ओलीप्रति रविको व्यंग्य : उहाँले लगाएको गुन तिर्न अदालत आएको हुँ
काठ्माणडौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्नो पहिलो तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगेका छन् ।
सोमबार तारेखका लागि जिल्ला अदालत पुगेका उनले सञ्चारकर्मीसँगको छोटो कुराकानीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको गुन तिर्न गएको प्रतिक्रिया दिए ।
उनले भने, ‘गुन लगाइदिनुभएको छ नि केपी ओलीजीले, त्यही गुन तिर्न आइराखेको छु । सबै जिल्ला अदालतमा जानुपर्ने छ । ठाउँ–ठाउँमा वा जिउमा किला ठोकेको जस्तो भएको छ । सात दिनभित्र सबै अदालत हाजिर हुनुपर्नेछ । विष अझै बाँकी छ शरीरमा, त्यसको लागि तयारी गरिरहेको छु ।’
यही ६ पुसमा एक अन्तर्वार्तामा उनले ‘रविलाई गुन लगाउँदा दुश्मनी गरे’ अभिव्यक्ति दिएका थिए । ओलीको सो अभिव्यक्ति सुनेपछि रविले आज व्यङ्ग्यात्मक तरिकाले जवाफ फर्काएका हुन् । a
