जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ च्याप्टरको सभापतिमा खत्री निर्वाचित

ड्यालस, २१ डिसेम्बर ।
नेपाली जनसम्पर्क समिति अमेरिका अन्तरगतको ड्यालस फोर्टवर्थ च्याप्टर (डिएफडब्लु)को अध्यक्षमा उज्जल खत्री निर्विरोध निर्वाचित भएका छन् ।

च्याप्टरको चौथो अधिवेशनले खत्रीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

उपसभापतिमा मधुर खरेल, सचिवमा आकाश अधिकारी र कोषाध्यक्षमा राजु कोइराला चयन भए ।

त्यस्तै सदस्यहरुमा विष्णुकुमार गिरी, रमेश न्यौपाने, दीपक थपलिया, कृष्ण प्रसाई, कविराज कार्की, सगुन अधिकारी, विष्णुप्रसाद ढकाल, होमप्रसाद थपलिया र विनय खतिवडा चयन भएका छन् ।

 

सुदूरपश्चिममा एकैदिनमा २७० जनाद्वारा रक्तदान

धनगढी, ७ पुस ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को कार्यालयले सोमवार आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा २७० जनाले रक्तदान गरेका छन्।

सुदुरपश्चिम प्रदेशमै एकै दिन २७० जनाले रक्तदान गरेको यो पहिलो पटक हो । प्रादेशिक रक्तसंचार केन्द्रका प्रमुख धरणी पन्तले ४८ जना महिला र २२२ जना पुरुषले रक्तदान गरेको बताउदै आयोजक लगायत सम्पुर्ण सहयोगी र रक्तदाता धन्यवादको पात्र रहेको बताए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाहीको आह्वानमा आयोजित रक्तदान कार्यक्रममा धनगढीका विभिन्न कलेज, ईन्स्टिच्युटमा अध्ययनरत विद्यार्थी, पेशाकर्मी र विभिन्न अस्पतालमा अस्पतालमा कार्यरत कर्मचारी र  र सर्वसाधारण स्वतस्र्फूत रुपमा रक्तदान कार्यक्रममा सहभागी भएका थिए । जसमध्ये २०० जनाले पहिलो पटक रक्तदान गरेका थिए । अन्य ७० जनाले भने यसअघि पनि रक्तदान गरिसकेका छन् ।

वडा अध्यक्ष शाहीले धनगढीमा रगतको अभाव देखिएपछि रक्तदान कार्यक्रमको आयोजना गरेको बताए ।

रक्तदान कार्यक्रममा भएको युवाहरुको अभूतपूर्व सहभागिताबाट हामी निकै उत्साही भएका छौ । करीव डेढ हप्ताको तयारीमा यति धेरै मात्रामा रगत संकलन गर्न सक्यौ । अध्यक्ष शाहीले भने, मानव जीवनको रक्षाका लागि रक्तदानको महत्व बुझाउन हामी सफल भयौ ।

रक्तदान कार्यक्रममा सुदुरपश्चिम प्रदेशका रक्तदान सद्भावना दूत दीपक उपाध्यायले मानिसमा रगत दिनु हुदैन, दिएमा कमजोर भइन्छ भन्ने लगायतका भ्रम रहेको बताउदै यो ऐतिहासिक बृहत रक्तदानले ति सबै भ्रम चिर्न सफल भएको बताए ।

सुदुरपश्चिममा सबैभन्दा धेरै पिन्ट रगत संकलन र पहिलो रगत दिने रक्तदाताको रेकर्ड समेत यो कार्यक्रमले तोडेको बताउदै सद्भावना दूत उपाध्यायले आज मात्रै झण्डै २ सय जनाले पहिलोपटक रक्तदान गरेको बताए ।

रक्तदान कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, खप्तड कलेज, सहारा होटेल म्यानेजमेन्ट, साई मा इन्स्टिच्युट लगायतका संस्थामा अध्ययनरत विद्यार्थी, कर्मचारी र बटुवाहरुले रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।

वडा अध्यक्ष गजेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा सामाजिक बिकास मन्त्रालयकी राज्यमन्त्री सरस्वती खड्का प्रमुख अतिथि रहेकी थिईन् । रक्तदान कार्यक्रममा निसर्ग अस्पताल, नेपाल रेडक्रस सोसाइटी नम्बर ५ उपशाखा, एजी हेल्थ ईण्डष्ट्रिज प्रा.लि लगायत बिभिन्न संघ संस्थाको सहयोग रहेको थियो ।

आज सुदूरपश्चिम प्रदेशमै पहिलो पटक एकैचोटि २७० पिन्ट रगत संकलन भएको छ । यो केवल एउटा आँकडा मात्र होइन, जीवन बचाउने आशा र विश्वासको बलियो संकेत हो  । यस उल्लेखनीय रक्तदान कार्यक्रममा ४६ जना महिला रक्तदाताहरूको सक्रिय सहभागिता रहनु झनै प्रेरणादायी पक्ष हो, नेपाल रेडक्रस सोसाईटी कैलालीमा कार्यरत नरेन्द्र भट्ट सामाजिक सञ्जालमा लेख्छन्, अझ गर्वको कुरा त के छ भने, करिब ९५ प्रतिशत रक्तदाता १८–२५ वर्ष उमेर समूहका नयाँ रक्तदाता हुनुहुन्छ।

ओलीप्रति रविको व्यंग्य : उहाँले लगाएको गुन तिर्न अदालत आएको हुँ

काठ्माणडौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्नो पहिलो तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगेका छन् ।

सोमबार तारेखका लागि जिल्ला अदालत पुगेका उनले सञ्चारकर्मीसँगको छोटो कुराकानीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको गुन तिर्न गएको प्रतिक्रिया दिए ।

उनले भने, ‘गुन लगाइदिनुभएको छ नि केपी ओलीजीले, त्यही गुन तिर्न आइराखेको छु । सबै जिल्ला अदालतमा जानुपर्ने छ । ठाउँ–ठाउँमा वा जिउमा किला ठोकेको जस्तो भएको छ । सात दिनभित्र सबै अदालत हाजिर हुनुपर्नेछ । विष अझै बाँकी छ शरीरमा, त्यसको लागि तयारी गरिरहेको छु ।’

यही ६ पुसमा एक अन्तर्वार्तामा उनले ‘रविलाई गुन लगाउँदा दुश्मनी गरे’ अभिव्यक्ति दिएका थिए । ओलीको सो अभिव्यक्ति सुनेपछि रविले आज व्यङ्ग्यात्मक तरिकाले जवाफ फर्काएका हुन् ।  a

एचपिभी खोप अभियान माघमै सुरु हुने, कक्षा ६ मा पढ्ने किशोरीलाई लगाइने

सरकारले चालु आर्थिक वर्षदेखि नियमित खोपमा समावेश गरेको एचभिभी (ह्युमन पेपिलोमा भाइरस विरुद्धको खोप) माघ महिनामै सुरु हुने गरी तयारी भइरहेको जनाएको छ ।

