् । जारी विश्वकपमा दुवै खेलाडी ६-६ गोलसहित उच्च गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् ।

विश्वकपका १८ खेलमा १८ नै गोल गरिसकेका एम्बाप्पेले पत्रकारहरूसँग कुरा गर्दै आफ्नो प्राथमिकता स्पष्ट पारे, ‘मैले पहिले पनि भनेको थिएँ, हाम्रो लक्ष्य भनेको सकेसम्म अगाडि बढ्नु हो । हाम्रो योजना जुलाई १९ को फाइनल खेल्नु हो र ट्रफी उचाल्नु हो ।’

उनले अगाडि थपे, ‘पक्कै पनि तपाईँले जति धेरै गोल गर्नुहुन्छ, गोलकर्ताको सूचीमा त्यति नै माथि पुग्नुहुन्छ, यो सबैलाई थाहा भएकै कुरा हो । तर मलाई विश्वास छ, लियो (मेस्सी)ले अझै गोल गर्नेछन्, त्यसैले म कीर्तिमानको पछि धेरै लाग्दिनँ । मेरो ध्यान हामीले सामना गर्ने प्रतिद्वन्द्वी र हाम्रो फाइनलको लक्ष्यमा मात्र केन्द्रित छ ।’

मेस्सीको अर्जेन्टिनाले शुक्रबार कमजोर मानिएको केप भर्डको सामना गर्दैछ । फ्रान्सले क्वार्टरफाइनलमा स्थान बनाउन अब पाराग्वेसँग खेल्नुपर्नेछ । यो खेल जित्ने टोलीले सेमिफाइनल प्रवेशका लागि आयोजक क्यानडा वा मोरक्कोमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।

एम्बाप्पेले आगामी कुनै पनि खेललाई हल्का रूपमा नलिने बताए ।उनले टोलीमा अझै सुधार गर्नुपर्ने पक्षहरू रहेको समेत स्वीकार गरे ।

‘हामी पाराग्वेविरुद्धको खेलअघि केही कुरामा अझै मिहिनेत गर्नेछौँ । मैदानमा केही तालमेलहरू मिल्न अझै आवश्यक छ,’ उनले भने ।

संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ

काठमाण्डौ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

आज बसेको बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक, शून्य, विशेष र प्रादेशिक सरोकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाफ दिन रुलिङ गरेका हुन्।

राष्ट्रियसभाका सदस्यहरूले जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जवाफ नआएको भन्दै सभामा आवाज उठ्दै आएको थियो ।

सांसदहरूको ध्यानाकर्षणपछि त्यही सन्दर्भलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा रुलिङ गरेका हुन् ।

कूटनीतिक वार्ताबाट सीमा विवाद समाधान गर्न सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री

काठमाडौं । सरकारले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ ।

सन् १८१६ को सुगौली सन्धिद्वारा निर्देशित नेपाल–भारत सीमा अन्तर्गतका सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा प्राविधिक रूपमा नक्सांकन हुन बाँकी रहेको सरकारले स्पष्ट पारेको हो ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले हालै नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ र भारतको पश्चिम चम्पारण, रामपुर्वा स्थित सीमा क्षेत्रको अनुगमन गरेको बताए ।

सो क्रममा नारायणी नदीको किनारमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरमार्फत निर्माण भइरहेको तटबन्धका विषयमा छलफल भएको थियो ।

नेपाली भूभागमा पर्नेगरी निर्माण भइरहेको करिब एक किलोमिटर लामो तटबन्धमा भारतीय पक्षबाट कुनै आपत्ति नरहेको भए पनि, त्यसभन्दा पूर्वतर्फ थप १३२ मिटर नयाँ तटबन्ध निर्माणको विषयमा भने द्विपक्षीय समन्वय आवश्यक देखिएको उनको भनाइ छ ।

मन्त्री खनालले भारतीय पक्षले उक्त थप खण्डको निर्माण कार्य अगाडि बढाउनुअघि दुवै देशका सम्बन्धित अधिकारीहरूबीच आपसी छलफल र समन्वय हुनुपर्ने आग्रह गरेको बताए ।

सीमा व्यवस्थापनका लागि ‘बाउन्ड्री वर्किङ ग्रुप’ लगायतका द्विपक्षीय संयन्त्रहरूको बैठक निरन्तर रूपमा भइरहेको र सशस्त्र प्रहरी बल तथा एसएसबीले आपसी समन्वयमा कार्य गरिरहेको सरकारले जानकारी दिएको छ ।

