आज साउनको अन्तिम सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

काठमाडौं : साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा आजा एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने,अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

विवाहित महिलाले श्रीमानको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य बरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने गरेको धार्मिक विश्वास छ।  वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि पशुपतिनाथ मन्दिरमा भीड लाग्छ । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाएका छन् ।

यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बमयात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायतबीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन् ।

भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महिनामा नदीबाट शुद्ध जल,गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एकपटक साउन महिनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ ।

अलजजीराका ५ पत्रकारको हत्या गरेकोमा प्रेस संगठनहरूले गरे इजरायलको निन्दा

एजेन्सी । इजरायलले अलजजीरा सञ्चारमाध्यममा आबद्ध पाँचजना पत्रकारको हत्या गरेपछि प्रेस संगठनहरूले भर्त्सना गरेका छन् । कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्सले यस आक्रमणको जवाफदेहिता वहन गर्न इजरायललाई आह्वान गरेको छ । त्यस्तै नेशनल प्रेस क्लबले घटनाको छानबिन गर्नका लागि आग्रह गरेको छ । उता फ्रीडम अफ प्रेस फाउन्डेशनले मिडियामाथि थप आक्रमण रोक्नका लागि अपील गरेको छ ।

अलजजीरा स्वयंले आफ्ना पाँच कर्मचारीको इजरायलले हत्या गरेको भनी निन्दा गरेको छ । गाजामाथि कब्जा गर्ने इजरायलको कदमलाई उजागर गर्ने आवाजहरूलाई दबाउने प्रयत्नका रूपमा अलजजीराले यस घटनालाई लिएको छ । इजरायलको सेनाले ताकेर नै पत्रकारहरूको हत्या गरेको हो । उसले त्यसको जिम्मेवारी पनि लिइसकेको छ । संवाददाताहरू अनस अल–शरीफ र मोहम्मद कुरेशीका साथै क्यामराम्यानहरू इब्राहिम जाहेर र मोआमेन अलिवा तथा उनीहरूका सहायक मोहम्मद नौफालको हत्या भएको हो ।

आइतवार साँझ गाजा शहरको अल–शिफा अस्पतालको मेन गेट बाहिर रहेको एउटा टेन्टमा बसिरहेको बेलामा ती पत्रकारहरूको हत्या भएको हो ।हत्या हुुनुभन्दा केही अघि पत्रकार अल–शरिफले गाजा शहरको पूर्वी र दक्षिणी भागमा तीव्र रूपमा बम प्रहार गरिरहेको भनी एक्स सामाजिक सञ्जालमा लेखेका थिए ।

उनको अन्तिम भिडियोमा इजरायलले भयंकर रूपमा क्षेप्यास्त्र प्रहार गरिरहेको ठूलो आवाज सुनिन्छ । त्यसपछि अँध्यारो आकाशमा सुन्तला रंगको प्रकाश फैलिएको पनि देखिन्छ । इजरायलले विगत दुई वर्षमा गाजामा चलाएको सैन्य कारवाहीमा कम्तीमा ६१ हजार ४३० जनाको मृत्यु भएको छ भने १ लाख ५३ हजार २ सय १३ जना घाइते भएका छन् । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणमा करिब ११ सय ३९ जनाको मृत्यु भएको थियो र २०० भन्दा मानिस बन्दी बनाइएका थिए ।

 

यू–२० महिला एशियन कप छनोट खेलेर नेपाली टोली स्वदेश फर्कियो

काठमाण्डौ – एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ । घर फर्किनुअघि नेपालले आइतवार समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११–० को पराकिलो हार बेहोरेको थियो ।

भूटानको थिम्पुमा रहेको चाङलिमिथाङ स्टेडियममा हिजो भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको थियो । छनोटमा नेपालले ३ खेल खेलेर ४ अङ्कमात्रै जोड्न सक्यो ।

नेपालले पहिलो खेलमा भूटानसँग १–१ को बराबरी खेल्दा दाेस्राे खेलमा साउदी अरेबियासँग १–० ले विजयी भएको थियो । नेपाल रहेको समूहबाट सबै ३ खेल जितेको उत्तर कोरिया ९ अङ्कका साथ समूह विजेता बनेर अर्को वर्ष थाइल्यान्डमा हुने एशियन कपमा छनोट भयो ।

रविलाई भेट्न कारागार पुग्यो मानव अधिकार आयोगको टोली

रूपन्देही । राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार आएको छ ।

आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली कारागारको अनुगमनमा आएको हो ।

कारागारको ब्लक नम्बर ४ मा रहेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सुविधा र बसाइ व्यवस्थापनको विषयमा केही दिनयता विभिन्न समाचार आइरहेको बेला आयोगको टोली कारागार आएको हो ।

टोलीसँग पुगेका पत्रकारलाई भने सुरक्षाकर्मीले प्रवेशमा रोक लगाए ।

रवि लामिछानेको मुद्दा न्यायाधीश सापकोटाको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदन पेसीमा तोकिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा लामिछानेको पेसी चढेको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले १९ साउनमा आफूलाई जमानत लिएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए ।

लामिछानेले बिगोबापतको २ करोड ७४ लाख ८४ हजार दाखिला गरिदिएको बताएका छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।  त्यसयता उनी भैरहवा कारागारमा छन् ।

उनले निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई यही ऐनको दफा ७१ बमोजिम थुनामुक्त गर्न आदेश माग गरेका छन् । ६८ मा अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्न सक्ने व्यवस्था छ । दफा ७१ मा कारबाहीको जुनसुकै अवस्थामा पनि थुनामा वा जमानतमा राख्न सकिने भन्ने व्यवस्था छ ।

दफा ७१ (१) मा भनिएको छ- ‘मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए तापनि अदालतले प्रमाण बुझ्दै जाँदा अभियुक्तलाई अवस्था अनुसार दफा ६७ बमोजिम थुनामा राख्न वा दफा ६८ बमोजिम निजसँग धरौटी, जमानत वा बैंक जमानत माग्न सक्नेछ र सुरुमा पुर्पक्षका लागि अभियुक्तलाई थुनामा नराखेको वा निजसँग धरौटी, जमानत वा बैंक जमानत नलिएको कारणले मात्र पछि निजलाई थुनामा राख्न वा निजसँग धरौटी, जमानत वा बैंक जमानत माग्न अदालतलाई बाधा परेको मानिने छैन ।’

सोही दफाको उपदफा (२) मा ‘६७ वा ६८ बमोजिम थुनामा परेको कुनै अभियुक्त कसुरदार होइन भन्ने प्रमाणित हुन सक्ने कुनै मनासिब आधार प्राप्त हुन आएमा मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए पनि त्यस्तो विषयमा सुनुवाइ गरी अदालतले थुनाबाट छोड्ने आदेश दिन सक्नेछ’, भनी उल्लेख छ ।

युएनएद्धारा नागरिकताको निरन्तरताको लागि दवावमूलक अभियान सञ्चालन

न्यूयोर्क, १० जुलाई
युनाईटेड नेपाली एशोसियसन(युएनए) ले विदेशमा बस्ने नेपालीहरुको नागरिकताको निरन्तरताको अधिकार गर्न देशव्यापी रुपमा दवावमूलक अभियानको शुरुवात गरेको छ ।

अमेरिकामा बस्ने नेपालीहरुको साझा संगठनका रुपमा स्थापना भएको युएनएले प्रवासी नेपालीहरुको नागरिकताको निरन्तरता र अन्य साझा मुद्दामा नेपालीका अन्य संघसंस्थासंग सहकार्य गर्दै आएको छ ।

नागरिकताको निरन्तरताको अधिकारका लागि शुरु गरिएको अभियानको एक सातामा प्राप्त सकारात्मक प्रतिक्रियाले युएनए उत्साही भएको संस्थाका प्रवक्ता पवन योञ्जनद्धारा जारी गरिएको बिज्ञप्तिमा जनाएको छ ।

युएनए नेपालीहरुको नागरिकताको निरन्तरताको अधिकार र साझा हीतका लागि दीर्घकालीन, सकारात्मक र सशक्त प्रभावका लागि सक्रिय छ, बिज्ञप्तिमा भनिएको छ, साझा प्रयत्न र एकता मार्फत अझ ठूलो परिवर्तन संभव छ । त्यसका लागि हामी साझा उद्देश्य बोकेका अन्य संघसंस्थासंग सहकार्य र हातेमालोका लागि सधै तत्पर छौ ।

ड्यालसमा नेपाल विद्युत प्राधिकरणका पूर्व सिईओ कुलमान घिसिङ, भर्निजियामा राप्रपाका प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीसंग गरिएको अन्तरक्रियामा उहाँहरु प्राप्त समर्थनले युएनएद्धारा शुरु गरिएको अभियानमा उत्साह थपेको छ ।

नारामा एक पटकको नेपाली सधैको नेपाली भनिएपनि विदेशमा बस्ने नेपालीहरुलाई नागरिकताको अधिकार र एउटा नागरिकका रुपमा प्राप्त हुने सुविधामाथि नेपाल सरकारले अंकुश लगाउन खोजिरहेको युएनएका अध्यक्ष भक्त बहादुर भण्डारीले आशंका गरे । उनले भने, विदेशमा बस्ने नेपालीहरुको अधिकार खोस्ने दुस्प्रयत्नका विरुद्ध सबै एकढिक्का हुन आवश्यक छ ।

विदेशमा रहेका नेपालीहरुले संविधानमै संविधानमै हकहीत र अधिकार सुनिश्चितताका लागि सरकारलाई दवाव दिन आवश्यक भएको भण्डारीले बताए ।

उनले युएनएले सञ्चालन गरिरहेको अभियानमा साथ, सहयोग र समर्थनका लागि विदेशमा रहेका नेपालीहरुसंग आग्रह गरे ।

