सभामुख र प्रमुख सचेतकहरूको बैठक जारी

काठमाडौं ।  सभामुख देवराज घिमिरे र प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकको बैठक सुरु भएको छ ।

बैठकमा उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया पनि सहभागी भएका छन् ।

संसद् भवन नयाँ वानेश्वरमा बस्ने बैठकमा साउन महिनाको १५ गतेदेखि ३० गतेसम्मको क्यालेन्डर बनाउने विषयमा छलफल भइरहेको छ ।

श्रीमती मृत फेला, श्रीमान पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा एक युवती मृत फेला परेपछि प्रहरीले सोधपुछका लागि उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ । आइतबार बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलका सम्झना भट्ट झुन्डिएको अवस्थामा मृत फेला परेकि थिइन् ।

सम्झनालाई घरमा कुटपिट हुने गरेको र शरिरमा घाउ चोट समेत देखिएकाले उनका श्रीमान पवन भट्टलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

सम्झना घरभित्र झ्याल ढोकामा चुकुन लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेकि प्रहरीले जनाएको छ । घरको ढोका फोडेर सम्झनाको शव बाहिर निकालिएको थियो । सम्झना र पवनबिच गत फागुन महिनामा प्रेम विवाह भएको थियो ।

पवनले छोरिलाई पटक–पटक मानसिक तनाव र शारीरिक यातना समेत दिँदै आएको सम्झनाका बुवा भोजराज भट्टले बताए । शनिबार इलाका प्रहरी कार्यालय बेलडाँडीमा घरायसी झगडाको उजुरीपछि प्रहरीले सम्झाई बुझाइ गरी घर फर्काएको थियो ।

सम्झनाका बुवा भट्टले छोरीमाथि पटक पटक मानसिक तनाव तथा शारिरीक यातना दिने गरेको बताए । छोरीको शङ्कास्पद मृत्यु भएकाले निष्पक्ष छानबिन गरी दोषीउपर उनले कारबाहीको माग गरे । एलबिए कक्षा १२ मा अध्ययनरत छोरी गुमाएपछि भट्ट परिवार शोकमा डुबेको छ ।

ड्यालसमा गजल संग्रह ‘धीत’माथि परिचर्चा

ड्यालस, (अमेरिका)

गजलकार बिटु केसी बरालको हालै प्रकाशित नयाँ कृति ‘धीत’ माथि आइतबार अमेरिकाको ड्यालसमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

दुई दशकको अमेरिका बसाईलाई बिट मारेर केही समय अघि नेपाल फर्किएकी केसीको नयाँ कृति धीत गजलहरुको संग्रह हो ।

ड्यालसमा परिचर्चा कार्यक्रमका वक्ताहरुले धीतले वर्तमान परिवेशमाथि चोटिलो प्रहार गरेको बताए ।

साहित्यकार भीम कार्कीले धीतमा अमेरिका र नेपालको सम सामयीक परिवेशमाथि लेखिएको उल्लेख गर्दै गजलकार केसीबाट भविष्यमा थप उत्कृष्ठ साहित्यीक कृति प्रकाशित हुने अपेक्षा व्यक्त गरे ।

अर्का समिक्षक तथा लेखक सञ्जय घिमिरेले गजल आफैंमा चोटिलो विधा भएकोले समिक्षा भन्दा पनि सुन्दा अझै चाखपूर्ण हुने टिप्पणी गरेका थिए ।

कार्यक्रममा लेखिका केसीले गजल कृति रचना गर्दाका अनुभव प्रस्तुत गर्दै आफूलाई अमेरिकालेनै यो विधामा कलम चलाउन प्रेरणा दिएको उल्लेख गरिन् ।

हिमालय खबर अनलाइन र श्रष्टा साँझको संयुक्त आयोजनामा भएको अन्त्र्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालस फोर्टवर्थकी च्याप्टर अध्यक्ष निर्मला राई, साहित्यकारहरु भगवती पौडेल, शिलु घिमिरे, बासुपुष्पा अधिकारी, तारा बरालले गजल संग्रहबाट वाचन गर्नुका साथै कृतिका बारेमा चर्चा गरेका थिए ।

हिमालय खबरका प्रवन्ध सम्पादक विकासराज न्यौपानेको सभापतित्वमा भएको सो कार्यक्रममा श्रष्टा साँझका अध्यक्ष प्रभात दीक्षितले स्वागत गरेका थिए । कृतिकार केसीले आफ्नो समय अब साहित्यको रचनामा खर्च गर्ने बताएकी थिइन् ।

Processing…x

एनआरएनएमा सल्लाहकार सहित विभिन्न समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले सल्लाहकार नियुक्त गरेको छ ।

सर्वोच्च अदालतको परामादेशबाट गठित उच्चस्तरीय समितिले गरेको महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय समन्व्य परिषद् (आइसीसी)को आइतबार बसेको भर्चुअल बैठकले विधानको धारा १७ को उपधारा ९ अनुसार सल्लाहकारहरु नियुक्ति गरेको हो ।

सोनम लामा, थर्क सेन, जानकी गुरुङ, उमेश पुडासैनी, प्रकाश धमला, नबिन शेरचन, शनिकुमार ओली, चित्र सुवेदी, तिलक के.सी., रोविन्द्र श्रेष्ठ (गोविन्द), बेद खरेल, बन्दना सापकोटा शर्मा, आनन्द विष्ट, विष्णु सुवेदी, नारायण थापा, दुर्गा आचार्य, नारायण आचार्य, नरेन्द्र भाट, नारायण सुवेदी, हिक्मत थापा, विश्व बराल, पूर्ण हमाल, विनोद शाह, कृष्ण गिरी र पुरान गिरी रहेका छन् ।

यसैगरी, बैठकले पोलिसी एडभोकेसी कमिटी पहिलो पटक गठन गरेको छ । तीन जनाको कमिटीमा खगेन्द्र जिसी संयोजक रहेका छन् भने कञ्चन पोखरेल र सुरेन्द्र श्रेष्ठलाई सह संयोजक तोकिएको छ । यसलाई पछि पुर्णता दिइने छ । कमिटीले एनआरएनएको नीतिगत कुराहरुमा सहयोग गर्ने छ ।

यसैगरी बैठकले विभिन्न टास्कफोर्सहरुको बारेमा पनि निर्णय गरेको संघका सचिव चिन्तामणी सापकोटाले जानकारी दिए ।

अनुशासन समितिमा दिल गुरुङ, सुवास जोशी र भुवानी प्रसाद तिम्मिल्सेना रहेका छन् ।

संघले सेप्टेम्बर २१ तारिखमा युएईमा हुने विधान सम्मेलनको तयारीलाई तिब्रता दिने निर्णय गरेको छ ।

विधान समिति पनि आजको बैठकले गठन गरेको छ । संघका महासचिव बाबुराम (बीआर) लामाको संयोजकत्वमा विधान समिति गठन गरिएका हो । जसको सहसंयोजकमा गुणराज शर्मा, कृष्ण गिरी र लोकप्रसाद दाहाल रहेका छन् भने सदस्य सचिवमा विमल सुवेदी रहेका छन् । यस्तै सदस्यहरुमा बलराम श्रेष्ठ र मन थापा रहेका छन् ।

एनसीसीको एकता तथा समन्वय समितिको संयोजकको जिम्मेवारी प्रवक्ता गंगाधर गौतमलाई दिइएको छ ।

एनआरएनए अधिवेशन : ५८ देशमा एनसिसी सम्पन्न

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ५८ वटा राष्ट्रिय समन्वय समिति (एनसिसी) को अधिवेशन सकिएको छ ।  एनआरएनएकी वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेका अनुसार, सबैभन्दा धेरै युरोपबाट २५ देशमा एनसिसी सकिएको हो । यस्तै एसिया प्यासिफिकबाट १०, अफ्रिकाबाट ९, अमेरिकाजबाट ५, मध्यपूर्वबाट ६ र ओसिनियाबाट ३ देशमा अधिवेशन सम्पन्न भएको हो ।

यस्तै एनआरएनएको २०२५–२०२७ कार्यकालका लागि कुल ८० हजार ३६२ जना सदस्यता स्वीकृत भएका छन्। घिमिरेका अनुसार, एशिया प्यासिफिकबाट २२ हजार ३७९, अमेरिकाजबाट १६ हजार ७६४, ओसिनियाबाट १६ हजार ५३८, युरोपबाट १२ हजार २०१, मध्यपुर्वबाट ११ हजार ५७३ र अफ्रिकाबाट ९०७ सदस्यता थप भएको हो ।

निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्रीको निर्देशन

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएका छन् ।

आइतबार सीआईबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सूक्ष्म रूपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