वार्षिक तालिकामा फागुनमा दिने कार्यक्रम रहेपनि आसन्न निर्वाचन र अन्य कार्यक्रमको अवधि रहेकोले समय तालिका माघमा सार्नु परेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा.अभियान गौतमले बताए । राष्ट्रिय खोप कार्यक्रमको स्थिति बारे जानकारी दिने क्रममा उनले यस्तो बताएका हुन ।

डा.गौतममका अनुसार एचपिभी खोप पाठेघरको मुखको क्यान्सर गराउन सक्रिय हुने ह्युमन पेपिलोमा भाइरसविरुद्धको खोप हो । यो सानो उमेरका किशोरीलाई दिँदा प्रभावकारी रुपमा काम गर्छ । एचपिभी भाइरस २ सय प्रकारका रहेपनि नेपालमा पाठेघरको मुखको क्यान्सर बनाउन सक्रिय रहेका एचपिभी १६ र एचपिभी १८ नम्वरका भाइरसविरुदको खोप दिन लागिएको हो ।

एचपिभी खोप भने यो वर्ष दश वर्षका तीन लाख ५० हजार किशोरीलाई दिने लक्ष्य रहेको छ । कक्षा ६ मा पढ्ने र १० वर्षका किशोरीलाई खोप लगाउने गरी तयारी भइरहेको डा.गौतमले जानकारी दिए । तर कक्षा ६ मा पढेपनि दश वर्ष भन्दा माथि उमेर रहेका किशोरीले पनि खोप पाउनेछन् । गतवर्ष दशदेखि १४ वर्षभित्रका सवैजसो किशोरीलाई खोप दिइसकेको हुनाले यो वर्ष दश वर्षभित्रका किशोरीलाई दिने सरकारले लक्ष्य छ ।

सानो उमेरमा दिंदा खोपको प्रभावकारिता हुने भएकोले दश वर्षका किशोरीलाई लक्षित गरी खोप दिने कार्यक्रम रहेको डा.गौतमले जानकारी दिए । खोप विद्यालयमा र बाहिर अन्य खोप केन्द्रमा पनि लगाइने खोप शाखाले जनाएको छ । सरकारले गतवर्ष चलाएको खोप अभियानमा ९० प्रतिशत किशोरीले खोप लिएका थिए ।

‘एचपिभी खोप सुरक्षित छ हल्लाको पछि नलाग्नु’

‘नयाँ खोप कार्यक्रम सुरु हुँदा अन्य देशमा पनि नकारात्मक हल्ला फैलिँदा सीमान्तीकृत समूह नै प्रभावमा परेको देखिन्छ, नेपालमा अब यस्तो नहोस’ डा.गौतमले भने ।

विश्व स्वास्थ्य संगठनका डा.पवन उपाध्यायले कुनै पनि खोप सञ्चालन गर्नु अघि खोपको  औचित्य, प्रभावकारिता, स्वास्थ्यमा पर्ने असर लगायत सवै विषयमा तहगत अध्ययन पछि मात्र खोप कार्यक्रमको निर्णय हुने भएकोले हरेक खोपहरु सुरक्षित हुने गरेको जानकारी दिए । उनले भने, ‘नेपालमा पनि खोप सल्लाहाकार समिति, औषधि व्यवस्था विभाग, विश्व स्वास्थ्य संगठनले अनुमति दिएपछि मात्र खोप आयत हुने गर्छन,’ उनले भने । आम मानिसमा पुग्नु अघि नै बिभिन्न अनुसन्धान गरी खोप बजारमा पठाइने वैज्ञानिक विधि भएकोले अभियानमा प्रयोग हुने खोप सुरक्षित भएको उनीहरुको दाबी छ ।  ‘नकारात्मक हल्लाको पछि लाग्दा  खोप लिन बंञ्चित भएका किशोरी पछि गएर पाठेघरको मुखको क्यान्सरको जोखिममा हुन्छन,’ उनले भने ।

एचपिभी खोप अभियानको खोप आयत भइसकेको र माघ महिनाभित्रै सवै प्रदेश तथा जिल्लाहरुमा पठाइने तयारी भइरहेको खोप शाखाले जानकारी दिएको छ । यो खोप निजी क्लिनिकहरुमा पाइने भएपनि सरकारले सवै किशोरीका लागि अन्तर्राष्ट्रिय खोप वितरण संस्था गाभी र नेपाल सरकारको खर्चमा लिइएको हुनाले निजी क्लिनिकको  तुलनामा सुरक्षित र निःशुल्क रहेको महाशाखाको दाबी छ । प्रतिजैविक समस्या बढिरहेको बेलामा रोग लागिसकेपछि औषधिभन्दा खोप उचित भएको उनले बताए ।

सो क्रममा परिवार कल्याण महाशाखाका प्रमुख डा.मदनकुमार उपाध्यायले कुनै पनि रोग लाग्न र रोग लागेर जटिलता हुन नदिन कुनै पनि खोप दिइने हुनाले नेपाल सरकारले प्रदान गरेको खोप सुरक्षित रहेको बताए । ‘रोग लाग्न नदिन र लागेर जटिल समस्या भई मृत्यु हुन नदिन खोपको सहारा चाहिन्छ,’ उनले भने ।

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रकी निर्देशक राधिका थपलियाले एचपिभी खोप बारे गलत हल्ला नफैलाउन सञ्चारकर्मीसँग अनुरोध गरिन् । ‘संधै नयाँ खोप दिने समय गलत हल्ला हुन्छ, यो वर्ष त्यस्तो नहोस,’ उनले भनिन ।

एससीटीले कर्पोरेट इन्टरनेट बैंकिङ सेवा सुरु गर्‍यो

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज (एससीटी) ले स्विफ्ट टेक्नोलोजिजसँगको सहकार्यमा इन्टरनेट बैंकिङ सेवा औपचारिक सुरुवात गरेको छ ।

एससीटीले कर्पोरेट, साना र मध्यम उद्यम (एसएमई), मिड कर्पोरेटदेखि ठूला कम्पनीसम्मलाई लक्षित गरेर सेवा सञ्चालन गरेको छ ।

यस सेवामार्फत ग्राहकहरूले हाइराकिकल अप्रुभल मेकानिजम, सिंगल तथा बल्क अपलोडमार्फत कारोबार गर्ने सुविधा, मेकर–चेकर प्रक्रिया, बिल भुक्तानी, तलब व्यवस्थापन, रकम स्थानान्तरण जस्ता सुविधाहरू सहज रूपमा उपयोग गर्न सक्नेछन् ।

साथै, प्रयोगकर्तामैत्री इन्टरफेस, सरल कन्फिगरेसन मेनु र व्यवसायहरूको आवश्यकता अनुरूप कस्टमाइज गर्न मिल्ने विशेषता समेत उपलब्ध छन् ।

