लोसपा छाडेका अनिलकुमार झाले ब्युँताए सद्भावना पार्टी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजीनामा दिएका अनिलकुमार झाले नेपाल सद्भावना पार्टी ब्युँताएका छन्। लोसपाले वरिष्ठ नेताबाट दिएको राजीनामा स्वीकृत गरिसकेको छ।

निष्क्रिय रहेको पार्टीलाई निरन्तरता दिन लागेको नेता झाले बताए। उनले नेपाल प्रेससँग भने, ‘नेपाल सद्भावना पार्टी लामो समयदेखि निष्क्रिय थियो। मैले लोसपा छाडेर यसको नेतृत्व गर्ने गरी ब्युँताएको हुँ। निर्वाचन आयोगले अद्यावधिक गरिसकेको छ।’

उनले पार्टीको झण्डा र चुनाव चिह्न पुरानै हुने बताए। उनले भने, ‘पार्टी कमिटी कति बनाउने भन्नेबारे हामी छलफलमा छौँ। निर्वाचन आयोगले पनि अद्यावधिक गरेपछि हामीले बाँकी काम अगाडि बढाउँदैछौं। चुनाव चिह्न पाँच औँला देखिएको हात हो।’

उनले आफ्नो थप रणनीतिबारे जानकारी दिन भोलि दिउँसो १ बजे पत्रकार सम्मेलन राखिएको पनि बताए।

गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना दर्ता

काठमाडौँ- गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् ।

प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो ।

विसं २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी वाग्मती प्रदेशमा ३८ वटा घटना भएका छन् ।

त्यसैगरी, मधेस प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा आठ–आठ, कर्णालीमा सात, गण्डकीमा चार, लुम्बिनीमा तीन र देश बाहिर एक घटना भएका छन् ।

लैङ्गिक आधारमा हेर्दा यो अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएका पाइएको छ ।

समीक्षा अवधिमा वाग्मतीमा चार, मधेसमा तीन र कर्णाली प्रदेशमा दुई प्रेस स्वतन्त्रता दुरुपयोगकका घटना भएका काउन्सिलले जनाएको छ ।

विष्णु माझीको तिज गीत ‘म त नराउरी’ सार्वजनिक , गीतमा के छ ?

काठमाडौँ । गायिका विष्णु माझीको तिज गीत ‘म त नराउरी’ सार्वजनिक हुनेबित्तिकै यसको चर्चा सुरु भएको छ । उसो त तिज नजिकिँदै जाँदा उनको गीत कहिले आउँछ भन्ने सोधीखोजी पनि उस्तै भएको थियो । अन्ततः बुधबार सो प्रतीक्षा पूरा भएको छ ।

गीत सार्वजनिक भएको २ घण्टामै युट्युबमा १८ हजारभन्दा बढी लाइक र २३०० भन्दाबढी कमेन्ट आइसकेको छ ।

गीत सार्वजनिक भएसँगै युट्युबमा एक शुभेच्छुकले लेखेका छन्, ‘दिदीको गीत आएपछि बल्ल तिज लागेझैँ भयो ।’ ती शुभेच्छुकले मात्रै होइन, उनको गीतलाई धेरैले सेयर गर्दै सकारात्मक टिप्पणी गरिरहेका छन् ।

गीतमा के छ ?

माझीको गीतले गीतले नेपाली समाजमा, विशेषगरी ग्रामीण क्षेत्रमा, एक महिलाको जीवनका विभिन्न पक्ष, उसका सपना, संघर्ष, पीडा र जिम्मेवारीलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

गीतको सहारामा नेपाली महिलाहरूको त्याग, सहनशीलता र उनीहरूले भोग्नुपरेको यथार्थको चित्रण गरिएको छ। यसैगरी भिडियोले गीतको भावलाई अझ गहिरो पनि बनाएको छ। यसले दुई फरक संसारलाई एकैसाथ देखाएको छ । जसमा तिजको रमझम, रातो हरियो सारीमा सजिएका महिलाहरूको नाच, रमाइलो र उत्सवको माहौल देखाइएको छ ।