उनले निर्मला प्रकरणको अनुसन्धानमा कुनै कसर बाँकी नराख्न सीआईबीलाई निर्देशन दिए ।

‘निर्मला पन्त लगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु,’ गृहमन्त्री लेखकले भने, ‘नेपाल प्रहरीभित्र पनि सीआईबीप्रति आमजनताको भरोसा बढेकोछ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।’

सीमित स्रोत साधनका बीच प्रहरीमा सीआईबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सीआईबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको बताए ।

मुलुकमा पछिल्लो समय वित्तीय अपराध बढेकाले आफूले वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको उनको भनाइ थियो ।

‘प्रहरीप्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुँदै आएको छ,’ उनले भने, ‘प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतको भन्दा चालु आर्थिक वर्षमा तुलनात्मक रूपमा बजेट बढी विनियोजन गरिएको छ ।’

प्रहरीभित्र सीआईबीको महत्त्वपूर्ण जिम्मेवारी रहेको भन्दै उनले जिम्मेवारी पूरा गर्न प्रविधि, जनशक्ति लगायतका विकास गरिनेमा जोडदिए ।

बहुविवाहलाई छुट दिने कानुन रोक्न महिला सङ्घले कानुनमन्त्रीलाई बुझायो ज्ञापन

काठ्माण्डौँ- नेपाल महिला सङ्घले केही निश्चित परिस्थितिमा बहुविवाहलाई वैधता दिने प्रस्तावित कानुन गैरजिम्मेवारपूर्ण, प्रतिगामी तथा आपत्तिजनक रहेको ठहर गर्दै उक्त प्रस्ताव तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

सङ्घले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई ज्ञापनपत्र बुझाउँदै उक्त प्रस्तावले महिला अधिकारको क्षेत्रमा दशकौँदेखि प्राप्त उपलब्धिलाई नष्ट गर्ने र बहुविवाह प्रथालाई पुनःस्थापित गर्ने भएकाले तत्काल सोसम्बन्धी प्रस्ताव फिर्ता लिन आग्रह गरेको हो ।

‘प्रस्तावित व्यवस्थामा ‘कुनै पुरुषले वैवाहिकसम्बन्ध कायम रहेको अवस्थामा अन्य महिलासँगको शारीरिक सम्पर्कबाट शिशु जन्मिएमा त्यस्तो महिलासँग विवाह गर्न चाहेमा विवाह गर्न सक्नेछ,’ भन्ने प्रावधान राखिएको छ । जसले बहुविवाह जस्तो फौजदारी अपराधलाई वैधानिकता दिने स्पष्ट मनसाय राख्दछ’, सङ्घले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

सङ्घले कानुन मन्त्रालयका उच्च अधिकारीको ‘दोस्रो महिला र निजको बच्चाको अधिकार संरक्षणका लागि यो व्यवस्था ल्याइएको हो,’ भन्ने तर्कप्रति आपत्ति प्रकट गरेको छ । ‘यो तर्क केवल भ्रामक मात्र नभइ महिलाको आत्मसम्मान माथिको प्रहार हो’, सङ्घले भनेको छ, ‘पुरुषको विवाहेत्तरसम्बन्ध र गैरजिम्मेवारपनलाई कानुनी विवाहको नाम पहिराएर वैधता दिनु कुनै पनि दृष्टिकोणले न्यायोचित हुँदैन ।’

एकल महिला र निजका सन्तानको अधिकारको संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै सङ्घले यसको समाधान बहुविवाह जस्तो सामाजिक अपराधलाई कानुनी मान्यता दिनु होइन भनेको छ । कुनै पनि बहानामा यसलाई पुनःस्थापना गर्नु भनेको महिलाले अन्याय र समानताका लागि गरेको लामो र कठिन सङ्घर्षप्रतिको विश्वासघात हुने सङ्घले जनाएको छ ।

‘हामी सङ्घीय सरकारलाई यो गलत मनसायले प्रेरित महिलाविरोधी र प्रतिगामी प्रस्ताव तत्काल फिर्ता लिन जोडदार माग गर्दछ’, सङ्घले भनेको छ, ‘सरकारले समानताको आधारभूत सिद्धान्तसँग सम्झौता नगरी सबै महिला तथा बालबालिकाको अधिकार संरक्षणका लागि न्यायपूर्ण र समतामूलक समाधान खोज्न महिला अधिकारकर्मी सङ्घसंस्था र नागरिक समाजसँग अविलम्ब अर्थपूर्ण संवादमा संलग्न हुन आग्रह गर्दछौँ ।’

भारतमा दुर्लभ रक्त समूह ‘सीआरआईबी’ फेला पर्‍याे

काठमाडौं । भारतमा दुर्लभ रक्त समूह फेला परेको छ । भारतको बेङ्गलुरु नजिकै एक महिनामा नयाँ रक्त समूह ‘सीआरआईबी’ फेला परेको बीबीसी हिन्दीले जनाएको छ । ‘सीआरआईबी’ मा ‘सी’ ले क्रोमर (सीएच) लाई जनाउँछ, यो रक्त समूहहरूमध्ये एक हो । ‘आई’ को अर्थ भारत हो र ‘बी’ को अर्थ बेङ्गलुरु हो ।

यो रक्त समूह यति दुर्लभ छ कि डाक्टरहरूले ३८ वर्षीया महिलाको मुटुको शल्यक्रियाको क्रममा ‘ट्रान्सफ्युजन’ अर्थात् रगत चढाउन आवश्यक परेमा एक वा दुई बोतल रगत तयार राख्ने सामान्य प्रक्रिया पनि पालना गरेनन् ।

विशेषज्ञहरूले बेङ्गलुरुकी महिलाको रक्त समूह पहिचान गर्न सकेनन् । यो शल्यक्रिया कुनै अतिरिक्त ‘ट्रान्सफ्युजन’ विना सफलतापूर्वक सम्पन्न भएको थियो ।

शल्यक्रियामा संलग्नमध्ये एक डा. अंकित माथुरले ती महिलाको रक्त समूह अन्य कुनै रक्त समूहसँग मेल नखाएको र अन्य रक्त समूहसँग मिसाएर परीक्षण गर्दा हरेक पटक प्रतिक्रिया गरिरहेको बताउनुभयो । त्यसपछि ती महिलाको परिवारका २० जना सदस्यहरूको रगतको नमूना लिए पनि कसैसँग मेल नखाएको डा. माथुरले बीबीसीसँग भन्नुभयो ।

त्यसपछि डाक्टरहरूले रगतको नमूना बेलायतको ब्रिस्टलमा रहेको अन्तर्राष्ट्रिय रक्त समूह सन्दर्भ प्रयोगशाला (आईबीआरजीएल) मा पठाएको थिए । यसको पूर्ण विश्लेषण गर्न डाक्टरहरूलाई १० महिना लाग्यो ।

गएको फेब्रुअरी–मार्चमा बेलायतको प्रयोगशालाले बिरामीको रगतमा एक अद्वितीय एन्टिजेन भएको जवाफ पठाए । त्यसपछि यो जानकारी इन्टरनेशनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजन (आईएसबीटी) लाई पठाइएको थियो । त्यहाँका विज्ञहरूले सीआरआईबी नामलाई अनुमोदन गरेका हुन् ।

बेङ्गलुरुकी महिलाले कसैबाट रगत लिन नसक्ने तर बम्बे रक्त समूह भएका मानिसहरूले जस्तै अरूलाई रगत दान गर्न सक्ने खबरमा उल्लेख छ ।

बम्बे एक दुर्लभ रक्त समूह हो, यो विश्वमा १० लाख मानिसहरूमा एक जनामा पाइन्छ । यद्यपि मुम्बईमा यसको दर प्रत्येक दश हजार मानिसहरूमा एक जना रहेको विशेषज्ञहरूले बताएका छन् ।

 

जलवायु परिवर्तनबारे नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसदको तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिएका छन् ।

संसद्‌मा सभामुखहरूको छैटौं विश्व सम्मेलनमा सहभागी भइ आईतवार स्वदेश फर्किएका सभामुख घिमिरेले यसबारे जानकारी गाराएका हुन् ।

उनले जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसदको तर्फबाट भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको बताए । त्यसबारे पनि सम्मेलनमा छलफल भएको उनले बताए ।

अन्तर व्यवस्थापिक संघ (आईपीयू) का अध्यक्षसँग पनि आउँदो जनवरी ३० र ३१ मा एशिया प्यासिफक रिजनको जलवायुका असरहरूसँग सम्बन्धित एउटा कार्यक्रम गर्नेबारे छलफल गरेको बताए ।