हाल यस कर्पोरेट इन्टरनेट बैंकिङ सेवामा आबद्ध हुने नेपालमा पहिलो बैंक ग्लोबल आईएमई बनेको छ । बैंकले यस सेवालाई बिजनेक्स नाममा आफ्ना ग्राहकहरूलाई प्रदान गर्दै आएको छ, जसले बैंकका कर्पाेरेट तथा व्यवसायिक ग्राहकहरूलाई अझ सहज, सुरक्षित र छरितो डिजिटल बैंकिङ अनुभव उपलब्ध गराएको छ ।

बिजनेक्स मार्फत ग्राहकहरूले दैनिक वित्तीय गतिविधिहरूलाई स्वचालित, द्रुत र व्यवस्थित बनाउन सक्ने भएकाले बैंकको सेवा क्षमतामा उल्लेखनीय वृद्धि भएको छ ।

यसका साथै, यस सेवाले वित्तीय कारोबारको पारदर्शिता, दक्षता र कार्यप्रवाह व्यवस्थापन अझ मजबुत भई डिजिटल बैंकिङको नयाँ मापदण्ड स्थापनामा सहयोग पुगेको छ ।

सडक मर्मतका लागि एमसीसीअन्तर्गत दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं : एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज  कर्पाोरेशन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिब २ दशमलव ३७ करोड अमेरिकी डलर मूल्यका दुई वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ।

सोमबार काठमाडौंमा एमसिए–नेपालले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको सडक खण्डमा फूल डेप्थ रिक्लेमेशन तथा सुपरपेभ प्रविधि प्रयोग गरेर सडक स्तरोन्नति कार्यका लागि सम्झौता गरेको हो।

यसैगरी एमसिए–नेपालले हालै उक्त सडक खण्डको सडक स्तरोन्नति कार्य र नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इण्टरनेशनल कन्सल्टाण्ट्स एण्ड टेक्नोक्राट्स प्रालिसँग सम्झौता गरेको छ।

आयोजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किमी सडक खण्डमा स्तरोन्नतिको क्रममा सात मिटरको क्यारिज वे र २ दशमलव ५ मिटरको शोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिने एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले जानकारी दिए।

सम्झौता अन्तर्गतका क्रियाकलापले व्यापार एवं सवारी सञ्चालन लागतलाई घटाउने र सडक सुरक्षामा अभिवृद्धि गर्ने विश्वास लिएको उनले बताए।

त्यस्तै नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सरकारका सबै तहमा साझा प्रतिबद्धता प्रतिविम्बित गर्ने अर्को उपलब्धि भएको बताए। अर्थ मन्त्रालयका सह–सचिव डा. धनिराम शर्माले नेपालमा पहिलोपटक भित्रिएको नवीनतम प्रविधिबाट नेपालमा दिगो, प्रभावकारी तथा मितव्ययी सडक मर्मतका लागि मार्गप्रशस्त भएको र एमसिए–नेपाल यो आयोजना समयमै सम्पन्न गर्न सक्षम रहेको बताए।

नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट

काठमाडौँ । नेप्सेमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से १३.८८ अंकले घटेर २५८१.२१ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३२ कम्पनिका ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज एसवाई प्यानलको शेयर मुल्यमा सर्बाधिक ९.९९ प्रतिशतले बढेको छ भने सिटिजन बैंक डिभेन्चरको शेयर ६.०१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी मनुसी लघुवित्तको शेयर ६.८४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी लुम्बिनी विकास बैंकको १० करोड ३० लाख कारोबार भएको छ भने सन नेपाल लाइफ इन्सुरेन्सको ८ करोड २६ लाखको कारोबार भएको छ ।

देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

देउवालाई भेट्न ओली महासचिव शंकर पोखरेलसहित महाराजगञ्जस्थित निवासमा पुगेका हुन् । संसद पुनर्स्थापनाको मुद्दामा कांग्रेस एमाले एकठाउँमा आएको बेला यो भेट भएको हो ।

साफ फुटसल च्याम्पियनसिप : पुरुष र महिला टोलीको घोषणा

काठमाडौं । साफ फुटसल च्याम्पियनसिप–२०२६ मा प्रतिस्पर्धा गर्ने नेपालको महिला र पुरुष दुवै राष्ट्रिय टिम घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताका निम्ति महिला र पुरुष दुवैतर्फ समान १४ सदस्यीय नेपाली टिम सार्वजनिक गरेको हो ।

नेपाली पुरुष टिमको मुख्य प्रशिक्षण जिम्मेवारीमा अनिलबहादुर गुरुङ छन् । यस्तै, महिला टिमको जिम्मेवारीमा विक्रम महर्जन छन् । नेपालको महिला र पुरुष दुवै टिमले आगामी जनवरी १३ देखि २६ सम्म थाइल्यान्डमा हुने साफ फुटसल प्रतियोगितामा सहभागिता जनाउँदै छन् ।

पुरुष टोली : अमित लामा, अशोक दर्लामी, विजय श्रेष्ठ, विक्रान्त नरसिंह राणा, विशाल सरु मगर, दीपेश श्रेष्ठ (गोलकिपर), जेनिस प्रजापति, लाक्पा लामा, पदम तामाङ (गोलकिपर), पेम्पा दोर्जी लामा, सन्जे स्याङतान, सरोज तामाङ, सुवेत लामा, सुरज गुरुङ ।

महिला टिम : अनिता केसी, अन्जली मचामसी, विमला चौधरी, विमला थापा, दीपा राई, जेनिफर राना, झरना दुर्माकोटी (गोलकिपर), मनिषा थापा मगर, प्रतिक्षा ठकुरी, रोशनी बोहरा क्षेत्री, सावित्री किसन (गोलकिपर), सजिना कोइराला, सुनकला राई, सुस्मा तामाङ ।

माइतीघरमा जेनजी आन्दोलन : निकोलस भुसालसहित पाँच जना पक्राउ

काठ्माणडौ – माइतीघर मण्डलामा जेनजी अगुवा मिराज ढंगानालगायतको टोलीले गरेको आन्दोलन प्रहरीले तितरबितर पारेको छ। प्रदर्शनका क्रममा अभियन्ता निकोलस भुसालसहित पाँच जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै ढुंगाना, रविकिरण हमालसहितका जेनजी युवाले ‘संयुक्त आन्दोलन’को नाममा माइतीघरमा प्रदर्शन गरिरहेका छन्। आन्दोलन स्थलमा केही घाइतेसमेत उपस्थित भएका छन्।

तर प्रशासनको अनुमति नलिई कार्यक्रम आयोजना गरिएको भन्दै प्रहरीले प्रदर्शनकारीलाई त्यहाँबाट हटाएको छ। सो क्रममा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेलसमेत भएको थियो।

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता- सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् ।

राजधानी जकार्ताबाट योग्यकार्तातर्फ गइरहेको एक कोच बस राजमार्गको इन्टरचेन्ज नजिकै अवरोधमा ठोक्किएर पल्टिँदा यो दुर्घटना भएको हो ।

