‘अर्जेन्ट’ लाइसेन्स चौबीस घण्टामै

काठमाडौँ : यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलले अर्जेन्ट रूपमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) चाहिनेहरूलाई चौबीस घण्टाभित्र उपलब्ध गराउँदै आएको बताएका छन् ।

‘यो सेवा सुरक्षाकर्मी, वैदेशिक रोजगारमा जानेका लागि मात्र होइन,’ उनले भने, ‘अन्यको हकमा पनि यो सुविधा उपलब्ध छ, त्यसका लागि विभागले उपलब्ध गराउने निवेदनमा हस्ताक्षर गरेर दिनुपर्ने छ, त्यसका लागि स्वयं व्यक्ति नै विभागमा उपस्थित हुनुपर्छ ।’

विषयगत समितिबाट साउनदेखि प्रदेशहरूले लाइसेन्स छाप्ने भनेर निर्णय गरिए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन । ‘साउनसम्म छाप्न बाँकी पुरानो लाइसेन्स साढे २३ लाख छ, यसका लागि सेक्युरिटी प्रिन्टिङ प्रेससँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छौं,’ उनले भने, ‘यी सबै लाइसेन्स प्रिन्ट गरेर दिने छौं, अहिले प्रिन्टका लागि यसको फिचर्स बनाइँदै छ, यो टुंगिने प्रक्रियामा छ, तीन महिनाभित्र सबै लाइसेन्स छापिसक्ने जानकारी पाएका छौं ।’

लाइसेन्स डिजिटल रूपमा नागरिक एपमा जोडिएकाले प्रिन्ट नचाहिने उनको भनाइ छ । यसमा ट्राफिक प्रहरीले चिट काट्दा डिजिटल रूपमा नै काट्ने र डिजिटल रूपमा नै भुक्तानी हुने व्यवस्था गरिएको उनले बताए ।

‘कतिपयले त प्रिन्ट नै चाहिन्छ भनेर आउनुहुन्छ, त्यसैले साउनसम्मको जति पुरानो छाप्न बाँकी छ, त्यो सबै छापेर वितरण गर्ने छौं,’ उनले भने, ‘त्यसपछि प्रदेशहरूले आ-आफ्नो तरिकाले प्रिन्ट गर्ने व्यवस्थापन गर्नेछन् ।’ बागमती प्रदेशले लाइसेन्स प्रिन्ट गर्ने मेसिन खरिद गरिसकेको छ । साउनबाट काम गर्ने तयारी गरे पनि त्यसको प्रणाली (सिस्टम) बनाउने काम भइरहेको उनले बताए । यसअघि प्रिन्ट भएर बसेका दुई लाख लाइसेन्स लिन भने कोही नआएको उनले सुनाए ।

‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ मा लाइसेन्सको अवधि पाँच वर्ष रहेकोमा यसको अवधि बढाएर १० वर्ष कायम गरिएको छ । अब सवारी चालक अनुमति प्राप्त गरेको १० वर्षमा नविकरण गर्नुपर्ने महानिर्देशक पोखरेलले बताए । ‘अहिले प्रायः सबैसँग स्मार्ट लाइसेन्स भएकाले यसको आयु १५ वर्ष हुन्छ,’ उनले भने, ‘थोरै समयावधि हुँदा लाइसेन्स छपाइ धेरै गर्नुपर्ने र राज्यलाई पनि व्ययभार बढी पर्ने भएकाले यसको नविकरण गर्ने अवधि बढाएका हौं ।’

विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पछाडि पार्न नहुनेमा प्रधानमन्त्रीको जोड

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पछाडि पार्न नहुनेमा जोड दिएका छन् ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत आज ‘व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्य’सम्बन्धी ‘राउन्ड टेबल’को सहअध्यक्षता गर्दै उनले निष्पक्ष व्यापार सर्तहरू र पारवहन व्यवस्थाका लागि सामूहिक दबाब दिनुपर्नेमा जोड दिए ।

“यसै वर्ष जुनमा हामीले पारित गरेको सेभिया प्रतिबद्धताको कार्ययोजनाले पनि पूर्वाधार निर्माण, स्मार्ट व्यापार, कोरिडोरमा लगानी, यातायात र रसद उद्योगको विकास, व्यापार र भन्सार प्रक्रियालाई डिजिटलाइज गर्ने विषयलाई महत्त्व दिएको छ । यसको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि बलियो प्रतिबद्धता आवश्यक पर्दछ”, प्रधानमन्त्री ओलीले भने, “यी उपायको इमान्दारपूर्वक कार्यान्वयनसँगै भूपरिवेष्टित मुलुकले समावेशी र दिगो विकासका लागि आफ्नो व्यापार क्षमतालाई उपयोग गर्न सक्छन् । यसका लागि हामीले द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय स्तरमा सहयोग र साझेदारीलाई बलियो बनाउन आवश्यक छ ।”

उनले सूचना प्रविधि, उत्पादन र सेवाहरूको व्यापारलाई प्रवर्द्धन गरी क्षेत्रीय एकीकरणलाई गहिरो बनाउने र अर्थपूर्ण साझेदारीलाई बढावा दिन आग्रह गर्दै हामीले विश्वव्यापी व्यापारमा यी मुलुकको हिस्सा दोब्बर गर्ने, सेवा निर्यात विस्तार गर्ने, थप विविध र लचिलो अर्थतन्त्रलाई बढावा दिने प्रतिबद्धता गरी यसलाई पूरा गर्नुपर्नेमा जोड दिए ।

दक्षिण-दक्षिण सहकार्य बढाउन आग्रह
प्रधानमन्त्री ओलीले सम्मेलनअन्तर्गतको दक्षिण-दक्षिण सहकार्यसम्बन्धी मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै अपार सम्भावना र तत्कालका आवश्यकताको परिपूर्तिका लागि यी मुलुकबीच ज्ञान आदानप्रदानसहित मापनयोग्य परिणाम हासिलका लागि दिगो स्रोत परिचालनमा जोड दिए ।

“एकता, पारस्परिक सम्मान र साझा स्वामित्वमा आधारित, दक्षिण-दक्षिण सहयोगले एलएलडिसीको अद्वितीय आवश्यकता र आकाङ्क्षा अनुरूप आपसी सिकाइ, क्षमता विकास र प्रविधि हस्तान्तरणलाई बढावा दिन्छ, जसले समतामूलक र समावेशी वृद्धि निर्माण गर्न मद्दत गर्दछ”, प्रधानमन्त्री ओलीले भने, “हामीले लचिलो भौतिक र डिजिटल पूर्वाधारमा लगानी गरेर क्षेत्रीय एकीकरणलाई प्रवर्द्धन गर्न दक्षिण-दक्षिण र त्रिकोणीय सहयोगलाई उपयोग गर्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले व्यापार र ‘ट्रान्जिट’ कोरिडोर विकास गर्न, पूर्वाधारलाई आधुनिकीकरण गर्न, सीमापार व्यापार र लगानी बढाउनका लागि भन्सार प्रक्रिया मिलाउन सामूहिक रूपमा काम गर्न आग्रह गर्दै विश्वव्यापी डिजिटल अर्थतन्त्रमा अर्थपूर्ण रूपमा भाग लिन डिजिटल रूपान्तरणलाई अँगाल्नुपर्ने धारणा राखे ।

प्रतिनिधिसभामा बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक पेस हुँदैन : कानुनमन्त्री

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले समाजमा नकारात्मक असर पर्ने गरी प्रतिनिधिसभामा बहुविवाहसम्बन्धी व्यवस्था गरिएको विधेयक पेस नहुने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै मन्त्री चौरसियाले भने, ‘समाजमा नकारात्मक असर पर्ने बहुविवाह सम्बन्धी व्यवस्था गरिएका विधेयक प्रतिनिधिसभामा सरकारले पेस नगर्ने प्रतिबद्धता जनाउँछु ।’

सरकारले बहुविवाह गर्न पाउने कानुन ल्याउन लाग्यो भन्दै प्रतिनिधिसभा र बाहिर चर्को विरोध भएपछि मन्त्री चौरसियाले जवाफ दिँदै त्यस्तो बताएका हुन् ।

उत्तराखण्ड घटना : बादल फाट्नु भनेको के हो ?