मन्त्री खनालकाअनुसार नेपाल र भारतबीचको द्विपक्षीय प्राविधिक समितिले अधिकांश क्षेत्रमा सीमांकन टुंग्याएको भए पनि सुस्ता र कालापानी क्षेत्रमा भने अझै सीमांकन हुन सकेको छैन । सरकारले ती भूभागहरू नेपालको भएको स्पष्ट पार्दै ऐतिहासिक आधार र प्रमाणका आधारमा आफ्नो दाबी कायम राखेको छ ।

मन्त्री खनालले भने,‘कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ता क्षेत्रमा दुई पक्षबीच औपचारिक रूपमा सीमा नक्सांकन नटुंगिएको यथार्थ हो । तर यी क्षेत्र नेपालको भूभाग हुन् भन्नेमा हामी स्पष्ट छौँ र ऐतिहासिक प्रमाणका आधारमा कूटनीतिक वार्तामार्फत यो मतभेद टुंग्याउन पहल गरिरहेका छौँ ।’

उनले छिमेकी मुलुकसँग सीमा सम्बन्धी केही विवाद हुनु स्वाभाविक भए पनि त्यसलाई कूटनीतिक माध्यमबाटै सुल्झाउनु पर्नेमा जोड दिए ।

अन्य क्षेत्रमा सीमा मापनसँग सम्बन्धित प्राविधिक समितिले काम गरिरहेको र तटबन्ध लगायतका विषयमा पनि आपसी समझदारीमा अघि बढ्ने सरकारको योजना रहेको उनले बताए ।

कैलालीमा सेप्टी ट्याङ्कीमा डुबेर ५ वर्षीया बालिकाको मृ’त्यु

कैलाली- कैलालीको गोदावरीमा निर्माणाधीन सेप्टी ट्याङ्कीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ।

बाजुराको बुढीगंगा नगरपालिका–७ घर भएर मामाको घर बस्दै आएकी ५ वर्षीया बालिका शशिका मल्ल केसीको मृत्यु भएको हो।

गोदावरी नगरपालिका–४ को बाँस्कोटामा निर्माणाधीन सेप्टी ट्याङ्कीमा खसेर मंगलबार बालिकाको मृत्यु भएको प्रहरीले बताएको छ।

मंगलबार दिउँसो खेल्ने क्रममा निर्माणाधीन सेप्टी ट्याङ्कीको खाल्टोमा खसेकी थिइन्। खाल्डोमा डुबेको अवस्थामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ।

बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ थानीय तहसँग स्पष्टीकरण मागेको छ ।

पत्रमार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो ।

पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) असार १० गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेस गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ ।

मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष २०८३/८४ को बजेट कानुनले तोकेको समयसीमाभित्र पेस नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको जनाएको छ ।

पत्रमा बजेट तर्जुमा प्रक्रिया हाल कुन चरणमा रहेको, तोकिएको समयभित्र बजेट सभामा पेस गर्न नसक्नुको कारण के हो भनि सोधेको छ । साथै, मन्त्रालयबाट थप समन्वय वा सहजीकरण आवश्यक भए सोसमेत खुलाएर पत्र प्राप्त भएको मितिले तीन दिनभित्र जानकारी गराउन भनिएको छ ।

यसका साथै, असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ ।

मन्त्रालयले स्थानीय तहमा बजेट निर्माण प्रक्रियालाई समयमै सम्पन्न गराई कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न यो पहल गरिएको जनाएको छ ।

मुख छोपेर विपक्षी खेलाडीलाई केही भन्दा इक्वेइडरका खेलाडीलाई रातो कार्ड

एजेन्सी : मौसमका कारण केही समय ढिलाइ भएको खेलमा मेक्सिकोले इक्वेडरलाई सहजै पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको छ। एज्डेका स्टेडियममा भएको यस खेलमा मेक्सिकोले पूर्ण नियन्त्रण कायम गर्दै २-० गोलको जित निकाल्यो।

दोस्रो हाफमा इक्वेडरले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। खेलको अन्त्यतिर इक्वेडरका पिएरो हिकापिएले रातो कार्ड खाएपछि टोली झनै निराश बन्यो।

विपक्षी खेलाडीसँग मुख छोपेर केही भनेका कारण उनलाई रातो कार्ड दिइएको थियो। यस विश्वकपमा यो अनौठो नियमका कारण रातो कार्ड पाउने उनी दोस्रो खेलाडी हुन्।

