कञ्चनपुरकी सम्झना मृत्यु प्रकरण, छानबिनका लागि प्रहरीले समात्यो अर्की युवती पूजा भट्ट

कञ्चनपुर– कञ्चनपुरकै बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणको अनुसन्धानका लागि तीन जनाई पक्राउ गरेको प्रहरीले चौथो पात्र समेत नियन्त्रणमा लिएको छ।

गएको आइतबार साँझ झुन्डिएको अवस्थामा उनको शव घरमै फेला परेको थियो। सो विषयमा अनुसन्धानका लागि कैलालीको धनगढी विमानस्थलबाट बेलडाँडीकी पूजा भट्टलाई पक्राउ गरेको हो।

माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो। यसअघि मृतक युवतीका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट, सासू किरण भट्टलाई प्रहरीले पक्राउ गरेको थियो।

मृतक युवतीका माइती पक्षले प्रहरीसमक्ष बुझाएको एउटा अडियोमा सम्झनाको हत्या गर्न पूजाले भाइ पवनलाई आदेश दिएको पाइएको बताइन्छ।

‘सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’ भन्ने शब्द प्रयोग गरिएको दाबी प्रहरी स्रोतले गरेको छ।

प्रनाउ बोहोराले उक्त अडियोको विषयमा पनि छानबिन भइरहेको बताए। शुक्रबार पवनकी दिदी पूजालाई पनि नियन्त्रणमा लिएर आत्महत्या गर्न दुरुत्साहन दिन नहुने शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको डीएसपी बोहोराले जानकारी दिए।

घटनाको अनुसन्धान गरी दोषीउपर कारबाहीको माग गर्दै मृतकका माइती पक्षले शव उठाउन मानेका थिएनन्। मृतकको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको थियो।

घटनामा संलग्न रहेको आरोपमा मृतकका माइती पक्षले चार जनामाथि किटानी जाहेरी दिएका छन्।

पूजालाई पक्राउ नगरुन्जेल शव नउठाउने अडानमा माइती पक्ष थिए। शुक्रबार पूजा पक्राउ परेपछि सम्झनाका माइती पक्षले शवको दाहसंस्कार गरेका छन्। साउन १८ गते बिहान बेलडाँडी गाउँपालिका–२ स्थित सिंह पालटोलमा घरभित्र झुन्डिएको अवस्थामा सम्झना मृत फेला परेकी थिइन्।

पति पवनले सम्झनालाई मानसिकलगायतका यातना दिएको आरोप लगाइएको छ। प्रेम विवाह भए पनि यस प्रकरणले हत्यासम्मको खेल भएको सम्झनाका माइतीको दाबी रहेको थियो।

माधव नेपालसँग भेटेपछि झलनाथको प्रतिक्रिया- अब म जीवनमै कसैसँग कार्यवाहक माग्दिनँ

काठ्माण्डौँ- लामो समय आरोप-प्रत्यारोपमा उत्रिएपछि अन्तत: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले एकै ठाउँमा बसेर मन माझ्ने प्रयास गरेका छन्।

अध्यक्ष नेपालमाथि पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै सम्मानित नेता खनालले पार्टी नेतृत्व छाड्न आग्रह गर्दै आएका छन्।

आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै आएका अध्यक्ष नेपाललाई सम्मानित नेता खनालको यो प्रस्ताव चित्त बुझेको छैन। त्यसैले हुनुपर्छ, अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच आरोपप्रत्यारोपको श्रृंखला नै चलेको छ।

नेताहरूबीच सार्वजनिक रूपमै आरोप-प्रत्यारोप भएपछि एकीकृत समाजवादीका केही नेताहरूले अध्यक्ष र सम्मानिन नेताहरू भेट गरेर कुराकानी गर्ने वातावरण मिलाए।

सोहीअनुसार अध्यक्ष नेपाल–खनालबीच शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पौने दुई घन्टा कुराकानी भएको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

‘अध्यक्ष र सम्मानित नेताहरूबीच संवादको थालनी भएको छ। एक अर्काविरूद्ध नबोल्ने समझदारी पनि भएको छ,’ पाण्डेले सेतोपाटीसँग भने, ‘शनिबार धेरै लामो कुराकानी भएन। फेरि छिट्टै बस्ने र बाँकी विषयमा समझदारी कायम गर्ने भन्ने भएको छ।’

पाण्डेले दोस्रो तहका नेताहरूले भेटको सहजीकरण गरेको बताए।

‘पछिल्लो समय जेजति कुरा बाहिर आए, त्यसले वातावरण बिगार्ने देखेर दुई नेतालाई संवादमा राखेका हौं,’ पाण्डेले भने, ‘भेटका लागि म, प्रमेश हमाल, घनश्याम भूसालले सहजीकरण गरेका थियौं। हिजोको भेटमा उल्लेखनीय रूपमा बताउनुपर्ने केही छैन, अब अर्कोपटक बस्ने बैठकले एउटा आकार दिनेछ।’

अध्यक्ष नेपालसँग के विषयमा कुराकानी भयो भनेर हामीले सम्मानित नेता झलनाथ खनाललाई सोध्यौं।

खनालले आफूले छलफलमा धेरै कुरा राख्न नपाएको गुनासो गरे।

‘अध्यक्ष नै ४० मिनेट बोल्नुभयो, इतिहासदेखिका कुरा राख्नुभयो, म जनकपुर जानुछ भन्नुहुन्थ्यो,’ खनालले भने, ‘मैले केही कुरा त राखेँ, खासगरी मैले राख्दै आएको विषयमा म जहाँ पनि छलफल गर्न तयार छु भनेँ। पार्टीमा समस्या छन्, विधिसम्मत छलफल गरी हल खोज्नुपर्छ भन्ने मेरो प्रस्ताव हो।’

संगठन सञ्चालनमा यावत समस्या देखिएको र त्यसको विधिसम्मत हलका निम्ति अध्यक्षकै भूमिका हुनुपर्छ भनेर आफूले भनेको पनि उनले बताए।

हामीले सम्मानित नेता खनाललाई कार्यवाहकको विषय उठ्यो कि उठेन भनेर सोध्यौं। उनले भने, ‘यो कुरा मैले अध्यक्षसँग राखिनँ। म मेरो जीवनमै अब कसैसँग कार्यवाहक माग्दिनँ। मलाई कार्यवाहक देऊ भन्न म जान्न पनि।’

पार्टीमा देखिएका विभिन्न समस्याहरू हल गर्न आफू सकारात्मक रहेको जबाफ अध्यक्ष नेपालले दिएका थिए।

अध्यक्ष नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि गर्नतर्फ लाग्नुपर्ने बताएका थिए।

अध्यक्ष नेपालसँग भेटवार्तापछि निवास डल्लु फर्केका खनालले नेता वामदेव गौतमसँग शनिबार नै कुराकानी गरेका थिए।

खनाल निवास डल्लुमा झन्डै ६ घन्टा चलेको छलफलमा पार्टीलाई एकताबद्ध बनाउने विषयमा कुराकानी भएको नेता गौतमले जानकारी दिए।