यस्तै अर्को वास्तविकताको संसार देखाइएको छ । जहाँ गरिबी, श्रीमानको दुर्व्यवहार, गर्भवती अवस्थामा पनि गर्नुपर्ने कठोर परिश्रम र छोराछोरीको भविष्यप्रतिको चिन्ता सजिव ढंगले प्रस्तुत गरिएको छ ।  गीतले परम्परागत तिज गीतको बहानामा महिलाहरूले वर्षभरि भोग्ने दुःख र पीडालाई समेत उजागर गरेको छ।

‘म त नराउरी, आम्मै, म त नराउरी’ गीतको मूल बोल हो । तर, समग्रमा भने ‘आमा, म खराब छैन, मैले आफ्नो कर्तव्य पूरा गरेकी छु, म असल बुहारी या श्रीमती हुँ’ भन्ने सन्देश दिइएको छ । गीतमार्फत नेपाली महिलामाथि हुने हिंसा, गरिबीको चक्र, छोरीहरूको शिक्षा र सपनामा पर्ने असर र परम्पराको नाममा महिलाले भोग्नुपर्ने मौन पीडाहरूलाई सफलतापूर्वक पर्दामा उतारिएको छ ।

गीत ‘पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो । गीतमा माझीका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ ।

गीतको भिडियोमा गत वर्षकै गीत ‘आइनँ आमा यो तिजमा’की मोडल ललिता पौडेलको अभिनय छ भने भिडिओमा ६० जना कोरस डान्सर राखिएको छ ।

प्रधानमन्त्री ओलीले आज सदनलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज सदनलाई सम्बोधन गर्ने भएका छन्।

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए।

उनका अनुसार प्रधानमन्त्रीले तुर्कमेनिस्तान भ्रमण लगायत समसामयिक बिषयमा सम्बोधन गर्नेछन्।

कैलाली कारागार घटनाको अनुसन्धान सुरु

धनगढी । कैलाली प्रहरीले कारागार घटनाको अनुसन्धान सुरु गरेको छ । पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । गएको शुक्रबार राति कैलाली कारागारमा रहेका ब्लक ‘ए’ का कैदीले ब्लक ‘बी’ का कैदीमाथि आक्रमण गरेपछि धनगढीका ४० वर्षीय भरत चौधरीको ज्यान गएको थियो । घटनामा ४७ जना घाइते भएका थिए । मृतकका परिवारले घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सोमबार अपराह्न जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए । “पीडित परिवारका तर्फबाट जाहेरी आएपछि हामीले अनुसन्धान थालेका छौँ,” उनले भने । घटनामा संलग्न कैदीबन्दीको अझै पहिचान हुन सकेको छैन ।

यसै गरी आक्रमण गर्ने कति जना थिए भन्ने सङ्ख्या पनि यकिन भएको छैन । १७५ जना कैदी राख्न सकिने कैलाली कारागारमा क्षमताभन्दा ६९९ जनाभन्दा बढी कैदी छन् । ब्लक ‘ए’ मै सबैभन्दा बढी ३९६ कैदी रहेको जनाइएको छ । कारागारमा एक कैदीको ज्यान जाने गरी भएको हिंसात्मक घटना छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन गरिएको छ । समितिले पनि छानबिनको काम सुरु गर्न गइरहेको समितिका सदस्यसचिव एवं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

क्षमताभन्दा बढी कैदी रहेको कारागारमा विगत केही दिनदेखि नै कैदीबिच झैझगडा, कुटपिट हुँदै आएको थियो । उनीहरूबिच विवाद र कुटाकुट भएपछि जिल्ला सुरक्षा समितिले शुक्रबार दिउँसो ब्लक ‘ए’ र ब्लक ‘बी’ का कैदीलाई सम्झाइबुझाई मेलमिलाप गराएको थियो तर त्यसै राति उनीहरूको विवादले झनै उग्र रूप लिएको थियो ।

हिंसात्मक झडपमा परेर ज्यान गुमाउनु भएका चौधरीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहतस्वरूप पाँच लाख रुपियाँ राहत सहयोग दिने निर्णय गरेको छ । यसै गरी घाइते सबै कैदीको सरकारी खर्चमा उपचारको व्यवस्था गर्ने जनाइएको छ ।