‘हामीले जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसदको तर्फबाट भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्नेछौँ । त्यसको बारेमा पनि कुराकानी भयो,’ सभामुख घिमिरेले भने, ‘आइपीयूका अध्यक्षसँग पनि आउँदो जनवरी, ३० र ३१ मा एउटा एशिया प्यासिफक रिजनको जलवायुका असरहरूसँग सम्बन्धित एउटा कार्यक्रम आइपियुकै अयोजनामा काठमाडौंमा सञ्चालन गर्न गइरहेका छौँ ।’

सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयू) र संयुक्त राष्ट्रसंघ (यूएन)द्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा सहभागी हुन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे ११ साउनमा जेनेभा प्रस्थान गरेका थिए ।

सम्मेलनको दौरान सभामुख घिमिरेले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्याण्ड, माल्टा, इजरायल, भुटानलगायतका मुलुकका संसद्का सभामुखहरूसँग द्विपक्षीय भेटघाट गरेका छन् ।

ट्रम्पको धम्कीपछि पनि रुसी तेल किन्न जारी राख्ने भारतको सङ्केत

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बाबजुद भारतले रुसबाट तेल किन्न जारी राख्ने सङ्केत गरेको छ । भारतीय विदेश मन्त्रालयले रुससँगको आफ्नो सम्बन्ध ‘स्थिर र समयद्वारा परीक्षित’ भएको र यसलाई तेस्रो देशको चस्माबाट हेर्नु नहुने बताएको छ ।

शुक्रबार साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बजारमा तेलको उपलब्धता र विद्यमान विश्वव्यापी परिस्थितिबाट आफ्नो ऊर्जा आवश्यकता सुरक्षित गर्न भारतको व्यापक दृष्टिकोण निर्देशित भएको बताए ।

नयाँदिल्लीले रुसी तेल खरिद गरेको कारण भारतबाट आउने सामानमा २५ प्रतिशत भन्सार शुल्क र अतिरिक्त आयात कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि यो टिप्पणी आएको हो । यो धम्की अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा युद्धविराम सहमति गर्न असफल भएकोमा रुसप्रति बढ्दो असन्तुष्टि देखाएको र प्रगति नभएमा नयाँ आर्थिक प्रतिबन्धहरूको धम्की दिएको समयमा आएको हो ।

भारतले सन् २०२२ जनवरीमा रुसबाट प्रतिदिन ६८ हजार ब्यारेल कच्चा तेल खरिद गरेको थियो, तर सोही वर्षको जुनमा तेल आयात प्रतिदिन ११ लाख २० हजार ब्यारेल पुगेको थियो । दैनिक आयात सन् २०२३ मे महिनामा २१ लाख ५० हजार ब्यारेल पुगेको थियो र त्यसबेलादेखि फरक–फरक रहेको छ ।

प्रेस ट्रस्ट अफ इन्डियाले डाटा एनालिटिक्स कम्पनी केप्लरको तथ्याङ्क उद्धृत गर्दै रिपोर्ट गरेअनुसार आपूर्ति एक समयमा भारतको आयातको झन्डै ४० प्रतिशतसम्म पुगेको थियो, जसले मस्कोलाई नयाँ दिल्लीको सबैभन्दा ठुलो कच्चा तेल आपूर्तिकर्ता बनाएको थियो ।

भारतको दैनिक तेल खपत लगभग ५५ लाख ब्यारेल रहेको छ र त्यसमध्ये झन्डै ८८ प्रतिशत आयातबाट पूरा हुन्छ । देशले ऐतिहासिक रूपमा आफ्नो अधिकांश कच्चा तेल मध्यपूर्वबाट किनेको छ, तर सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि यो परिवर्तन भएको छ ।

चीन र अमेरिकापछि विश्वको तेस्रो ठुलो कच्चा तेल आयातकर्ता भारतले पश्चिमी देशहरूले मस्कोलाई सजाय दिन त्यसलाई बहिष्कार गरेपछि छुटमा उपलब्ध रुसी तेल किन्न थालेको हो ।

भारतको उत्तर प्रदेशमा तिर्थालु चढेको गाडी दुर्घटना, ११ जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेशको गोन्डामा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने चार जनालाई उद्धार गरिएको छ।

तीव्र गतिमा रहेको बोलेरो नियन्त्रण गुमाएपछि सरयु नहरमा खसको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बोलेरोमा १५ जना थिए । स्थानीय मानिसहरूले सिसा फुटाएर ४ जनाको उद्धार गरे ।

ती सबै तिर्थालु रहेको र पृथ्वीनाथ मन्दिरमा पानी चढाउन जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको बताइएको छ । भयानक दुर्घटनाका कारण बोलेरोबाट एक जना पनि आफैं निस्कन नसकेको बताइएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको समयमा कारको गति ६० किलोमिटर प्रतिघण्टा थियो । मृतकहरूमा ६ महिला २ पुरुष र ३ बालबालिका रहेका छन् ।

बहुविवाह प्रोत्साहन गर्ने कानुन ल्याइँदैन: मन्त्री चौरसिया

काठ्माण्डौँ- कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून नल्याइने बताएका छन्।

नेपाली कांग्रेसनिकट नेपाल महिला संघले आइतबार ज्ञापन पत्र बुझाएपछि मन्त्री चौरसियाले बहुविवाह प्रोत्साहन गर्ने कानुन ल्याउने पक्षमा सरकार नरहेको बताए।

सरकारले मुलुकी देवानी (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानूनी वैधता दिने प्रस्तावित कानून ल्याएको भन्दै समाचार प्रकाशित भएका छन्।

सरकारले गलत सम्बन्धबाट गर्भ रही जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानून संशोधन गर्न लागेको मन्त्री चौरसियाले स्पष्ट पारे।

‘जुन मस्यौदा तयार भएको छ, त्यसमा बहुविवाहको कुरा छैन। गलत सम्बन्धबाट (गलत नै भनौँ, महिलाले पुरुषलाई र पुरुषले महिलालाई ढाँटेको सम्बन्धबाट) गर्भ रहन गएको अवस्थामा त्यो बालअधिकारको लागि कानूनमा संशोधन भएको छ। त्यो संशोधनले वा त्यो संशोधन गर्न नपर्ने हो भने त्यो पनि हटाइदिऊँ। पुरुषले ढाँटेर महिलासँग सम्बन्ध राखेको मात्रै होइन, महिलाले पनि ढाँटेर पुरुषसँग सम्बन्ध राखेको भए दुवै कानूनको भागिदार बनाउने गरी कानून बनाउने हो। दुवैको मन नभए कुनै काम हुँदैन। बहुविवाहलाई निस्तेज पार्नको लागि जसरी पुरुषलाई कारबाही गर्ने व्यवस्था छ, त्यसैगरी महिलालाई पनि कारबाही हुन्छ। बच्चाको अधिकारको कुरा हो, उसको कुनै गल्ती छैन, उसलाई किन सजाय दिने। उसको हाडनाता कायम गर्ने की नगर्ने? पुरुषले नै ढाँटेर गरेको छ भने त्यो महिलाको लागि क्षतिपूर्ति भराउने की नभराउने? पर्याप्त क्षतिपूर्ति भराउने व्यवस्था संशोधनका लागि गएको छ। बहुविवाहलाई प्रोत्साहन गर्ने गरी होइन,’ उनले भने।

उनले महिलालाई भविष्यमा गाह्रो हुने गरी कानुन नल्याउने पनि बताए।

मस्यौदा मन्त्रिपरिषद्को समितिमा छलफलका क्रममा रहेको र पूरा तयार नभइसकेकाले सरकारको धारणा हो भनेर प्रचार नगर्न पनि उनले आग्रह गरेका छन्।

गलत सम्बन्धबाट जन्मिएको सन्तान र श्रीमतीलाई सम्बन्धित व्यक्तिले स्वीकार गर्न चाहे स्वीकार्न सक्ने व्यवस्था कानूनमा राखिएको भन्दै समाचारहरू प्रकाशन भएका छन्।

नेपाली यु–२० महिला रग्बी टोली घोषणा

काठमाडौं । नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली यु–२० महिला रग्बी टोली घोषणा गरेको छ ।  भारतमा आगामी साउन २४ देखि २७ गतेसम्म एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफी २०२५ आयोजना हुँदै छ । यसै ट्रफीका लागि रग्बी संघले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषण गरेको हो । पछिल्लो संस्करण यस उमेरसमूहको प्रतियोगिता नेपालमा नै आयोजना भएको थियो । यसपल्टमा भने भारतले आयोजना गर्न लागेको हो ।

नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डंगोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही छिन् । सावित्री पुर्जाको प्रशिक्षणमा नेपाली यु–२० महिला रग्बी टोली छनोट भएको हो ।