अनेसास अफ्रिकाको नयाँ कार्यसमिति चयन, अध्यक्षमा भट्ट निर्विरोध

नैरोबी , केन्या ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशीय च्याप्टरको आईतवार सम्पन्न तेस्रो साधारणसभाबाट केन्याका कृष्णदत्त भट्ट निर्विरोध रुपमा अध्यक्षतामा निर्वाचित भएका छन् ।

भट्टको अध्यक्षतामा सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा पासाङ शेर्पा गोपर्मा (तान्जानिया), महासचिवमा रामचन्द्र राई (आर.सी. राई) (सेसेल्स), कोषाध्यक्षमा तिर्सना कोईराला (रुवाण्डा), सचिवमा भरत रिजाल (नाइजेरिया) र सदस्यहरुमा सागर भण्डारी (केन्या), गंगा बस्याल (केन्या), महेन्द्र भट्टराई (सेसेल्स) , बिकास सुवेदी (घाना) , युनेश घिमिरे (क्यामरुन) र गायत्री कुलुङ (सेसेल्स) चयन भएका छन ।

त्यस्तै संस्थाको सल्लाहकार समितिमा इजिप्टका लागि नेपाली राजदूत सुशील कुमार लम्साल, हिक्मत थापा, गणेश खडका, कुल कार्की र मनोज विक रहेका छन् ।

भर्चुअल रुपमा सम्पन्न अधिवेशनमा अनेसास अन्तर्राष्ट्रिय समितिका सल्लाहकार हिक्मत थापा प्रमुख अतिथि अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष गणेश खडका विशिष्ट अतिथि रहेका थिए ।

कृष्णदत्त भट्टको सभापतित्वमा संचालन भएको अधिवेशनले समितिको वार्षिक प्रकाशन किलिमन्जारो नियमित प्रकाशन गर्ने र अनेसासको प्रथम अफ्रिका साहित्य सम्मेलन आयोजना गर्ने योजना बनाएको छ ।

अधिवेशनमा आरसी राईले गत कार्यकालको प्रगती विवरण र तिर्सना कोइरालाले आर्थिक विबरण प्रस्तुत गरेका थिए ।

४० घण्टापछि कैलाली कारागार प्रहरीको नियन्त्रणमा, भित्र पुग्यो प्रहरी

धनगढी, २५ साउन ।

कैदीबन्दीबीचको झडपको झण्डै ४० घण्टापछि कैलाली कारागारमा प्रहरीले नियन्त्रण कायम गरेको छ । झडपपछि कैदीबन्दीहरुको अवरोधका कारण भित्र पस्न नपाएको प्रहरीको टोली ४० घण्टापछि कारागार भित्र पसेको छ ।

शुक्रबार राति कैदीबन्दीबीच झडप हुँदा १ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए । तीमध्ये एक जनालाई थप उपचारको लागि काठमाडौं लगिएको छ ।

घट्नापछि शनिवार बिहान कारागार हाताभित्र पुगेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालसहित सुरक्षा प्रमुखहरुको टोली कैदीबन्दी रहेको ब्लकभित्र प्रवेश गर्न खोजेको थियो । ब्लकको प्रवेशद्धारमा ग्याँस सिलिण्डर र प्रेसर कुकर राखेर अवरोध सृजना गरेका कैदीबन्दीहरुले सुरक्षा अधिकारीहरुलाई भित्र प्रवेश गर्न दिएनन् ।

कारागार प्रवेश गरेका उनीहरू घटनास्थल जान नसकेपछि फर्किएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय गएर सुरक्षा समितिको बैठक बसेर १० दिनभित्र प्रतिवेदन बुझाउने गरी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति बनेको थियो ।

बिहान जिल्ला सुरक्षा समिति घटनास्थलमा नपुगी फर्किएको थियो भने दिउसो राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरू भेट्न नपाएर फर्किएको थियो । राति भने उनीहरूले भेटेका थिए । तर, कैदीबन्दीहरुले प्रहरी प्रशासनलाई भने आउन नदिने बताएका थिए ।

माथिल्लो तहबाट कोही आएपछि मात्रै यहाँ आउनु होला नत्र नआउनु होला कारागारको व्यवस्थापन सुधार गर्नुपर्ने छ उनीहरूले भनेका थिए । आइतबार दिउसो मानवअधिकार आयोगकै टोलीसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठुलो टोली हतियारसहित घटनास्थल प्रवेश गरेको थियो ।

तनावग्रस्त बनेको कारागार भित्र ४० घण्टा पछि प्रहरी पुगेर कैदीबन्दीको सङ्ख्या पुनः गणना गरिएको छ ।

मानव अधिकार आयोगका प्रतिनिधिसँगै कारागार प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थितिमा थुनुवा कक्षमा प्रवेश गरी कैदीबन्दीको सङ्ख्या यकिन गरिएको हो ।

तनावपछि कैदीबन्दीको सङ्ख्यामा अन्योल भएको आइतबार मानव अधिकार आयोग धनगढी कार्यालयको रोहवरमा हतियारसहितका सुरक्षाकर्मी प्रवेश गरेका थिए ।

गणनाअनुसार पुरुष राखिएको ब्लक ए मा ३९६ जना, ब्लक बी मा १९८, महिला ब्लकमा ५७ जना रहेका छन् ।

शनिवारको झडपमा घाइते भएकाहरूको सङ्ख्या ४८ रहेको कारागार प्रशासनले जनाएको छ । प्रशासनका अनुसार शनिवार एक जनाको मृत्यु भएको समेत गरी कारागारमा ७०० जना कैदीबन्दी थिए । आइतबार गणना गर्दा सङ्ख्यामा तलमाथि नदेखिएको पाइएको छ ।

शुक्रबार दिवाल भत्काएर कुटपिट गरिएको बताइएको थियो । आइतबार अनुगमनमा उक्त दिवाल पुन निर्माण गरिएको मानव अधिकार आयोगका प्रदेश प्रमुख प्रकाश भट्टले जानकारी दिए । यसअघि कैदीबन्दीले थुनुवा कक्षमा भित्रबाट लक गरेर कसैलाई प्रवेश गर्न दिएका थिएनन् ।

माल्टामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु

युरोपियन मुलुक माल्टामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ। आइतबार सडक दुर्घटनामा परी स्थायी ठेगाना म्याग्दीका खिमबहादुर पुनको मृत्यु भएको एनआरएनए एनसिसी माल्टाले आफ्नो आधिकारिक फेसबुक फेजमार्फत जानकारी गराएको छ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको एनआरएनए एनसिसी माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिए।  एनआरएनए एनसिसी माल्टाले शव नेपाल पठाउनका लागि आर्थिक सहयोग जुटाउन सुरू गरेको समेत जनाएको छ।

अध्यक्ष खनालले शव नेपाल ल्याउन चार हजार ५०० देखि ६ हजार ५०० युरोसम्म खर्च लाग्ने बताए। ‘यहाँबाट शव नेपाल पठाउन त्यति सहज पनि छैन। सामान्य अवस्था हुँदा कम्तीमा एक हप्ता लाग्छ। यस्तो जटिल केसमा अनुसन्धानकै लागि समय लाग्छ, जसले गर्दा शव नेपाल पठाउन पनि समय लाग्छ,’ उनले भने।

रिलायन्स जिओ संसारको सबैभन्दा ठुलो टेलिकम कम्पनी बनेको भन्दै मुकेश अम्बानीले गरे झुटो दाबी

काठमाडौँ । अर्बपति मुकेश अम्बानीले आफ्नो टेलिकम कम्पनी रिलायन्स जिओ संसारकै सबैभन्दा ठुलो दूरसञ्चार सेवा प्रदायक बनेको भन्दै झुटो दाबी गरेका छन् । ४८ करोडभन्दा बढी ग्राहकसँगै जिओ विश्वको सबैभन्दा ठुलो डेटा नेटवर्क बनेको भन्दै उनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको जानकारी भ्रामक देखिएको हो ।

जब कि चाइना मोबाइलले जुन २०२५ सम्ममा फाइभजी नेटवर्कमा मात्रै ५९ करोड ९० लाख ग्राहक रहेको जनाएको छ । उसको कूल ग्राहक आधार एक अर्ब ५० लाख रहेको उल्लेख छ ।

 

स्रोतः चाइना मोबाइलस्रोतः चाइना मोबाइल

 उता रिलायन्स जिओको फाइभजी नेटवर्कमा १९ करोड १० लाख प्रयोगकर्ता छन् । पछिल्लो समय जिओ भारतको केन्द्र सरकारको इन्डिया एआई इनिसिएटिभमा समेत काम गरिरहेको छ । साथै, स्याटलाइट कम्युनिकेसन र सिक्सजी प्रविधिमा पनि जिओ अग्रसर बनेको छ ।

गत बिहीबार मात्रै जिओको स्वामित्व रहेको रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले सन् २०२४/२५ को वार्षिक प्रतिवेदनमा जिओ विश्वकै सबैभन्दा ठुलो टेलिकम अपरेटर बनेको दाबी गरेका छन् ।

स्रोतः रिलायन्स इन्डस्ट्रिज लिमिटेडको एकीकृत वार्षिक प्रतिवेदन (२०२४-२५)स्रोतः रिलायन्स इन्डस्ट्रिज लिमिटेडको एकीकृत वार्षिक प्रतिवेदन (२०२४-२५)

यद्यपि भारतमा जिओले आक्रामक ढङ्गमा फाइभजी प्रयोगकर्ता विस्तार गर्न सफल भइरहेको छ । गत वर्षको जुलाईमा सेवा प्रदायकहरूले डेटाको मूल्य वृद्धि गरेपनि जिओको डेटा खपतमा खासै असर परेको छैन ।