विपक्षी खेलाडीलाई मुख छोपेर गाली गरेको अवस्थामा रातो कार्ड पाउने नियम फिफाले यसै संस्करणदेखि लागू गरेको यो।

मुख छोपेर गाली गरेको अवस्थामा यसअघि कुनै अन्जाद लगाउन गाह्रो पर्थ्यो। मुख छोपेर जे पनि बोल्न सक्ने कुरालाई निरुत्साहित गर्न फिफाले यो नियम ल्याएको हो।

यसअघि समूह चरणमा पाराग्वेका मिग्युल‍ अलमिरोनले पनि टर्कीविरूद्धको खेलमा यस्तै अवस्थामा रातो कार्ड पाएका थिए।

खेलको पहिलो हाफमै जुलियन क्विनोनेस र राउल जिमेनेजले गोल गरेपछि आयोजक मेक्सिकोले बलियो अग्रता लिएको थियो। दोस्रो हाफमा मेक्सिकोले संयमित खेल प्रदर्शन गर्दै इक्वेडरलाई कुनै मौका दिएन।

प्रशिक्षक जाभियर एगिरेको टोलीले अब अन्तिम १६ को खेल पनि मेक्सिको सिटीमै खेल्ने फाइदा पाउनेछ। त्यहाँ उनीहरूले आइतबार राति इंग्ल्याण्ड वा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछन्।

मेक्सिकोको राजधानीमा आएको भीषण आँधीबेहरी र मेघगर्जनका कारण खेल निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको थियो। तर खेल सुरु भएपछि मेक्सिकोले ‘हुरी’ जस्तै आक्रामक सुरुवात गर्‍यो, जसलाई इक्वेडरका खेलाडीहरूले रोक्न सकेनन्।

मेक्सिकोले खेलको सुरुवाती १० मिनेटमै गोलका चारवटा अवसर सिर्जना गरेको थियो। सन् १९६६ को विश्वकप यता मेक्सिकोले खेलको सुरुवातमा यति धेरै अवसर बनाएको यो पहिलो पटक हो।

खेलको पहिलो गोल जुलियन क्विनोनेसले गरे। कोलम्बियामा जन्मिएका यी विङ्गरले मैदानको बायाँ भागबाट बल लाँदै डि-बक्स भित्रबाट गोलकिपरलाई कुनै मौका नदिई उत्कृष्ट गोल गरे। यो उनको यस प्रतियोगिताको तेस्रो गोल हो। त्यसको केही समयपछि क्विनोनेसकै पासमा ‘वुल्भ्स’ का चर्चित फरवार्ड राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। इक्वेडरका डिफेन्डर जोएल ओर्डोनेजको गल्तीलाई जिमेनेजले गोलमा परिणत गरिदिएका थिए।

क्रिप्टोबाट ट्रम्पकाे कमाइ : १ वर्षमै १ अर्ब ४० करोड डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट झन्डै १ अर्ब ४० करोड डलर अर्थात् २ खर्ब ११ अर्ब रुपैयाँ बराबरको आम्दानी गरेको विवरण सार्वजनिक भएको छ ।

अमेरिकी सरकारी नैतिकता कार्यालयले हिजो सार्वजनिक गरेको ९२७ पृष्ठको आर्थिक प्रतिवेदनअनुसार ट्रम्पले विशेषगरी वर्ल्ड लिबर्टी फाइनान्सियल र ट्रम्प क्रिप्टोकरेन्सीसँग सम्बन्धित कारोबारबाट ठूलो आम्दानी गरेका हुन् । यही आम्दानीका कारण सन् २०२४ देखि २०२६ बीच उहाँको व्यक्तिगत सम्पत्ति २ अर्ब ३० करोड डलरबाट बढेर ६ अर्ब ५० करोड डलर पुगेको फोर्ब्सले जनाएको छ ।

प्रतिवेदनअनुसार ट्रम्पले स्टार्टअप कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलसँगको सम्बन्धबाट झन्डै ५ करोड ५० लाख डलर प्राप्त गरेका थिए भने जनवरी २०२५ मा राष्ट्रपतिको शपथअघि सार्वजनिक भएको ट्रम्प क्रिप्टोकरेन्सीसँग सम्बन्धित इजाजतपत्र सम्झौताबाट थप ६३ करोड ५० लाख डलर रोयल्टी प्राप्त गरेका उल्लेख छ । यो कम्पनी सेप्टेम्बर २०२४ मा ट्रम्पका छोराहरू र मध्यपूर्वका विशेष दूत स्टिभ विटकफका छोराले संयुक्तरूपमा स्थापना गरेका थिए ।