स्थानीय खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोका अनुसार उक्त बस निकै उच्च गतिमा यात्रारत अवस्थामा मोडमा पुगेको थियो । मोड पार गर्ने क्रममा बस सडकको अवरोधसँग ठोक्किएपछि अनियन्त्रित भई पल्टिएको उनले विज्ञप्तिमार्फत बताए ।

‘हामीले घटनास्थलबाट ३४ जनालाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएका छौँ’, बुडियोनोले जानकारी भने । उनका अनुसार १५ जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने गम्भीर घाइते एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परेका धेरै घाइतेलाई उपचारका लागि सेमरङ सहरका विभिन्न अस्पतालमा लगिएको उनले बताए । उद्धार एजेन्सीले सार्वजनिक गरेको भिडियो फुटेजमा बस छेउमा पल्टिएको अवस्थामा देखिन्छ, जहाँ उद्धारकर्मीहरूले पीडितहरूलाई बडी ब्यागमा राख्दै स्थानान्तरण गरिरहेका दृश्यहरू देख्न सकिन्छ ।

इन्डोनेसियामा यस प्रकारका यातायात दुर्घटनाहरू प्रायः हुने गरेका छन् । दक्षिणपूर्व एसियाको विशाल द्वीपसमूह राष्ट्रमा धेरै सवारी साधनहरू पुराना हुनु, मर्मतसम्भारको कमी रहनु तथा सडक नियमहरूको नियमित उल्लङ्घन हुनु दुर्घटनाका प्रमुख कारण मानिन्छन् ।

यसअघि सन् २०२४ मा ईद अल–फितर पर्वका अवसरमा मानिसहरूको आवतजावत बढेका बेला व्यस्त राजमार्गमा एउटा बस र कार आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१९ मा सुमात्राको पश्चिमी भागमा एउटा बस खोलामा खस्दा कम्तीमा ३५ जनाले ज्यान गुमाएका थिए । रासस

चुनावको तयारीबारे सर्वपक्षीय छलफल गर्दै आयोग

काठमाण्डौ – निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ ।

आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधि सभा चुनावका विषयमा केन्द्रित रहेर आयोगले छलफल गर्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे हुने छलफल आउँदो चुनावको विषयमा केन्द्रित हुने निर्वाचन आयोगले जनाएको छ ।

छलफलमा अहिलेसम्मको चुनावको तयारीबारे सवैपक्षलाई आयोगले जानकारी गराउने भनिएको छ । छलफलमा राजनीतिक दलका नेताहरूसँगै सुरक्षा निकाय प्रतिनिधिहरु पनि सहभागी हुने छन् ।

नागरिक लगानी कोषको लाभांश घोषणा

काठ्माणडौ- नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भई कम्म्पनीकोआगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधीहरूले पाउनेछन्।

सुनको मूल्य एकैदिन ३४ सयले बढ्यो, हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सोमबार प्रतितोता ३४ सय रुपैयाले बढेर सुनको मूल्य २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

गत सोमबार प्रतितोला २ लाख ६० हजार ७०० सय रुपैयाँ पुगेर सुनको मूल्य उच्च भएको थियो । एक सातापछि सोमबार (पुस ७) २ लाख ६१ हजार ७०० रुपैयाँमा पुगेर सुनको मूल्यले रेकर्ड तोडेको हो ।

आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि १३० रुपैयाँले बढेर ४ हजार २३५ रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार ४ हजार १०५ रूपैयाँमा कारोबार भएको थियो ।

 

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुल्यो

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि खुलेको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्दैछ ।

सर्वसाधारण समूहमध्येको पहिलो चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि बाँडफाँट भइसकेको छ । बाँकी ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता आम सर्वसाधारणका लागि खुलेको हो ।

बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण भएकाले सर्वसाधारणलाई प्रतिकित्ता मूल्य ८२०.८० रुपैयाँ पर्नेछ । न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने भएकाले आईपीओ भर्न कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिन्छ । अधिकतम २० हजार कित्तासम्म आवेदन भर्न सकिनेछ ।

वैदेशिक रोजगार र सामूहिक लगानी कोषतर्फ पनि करिब १७ गुणा बढी आवेदन परी सेयर बाँडफाँट भइसकेको छ ।

सर्वसाधारणले आगामी शुक्रबारसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि पुस २१ सम्म लम्बिने निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

कस्तो छ कम्पनी ?

यो करिब ३ दशकअघि स्थापित धागो उत्पादक तथा निर्यातमूलक कम्पनी हो । सुनसरीको खनार र दुहबीमा यसका दुई वटा धागो कारखाना प्लान्ट छन् । कम्पनीले केयर रेटिङबाट ए माइनस रेटिङ पाएको छ । जसले कम्पनी आफ्नो दायित्व बहनमा सक्षम रहेको जनाउँछ ।

कम्पनीमा करिब ४ हजार कर्मचारी छन् । उद्योगका उत्पादन नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुन्छ ।

कम्पनीले सेयर बिक्रीबाट गर्ने आम्दानीलाई कुनै ऋण घटाउन वा घाटा पूर्तिका लागि नभई उद्योगको क्षमता विकास गर्न खर्च गर्ने जनाएको छ । ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिरिङ मिल्स हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को कम्पनीले ५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने प्रतिसेयर आम्दानी २ रुपैयाँ ९५ पैसा थियो । गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले खुद नाफा ४७ करोड ५८ लाख रुपैयाँ पुर्‍याउँदै ८४४ प्रतिशतको छलाङ मारेको छ । प्रतिसेयर आम्दानी पनि ८४४ प्रतिशतको दरले बढेको छ ।

कम्पनीको पछिल्लो ५ वर्षको प्रतिसेयर आम्दानी (ईपीएस) को अनुपात हेर्दा वार्षिक ४० रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा ५३.९१ रुपैयाँ, २०७८/७९ मा ६१.१२ रुपैयाँ, २०७९/८० मा ५४.३४ रुपैयाँ, २०८०/८१ मा २.९५ रुपैयाँ र २०८१/८२ मा २७.८७ रुपैयाँ छ ।

मंसिर पहिलो साता सार्वजनिक लेखापरीक्षण प्रतिवेदनअनुसार कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड ९३ लाख ८४ हजार ५४७ रुपैयाँ कुल नाफा गरेको छ, जब कि अघिल्लो आर्थिक वर्षमा यो अंक ८६ करोड ५० लाख ६० हजार ३२५ रुपैयाँ मात्र थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा निकुञ्जले पनि गरेको हो ।

बाघ गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाईसमेत समेटेर तीन वटा ‘कम्प्लेक्स’ बनाइएको निकुञ्ज कार्यालयले जनाएको छ ।