‘हामी पुराना साथी हौं, लामो समयदेखि कुरा पनि भएको थिएन, पार्टीकोभन्दा ज्यादा व्यक्तिगत कुराकानी भयो,’ गौतमले सेतोपाटीसँग भने, ‘त्यसरी बाहिर चर्चा गर्ने गरी कुनै कुरा भएको छैन। पार्टीलाई एकताबद्ध बनाउने, कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने कुरा भयो।’

शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन गर्ने चेतावनी

काठ्माण्डौँ- नेशनल प्याब्सनलगायत चार संघ सस्थाले  शिक्षा ऐनमा समुचित व्यवस्था गर्नुपर्ने माग राखेका छन् । हिसान, नेशनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै साउन २८ गतेसम्मको अल्टिमेटम दिँदै माग अघि सारेका हुन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै संघले शैक्षिक सरोकारवालाका विषयहरू विद्यमान कानुनी व्यवस्था र कानुनबमोजिम स्थापना भई सञ्चालन भएका संस्थाहरूको स्थायित्वलाई समेत मध्यनजर गरी कुनै पूर्वाग्रह नराखी निर्माणाधीन शिक्षा ऐनमा समुचित व्यवस्था गर्नुपर्ने माग राखेका हुन् ।

राज्यले गर्न नसक्ने काम निजी क्षेत्रबाट प्रवाह गराउन खोज्नु अत्यन्तै अव्यवहारिक र राज्यलाई अनुत्तरदायी बनाउने प्रयास भएको उनीहरूको भनाई छ ।

ती संस्थाहरूले निजी विद्यालयहरूलाई क्रमशः गैर नाफामूलक बनाइनेछ भन्ने वाक्यांश हटाइनु पर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी सङ्ख्याको दश प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने, छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने माग अघि सारेका छन् ।

विधेयकमा संशोधन नगरिए आगामी श्रावण २९ गतेदेखि आन्दोलन गर्न बाध्य हुने समेत उनीहरूले चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमार्फत आउने प्रस्तावको भरमा सेयर बजारमा लगानी नगरौं : नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारमा लगानी गर्दा सचेत हुनका लागि लगानीकर्तालाई सुझाव दिएको छ ।

नेप्सेले चेतनामूलक सूचना जारी गर्दै बुझेर र सचेत भएर मात्र लगानी गर्न आग्रह गरेको हो। नेप्सेले सामाजिक सञ्जालमा प्राप्त राय वा सुझाव तथा सन्देशका भरमा सेयर बजारमा लगानी नगर्न आग्रह गरेको छ।

फेसबुक, टिकटक, ट्विटरलगायतका सामाजिक सञ्जालमार्फत आउने प्रस्तावका भरमा लगानी नगर्न नेप्सेले सुझाव दिएको छ।

यसका लाथै नेप्सेले सेयर बजारमा कारोबार गर्दा लाइसेन्स प्राप्त सेयर ब्रोकरमार्फत गर्न पनि लगानीकर्तालाई सचेत गराएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीबिच शीतलनिवासमा भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। आइतबार बिहान राष्ट्रपति भवन शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा उनीहरूबीच सरकारका काम कारबाही र पछिल्लो समसामयिक राजनीतिकबारे छलफल भएको छ। सचिवालयले नियमित भेटघाट रहेको जनाएका छन्। प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमण र भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भएको गतिविधि राष्ट्रपतिसमक्ष जानकारी गराएका छन्।

घाईतेहरुको अवस्था सामान्य छ–प्रजिअ हमाल

धनगढी, २५ साउन ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालले कैलाली कारागारमा शुक्रवार रातिको झडपमा घाईते भएकाहरुको अवस्था सामान्य रहेको बताएका छन् ।

शनिवार अपरान्ह जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा हमालले एक जना घाईतेलाई थप उपचारका लागि काठमाण्डौं पठाउने प्रयास भईरहेको बताए ।

हमालले मौसमको खरावीका कारण हेलिकोप्टर आउन नसक्दा घाईतेलाई थप उपचारका लागि काठमाण्डौं पठाउन नसकिएको बताए ।
उनले घाईतेहरु ठूलो संख्यामा रहेकोले सेती प्रादेशिक अस्पतालमा उपचारमा कठिनाई भईरहेको बताए ।

प्रजिअ हमालले कारागारभित्र नेतृत्व कसले गर्ने विषयमा उत्पन्न बिबादले झडप निम्त्याएको बताए ।

उनले कैदीबन्दीहरुको सरुवाको विषयले कैदीबन्दीहरुका बीचमा मनमुटाव उत्पन्न भएको र झडपको एउटा कारण कैदीहरुको सरुवाको विषय भएको बताए ।

आगामि दिनमा कारागारमा यस्ता घट्ना दोहरिन नदिन सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रजिअ हमालले जानकारी दिए ।

उनले झडपपछि कारागारभित्र सुरक्षाकर्मीहरु जान नसकेको स्वीकार गर्दै नाईकेले त्यहाँभित्रको सूचना दिईरहेको बताए ।

कैलाली कारागारमा शुक्रवार मध्यराति कैदीहरुबीच झडप भएको थियो । झडपमा परी एक जनाको मृत्यु भएको थियो । ४८ जना घाईते भएका छन् ।
उक्त घट्नापछि कैलाली कारागार कैदीहरुको कब्जामा छ ।

१२५ जना कैदीको क्षमता भएको कैलाली कारागारमा ६९५ जना कैदी राखिएका छन् ।

बाल्टिमोरमा सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्ड कप २०२५ शुरु

बाल्टिमोर, २४ साउन ।
सुदूरपश्चिम नेपाली समाजको आयोजनमा शनिवार अन्तरराज्यीय भलिबल प्रतियोगिता बाल्टिमोरमा शुरु भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको प्र्रमुख अतिथि मेरिल्याण्ड राज्यका डेलिगेट ह्यारी भण्डारी र विशेष अतिथि पूर्व राष्ट्रिय भलिबल खेलाडी तथा क्याप्टेन सुनिल चौधरीले प्रतियोगि टीमलाई भलिवल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरे ।

उद्घाटन समारोहमा विशिष्ट अतिथिका रुपमा बानाका निवर्तमान अध्यक्ष सुबोध विलास पन्त र सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका संस्थापक अध्यक्ष दमन विक्रम शाह समेत सहभागी थिए । ।

सुदूरपश्चिम नेपाली समाजका अध्यक्ष बिक्रम शाहीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव यज्ञ बहादुर थापाले गरेका थिए ।

सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्ड कप २०२५ नाम दिईएको अन्तरराज्यीय भलिवल प्रतियोगितामा अमेरिकाका बिभिन्न राज्यका १४ टीम सहभागी छन् ।

प्रतियोगिताको बिजेताले ७७७७ डलर र उपबिजेता टीमले ४४४४ डलर पुरस्कार र ट्रफी हात पार्नेछ ।