नेपाली टोलीले हाल सर्लाहीको राधाकृष्ण खेलमैदानमा प्रशिक्षण गरिरहेको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए । प्रतियोगिता हुने भारतको मौसमसँग मिल्नेगरी टोलीलाई पछिल्ला एक महिनादेखि प्रशिक्षणमा राखिएको महासचिव घिमिरेले बताए ।

यो टोली प्रतियोगितामा सहभागी हुन आगामी साउन २२ गते भारत प्रस्थान गर्ने कार्यक्र रहेको छ । यस ट्रफीमा एसियाका विभिन्न ११ राष्ट्रबाट आठ वटा महिला र आठ वटा पुरुष यु–२० टोलीले प्रतिस्पर्धा गर्दैछन् । बिहारस्थित राजगीर रंगशाला प्रतियोगिता सञ्चालन हुने रग्बी संघले जनाएको छ ।

चार सय ५० वर्षमा पहिलोपटक रूसमा ज्वालामुखी विस्फोट

मस्को- रुसको पूर्वी कामचट्का क्षेत्रमा चार सय ५० वर्षमा पहिलोपटक ज्वालामुखी विस्फोट भएको छ । रुसको आपत्कालीन विभागले आइतबार यस क्षेत्रमा आएको सबैभन्दा शक्तिशाली भूकम्पको केही दिनपछि ज्वालामुखी विस्फोट भएको जनाएको छ ।

रूसको राज्य सञ्चालित मिडियाले जारी गरेको तस्बिरहरूमा स्मिथसोनियन इन्स्टिच्युटको ग्लोबल ज्वालामुखी कार्यक्रमअनुसार सन् १५५० मा अन्तिम पटक विस्फोट भएको क्रासेनिनिकोभ ज्वालामुखीबाट खरानी निस्किरहेको देखिन्छ । यो धुवाँ छ हजार मिटर (१९ हजार सात सय फिट) उचाइसम्म पुगेको अनुमान गरिएको कामचटकाको आपत्कालीन अवस्था मन्त्रालयले टेलिग्राममा एक पोस्टमा जनाएको छ ।

“धुवाँ ज्वालामुखीबाट पूर्वतिर प्रशान्त महासागरको दिशामा फैलिइरहेको छ । यसको बाटोमा कुनै बसोबास क्षेत्रहरू छैनन् र बसोबास स्थानहरूमा खरानी खसेको रेकर्ड गरिएको छैन”, मन्त्रालयले भन्यो । ज्वालामुखीलाई ‘सुन्तला’ उड्डयन खतरा कोड दिइएको छ । यसको अर्थ यस क्षेत्रमा उडानहरू अवरुद्ध हुन सक्छन् । यो क्षेत्रको अर्को ज्वालामुखी क्लुचेभस्कोय बुधबार विस्फोट भएपछि आएको हो । क्लुचेभस्कोय युरोप र एसियाको सबैभन्दा अग्लो सक्रिय ज्वालामुखी हो ।

ग्लोबल भोल्कानिज्म प्रोग्रामका अनुसार सन् २००० देखि कम्तीमा १८ वटा घटना भएका क्लुचेभस्कोयको विस्फोट निकै सामान्य छ । हालका दुवै विस्फोट अहिलेसम्म रेकर्ड गरिएका सबैभन्दा शक्तिशाली भूकम्पहरू मध्ये एकपछि आएका हुन् । बुधबार आएको शक्तिशाली भूकम्पले सुनामी चेतावनी र जापानदेखि हवाई र इक्वेडरसम्मका तटीय क्षेत्रहरूबाट लाखौँ मानिसलाई स्थानान्तरण गराएको थियो ।

सबैभन्दा खराब क्षति रुसमा देखिएको थियो । रुसमा सुनामीले सेभेरो–कुरिल्स्क बन्दरगाहमा प्रहार गरी माछा मार्ने कारखानालाई डुबाएको अधिकारीहरूले बताएका छन् । रूसको कामचटका प्रायद्वीपमा पेट्रोपाभ्लोभस्कमा ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो र यो सन् २०११ पछि सबैभन्दा शक्तिशाली थियो । सन् २०११ मा जापानको ९.१ म्याग्निच्युडको भूकम्पले सुनामी निम्त्याएको थियो र यसबाट १५ हजारभन्दा बढी मानिस मारिएका थिए ।

अब एक पटकका लागि नाम, थर र जन्मदर्ता सच्याउन सकिने

काठमाडौं । व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका नेपाली नागरिकले अब भने राहत पाउने भएका छन् । राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको हो ।

राष्ट्रिय परिचयपत्र तथ पञ्जिकरण ऐन २०७६ मा बालबालिकाको जन्मदर्ता एक वर्षभित्रमा सच्याउन मिल्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था पनि २०७६ सालभन्दा पछि जन्मिएका बच्चाहरूका हकमा मात्रै लागू थियो ।

त्यसो हुँदा जन्म दर्ता गरेर पनि त्यसपछिका कागजपत्र नबनाइदिनेहरूका सन्तानले दु:ख पाएका थिए ।

त्यही अप्ठ्यारोलाई फुकाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ऐन संशोधनको प्रक्रिया अघि बढाएको थियो । अब संशोधित ऐनअनुसार अब एकपटकका लागि भने त्यो मौका मिलेको हो ।

‘कुनै व्यक्तिगत घटना दर्ताको विवरणमा उल्लेखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनुपरेमा सम्बन्धित व्यक्तिले एकपटक स्थानीय पञ्जाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछ ।’

अब गृह मन्त्रालयले ढाँचासहितको नियमावली तयार पारेपछि सोहीअनुसार स्थानीय तहका निवेदन दिन सकिनेछ ।

अमेरिकासँगको तनाव बढे पछि रूसले बनाउन थाल्यो ‘ओरासोनिक हाइपरसोनिक मिसाइल

मस्को। अमेरिकासँगको तनावका बीच रुसले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल ओरासोनिकको उत्पादन सुरु गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो घोषणा गरेका हुन् । उनले सन् २०२५ को अन्त्यअघि बेलारुसमा तैनाथ गर्ने योजना रहेको पनि बताएका छन् ।

यो घोषणाले युरोपको लागि सुरक्षा जोखिम बढाउँने भन्दै चिन्ता ब्यक्त गरिएको छ । ओरेसनिक मध्यम दुरीको ब्यालेस्टिक मिसाइल आधिकारिक रूपमा रुसी सेनामा सामेल भएको छ, पुटिनले सेन्ट पिटर्सबर्ग नजिकैको भलाम टापुमा भने। उनले पुष्टि गरे कि बेलारुसमा यसको तैनाथी साइटहरू पहिले नै चयन गरिएको छ।

बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोको उपस्थितिमा पुटिनले भने, ‘तयारीको काम जारी छ र सम्भवतः हामी यो वर्षको अन्त्यसम्म पूरा गर्नेछौं।’ रुसले गत वर्ष नोभेम्बरमा युक्रेन युद्धमा ओरेस्निक मिसाइल प्रयोग गरेको थियो, जब त्यसले निप्रोमा रहेको मिसाइल कारखानालाई निशाना बनाएको थियो। रुसी सेनाका अधिकारीहरुका अनुसार ओरेश्निक मिसाइल परम्परागत र आणविक दुवै हतियार बोक्न सक्षम छ ।

रुसको नयाँ मिसाइलले म्याच १० ले १२३४८ किमी प्रतिघण्टाको गतिमा यात्रा गर्न सक्छ, जुन पश्चिमी मिसाइल प्रतिरक्षा प्रणालीलाई चकित पार्न पर्याप्त छ। पुटिनले आफ्नो हतियारलाई लक्ष्यमा खस्नबाट रोक्न नसकिने दाबी गरे। उनले भने कि यसका धेरै हतियारहरू यति शक्तिशाली छन् कि ती मध्ये धेरैलाई परम्परागत आक्रमणमा प्रयोग गर्नु आणविक आक्रमण जस्तै विनाशकारी हुन सक्छ।

यो मिसाइलले युरोपका हरेक देशलाई निशाना बनाउन सक्छ । यद्यपि, केही विशेषज्ञहरूले यसलाई रूसी मिसाइल, रुबेज २६ को प्रतिस्थापन नाम भनेका छन्।

यस अवधिमा पुटिनले नाटोलाई पनि धम्की दिए कि यदि उनीहरूले युक्रेनलाई लामो दूरीका हतियारहरू उपलब्ध गराएमा ओलेस्निक मिसाइल उनीहरूको विरुद्धमा प्रयोग गर्न सकिन्छ। उनले भने, ‘हामीले पश्चिमालाई चेतावनी दिइरहेका छौं । यदि कीभले रूसलाई आक्रमण गर्न नेटोद्वारा आपूर्ति गरिएको मिसाइलहरू प्रयोग गर्दछ भने हामी ओरेस्निक जस्ता प्रणालीहरू प्रयोग गरेर युक्रेन बाहिर जवाफ दिन सक्छौं।’