हाल चितवन–पर्सा कम्प्लेक्स र बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघ गणना भइरहे पनि शुक्लाफाँटा तेस्रो कम्प्लेक्समा रहेकाले उक्त स्थानमा गणना सकिएपछि यहाँ सुरु गरिने निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । उनका अनुसार तेस्रो कम्प्लेक्सअन्तर्गत शुक्लाफाँटामा बाघ गणना हुनेछ ।

‘त्यसका लागि निकुञ्ज कार्यालयको जनशक्ति तयारी अवस्थामा राखेको छ । बाघ गणनाका लागि निकुञ्जका तर्फबाट सबै तयारी पूरा भइसकेको छ, आवश्यक जनशक्तिसहित हामी तयारी अवस्थामा छौँ’, उनले भने, ‘विभागबाट तालिम सञ्चालन भइसकेको छ । पहिलो र दोस्रो कम्प्लेक्समा गणना सकिएर क्यामरा यहाँ आएपछि गणना सुरु हुन्छ ।’

पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्दै गएको छ । सन् २०२२ मा गरिएको राष्ट्रिय गणना अनुसार शुक्लाफाँटामा ३६ वटा बाघ रहेका थिए । तर निकुञ्ज कार्यालयको आन्तरिक अनुगमनमा यसवर्ष ४३ बाघ फेला परेका छन् ।

‘निकुञ्ज कार्यालयले पनि हरेक वर्ष बाघको सुपरिवेक्षण गर्छ’, सूचना अधिकारी वाग्लेले भने, ‘शुक्लाफाँटा सानो क्षेत्रफलमा भए पनि बाघको आहारा प्रजातिको घनत्व पर्याप्त रहेकाले यहाँ बाघको सङ्ख्या बढेको हो ।’

उनका अनुसार निकुञ्जमा आहारा प्रजातिको घनत्व १४६ प्रतिवर्गकिलोमिटर रहेको छ । वन्यजन्तु र दुर्लभ वनस्पतिको लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । रासस

शेर मल्ल एसपीए कलेजको आधिकारिक ब्रान्ड एम्बासडर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ का ‘इमर्जिङ प्लेयर’ शेर मल्ल एसपीए कलेजको आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।

एसपीए कलेजले उनलाई ब्रान्ड एम्बासडरका रूपमा स्वागत गर्दै खेलकुद र शिक्षालाई जोड्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

कलेजले पछिल्लो दुई दशकदेखि नेपाली क्रिकेटको विकासमा योगदान दिँदै आएको छ। यस अवधिमा कलेजले ठूला प्रतियोगिता आयोजना गर्नुका साथै दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको जनाएको छ।

शेर मल्लसँगको सहकार्यले नेपाली खेलकुद र युवा पुस्तालाई थप प्रेरणा मिल्ने विश्वास एसपीए कलेजले व्यक्त गरेको छ।

अघिल्लो शनिबार भएको एनपीएल २०२५ को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै शेर मल्ल संवद्ध टोली लुम्बिनी लायन्सले उपाधि जितेको थियो ।

प्रतियोगितामा १० खेलमा १७ विकेट लिएका शेर मल्ल संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए ।

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि व्यक्त

काठमाण्डाै – राष्ट्रियसभाका सांसदहरूले सरकारको सय दिनको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आज बसेको सङ्घीय संसद्, राष्ट्रियसभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा बोल्दै सांसदहरूले सरकारको कामप्रति असन्तुटि व्यक्त गरेका हुन् ।

यस्तै सांसदहरूले तोकिएकै समयमा चुनाव हुन्छ कि हुँदैन ? भनेर सरकारलाई प्रश्नसमेत गरेका छन् । एमालेकी सांसद सुमित्रा बिसीले सरकारले संसद्को सेवा, सुविधा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिनसमेत माग गरे ।

नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले पालिकामा नागरिकको सेवाको कामलाई सहज बनाउने गरी कानून निर्माण गर्न सरकारलाई सचेत गराए । उनले सार्वजनिक खरिदसम्बन्धी सरकारको आदेशले पालिकामा काम गर्न अप्ठयारो परेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरूले सरकारले अत्यावश्यक कानून निर्माणमा चासो नदिएको आरोपसमेत लगाएका छन् ।

 

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने

काठमाडौं : मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलिदेखि  देशव्यापी ‘संयुक्त जेनजी’ आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटेर लैजाने योजनासहित सोमबार संयुक्त जेनजी आन्दोलन गर्ने  घोषणा गरे‍को हो। उनी नेतृत्वको समूहसँगै अन्य ३० बढी जेनजी समूह पनि आन्दोलनमा सहभागी हुनेछन्।

जेनजी अभियन्ता ढुंगानाले आन्दोलन शान्तिपूर्ण रहने जानकारी दिए। उनका अनुसार आन्दोलन माइतीघरबाट बिहान ११ बजेबाट सुरू हुनेछ। ‘आन्दोलन शान्तिपूर्ण तरिकाले हुन्छ। सुक्षाको जिम्मा सरकारले लिनुपर्छ,’उनले भने।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको मर्म बुझ्न नसकेको बताउँदै उनले सरकारको विकल्प आवश्यक रहेको बताए।  सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलनको तयारी गरेको उनले जानकारी दिए। त्यसका लागि सबै जेनजी समूह एकतावद्ध भइसकेको उनको भनाइ छ।

‘ जुन उद्देश्यले आन्दोलन गरिएको थियो त्यो पूरा हुन सकेन। प्रधानमन्त्री सुशीला कार्कीबाट निर्वाचन पनि हुँदैन। दलहरूमा पनि उहाँले निर्वाचन गर्नुहुन्छ भन्ने विश्वास पनि छैन,’उनले भने,’ पहिला सरकारको वैधानिकता पनि थिएन। अहिले सरकारको औचित्य पनि  छैन।’

आन्दोलन चर्किएसँगै बंगलादेशमा भारतीय भिसा केन्द्र बन्द

काठमाडौं। बंगलादेशमा भारतविरोधी आन्दोलन चर्किएसँगै भारतीय दूतावासले भिसा केन्द्र अनिश्चितकालका लागि बन्द गरेको छ ।

भारतीय भिसा आवेदन केन्द्र (आईभीएसी) ले चटगाउँस्थित भिसा केन्द्र अनिश्चितकालका लागि बन्द गरेको हो ।

आईवीएसीले हालै चटगाउँमा भएको घटनाले सुरक्षा संवदेनशीलता बढेको भन्दै २१ डिसेम्बर (आज) देखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्म बन्द गरिएको जनाएको छ ।

बंगलादेशमा विद्यार्थी नेता उस्मान हादीको मृत्युपछि बिहीबार राति चटगाउँस्थित भारतीय उच्चायोगको अगाडि केही मानिसले धर्ना दिएका थिए ।

हादी गत वर्ष २०२४ जुलाई–अगस्टमा भएको विद्यार्थी आन्दोलनको एक अगुवा विद्यार्थी नेता थिए । उक्त आन्दोलनलाई शेख हसिना सरकारलाई सत्ताच्यूत गरेको थियो ।