२४ घण्टादेखि कैदीबन्दीको कब्जामा कैलाली कारागार

धनगढी, २५ साउन ।

शुक्रवार मध्यराति कैदबन्दीहरुबीच भएको झडपपछि प्रहरीले कैलाली कारागारमाथि नियन्त्रण गुमाएको छ । २४ घण्टादेखि कैलाली कारागार कैदीबन्दीहरुको नियन्त्रणमा छ ।

शुक्रवार मध्यराति कैदीबन्दीबीच एक जनाको मृत्यु र ४८ जना घाईते हुने गरी भएको सामूहिक झडपपछि प्रहरी कारागार भित्र जान सकेको छैन् । शनिवार बिहान झडपपछिको कारागार भित्रको अवस्था बुझ्न गएका कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा सहितका सुरक्षा प्रमुखहरुलाई कैदीबन्दीहरुले भित्र प्रवेश गर्न दिएनन् ।

कैदीबन्दीहरुले कारागारको प्रवेशद्धारमा सिलिण्डर र प्रेसर कुकर राखेका छन् । सुरक्षाकर्मी भित्र प्रवेश गर्न खोजे सिलिण्डर र कुकर पड्काउने कैदीबन्दीले धम्की दिएका छन् ।

त्यही धम्कीका कारण पनि कारागारभित्र सुरक्षाकर्मीहरु प्रवेश गर्न सकेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी हमालले शनिवार राति पत्रकारहरुकोसंगको भेटमा कारागारको अवस्था सामान्य भएको र कारागारभित्रको अवस्थाका बारेमा सूचना नाईकेबाट प्राप्त भईरहेको बताए ।

यद्दपि कारागारको नाईके पनि कैदीबन्दीहरुको नियन्त्रणमा रहेकोले नाईकेले दिने सूचना भरपर्दो नहुने स्रोतको दावी छ ।

एक जना घाईतेलाई काठमाण्डौं लगियो

कैलाली कारागारमा कैदीबन्दीहरुबीच भएको झडपमा परी गम्भीर रुपले घाईते भएका आयुष भट्टलाई उपचारका लागि काठमाण्डौं लगिएको छ ।
घाईते भट्टलाई सेनाको स्काई भ्यानमा राति करीव साढे आठ बजे काठमाण्डौं लगिएको हो ।

दुई जना घाईतेलाई धनगढीकै एक निजी अस्पतालमा राखिएको छ । अन्य घाईतेलाई सेती प्रादेशिक अस्पतालको कोरोना वार्डमा राखिएको छ । जहाँ मिडियाकर्मी र परिवारजनलाई प्रवेशमा रोक लगाईएको छ । मिडियाकर्मीहरुले घाईतेका बारेमा सूचना संकलन गर्न पाएका छैनन् ।

शनिवार दिउँसो घाईतेहरुको अवस्था बुझ्न गएका कैलालीका प्रमुख जिल्ला अधिकारी हमाल र प्रहरी प्रमुख एसपी राणालाई घाईतेहरुलाई भेट्न पाउनु पर्ने आफन्तको दवावपछि मूल गेटबाट बाहिर निस्किन सकेनन् । दुबै जना कोरोना वार्डको पछाडिको पर्खाल नाघेर सशस्त्र प्रहरीको ३४ नम्बर गणहुदै बाहिर निस्किएका थिए ।

कारागारभित्र झडपका कारणहरु

२०७८ कार्तिक २३ गते कैलालीको टीकापुरमा दुई समूहको झडपमा भूपेन्द्र बडुवालको हत्या भयो । उनलाई लखेटी लखेटी खुकुरी प्रहार गरी हत्या गरियो । उनको हत्यामा संलग्न नवीन रावल, जयन्द्र शाह, कपिल श्रेष्ठ कारागारमा सजाय काटिरहेका थिए ।

२०८२ जेठ १५ गते टीकापुरमा नेविसंघका केन्द्रीय सदस्य टेकेन्द्र बिष्टमाथि सांघातिक आक्रमण भयो । बिष्टमाथि आक्रमण गर्ने रिदम ढुंगाना र मिलन चन्द कारागारमा थपिए ।

बडुवाल हत्या प्रकरणमा पक्राउ परेका शाह नेविसंघ केन्द्रीय सदस्य बिष्ट निकट थिए । बिष्टमाथि आक्रमण गर्ने ढुंगाना र चन्द भने बडुवाल हत्यामा संलग्न रावल निकट मानिन्छन् ।

दुई फरक ग्याङकाबीचमा पुरानो रिसिईवी छदैथियो । त्यसमाथि बडुवाल हत्यामा सजाय काटिरहेका युवाहरु कारागारभित्र आफ्नो प्रभुत्व जमाउन खोजिरहेका थिए ।

उनीहरुलाई कारागारमा एकैसाथ राख्नु नै झडपको एउटा कारण हो । अर्को कारण कारागार प्रशासनले कैदीबन्दीहरुलाई सरुवा गर्न खोज्नु भएको स्रोतको भनाई छ ।

तेस्रो कारण, कारागारभित्र हुने लागु औषधको कारोवार भएको बताईन्छ ।

चौथौ कारण, नयाँ नाईकेको नियुक्तिलाई लिएर कारागार भित्र रहेका समूहहरुका बीचको हानथाप भएको स्रोतको दावी छ । समुदायगत हिसावले पनि कारागार भित्र बर्चस्वको लडाई भुसको आगो झै भित्रभित्रै सल्किदै गयो । त्यो पनि झडपको एउटा कारण भएको बताईन्छ ।

क्षमताभन्दा पाँच गुणाभन्दा बढि कैदीबन्दी रहेको कारागारमा कैदीको उच्च चाप पनि झडपका थुप्रै कारण मध्ये एक मानिन्छ । कैदीहरु एक साथ सुत्न सक्ने अवस्था छैन् । कैदीहरु पालैपालो पनि पुरा निन्द्रा सुत्न पाउदैनन् ।

कहाँ चुक्यो प्रहरी प्रशासन ?