क्रिप्टोकरेन्सी गतिविधिका कारण ट्रम्पमाथि राष्ट्रपति रहँदै आफूले लगानी गरेको क्षेत्रलाई नियमनमुक्त बनाउन प्रयास गरेको भन्दै स्वार्थको द्वन्द्वको आरोप लाग्दै आएको छ । तर ह्वाइट हाउसले ती आरोप अस्वीकार गर्दै राष्ट्रपति वा उनको परिवार कुनै पनि स्वार्थको द्वन्द्वमा संलग्न नरहेको जनाएको छ । ह्वाइट हाउसकी प्रमुख उपप्रेस सचिव अन्ना केलीले ट्रम्पले अमेरिकालाई विश्वको ‘क्रिप्टो राजधानी’ बनाएको दाबी गर्दै प्रशासनका सबै निर्णय अमेरिकी नागरिकको हितमा केन्द्रित रहेको बताए ।

सन् १९७८ को कानूनअनुसार राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो सम्पत्ति तथा आम्दानी सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । यस पटकको खुलासामा प्रथम महिला मेलानिया ट्रम्पले अमेजनका लागि निर्माण गरिएको वृत्तचित्रबाट १ करोड डलरभन्दा धेरै र आफ्नो पुस्तक ‘मेलानिया’ बाट ५ लाख डलरभन्दा धेरै आम्दानी गरेको उल्लेख छ । ट्रम्पले कोइनबेसजस्ता क्रिप्टो कम्पनीका शेयर, ट्रम्प ब्रान्डका विभिन्न सामग्री तथा गायक ली ग्रीनवुडसँगको सहकार्यमा बिक्री गरिएको बाइबलबाट पनि उल्लेखनीय आम्दानी गर्नुभएको विवरणमा उल्लेख छ ।

ट्रम्पको सम्पत्ति अहिले उनका छोरा डोनाल्ड ट्रम्प जुनियरद्वारा सञ्चालित ट्रस्टमा राखिएको छ । यद्यपि ट्रस्टको व्यवस्थाअनुसार कुनै पनि बेला त्यसको विघटन सम्भव भएकाले सन् २०२९ मा दोस्रो कार्यकाल समाप्त भएपछि ट्रम्पले सम्पत्तिमाथिको प्रत्यक्ष नियन्त्रण पुनः प्राप्त गर्न सक्ने अवस्था रहेको अनुमान छ ।

यही प्रतिवेदनमा उपराष्ट्रपति जेडी भान्सले पनि सन् २०१६ मा प्रकाशित आफ्नो संस्मरण ‘हिलबिली एलेगी’ बाट १० लाखदेखि ५० लाख डलरसम्म रोयल्टी प्राप्त भएको विवरण सार्वजनिक गरेका छन् । -एजेन्सी

 

 

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथग्रहण गरेका छन् । पार्टी केन्द्रीय कार्यालय चमतीमा सभापति रवि लामिछानेले शपथ गराएका हुन् ।

चितवनमा भएको पहिलो महाधिवेशनले ९९ केन्द्रीय सदस्य चयन गरेको थियो । सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य निर्वाचिन भएका थिए ।

त्यस्तै, सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका थिए ।  १९ मध्ये वरिष्ठ नेतासहित ११ पदाधिकारी मनोनीत हुनेछन् । ५१ केन्द्रीय समिति मनोनीत हुने विधानको व्यवस्था छ ।

शपथसँगै पदाधिकारी र केन्द्रीय सदस्यलाई सभापति लामिछानेले प्रमाणपत्र र घण्टीअंकित चिनो वितरण गरे । रास्वपाको महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनमा चलेको थियो ।

आज २६ जिल्लामा बाढीको जोखिम : सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – आज देशका विभिन्न २६ जिल्लामा बाढीको जोखिम छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यका तीन जिल्लासहित विशेष गरी सिन्धुपाल्चोक, लमजुङ, कास्की, दाङ, बाँके, बर्दिया, कैलालीमा जोखिम छ । त्यस्तै काभ्रे, धादिङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोरखा, चितवन, तनहुँ, नवलपरासी–पश्चिम, रुपन्देही, कपिलवस्तु, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्ला भई बहने स–साना नदीमा पनि पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ ।

मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी परेको छ । हिजोदेखि नै शुरु भएको पानी पर्नेक्रम भोलिसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर पूर्णतया बादल लागेर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि कोशी र बागमती प्रदेशलगायत देशका धेरैजसो पहाडी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधजस्ता जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

साउनभित्र दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुन्छ : कृषि मन्त्रालय

काठमाण्डौ – कृषि, वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ ।

मुख्यबाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको जनाएको छ । सरकार–सरकार (जिटुजी) सम्झौताअन्तर्गत भारतबाट आयात हुन लागेको ३० हजार मेट्रिक टन युरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने भएको छ ।

अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत विभिन्न देशबाट एक लाख ८० हजार मेट्रिक टन रासायनिक मलमध्ये ६० हजार मेट्रिक टन डिएपी र एक लाख २० हजार मेट्रिक टन युरिया रहेको छ ।

मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता पाइएमा उजुरी गर्न बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म हटलाइन नम्बर ९७०००९९११३ तथा क्युआर कोडमार्फत गुनासो दर्ता गर्ने व्यवस्था पनि गरेको छ ।

 

राष्ट्रियसभा बैठक बस्दै

काठ्माण्डौ- राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभालाई जानकारी गराउने कार्यसूची रहेको छ।

त्यसपछि परराष्ट्र मन्त्री शिशिर खनाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नहरूको जवाफ दिनेछन्।

आजको बैठकमा राष्ट्रियसभा सदस्य रेनु चन्दले ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण तथा महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी र संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी’ सङ्कल्प प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

विधि विज्ञान विशेषज्ञको न्यूनतम योग्यता स्नातकोत्तर हुनुपर्छ : मन्त्री पुन

काठमाडौं । सरकारले विधि विज्ञान (फोरेन्सिक साइन्स)को क्षेत्रमा विशेषज्ञका लागि स्नातकोत्तर तह (मास्टर्स)को योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव गरेको छ । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफलका क्रममा सरकारले यस्तो प्रस्ताव गरेका हुन् ।

सरकारका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विगतमा स्नातक तह (व्याचलर्स)लाई नै ठूलो शैक्षिक उपलब्धिको रूपमा लिइने गरिएको भए पनि वर्तमान समय र प्रविधिको विकाससँगै विशेषज्ञताका लागि स्नातकोत्तर तह आवश्यक भइसकेको उनले तर्क गरे । विधि विज्ञान अत्यन्तै संवेदनशील विषय भएको उल्लेख गर्दै उनले ‘कामचलाउ’ जनशक्तिको भर पर्दा अनुसन्धान र न्याय सम्पादनमा गम्भीर त्रुटि हुन सक्नेतर्फ सचेत गराए ।

मन्त्री पुनले प्रमाण संकलन र अनुसन्धानको दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिए । हाल प्रचलित रासायनिक, भौतिक र जैविक प्रमाणका साथै ‘विद्युतीय’ (डिजिटल) प्रमाणलाई पनि कानुनी रूपमा परिभाषित गरिनुपर्ने सुझाव दिए । डिजिटल माध्यमबाट हुने अपराध र प्रमाणलाई सम्बोधन गर्न यो अनिवार्य भइसकेको उनको भनाइ थियो ।

“विशेषज्ञ भनेको वास्तवमै जान्ने हुनुपर्छ । विगतको परिस्थिति बेग्लै थियो, तर अहिले संसार धेरै अगाडि बढिसकेको छ । यदि दक्ष जनशक्तिको अभाव छ भने बरु सरकारले अध्ययन र तालिमको व्यवस्था गरेर नयाँ जनशक्ति तयार गर्नुपर्छ, तर योग्यतामा सम्झौता गर्नुहुँदैन,” मन्त्री पुनले भने ।

विशेषज्ञहरूले लिने तालिमका सन्दर्भमा समेत मन्त्री पुनले स्पष्ट मापदण्डको आवश्यकता औँल्याए । उनका अनुसार, सामान्य प्रकृतिका तालिमलाई मात्र आधार नमानी मान्यता प्राप्त विश्वविद्यालय वा प्रमाणित संस्थाहरूबाट लिइएको विशिष्ट तालिमलाई मात्रै आधिकारिकता दिनुपर्ने हुन्छ ।

बैठकमा मन्त्री पुनले मन्त्रालयको संरचना र नाम परिवर्तन भइरहने नेपालको परिप्रेक्ष्यमा विधि विज्ञानको जिम्मेवारी ‘विज्ञान तथा प्रविधि हेर्ने मन्त्रालय’ले नै सम्हाल्नुपर्ने धारणा राखे । -न्युज एजेन्सी नेपाल