जिओसँगै उसको प्रमुख प्रतिस्पर्धी भारती एयरटेलले भारतभर व्यावसायिक रूपमा फाइभजी सेवा दिइरहेको छ । फाइभजीसँगै यी अपरेटरहरूले फिक्स्ड वायरलेस एक्सेस (एफडब्लूए) र उच्च गतिको मोबाइल डेटा उपलब्ध गराइरहेका छन् । भोडाफोनले भने भारतका १७ सहरहरूमा फाइभजी नेटवर्क उपलब्ध रहेको जनाएको छ ।

जिओको नेटवर्क भारतका १ करोड ८० लाख घरहरूमा पुगिसकेको छ । जिओको फाइभजी एफडब्लूए सोलुसनको रूपमा जिओ एयर फाइबर भारतीय घरहरूमा पुगिरहेको छ ।

यस्तै, प्रतिवेदनअनुसार ३१ मार्च २०२५ सम्म जिओको डेटा खपत १८५ एक्साबाइट पुगेको छ । जिओको डेटा ट्राफिक मासिक १७ एक्साबाइट छ । वायरलेस डेटा ट्राफिकमा जिओको हिस्सा ६० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

स्विडिस टेलिकम उपकरण निर्माता एरिक्सनले भारतमा फाइभजी सब्स्क्रिप्सन सन् २०३० सम्ममा ९७ करोड पुग्ने प्रक्षेपण गरेको छ ।

कैलाली कारागार तनाव कैदीबन्दीको संख्या यकिन गर्न धमाधम गणना

धनगढी । तनावग्रस्त कैलाली कारागारमा रहेका कैदीबन्दीको संख्या यकिन गर्न गणना थालिएको छ।शनिबारमात्रै कारागारको जिम्मेवारी सम्हालेका जेलर जालन्धर भुसालले प्रत्येक कैदीलाई बोलाएर संख्या गणना गर्न थालेका हुन् ।

कारागार स्रोतका अनुसार, अहिले धमाधम कैदीबन्दीको संख्या यकिन गर्ने काम भइरहेको छ ।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार, प्रत्येकको अनुहार हेर्दै जेलरको नेतृत्वमा कैदीबन्दीको गणना भइरहेको हो ।

कारागारमा हिंसात्मक झडप भएपछि शुक्रबार राति एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका छन् ।घटना भएको ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन । सो क्रममा आइतबार दिउँसो २ बजेपछि कैदीबन्दीको संख्या यकिन गर्नका लागि प्रशासन सक्रिय भएको हो ।

भित्रको स्थिति तनावग्रस्त भएपछि कैदीबन्दीका आफन्तहरू कारागार परिसरमा पुगेर सोधखोज गरिरहेका छन् ।

कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएकाले प्रहरी समेत भित्र जान पाएका छैनन्।स्रोतका अनुसार, गृह मन्त्रालय वा कारागार विभागबाटै प्रतिनिधिहरू आएपछि मात्रै थुनुवा कक्ष खोल्ने भनेर उनीहरूले बताइरहेका छन् ।

कारागार भित्रको अवस्थाबारे तथ्यगत विवरण सार्वजनिक हुन सकेको छैन ।विभिन्न कसुरमा सजाय काटिरहेका कैदीबन्दीका आफन्त समेत कारागार भित्र झडप भएको खबरले चिन्तित देखिएका छन् कारागार प्रशासनले उनीहरूलाई गेटबाहिरै रोकेको छ ।१५० जना क्षमताको कैलाली कारागारमा करीब सात सय जनालाई राखिएको छ ।क्षमताभन्दा धेरै कैदीबन्दी एकै ठाउँ राख्दा कैलाली कारागारमा पटकपटक तनाव हुँदै आएको छ ।

सामान्य प्रशासन मन्त्रालयले ‘गुनासो व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्यायो

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नागरिकको गुनासो सुन्न र समाधान गर्न ‘गुनासो व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवं नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासाको सुनुवाइ तथा समाधान गर्ने इकाईको रुपमा सो केन्द्र सञ्चालनमा ल्याइएको हो ।

सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले गुनासो व्यवस्थापन केन्द्रले सेवाग्राहीलाई तत्काल प्रतिक्रिया दिने र प्रक्रियागत ढिलाइ हटाउनेमा केन्द्रित भएर नयाँ प्रणाली लागू गरिएको जानकारी दिइन् ।

उनले भने, ‘नागरिकका गुनासा सुन्ने र तत्काल समाधान गर्ने कामलाई अब औपचारिक र प्रणालीगत बनाइयो । यसबाट नागरिकको भरोसा बढ्नेछ ।’

गुनासो व्यवस्थापन केन्द्रले मन्त्रालयको कार्यक्षेत्र र कार्यसम्पादनसँग सम्बन्धित विषयका गुनासाहरु व्यवस्थापन गर्न गुनासो व्यवस्थापन इकाईको रुपमा कार्य गर्नेछ ।

गुनासो व्यवस्थापन गर्न उपसचिवको नेतृत्वमा कर्मचारी रहने गरी जिम्मेवारी तोकिएको छ ।

केन्द्रले गुनासाहरुको सङ्कलन, वर्गीकरण र सम्बोधन गर्नेछ । केन्द्रमा रहने कर्मचारीहरुले सेवाग्राहीबाट प्राप्त गुनासा अध्ययन र वर्गीकरण गर्नेछन् ।

कुनै निर्धारित विधि र प्रक्रिया पूरा गर्नुनपर्ने सामान्य प्रकृतिका सूचना वा जानकारी दिनुपर्ने वा स्पष्ट गर्नुपर्ने किसिमका गुनासा भए गुनासो सहजकर्ताले तत्कालै सम्बोधन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

केन्द्रमा रहने कर्मचारीहरुले तत्कालै सम्बोधन गर्न नसक्ने प्रकारको गुनासा भए समाधानका लागि सम्बन्धित शाखामा पठाउने र सम्बन्धित शाखाले तत्काल सम्बोधन गर्न सम्भव हुने गुनासा शाखा प्रमुखबाट तत्कालै सम्बोधन हुनेछ ।

शाखा प्रमुखले तत्काल सम्बोधन गर्न नसक्ने गुनासा सम्बन्धित महाशाखा प्रमुखसँग छलफल गरी तीन दिनभित्र सम्बोधन गर्ने र सम्बन्धित महाशाखा प्रमुखबाट सम्बोधन हुन नसक्ने प्रकृतिका गुनासा महाशाखा प्रमुखले आवश्यकताअनुसार अन्य महाशाखा प्रमुख र मन्त्रालयका सचिवसँग समन्वय गरी सात दिनभित्र सम्बोधन हुनेछ ।

नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने प्रकृतिका गुनासाहरु सम्बन्धित महाशाखा प्रमुखको प्रस्तावमा मन्त्रालयको उच्च व्यवस्थापन समूहको वैठकमा छलफल गरी निर्णय भए बमोजिम मन्त्रीस्तरीय निर्णयबाट एक महिनाभित्र सम्बोधन गरिने व्यवस्था मिलाइएको छ ।

गुनासो व्यवस्थापन केन्द्रमा गुनासो सहजकर्ताहरु उपसचिव भुपेन्द्र सापकोटाको संयोजकत्वमा शाखा अधिकृत लोकबहादुर लामा र नायव सुब्बा नवराज पराजुली रहनुभएको मन्त्रालयले जानकारी दिएको छ ।

आफ्नै देशमा जानकी जन्मिएको भारतको दाबी

काठमाडाैँ । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले शुक्रबार बिहारको सीतामढी जिल्लास्थित पुनौरा धाममा जानकी मन्दिरको पुनर्विकास परियोजनाको शिलान्यास गरेका छन् । जुन क्षेत्रलाई भारतले माता जानकीको जन्मस्थल मान्दै आएको छ ।

भारतको राज्य मन्त्रिपरिषद्ले जुलाई १ मा मन्दिर परिसरको एकीकृत विकासका लागि ८८२ दशमलव ८७ करोड रुपैयाँ बजेट अनुमोदन गरेको थियो ।

अधिकारीहरूका अनुसार कुल रकममध्ये १३७ करोड रुपैयाँ भारु पुरानो मन्दिर र यसको परिसरको विकासमा खर्च गरिनेछ भने ७२८ करोड रुपैयाँ पर्यटनसँग सम्बन्धित गतिविधिहरूमा प्रयोग गरिनेछ ।

केन्द्रीय मन्त्रीहरू गिरिराज सिंह र चिराग पासवानले केन्द्रीय गृहमन्त्री शाह र बिहारका मुख्यमन्त्री नीतिश कुमारद्वारा सीतामढीको उक्त धाममा जानकी मन्दिरको निर्धारित शिलान्यास समारोहलाई ‘ऐतिहासिक’ भन्दै प्रशंसा पनि गरे ।

पत्रकारहरूसँग कुरा गर्दै भारतीय गृहमन्त्री सिंहले सिंहले भने, ‘गत वर्ष सीतामढीको भूमिमा केन्द्रीय गृहमन्त्री अमित शाहले भन्नुभएको थियो, जसरी राम मन्दिर निर्माण भयो, अब सीता माताको मन्दिर पनि बन्नेछ । केन्द्रीय गृहमन्त्री अमित शाह र बिहारका मुख्यमन्त्री नीतिश कुमारले मन्दिरको भूमि पूजन गर्नुहुनेछ । यो ऐतिहासिक हो ।’

मन्त्री पासवानले पनि यस कदमको स्वागत गर्दै यस पहललाई लामो समयदेखिको सपनाको पूर्ति र राज्यमा धार्मिक पर्यटनलाई बढावा दिने एक प्रमुख कदमको रूपमा वर्णन गरेका थिए ।