सामाजिक सञ्जालमा भाइरल भएका विभिन्न भिडियोमा हादीको हत्यापछि बिहीबार राति कयौं मानिस जम्मा भएर सहायक उच्चायुक्तको आवासमा ढुंगा हानिरहेको देखिन्छ ।

घटनापछि प्रहरीले लाठिचार्ज गरेर उनीहरूलाई तितरबितर पारेको थियो । प्रहरीले घटनास्थबाट कम्तीमा १२ जनालाई पक्राउ गरेको थियो ।

त्यसअघि १७ डिसेम्बरमा गत वर्षको जुलाई ओइक्या नामक एक समूहले ढाकामा भारतीय दूतावासको कार्यालय घेराबन्दी गर्ने घोषणा गरेको थियो ।

त्यसपछि सुरक्षा कारण देखाउँदै बुधबार दिउँसो जमुना फ्युर पार्कस्थित भिसा केन्द्र बन्द गरेको थियो ।

तर, ढाकास्थित भारतीय भिसा केन्द्र अर्को दिननै अर्थात् १८ डिसेम्बरमा पुन: सुचारु भएको थियो ।

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

कञ्चनपुर- दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप विवाद घटना छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ ।

गत शुक्रबार कैदीबन्दी र नाइकेबीच कारागारभित्र विवाद हुँदा भएको झडपमा आठ कैदीबन्दी घाइते भएका थिए । घाइतेमध्ये दुई जना कारागार फर्किएका छन् भने ६ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागारको घटनाको यथार्थ बझ्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।

समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य छन् । समितिलाई छानबिन गर्न सात दिनको समयावधि दिइएको प्रजिअ ढकालले जानकारी दिए ।

‘आज पनि कारागारको अनुगमनमा जाँदैछौं’, उनले भने, ‘घटनाको विस्तृत छानबिन समितिले प्रतिवेदनमार्फत् पेस गर्ला ।’

नाइकेहरूले कारागारभित्र एकाधिकार गरेको आरोपसहित यहाँ कैदीबन्दी आन्दोलित भएका थिए । कैदीबन्दीले नाइकेहरूले आफूले पाउने सेवा सुविधामा आर्थिक चलखेल गर्ने र कारागारभित्र अवैध गतिविधि गर्ने गरेको आरोप लगाएका छन् ।

सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शतप्रतिशत विलम्ब शुल्क छुट

काठ्माण्डौ- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान सुरु गरेको छ। विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई  मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो।

यस पुनर्जागरण अभियान पुस ६ गतेदेखि २८ गतेसम्म लागू हुनेछ। पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने संस्थाले जनाएको छ। व्यतीत बीमालेखमा ब्याज छुटको सुविधा लिए पश्चात ६ महिना भित्रमा बीमालेख समर्पण गरेमा भने छुट पाएको सम्पूर्ण रकम भुक्तानी गराई समर्पण गरिने छ।

साथै बीमालेख परिपक्व हुन १ वर्ष वा १ वर्ष भन्दा कम अवधि बाकी रहेको बीमालेखमा ब्याज छुट नपाइने व्यहोरा कम्पनीले जनाएको छ। सामान्य अवस्थामा बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ।

संस्थाले सार्बजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छुटको सेवा सुविधा लिई व्यतित बीमालेख नवीकरण गरि मौकाको फाइदा  लिन कम्पनीले अनुरोध गरेको छ। हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रितको आर्थिक  पक्ष सबल र सदृढ गर्नको लागि जीवन बिमा अनिवार्य रहेको छ। ग्राहकहरुले संस्थाको देशैभरि रहेका १६ ८ शाखा कार्यालयहरूबाट वा अनलाइन भुक्तानीको माध्यम हरूबाट यस योजनामा सहभागी हुन सक्नेछन्।

‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक

काठ्माण्डौ- पौष ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत सार्वजनिक गरेको छ। हलमा प्रदर्शरत सिनेमाले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले सिनेमाप्रति अझै दर्शकको आकर्षण बढाउन आइतबार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको हो।

यो गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट, गणेश कार्कीको शब्द र हेमन्त रानाको स्वर छ। गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बालकलाकार दिप्सन चिलवाल देख्न सकिन्छ। यो गीतले सिनेमाप्रति दर्शकको आकर्षण उर्त्कषमा पुर्‍याउने विश्वास निर्माण टिमको छ।

शुक्रबार सिनेमा रिलिज भएसँगै सिनेमाका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ सहित कलाकारहरू गणेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य ‘मुन्नी’, निर्मल शर्मा, रमेश उप्रेती, विमोचन दवाडी, जेसिका पोखरेल, बालकलाकार दिप्सन चिलवाल, लेखक गणेश कार्की काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगी दर्शक प्रतिक्रिया लिइसकेका छन्। दर्शकले सिनेमा उत्कृष्ट बनेको भन्दै नेपालको वर्तमान अवस्था जस्ताको त्यस्तै चित्रण गरेका प्रतिक्रिया दर्शकले दिँदै छन्।

दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको सिनेमा हालसम्म युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, महानगर प्रहरी प्रमुख राजु पाण्डे, जेनजी नेता सुदन गरुङ लगायतले समेत यो सिनेमा हेरिसकेका छन्। उनीहरू सबैले यो सिनेमा साँच्चिकै राम्रो बनेको भन्दै हरेक नेपालीले हेर्नै पर्ने बताएका थिए। जसले हालको नेपालको अवस्था सन्देशमुलक ढंगले प्रस्तुत गरेकाले पनि हरेक दर्शकको रोजाइको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ बन्ने बुझाइ थियो।

यो सिनेमाबाट अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि कमब्याक गरेका छन्। उनका कारण अघिल्लो पुस्ताका दर्शकलाई सिनेमाप्रति आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ।

सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय छ। सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन्।

निर्देशक घिमिरे स्वयंको कथा रहेको यो सिनेमाबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन्। जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन्। बालकलाकारमा दिप्सन चिलवालको पनि अभिनय छ। सिनेमाको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन्। अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको सिनेमाका छायाँकार बुद्ध थापा हुन्।

नागराज इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको सिनेमाले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाइएको छ। इमानदार कर्मचारी र बाबुको संघर्षको कथा पनि सिनेमाले पेश गर्नेछ।

सिनेमामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सहनिर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन्।

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको सजायपछि देशव्यापी आन्दोलनको आह्वान

पाकिस्तान । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि देशव्यापी विरोध प्रदर्शनको तयारी गर्न आफ्ना समर्थकहरूलाई आह्वान गरेका छन् । उनले उक्त फैसलाविरुद्ध इस्लामाबाद उच्च अदालतमा चुनौती दिने स्पष्ट सङ्केत दिएका छन् ।