 

प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान भ्रमणमा जाने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान भ्रमणमा जाने भएका छन्। संयुक्त राष्ट्रसंघको विकासोन्मुख भूपरिवेष्टित मुलुकहरूको सम्मेलनमा भाग लिन आज राति ११ बजे प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान गर्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको साउन १८ देखि २३ गतेसम्म हुने तुर्कमेनिस्तान भ्रमणलाई स्वीकृति प्रदान गरेको हो।

अनाथ तथा विपन्नका लागि सुविधायुक्त छात्रावास

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–९ को डप्कमा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजाति आवासीय आधारभूत विद्यालयमा अहिले तीन करोड रुपियाँभन्दा बढी लागतका सुविधायुक्त छात्रावास निर्माणको काम तीव्र रूपमा अघि बढेको छ । यस विद्यालयमा प्रायः अनाथ तथा भोटे समुदायका बालबालिका मात्र अध्ययन गर्दै आएका छन् ।

२०७९ देखि यो विद्यालयले यहाँ पढ्दै गरेका अनाथ तथा भोटे समुदायका बालबालिकालाई विद्यालयमै राखेर पढाउने गरेको छ । विद्यालयले यहाँ बस्ने गरेका बालबालिकालाई खाना, लगाउने कपडालगायतको राम्रो व्यवस्था गर्दै आएको भए पनि उनीहरूलाई राति बास बस्नका लागि भने यहाँ राम्रो भवन नहुँदा समस्या थियो ।

विद्यालयले उनीहरूलाई कर्कट पाताले छाएको छाप्रोमा राखेर पढाउने गरेको थियो । यहाँ पढ्ने ती अनाथ बालबालिका पनि त्यही सानो छाप्रोमा बस्ने गरेको थिए । करिब तीन वर्षअघि बाजुरामा आएको भूकम्पका कारण छाप्रो नष्ट भएको थियो । हिउँदको महिना यहाँ सधैँ बाक्लो हिमपात हुने गरेको र हिउँ परिसकेपछि त्यो हिउँ लामो समयसम्म रहने भएकाले यहाँका शिक्षकशिक्षिकाले उनीहरूको पठनपाठन नरोकिने गरेर त्यही बाक्लो हिउँमाथि बेन्च राखेर कक्षा सञ्चालन गरेका थिए ।

सोही अवस्थालाई चित्रण गरे हिउँमाथि बालबालिकाहरूको पढाइ भन्ने शीर्षकमा गोरखापत्र समाचार छापिएको थियो । सोही समाचारको प्रभावका कारण स्विजरल्यान्डकी एक समाजसेवी महिला हाना रोबरले विद्यालयको छात्रावास निर्माणका लागि पहल गरे । पछि उनको निधन भइसकेको छ ।

स्विजरल्यन्डको नेफा संस्थाका अध्यक्ष वार्ननर स्थलनले गोरखापत्रमा छापिएको समाचार लिएर बाजुरा आए र त्यही दिन यहाँ छात्रावास बनाउने निधो गरे । अहिले उनै स्व। हानाको पहलमा सुरु भएको कामलाई निरन्तरता दिँदै नेफा संस्थाको तीन करोडभन्दा बढीको आर्थिक सहयोगले सो विद्यालयमा छात्रावास, भान्छा घर, शौचालयसहित १६ कोठे भवन निर्माण भइरहेको छ ।

गोरखापत्रको समाचारको प्रभावले नै अहिले हाम्रो विद्यालयमा कहिल्यै निर्माण हुन नसकेको र विद्यालयको क्षमताभन्दाबाहिर रहेको सुविधायुक्त छात्रावास प्राप्त भएकाले सो विद्यालयका प्रधानाध्यापक तुलाबहादुर थापाले बताए ।

नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा आज पेसीमा

काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदै छ । न्यायाधीश डा. दिवाकर भट्टको इजलासको पहिलो नम्बरमा नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दा छ ।

मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भूमिका खेलेको आरोप लागेकामध्ये तत्कालीन उपप्रधानमन्त्री रायमाझी, गृहसचिव पाण्डेसहित केहीमात्र थुनामा छन् ।

ढाँटलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन विजेता नेपालका रविन्द्र ढाँटलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बान्टमवेट च्याम्पियन विजेता रविन्द्रलाई शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् “भारतका चोङ्गरेङ्ग कोरेनलाई हराउँदै रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलोपटक नेपाललाई उपाधि दिलाउन सफल रविन्द्रलाई हार्दिक बधाई ।”
भारतको नोएडामा शनिबार राति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा  टाइटल विजेता चोङ्गरेङ्ग कोरेनलाई पराजित गर्दै ढाँटले उपाधि जितेका हुन् । उनी उक्त प्रतियोगिता जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

म अहिलेसम्म जिवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै एकताबद्ध भएर प्रतिरोध गर्ने बताएका हुन् ।

आफू जनयुद्ध हुँदै शान्ति प्रक्रिया, संविधान सभा र अहिले पनि जिवित रहनु परेको कारण अर्काे क्रान्ति गर्न भएको उनको भनाइ छ ।

‘हामी बल गर्दैछौं । एकताबद्ध भएर प्रतिक्रियावादीको षडयन्त्रको प्रतिरोध गर्ने कोसिस गरेकाछौं । हाम्रो वर्गसँगै जोडिने फेरि बल गर्दैछौं’, केही भावुक हुँदै प्रचण्डले भने, ‘मलाई त जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधान सभा हुँदै यहाँसम्म अझै पनि जिवित रहन सकेको र नेतृत्वमा पनि भइराखेको कारणले पनि एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरुलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हामी हिँडिराखेका छौं । मैले गर्ने प्रतिबद्धता पनि यही नै हो ।’

उनले अहिले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषय अघि बढेको बताउँदै यसमा पनि चलखेलहरु  भइरहेको दाबी गरे । ‘विषय अघि बढेको छ, तर यसमा पनि चलखेल भइराखेको छ । तिखो आँखाले हेरिरहनपर्छ’, उनले भने, ‘हामीले एकताबद्ध गरेनौं भने अप्ठेरो आउन सक्छ । म अपिल गर्छु ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनयुद्धलाई राष्ट्रिय दिवस नमान्नु पर्ने कुनै कारण नभएको पनि बताए । यो अदालत प्रवेश गर्ने विषय नै नभएको बताउँदै उनले यसलाई राष्ट्रिय दिवसकै रुपमा आत्मसाथ गरेर मनाउनु पर्ने बताए ।

सवारी कारबाहीबाट चार करोड ४१ लाख रूपैयाँ राजस्व सङ्कलन

कैलाली । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सवारी दुर्घटनामा गरिएको कारबाहीबाट चार करोड ४१ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रेमबहादुर शाहीले यो राजस्व ६१ हजार ५७६ वटा सवारी कारबाहीबाट संकलन भएको जानकारी दिए । उनका अनुसार आव २०८०/८१ मा भन‍े यस्तो राजस्व चार करोड ८९ लाख ८७ हजार थियो ।

गत आवमा सुदूरपश्चिम प्रदेशभरिमा भएका एक हजार २०३ वटा सवारी दुर्घटनाबाट एक सय ९२ जनाको मृत्यु भएको पनि उनले बताए । प्रहरी उपरीक्षक शाहीले उक्त दुर्घटनाहरूमा दुई हजार चार जना घाइते पनि भएका जानकारी दिए । त्यस्तै सोही अवधिमा सवारी दुर्घटनाबाट १३ वटा पशुचौपायको समेत मृत्यु भएको उनको भनाइ छ ।

प्रहरी उपरीक्षक शाहीका अनुसार तीव्र  गतिका कारण सबैभन्दा बढी सात सय ५२ वटा सवारी दुर्घटना भएका छन् । त्यस्तै मादकपदार्थ सेवनका कारण एक सय ३६, ओभरटेक ३२, मेकानिकल ५५, सडकरमौसमका कारण २६, चौपायाका कारण १९ र बाँकी अन्य कारणबाट सवारी दुर्घटना भएका छन् ।

ट्रक, ट्याक्टर, टिपर, डोजर, बस, माइक्रो, जीप, कार, टेप्पो, मोटरसाइकललगायत दुर्घटनामा संलग्न सवारीसाधन एक हजार ७२६ वटा छन् । यस कार्यालय र मातहतका कार्यालयबाट ‘चालकसँग एक मिनेट’, ‘स्कुल सम्पर्क’, ‘अभिभावकसँग ट्राफिक प्रहरी’लगायत कार्यक्रम सम्पादन गरिएका प्रहरी उपरीक्षक शाहीले उल्लेख गरे ।