उत्तराखण्ड । उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा रहेको खीर गंगा गदेरामा अचानक आएको बाढीका कारण मंगलबार चार जनाको मृत्यु भएको छ। बाढीले धेरै घर र होटलहरू बगाएको छ।

उत्तरकाशीका जिल्ला मजिस्ट्रेट प्रशान्त आर्यले यस घटनामा चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्। यसैबिच, एनडीआरएफका डीआईजी मोहसेन शहेदीले समाचार एजेन्सी एएनआईलाई भने, ‘अहिलेसम्म प्राप्त जानकारी अनुसार ४० देखि ५० घरहरू बगाएका छन् र ५० भन्दा बढी मानिसहरू बेपत्ता छन्।’

uttarakhand-cloud-burst

गंगोत्री धामभन्दा लगभग २० किलोमिटर अगाडि अवस्थित धराली एउटा प्रमुख बिसौनी हो जहाँ हरेक वर्ष चारधाम यात्राको समयमा ठुलो सङ्ख्यामा भक्तजनहरू बस्छन्।

हाल सेना, एसडीआरएफ, एनडीआरएफ र जिल्ला प्रशासनका टोलीहरू राहत र उद्धार कार्यमा संलग्न छन्।

तर प्रश्न उठ्छ – के मौसम विभागले यस्ता घटनाहरूको बारेमा पहिले नै अलर्ट जारी गर्न सक्दैन ? अनि बादल फाट्ने जस्ता घटनाहरू किन हुन्छन् ?

बादल फाट्नु भनेको के हो?

मौसम विभागको परिभाषा अनुसार, यदि एक घण्टामा सानो क्षेत्रमा (एक देखि दश किलोमिटर) १० सेन्टिमिटर वा सोभन्दा बढीको भारी वर्षा हुन्छ भने त्यो घटनालाई बादल फाट्नु (cloud burst) भनिन्छ।

कहिलेकाहीँ एकै ठाउँमा एकभन्दा बढी बादल फाट्न सक्छ। यस्तो अवस्थामा सन् २०१३ मा उत्तराखण्डमा भएको जस्तै धेरै जनधनको क्षति हुन्छ । तर भारी वर्षाको हरेक घटनालाई बादल फाट्नु भनिँदैन।

यहाँ बुझ्नुपर्ने कुरा के हो भने केवल एक घण्टामा १० सेन्टिमिटर भारी वर्षाले धेरै क्षति गर्दैन । तर यदि नजिकै पहिले नै कुनै नदी वा ताल छ र त्यो अचानक पानीले भरियो भने, नजिकैको आवासीय क्षेत्रहरूमा बढी क्षति हुन्छ।

Cloud-bursts

के बादल फाट्ने घटना मनसुनमा मात्र हुन्छ?

यस्ता घटनाहरू मनसुनको समयमा र मनसुनको केही समय अघि (प्रि-मनसुन) बढी हुने गर्छन्। यस प्रकारको मौसमी प्रभाव भारतको उत्तरी भागमा मेदेखि जुलाई र अगस्टसम्म देखिन्छ।

के बादल फाट्ने पूर्वानुमान गर्न सकिन्छ?

एक देखि दश किलोमिटरको दूरीमा सानो मात्रामा मौसमी परिवर्तनका कारण बादल फुट्ने घटनाहरू हुन्छन्। यस कारणले गर्दा, तिनीहरूको भविष्यवाणी गर्न गाह्रो छ।

मौसम विभागले राडार प्रयोग गरेर ठुलो क्षेत्रको लागि धेरै भारी वर्षाको भविष्यवाणी गर्न सक्छ, तर बादल कुन क्षेत्रमा फाट्छ भनेर पहिले नै भन्न गाह्रो छ।

मौसम विभागका अनुसार यस्ता मौसमी परिवर्तनहरूको जानकारी दिन वा अनुगमन गर्न या त बादल फाट्ने सम्भावना भएका क्षेत्रहरूमा बाक्लो राडार नेटवर्क आवश्यक छ अथवा हामीलाई धेरै उच्च रिजोल्युसन मौसम पूर्वानुमान मोडेलहरू चाहिन्छ जसले यस्ता साना स्तरका घटनाहरूलाई कैद गर्न सक्छ।

बादल फाट्ने समस्या समतल क्षेत्रमा पनि हुन सक्छ, तर पहाडी क्षेत्रमा यो हुने सम्भावना बढी हुन्छ। किनभने त्यहाँको पहाडी भिरालो ठाउँले बादल उठ्न र भारी वर्षा गराउन अनुकूल वातावरण प्रदान गर्दछ।

बीबीसी हिन्दी

च्याम्पियन रवीन्द्रलाई एक लाख ११ हजारसहित सम्मान गर्दैै दुर्गाथली

काठमाडौं । । म्याट्रिक्स फाइट नाइट (एमएन–१७) च्याम्पियन रवीन्द्र ढाँटलाई बझाङको दुर्गाथली गाउँपालिकाले एक लाख ११ हजार १११ रुपैयाँसहित सम्मान गर्ने भएको छ । बुधबार (साउन २१) गाउँपालिकाले सूचना जारी गर्दै रवीन्द्रलाई एमएन–१७ को च्याम्पियन बनेकामा बधाई ज्ञापन गरिएको छ । उ

क्त नगद राशि प्रदान गरिने जनाइएको छ । “प्रतिभावान् खेलाडी रवीन्द्रको आगामी खेल यात्राको थप सफलताको शुभकामना व्यक्त गर्नुका साथै पालिकाको तर्फबाट सम्मानस्वरूप रु. १,११,१११/– (रु. एक लाख एघार हजार एक सय एघार रुपैयाँ) आर्थिक सहयोग गर्ने घोषणा गर्दछौँ,” सूचनामा उल्लेख छ ।

रवीन्द्र ‘बझांगी बाघ’ उपनामले परिचित छन् । गएको शनिबार (साउन १८ गते) भारतको नोएडामा भएको फाइनलमा त्यहाँका नम्बर वान चेग्रोन कोरेनलाई नकआउट गर्दै उनी च्याम्पियन बनेका हुन् । उनले कोरेनलाई तेस्रो राउन्डमा नकआउट गरेका थिए ।

रवीन्द्रले ‘लक एन्ड रोल’ एमएमए नेपाल टिमबाट प्रतियोगितामा सहभागिता जनाएका थिए । उनी एसिया प्रशान्त क्षेत्रमा २२८ स्थानमा रहेका एमएमए फाइटर हुन् । एसिया प्रशान्त उपक्षेत्रको पनि वरीयताभित्र समावेश छन् ।

प्रधानमन्त्री र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच आज दुईपक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व गर्दै १८ साउन मध्यराति त्यसतर्फ गएका थिए ।

तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना भइरहेका विभिन्न इभेन्टमा उनी सहभागी भइरहेका छन् ।

सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने छन् ।

किर्गिस्तानमा प्रत्यक्ष नेपाली गीत संगीत प्रस्तुत

काठमाडौं । ‘एभरेस्ट नेपाल कल्चरल ग्रुप’ले किर्गिस्तानको चोल्पोन अटे सहरमा नेपाली गीत संगीत प्रस्तुत गरेको छ । किर्गिस्तानको मन्त्री परिषद् र संस्कृति मन्त्रालयको आयोजनामा भएको ‘युरुस–सानातु’ विश्व परम्परागत संस्कृति एवम् संगीत मेलामा नेपालको तर्फबाट एभरेस्ट नेपाल कल्चरल ग्रुपका कलाकारहरूले नेपाली वाद्यवादनसहित यहाँका लोक मौलिक धुनहरू प्रस्तुत गरेका हुन् ।

किर्गिस्तानको चोल्पोन अटे सहरमा यो सांस्कृतिक मेला शुक्रवार १ अगस्ट देखी ३ अगस्टसम्म आयोजना गरिएको थियो । त्यहाँ आफूहरूले आइतबार नेपाली गीत संगीत प्रस्तुत गरेको ‘एभरेस्ट नेपाल कल्चरल ग्रुप’का प्रमुख आरसी कोइराला (रामचन्द्र)ले राजधानीलाई जानकारी गराए । उनका अनुसार यो मेलामा नेपाल सहित ५० भन्दा बढी देशका कलाकारहरूको सहभागी रहेको थियो ।

तीन दशक भन्दा लामो समयदेखि नेपाली मौलिक गीत संगीत, एवम् नृत्यलाई विश्वका धेरै देशमा प्रस्तुतिसहित सांस्कृतिक आदान प्रदान गर्दै आएको आफूहरूको यस पटकको प्रस्तुतिले पनि निकै प्रशंसा पाएको आरसीले राजधानीलाई बताए ।

कोइरालाको नेतृत्वमा गएको नेपालको टिमबाट वाद्यवादक धनेस्वर तिवारी, बाँसुरीवादक राम भुजेल, गायिका तथा वाद्यवादक रिता कुमारी बुढाथोकी र सारंगीवादक खुम केसीले प्रत्यक्ष वाद्यवादनसहित नेपाली लोक गीत प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि त्यहाँका संस्कृति मन्त्रीले समेत उठेर ताली बजाउँदै नेपाली कलाकारहरूलाई सम्मान गरेको पनि समूह प्रमुख आरसीले जानकारी गराए ।