हाल हिरासतमा रहेका तथा सामाजिक सञ्जालमा प्रत्यक्ष पहुँचमा नरहेका खानले आफ्नो कानूनी टोलीमार्फत सन्देश पठाउँदै खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई सामूहिक सडक आन्दोलनको तयारी सुरु गर्न निर्देशन दिएका हुन् । “सम्पूर्ण राष्ट्रले आफ्ना अधिकारका लागि उठ्नुपर्छ”, उनको सन्देशमा उल्लेख छ ।

इमरान खानले अदालतको फैसलाले आफूलाई आश्चर्यचकित नगरेको बताउँदै यसलाई विगत तीन वर्षयता आइरहेका ‘आधारहीन निर्णयहरूको निरन्तरता’ भएको दाबी गरेका छन् । उनका अनुसार न्यायाधीशले प्रमाण बिना र कानूनी प्रक्रिया पूरा नगरी हतारमा फैसला सुनाउनुभएको हो र उनको कानूनी टोलीको कुरा समेत नसुन्ने व्यवहार गरिएको छ । यसै सन्दर्भमा उनले इन्साफ वकिल फोरम तथा समग्र कानूनी समुदायले संवैधानिक सर्वोच्चता र विधिको शासनको रक्षामा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। न्यायबिना आर्थिक प्रगति सम्भव नहुने उनको धारणा छ ।

पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) ले आधिकारिक विज्ञप्ति जारी गर्दै फैसलालाई ‘स्पष्ट रूपमा असंवैधानिक, अवैध, दुर्भावनापूर्ण र राजनीतिक प्रतिशोधको चरम रूप’ भनेको छ । पार्टीका नेताहरूले यो सजाय खानको जेल अवधि लम्ब्याउने र राजनीतिक दबाब कमजोर पार्ने उद्देश्यले गरिएको आरोप लगाएका छन् । उनीहरूले अधीनस्थ न्यायपालिकामार्फत राजनीतिक उत्पीडन भइरहेको दाबी पनि गरेका छन् ।

पिटिआईका महासचिव सलमान अकरम राजाले वरिष्ठ नेता असद कैसरसँग संयुक्त पत्रकार सम्मेलन गर्दै इमरान खानले अदालत कक्षमै आफ्ना प्रमुख वकिल ब्यारिस्टर सलमान सफदरमार्फत राष्ट्रका लागि सन्देश दिएको जानकारी गराए । उनले खानको भनाइ उद्धृत गर्दै भने, “म दृढ छु र कसैसँग माफी माग्ने छैन ।” राजाका अनुसार यो मुद्दा प्रतिज्ञापत्रमा मात्र आधारित छ र ठोस प्रमाण तथा साक्षीको अभाव छ ।

तोसाखाना–२ मुद्दामा सजाय सुनाइएपछि देशभर सार्वजनिक बहस चर्किएको छ र न्यायिक प्रक्रियाको विश्वसनीयतामाथि प्रश्न उठेका छन् । एएनआईसँग कुराकानी गर्दै लाहोर र पेशावरका बासिन्दा तथा पत्रकारहरूले यस फैसलामा राजनीतिक प्रेरणा र प्रमाणको कमी रहेको टिप्पणी गरेका छन् । लाहोर निवासी हमिद रियाज डोगरले न्यायपालिकाप्रति जनविश्वास घट्दै गएको बताउँदै हालैका अन्य फैसलाहरू पनि विवादित भएको उल्लेख गरे ।

यो मुद्दा साउदी क्राउन प्रिन्सबाट प्राप्त करिब सात करोड १० लाख पाकिस्तानी रुपैयाँभन्दा बढी मूल्यको बुल्गारी गहना सेटको अवमूल्यनसँग सम्बन्धित रहेको छ । इमरान खान र बुशरा बिबीलाई आपराधिक विश्वासघात र भ्रष्टाचारसम्बन्धी धाराअन्तर्गत दोषी ठहर गरिएको हो ।

लाहोरका अर्का बासिन्दा जाकी उल्ला मुजाहिदले यस फैसलाले लोकतान्त्रिक संस्था र न्याय प्रणालीप्रतिको जनविश्वास थप कमजोर बनाएको भन्दै संविधान र कानूनी सीमाभित्र रहेर मात्रै राज्य सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरे ।  एजेन्सी

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर- कञ्चनपुरको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विकाससँगै सुगम बन्दै गएको छ। वर्षायाममा हिलोले हिँडिनसक्नु हुने र हिउँदमा सुक्खा धुलोले जनजीवन कष्टकर बनाउने यहाँका सडकको नियति अब इतिहासको पानामा सीमित हुन पुगेको छ।

पछिल्ला केही वर्षमा लालझाडीले सडक पूर्वाधारमा मारेको फड्कोले स्थानीय बासिन्दाको जीवनस्तर मात्र होइन, समग्र गाउँको आर्थिक र सामाजिक मुहारमै परिवर्तन ल्याएको छ।

लालझाडीको कञ्जका स्थानीय बासिन्दा बलराम राना पुराना दिन सम्झिँदै भन्छन्, “वर्षात सुरु हुनेबित्तिकै बाहिरी संसारबाट काटिन्थ्यौँ, सडकमा गोडासम्म डुब्ने हिलो हुन्थ्यो, कोही बिरामी परे अस्पताल लैजान एम्बुलेन्स आउने त टाढाको कुरा, मान्छेले बोकेर लैजान पनि बाटो भेटिँदैनथ्यो।”

हिउँदमा पनि कच्ची सडकमा सवारीसाधन गुड्दा उड्ने धुलोले सडकछेउका घर र खेतीपाती पूरै छोपिन्थे, जसका कारण बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वासको समस्या आम जस्तै थियो। खोलामा पुल नहुँदा काठको डुङ्गाको सहारामा जोखिमपूर्ण यात्रा गर्नु यहाँका बासिन्दाको बाध्यता थियो।

तर, गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकासले गति लिएको स्थानीय रामप्रसाद राना बताउँछन्। “पहिले नदीमा झोलुङ्गे पुल बन्यो, त्यसले डुङ्गा तर्ने दिनको अन्त्य गर्‍यो”, उनी भन्छन्, “त्यसपछि दोदा नदीको बल्मी नजिकै पक्की पुल बनेपछि आवतजावतमा थप सहजता आएको छ, पहिले र आजको लालझाडीको तस्बिर पूरै फेरिएको छ।”

स्थानीय महेश्वरी राना आफ्नै घरअगाडि कालोपत्र सडक देख्दा चकित हुन्छन्। “हामीले कहिल्यै कल्पनासमेत गरेका थिएनौँ कि हाम्रै घरअगाडि यति चिल्लो बाटो बन्ला”, उनले भने, “सङ्घीयता र स्थानीय सरकार आएपछि जनप्रतिनिधिले सडकलाई प्राथमिकतामा राखेर काम गरेकै कारण आज यो सम्भव भएको हो।”