मन्दिर पुनर्विकासबारे गृहमन्त्री शाहले शनिबार एक्समा भिडियो पोस्ट गर्दै लेखेका छन् – ‘हिजो, मलाई बिहारको सीतामढीमा रहेको माता सीताको जन्मस्थल पुनौरा धाममा रहेको भव्य र दिव्य मन्दिरको भूमिपूजन गर्ने सौभाग्य मिल्यो ।’

उनले सीतामढी दिल्ली अमृत भारत एक्सप्रेस रेलको पनि भर्चुअल रूपमा पनि झण्डा देखाएर शुभारम्भ गरेका थिए ।

भारत सरकारले बिहारस्थित पुनौरा धामलाई जानकीको जन्मस्थलको रूपमा मान्यता दिन थालेको यकिन मिति तथा ऐतिहासिक सरकारी निर्णय दस्ताबेजमा उल्लेख छैन । तर पछिल्ला केही दशकमा बिहार सरकारले यो मान्यतालाई मजबुत रूपमा अघि सारेको छ ।

खासगरी भारतले सन् २०२३ तिर यो स्थललाई जोडतोडका साथ जानकीको जन्मथलो मान्दै यस स्थानको उन्नयन र पुनर्विकासमा नाममा बजेट खर्चिँदै आइरहेको छ । यद्यपि पुनौरा धामलाई भारतले रामायण सर्किटअन्तर्गत भने समावेश गर्ने निर्णय गरेको थियो ।

भारतको यस कदमले नेपालको जनकपुरधामस्थित जानकी मन्दिर र यसको ऐतिहासिक पक्षलाई भने खुला चुनौती दिइरहेको छ ।

नेपाल उत्तर कोरियासँग ११-० गोलले पराजित

काठमाडौं : एएफसी एसियन कप छनोटको अन्तिम खेलमा उत्तर कोरियासँग पराजित भएको छ। भुटानको थिम्पुस्थित चाङ्लिमिथान स्टेडियममा भएको खेलमा नेपाल उत्तर कोरियासँग ११-० गोलले पराजित भएको हो।

पहिलो हाफमा ५-० गोले पछि परेको नेपालले दोस्रो हाफमा ६ गोल व्यहोर्‍यो। नेपालविरुद्ध उत्तर कोरियाकी जर्सी नम्बर १० हो कोयोङले ५ गोल गरिन्। पहिलो हाफको ५ वटै गोल हो को नाममा रह्यो। उनीसँग जर्सी नम्बर २० की चोइ चोङ् गमले पनि ह्याट्रिक पूरा गरिन्। दोस्रो हाफको ४८औं मिनेटमा कप्तान पाक ओकेले कोरियाका लागि छैटौं गोल गरिन्।

सातौं गोल खेलको ५४ औं मिनेटमा चोइ चोङ गमले गरिन्। ८८औं मिनेटमा नेपालले आठौं गोल खायो। थप गरिएको पहिलो मिनेटमा जर्सी नम्बर २० चोइले व्याक्तिगत दोस्रो र कोरियाको लागि नवौं गोल गरिन्। उनले थप गरिएको छैटौं मिनेटमा चोइले ह्याट्रिक पूरा गरिन्। यो उत्तर कोरियाको लागि १०औं गोल थियो। थप गरिएको अन्तिम मिनेटमा बक्स अन चोङले ११औं गोल गरिन्।

योसँगै आयोजक भुटानलाई दोस्रो स्थानमा आउन आज साउदी अरेबीयालाई पराजित गर्नुपर्ने हुन्छ। भुटान साउदीसँग बराबरीमा रोकिएको खण्डमा या साउदी अरेबीयाले भुटानलाई हराएको खण्डमा नेपाल दोस्रो स्थानमा रहँदै पुनः क्वालिफर्यसमा रहेर एसियन कप खेल्ने सम्भावना बाँकी रहन्छ।

तीन पटकको विश्वकप विजेता र २ पटकको एसियन च्याम्पियन उत्तर कोरिया पहिलो खेलमा साउदी अरेबीयालाई १५ र आयोजक टिम भुटानलाई १० गोल प्रहार गर्दै एसियन कपको लागि छनोट भएको हो।

अध्यक्षले एकोहोरो प्रवचन दिनु भयो, समस्यामा प्रवेश नै गर्नु भएन : झलनाथ

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानि नेता झलनाथ खनालबीच शनिबार पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको छ।

केही सातायता दुईजना नेताबीच जुहारी चलिरहेको छ । खनालले कार्यशैलीबारे प्रश्न उठाउँदा नेपालले निस्केर जानसमेत भनिसकेको छन् ।

खनालले २०७८ भदौमा नेकपा एमालेबाट छुट्टिएर बनेको समाजवादीले अहिलसम्म आफ्नो औचित्य पुष्टि गर्न नसकेको बताइरहेका छन् ।

यस्तोमा अध्यक्ष नेपालले भने समाजवादी निर्माणको औचित्य पुष्टि भइसकेको, केपी ओलीले गरेको संसद् विघटन पनि बदर भएको बताउँदै खनालले जथाभावी बोलेको आरोप लगाइरहेका छन् ।

अध्यक्ष नेपालले खनाललाई एमालेमै फर्किएर केपी शर्मा ओलीको सेवा गर्न भनिरहेका छन् । उता खनालले पनि संकिर्णता बोकेर पार्टी नचल्ने बताउँदै नेतृत्व छाड्न नेपाललाई भनिरहेका छन् ।

दुई नेताबीचको विवादले पार्टीमा कलह बढेर फुटको अवस्थामा पुगेपछि दोस्रो तहका नेताहरू सक्रि भएका हुन् । शनिबार दोस्रो तहका नेताहरू राजेन्द्रप्रसाद पाण्डे, प्रमेश हमाल र घनश्याम भुसालले यी दुई नेतालाई आलोकनगरमा भेट गराए । पार्टी केन्द्रीय कार्यालयमा भएको भेटपछि खनालले आफू खिन्न भएको टिप्पणी गरे ।

नेपालप्रति आगो ओकलिरहेका खनालले अध्यक्षसँग भेट्नु नै ठूलै उपलब्धि भएको बताएका छन् । उनले नेपालसँगको भेटबारे कटाक्ष गर्दै यसैलाई आफूले ठूलो उपलब्धि ठानेको पनि उल्लेख गरेका छन् । आलोकनगर भेटमा अहिले पार्टीमा देखिएको समस्या समाधानका लागि अध्यक्ष नेपालले कुनै कुरा नगरेको पनि खनालले बताएका छन् ।

‘आलोकनगरमा गएर अध्यक्षसँग भेट्दा सामान्य गफगाफबाहेक केही पनि भएन । उहाँलाई मैले केही कुरा सोधेँ, त्यसपछि उहाँलाई लागेको कुरा लम्बेतान सुनाउनु भयो’, उनले भने, ‘उहाँले पार्टीमा देखिएको समस्या समाधानबारे कुरै गर्नु भएन। उहाँका कुरा सुनेर नै मैले ४० मिनेट बिताएँ । उहाँका कुरा एकोहोरो सुनाएर जानकपुरतिर जानु भयो ।’

अध्यक्ष नेपालले भेटमा फेरि बसे‍र अझै कुरा गर्ने बताएको पनि खनालले जानकारी दिए । खनालले भेटलाई नै ठूलो उपलब्धिका रुपमा व्याख्या गरे । दुईजनाबीच छलफल गर्दै, करा गर्दै, मन माझामाझ गर्दै जाने दिशामा कुरा भएको पनि खनालले बताएका छन् ।

समाजवादीमा देखिएको तीव्र विवादबीच भर्खरै तेस्रो वरीयतासहित प्रवेश गरेका वामदेव गौतम तानातानमा परेका छन् । जिम्मेवारी नदिएर समस्यामा पारेको गुनासो गरिरहेका वामदेव र झलनाथबीच शनिरबा डल्लुमा संवाद भएको छ । अध्यक्ष नेपालसँगको तानातानबीच खनालले गौतमलाई बोलाएर भेट्नुलाई अर्थपूर्ण भनिएको छ।

भूटानमा हुने साफ यू–१७ महिला च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

काठमाण्डाै – भूटानमा हुने १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज २३ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली युवा टोलीको गोलकिपरमा झरना डुम्रकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ छन् । यस्तै डिफेन्डरमा दीक्षा रायमाझी, सम्झना चन्द, एलिजाकुमारी बिके, ग्यान्शु डोल्मा लो, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ र अन्शु बिके छन् ।

टाेलीकाे मिडफिल्डरमा दिकी स्याङ्बो तामाङ, कृतिका तामाङ, रबिना बिके र सहारा लिम्बु छन् । यस्तै विङ्गरमा बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सृजना बडुवाल रहेका छन् । यस्तै फरवार्डमा अस्मिता मगर, यामकुमार बिके, अनिता राना मगर र दीक्षा रनपाल रहेका छन् ।

१७ वर्षमुनिको साफ महिला च्याम्पियनशिप आउँदो अगस्ट २० देखि ३१ सम्म भूटानमा हुँदैछ । प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी हुनेछन् । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

क्रिकेटर ललित राजवंशीकी आमाको निधन

विराटनगर- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित नारायण राजवंशीकी आमा सरलाको आइतबार निधन भएको छ।

सरलाको आइतबार बिहान विराटनगरस्थित निवासमै निधन भएको हो । ६३ वर्षीया उनी केही समयदेखि मुटुको रोगकी बिरामी रहँदै आएकी थिइन् । उनको स्वास्थ्य अवस्था केही सातादेखि नाजुक बनेको थियो।

आमाको निधनको खबर पाएलगत्तै काठमाडौंमा रहेका क्रिकेटर ललित विराटनगर आइपुगेका छन्।

आमाको निधनको खबर पाएपछि उनले भावुक हुँदै इन्स्टाग्राममा एउटा पोस्ट लेखेका छन् । ललित शुभो राजवंशीका तीन छोरा र एक छोरीमध्ये कान्छा हुन्।