धुलो र हिलो रहित सडकका लागि काम गरिरहेको अर्थमन्त्रीको दाबी

काठमाडौं : अर्थमन्त्री विष्णु प्रसाद पौडेलले धुलो र हिलो रहित सडकको परिकल्पना व्यवहारिकरुपमा सार्थक तुल्याउन काम गरिरहेको दाबी गरे।

बुधवार नाइमा नेपाल मोबिलिटी एक्स्पो– २०२५ को उद्घाटन गर्दै उनले सडक निमार्णको सिलसिलामा धुलो र हिलो रहित सडकको परिकल्पना पुरा गर्न काम गरिरहेको दाबी गरेका हुन्।

‘अब हामी धुलो रहित सडक र हिलो रहित सडकको परिकल्पना मात्र गरिरहेका छैनौ त्यसलाई व्यवहारिक रूपमा सार्थक तुल्याउँदै छौ। हामी सडक निमार्णको सिलसिलामा गुणस्तरमा पनि जोड दिइरहेका छौ’ उनले दाबी गरे।

उनले चालु आर्थिक वर्षको बजेटमा सडकको गुणस्तर वृद्धिका साथै भू–बनोट अनुसार बिसिसि वा आरसिसीको आवश्यकता अनुसार सडक निर्माण गरिने समेत बताए।

उनले आगामी दुईदेखि तीन वर्षभित्र भृकुटीमण्डपमा अत्याधुनिक प्रदर्शनी स्थल बन्ने समेत दाबी गरे। मन्त्री पौडेलले भृकुटीमण्डप परिसरमा भएका संरचना भत्काएर अत्याधुनिक, व्यवस्थित, आकर्षक प्रदर्शनी स्थल बन्ने दाबी गरे।

उनले यसबारे बजेटमा व्यवस्था भएको र ढिलोमा दुई वर्ष भित्र नभए पनि तीन वर्षभित्र भृकुटीमण्डपमा आधुनिक र अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण हुने दाबी गरे। यसका लागि अन्तर्राष्ट्रिय कन्सल्टेन्सीको समेत सहयोग लिन सकिने उनले बताए।

भारतमा बाढी : ११ सैनिकसहित सयभन्दा बढी बेपत्ता, उद्धार टोली ‘युद्धस्तरमा’ तैनाथ

उत्तराखण्ड: घातक हिमाली आकस्मिक बाढीको एक दिनपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी गर्न भारतीय सेनाले बुधबार स्निफर कुकुर, ड्रोन र भारी अर्थ–मुभिङ उपकरणहरू ल्याएको छ ।

उत्तराखण्ड राज्यको धराली सहरमा हिलो र फोहोरमैलाको पानीले एउटा साँघुरो पहाडी उपत्यकाको पहरो भत्काएपछि कम्तीमा चार जनाको मृत्यु भएको छ भने ११ जना सैनिकसहित करिब एक सय जना बेपत्ता भएका छन् ।

‘थप सेना टुकडीहरू, सेनाका ट्र्याकर कुकुरहरू, ड्रोनहरू, लजिस्टिक ड्रोनहरू, माटो खन्ने उपकरणहरू आदिसहित  प्रयासलाई तीव्रता दिन थालिएको छ,’ सेनाले बुधबार भनेको छ ।

सैन्य हेलिकप्टरहरूले ‘आवश्यक सामग्रीहरू, औषधिहरू र डुबानमा परेकाहरूको उद्धार’ का लागि काम गरिरहेको पनि सेनाले बताएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले यो बाढी तीव्र ‘आरी घोप्टे’ वर्षाका कारण आएको बताए र उद्धार टोलीलाई ‘युद्धस्तरमा’ तैनाथ गरिएको बताए ।

मंगलबार दिउँसो पर्यटकीय क्षेत्रमा हिलो पानीको डरलाग्दो लहरले बहुतले भवनहरूलाई बगाएको भारतीय मिडियामा प्रसारित भिडियोहरूले देखाएका छन् ।

धेरै मानिसलाई दौडिरहेको देख्न सकिन्थ्यो । त्यसपछि तिनीहरू पूरै भवनहरूलाई जरैदेखि उखेल्ने अँध्यारो फोहोरको छालहरूमा डुबेका थिए ।

रक्षा राज्यमन्त्री सञ्जय सेठले प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) समाचार एजेन्सीलाई मंगलबार राति ‘चार जनाको मृत्यु र करिब एक सय जना बेपत्ता’ भएको बताए ।

अहिले पनि मुसलधारे मनसुनी वर्षा जारी छ । ‘निरन्तर वर्षाका कारण बढ्दो पानीको सतहलाई ध्यानमा राखेर बासिन्दाहरूलाई उच्च ठाउँहरूमा सारिएको छ,’ सेनाले भनेको छ ।

सरकारी मौसम पूर्वानुमानकर्ताहरूले बुधबार उत्तराखण्डका सबै प्रमुख नदीहरू खतराको सीमाभन्दा माथि बगिरहेको बताए । मुख्य धार बितिसकेपछि घटनास्थलबाट सेनाले सार्वजनिक गरेको तस्बिरमा ढिलो गतिमा बग्ने माटोको नदी देखाइएको छ ।

सहरको ठूलो भाग हिलोले डुबाएको छ । उद्धारकर्ताहरूको अनुमानअनुसार केही ठाउँमा यो ५० फिट (१५ मिटर) गहिरो छ र केही भवनलाई पूर्ण रूपमा हिलोले डुबाएको छ ।

जुनदेखि सेप्टेम्बरसम्मको मनसुन मौसममा घातक बाढी र पहिरो सामान्य हुन्छ, तर विज्ञहरू सहरीकरणसँगै जलवायु परिवर्तनले तिनीहरूको आवृत्ति र गम्भीरता बढाइरहेको बताउँछन् ।

संयुक्त राष्ट्रसङ्घको विश्व मौसम सङ्गठनले गत वर्ष बढ्दो तीव्र बाढी र खडेरी जलवायु परिवर्तनले पृथ्वीको पानीचक्रलाई अझ अप्रत्याशित बनाउँदै आउने कुराको ‘सङ्कटको सङ्केत’ हो भनेको थियो ।

विशेषज्ञ हाइड्रोलोजिस्ट मनिष श्रेष्ठले बाढी क्षेत्रमा २४ घण्टाभित्र दुई सय ७० मिलिमिटर (१० इन्च) वर्षा भएको रिपोर्ट ‘चरम घटनाको रूपमा गणना गरिएको’ बताए ।

नेपालस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका श्रेष्ठले पहाडहरूमा यस्तो वर्षाको समतल भूमिको तुलनामा ‘बढी केन्द्रित’ प्रभाव हुने बताए । ‘यस्ता तीव्र वर्षाका घटनाहरू बढ्दो सामान्य हुँदै गइरहेका छन् र यसलाई जलवायु परिवर्तनसँग जोड्न सकिन्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीद्वारा दक्षिण-दक्षिण सहयोगमाथि चार सूत्रीय कार्यदिशा प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दक्षिण–दक्षिण सहयोगसम्बन्धी मन्त्रीस्तरीय बैठकको उद्घाटन सत्रलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्दै भूमि अवरुद्ध विकासशील मुलुकहरूका लागि दक्षिण-दक्षिण सहयोगलाई समावेशी तथा दिगो विकासको माध्यमका रूपमा अघि बढाउन चारवटा रणनीतिक कार्यदिशा प्रस्तुत गरेका छन् ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले भौगोलिक स्थान कुनै देशको सम्भावनामा बाधक हुनु नहुने बताउँदै प्रविधि र अन्तरजोडिएको विश्वले यसलाई चिर्ने सम्भावना प्रदान गरेको धारणा व्यक्त गरे ।

यस्तै, उनले भूमि अवरुद्ध देशहरू अझै पनि संरचनात्मक समस्याबाट ग्रस्त रहेको, जसलाई हालका विश्वव्यापी संकटहरू- जस्तै भू–राजनीतिक तनाव, खाद्य तथा ऊर्जा असुरक्षा, मुद्रास्फीति र राजस्वको अभावले झनै जटिल बनाएको उल्लेख गरे।

‘विकास सहयोग राष्ट्रिय प्राथमिकतासँग मेल नखाने अवस्थामा दीर्घकालीन परिणाम हासिल गर्न कठिन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले जलवायु परिवर्तनका असरहरूले भूमि अवरुद्ध राष्ट्रहरूले हासिल गरेका विकास उपलब्धिहरू मेटिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै, वर्तमान संकटमा आशाको झल्को ल्याउने कार्यक्रमको रूपमा ‘अवाजा कार्ययोजना’ लाई उल्लेख गरे ।