अहिले लालझाडीका मुख्य प्रशासनिक केन्द्रदेखि भित्री बस्तीसम्म कालोपत्र सडकको सञ्जाल फैलिँदैछ। धुलो र हिलोको सास्ती खेप्ने ती दिनहरू अब सम्झनामा मात्र बाँकी रहेको अर्का स्थानीय रामप्यारा चौधरी बताउँछन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीका अनुसार गाउँपालिकाले योजनाबद्ध रूपमा सडक स्तरोन्नतिको कामलाई अगाडि बढाउँदै आएको छ। हालसम्म २७.५ किलोमिटर सडक कालोपत्र गरिसकिएको उनले बताए।

गाउँपालिका, सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारको त्रिपक्षीय सहकार्यमा चानदेव–बल्मी सडक, वडा नं २ को चक्रपथ र वडा नं १ को रणनीतिक महत्वको सडक कालोपत्र गरिएको छ। अधिकृत सार्कीका अनुसार गाउँपालिका अध्यक्ष विशेष पूर्वाधार कार्यक्रममार्फत छवै वडाका सडक स्तरोन्नति तथा कालोपत्र भइरहेको छ।

गाउँपालिकाले थप ३२ किलोमिटर सडक कालोपत्र गर्ने प्रक्रिया सुरु गरेको छ। “चालु आर्थिक वर्षमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत १३.६ किलोमिटर, एडिबीको पीएलआर कार्यक्रमअन्तर्गत १३.५ किलोमिटर र पाँच किलोमिटर चक्रपथ कालोपत्र गर्दैछौं”, सार्कीले भने।

उनका अनुसार कञ्चनपुरमै सबैभन्दा पहिला नगर अस्पताल निर्माण गर्ने पालिका पनि लालझाडी नै बनेको छ, जुन अब सञ्चालनको तयारीमा छ।

पूर्वाधार विकासअन्तर्गत दोदा नदीमा नन्द गाउँ–बल्मी र लालझाडी–भकुण्डा जोड्ने पक्की पुल सञ्चालनमा आइसकेका छन्।

यसैगरी जाइँ–देखतभूली र देखतभूली–दुबहा सिकलपट्टी जोड्ने पुल निर्माणको अन्तिम चरणमा छन्। यी पुलले वर्षायाममा ज्यान जोखिममा राखेर नदी तर्नुपर्ने अवस्थाको अन्त्य गरिदिएका छन्।

सडक र पुलको निर्माणले किसानलाई पनि ठूलो राहत दिएको छ। सडक बनेपछि किसानले आफ्नो उत्पादन (विशेषगरी उखु र तरकारी) खेतबाट सिधै चिनी मिल वा बजारसम्म लैजान पाएका छन्, जसले गर्दा बिचौलियाको चलखेल घटेको छ।

सडक सुविधा पुगेपछि एम्बुलेन्स र दमकलजस्ता आपत्कालीन सवारीसाधन गाउँका कुनाकुनासम्म पुग्न थालेका छन्। सडक छेउछाउमा नयाँ पसल, बजार र साना उद्योग खुल्ने क्रम बढेसँगै स्थानीय युवा गाउँमै स्वरोजगार बन्न थालेका छन्। रासस

भ्रष्टाचार नियन्त्रणको औषधि योग र ध्यान : शिक्षामन्त्री पुन

काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भ्रष्टाचार नियन्त्रणका लागि योग र ध्यानलाई जोड दिनुपर्ने बताएका छन् ।

विश्व ध्यान दिवसको अवसरमा आज काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग र ध्यानमार्फत् मनलाई शान्त र शुद्ध पार्नुपर्ने बताए ।

‘जति पनि भ्रष्टचारीहरु छन् भन्छौं हामी उनीहरुको मन भ्रष्ट छ, शुद्ध छैन । उनीहरुमा घमण्ड छ, लोभ लालसा छ । यस्तो किसिमको लोभ, लालसा, घमण्डीपना, भ्रष्टाचारीहरु जुन छ, यसलाई हटाउनको लागि औषधि खुवाएर नहुने देखियो’, मन्त्री पुनले भने, ‘त्यसको औषधि बनेको पनि छैन । बन्दा पनि बन्ने छैन । तर त्यसको औषधिको रुपमा योग, ध्यानलाई हामीले हाम्रो समाज समाजमा फैलाउन सक्नुपर्छ । टोलटोलमा फैलाउनसके भ्रष्टाचार हट्ने ठूलो सम्भावना देखेको छु । भ्रष्टाचारीहरुको मनलाई पनि घमण्डीहरुको मन, लोभीपापीहरुको मनलाई पनि शुद्ध गर्ने एउटा माध्यमको रुमपा देखेको छु ।’

योग ध्यानलाई गाउँगाउँमा पुर्‍याउनको लागि सबैले प्रयास गर्न उनले आह्वान गरे । योग, ध्यानलाई विद्यालयको अतिरिक्त क्रियाकलापमा समावेश गर्नुपर्ने पनि उनले बताए ।

‘योग विषय भनेको पढाउने कुरा होइन, गराउने कुरा हो,’ मन्त्री पुनले भने, ‘विद्यालयमा शुक्रबारको दिनलाई पढाउने होइन, अतिरिक्त क्रियाकलापअन्तर्गत अघि बढाउने कुरा उठाएको छु । अतिरिक्त क्रियाकलापको माध्यमबाट हरेक विद्यालयमा पुर्‍याउने काममा लागेको छु । अतिरिक्त क्रियाकलापमध्ये योगलाई राख्न पनि निर्देशन दिइसकेको छु ।’

आज डिसेम्बर २१, वर्षको सबैभन्दा छोटो दिन

काठमण्डौ-  आज डिसेम्बर २१ तारिख, यस वर्ष सन् २०२५ को सबैभन्दा छोटो दिन हो । खगोल विज्ञानमा यसलाई शीतकालीन अयनांत पनि भनिन्छ ।

आजको दिन सूर्य कर्कट रेखाबाट मकर रेखा अर्थात उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्छ । सूर्य सिधै मकर रेखामाथि हुँदा जाडोयाम हुन्छ ।

आजको दिन पृथ्वीको उत्तरी गोलार्धमा दिनको लम्बाई सबैभन्दा छोटो हुन्छ र रात्रिको समय वर्षकै लामो हुन्छ । कुनै वर्ष डिसेम्बर २२ र कुनै वर्ष २१ मा सबैभन्दा छोटो दिन हुने गर्छ ।

त्यस्तै खगोल विज्ञानका अनुसार मार्च २१ र सेप्टेम्बर २३ का दिन दिनरात बराबरी हुन्छन् । सबैभन्दा लामो दिन जुन २१ मा हुने गर्छ ।

सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको एक सयले घटेर तोलाको २ लाख ५८ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ५८ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको सय रुपैयाँले बढेर ४१०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४००५ मा कारोबार भएको थियो ।

खोज्नुहोस