क्रिकेट संघ अफ नेपाल (क्यान) ले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

सरला राजवंशी आफ्नो जीवनकालमा सामाजिक तथा धार्मिक कार्यमा सक्रिय रहँदै आएकी थिइन्। उनी श्रीमान्, दुई छोराछोरी र नातिनातिनीसहितको परिवारसँग थिइन् ।

पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु, हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण रहेको प्रहरीले बताएको छ ।

उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले बताए । काभ्रेको बनेपा नगरपालिका-९ का राम शाही नाम गरेका व्यक्तिको शवबाट मासु र हड्डी निकालेको आफन्तले आरोप लगाएका छन् ।

शव जलाउने काम गर्ने ती ब्राम्हणविरुद्ध आफन्तले प्रहरीमा निवेदन दिएपछि नियन्त्रणमा लिइएको हो ।घटनाबारे अनुसन्धान सुरु भएको छ । आफन्तले मासु र हड्डी बेच्ने गरेको आरोप लगाए पनि किन्ने को हो, कतिमा बेचे भन्ने केही खुलेका छैनन् । जसकारण अहिल्यै आरोप पुष्टि हुने खालेका प्रमाणहरू नरहेको प्रहरीको भनाइ छ ।

सबैका लागि नि:शुल्क उपलब्ध जीपीटी-फाइभमा खास के छ ?

काठमाडौँ । च्याटजीपीटी निर्माता ओपनएआईले हालै आफ्नो नयाँ लार्ज ल्याङ्ग्वेज मोडेल ‘जीपीटी-फाइभ’ ल्याएको छ । योसँगै एआईको दुनियाँमा अर्को बहस सिर्जना गरेको छ । कम्पनीले यो मोडेलले कोडिङ, लेखन जस्ता क्षेत्रमा पीएचडी-स्तरको विशेषज्ञता दिनसक्ने दाबी गरेको छ ।

एडभान्स्ड एआई च्याटबट बनाउने दौडमा अहिले ओपनएआई, गुगल, एक्सएआई, एन्थ्रोपिक जस्ता कम्पनीहरूबिच कडा प्रतिस्पर्धा चलिरहेको छ । यही प्रतिस्पर्धाको दौरान आएको जीपीटी-फाइभले प्रयोगकर्ताका लागि केही नयाँ र सुधारिएका सुविधा ल्याएको छ । तर केही विज्ञहरूले यसलाई अघिल्ला संस्करणहरूभन्दा ठुलो छलाङ नमानी केवल चर्चामा रहिरहने प्रयासको रूपमा हेरेका छन् । वास्तवमा जीपीटी-फाइभ मा के-के छन् त नयाँ सुविधा ? आज हामी यसैबारे चर्चा गर्दैछाैँ:

सबैका लागि निःशुल्क, प्रिमियम सदस्यलाई धेरै सुविधा

ओपनएआईले जीपीटी-फाइभ सबै प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध गराएको छ । जसलाई साप्ताहिक रूपमा ७० करोड प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् । यद्यपि, निःशुल्क संस्करणमा यसको प्रयोगको सीमा तोकिएको छ ।

 

कम्पनीले आफ्ना शक्तिशाली संस्करणहरूको सदस्यता बेचेर र आफ्ना मोडेलहरूलाई व्यावसायिक प्रणालीमा एकीकृत गरेर आम्दानी गर्छ । यसका विभिन्न तह छन् ।

  • च्याटजीपीटी प्लस: मासिक २० डलर तिर्ने प्रयोगकर्ताले निःशुल्क प्रयोगकर्ताको तुलनामा उल्लेखनीय रूपमा उच्च प्रयोग (higher usage) सीमा पाउनेछन् ।

  • च्याटजीपीटी प्रो: मासिक २०० डलर तिर्ने प्रयोगकर्ताले जीपीटी-फाइभमा असीमित पहुँच पाउनेछन् र यसको अझै परिस्कृत संस्करण ‘जीपीटी-फाइभ प्रो’ पनि प्रयोग गर्न सक्नेछन् ।

  • इन्टरप्राइज र एजुकेसन: व्यावसायिक र शैक्षिक प्रयोगकर्ताले ‘उदार सीमा’ (generous limits) पाउने कम्पनीले जनाएको छ ।

तपाईंको व्यक्तिगत कोडर

आजकल सिकारु प्रोग्रामर र डेभलपरले कोडिङका लागि च्याटजीपीटी प्रयोग गर्छन् । जीपीटी-फाइभ कोड लेख्नमा पहिलेभन्दा अझै उत्कृष्ट रहेको ओपनएआईको दाबी छ । ‘भाइब कोडिङ’ अर्थात् साधारण भाषामा दिइएको प्रम्प्टका आधारमा वेबसाइट, एप, गेम जस्ता अन्तरक्रियात्मक एप्लिकेसनहरू बनाउन सक्ने क्षमताले जीपीटी-फाइभ तपाईंको मुख्य कोडिङ पार्टनर बन्न सक्ने सम्भावना छ । यद्यपि, यो पूर्ण रूपमा सही छैन । यसले गल्तीहरू गर्न सक्छ । तर पनि कोडिङ क्षमतामा यसलाई एउटा फड्को मानिएको छ ।

विशेष व्यक्तित्वहरू (Special personalities)

जीपीटी-फाइभबाट सञ्चालित च्याटजीपीटीमा अब प्रयोगकर्ताले कुराकानी गर्दा चार फरक पूर्वनिर्धारित ‘पर्सनालिटी’ हरूबाट छनोट गर्न सक्नेछन्: ‘cynic’, ‘robot’, ‘listener’, र ‘nerd’ । यी व्यक्तित्वको उद्देश्य च्याटबटसँगको कुराकानीलाई थप स्वाभाविक महसुस गराउनु रहेको कम्पनीले जनाएको छ । प्रयोगकर्ताले च्याटजीपीटीको सेटिङमा गएर यसलाई समायोजन पनि गर्न सक्छन् ।

जिमेल र गुगल क्यालेन्डरसँग इन्टिग्रेसन

जीपीटी-फाइभको रोचक सुविधामध्ये एक जिमेल र गुगल क्यालेन्डरसँगको इन्टिग्रेसन हो । यसले प्रयोगकर्तालाई समयतालिका मिलाउन, रिमाइन्डर सेट गर्न र ईमेल फलो-अप जस्ता काममा सहयोग गर्नेछ । च्याटजीपीटीले यी एपबाट स्वचालित रूपमा जानकारी तानेर आवश्यक परेको बेला प्रयोग गर्नेछ । जसले गर्दा यो एक व्यक्तिगत एआई एजेन्ट जस्तै बन्नेछ । यद्यपि, यो सुविधा सुरुमा प्रो प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ ।

तथ्यगत त्रुटि कम

ओपनएआईले जीपीटी-फाइभमा अघिल्ला मोडेलहरूको तुलनामा तथ्यगत त्रुटि अर्थात् ‘ह्यालुसिनेसन’ निकै कम भएको बताएको छ । एआई प्रणालीमा तथ्यगत त्रुटि एक निरन्तर समस्याको रूपमा रहँदै आएको छ । अनुसन्धानकर्ताले यसलाई पूर्ण रूपमा हटाउन असम्भव रहेको निष्कर्ष निकालेका छन् । ओपनएआईका अनुसार जीपीटी-फाइभले दिने प्रतिक्रियामा जीपीटी-फोरओको तुलनामा ४५ प्रतिशत कम तथ्यगत त्रुटि हुने सम्भावना छ । तर सामान्य काममा पनि यसले गल्ती गर्न सक्ने कुरालाई नकार्न सकिँदैन ।

स्वास्थ्यसम्बन्धी प्रश्नमा अब्बल !

पछिल्लो समय धेरै मानिसले स्वास्थ्यसम्बन्धी प्रश्नका लागि गुगल सर्चको सट्टा एआई टुल प्रयोग गर्न थालेका छन् । जीपीटी-फाइभले ‘हेल्थबेन्च’ परीक्षणमा आफ्ना अघिल्ला सबै मोडेलभन्दा उच्च अङ्क प्राप्त गरेको ओपनएआईको भनाइ छ । यसले एक सक्रिय वैचारिक साझेदारको रूपमा काम गर्दै सम्भावित चिन्ताहरूलाई आफैँ पहिचान गरी थप सहयोगी जवाफ दिनका लागि प्रश्न सोध्ने गर्छ ।

यद्यपि, यो स्पष्ट हुनुपर्छ कि एआई च्याटबट डाक्टरको विकल्प हुनै सक्दैनन् । कुनै पनि स्वास्थ्यसम्बन्धी निर्णय लिनुअघि पेशेवर चिकित्सकसँग परामर्श लिनु अनिवार्य छ ।

प्रयोगमा सहज, तर ‘एजीआई’ बाट टाढा

जीपीटी-फाइभ प्रयोग गर्न सजिलो बनाइएको छ । यसमा भएको ‘रियल राउटर’ फिचरले कुराकानीको जटिलताको आधारमा कुन मोडेल प्रयोग गर्ने भनेर स्वचालित रूपमा निर्धारण गर्छ । यो रिजनिङ मोडेल अर्थात् समस्या समाधानमा गहिरोसँग सोच्ने क्षमतामा आधारित भएकाले पहिलेभन्दा बढी बौद्धिक छ ।