दक्षिण–दक्षिण सहयोगको महत्त्वमाथि प्रकाश पार्दै उनले यसले समानता, साझा स्वामित्व र पारस्परिक सम्मानको आधारमा सीप आदान–प्रदान, प्रविधि स्थानान्तरण तथा क्षमता विकासमार्फत आवश्यकतालाई सम्बोधन गर्न सक्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले दक्षिण–दक्षिण सहयोगलाई थप प्रभावकारी बनाउने चार प्रमुख रणनीतिक कार्यहरू यस प्रकार प्रस्ताव गरे :

दक्षिण–दक्षिण तथा त्रिकोणीय सहयोगमार्फत दिगो भौतिक तथा डिजिटल पूर्वाधारमा लगानी गर्दै क्षेत्रीय एकीकरणलाई प्रवद्र्धन गर्नु ।

व्यापार तथा पारवहन गल्लीहरूको विकास, पूर्वाधारको आधुनिकीकरण र सीमापार व्यापारलाई सहज बनाउने प्रक्रियाको एकरूपता सुनिश्चित गर्नु ।

एलएलडिसिका लागि पूर्वाधार लगानी कोष स्थापना गरी प्राथमिक विकास परियोजनाहरूमा वित्तीय स्रोत जुटाउनु ।

डिजिटल रुपान्तरणलाई तीव्र गति दिँदै विश्व डिजिटल अर्थतन्त्रमा सार्थक सहभागिता सुनिश्चित गर्नु ।

प्रधानमन्त्री ओलीले दक्षिण–दक्षिण सहयोगलाई साझा प्रगतिका लागि एक गतिशील शक्तिका रूपमा पुनः जागृत गर्न सबैलाई आह्वान गर्दै नेपालले सहकार्य र साझेदारीमार्फत समावेशी तथा दिगो समृद्धिको यात्रा अघि बढाउने प्रतिबद्धता दोहोर्याए ।

रामहरि खतिवडाले राजीनामा दिनुपर्ने निष्कर्ष, पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा नल्याउने निर्णय

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले कुलिङ पिरियडमा गडबडी प्रकरणमा सभापति खतिवडा जिम्मेवार रहेको भन्दै उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।

निजामती सेवा विधेयकको मस्यौदामा छेडखानी गर्दै कुलिङ अफ पिरियडलाई निस्प्रभावी बनाइएको सम्बन्धी विवादमा छानबिनका लागि बनाइएको संसदीय समितिले हिजो प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनले सभापति खतिवडाले आवश्यक समन्वय गर्न नसकेको भन्दै नैतिक जिम्मेवार ठह¥याएपछि रास्वपाले उनको राजीनामा मागेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

हिजोको बैठकमा रास्वपाभित्र पनि उच्चपदस्थ सरकारी कर्मचारीहरूलाई कुलिङ पिरिड लगाउने प्रस्ताव गरिएको छ । सरकारी सेवाबाट निवृत्त भएको २ वर्षसम्म पार्टी सदस्य नबनाउने गरी विधानमा संसोधन गर्न प्रस्ताव आएको प्रवक्ता झाले जानकारी दिए ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीसलगायत उच्चपदस्थ सम्मानित व्यक्तित्वहरुलाई पार्टीमा नभित्र्याउने समेत प्रस्ताव गरिएको हो ।

एलन मस्कको नयाँ एआईले अश्लील तस्बिर पनि बनाउने, ‘स्पाइसी मोड’ भएको ‘ग्रोक इम्याजिन’ सार्वजनिक

काठमाडौँ । खर्बपति उद्यमी एलन मस्कको एआई कम्पनी एक्सएआईले ‘ग्रोक इम्याजिन’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । कम्पनीले हालै मात्र अनफिल्टर्ड तस्वीर र भिडिओ बनाउन सक्ने फिचर ल्याएको हो ।

हाल यो एक्सका प्रिमियम प्लस र सुपरग्रोक प्रयोगकर्ताका लागि उपलब्ध छ । मस्कको अन्य एआई टुल जस्तै यस एआईले पनि सीमा तोड्दै प्रयोगकर्तालाई अश्लील (NSFW – Not Safe For Work) सामग्री बनाउन अनुमति दिने गरको छ ।

‘ग्रोक इम्याजिन’मा रहेको ‘स्पाइसी मोड’ (Spicy Mode) नामक एक विशेष फिचर छ । यो फिचर प्रयोग गर्दा प्रयोगकर्ताले सहजै यौनिक रूपमा स्पष्ट सामग्री बनाइदिन्छ । विशेषगरी महिलालाई आंशिक नग्न रूपमा देखिएको तस्बिर बनाउने गरेको छ ।

शब्दकै भरमा फोटो बनाउने वा फोटोलाई १५ सेकेन्डको भिडिओमा एनिमेट गर्ने विशेष क्षमता यस टुलमा छ । यसरी लामा भिडिओ त्यो पनि अन्फिल्टर्ड बनाउन सक्ने भएपछि अहिले यसले एआईको दुनियाँमा नयाँ बहस सिर्जना गरेको छ ।

तर, यसमा केही सीमाहरू पनि छन् । समाचार संस्था टेकक्रन्चले परीक्षण गर्दा धेरैजसो आपत्तिजनक प्रम्प्टमा ब्लर (धमिलो) गरिएका तस्बिरहरू आएका थिइ । यद्यपि केही हदसम्मका अर्धनग्न तस्बिर भने बनाउन सकिएको थियो ।

एक्स एआईका लागि यस्तो अश्लील सामग्री बनाउन दिने सुविधा नौलो होइन । कम्पनीले गत महिना मात्रै एक यौनिकतामा आधारित एनिमे एआई ‘कम्प्यानियन’ (साथी) सार्वजनिक गरेको थियो । जसरी ग्रोक च्याटबटले सुरुमा मनोरञ्जन दिए पनि पछि घृणित र आपत्तिजनक सामग्री दिन थालेको थियो त्यसरी नै ‘ग्रोक इम्याजिन’ले पनि अनपेक्षित नकारात्मक परिणाम ल्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

यो एआईले डोनाल्ड ट्रम्पदेखि टेलर स्विफ्टजस्ता चर्चित व्यक्तिको तस्बिर बनाउन सक्ने भए पनि त्यसमा केही प्रतिबन्ध लगाइएको देखिन्छ । उदाहरणका लागि टेकक्रन्चले ट्रम्पलाई गर्भवती देखाउने तस्बिर बनाउन खोज्दा एआईले त्यसो गर्न अस्वीकार गरेको थियो । बरु यसले बच्चा बोकिरहेको वा गर्भवती महिलाको छेउमा उभिएको ट्रम्पको तस्बिर बनाइदियो ।

गुगल डीपमाइन्ड, ओपनएआई र अन्य प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको ‘ग्रोक इम्याजिन’ले बनाउने मानवीय तस्बिर अझै पनि पूर्ण रूपमा यथार्थपरक छैनन् । कहिलेकाहीँ छाला मैनजस्तो र कार्टुनजस्तो देखिन्छ । यद्यपि यो जेनेरेटर निकै प्रभावशाली देखिन्छ । यसले टेक्स्ट प्रम्प्टबाट सेकेन्डमै तस्बिर बनाउँन सक्छ भने यसको युजर इन्टरफेस पनि सरल छ ।कम्पनीका प्रमुख एलन मस्कले आफ्ना प्रमुख आदर्श व्यक्ति निकोला टेस्लाको एआई एनिमेटेड भिडिओ शेयर गरेका छन् । उक्त भिडिओमा निकोला टेस्ला कुर्सीमा बसिसरहेको देखिन्छन् । छ सेकेन्डको उक्त क्लिपमा टेस्लाले आफ्नो हात चलाएको देखिन्छ ।

एएफसी यू २० महिला एसियन कप छनोट : नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं : एएफसी यू २० महिला एसियन कप छनोटअन्तर्गत नेपालले आज भुटानसँग खेल्दैछ। नेपालले भुटानको थिम्पुस्थित चाङ्लिमिथान स्टेडियममा नेपाली समयअनुसार ५:४५ मा घरेलु टिमविरुद्ध खेल्नेछ । उमेरसमूहअन्तर्गत यू २० फम्र्याटमा नेपालले भुटानमाथि हालसम्म जित निकालेको छ।

गत महिनामा सम्पन्न भएको साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा ६–१ र दोस्रो खेलमा ८–० ले हराएको थियो।  त्यसअघि सन् २०२३ मा नेपालले साफ यू २० महिला प्रतियोगितामा भुटानलाई ४–० ले हराएको थियो।