उनका अनुसार पहाडी रुट गोदावारीबाट बुडर, बुडरबाट स्याउलेसम्म ‘टाइमकार्ड’ लागु गरी कडाइका साथ कार्यान्वयन गरिएको छ ।

लामो दूरीका भाडाका यात्रुवाहक बसमा दुई जना चालक भएरभएको टिसिए एप्स ९ट्राफिक कम्युनिकेसन एप्लिकेसन० को प्रयोग गरी चेकजाँचलाई निरन्तरता दिइएको उनले बताए

एनआरएनए एनसीसी अमेरिकाको नेतृत्वका लागि भानु खरेलले गरे टिम सार्वजनिक

अमेरिका – यही अगस्ट १६-१७ मा हुन गइरहेको  गैर आवासीय नेपाली संघ (एनआरएनए)  एनसीसी अमेरिकाको अध्यक्ष पदका लागि भानु खरेल र उनको टिमले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्।
शनिवार टेक्सस इर्भिंगमा आयोजित एक कार्यक्रममा उम्मेदवारी घोषणा गर्दै भानु खरेलले अमेरिकामा रहेका नेपालीहरूको सामुदायिक सम्मान अरू उच्च बनाउन र अमेरिकास्थित नेपालीहरूको  बौद्धिक, आर्थिक र व्यावसायिक क्षमतालाई नेपालसँग जोड्ने उद्देश्यले  आफूले उम्मेदवारी दिएको बताए।
हाल संघको उपाध्यक्ष पदमा कार्यरत खरेलले अमेरिकामा आएर धेरै नेपालीहरूले ‘अमेरिकी सपना’ साकार मात्रै पारेको नभै नेपालको उन्नतिमा पनि हातेमालो गरेको बताए ।  “आइआइडीएसद्वारा गरिएको एक अध्ययनका अनुसार सन् २०२२ मा नेपालको सूचना प्रविधि (आइटी) निर्यात ५१५ मिलियन अमेरिकी डलर पुगेको थियो, जुन नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को १.४ प्रतिशत र विदेशी मुद्राको सञ्चितिको ५.५ प्रतिशत हो। आइटी क्षेत्रबाट प्राप्त आम्दानीको ठूलो हिस्सा अमेरिकाबाट गएको थियो। त्यस्तै सन् २०२३ मा अमेरिकामा बसोबास गर्ने  नेपालीहरूले १.२८ अर्ब अमेरिकी डलर रेमिट्यान्सको रूपमा नेपाल पठाएका थिए,” खरेलले भने।  उनले सन्  २०१५ को नेपाल भूकम्पका बेला तथा कोभिड–१९ महामारीमा अमेरिकास्थित नेपाली समुदायले गरेको प्रयासमा सामेल हुन पाएको स्मरण पनि गरे।
२०२५-२७ का लागि अध्यक्ष पदमा निर्वाचित भएमा आफूले  संस्थाभित्र एकता र समावेशितालाई  प्रवर्द्धन गर्ने, युवा र महिलालाई प्रोत्साहन गर्ने,  ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल मन्त्रलाई साकार पार्न एनआरएन  नागरिकता र वंशजको नागरिकताको निरन्तरताको पक्षपोषण गर्ने, अमेरिकास्थित नेपालीहरूको व्यवसायलाई प्रवर्द्धन र  उद्यमशीलतालाई प्रोत्साहन गर्ने जनाए।  उनले नयाँ कार्यसमितिले एक छुट्टै टास्क फोर्स बनाएर नेपाली दूतावास, नास आइटी, नेपाल सरकार लगायत सबै साझेदारहरूसँगको पहलमा आउँदो पाँच वर्षमा  नेपालबाट अमेरिकामा गरिने  आइटी निर्यात दोब्बर पार्ने उद्देश्यले कार्य योजना बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । “यस बाहेक पर्यटन, लगानीका साथै उद्यमशीलतालाई प्रोत्साहन गर्ने छु।  त्यस्तै नेपाली बिजनेस फोरम बनाएर अमेरिकामा कार्यरत साना तथा मझौला उद्यमीहरूलाई सघाउन प्रोत्साहन गर्ने वातावरण तयार गर्नेछु,” उनले भने।
अध्यक्षका उम्मेदवार खरेलले आफू निर्वाचित भएमा एनआरएनए हेल्पडेस्क हटलाइन, करियर परामर्श र रोजगार मेला जस्ता कार्यक्रमहरूलाई विस्तार गर्ने,  सामाजिक र सांस्कृतिक कार्यक्रमहरूलाई प्रोत्साहन गरेर  पहिलो र दोस्रो पुस्ताका नेपालीहरू बीचको खाडललाई पुर्ने जनाए ।  उनले एनआरएनएभित्र पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर्नुका साथै नेपाली भाषा र संस्कृतिको प्रवर्द्धन तथा नेपाली विद्यार्थीहरूको समस्या समाधान गर्नका लागि पनि संस्थागत रूपमा पहल गर्ने बताए।
कार्यक्रममा टिम भानुको तर्फबाट एनसीसी अमेरिकाका उम्मेदवारहरु सरोज सिग्देल (वरिष्ठ उपाध्यक्ष), उपाध्यक्षका उम्मेदवारहरु विष्णु बराल, बल राई, एकदेव शर्मा, सी के पराजुली, दुर्गा तिवारी (महिला उपाध्यक्ष), नवराज न्यौपाने (युवा उपाध्यक्ष), अनुप खनाल (महासचिव), बासुदेव भट्ट (सचिव खुला), लक्ष्मी थापा (महिला सचिव), महेन्द्र बस्नेत (कोषाध्यक्ष), मोहन कुसारी (सह कोषाध्यक्ष), बिकी थापा (युवा संयोजक), सरस्वती शर्मा (महिला संयोजक), आइसीसी सदस्यका उम्मेदवारहरु रिता देवी प्रधान तथा दुर्गा प्याकुरेल, बोर्ड अफ डिरेक्टर्स (खुला) का उम्मेदवारहरु राम बहादुर देउवा, सुरेन्द्र कुमार अवस्थी, जीवन भण्डारी, गोविन्द सापकोटा, ध्रुव गौतम, हेम बहादुर ठकुल्ला, चन्द्रमणि पौडेल, धनन्जय भट्टराई, लता घिमिरे (महिला बीओडी), लक्ष्मी कार्की (महिला बीओडी), लक्ष्मी खरेल (क्षेत्रीय उपाध्यक्ष, वेस्ट), राज कुमार हमाल (क्षेत्रीय संयोजक, मिड वेस्ट), निश्चल चापागाईं (क्षेत्रीय संयोजक, साउथ) लगायतले आफै उपस्थित भइ वा लिखित संदेश मार्फत उम्मेद्वारी घोषणा गरेका थिए।
कार्यक्रममा  युलेस सिटी काउन्सिलका सदस्य टिका पौडेल, नेप्लिज सोसाइटी अफ टेक्सासका वरिष्ठ उपाध्यक्ष जगन भण्डारी, ब्लड  डोनर्स अफ अमेरिकाका शिव काफ्ले, जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष भगवान मैनाली, जसस टेक्सासका ज्ञानेन्द्र कार्की, विजय भुसाल लगायत समाजका अगुवाहरूले शुभकामना दिएका थिए।   नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष दिनेश शर्माले कार्यक्रम सञ्चालन गरेका थिए।

भारतको एमएफएन टाइटल फाइटमा नेपाली खेलाडी रविन्द्रले जिते उपाधी

काठमाण्डौं, १८ साउन ।

म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा नेपाली एमएमए फाइटर रवीन्द्र ढाटले भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका छन्।

यो ऐतिहासिक जितसँगै उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्। उनी बझाङका हुन् ।

शक्तिशाली रेसलिङ र आक्रामक पावरका लागि चर्चित ‘दि इन्डियन राइनो’ उपनामले परिचित कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरेपनि रवीन्द्रले शान्त संयोजन र कुशल रणनीतिका साथ जवाफ दिएका थिए।

तेस्रो राउण्डमा खेलको मोड बदलियो। रवीन्द्रले तीव्र गतिमा प्रहार गर्न थालेपछि कोरेनलाई गम्भीर संकटमा पार्‍यो। अन्ततः निर्णायक कम्बिनेसन प्रहारपछि रेफ्रीले फाइट रोके र रवीन्द्रलाई टीकेओ द्वारा विजेता घोषित गरे।