तर, यी सबै सुधारका बाबजुद जीपीटी-फाइभ क्रान्तिको सट्टा एक अपग्रेड (विकास) मात्र भएको विश्लेषण गरिएको छ । यो कुनै नयाँ आईफोन वा एन्ड्रोइड फोन सार्वजनिक भएजस्तै हो । जीपीटी-फाइभ बढी ‘बौद्धिक’ भए पनि ओपनएआई लगायत सबै एआई कम्पनीको अन्तिम लक्ष्य रहेको आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) अर्थात् मानवजस्तै सोच्न र बुझ्न सक्ने क्षमता हासिल गर्ने बाटो भने अझै स्पष्ट भइसकेको छैन ।

‘भ्वाइस अफ नेपाल’ सिजन ७ लागि ३ कोच सार्वजनिक, फर्किए प्रमोद खरेल

काठ्माण्डौँ- गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सातौं सिजनका लागि ३ कोच सार्वजनिक गरिएको छ ।

‘भ्वाइस किड्स’ चौथो सिजनको फिनालेमा शनिबार सातौं सिजनको औपचारिक घोषणा गर्दै कोचबारे जानकारी दिइएको हो ।

जसअनुसार, भ्वाइसको सातौं सिजनमा गायक प्रमोद खरेलको पुनरागमन भएको छ । खरेलसहित मेलिना राई र खेम सेन्चुरी कोचको रूपमा रहनेछन् । अर्का एकजना कोचको घोषणा हुन बाँकी छ ।

भ्वाइसका होस्ट सुशील नेपालले गायक खरेल सातौं सिजनमा फर्किएको जानकारी गराएका थिए । आफू भ्वाइसमा फर्किएको जानकारी दिन खरेल स्टेजमा पुगेका थिए ।

‘भ्वाइस’को सातौं सिजनको डिजिटल अडिसन सकिएको छ । अब ब्लाइन्ड अडिसन शुरू हुने आयोजकले जनाएको छ ।

बङ्गलादेशले फेब्रुअरी चुनावका लागि ४० हजार बडी क्याम किन्ने

ढाका– बङ्गलादेशको अन्तरिम सरकारले फेब्रुअरीमा हुने आगामी आम निर्वाचनको समयमा मतदान केन्द्रहरूमा सुरक्षा बढाउनका लागि प्रहरीका लागि कम्तीमा ४० हजार शरीरमा लगाउने क्यामेरा खरिद गर्ने योजना बनाएको छ । मुख्य सल्लाहकार मुहम्मद युनुसको अध्यक्षतामा शनिबार ढाकाको स्टेट गेस्ट हाउस जमुनामा भएको उच्चस्तरीय बैठकमा यस कदममाथि छलफल भएको थियो ।

बैठकमा गृहमन्त्रीका सल्लाहकार लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) जहाँगीर आलम चौधरी, मुख्य सल्लाहकारका विशेष सहायक खुदा बख्श चौधरी र फैज तैयब अहमद उपस्थित थिए । सामान्यतया बडी क्याम भनेर चिनिने ४० हजार बडी क्यामेराको खरिद प्रक्रिया अन्तिम चरणमा रहेको फैज तैयब अहमदले बताए । उपकरणहरूले हजारौँ असुरक्षित मतदान केन्द्रहरूमा सुरक्षा बलियो बनाउने कुरामा उनले जोड दिए  ।

‘हामीले अक्टोबरसम्ममा बडी क्यामहरू खरिद गर्ने लक्ष्य राखेका छौँ ताकि प्रहरी अधिकारीहरूले एआई क्षमताहरू लगायत उनीहरूको प्रमुख सुविधाहरूमा पर्याप्त प्रशिक्षण प्राप्त गर्न सकुन्’, उनले भने  । बङ्गलादेशका अधिकारीहरूले क्यामेराहरू आपूर्ति गर्न जर्मनी, चीन र थाइल्यान्डका तीन वटा कम्पनीसँग सम्पर्क गरेका छन् । प्रहरी अधिकारी र कन्स्टेबलहरूले चुनावी ड्युटीमा हुँदा आफ्नो छातीमा उपकरणहरू लगाउनेछन् ।

प्रमुख सल्लाहकार युनुसले अधिकारीहरूलाई खरिद प्रक्रियालाई तीव्रता दिन र हजारौँ प्रहरी कर्मचारीको उचित प्रशिक्षण सुनिश्चित गर्न निर्देशन दिए  । ‘हामीले सबै मतदान केन्द्रमा पूर्ण सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ, चाहे कुनै पनि खर्च होस् । हाम्रो लक्ष्य फेब्रुअरीको चुनावलाई देशको इतिहासमा सबैभन्दा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाउनु हो’, उनले भने ।

बैठकमा मुख्य सल्लाहकारको दूरसञ्चार तथा आइसिटी मामिलासम्बन्धी विशेष सहायकले आगामी मतदानका लागि निर्वाचन एप सार्वजनिक गर्ने योजना पनि सार्वजनिक गरेका थिए । यो एपले उम्मेदवारको विवरण, मतदान बुथहरूमा अद्यावधिकहरू र उजुरी पेश गर्नका लागि अन्तरक्रियात्मक सुविधाहरू सहित फेब्रुअरी चुनावका बारेमा विस्तृत जानकारी प्रदान गर्नेछ ।

मुख्य सल्लाहकारले अधिकारीहरूलाई एपको सुरुवातलाई तीव्रता दिन र देशका १० करोडभन्दा बढी मतदाताका लागि यसलाई प्रयोगकर्ता–मैत्री बनाउन आग्रह गरे  । यसै क्रममा अगस्ट ६ मा मुख्य सल्लाहकारको कार्यालयले निर्वाचन आयोगलाई पत्र लेख्दै सन् २०२६ फेब्रुअरीमा रमजान सुरु हुनुअघि राष्ट्रिय संसद्को निर्वाचन सम्पन्न गर्न सबै तयारी पूरा गर्न निर्देशन दिएको मुख्य सल्लाहकारको प्रेस शाखाले एक विज्ञप्तिमा जनाएको छ ।

यस पत्रमार्फत निर्वाचन आयोगलाई निर्वाचन आयोजना गर्न सरकारको अनुरोधको औपचारिकता पूरा भएको विज्ञप्तिमा उल्लेख छ । बुधबार मुख्य निर्वाचन आयुक्तलाई पठाइएको पत्रमा मुख्य सल्लाहकारका प्रधान सचिव एम सिराज उद्दीन मियाले निर्धारित समयमा अपेक्षित गुणस्तरको स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र उत्सवमय राष्ट्रिय निर्वाचन आयोजना गर्न आवश्यक कदम चाल्न अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।

अगस्ट ५ मा जुलाई विद्रोह दिवसको अवसरमा राष्ट्रको नाममा आफ्नो सम्बोधनमा मुख्य सल्लाहकार युनुसले अर्को वर्ष फेब्रुअरीमा रमजान सुरु हुनुअघि निर्वाचन आयोजना गर्न निर्वाचन आयोगलाई पत्र लेख्ने बताएका थिए । त्यसैको निरन्तरतामा मुख्य सल्लाहकारको कार्यालयले बुधबार यो पत्र पठाएको थियो ।

राष्ट्रका नाममा गरिएको सम्बोधनको सन्दर्भमा मुख्य सल्लाहकारले आफ्नो सम्बोधनमा यस सम्बन्धमा सबै तयारी र संस्थागत व्यवस्था तत्काल सुरु गर्न आह्वान गरेको पत्रमा उल्लेख छ । विगत १५ वर्षदेखि जनताले मतदान गर्न नसकेका सन्दर्भमा आगामी निर्वाचनलाई हर्षोल्लासपूर्ण मतदान पर्वका रूपमा सम्झन सकिने गरी आयोजना गर्न मुख्य सल्लाहकारले जोड दिएको पनि उल्लेख छ ।

आफ्नो सम्बोधनमा मुख्य सल्लाहकारले खुसी र उत्सव, शान्ति र व्यवस्था, मतदाताको उपस्थिति, सौहार्द र निष्कपटताको हिसाबले चुनाव अविस्मरणीय हुने अपेक्षा व्यक्त गरे । निर्वाचन आयोजना गर्न उपयुक्त प्रविधि प्रयोग गर्नुपर्ने कुरामा जोड दिँदै निर्वाचन आयोगलाई अपेक्षित निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र उत्सवको निर्वाचन आयोजना गर्न सरकारको पूर्ण सहयोगका बारेमा पनि जानकारी गराइएको थियो ।

आर्यन सिग्देलकी भाञ्जी आर्हीले ल्याइन अङ्ग्रेजी गीत ‘टक्सिक ट्रुथ’

काठमाडौं : अभिनेता आर्यन सिग्देलकी भाञ्जी आर्हीले अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गरेकी छिन् । अष्ट्रेलियामा बसोबास गर्दै आइरहेकी आर्हीले यो गीतमार्फत सांगीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् । गीतको शीर्षक ‘टक्सिक ट्रुथ’ राखिएको छ, जसको लेखन आर्ही र म्यागी एल बान्सले गरेका छन् भने सङ्गीत फोसिल र नेप्सेकले तयार पारेका छन् । गीतमा डार्क–पप, हिप–हप र नेपाली–एसियाली संगीतको प्रभाव समेटिएको गायिका आर्हीले बताइन् ।

‘टक्सिक ट्रुथ विभिन्न भावनाको मिश्रण हो । यो गीत मैले त्यतिबेला लेखेँ, जब म एकैचोटि धेरै फरक भावनाहरू महसुस गरिरहेकी थिएँ । गीतमा स्वाभाविक रूपमा यी भावनाहरूलाई प्रतिनिधित्व गर्ने तत्वहरू समावेश छन् । यसले विषाक्त सम्बन्धको कथा भन्छ, जहाँ कसैलाई देखाइने भावनाहरू सधैँ साँचो हुँदैनन्, किनभने त्यहाँ गहिरो र विषाक्त सत्य लुकेको हुन सक्छ’, उनले भनिन् ।