यसपटक भने भुटानले घरेलु मैदानमा घरेलु समर्थकको अगाडि खेल्न लागेको हो। जसका कारण नेपाली प्रशिक्षक यमप्रसाद गुरुङले भुटानलाई कमजोर नठान्न बताएका छन्। प्रिम्याच प्रेस कन्फ्रेन्समा गुरुङले भुटानले घरेलु मैदानमा खेल्ने भएकाले भुटानलाई कमजोर नआँक्दै नेपालले आफ्नो खेल प्रस्तुत गर्ने बताएका छन्। उनले भने, ‘भुटानले घरेलु मैदान र घरेलु समर्थकको अगाडि खेल्ने भएकाले हामीले भुटानलाई कमजोर प्रतिस्पर्धीको रुपमा हेरेका छैनौं। हामी राम्रोसँग खेल खेल्ने छौं।’

नेपाली टिमः   गोलकिपरः सुजाता तामाङ, लीला जोशी, करुणा बुढाथोकी

डिफेन्डर : सिम्रन राई, सरिता कुमारी नाथ, माया मास्के, गंगा रोकाया, सोमिहाङ्मा लिम्बू पान्धाक, सजिना स्याङतान, अनिशा राई, सीता रोकाया

मिडफिल्डर : कविता गुरुङ, शुशिला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी९कप्तान०, सेनु परियार

फर्वाड : कुसुम खतिवडा, पूर्णिमा राई, मीना देउवा, सुक्रिया मिँया, बर्षा ओली, मनिषा सेन, समिक्षा मगर

प्रमुख प्रशिक्षक : यम प्रसाद गुरुङ

सहायक प्रशिक्षक :चन्द्रा भण्डारी

गोलकिपर प्रशिक्षक : मिन बस्नेत

व्यवस्थापक : इन्दु दुवाल

फिजियो : पूर्णिमा घिसिङ

एनपिएल मिनी अक्सनमा १५० खेलाडीले भाग लिने

काठ्माण्डौँ – नेपाल प्रिमियर लिग (एनपिएल)को मिनी अक्सनमा १५० खेलाडीले भाग लिने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई सर्टलिस्ट गरेर अक्सनका लागि फाइनल गरिएको हो।

ए क्याटोगोरीमा दुई विकेटकिपरसहित ८ खेलाडी छन्। यो क्याटोगोरीमा अर्जुन साउद, दिलिप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन्।

यस्तै बी क्याटोगोरीमा आकाश त्रिपाठीसहित ३५ र बाँकीलाई सी क्याटोगोरीमा राखिएको छ।

बहुविवाहसम्बन्धी विषयमा दार्चुलाका महिलाले प्रधानमन्त्रीलाई गराए ध्यानाकर्षण

दार्चुला । मुलुकी अपराध संहिता २०७५ ले पूर्णतया निषेध गरेको बहुविवाहलाई सरकारले निश्चित परिस्थितिमा छुट दिने गरेर कानुन ल्याउन लागेको विषयमा दार्चुलाका महिलाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् ।

सरकारद्वारा संसद्मा पेस गरिएको फौजदारी कार्यविधि संहिता संशोधन विधेयकबारे विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका समाचारको विषयलाई लिएर दार्चुलाका महिला अधिकारकर्मीले त्यसरी ध्यानाकर्षण गराएका हुन् ।

विधेयकले भ्रष्टाचार, बलात्कार, हत्या, मानव बेचबिखन, जातीय विभेद, अपहरण, शरीर बन्धक, लागुऔषध कारोबार, सम्पत्ति शुद्धीकरणलगायतका ११ प्रकारका जघन्य अपराधमा दोषी ठहर भएका व्यक्तिलाई आममाफी दिने कानुनी बाटो खोल्नेलगायतका समाचार सार्वजनिक भएपछि उनीहरूले आपत्ति जनाउँदै यहाँका महिलाले दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलमार्फत प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराएका छन् ।

महिला मानव अधिकार रक्षक सञ्जाल दार्चुलाका अध्यक्ष गौरीदेवी बडालले मसौदालाई कानुनी रूप दिएमा समाजमा महिला हिंसाको प्रकोप बढ्न गई सामाजिक संरचनासमेत खलबलिने अवस्था हुने भन्दै त्यसको विरोधमा ध्यानाकर्षणपत्र बुझाएको बताउनुभयो । मुलुकी अपराध संहितासँगै जारी भएको फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ मा आममाफी दिन नमिल्ने अपराधको स्पष्ट सूची राखिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

सरकारको यो प्रस्तावले विधिको शासनको मूल मर्ममाथि गम्भीर प्रहार गरेको उनीहरूको ठहर छ । प्रदेश बोर्डको अनुमतिबिना आममाफीसम्बन्धी नकारात्मक सूची हटाई र मुद्दा अन्तिम निष्कर्षमा नपुगेको अवस्थामा समेत माफी दिन सकिने व्यवस्था लोकतान्त्रिक मूल्य र अन्तर्राष्ट्रिय फौजदारी न्यायको सिद्धान्तको विपरीत रहेको उनीहरूले ठहर गरेका छन् । महिला अधिकारकर्मीले सो प्रस्तावित विधेयक फिर्ता लिई मौजुदा व्यवस्था यथावत् राख्न माग गरेका छन् ।

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा आजपनि चार पांग्रे सवारी साधन आवागनमा रोक

कञ्चनपुर । शारदा ब्यारेजको पुलमा आज  दोस्रो दिन पनि चार पांग्रे सवारीसाधन आवागमनमा रोक लगाईएको छ । दोस्रो दिन पनि कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि पुलमाथी चार पांग्रे सवारी साधनहरुको आवागमनमा रोक लगाईएको हो ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार बुधबार बिहान ८ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव १ लाख ६८ हजार ५३७ क्युसेक रहेको छ । मंगलबार बिहानदेखि नदीमा पानीको बहाव बढेको हो ।

सय वर्ष पुरानो शारदा ब्यारेज जीर्ण भएकाले जोखिम हुने भन्दै नदीमा पानीको बहाव १ लाख क्युसेक पुग्ने बित्तिकै चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइने गरिएको छ ।

उत्तराखण्ड घटना : बादल फाट्नु भनेको के हो ?

उत्तराखण्ड । उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा रहेको खीर गंगा गदेरामा अचानक आएको बाढीका कारण मंगलबार चार जनाको मृत्यु भएको छ। बाढीले धेरै घर र होटलहरू बगाएको छ।

उत्तरकाशीका जिल्ला मजिस्ट्रेट प्रशान्त आर्यले यस घटनामा चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्। यसैबिच, एनडीआरएफका डीआईजी मोहसेन शहेदीले समाचार एजेन्सी एएनआईलाई भने, ‘अहिलेसम्म प्राप्त जानकारी अनुसार ४० देखि ५० घरहरू बगाएका छन् र ५० भन्दा बढी मानिसहरू बेपत्ता छन्।’

गंगोत्री धामभन्दा लगभग २० किलोमिटर अगाडि अवस्थित धराली एउटा प्रमुख बिसौनी हो जहाँ हरेक वर्ष चारधाम यात्राको समयमा ठुलो सङ्ख्यामा भक्तजनहरू बस्छन्।

हाल सेना, एसडीआरएफ, एनडीआरएफ र जिल्ला प्रशासनका टोलीहरू राहत र उद्धार कार्यमा संलग्न छन्।

तर प्रश्न उठ्छ – के मौसम विभागले यस्ता घटनाहरूको बारेमा पहिले नै अलर्ट जारी गर्न सक्दैन ? अनि बादल फाट्ने जस्ता घटनाहरू किन हुन्छन् ?

  • बादल फाट्नु भनेको के हो?

मौसम विभागको परिभाषा अनुसार, यदि एक घण्टामा सानो क्षेत्रमा (एक देखि दश किलोमिटर) १० सेन्टिमिटर वा सोभन्दा बढीको भारी वर्षा हुन्छ भने त्यो घटनालाई बादल फाट्नु (cloud burst) भनिन्छ।

कहिलेकाहीँ एकै ठाउँमा एकभन्दा बढी बादल फाट्न सक्छ। यस्तो अवस्थामा सन् २०१३ मा उत्तराखण्डमा भएको जस्तै धेरै जनधनको क्षति हुन्छ । तर भारी वर्षाको हरेक घटनालाई बादल फाट्नु भनिँदैन।

यहाँ बुझ्नुपर्ने कुरा के हो भने केवल एक घण्टामा १० सेन्टिमिटर भारी वर्षाले धेरै क्षति गर्दैन । तर यदि नजिकै पहिले नै कुनै नदी वा ताल छ र त्यो अचानक पानीले भरियो भने, नजिकैको आवासीय क्षेत्रहरूमा बढी क्षति हुन्छ।

  • के बादल फाट्ने घटना मनसुनमा मात्र हुन्छ?