 

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य शपथ लिन बनस्थली पुगे

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारीहरु र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ ।

पार्टी कार्यालय वनस्थलीमा हुने शपथ ग्रहण कार्यक्रमका लागि अहिले पदाधिकारी र केन्द्रीय सदस्यहरु जम्मा हुन थालेका छन् । धेरै नेताहरु कार्यालय परिसरमा पुगिसकेका छन् ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गते सुरु भएको थियो । तीन दिनमा सम्पन्न गर्ने भनिएको उक्त महाधिवेशन सहमतिको प्रयास भन्दै ६ दिनसम्म लम्बिएको थियो ।

उक्त महाधिवेशनबाट ९९ सदस्य निर्वाचित भएका थिए। बाँकी ५१ जना भने सभापतिद्वारा मनोनीत हुनेछन् ।

मनसुनजन्य विपद् व्यवस्थापनका लागि नेपाली सेनाको ३ चरणको तयारी

काठमाडौं- मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले तीन चरणको विशेष पूर्वतयारी कार्ययोजना अघि सारेको छ ।

सम्भावित बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनीकरण र तत्काल उद्धारका लागि सेनाले जनशक्ति र स्रोतसाधनलाई उच्च सतर्कताका साथ परिचालन गरेको जनाएको हो ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार पहिलो चरण अन्तर्गत पूर्वतयारी र योजना निर्माणको कार्य सम्पन्न भएको छ । यस क्रममा विगतका विपद्का घटनाहरूको गहन अध्ययन र अनुसन्धान गरी विद्यमान योजनालाई परिमार्जन गरिएको छ । जंगी अड्डादेखि तल्लो तहका इकाइहरूसम्म ‘हातेमालो’ लगायतका विभिन्न संयुक्त अभ्यासहरू सञ्चालन गरी फौजलाई तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ ।

दोस्रो चरण अन्तर्गत स्रोतसाधनसहितको ‘पूर्व तैनाथी’लाई तीव्र पारिएको नेपाली सेनाले जनाएको छ । यस अन्तर्गत गण र गुल्म तहमा तत्काल परिचालन हुनसक्ने गरी फौज तैनाथ गरिएको छ भने पृतना तहमा राहत सामग्रीसहितको ‘कम्पोजिट सर्च एण्ड रेस्क्यु’ टोली तयारी अवस्थामा राखिएको छ ।

बाढी र पहिरोका कारण सडक सञ्जाल अवरुद्ध हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै धादिङको गजुरी, चितवनको भरतपुर र बारामा ‘बेली ब्रिज’हरू स्ट्यान्डबाई राखिएका छन् । काठमाडौंमा यान्त्रिक पुलहरू र आपत्कालीन चिकित्सा सुविधाका लागि इमर्जेन्सी मेडिकल किटसहितका फिल्ड अस्पतालहरू समेत तयारी हालतमा राखिएको प्रवक्ता बस्नेतले जानकारी दिए ।

हवाई उद्धारका लागि पनि विशेष तयारी गरेको नेपाली सेनाले जनाएको छ । इटहरी र सुर्खेतमा हेलिकप्टरहरू तैनाथ गरिसकिएको छ भने मौसमको अवस्था हेरी तत्काल परिचालन हुनेगरी काठमाडौंमा थप दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । विमानस्थलहरूमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ । हालै बागमती ड्याममा हवाई उद्धार सम्बन्धी विशेष अभ्यास समेत सम्पन्न गरिएको छ ।

नेपाली सेनका प्रवक्ता बस्नेतले भने, तेस्रो चरण अन्तर्गत हामीले सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन गरी स्वयंसेवकहरू तयार गरेका छौं । ती स्वयंसेवकहरू तथा सम्बन्धित निकायहरूसँग आपसी समन्वय र सहकार्य गर्दै विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने दिशामा नेपाली सेना प्रतिवद्ध छ ।’

नेपाली सेनाले आम सर्वसाधारणलाई नेपाल सरकारद्वारा जारी हुने मौसम पूर्वानुमानलाई नियमित रूपमा फलो गर्न र प्राप्त निर्देशनलाई पालना गर्न अनुरोध गरेको छ ।