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा

काठमाडौं : बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ। प्रशिक्षक म्याट् रोसले ३० जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टिमको प्रारम्भिक खेलाडी छनोट अगाडि ट्रायलमा खेलाडी बोलाएको थियो। जसबाट यी खेलाडीहरू छनोट भएका हुन्।

नेपाली राष्ट्रिय पुरुष फुटबल टिम र बङ्गलादेश फुटबल टिमले आगामी सेप्टेम्बर ६ र ९ तारिखमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेल्दैछन्।

प्रारम्भिक चरणमा बोलाइएका खेलाडीहरू: 

अभिषेक लिम्बु, आदित्य शाक्य, अमृत श्रेष्ठ, अमित लामा, अनन्त तामाङ, एन्जल श्रेष्ठ,अन्जन बिष्ट, एरिक बिष्ट, भरत खवास, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, दिपेन्द्र बिक, जिलेस्पी कार्की, किरण चेम्जोङ, कुलदीप कार्की, कुशल देउवा, लकेन लिम्बु, मणी कुमार लामा, मनिष डाँगी, रन्दिप पौड्याल, रोहित चन्द, रोहन कार्की, समिर तामाङ, समिर श्रेष्ठ, सुवास बम, श्रीजन राज गौतम, सुमन श्रेष्ठ,‌टिकेन्द्र थापा र योगेश गुरु

अफ्रिकामा एकलब्य

महाभारतमा एक चर्चित पात्र थिए, एकलब्य । एकलव्य धनुर्विद्याका लागि द्रोणाचार्य कहाँ जान्छन् । हस्तिनापुरका राजकुमारहरुलाई धनुर्विद्या सिकाउदै गरेका द्रोर्णाचार्य निषाद जातीका एकलब्यलाई सिकाउन अस्वीकार गर्छन् । त्यसपछि उनी धनुर्विद्या सिकाउन नमानेका द्रोर्णाचार्यलाई गुरु मानेर अभ्यास गर्न थाल्छन् । र, औपचारिक शिक्षा बिना नै त्यो युगको सर्वश्रेष्ठ धनुर्धर बन्छन् ।

एकलव्यको कथा यतिमै सिमित हुदैन् । त्यसपछि उनीमाथि भएको छलछामको कथा लामो छ । यहाँ चर्चा गर्न खोजिएको कथा हो, यो समयका एकलब्यको । हो, मोरङका गायत्री कुलुङको कथा एकलब्यको भन्दा पृथक छैन् ।

२०५३ जेठ १० गते मोरङको तत्कालीन जाते गाविस–३ साम्लिङ (हालः मिक्लाजुङ गाउँपालिका–५) मा जन्मिएका गायत्रीका पाँच दिदी बहिनी र दुई दाजुभाई थिए । ज्योतिषले उनी जन्मिएको घडीपला हेरेर उनको नाम गा अक्षरबाट जुराए । र नाम दिए, गायत्री ।

बुवा महेन्द्र कुमार राई सिकर्मीको काम गर्थे । आमा धनहीरा गृहणी थिईन् । परिवारको आर्थिक अवस्था कमजोर थियो । काम नगरी खान नपुग्ने ।

विद्यालयमा उनको नाम थियो, गायत्री बहादुर राई । उनलाई त्यो लामो लाग्यो ।  ८ कक्षामा उनले त्यसलाई छोट्याए, र औपचारिक रुपमै गायत्री कुलुङ राखे ।

नाम गायत्री । तर उनलाई अक्षरहरु मन पर्दैनथे । चित्र मन पर्थे । र, उनी खोजीखोजी चित्र भएका किताव हेर्थे ।  र त्यही हेरेर बनाउथे, माटोका मूर्ति ।

गोठालो जादा उनी गणेश र शिवजीका मूर्ति बनाउथे । भीरको खोपीमा राखेर आउँथे । पछि जादा भेटिदैनथे । गोठालो गएका महिलाहरुले ती मूर्ति पूजा गर्न लगिसकेका हुन्थे ।