बाल्यकालदेखि नै गीत–सङ्गीतप्रति लगाव रहेको बताउँदै आर्हीले गायनमा रुचि बढेको स्मरण गरिन् । उनले भनिन्– ‘बाल्यकालमा गीत गुनगुनाउँदा गायनलाई निरन्तरता दिन सुझाव प्राप्त भएको थियो । मेरो जीवनको हरेक अवस्थामा एउटा गीतले साथ दिएको छ । गीतसङ्गीतको यही पक्षले मलाई यो पेशामा अगाडि बढ्न प्रेरित गरेको छ ।’

‘टक्सिक ट्रुथ’ मार्फत साङ्गीतिक यात्रा प्रारम्भ गरेकी आर्हीले सङ्गीत र कलाप्रति आफ्नो लगाव कहिल्यै कम नहुने बताइन् । उनले थपिन्– ‘अवसर प्राप्त भएमा नेपाली गीत गाउनुका साथै नेपाली परियोजनाहरूमा सहभागी हुने छु । नेपाली गीत–संगीतले मेरो जीवनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । सङ्गीतमार्फत नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउनु मेरो सपना हो ।’

गीतको भिडियोमा आर्ही स्वयम् फिचर्ड छिन् । भिएफएक्सको भरपूर प्रयोग गरिएको यो भिडियोलाई दीपेन्द्र केसीले निर्देशन गरेका छन् । एक दशकअघि भिडियो निर्देशनमा सक्रिय दीपेन्द्र पछिल्लो समय डकुमेन्ट्री निर्देशनमा व्यस्त छन् । निर्देशक केसीले भिडियोमा इन्स्टलेशन आर्टको प्रयोग गरिएको बताए ।

उनले भने– ‘गीत सुनेपछि यो इन्स्टलेशन आर्टको माध्यमबाट प्रस्तुत गर्न सकिन्छ भन्ने लाग्यो । यो त्रि–आयामिक कला शैली हो, जसले दर्शकलाई कलाकृति भित्रको वातावरणमा प्रवेश गराएर अनुभव प्रदान गर्छ । इन्स्टलेशन आर्टले दर्शकलाई केवल हेर्ने मात्र नभई कला भित्र प्रवेश गरेर अनुभूत गर्न प्रेरित गर्छ, जसले भावनात्मक, बौद्धिक, वा सामाजिक सन्देश प्रवाह गर्छ । भिडियोमा प्रयोग भएको भिएफएक्सको प्रशंसा भएको छ, जसलाई हाम्रो टिमले निकै मेहनतले तयार गरेको हो ।’

भिडियोको क्रिएटिभ निर्देशन दिनेशजंग राणाले गरेका छन् भने छायाङ्कन विनोद श्रेष्ठले गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्सन पोस्ट प्रोमा सम्पन्न भएको छ । उक्त भिडिओलाई आर्हीकै युट्युबबाट सार्वजनिक गरिएको छ ।

उत्तराखण्ड बाढीमा बेपत्ता १३ नेपालीमध्ये एक जनाको शव भेटियो

काठमाडौं । भारतको उत्तराखण्डका दुई भिन्न स्थानमा आएको बाढीमा बेपत्ता भएका १३ नेपालीमध्ये एक जनाको शव फेला परेको छ । शवको सनाखत गर्ने काम भइरहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

यही साउन २० गते ‘क्लाउड ब्रस्ट’ भई उत्तराखण्डको धरालीमा बाढी आएको थियो । धराली बाढीमा अझै आठ नेपाली हराइरहेका छन् । धराली बाढी प्रभावित १३ नेपालीको जीवितै उद्धार गरिएको थियो ।

उत्तराखण्डकै पौरी गढवालको बगुडामा साउन २१ गते आएको बाढीमा बेपत्ता भएका पाँच नेपालीमध्ये एक जनाको शव भेटिएको हो ।

बगुडा बाढीमा पाँच नेपाली घाइते भएका थिए । घाइतेमध्ये तीनजना उपचारपछि फर्किएका छन् । दुई जनाको अहिले उपचार भइरहेको दूतावासले जनाएको छ ।

शिक्षा विधेयकमा निजी विद्यालयको विरोध, माग पुरा नभए आन्दोलनमा उत्रिने

काठमाडौं– सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयकमाथि निजी विद्यालयहरूले असन्तुष्टि व्यक्त गरेका छन् । निजी विद्यालयहरूलाई गैर-नाफामूलक बनाउने र पूर्ण छात्रवृत्ति प्रदान गर्नुपर्ने प्रावधानको विरोध गरेका छन् ।

आइतबार निजी विद्यालयहरूका छाता संगठन हिसान, नेशनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै विरोध जनाएका हुन् । चार संगठनले विधेयकले शिक्षा क्षेत्रमा लगानीको सुरक्षामाथि प्रश्न उठेको बताएका छन् नेपालको शिक्षा विकासमा विगत चार दशकदेखि निजी क्षेत्रले पुर्‍याएको योगदानलाई बेवास्ता गरिएको निजी विद्यालयहरूले आरोप लगाएका छन् ।

विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिन नसकिने प्याब्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बताएका छन् । छात्रवृत्ति अन्तरगत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाई शुल्कमा मात्र छुट दिन सकिने अध्यक्ष अधिकारीको भनाई छ ।

‘विधेयकमा भनिएको जस्तो पूर्ण छात्रवृत्ति शिक्षक शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शैक्षिक सामाग्री, पोसाक, यातायात लगायत उपलब्ध गराउनु भनिएको कुरा सकिँदैन’, अध्यक्षले भने, ‘क्रमिक रूपमा गैर नाफामूलक बनाइने व्यवस्था पूर्ण रूपमा खारेज हुनुपर्छ ।’ अरूको सम्पत्ति गैर नाफामूलक बनाउनु उचित नहुने अधिकारीको भनाई छ । अहिले ५ स्टार जस्ता विद्यालयमा समेत विद्यार्थी नभएका कारणले गर्दा निजी विद्यालय सञ्चालकहरू मारमा परेको अवस्थामा सरकारले ऐनबाट बिचल्ली बनाउन खोजेको अधिकारीको भनाई छ ।

‘हामीले एक विद्यार्थीलाई लिने शुल्क भन्दा सरकारले एक विद्यार्थीलाई गर्ने खर्च बढी छ’, अधिकारीले भने, ‘हामीले ५ लाख व्यक्तिलाई रोजगारी दिएर जिडिपीमा ७.२ प्रतिशत योगदान समेत गरेका छौँ ।’

२०४७ सालपछि उदार बजार नीतिको कारण निजी क्षेत्रमा लगानी बढ्यो र शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा धेरै संस्थाहरू स्थापित भएर निजी विद्यालयहरूले शिक्षामा मात्रै करिब ६ खर्ब रुपैयाँ लगानी गरेको निजी विद्यालयहरूको भनाई छ । निजी विद्यालयहरूले  ३४ प्रतिशत विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरेको दाबी गरिएको छ ।  सरकारले निजी विद्यालयलाई गैर नाफामूलक बनाउने भनेर निरुत्साहित गरिएको नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले बताए । ऐन बनाउँदा सरकार भावनामा बहकिएर बनाउन नहुने न्यौपानेको तर्क छ ।

‘डा. गोविन्द केसीको अन्सनका कारण सरकारले भावनामा बहकिएर ऐन बनाउँदा सबै विद्यार्थीहरू बिदेसिन बाध्य भए, नेपाली पैसा पनि बिदेसियो’, अध्यक्ष न्यौपानेले भने, ‘अहिले त्यस्तै अवस्था फेरी शिक्षा ऐनमा हुन लागेको छ ।’ शान्त तरिकाले गरेको अनुरोध सरकारले सुन्नुपर्ने अन्यथा सडक आन्दोलनमा समेत उत्रिन बाध्य हुने न्यौपानेको चेतावनी छ । ‘गुरुहरूलाई नराम्रो नहोस्’, न्यौपानेले भने । प्याब्सनका पूर्व अध्यक्ष डीके ढुंगानाले संविधानमा निजी विद्यालयलाई गैर नाफामूलक बनाउने भनेर लेखिएको भएपनि त्यसलाई समेत सच्याउनु पर्ने बताए ।

‘निजी विद्यालयले छात्रवृत्तिमा खाजा, खाना, यातायात र लत्ता कपडा दिन सक्दैन’, ढुंगनाले भने, ‘त्यस्तो कुरा लेखिनु पनि हुँदैन र लेखिए हटाउनु पर्छ ।’ नेपालमा आन्दोलन नगरी केही हुँदैन भन्ने भाष्य बदल्नुपर्ने ढुंगनाको भनाई छ । ‘हाम्रो माग पुरा भएन भने फेरी हामी आन्दोलनमा उत्रिन पनि बाध्य हुन्छौँ ।’  यदि साउन २८ गतेभित्र आफ्ना मागहरू सम्बोधन नगरिए साउन २९ गतेदेखि आन्दोलनमा उत्रिने निजी विद्यालयहरूले चेतावनी दिएका छन् । उनीहरूले सबै सरोकारवालाहरूको हितलाई ध्यानमा राखेर पूर्वाग्रहरहित ढंगले शिक्षा ऐन निर्माण गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

कैलालीमा अवैध रूपमा भित्रिने माछाका कारण किसान समस्यामा

कैलालीः कैलालीमा खुला सिमानाकाबाट अवैध रूपमा भित्रिने भारतीय माछाका कारण स्थानीयस्तरमा माछापालन गर्दै आएका किसान समस्यामा परेका छन्। यहाँ उत्पादित माछाले उचित मूल्य पाउन नसकेपछि किसान समस्यामा परेका हुन्। यहाँ उत्पादित माछा बिक्रीका लागि बजारको समस्या नभए पनि जिल्लाका विभिन्न सिमानाकाबाट अवैध रूपमा भारतीय माछा भित्रिने गरेकाले उचित मूल्य प्राप्त हुन नसकेको कैलारी गाउँपालिका–५ गोबरेलाका कृषक सनोज चौधरीले बताए।