कैलाली कारागारमा दुई महिना यता कैदीबन्दीहरुबीच सरुवा र नाईकेको नियुक्तिलाई लिएर झडपका घट्ना हुदै आएका थिए ।

केहीदिन देखि नै कैदीबन्दीहरुले परिवारजनलाई कारागारभित्र झडपले भयावह रुप लिनसक्ने सूचना दिदै आएका थियो । जुन कुराको जानकारी प्रमुख जिल्ला अधिकारी हमाल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख राणा र जेलरलाई समेत थियो ।

पाँच दिनअघि कारागारमा रहेका ५९० कैदीबन्दीले मुठभेड निम्त्याउन खोजिएको भन्दै हस्ताक्षर सहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । त्यसअघि कारागार भित्र दुई महिना कैदीबन्दीबीच भएको घट्नालाई जिल्ला प्रशासन कार्यालयले सामान्य रुपमा थामथुम पारेको थियो । ती दुईटै घट्नालाई सामान्य रुपमा लिदा कारागारमा पछिल्लो अवस्था सृजना भएको बताईएको छ ।

घाईते र मृतकका शरीरमा देखिएका घाउले झडपका क्रममा कैदीबन्दीहरुले कारागारभित्र रहेको जीम क्लवका सामानहरुको अन्धाधुन्ध प्रयोग गरेको पाईएको छ । ती सामानको दुरुपयोगबाट निम्तिन सक्ने भयावह परिणामका बारेमा कारागार प्रशासन उदासिन रहेको देखिन्छ ।

प्रहरी प्रशासनको उदासिनता र लापरबाहीका कारण कारागारमा कैदीबन्दीबीचको झडपले भयावह रुप लिएको हो ।

अहिले पनि कारागारको भित्रको अवस्थाका बारेमा कारागार प्रशासन बेखवर छ । कारागार अझै प्रहरीको नियन्त्रणभन्दा बाहिर छ । कैदीबन्दीहरुका आफन्तहरुमा यस्तै अवस्था रहीरह्यो भने कारागारभित्र भयावह अवस्था सृजना हुने सन्त्रास छ ।

कैलाली कारागारका जेलर फेरिए

धनगढी, २४ साउन र
कैदीबन्दीको झडपपछि तनावग्रस्त बनेको कैलाली कारागारका प्रमुख (जेलर) फेरिएका छन् । जेलर बसन्त खत्रीको ठाउँमा जालन्धर भुसाललाई पठाइएको हो । भुसाल दिउँसो ३ बजे कैलाली पुगेर आफ्नो कार्यभार सम्हालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

हिजो राति एक जनाको मृत्यु हुनेगरी कारागारमा झडप भएको थियो । सो झडपको क्रममा ४७ जना घाइते भएका थिए ।

शनिबार दिउँसो पनि कारागाराको अवस्था असामान्य बनेको थियो । कारागारभित्र रहेका कैदीहरूले केहीबेर कारागार नै नियन्त्रणमा लिएका थिए भने अवस्था सामान्य बनाउन प्रहरीले हम्मे हम्मे भएको थियो ।

यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन भएको छ । उक्त समितिले घटनाको कारण पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश राखिएको छ ।शुक्रबार राति कारागारमा झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए ।

घाइतेहरूको उपचार भइरहेको छ ।यसबारे सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री रशेम लेखकले पनि सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । एक जना गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

‘गुन भुल्यौ’ पछि ‘मैना चरी’ ल्याएर आईन् सारिका

काठमाण्डौं, २४ साउन ।
‘गुन भुल्यौ’ गीतबाट चर्चाको शिखरमा रहेकी सारिका घिमिरेको नयाँ गीत ‘मैना चरी’ बजारमा आएको छ ।

सारिकाले आफ्नो अफिसियल युट्युव मार्फत शुक्रवार मध्यराति ‘मैना चरी’ सार्वजनिक गरिन् ।

सारिकाले ‘मैना चरी’ मा महिलामाथि हुने हिंसालाई अभिव्यक्त गरेकी छन् । ‘मैना चरी’ नेपाली समाजको ऐना हो । ‘मैना चरी’ समग्र महिलाको पीडा हो । वेदना हो । यो बिरहको गीत मात्र होईन । यो नेपाली समाजको यथार्थता हो ।

भद्दा शब्द, कर्कश स्वर, बेसुरको संगीतले बजार पिटिरहेको बेला सारिकाले एउटा हृदयस्पर्शी गीत गाएकी छन् । ‘मैना चरी’ मा सारिकाले मनको गहिराईबाट आम महिलाको पीडालाई उतारेकी छन् । गुन भुल्यौ गीतमा उनको कर्णप्रीय स्वरले स्रोताको मन जितिसकेको छ । ‘मैना चरी’ मा उनले गरेको अभिनय बेजोड छ । जसले दर्शकहरुलाई तानिरहने छ । शब्दमा झै गीतको भावमा डुबेर अभिनय गरेकी छन्, सारिकाले । उनी शब्द शिल्पी मात्र होईनन्, उनले अभिनयमा पनि आफूलाई अब्बल रुपमा प्रस्तुत गरेकी छन् । मैना चरीमा योगेश काजीको संगीतले सुनमाथि सुगन्ध थपेको छ ।
भ्यूज बटुल्ने लोभ उनमा देखिदैन् । न ग्ल्यामर, न अश्लिलता । उनले छाडा शब्द, छोटा कपडा, उत्तेजक अभिनय रोजिनन् । हो, उनी भीडको पछि लागिनन् । भीडले के खोज्छ, उनलाई छु मतलव ।

सारिका गीतमा, अरु छोरी सरह आफूलाई हाँस्न दिन मैना चरी बनेर दैवसंग आग्रह गर्छिन् । सात जुनीमा विश्वास गर्ने हिन्दु समाज । उनी सात जुनीको अपेक्षा गर्दिनन् । एकै जुनी खुशीसंग बाँच्ने पाए पुग्यो । गीतमा व्यक्त छ, उनको यही चाहना । हो, उनलाई सात जुनीको आस छैन् ।

यो गीत मात्र होईन । यो कथा हो, मैनाको । यो बेदना हो, आकाशभन्दा पर उड्ने उत्कण्ट ईच्छा बोकेकी मैना चरीको । पखेटा काटिएका त्यो मैना चरी, जसले सपनाको उडान भर्न पाएकी छैनन् । हो, यो कथा सारिकाको हो । मैनाको हो । र, समग्र महिलाको हो ।

घामलाई कुर्दा कुर्दै जसले जुन डुबेको पत्तै पाईन् । त्यो मैना चरी, जसको जीवनले आँधी बेहो¥यो । अध्याँरो बाँच्यो । सम्बन्धले दिएका घाउहरु । मनभरी पीडा । काँडामाथिको बाटो । जसले भनिनन् फेरि पनि, ऐया । हो यो कथा हो, आँखाको डीलभित्र आँशुलाई रोकेर मुस्कुराईरहने मैनाको ।
सुनको पिजडामा राखिएकी मैना चरी । सम्बन्धको फलामे जञ्जीरमा बाँधिएकी सारिका । त्यो जञ्जिर । त्यो पिजडा । जसका रहर उस्तै छन् । पीडा उस्तै छ । चुडालेर त्यो जञ्जिर र पिजडा । उस्तै निस्फिक्री उड्ने चाहना छ । सारिकाभित्र मैना चरी झै ।

उनी गीतमा कही उद्देलित हुन्छिन् । कही अशान्त । कही आक्रोशको आगो ओकल्छिन् । उनी गीतमा कही दैवसंग आग्रह गर्छिन् । कही माईतीसंग गुनासो । जन्मी हुर्किएको माईती आँगन पराई भएको पीडा ओकेल्छिन् । र गर्छिन, माईतीसंग गुनासो । दैवबाट आफ्ना सवै सन्तानप्रति समान व्यवहार नभएकोमा उनको चित्त दुखाई छ । किन कसैको जीवनमा पीडै पीडा ? कसैको जीवनमा हाँसो ? उनीभित्र त्यस्ता कैयौं प्रश्नहरु छन् । जो अनुत्तरित छन् ।