यो जितसँगै रवीन्द्रको प्रोफेशनल रेकर्ड ८–१ पुगेको छ भने उनले कोरेनको पाँच खेलको जित यात्रा तोडेका छन्। विजयी क्षणमा रंगशाला उत्साहले भरिएको थियो । पिजरमाथि नेपाली झन्डा गर्वका साथ फहराइएको थियो।

यो खेल बलिउड अभिनेता टाइगर श्राफ र उनको परिवारले सन् २०१९ मा स्थापना गरेको भारतको प्रमुख एमएमए प्लेटफर्म हो।

सुदूरपश्चिमको बझाङ घर भएका  यो उनको ९औं व्यवसायिक जित हो । उनको जितलाई लिएर नेपालीहरुले बधाई दिएका छन् ।

 

धनगढीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते

धनगढीः कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छान्।

धनगढी उपमहानगरपालिका–८ क्याम्पसचोक नजिक चालक कञ्चनपुरको बेलौरी नगरपालिका–५ का भुुवन चौधरीले चलाएको से ५ प ६८६३ नम्बरको मोटरसाइकलको ठक्करबाट धनगढी उपमहानगरपालिका–७ बस्ने राम कुँवरको ४ वर्षीय छोरा अभिनन्दन कुुँवरलाइ शुक्रवार साँझ ठक्कर दिँदा उनि घाइते भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक हाल धनगढी उपमहानगरपालिका–७ मा कोठा गरि बस्दै आएका थिए। घाइते बालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ।

विश्वको पहिलो एआई रोबोटले गर्नेछ पीएचडी

काठमाडौं : एआई र रोबोटिक्सको प्रविधिमा हरेक दिन नयाँ विस्तार देखिँदैछ। विश्वका धेरै देशमा एआईमा काम भइरहेको छ।

एआईको सहयोगमा चीनले एकपछि अर्को नयाँ रेकर्डहरू स्थापित गरिरहेको छ।   वास्तवमा संसारमा पहिलो पटक चीनमा एआई रोबोटलाई पीएचडी गर्न भर्ना गरिएको छ। यो रोबोटको नाम जुएबा ०१ हो। यसले चार वर्षे पीएचडी कार्यक्रम गर्न लागेको छ।

एआई रोबोटले गर्नेछ पीएचडी 

 

 

 

चीनको जुएबा नामक एआई रोबोटलाई चार वर्षे पीएचडी कार्यक्रममा भर्ना गरिएको छ। जुएबा नामक यो रोबोटलाई विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलनको क्रममा विद्यावारिधि गर्न छनोट गरिएको हो। यो रोबोटले आगामी चार वर्षसम्म सांघाई थिएटर एकेडेमीमा पीएचडी गर्नेछ।

जानकारी अनुसार यो रोबोट बनाउन सांघाई विज्ञान तथा प्रविधि विश्वविद्यालय र ड्रोइडअप रोबोटिक्सले विशेष भूमिका खेलेको छ। जुएबाले चिनियाँ ओपेरामा अनुसन्धान गर्ने बताइएको छ।

मानिस जस्तै देखिने रोबोटका विशेषता

यो एक ह्युमनोइड रोबोट हो। यो ठ्याक्कै मानिस जस्तै देखिन्छ। यसको छाला सिलिकनबाट बनेको छ। यति मात्र नभई यो रोबोटको अनुहारको भाव मानिस जस्तै छ।

रोबोटको तौल करिब ३० किलोग्राम छ। यस्तै यसको लम्बाइ करिब १.७५ मिटर छ। यो रोबोटलाई यस वर्षको सेप्टेम्बर महिनामा आधिकारिक रूपमा पीएचडीमा भर्ना गरिनेछ।

बागमती प्रदेशका मुख्यमन्त्री लामाले आइतबार राजीनामा दिने

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राखेको सर्त पूरा हुने भएपछि आइतबार पदबाट राजीनामा दिने भएका छन् । सभापति शेरबहादुर देउवासँग शनिबार बुढानीलकण्ठमा भएको छलफलपछि लामा सशर्त राजीनामा दिन तयार भएका हुन् ।

देउवाको उपस्थितिमा भएको छलफलमा लामाले साउन १४ गते मन्त्री नियुक्त गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिने सर्तमा पदत्याग गर्न सहमति भएको बताइएको छ ।

मुख्यमन्त्री लामा साउन १४ गते पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए । दलको नेतामा हार बेहोरेपछि उनलाई पार्टीभित्रबाट राजीनामा दिन दबाब बढेको थियो ।

देउवाले शुक्रबार लामालाई निवासमा बोलाएर राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । शनिबारको छलफलमा बानियाँ, लामा र लामाको पक्षमा रहेका १४ जना सांसद सहभागी थिए । छलफलमा पार्टीभित्रको विभाजनलाई मिलाएर अघि बढ्ने विषयमा पनि सहमति भएको हो ।

मुख्यमन्त्री लामाले राजीनामाको तयारी गरे पनि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा भने अस्पताल डिस्चार्ज भएका छैनन् । मूत्र थैलीमा सङ्क्रमण भएपछि गत बिहीबार अस्पताल भर्ना भएका प्रदेश प्रमुख देवकोटा काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा उपचाररत छन् ।

चितवनदेखि अमेरिकासम्म: नेपाली समुदायको सेवामा सधैं दत्तचित्त भानु खरेल

अमेरिका ।  शनिवार, २५ अप्रिल २०१५।  भानु खरेल नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सास राज्य स्थित आफ्नै निवासमा थिए।  नेपालमा भूकम्प गएको खबर सुनेपछि तुरुन्तै भानु लगायत टेक्सासमा रहेका युवाहरूले  औषधि तथा अत्यावश्यक राहत सामग्री सङ्कलन गरे। राहत र पुनर्निर्माण सहयोगका लागि कोष सङ्कलन कार्यक्रम पनि सञ्चालन गरे ।  त्यस पछि चिकित्सक, नर्स, सेनाका इन्जिनियर र  अन्य स्वयंसेवकहरूसहितको टोली नेपाल प्रस्थान गर्‍यो ।
“नेपाल पुगेपछि हामीले अमेरिकाबाट ल्याएका औषधि तथा अन्य सामग्री व्यवस्थापन गर्नका लागि एक अस्थायी कार्यालय स्थापना गर्‍यौँ। हामीले एउटा टोली गठन गर्‍यौँ जसले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूको जानकारी सङ्कलन गर्ने, आवश्यक सामग्री जोहो गर्ने, सवारी साधन तथा सुरक्षा (प्रहरी, सेना, स्थानीय स्वयंसेवक) निकायसँग  समन्वय गर्ने कार्य गर्थ्यो,” भानु सम्झँदै भन्छन्।

उक्त  ‘लजिस्टिक सहयोग टोली’ ले अन्य देशबाट आएका स्वयंसेवकहरूलाई समेत सहयोग गर्‍यो ।  छोटो समयमै अमेरिकाबाट गएको टोलीले  काठमाडौँ, नुवाकोट, भक्तपुर, गोरखा, सिन्धुपाल्चोक लगायतका विभिन्न जिल्लामा २३ वटा मिसन सञ्चालन गर्‍यो । ” हामीहरूले राहत र उद्धार कार्यमा सक्दो सहयोग गर्‍यौँ।  केही रकम विद्यालयहरूको पुनर्निर्माणका लागि पनि दियौँ,” स्मृतिका पोका खोतल्दै भानु भन्छन्।  “प्रवासमा रहँदा आफ्नो जन्म भूमिमा ठूलै समस्या परे मन भावुक हुँदो रहेछ।  म मात्रै हैन, अमेरिकाबाट कैयौँ साथीहरू आफ्नो कामबाट बिदा लिएर, व्यवसाय छाडेर हप्तौँ नेपालमा खट्नु भयो। “

अमेरिका फर्किएपछि पनि काठमाडौँस्थित कार्यालयमार्फत केही वर्षसम्म निरन्तर रूपमा  सहयोग जारी रह्यो  । केही महिनापछि, जाडो याममा प्रभावित क्षेत्रका परिवारहरूलाई सहयोग गर्नको लागि भानुले फेरि अभियान चलाए। “टेक्सासवासी नेपालीहरूको सहयोगमा हामीले  झन्डै ४० लाख रुपैयाँ सङ्कलन गर्‍यौँ  र नेपालमा २५०० परिवारलाई निःशुल्क सिरक र लुगाहरू वितरण गर्‍यौँ,” भानुले भने।

कोभिड १९ को महामारीले अमेरिका मात्रै हैन सारा संसार नै ठप्प पारि दियो।  सामाजिक काममा सधैँ सक्रिय भानु टेक्सास स्थित नेपाली समुदायको सेवामा खटे ।  त्यस्तै आर्थिक सहयोग सङ्कलन गरेर अक्सिजन कन्सनट्रेटर लगायतका उपकरण किन्न नेपाल पठाए।  नेपालमा छिटो खोप पठाउनु पर्छ भनेर लबी गरे।