यस्ता घटनाहरू मनसुनको समयमा र मनसुनको केही समय अघि (प्रि-मनसुन) बढी हुने गर्छन्। यस प्रकारको मौसमी प्रभाव भारतको उत्तरी भागमा मेदेखि जुलाई र अगस्टसम्म देखिन्छ।

  • के बादल फाट्ने पूर्वानुमान गर्न सकिन्छ?

एक देखि दश किलोमिटरको दूरीमा सानो मात्रामा मौसमी परिवर्तनका कारण बादल फुट्ने घटनाहरू हुन्छन्। यस कारणले गर्दा, तिनीहरूको भविष्यवाणी गर्न गाह्रो छ।

मौसम विभागले राडार प्रयोग गरेर ठुलो क्षेत्रको लागि धेरै भारी वर्षाको भविष्यवाणी गर्न सक्छ, तर बादल कुन क्षेत्रमा फाट्छ भनेर पहिले नै भन्न गाह्रो छ।

मौसम विभागका अनुसार यस्ता मौसमी परिवर्तनहरूको जानकारी दिन वा अनुगमन गर्न या त बादल फाट्ने सम्भावना भएका क्षेत्रहरूमा बाक्लो राडार नेटवर्क आवश्यक छ अथवा हामीलाई धेरै उच्च रिजोल्युसन मौसम पूर्वानुमान मोडेलहरू चाहिन्छ जसले यस्ता साना स्तरका घटनाहरूलाई कैद गर्न सक्छ।

बादल फाट्ने समस्या समतल क्षेत्रमा पनि हुन सक्छ, तर पहाडी क्षेत्रमा यो हुने सम्भावना बढी हुन्छ। किनभने त्यहाँको पहाडी भिरालो ठाउँले बादल उठ्न र भारी वर्षा गराउन अनुकूल वातावरण प्रदान गर्दछ।

बीबीसी हिन्दी

उत्तरकाशीमा धराली गाउँमा अचानक आएको बाढीमा परी चार जनाको मृत्यु, ५० जना बेपत्ता

दिल्ली, ५ जुलाई ।
भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित धराली गाउँ मंगलवार अपरान्ह अचानक आएको भीषण बाढी र पहिरोले क्षणभरमै बगरमा परिणत भयो । स्थानीय बासिन्दाहरु भाग्ने मौका समेत पाएनन् । बाढीले बगाउदा चार जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढि बेपत्ता भएका छन् ।

खीरगंगा नालामा अचानक आएको बाढीले धराली गाउँका घर, होटल तथा मन्दिर समेत गरी ५० भन्दा बढि संरचना बगाएको र थुप्रै संरचनामा क्षति पुर्‍याएको स्थानीय प्रशासनले जनाएको छ।

जिल्ला प्रमुख प्रशान्त आर्यका अनुसार अहिले सम्मको तथ्यांकअनुसार चार जनाको ज्यान गएको पुष्टि भएको छ भने दर्जनौँ संरचना बगाएको छ।

धरालीकी स्थायी बासिन्दा आस्था पवारले भनिन्, “हामीले आफ्नै आँखाले घर र होटलहरू बगेको देख्यौ । पहिलो लहर अत्यन्तै तीव्र र खतरनाक थियो। जसले निमेष भरमै गाउँलाई बगरमा परिणत गरिदियो ।

उनको गुनासो छ, “हामीलाई कुनै चेतावनी दिइएको थिएन। न छुट्टी थियो, न कुनै अलर्ट। यदि सूचना दिइएको हुन्थ्यो भने यत्रो क्षति नहुन सक्थ्यो।”

घटना स्थलबाट ४ किलोमिटर टाढा रहेको भारतीय सेनाको क्याम्पसमेत प्रभावित भएको जानकारी दिइएको छ।

ब्रिगेडियर मंदीप ढिल्लनका अनुसार हर्षिल पोस्टमा तैनाथ सेनाले १० मिनेटभित्र धराली पुगेर उद्धार कार्य आरम्भ गरेको थियो।

हालसम्म २० जना नागरिकको उद्धार गरिएको छ। घाइतेहरूको उपचार जारी छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स मार्फत घटनाप्रति समवेदना प्रकट गरेका छन्। उनले भने, “राज्य सरकार र केन्द्र सरकारका तर्फबाट राहत तथा उद्धार कार्यमा कुनै कमी रहने छैन।”

कांग्रेस नेता राहुल गान्धीले पनि शोक व्यक्त गर्दै पार्टी कार्यकर्तालाई राहतमा सहयोग गर्न निर्देशन दिएका छन्।

धराली गाउँ गंगोत्री तीर्थयात्रा मार्गमा पर्ने भएकाले चारधाम यात्रुहरू पनि प्रभावित भएका छन्। वर्षा अझै जारी रहेको हुँदा वरपरका क्षेत्र खाली गराइँदैछ।

 

सगरमाथा आरोही दुई नेपाली महिला टेक्ससको ड्यालसमा सम्मानित

टेक्सस–  विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने दुई नेपाली महिलालाई टेक्ससको ड्यालसमा सम्मान गरिएको छ । पाँचपटक सगरमाथा आरोहण गर्न सफल फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र दुईपटक सगरमाथा आरोहण गरेकी उषा बिष्टलाई ड्यालसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सभाकक्षमा एक कार्यक्रमबीच सम्मान गरिएको हो ।

नेपाली समाज टेक्सस, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, टेक्सस, नेपलिज् मेडिकल एसोसिएसनलगायतका सङ्घसंस्थाको संयुक्त आयोजनामा आयोजित सो कार्यक्रममा सगरमाथा आरोही श्रेष्ठ र बिष्टले हिमाल आरोहणका क्रममा भोगेका अनुभव प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित नेपाली समुदायले उनीहरूको अनुभव सुनेपछि भावुक हुँदै हिमाल आरोही दुवै जनालाई सम्मान गरिएको थियो ।

सो अवसरमा फोटोपत्रकार एवं हिमाल आरोही श्रेष्ठले विश्वका आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमालसमेत आरोहण गरेको र १३ दिनको अवधिमा तीनपटक सगरमाथाको चुचुरोमा पुगेको रोचक अनुभव सुनाएका थिए ।

त्यस्तै, आरोही उषा बिष्टले आफूले दुईपटक सगरमाथा आरोहण गर्नाका साथै नेपाल, संयुक्त राज्यअमेरिका, रुस र अष्ट्रेलियाका विभिन्न हिमालहरू सफलतापूर्वक आरोहण गरेको जानकारी दिए । हिमाल आरोही बिष्ट सगरमाथा आरोहण गर्नै सुदूरपश्चिमकी पहिलो महिला हुन् ।

कार्यक्रममा ड्यालस क्षेत्रका नेपालीहरूले हिमाल आरोही श्रेष्ठ र बिष्टले देखाएको अद्वितीय साहस, संकल्प र राष्ट्रिय गौरवको प्रशंसा गरेका थिए ।

भूपरिवेष्टित राष्ट्र बाध्यताले अलग छन्, कनेक्टिभिटी नै न्याय हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित राष्ट्रहरू बाध्यताले अलग रहेको भन्दै कनेक्टिभिटी नै उनीहरूका लागि न्याय हुने बताएका छन्।

भूपरिवेष्टित राष्ट्रहरूको शिखर सम्मेलनका क्रममा तुर्केमिनिस्तानमा रहेका प्रधानमन्त्री कनेक्टिभिटीमा जोड दिएका हुन्। प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार साइड एभेन्टमा बोल्ने क्रममा प्रधानमन्त्रीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग रहेको बताए।

प्रधानमन्त्रीको भनाइ थियो, ‘तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ-खोल्नु कर्तव्य हो, अनुग्रह होइन। अवरोधलाई नवप्रवर्तनमा बदलौं, यसलाई साझा समृद्धिको इन्जिन बनाऔं।’

दुर्गा प्रसाईंलाई छाड्ने आदेश त्रुटिपूर्ण रहेको महान्यायाधिवक्ताको निष्कर्ष, पुनरावेदनमा जाने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गर्ने भएको छ । तत्काल प्राप्त प्रमाणबाट प्रसाईं दोषी नदेखिने भनी उच्च अदालतले दिएको आदेश त्रुटिपूर्ण रहेको निष्कर्षसहित महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदनको तयारी गरेको हो ।

“तत्काल प्राप्त प्रमाणबाट दोषी देखिने भएमा जन्मकैद वा तीस वर्षभन्दा बढी सजाय हुने मुद्दामा अभियुक्तलाई थुनामा पठाउनुपर्ने मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ अनुसार अभियुक्तलाई छोड्न मिल्दैन,” महान्यायाधिवक्ता कार्यालयका प्रवक्तासमेत रहेका सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले भने, “दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेश त्रुटिपूर्ण देखिएको हुँदा महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा जाने निर्णय गरिसकेको छ ।”