एउटी महिलाले प्रतिदिन परिवार, समाज र आफ्नाहरुबाट भोग्ने लाञ्छना, आरोप र प्रताडना । कति हुन् कति । कही ती आँशु बनेर पोखिन्छन् । कही महिला हिंसाका नाममा उजुरीमा दर्ज हुन्छन् । उनले कही उजुरी हालिनन् । न त बगाईन्, आँशुमा । उनी पोखिईन, गीतमा । र बन्यो, मैना चरी
मैना चरी सुन्दा र हेर्दा यस्तो लाग्छ, सारिकाको हृदयबाट छचल्किएका पीडाहरु अक्षर बनेर पोखिए । र बन्यो, एउटा हृदयस्पर्शी गीत ।

कैलाली कारागार घटना : १५ दिनभित्र विवरण पेस गर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा कैदीहरुबीच झडप भएपछि जिल्ला कारागार प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको छ।

सुदूरपश्चिम प्रदेशस्थित राष्ट्रिय मानव अधिकार आयोग, धनगढी कार्यालयले आज जिल्ला कारागारलाई पत्र पठाउँदै प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको हो।

साथै, कैदीबन्दीको अधिकारको संरक्षण, व्यवस्थापन सुधार र आन्तरिक सुरक्षाका लागि गरिएको प्रशासनिक तथा समन्वयात्मक पहलहरूको प्रतिवेदन माग गरिएको छ।

कार्यालयले जिल्ला कारागार, कैलालीमा रहेका करिब ५९० जना कैदीबन्दीहरूको संयुक्त निवेदनपछि कारागारभित्रको अवस्था र मानव अधिकार उल्लंघनका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।

आयोगमा प्राप्त निवेदनमा कैदीबन्दीहरूले कारागार प्रशासनसँगको असहज सम्बन्ध, आन्तरिक व्यवस्थापनमा पारदर्शिताको अभाव, गैरकानुनी आर्थिक लेनदेन, लागुऔषध तस्करी, बाह्य व्यक्तिहरूसँग अवैध सम्पर्क गराउने, मनमुटाव र मुठभेडको अवस्था सिर्जना गराउने प्रयास, चौकीदाररनाइकेको छनौटमा अनियमिता, र रातारात कैदी स्थानान्तरणजस्ता गम्भीर आरोपहरू उल्लेख गरेका छन्।

निवेदनमा विशेष गरी असार ३० को राति १० बजेतिर दुई वटा सरकारी सवारीसाधनसहित प्रशासन र प्रहरी टोलीको उपस्थितिमा स्थानान्तरणको प्रयास गरिएको घटनालाई उदाहरणस्वरूप उल्लेख गरिएको छ, जसलाई कैदीबन्दीहरूले धम्कीको रुपमा व्याख्या गरेका छन्।

टेकबहादुर रावत सुदूरपश्चिम रोयल्समा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति जारी अक्सनमा टेकबहादुर रावतलाई सुदूरपश्चिम रोयल्सले अनुबन्ध गरेको छ । शनिबार (साउन २४) ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा ‘सी’ क्याटागोरीका टेकबहादुरलाई न्युनतम बोली दुई लाख रुपैयाँमा अनुबन्ध गरिएको हो ।

दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा छन् । हालसम्म ६ खेलाडी बिक्री भएका छन् ।

कैलाली कारागार झडप : गृहमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच आकस्मिक भेटघाट

कैलाली- कैलाली जिल्ला कारागारमा शुक्रबार मध्यरातमा भएको झडप र एक कैदीको मृत्युपछि उत्पन्न तनावग्रस्त स्थितिलाई लिएर केन्द्र र प्रदेश सरकार गम्भीर बनेको छ।

घटनाको समीक्षा र आगामी रणनीति तय गर्न नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच शनिबार आकस्मिक भेटघाट भएको छ।

भेटमा कारागारभित्रको भयावह अवस्था, सुरक्षा व्यवस्थापनमा भएको गम्भीर चूक, प्रदेशको समग्र शान्ति सुरक्षा र विपद् व्यवस्थापनका विषयमा महत्त्वपूर्ण छलफल भएको जनाइएको छ।

शुक्रबार मध्यरातमा ‘नन्दु सरकार’ भनेर चिनिने नवीन रावलको समूहले अर्काे समूहका कैदीहरू सुतिरहेको ब्लकमा पर्खाल फोडेर पसी खुकुरी, रड र चक्कुले अन्धाधुन्ध आक्रमण गरेको थियो।

उक्त सांघातिक हमलामा ४० वर्षीय कैदी भरत चौधरीको मृत्यु भएको छ भने करिब ४९ जना घाइते भएका छन्। घटनाको मूल जड ‘नन्दु सरकार’ र जयन्द्र शाह समूहबीच लामो समयदेखि चल्दै आएको गुण्डागर्दी र दुस्मनी हो। जुन २०७८ मा भएको भूपेन्द्र बडूवाल हत्याकाण्डसँग समेत जोडिएको छ।

कारागार प्रशासन र जिल्ला सुरक्षा संयन्त्रको गम्भीर लापरबाहीका कारण घटना भएको स्पष्ट देखिन्छ। आक्रमण हुनुभन्दा एक दिनअघि बिहीबार मात्रै दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका थिए।

पटक-पटक तनाव हुँदा र सम्भावित हिंसाको सूचना पाउँदासमेत प्रशासनले सतर्कता अपनाएको देखिएन, जसको परिणाम स्वरूप कारागारभित्रै रक्तपातको स्थिति बन्यो।

शुक्रबार रातिको घटनापछि कैलाली कारागार कैदीबन्दीको नियन्त्रणमा छ। उनीहरूले भित्रबाट गेटमा ताला लगाएर सुरक्षाकर्मीलाई प्रवेश गर्न दिएका छैनन्।

अर्जुन साउद चितवन राइनोजमा

काठमाडौं : नेपाली राष्ट्रिय टिमका विकेटकिपर ब्याटर अर्जुन साउद चितवन राइनोजमा आबद्ध भएका छन्।

क्याटागोरी ए का खेलाडी अर्जुन अधिकतम मूल्य १५ लाखमा चितवन राइनोजमा आबद्ध भएका छन्। चितवन राइनोज, कर्णाली याक्स, विराटनगर किंग्स बीच भएको लक्की ड्रमा चितवनले ड्र जितेको हो।

पहिलो सिजनको एनपीएलमा उनले लुम्बिनी लायन्सबाट खेलेका थिए।

एनपीएल अक्सन : सूर्य तामाङ विराटनगर किंग्समा अनुबन्ध

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति जारी अक्सनमा राष्ट्रिय टिमबाट समेत खेलिसकेका सूर्य तामाङलाई विराटनगर किंग्सले अनुबन्ध गरेको छ । शनिबार (साउन २४) ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा ‘ए’ क्याटागोरीका सूर्यलाई विराटनगरले १० लाख रुपैयाँमा अनुबन्ध गरेको हो ।

दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा छन् ।

१० लाखमा हेमन्त धामी सुदूरपश्चिममा अनुबन्ध

काठ्माण्डौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनमा हेमन्त धामी गोलाप्रथाबाट सुदूरपश्चिम रोयल्समा पुगेका छन्। हेमन्त १० लाख रुपैयाँमा बिक्री भएका हुन्।

क्याटोगोरी बी का हेमन्तको न्यूनतम रकम ५ लाख रुपैयाँ थियो। हेमन्तमाथि पोखरा, लुम्बिनी, सुदुरपश्चिम र जनपुरले बोली लगाएका थिए।
गोलाप्रथाबाट छनोट हुने हेमन्त दोस्रो खेलाडी हुन्। यसअघि देव खनाल गोलाप्रथाबाट चितवन पुगेका थिए।

उनी नेपाल अन्डर -१९ समूहका कप्तानसमेत हुन्।

एनपिएल अक्सनः देव खनाल १५ लाखमा चितवन राइनोजमा अनुबन्ध

काठ्माण्डौँ- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि देव खनाल १५ लाख रुपैयाँमा चितवन राइनोजमा अनुबन्ध भएका छन्। नेपाली अन्डर–१९ टोलीको पूर्व कप्तान समेत रहिसकेका खनालले पहिलो सिजन कर्णाली याक्सबाट खेलेका थिए।

यसपटक उनलाई अनुबन्ध गर्न चितवन राइनोज र लुम्बिनी लाइन्सबिच प्रतिस्पर्धामा उत्रिएका थिए। दुवै टोलीको बोली १५ लाखसम्म पुगेपछि गोलाबाट देवलाई चितवनले पाएको हो।

एनपीएल : दिलीपनाथ लुम्बिनी लायन्समा आवद्ध

काठमाडौं : पुलिसका विकेटकिपर दिलिप नाथ दोस्रो सिजनको एनपीएलका लागि लुम्बिनी लायन्समा आबद्ध भएका छन्।

उनी १० लाख रुपैयाँमा लुम्बिनी लायन्समा आबद्ध भएका हुन्। उनी पहिलो सिजनमा पोखरा एभेन्जर्सका लागि खेलेका थिए।

२२ गतेको झगडापछि मेलमिलाप, भोलिपल्टै भीषण कुटपिट

कैलाली- कैलाली असार २८ गते कैलाली जिल्ला कारागारमा कैदीहरूबीच हिंसात्मक झडप हुँदा नाइके खगेन्द्र बोगटी गम्भीर घाइते भएका थिए। त्यसै दिन सिडिओ र एसपीकै अगाडि कैदीहरूले जेलर वसन्त खत्रीविरुद्ध नाराबाजी गर्दै कारागारभित्रको मनोमानी अन्त्य गर्न माग गरेका थिए ।

त्यो घटनाको चर्चा सेलाउन नपाउँदै बिहीबार फेरी झडप भयो । त्यसमा ६ जना घाइते भए । ती मध्ये एक जना अझै अस्पतालमै छन् ।
पटक पटक हुने आक्रमण पछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालले कारागारमा सहज बनाउने बताएका थिए ।

शुक्रवार सञ्चारकर्मीहरूसँग प्रजिअ हमालले कैलाली कारागारको समस्या हल भइसकेको प्रतिक्रिया दिएका थिए । ‘कैदीका लिडरलाई बोलाएर सम्झाएका छौँ । अब त्यस्तो समस्या आउँदैन भनेर प्रतिबद्धता गराएका छौँ’ घटनापछि शुक्रवार मेलमिलाप गराउन गएका प्रमुख जिल्ला अधिकारी हमालले पत्रकारहरूलाई भनेका थिए ।

उनले शुक्रवारदेखि नै सुरक्षा रणनीति बनाउने बताए । ‘आजदेखि सुरक्षा रणनीति परिवर्तन गरेका छौँ । पुराना सुरक्षाकर्मीलाई हटाएर नयाँ सुरक्षाकर्मीलाई व्यवस्थापन गरिएको छ ’उनले भनेका थिए ।

कारागारमै पुगेर सुरक्षा बलियो बनाएको बताएको ८ घण्टा नपुग्दै कारागारमा ठुलो कुटपिट भएको हो । ‘हामीलाई घटना हुने भन्नेबारे पहिल्यै थाहा थियो । त्यहाँ विवाद भइरहेको थियो । हामीले प्रहरी प्रशासनलाई पनि भनेका थियौँ तर, कसैले चासो दिनुभएन’ शनिवार अस्पताल बाहिर भेटिएका घाइतेका एक आफन्तले भने ‘प्रहरीले प्रशासनले पहिल्यै चासो राखेको भए, यस्तो घटना हुने थिएन ।’

२२ गते भएको झडप पछि प्रमुख जिल्ला अधिकारीले कारागारमै गएर विवाद मिलाएको बताएका थिए ।‘कारागारमा भएको समस्या समाधान गर्ने प्रमुख जिल्ला अधिकारीज्यूले मिलाउनु भएको थियो तर त्यसको भोली पल्टै अर्को ठुलो घटना भयो ’ स्रोतले भन्यो ‘प्रमुख जिल्ला अधिकारी ज्यूले गम्भीरता देखाउनु भएको भए यस्तो अवस्था सृजना नहुन सक्थ्यो । ’

अधिकृत स्तरका कर्मचारी प्रमुख रहने कारागार अहिले खबरदारले नेतृत्व गरिरहेका गरिरहेका छन् ।कारागारको जिम्मेवारी पाएका खरदार रामकुमार चौधरीले प्रमुख जिल्ला अधिकारी अघिल्लो दिन आएर मेलमिलाप गराएको तर, मध्यरातमा आक्रमण भएको बताए ।

अहिलेसम्म १ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । घाइते परिवारहरूले उपचारमा चित्त बुझाएका छैनन् ।कैलाली कारागारको क्षमता १५० कैदीबन्दी भए पनि हाल करिब ७०० कैदीबन्दी छन् । अहिले पनि फेरी घटना हुनसक्ने भन्दै घाइते परिवार तथा कारागारमा रहेका अन्य कैदी बन्दीका परिवारले चिन्ता व्यक्त गरेका छन् ।

घटनापछि राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम कार्यालय प्रमुख प्रकाशदत्त भट्टको नेतृत्वमा टोली पनि कारागार पुगेको छ । आयोगले घाइतेको अवस्था र अधिकार सुनिश्चितताबारे तथ्य सङ्कलन गरिरहेको जनाएको छ ।

संघीय लोकतान्त्रिक मोर्चाका लागि उपनिर्वाचन परीक्षा हो : रेशम चौधरी

कैलाली– नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचन जसरी पनि जित्नुपर्ने बताएका छन् ।