उनका हजुरबुवाले गाउँमा शिवालय मन्दिर स्थापना गरेका थिए । मन्दिरका लागि ढुंगाको मूर्ति लिन शहर जान्थे ।  एकदिन उनले हजुरबालाई भने, अव तपाई मूर्ति लिन शहर जानु पर्दैन् । म बनाउछु ।

हजुरबाले जवाफमा भने, लु सरस्वतीको मूर्ति बनाउछस भने एक हजार रुपैया दिन्छु ।

उनका बुवा सिकर्मीको काम गर्थे । फर्निचरहरु बनाउथे । नाम्लो पनि बुन्थे । बटाली, रामु, रन्दा होप्सियो जतन गरी राख्थे ।

घर नजिकै नक्कले खोला थियो । बर्खामा उर्लिन्थ्यो । अरुबेला पानी भेट्टाउन मुस्किल । उनी सुटुक्क बुवाका औजारहरु लिएर खोलातिर लागे । साथमा बोकेर लगेका थिए, सरस्वतीको चित्र । दिनभरी मूर्ति बनाए । साँझ अवेर फर्किए । फर्किदा हुप्सियो हरायो ।

उनी डरले घर जान सकेनन् । गोठमा लुके । गाउँमा त्यो समय भुरा चोरको बिगबिगी थियो । राति ९ः३० बजेसम्म छोरा नफर्किएपछि आमा आत्तिईन । उनको खोजी शुरु भयो । उनको नाम लिएर मान्छेहरु खोज्न थाले । उनी त्यसपछि भने परालबाट फुत्त बाहिर निस्किए ।

बुवाले केरकार गरे, किन लुकेको ?
उनले भने, हुप्सियो हरायो ।
यति भनेपछि बुवाले हराउनुको कारण बुझे  । र, थप केरकार गरेनन् ।  उनी ढुक्क भए ।

तीन दिनमा मूर्ति बनाएर हजुरबालाई दिए । हजुरबा दंग । खुशी हुदै हजुरबाले उनलाई एक हजार रुपैया दिए । त्यति ठूलो रकम पाएपछि उनी पनि दंग ।

विद्यालयबाट फर्केपछि  नियमित रुपमा मूर्ति बनाउन थाले । मूर्तिको माग पनि बढ्दै गयो । पढाईमा कम । मूर्तिकलामा उनी बढि व्यस्त रहन थाले ।

घरमा कखरा सिकेका उनले गाउँको सरस्वती प्राथमिक विद्यालयबाट पाँच कक्षाको पढाई पुरा गरे । छ कक्षामा जाँते उच्चमाविमा भर्ना भए । त्यहीबाट एसएलसी उत्तीर्ण भए । प्लस टुको परीक्षा त्यहीबाट दिए । उनलाई एक विषय लाग्यो ।

त्यसपछि पढाई थाँती राखे । ८० हजार तिरेर कतार पुगे । भनेजस्तो न काम । न पारिश्रमिक । मासिक २५ हजार रुपैया मिल्थ्यो । तातो हावा । जोखिमपूर्ण काम । हेल्मेट लगाएर काम गर्नुपथ्र्यो । सोचे, योभन्दा कमाई त मूर्ति बनाएरै हुन्थ्यो । उनी ११ महिनामा घर फर्किए ।

घर फर्किएपछि बिहा गरे । एकबाट दुई भए । एक वर्षपछि छोरा जन्मियो । जिम्मेवारी थपियो । व्यवहारले च्याप्दै गयो । मूर्तिकलाभन्दा बाहेक जानेको अरु केही थिएन । उनले मूर्ति बनाउन थाले । दशैंमा दुर्गाको मूर्तिको माग आउन थाल्यो । उनी एक मूर्ति बनाएको तीन हजार रुपैयासम्म लिन्थे । कहिलेकाही तीन/चार मूर्तिको अर्डर आउँथ्यो ।

मामा पर्ने दिवाकर कोईरालाले उनलाई सानो पाथिभरा भनिने ईलामको कुटीडाँडा मन्दिरको काम दिए । उनले दुई वटा शिवलिंग, गणेश र साढेको मूर्ति बनाए । र, पाए एक लाख ४० लाख पारिश्रमिक । यो जीवनको सबैभन्दा ठूलो पारिश्रमिक थियो ।