उनका अनुसार, उच्च सरकारी वकिल कार्यालयले उच्च अदालतको आदेशसहितको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालय पठाउने र त्यसपछि सर्वोच्चमा निवेदन दिनेछ । यसका लागि उच्च सरकारी वकिललाई कुनै निर्देशन दिनुनपर्ने पुडासैनीले बताए ।

तीनकुने घटनाका मुख्य आरोपित प्रसाईंलाई सहप्रतिवादीको बयान तथा उनको क्यान्सर रोग रहेको कागजातबाट देखिएको भन्दै उच्च अदालतले उनलाई २५ लाख धरौटीमा रिहा गर्ने आदेश सोमबार गरिएको थियो । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासको दिएको आदेशविरुद्ध महान्यायाधिवक्ता पुनरावेदनमा जाने निर्णय गरेको हो ।

नेपालीलाई विदेशमा लगानी गर्न दिने कानुन बनाउँछौँः अर्थमन्त्री पौडेल

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छिट्टै कानून बनाएर नेपालीहरुलाई विदेशमा लगानी गर्न दिने बताएका छन्।

मंगलबार प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले विदेशमा लगानी गर्न नेपालीले नपाउने अहिलेको कानूनलाई हटाइने बताए।

उनका अनुसार बजेटमै नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा बिक्री शाखा वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना स्थापना गर्न अनुमति दिइने व्यवस्था गर्ने घोषणा गरिएको छ।

उनले बजेटले प्रस्ताव गरेका व्यवस्थाहरुलाई कार्यान्वयन गर्न सरकार अघि बढिसकेको उल्लेख गरे। हाल विदेशमा लगानी गर्न प्रतिबन्ध ऐन, २०२१ को दफा ३ बमोजिम कसैले विदेशमा लगानी गर्न नपाउने व्यवस्था छ। त्यसलाई सरकारले संशोधन गर्न लागेको हो।

उनले भने, ‘नेपालीलाई विदेशमा लगानी खुल्ला गर्नका लागि निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने कानुनी व्यवस्था गरिदैँ छ। यस्तो व्यवसायबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने छ। विदेशमा गरिने लगानी स्वीकृतिको जिम्मेवारी लगानी बोर्डमा रहने व्यवस्था गरिने छ।’

आमाले छोरासँगै गरिन् १२ पास

धनगढी : धनगढीमा आमाछोराले सँगै कक्षा १२ उत्तीर्ण गरेका छन् । धनगढी उपमहानगरपालिका- ४ की ४१ वर्षीया देवकी भट्ट पडाल र उनका छोरा जीवन पडालले यसपालीको परीक्षामा सँगै कक्षा १२ पास गरेका हुन् ।

जीवनले विज्ञान संकायमा ३.४४ जीपीए अथवा ‘ए’ ग्रेड ल्याएर १२ पास गरेका हुन् भने उनकी आमा देवकीले २.८५ जीपीए अथवा ‘बी प्लस’ ल्याएर १२ पास गरेका हुन् । छोराले नियमितरुपमा पढिरहे पनि आमाले भने एक दशकको अन्तरालपछि कक्षा १२ को परीक्षा दिएकी हुन्।

देवकी धनगढी उपमहानरपालिका- ४ मा रहेको राष्ट्रिय तुल्सीराम माविमा बालविकास शिक्षिका हुन् । उनले शैक्षिक योग्यताका कारण प्रावि बाहेकका अरु कक्षामा पढाउन पाएकी थिएनन् । ‘पढाउने अनुभव भएपनि डिग्री नभएपछि पढाउन नमिल्ने रहेछ,त्यसैले छोरासँगै कक्षा १२ को परीक्षा दिएँ,’उनले भनिन् ।

उनले शिक्षा संकायमा कक्षा १२ पास गरेकी हुन् । छोराले स्नातक तहमा आईटी इन्जिनियरिङ पढने तयारी गरेको उनले बताइन् । ‘छोराले आईटी पढछु भन्छ,तर मैले वीएड पढने मनस्थिति बनाएको छु,’उनले भनिन् । ‘घरको काम, विद्यालयमा बालविकासको अध्यापनसँगै १२ को पढाइ पनि सकेँ,सफलता पाइयो,’ देवकीले खुसी हुँदै भनिन्।

१२ कक्षाको नतिजा : कसैले पनि ल्याएनन् ४ जीपीए

काठमाडौं । कक्षा १२ को नतिजामा कसैले पनि ४ जीपीए नल्याएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा जीपीए ३.९६ सम्म मात्र ल्याएका छन् । ‘४ जपीए कसैको पनि आएको देखिएन । ३.९६ सम्म आएको छ’, परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।

बोर्डले सार्वजनिक गरेको नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १३ हजार ५०२, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५ हजार ८९६, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८, २.४१ देखि २.८० जीपीए ल्याउन ६९ हजार ८१२, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४ र १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी २३ जना छन् ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष कक्षा १२ को नतिजामा सुधार देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा अघिल्लो वर्षभन्दा यो वर्ष ९ प्रतिशतले परीक्षामा सुधार देखिएको हो ।

नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० गरी ५ लाख १० हजार ९८७ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

जसमध्ये २ लाख ४२ हजार ४६५ जना नियमिततर्फ र आंशिकतर्फ ४१ हजार ८४० जना गरी कुल २ लाख ८४ हजार ३०५ विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

बोर्डका अनुसार नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौं । कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।

संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदनसभामा पेस गरेका हुन् ।

गत असार २३ गते समिति गठन भएको थियो । सात सदस्यीय समितिका सभापतिमा परियार थिए ।

प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्दै सभापति परियारले चार वटा कार्यदेश दिइएको स्मरण गरे । जसमा २ वर्ष कुलिङ पिरियड राख्ने राजनीतिक सहमति अनुसारको विधेयकको दफा ८२ को उपदफा ४ र ५ मा तादम्यता कायम नरहनुको कारण खोज्न भनिएको थियो ।

त्यस्तो तादम्यता नमिल्नुमा कसको कस्तो भूमिका रहेको छ भन्ने छानबिन गर्न र विधेयकको प्रतिवेदनमा संलग्नता देखिए त्यस्तोमा कारबाही गर्नुपर्ने भए के गर्ने सिफारिस गर्न भनिएको थियो ।

भविष्यमा कमजोरी हुन नदिन के गर्ने भनेर चौथो कार्यदेश दिइएको थियो ।

सुरुमा २१ दिनको समय दिइएको थियो । समितिले समय अपुग रहेको बताएपछि सात दिन समय थपिएको थियो । त्यसअनुसार असार १८ गते नै म्याद सकिएता पनि निरन्तरतामा बैठक राखेर आज पास गरेर सभामा प्रतिवेदन पेस गरेको हो ।

यसबीचमा समितिमा ३७ वटा बैठक बसेको सभापति परियारले जानकारी दिए । सरोकारवाला, राजनीतिक दलका प्रतिनिधिहरू, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरू लगायतसँग सोधपुछ गरिएको स्मरण गरे ।

२०७२ सालको संविधान जारी भएसँगै निजामती विधेयक धेरै पहिले नै बनाइसक्नुपर्ने स्मरण गर्दै उनले २०७५ मा संसद्‌मा आएको विधेयक फिर्ता हुन पुगेको बताए ।

प्रतिनिधि सभाको चालू कार्यकालमा २०८० फागुन २१ गते निजामती विधेयक संसद्मा आएको उनले बताए ।

निजामती विधेयक प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलका लागि पुगेको र राज्य व्यवस्था समितिले पनि उपसमिति बनाएर छलफल गरेको स्मरण गरे ।

उपसमिति बनाएर दफावार छलफल गरेको स्मरण गरेको उल्लेख गदै उनले स्वार्थ समूहको दबाब समेत झेलेर विधेयक अगाडि बढेको बताए ।

राज्य व्यवस्था समितिले विधेयक पारित गर्दा सरकारी सेवाका कर्मचारीलाई दुई वर्ष कुलिङ अफ पिरियडको व्यवस्था राख्नेमा सहमति भएको पाइएको र सोहीअनुसार निष्कर्ष निकालेको सभापति परियारले बताएका छन् ।