तराई–मधेशकेन्द्रित दलहरूको मोर्चा संघीय लोकतान्त्रिक मोर्चाले शनिबार कैलालीको सुख्खडमा आयोजना गरेको जनजागरण अभियान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचन मोर्चाको परीक्षा भएको चौधरीको भनाइ थियो । ‘यसपालि रूपन्देहीमा हुने उपनिर्वाचन मोर्चाको परीक्षा भएकोले जसरी पनि जित्नु पर्छ,’ उनले भने ।

मोर्चामा आवद्ध अन्य दलहरूले उपनिर्वाचनमा नाउपाका उम्मेदवरलाई सहयोग गर्ने भएका छन् । संरक्षक चौधरीले थारु–मधेशीलगायत सबै उत्पीडितहरूको एकताका लागि मोर्चा गठन गर्नु परेको बताए ।

थारु भएकै कारण आफूहरूमाथि अन्याय र विभेद भएको उनले गुनासो गरे । मोर्चाले यसअघि साउन २१ गते रूपन्देहीको सियारीमा कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा पनि संरक्षक चौधरीले उपनिर्वाचन खेलाँची नभएको भन्दै जसरी पनि जित्नै पर्ने बताएका थिए ।

उनले बोल्दै मधेसीहरूले थारूलाई विश्वास गरेर गुन लगाएको भन्दै मोर्चा आवद्ध अन्य दलहरू प्रति आभार व्यक्त गरेका थिए ।

एनपिएलको दोस्रो संस्करणको अक्सन सुरु

काठ्माण्डौँ- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि खेलाडीको लिलामी(अक्सन) सुरु भएको छ। अहिले दिउँसो ३ः४५ बजेबाट अक्सन सुरु भएको हो। अक्सनका लागि क्यानले १५० खेलाडीको समावेश छन्।

एनपिएलमा सहभागी आठ टोलीले चाहेका र क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार ती खेलाडीलाई अन्तिम सूचीमा राखिएको क्यानले जनाएको छ।

अक्सनमा समावेश खेलाडीलाई विभिन्न श्रेणीमा बाँडिएको छ। श्रेणी ‘ए’ मा आठ खेलाडी छन् । जसमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषवाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन्।

यस्तै श्रेणी ‘बी’ मा अनिल खरेल, अर्जुन कुमाल, दीपक बोहरा, कृष्ण कार्की, प्रज्वल थापालगायत ३५ खेलाडी छन्। यस्तै श्रेणी ‘सी’ मा १०७ खेलाडी छन्।

यसअघि एनपिएलका टोलीहरूले पहिलो संस्करणमा खेलेका खेलाडीमध्येबाट मार्की खेलाडीसहित केही खेलाडी रिटेन गरेका थिए। बाँकी खेलाडी छनोटका लागि यो अक्सन राखिएको हो।

अक्सनको प्रत्यक्ष प्रसारण एनपिएलको आधिकारिक युट्युब च्यानलबाट प्रसारण भइरहेको छ।

कैलाली कारागार तनाव : गृहमन्त्रीले बोलाए सुरक्षा निकायका प्रमुख

काठमाडौं । कैलाली कारागारमा एक जनाको मृत्यु हुनेगरी भएको झडपबारे छलफल गर्नका लागि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखलाई बोलाएका छन् ।

शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई गृहमन्त्री लेखकले छलफलका लागि बोलाएका हुन् ।

शुक्रबार राति कारागारमा झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका छन् ।

घाइतेहरूको उपचार भइरहेको छ ।

अहिले केदीबन्दीहरूले कारागार नै नियन्त्रणमा लिएका छन् भने सुरक्षा व्यवस्था अव्यवस्थित बन्न पुगेको छ ।

यसबारे सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री लेखकले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा भएको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई रु. साढे चार अर्ब फाइदा भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताएका हुन् ।

“हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ । हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले विगतमा बिजुलीको आम प्रयोगमा विद्युत् भार कटौती हटे पनि उद्योगमा विद्युत् कटौती गरिँदै आएकामा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको उल्लेख गरेका छन् ।

कैदीबन्दीको कब्जामा कैलाली कारागारको घटनास्थल, प्रहरी र मानवअधिकारको टोलीसमेत पुग्न सकेन

कैलाली । एक जनाको मृत्यु हुनेगरि झडप भएको कैलाली कारागारको घटनास्थल अहिलेसम्म पनि कैदी बन्दीको कब्जामा रहेको छ ।

कैलाली कारागारमा बिहान प्रमुख जिल्ला अधिकारी गोगन हमालसहितको टोली पुगेको थियो । कारागार प्रशासन सम्म पुगेको जिल्ला सुरक्षा समितिको टोली कैदी बन्दीले घटनास्थलसम्म जान नदिएपछि फर्किएको थियो ।

चारैबाट सुरक्षा निकायका प्रमुखहरूसहित गएको टोली घटनास्थलमा जान नसकेपछि जिल्ला प्रशासन कार्यालयमा आएर सुरक्षा समितिको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको थियो ।

कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् । कोही भित्र प्रवेश गरे सिलिन्डर पड्काएर आगो लगाइदिने चेतावनी दिएका छन् । अहिले राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि त्यहाँ पुगेको छ । तर, घटनास्थल सम्म पुग्ने अवस्था देखिएको छैन ।

‘हामी अहिले घाइतेहरूको उपचारमा लागिरहेका छौँ घटनास्थलमा जान सकिएको छैन’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने । हिजो राति भएको झडपमा १ जनाको मृत्यु हुनुका साथै ४७ जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी र मानवअधिकारको टोलीसमेत पुग्न नसक्दा त्यहाँको वास्तविक अवस्था अझै सार्वजनिक हुन सकेको छैन ।

अहिलेसम्म पनि घाइतेका आफन्तहरूले घाइतेलाई भेट्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

रवि लामिछानेको रिहाइको माग गर्दै समर्थकद्वारा कटआउटमा राखी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले रक्षाबन्धन पर्वलाई फरक ढंगले मनाएका छन्।

पार्टीको बनस्थलीस्थित कार्यालयमा लामिछानेको कटआउटमा राखी बाँधेर उनीहरूले आफ्नो समर्थन र ऐक्यबद्धता जनाएका हुन्।

राखी बाँध्दै उपस्थित समर्थकहरूले सभापति लामिछानेको शीघ्र रिहाइको माग समेत गरेका छन्।

यो प्रतीकात्मक कार्यमार्फत उनीहरूले पार्टी सभापतिको रिहाइका लागि दबाब सिर्जना गर्ने प्रयास गरेका छन्।

खेलकुदका माध्यमबाट पर्यटक भित्र्याउनुपर्छः मन्त्री चौधरी

काठ्माण्डौँ- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यबाट पर्यटक भित्र्याउने योजनामा सरकारले काम गरिरहेको बताएका छन ।

काँकडभिट्टा खेलमैदानको आज निरीक्षण गर्दै उहाँले पूर्वीनाकामा रहेको खेलमैदानमार्फत काँकडभिट्टाले नेपालमा पर्यटक भित्र्याउन सक्ने भनाइ राखे । मन्त्री चौधरीले सङ्घीय सरकारले काँकडभिट्टा खेलमैदानको स्तरोन्नतिका लागि चालू आर्थिक वर्ष २०८२र८३ मा रु तीन करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