विपद्का घटना भए तत्काल स्थानीय वा जिल्ला विपद् व्यवस्थापन समिति, नजिकको प्रहरी युनिट वा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयमा जानकारी गराउन समेत प्रवक्ता बस्नेतले अपिल गरेका छन् ।

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सरकार

काठमाडौं- देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। बुधबार र बिहीबार मौसम थप प्रतिकूल रहने पूर्वानुमानपछि सरकारले विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुन थप सशक्त बनेपछि देशभरका जोखिमयुक्त क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।

सशस्त्र प्रहरीको ५४ मनसुन प्रतिकार्य बेस

सशस्त्र प्रहरी बल (एपीएफ) ले विपद्का बेला तत्काल उद्धार टोली खटाउन सहज होस् भनी देशभर ५४ स्थानमा ‘अस्थायी मनसुन प्रतिकार्य बेस’ स्थापना गरेको छ। एपीएफ प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार १६ वटा अति जोखिमयुक्त स्थानमा भने जनशक्ति र स्रोतसाधनसहितका स्थायी बेसहरू नै तयारी अवस्थामा छन्।

विपद्को सूचना लिन सशस्त्र प्रहरीले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप र १११४ हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। प्रवक्ता कार्कीले भने, ‘नागरिकले एपमार्फत सूचना दिनेबित्तिकै नजिकको बाहिनीमा जानकारी पुग्छ र उद्धार टोली तत्काल घटनास्थलमा खटिन्छ। हामी चौबिसै घण्टा तयारी हालतमा छौँ।’

‘एकीकृत बस्ती नहुँदा व्यवस्थापन चुनौतीपूर्ण’

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले विपद् व्यवस्थापनका लागि जनशक्ति र प्रविधिको व्यवस्था विगतभन्दा सुधारिएको भए पनि भूगोलका कारण केही चुनौती बाँकी रहेको बताए। छरिएर रहेका पहाडी बस्ती र खोला किनारमा रहेका तराईका बस्तीमा राज्यको पहुँच पुर्‍याउन अझै मिहिनेत आवश्यक रहेको उनको भनाइ छ।

उनले भने, ‘स्थानीय तह विपद्को अग्रपङ्क्तिमा रहेकाले उनीहरूलाई थप स्रोत–साधनयुक्त बनाउनु आवश्यक छ। विशेषगरी राजमार्ग क्षेत्रमा रहेका ‘ब्ल्याक स्पट’ पहिचान गरी सुधार गर्न र पूर्वसूचना प्रणालीलाई कडाइका साथ पालना गर्न हामीले ध्यान दिनुपर्छ।’

नेपाली सेनाको तीन चरणको विशेष कार्ययोजना

नेपाली सेनाले पनि बाढी–पहिरोबाट हुने क्षति न्यूनीकरण गर्न तीन चरणको पूर्वतयारी अघि बढाएको छ। प्रवक्ता राजाराम बस्नेतका अनुसार पहिलो चरणमा योजना अद्यावधिक र संयुक्त अभ्यास, दोस्रोमा स्रोत-साधनसहितको पूर्व तैनाथी र तेस्रोमा प्रतिकार्य र पृष्ठपोषणलाई प्राथमिकता दिइएको छ।

बस्नेतका अनुसार, नेपाली सेनाले हवाई उद्धारका लागि इटहरी, सुर्खेत र काठमाडौँमा हेलिकप्टरहरू तयारी अवस्थामा छन्। त्यस्तै, पूर्वाधार सहयोगका लागि धादिङ, चितवन र बारामा बेली ब्रिज स्ट्यान्डबाइ राखिएको छ।

त्यस्तै, स्वास्थ्य सेवाका लागि आपत्कालीन मेडिकल किटसहितका फिल्ड अस्पतालहरू तयारी हालतमा रहेका बस्नेतले जानकारी दिए ।

सेनाले विपद्का घटनामा तत्काल जानकारी गराउन स्थानीय विपद् व्यवस्थापन समिति वा सेनाको जनसम्पर्क निर्देशनालयमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, सरकारले जारी गर्ने मौसम पूर्वानुमानलाई नियमित पछ्याउन र उच्च सतर्कता अपनाउन पनि सेनाले अपिल गरेको छ।

अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि जारी

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि २०८३ जारी गरेको छ । काउन्सिलको बोर्ड बैठकले आधुनिक चिकित्साको नियमन गर्ने उद्देश्यले कार्यविधि जारी गरेको हो । कार्यविधि अनुसार गैर स्वास्थ्यकर्मीहरूले डाक्टर लेखी आधुनिक चिकित्सा अभ्यास गर्न पाइनेछैन ।