एएफसी यु-२० महिला एसियन कप छनोटका लागि नेपाल तयार

काठमाडौं : एएफसी यु-२० महिला एसियन कप छनोटका लागि नेपाली टिम आफ्नो तर्फबाट तयार रहेको प्रशिक्षक यम प्रसाद गुरुङले बताएका छन्। भुटानको थिम्पुमा हुने यस प्रतियोगितामा नेपालले समूह एमा बुधबार पहिलो खेलमा घरेलु टिम भुटानसँग खेल्नेछ।

नेपाली टिमले राम्रो तयारीसहित मैदानमा उत्रर्ने बताए। ‘हामीले यस प्रतियोगिताअघि साफ च्याम्पियनसिप पनि खेलेका छौं। त्यसले पनि हामीलाई राम्रो तयारी अहिलेसम्म राम्रो छ,’ उनले भने।

बंगलादेशमा ११ देखि २१ जुलाईसमम भएको साफ यु-२० महिला च्याम्पियनसिप खेलेको टिमले नै हाल एएफसी एसियन कप छनोट खेल्न गएको छ। जसले गर्दा नेपाली टिमले गल्ती सुधार्दै छनोट हुने लक्ष्य लिएको छ।

‘हामीले साफमा गरेको गल्तीहरू सुधार्ने मौका मिल्यो। यसपटक हामी गल्ती सुधारेर छनोट हुन्छौं भन्नेमा म ढुक्क छु,’ नेपालका प्रमुख प्रशिक्षक यम गुरुङले भने। उनले आफ्नो टिमको खेलाडीमाथि पूर्ण विश्वास रहेको बताए। ‘हामी हाम्रो खेल खेल्नेछौं। मलाई मेरो खेलाडीमाथि विश्वास छ,’ उनले थपे।

त्यस्तै नेपाली टिमकी कप्तान बिर्सना चौधरीले टिमको तयारी राम्रो भएको बताइन्। ‘हाम्रो तयारी राम्रो छ। कुनै पनि टिमलाई कमजोर ठान्ने छैनौं। यससँगै शीर्षस्थानमा रहेर यो पटक छनोट हुने लक्ष्य छ,’ उनले प्रि म्याच प्रेस कन्फ्रेन्समा बताइन्। नेपालले एएफसी एसियन कप छनोटमा पहिलो खेल घरेलु टिम भुटानसँग खेल्दैछ।

भुटानसँग परीक्षा
नेपाली टिमका प्रमुख प्रशिक्षक यस प्रसाद गुरुङले भुटानमा नेपालजस्तै हावापानी र वातावरण हुँदा नेपाली टिमलाई सहज भएको बताए। यसो भन्दै गर्दा उनलाई गत महिना भएको साफसँग सम्बन्धित भई भुटानको टिमको बारेमा प्रश्न गरिँदा उनी भन्छन्, ‘साफ र एएफसी एसियन छनोट खेल्नु फरक कुरा हो। भुटानलाई हामी सम्मान गर्छौं। भुटानले यो प्रतियोगिता घरेलु मैदान र घरेलु समर्थकको अगाडि खेल्नेछ।’

नेपाली टिमले साफमा उपविजेता बनेर फर्किए पश्चात् नेपाली समर्थकहरूमा नैराश्यता छाएको बताए। ‘नेपालमा फुटबलको क्रेजी समर्थकहरू छन्, जसका कारण उनीहरू पछिल्लो नतिजाबाट दुःखी थिए। यसपाली म उनीहरूको चित्त दुखाउँदिन,’ प्रशिक्षक यस गुरुङले भने। नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो खेल साउदी अरेबियासँग ८ अगष्ट र उत्तर कोरियासँग १० अगष्टमा खेल्नेछ।

आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

कञ्चनपुर– घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी एक युवतीको घटनामा अनुसन्धान गर्न प्रहरीले उनका श्रीमान्सहित सासू र ससुरालाई पक्राउ गरेको छ ।

मृत भेटिएकी कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्टका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट र सासू किरण भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  सागर बोहराले जानकारी दिए । सम्झनाका माइती पक्षको जाहेरीका आधारमा प्रहरीले उनका श्रीमान २४ वर्षीय पवनलाई पक्राउ गरेको थियो । त्यसको लगत्तै उनका सासू र ससुरालाई समेत पक्राउ गरिएको उनले बताए।

“आत्महत्या दुरुत्साहनमा अनुसन्धानका लागि मृतकका श्रीमान्सहित सासूससुरालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ”, प्रहरी नायब उपरीक्षक बोहराले भने।  उनका अनुसार मृतक भट्टका श्रीमान् पवनलाई आइतबार नै नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।

बेलडाँडी–२ की सम्झना आइतबार सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनका माइती पक्षले श्रीमान् तथा परिवारका सदस्यहरूले घरेलु हिंसा गर्ने, दाइजोको निहुँमा यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् । सोही कारण सम्झनाले आत्महत्याको बाटो रोजेको उनीहरुको आरोप छ । सम्झना र पवनले करिब छ महिनाअघि मात्रै प्रेम विवाह गरेका थिए ।

गत शनिबार सम्झना र पवनबीच झगडा भएको थियो । उक्त झगडापछि त्यही दिन दुवैजना बेलडाँडी प्रहरी चौकीमा पुगेका प्रहरीले जनाएको छ । प्रहरीले दुवैजनालाई सम्झाई–बुझाई घर पठाएको थियो । त्यसको भोलिपल्ट सम्झना घरमै मृत फेला परेकी हुन् । मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

काठ्माण्डौँ । बागमती प्रदेश सरकारको प्रमुखमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । बानियाँ ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रि बनेका हुन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका मकवानपुर निवासी बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बनेका छन् । बानियाँ भन्दा अगाडि पाँच जना डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनिसकेका छन् ।

मकवानपुरबाट मुख्यमन्त्री हुने बानियाँ दोस्रो हुन् । संस्थापक मुख्यमन्त्री पौडेल पनि मकवानपुरबासी हुन् । पेसाले निर्माण व्यवसायी बानियाँ कम्युनिस्टहरूको गढ मानिएको मकवानपुरबाट सांसद जित्ने पहिलो कांग्रेस नेता हुन् । उनी ४ मंसिर २०७० मा भएको संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

बानियाँ २०७३ सालमै केन्द्र सरकारको गृह राज्यमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भइसकेका छन् । फागुन २०७३ सालमा गृह राज्यमन्त्री भएका उनी त्यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री थिए । तत्कालीन सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी कांग्रेसबाट राप्रपामा सरेपछि बानियाँलाई गृहराज्यमन्त्री बनाइएको थियो ।

२०७४ बाट संघीयता कार्यान्वयनमा गएसँगै तीन तहको सरकार गठन हुने भएपछि बानियाँ प्रदेशसभा निर्वाचन लडेका थिए । २०७४ सालपछि बानियाँ नेपाली कांग्रेस संसदीय दलको नेता थिए । अघिल्लो कार्यकालमै मुख्यमन्त्री हुन खोजेका बानियाँ असफल बन्न पुगेका थिए ।

प्रदेशसभाको दोस्रो कार्यकालमा दलको नेताबाट पराजित भएका बानियाँ साढे २ वर्षपछि दलको नेताबाट बहादुर सिंह लामालाई हटाएर आफैं बने । १३ पुस २०७९ मा दलको नेताका लागि भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित भएका थिए ।

९ साउन ०८२ मा मुख्यमन्त्रीसमेत रहेका दल नेता लामाविरुद्ध बानियाँकै नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराए । १३ साउनमा अविश्वासको प्रस्तावमाथि मतविभाजन हुँदा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेपछि लामाले दल नेताको हैसियत गुमाएका थिए । गत १४ साउनमा दलको नेता चयनका लागि भएको निर्वाचनमा लामालाई हराएपछि बानियाँको मुख्यमन्त्री हुने बाटो खुलेको थियो ।

कांग्रेसकै बहादुर सिंहले आइतबार मुख्यमन्त्रीबाट राजीनामा घोषणा गरेर सोमबार प्रदेश प्रमुखको कार्यालयमा राजीनामा दर्ता गराएका थिए । उनको राजीनामा स्वीकृत भए लगत्तै प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि २४ घण्टाको अर्थात मंगलबार दिउसो २ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।

कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सरकार गठनका लागि आह्वान भएको करिब आधा घण्टामै बानियाँले कांग्रेसको ३७ सांसद र सत्ता साझेदार दल नेकपा एमालेको २७ गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेश गरेका थिए ।

११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्दछ । सात वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको प्रदेश सभामा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७, नेमकिपाको ३ जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

बागमतीमा एक वर्षअघि सरकार गठन हुँदा एमाले र कांग्रेसबीच २०–२० महिना सरकारको नेतृत्व गर्ने सहमति थियो । जसअनुसार बानियाँले ८ महिना सरकारको नेतृत्व गरि आगामी फागुनमा एमालेलाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ ।

खोज्नुहोस