“क्रिक्रेट, फुटबल र भलिबल खेलेर नेपाली खेलाडीले लाखौँलाख आर्जन गरेका थुप्रै उदाहरण छन्”, उनले स्थानीय जनप्रतिनिधि, खेलाडी र खेलप्रेमीहरुलाई सम्बोधन गर्दै भने, “दुई ठूला देशको बीचमा छौँ हामी । एसियाली राजमार्ग  निर्माणपछि काँकडभिट्टा खेलमैदानको महत्व अन्तरराष्ट्रिय रुपमा बढेर जानेछ ।” उहाँले खेलकुद क्षेत्र मनोरञ्जन, स्वास्थ्य र पर्यटनको माध्यम भएको जनाउँदै देशको पहिचान बढाउन काँकडभिट्टाले उत्पादन गरेका खेलाडीको अतुलनीय योगदान रहेको चर्चा गरे ।

सरकारले खेलकुद क्षेत्रका लागि अहिले रु छ अर्ब बजेट छुट्याएको उल्लेख गर्दै मन्त्री चौधरीले खेलमैदान स्थानीय तह र प्रदेशलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए । काँकडभिट्टा खेलमैदानले चर्चेको जग्गा ग्रामीण आवास कम्पनीको भएको विषयमा उनले छिटोभन्दा छिटो खेलमैदानको जग्गा स्थानीय तहको स्वामित्वमा ल्याउनुपर्ने बताए । उनले खेलमैदानको जग्गाको स्वामित्व पालिकाको नाममा ल्याउन र त्यसको पूर्वाधार विकासमा सघाउन सरकार तयार रहेको बताए ।

त्यस अवसरमा मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती, पूर्वनगरप्रमुख विमल आचार्यलगायतले काँकडभिट्टाको खेलकुद गतिविधि र मैदानका समस्या बारेमा मन्त्री चौधरीको ध्यानाकर्षण गराएका थिए । मन्त्री चौधरीले आज मेचीनगरको चारआलीमा आयोजना हुने इन्डो–नेपाल इन्टरस्कुल कराते प्रतियोगिताको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

यौन अपराधमा दोषी अस्ट्रेलियाली सांसदले दिए राजीनामा, १४ वर्षको जेल सजाय हुन सक्ने

अस्ट्रेलियाली सांसद ग्यारेथ वार्ड यौन अपराधमा दोषी ठहरिएपछि संसदबाट राजीनामा दिन बाध्य भएका छन्। न्यु साउथ वेल्स (एनएसडब्ल्यू) संसदमा उनलाई निष्कासन गर्न मतदान हुने तयारी भइरहेका बेला शुक्रबार बिहान उनले राजीनामा दिएका हुन्।

४४ वर्षीय वार्डमाथि सन् २०१३ मा १८ वर्षीय युवक र सन् २०१५ मा एक २४ वर्षीय कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोग थियो। उनलाई एक गैरस्वीकृत यौन सम्पर्क र तीन अभद्र हमलाको अभियोगमा दोषी ठहर गरिएको छ। उनको सजाय सेप्टेम्बर २०२५ मा सुनाइने तय भएको छ, जसमा उनलाई अधिकतम १४ वर्षको जेल सजाय हुन सक्छ।

न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले वार्डको संसदमा बसिरहनु ‘हास्यास्पद’ भएको बताए। उनले भने, ‘गम्भीर यौन अपराधमा दोषी ठहरिएको व्यक्ति संसदमा बसेर तलब लिन सक्दैन। जेलबाट समुदायको प्रतिनिधित्व कसरी सम्भव छ?’ संसदका नेता रोन होनिगले वार्डको ढिलाइलाई ‘लज्जास्पद’ भन्दै उनको राजीनामालाई ‘१०७ वर्षमा पहिलो निष्कासनको तयारी’ बाट बचेको कदमको रूपमा टिप्पणी गरे।

वार्ड सन् २०११ देखि कियामाको सिटमा सांसद थिए, सुरुमा लिबरल पार्टीबाट र पछि स्वतन्त्रको रूपमा। यौन दुर्व्यवहारको आरोप लागेपछि सन् २०२२ मा उनलाई संसदबाट निलम्बन गरिएको थियो, तर सन् २०२३ मा उनलाई मतदाताले पुन: निर्वाचित गरेका थिए। उनले आफ्नो दोषविरुद्ध अपील गर्ने योजना बनाएका छन्। उनको राजीनामापछि कियामामा उपचुनावको मिति चाँडै तय हुने अपेक्षा गरिएको छ।

नागरिकको चियो गर्ने अधिकार सरकारलाई छैन: महामन्त्री शर्मा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले नागरिकको चियो गर्ने अधिकार नराख्ने बताएका छन्।

‘राष्ट्रिय गुप्तचर तथा अनुसन्धानसम्बन्धी विधेयक’को मस्यौदा सार्वजनिक भएपछि यसमाथि चौतर्फी विरोध भइरहेको सन्दर्भमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले यस्तो धारणा राखेका हुन्।

महामन्त्री शर्माले सरकारलाई नागरिकको आँगनसम्म पुग्ने अधिकार भए पनि ओछ्यानसम्म पुगेर अनुसन्धान गर्ने अधिकार नभएको स्पष्ट पारे।

उनले व्यक्तिको फोन संवाद सुन्ने र रेकर्ड गर्ने कार्यले व्यक्तिको गोपनीयताको हकको हनन हुने तर्क गरे। नागरिकलाई सुरक्षा दिने जिम्मेवारी पाएको सरकारले नै निगरानीको नियत राख्नु निन्दनीय भएको उनको भनाइ छ।

नेपालमा कानुनको दुरुपयोग र अपव्याख्या धेरै हुने गरेको उल्लेख गर्दै महामन्त्री शर्माले यस्ता कानुनलाई सत्ता र शक्तिमा बस्नेहरूले आफ्नो स्वार्थअनुकूल प्रयोग गर्ने जोखिम रहेको बताए। उनले जनतालाई स्पष्ट जानकारी दिएर मात्र यस्ता कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।

२०७६ सालमा पनि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यस्तै विधेयक ल्याउन खोज्दा चर्को विरोधपछि रोकिएको स्मरण गर्दै शर्माले अहिले पनि त्यही व्यक्ति प्रधानमन्त्री हुँदा यस्तो विधेयक ल्याउन खोज्नुलाई शंकाको दृष्टिले हेर्नुपर्ने आवश्यकता रहेको औंल्याए।

उनले भने, “सरकारले गर्ने कार्य संविधानप्रतिकूल र व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप हुने गरी हुनु बिल्कुलै स्वीकार्य हुँदैन।”

यस विधेयकले नेपालको संविधानको धारा १८ मा उल्लेखित गोपनीयताको हकको हनन गर्ने भन्दै अहिले यसको चौतर्फी विरोध भइरहेको छ।

खोज्नुहोस