त्यसो त भानु अमेरिकामा आएदेखि नै नेपाली समुदायमा  सक्रिय रूपमा संलग्न रहे  ।  जर्जियाको एटलान्टामा उनले  नेपाली युवाहरूको संस्था गठन गर्न नेतृत्वदायी भूमिका खेले, जसको नाम अहिले  ‘नेपाली एसोसिएसन इन जर्जिया’ रहेको छ । उनी नेप्लिज एसोसिएसन इन साउथईस्ट अमेरिकाका सहायक महासचिव, एनआरएनए टेक्सास च्याप्टरका अध्यक्ष (२०१५–२०१७) र नेपाली सोसाइटी अफ टेक्सासका महासचिव (२०१७–२०१९) समेत भइसकेका छन्। हाल उनी एनआरएनए एनसीसी यूएसएका उपाध्यक्ष हुन् र विभिन्न सामुदायिक परियोजनामा सक्रिय छन्। उनी ड्यालस एभरेस्ट लायन्स क्लबका सदस्य र ब्लड डोनर्स अफ अमेरिकाका आजीवन सदस्य पनि हुन्। साथै, उनी ड्यालस टेक्सासस्थित नेपाली मन्दिरका एक जना संस्थापक सहयोगी तथा मानार्थ ट्रस्टी पनि हुन्।

एनआरएनए टेक्सास च्याप्टरका अध्यक्षको रूपमा कार्यरत रहँदा उनले ‘एनआरएनए हेल्पडेस्क हटलाइन’, रोजगार मेला, करियर काउन्सिलिङ, व्यावसायिक सञ्जाल विस्तार र पहिलो तथा दोस्रो पुस्ताका आप्रवासी नेपालीहरूका लागि सामाजिक कार्यक्रमहरू सुरु गरी संस्थाको प्रतिष्ठा अभिवृद्धि गरे। भानुले अमेरिकी राजनीतिमा  नेपाली समुदायको सहभागितामा वृद्धि गर्न  जनगणना तथा मतदाता दर्ता अभियान सञ्चालन गरे जसको परिणामस्वरूप टेक्सासको युलेस सिटी काउन्सिलमा पहिलो पटक एक जना नेपाली प्रतिनिधि निर्वाचित भए। आफूलाई एक  सामाजिक उद्यमी भन्न रुचाउने भानुले नेपालमा रोजगारी सिर्जना गर्न हस्पिटालिटी, जलविद्युत् र सूचना प्रविधि क्षेत्रमा लगानी गरेका छन्। उनले यी क्षेत्रमा नेपाली कामदारका लागि अपार सम्भावना रहेको विश्वास गर्छन्।

चितवनदेखि अमेरिकासम्म
चितवनको भरतपुरमा जन्मिएका भानु  खरेल सन् १९९७ मा १७ वर्षको उमेरमा विद्यार्थीको रूपमा अमेरिका आएका थिए । उनले जर्जियाको डेभ्री युनिभर्सिटीबाट कम्प्युटर इन्फरमेसन सिस्टममा स्नातक र सदर्न पोलिटेक्निक स्टेट युनिभर्सिटीबाट इलेकट्रिकल इन्जिनियरिङ टेक्नोलोजीमा स्नातकोत्तर गरे । अमेरिकामा पहिलो पुस्ताको नेपाली विद्यार्थीको रूपमा उनले धेरै चुनौती सामना गरे, जसले उनलाई जीवनमा धेरै कुरा सिकायो  ।

अध्ययनपछि खरेलले विगत २० वर्षदेखि अमेरिकाका ठूला कर्पोरेट हाउसहरूमा आइटी प्रोजेक्ट म्यानेजर, सिस्टम एनलिस्ट, सोलुसन आर्किटेक्टको रूपमा ठूल्ठूला  प्रोजेक्टको नेतृत्वकर्ताको रूपमा काम गरेका छन् । सामाजिक क्षेत्रमा पनि उनको लामो अनुभव छ । खरेलले टेक्सासमा सञ्चालित नेपाली पाठशाला, समर क्याम्प, हेल्थ क्याम्प, नेपालको भूकम्प पीडितका लागि राहत प्रयास, टेक्सासको नेपाली मन्दिरको संस्थापक सदस्य, लायन्स क्लब, अमेरिकन रेडक्रस, र नेपाल जर्नीजस्ता संस्थाहरूमा विभिन्न भूमिकामा काम गरेका छन् । नेपालमा रोजगारीमूलक परियोजनाहरू सञ्चालन गर्दै उनले हरेक वर्ष ३–४ पटक नेपाल भ्रमण गरी ती परियोजनाको अनुगमन पनि गर्ने गरेका छन् ।

समुदायको सेवाकै लागि एनआरएनएमा

समुदायको सेवाकै लागि एनआरएनएमा  सक्रिय बनेका भानु  सन् २०१७–२०१९ मा एनआरएनए टेक्सास च्याप्टरको अध्यक्ष र सन् २०२३–२०२५ मा एनआरएनए एनसीसी अमेरिकाको उपाध्यक्षका रूपमा काम गरिरहेका छन्।
२०२५-२७ का लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षका उम्मेदवार बनेका भानु खरेलले नेपालीहरू जहाँ रहे पनि नेपाली नै रहने बताउँछन्  । साथै उनले विदेशी भूमिलाई कर्मथलो बनाएर बसेका नेपालीहरूको पहिचान र एकतालाई जोड दिँदै यो संस्थालाई अमेरिकाभरि रहेका नेपालीहरूको साझा चौतारी बनाउनकै लागि आफू नेतृत्वका गर्न तयार रहेको पनि बताए   ‘जे–जस्तो कारणले विदेश आए पनि हामी पहिला नेपाली हौँ । हाम्रो संस्कृतिले जहाँ रहे पनि सबैलाई समेटेर, एक अर्काको दुःख–सुखमा सहभागी भएर बाँच्न सिकाएको छ,’ उनले भने।

गैर आवासीय नेपाली संघको जुन मर्म र उद्देश्य थियो त्यो कता कता गलत बाटोमा हिँडेको आफूले महसुस गरेको भन्दै आगामी दिनमा त्यसलाई करेक्सन गरेर अघि बढ्ने पनि उनले प्रस्ट पारे । ‘त्यसका लागि म अहोरात्र खटिनेछु,’ उनले भने ।
यही अगस्ट १६-१७ तारिखमा हुन लागेको चुनावमा अध्यक्ष पदका उम्मेदवार खरेलले संस्थागत एकता र नेपालीको पहिचान प्रवर्द्धन नै आफ्नो मूल एजेन्डा भएको बताए । ” म निर्वाचित भएँ भने एनआरएन नागरिकताको कार्यान्वयन गर्दै  वंशजको नेपाली नागरिकताको निरन्तरताका लागि पहल  गर्ने छु।   ज्ञान र अनुभवहरू साझा गर्नका लागि बलिया प्लेटफर्महरूको  स्थापना गर्नुका साथै  पारदर्शिता र जबाफदेहितामा आधारित पद्धति लागू गर्ने छु।  संस्थामा एकता र समावेशिताको प्रवर्द्धन गर्दै  युवा र महिलालाई प्रोत्साहन गर्ने छु,” उनले भने।  ‘तपाईँ–हामीले चाहेजस्तो संस्था बनाउन म विश्वस्त छु। तपाईँहरूको भोटलाई उच्च सम्मान गर्नेछु र समुदायको हितमा मेरो समय खर्चिनेछु,’ उनले भने ।

उनले आफ्नो प्राथमिकता  नेपाली समाजमा व्याप्त समस्याहरूको न्यूनीकरण गर्नु रहेको बताए । उनको लक्ष्य अमेरिकामा रहेका नेपाली समुदायका सदस्यहरूलाई यहाँको मूल प्रवाहमा समाहित गराउनु रहेको छ । ‘दीर्घकालीन र दूरगामी महत्वका विषयहरूमा हाम्रो समाजलाई केन्द्रित गराउन मेरा एजेन्डाहरूलाई  अक्षरशः कार्यान्वयन गर्दै जानेछु,’ उनले थपे ।

‘एकता, सहमति र जबाफदेहिता, सबल र समावेशी एनआरएनए:  हाम्रो प्रतिबद्धता’ मूल नाराका साथ चुनावी अभियानमा होमिएका  खरेलले अमेरिकाका विभिन्न राज्य र सहरहरूमा पुग्दा नेपाली समुदायबाट पाएको माया, सहयोग, सुझाव र समर्थनले आफूलाई थप कटिबद्ध बनाएको पनि बताए ।

खोज्नुहोस