मूर्तिकलामा उनी ख्याति कमाउदै थिए । त्यहीबेला उनी एउटा मुद्दामा जेल गए । नखाएको वीष लाग्यो, भन्छन्, १३ महिनापछि सफाई पाए । र, थुनामुक्त भए ।

त्यतिबेलासम्म व्यवसाय चौपट भईसकेको थियो । सम्झौता भएको न काम हुन पायो । न भुक्तानी पाए । उनी बेलवारीबाट अलि वर्तिर लालभित्ति झरे । त्यहाँ सटर भाडामा लिएर मूर्तिकलाको काम थाले । तीन/चार महिना जति काम गरे । खर्च धान्न मुस्किल थियो ।

त्यहीबेला सेसेल्सबाट महेन्द्र भट्टराईले उनलाई निजी कम्पनीमा मूर्ति बनाउने कामको अफर सुनाए । कम्पनीले उनको काम हे¥यो । भिडिओ कलमा अन्तर्वार्ता लियो । उनी छानिए । र २०२२ को अक्टोबरमा पुगे, सेसेल्स ।

सेसेल्स ससाना टापुहरुको देश हो । ११५ वटा टापु । तीन टापुमा मात्र मानव वस्ती । एक लाख ३० हजार जनसंख्या । पर्यटनमा अडेको अर्थतन्त्र । फ्रान्स, जर्मनी र रुसी नागरिकको गन्तव्य । सेसेल्सको एक मात्र अन्तर्राष्ट्रिय बिमानस्थल माहेमा छ । उनी माहेमा बस्छन् ।

त्यही माहेमा तीन वर्षदेखि उनी पर्यटकका लागि सेसेल्सको सुन्दर उपहार बनाउदै आएका छन् ।

उनी काठ, माटो, बाँसको जरा, ढुंगाका मूर्तिहरु बनाउछन् । माछा, कछुवा, अक्टोपस, हात्ती, सिंह, बाज र चराका मूर्तिको माग बढि छ । उनी पर्यटकको रोजाई अनुसार मूर्तिहरु बनाउछन् । छिना, हथौडामा अभ्यस्त भईसकेका उनी एक दिनमा दुई वटा कछुवाको मूर्ति बनाउन भ्याउछन् । एउटै मूर्ति तीन सयदेखि पाँच सय डलरमा बिक्री हुने गरेको उनी सुनाउछन् ।

उनको शुरुवाती पारिश्रमिक पाँच सय डलर थियो । कामप्रतिको उनको लगावका कारण तीन वर्षमा पारिश्रमिक दोब्बर भएको छ । परिस्थितिले डो¥याएर सेसेल्स पुगेपनि उनको मन भने नेपालमै छ । र, जति सक्दो चाँडो नेपाल फर्किने सोचमा छन् । जहाँ पत्नी सोनिया र छोरा साहिल छन् । र छ, परिवार ।

नेपालमा उनले गणेश, शिव, सरस्वती, दुर्गाका दर्जनौ मूर्ति बनाए । उनले भारद्धाज ऋषिको साढे पाँच फिटको मूर्ति बनाएका छन् । जो उनले बनाएको सबैभन्दा अग्लो मूर्ति हो ।

सेसेल्समा पनि उनको कर्म उही । दिनचर्या उही । बस्, फेरिएको छ माग । समुन्द्रले घेरिएको टापुमा ‘माछाको व्यापार’ बजार पाएको छ । त्यसैले त उनी काठ र ढुंगालाई माछाको आकृतिमा ढाल्न व्यस्त  रहन्छन् ।

उनी हिरो बन्ने सपनासंगै हुर्किए । ऐनामा हेरेर अभिनय गर्थे । धेरै टाढा थियो, जातेबाट त्यो फिल्मीनगरी काठमाण्डौं । उनी नाटक लेख्थे । बालबालिकालाई लिएर बाँसका मुना नाटक लेखे । गाँउमा प्रदर्शन गरे ।