उनले भने, “बाहिरबाट भित्रिने माछाका कारण हामीले चाहेको मूल्यदरमा बिक्री गर्न सकिरहेको छैनौँ, यसले व्यापार व्यवसाय सञ्चालनसँगै आर्थिक व्यवस्थापनमा समस्या भएको छ।” यहाँ उत्पादित माछा थोकमा प्रतिकिलो २५० र फुटकरमा प्रतिकिलो रु ३०० मा बिक्री हुने गरेको जनाउँदै चौधरीले सिमानाकाबाट भित्रिएका माछा थोकमा प्रतिकिलो २२० र फुटकरमा प्रतिकिलो २८० मा बिक्री हुने गरेको बताए।

“हामीले उत्पादन गरेका माछाको दररेटभन्दा भारतबाट ल्याइएका माछा सस्तो पर्न जान्छ । सोही कारणले व्यावसायिक माछापालन गर्ने किसानद्वारा उत्पादित माछाले उचित मूल्य नपाउँदा समस्या भएको हो”, उनले भन । माछापालनका लागि तीन वटा पोखरी निर्माण गरेको बताउँदै चौधरीले कमन कार्प, ग्रास, रहु र पङ्गासेस जातका माछापालन गर्दै आएको जानकारी दिए।

माछा बिक्रीका लागि समस्या नभए पनि अवैध रूपमा भित्रिने माछाका कारण बिक्री दरमा वृद्धि हुन नसकेको धनगढी उपमहानगरपालिका–२ का माछापालक नरेश शाहले गुनासो गरे। “लामो समयदेखि हामीले व्यवसाय गर्दै आएका छौँ, तर लगानी र मिहेनतअनुसारको उचित मूल्य नपाउँदा कृषक समस्यामा परेका छौँ”, उनले भने। सिमानाकाबाट अवैध रूपमा भित्रिने माछा रोक्नका लागि नाका क्षेत्रमा कडाइ गरिनुपर्नेमा उनले जोड दिए।

राप्रपा विभाजन गर्ने तागत कसैसँग छैन, चित्त नबुझे नेतृत्वमाथि चुनौती दिनुस् : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको बताएका छन् । राप्रपाभित्र हाल देखिएको विवादले पार्टी विभाजन नहुने उनले स्पष्ट पारे ।

उनले राप्रपा अब कहिल्यै विभाजन नहुने जिकिर गरे । विगतमा चित्त नबुझ्नेबित्तिकै पार्टी फुटाइहाल्ने प्रवृत्ति रहेको र त्यसको केही अवशेष अझै भए पनि अब त्यो सम्भावना नरहेको उनको भनाइ छ ।

“यो पार्टीलाई मैले बारम्बार भनेको छु, विभाजन गर्ने कसैसँग तागत पनि छैन र विभाजन गर्नुपर्ने कुनै कारण पनि छैन । अब राप्रपा कहिल्यै विभाजित हुँदैन,” उनले भने, “म यति नै भन्छु, यो विषयचाहिँ हामी पार्टीमै बसेर टुंग्याउँछौँ ।”

उनले पार्टीमा देखिएका समस्या भित्रैबाट समाधान गरिने बताए । चित्त नबुझेका विषय पार्टीका समितिमा छलफल गरिने र त्यसबाट निस्किएको निष्कर्षलाई सबैले मानेर जानुपर्ने उनले उल्लेख गरे ।

पार्टीका समितिमा आफ्ना कुरा पारित हुन नसके, चित्त नबुझे महाधिवेशनमा गएर नेतृत्वमाथि नै चुनौती दिन सकिने उनले बताए । तर, पार्टीको आन्तरिक विषय सञ्चारमाध्यममा लैजाने, शुभेच्छुकमा भ्रम पार्नेजस्ता कार्य गर्न नहुनेमा उनले जोड दिए ।

“बाहिर जो आइरहेको छ, यसलाई चाहिँ हामी पार्टीभित्रै बसेर समाधान पनि गर्छाैं,” उनले भने ।

राप्रपाको प्रवक्ता, विभागको सदस्स्यसचिव, विभाग प्रमुख तोक्ने काम निर्वाचन आयोगको नभई अध्यक्षको भएको उनले बताए ।

‘मेरी बास्सै’ मा फर्किए राजु मास्टर

काठ्माण्डौँ- टेलिभिजन सिरियलका चर्चित कलाकार तथा निर्देशक राजु पौडेल (राजु मास्टर) ‘मेरी बास्सै’ मा फर्किएका छन्।

झण्डै दुई दशकको यात्रा पूरा गर्ने तयारीमा रहेको हास्य सिरियल ‘मेरी बास्सै’ मा राजु लेखक र निर्देशनको जिम्मेवारीसहित फर्किएका हुन्। उनले सिरियलमा अभिनय समेत गर्नेछन्।

राजुले यो सिरियलको लेखन, निर्देशनसँगै अभिनयको काम थालिसकेका छन्। भदौ ३ गते उनी जोडिएपछिको पहिलो एपिसोड प्रसारणमा आउनेछ।

मिडिया हबको प्रस्तुति रहेको ‘मेरी बास्सै’ बाटै राजुले कलाकारिता यात्रा सुरू गरेका थिए। १२ वर्षसम्म निरन्तर यो सिरियलमा अभिनय गरेका राजुले बिचमा ६ वर्ष अन्य सिरियलमा काम गरे। आफैले सिरियल ल्याए।

अहिले पुनः ‘मेरी बास्सै’ मा फर्किन पाउँदा खुसी र जिम्मेवारी महसुस भइरहेको उनले बताए।

‘मेरी बास्सै मेरो घर हो, आफ्नै घरमा फर्किन पाउँदा खुसी लागेको छ। यहि ठाउँले मलाई कलाकारिता सिकायो, आज यहाँसम्म आउन सक्नु भनेकै मेरी बास्सैको देन हो,’ राजुले भने, ‘अहिले लेखन र निर्देशनको पनि जिम्मेवारी लिएर फर्किएको छु। त्यसैले चुनौति महसुस गरेको छु।’

राजुले ‘मेरी बास्सै’ बाट बाहिरिएपछि ‘हल्का रमाइलो’, ‘जुठे’ लगायतका सिरियलमा काम गरे। अहिले आफ्नै लेखन, निर्देशन, अभिनय र निर्माणमा ‘सकस’ सिरियल ल्याइरहेका छन्।

‘सकस छाडेर मेरी बास्सैमा फर्किएको होइन। सकस निरन्तर नै आउनेछ,’ उनले भने।

उनले ‘मेरी बास्सै’ को ९२३ भागबाट राजुले जिम्मेवारी सम्हालेका हुन्। उनका अनुसार उक्त एपिसोडमा नयाँ कथाबाट सिरियल अगाडि बढ्नेछ। राजुले भने, ‘हामीले चार भाग छायांकन गरिसकेका छौं। चलिरहेको भन्दा नयाँ कथा, नयाँ फ्लेवरमा सिरियल अगाडि बढ्नेछ।’

राजुले ‘मेरी बास्सै’ मा ६ वर्ष अघिको आफ्नो परिवार लिएर फर्किएको जानकारी दिए। उनीसहित मास्टर्नीको भूमिकामा अनिता बस्नेत, सालीको भूमिकामा सबिना आचार्य (सबु) पनि छन्।

यसअघि अभिनय गर्दै आएका धेरै कलाकारहरूको निरन्तरता रहनेछ। सिरियलमा कलाकारहरू रामचन्द्र अधिकारी (गोफ्ते काजी), सुरवीर पण्डित (दाह्री बा), पल्पसा डंगोल (चम्सुरी), निरू खड्का (निर्मली), दिपेन्द्र तिमल्सिना (बालक), साया भण्डारी (राधिका), मुकेश हमाल (सुन्दरे), यादव थापा (ब्याज प्रसाद)लगायत कलाकारहरू छन्।

सिरियलको छायांकारमा घनश्याम पोखरेल र ज्ञान कुमार कट्टेल छन् भने रविन्द्र भट्ट र अशोक चौधरीले सम्पादन गर्नेछन्। ब्यवस्थापनको जिम्मेवारीमा उज्जवल खड्का रहेका छन्।

‘मेरी बास्सै’ प्रत्येक मंगलबार साँझ नेपाल टेलिभिजन र मिडिया हव अफिसियल युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको छ।

कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन गर्न माग

काठमाडौं । विपक्षी दलहरूले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।

सभामा प्रतिवेदन पेस भएसँगै कार्यान्वयनमा जानुपर्ने भनेर विपक्षी दलहरूले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गरेका छन् ।

आफूहरूले औपचारिक रुपमै सभामा प्रतिवेदन पेस भएपछि कार्यान्वयनमा लैजान सभाबाट नै भनेको बताउँछन् प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे ।

‘छानबिन प्रतिवेदन संसद्‍मा पेस भएको छ । लगत्तै हामीले उक्त प्रतिवेदन दतारुकताका साथ कार्यान्वयनमा लैजान भनेका छौं’, पाण्डेले जानकारी दिए ।

प्रतिनिधि सभाको बैठक यही साउन २७ गते बस्दैछ ।

कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन प्रतिवेदन यही साउन २० गते प्रतिनिधि सभामा पेस भएको थियो । प्रतिवेदनले विधेयकमाथिको दफावार छलफलमा गर्नुपर्ने सुधार, संसद सचिवालयले गर्नुपर्ने तयारी, सांसदहरूले ध्यान दिनुपर्ने लगायतका विषय समेत समावेश रहेका छन् ।

खोज्नुहोस