बोर्डका निमित्त रजिस्ट्रार डा.दीपेन्द्र पाण्डेले समग्र चिकित्सा क्षेत्रको नियमन गर्न कार्यविधि ल्याइएको बताए । डा.पाण्डेले भने, चिकित्सकले पनि आफ्नो आचारसंहिता उल्लङ्घन गरे कारबाही हुन्छ । यो कार्यविधिले चिकित्सा क्षेत्रलाई थप मजबुत बनाउन योगदान गर्नेछ ।’

गैरचिकित्सकले आफ्नो कार्यक्षेत्रको अधीनमा रही अभ्यास गर्नुपर्नेछ । कार्यविधि अनुसार अवैध चिकित्सकीय अभ्यास भन्नाले प्रचलित कानुन बमोजिम नेपाल मेडिकल काउन्सिल वा स्वास्थ्यसँग सम्बन्धित अन्य व्यावसायिक परिषद्मा दर्ता नभई, वा दर्ता भए तापनि आफ्नो स्वीकृत कार्यक्षेत्र र विद्यमान कानुनको परिधि बाहिर गई चिकित्सा सेवा वा स्वास्थ्योपचारको अभ्यास गर्नु वा गराउनु हो ।

अवैध चिकित्सकीय अभ्यास अन्तर्गत आधुनिक चिकित्सा वा स्वास्थ्य उपचारको काम गर्ने वा भ्रम छर्ने उद्देश्यले आफूले प्राप्त नगरेको वा आधिकारिक निकायले प्रदान नगरेको ‘डाक्टर’ उपाधि, डिग्री, डिप्लोमा, सर्टिफिकेट वा लाइसेन्स आफ्नो नामसँग जोडी लेख्नु/लेख्न लगाउनु वा प्रयोग गर्नु, अवैज्ञानिक, अप्रमाणित, झुट्टा वा भ्रामक रूपमा चिकित्सक वा विशेषज्ञ चिकित्सकको रूपमा आधुनिक उपचार वा शल्यक्रिया गर्नु, स्वास्थ्य सम्बन्धी अतिरञ्जित वा भ्रमपूर्ण विज्ञापन गर्नु र फर्जी वा जालसाजी मेडिकल प्रमाणपत्र, प्रेसक्रिप्सन वा अन्य आधिकारिक कागजात जारी गर्ने कार्य समेत पर्दछन् ।

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ ।

अस्पतालमा ती सेवाका लागि विशेषज्ञ डाक्टर नहुँदा सो सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए ।

उनका अनुसार दुई महिनाअघि नै रेडियोलोजिस्ट डा होम पन्तको कोशीमा सरुवा फिर्ता भएसँगै उक्त सेवा बन्द भएको हो । दैनिक २० जनासम्मको भिडियो एक्सरे हुने गरेको गेटा अस्पतालमा हाल सेवा बन्द भएपछि सेवा लिन आउने बिरामी बाहिर जान बाध्य छन् ।

सूचना अधिकारी कार्कीले गर्भवती जाँचका लागि स्त्री तथा प्रसूति रोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) डाक्टरले नै भिडियो एक्सरे सेवा जारी राखेका छन् । रेडियोलोजिस्ट डाक्टर नहुँदा म्यामोग्राफी (स्तन एक्सरे जाँच) सेवा पनि बन्द भएको उनको भनाइ छ ।

उनले म्यामोग्राफीको रिपोर्टिङ पनि रेडियोलोजिस्ट डाक्टरलाई गर्नुपर्ने भएकाले रेडियोलोजिस्ट डाक्टर नहुँदा सेवा बन्द भएको बताए । म्यामोग्राफी सेवा यस क्षेत्रमा पहिलोपटक सञ्चालनमा ल्याइएको थियो ।

छ सय शय्याको भौतिक संरचना निर्माण भएको अस्पतालमा हाल ५० शय्या मात्रै सञ्चालनमा छ । अस्पतालमा सेवा विस्तारका लागि पटकपटक यस क्षेत्रका स्थानीयले दबाब दिँदै आए भए पनि हाल भएका सेवा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । अस्पतालमा यसअघि नै आइसीयू एनआइसीयू सेवा पनि सञ्चालन गर्ने जनाउँदै पूर्वाधार निर्माण गरिएको भए पनि सो सेवा पनि अझै सञ्चालनमा आउन सकेको छैन । रासस

खोज्नुहोस