अभिनयको रहरले थानकोट काट्न नसकेपछि उनी मूर्तिकला तिर लागे । ढुंगालाई आकार दिएर मूर्ति बनाए । मूर्तिले उनको जीवन बनायो ।

सिकर्मी बुवाको बटाली, कचक, छिनो, हथौडा चोरेर मूर्तिकला सिकेका गायत्री यतिबेला सिसेल्समा ग्रेन्डर, सानो डाई ग्रेन्डर, डाईमन चलाउछन् । स्वरुप परिवर्तन भएपनि औजारको काम उही हो । भूगोल परिवर्तन भएपनि उनको पेशा उही हो ।

उनी ढुंगामाथि छिना चलाई रहन्छन् । ढुंगालाई झै उनलाई दुख्न छाडिसक्यो । उनको जीवन पनि मूर्ति झै छ । जीवनमा थुप्रै हण्डरहरु खाए । चोटहरु पाए । जसरी चोट नखाई ढुंगा सुन्दर बन्दैन । हो, चोट नखाएको मान्छे पनि बलियो हुदैन् ।

भनिन्छ, मूर्तिकार भनेको ढुंगामा कविता लेख्ने कवि हो । उनी त झन कवि हृदयको मान्छे । अक्षरहरुलाई उनेर बनाउछन्, सुन्दर कविता । ढुंगालाई कुँदेर बनाउछन्, सुन्दर मूर्ति । कविता । मूर्ति । उनका जीवनका सिक्काका दुई पाटा ।

गैर आवासीय नेपाली संघ सेसेल्सले गतवर्ष दशैंमा आयोजना गरेको सेसेल्स स्तरीय कविता प्रतियोगतामा २३ वटा कवितामध्ये उनको उत्कृष्ट तीन भित्र सफल भयो । र पुरस्कार वाफत पाए, ७०० सेसेल्स रुपी (सात हजार रुपैया) । कवि हृदयलाई मूर्तिकारले ओझेलमा पार्न नसकेको उदाहरण हो, यो ।

छिना चलाउन कठोर हृदय चाहिन्छ । तर कोमल हृदय नभएको मान्छे न कवि हुन सक्छ । न त मूर्तिकार । हो, उनीभित्र कठोरता पनि छ । कोमलता पनि । मूर्तिकला पनि त मौन कविता मानिन्छ ।

कसले भन्यो, एउटा सपनाको अन्त्यले जीवनको अन्त्य हुन्छ ? बरु नयाँ सपनाको जन्म हुन्छ । र शुरु हुन्छ, नयाँ शिराबाट जीवन । बस्, ईच्छाशक्ति हुनु पर्छ । ढुंगाको कापबाट उम्रिन्छ पिपल । पिपल झै उनी ।

उनी कलियुगका एकलव्य हुन्, जो औपचारिक शिक्षा बिना मूर्तिकलामा पारंगत भए । फरक यत्ति हो, उनले गुरुलाई दक्षिणामा बुढी औंला चढाउनु परेन् ।

रामहरिले सुशासन समिति सभापतिबाट राजीनामा दिए

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदबाट राजीनामा दिएका छन् ।

संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्थामा चलखेल गरेको भन्दै खतिवडामाथि नैतिक प्रश्न उठेको थियो । त्यहीकारण उनलाई नेपाली कांग्रेसभित्रैबाट दबाब बढेपछि मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।

कांग्रेसले खतिवडालाई यसअघि नै राजीनामा दिन निर्देशन दिएको थियो। खतिवडा अध्यक्ष रहेको संसदीय समितिबाट पारित विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी संवैधानिक व्यवस्था निष्क्रिय हुने गरी संशोधन पारित गरिएको थियो।

त्यसपछि विधेयक संसद्मा पुग्दै गर्दा विवादले उग्र रुप लियो । सुशासनका नाममा बनाइएका नियमहरू उल्ट्याउने काममा खतिवडा नैतिक जिम्मेवार रहेको प्रतिवेदन पनि संसदीय समितिले दिएको थियो।

जीवन परियार नेतृत्वको छानबिन समितिले खतिवडाको भूमिकामा नैतिक जिम्मेवार रहेको प्रतिवेदन पेश गरेपछि उनीमाथि राजीनामाको दबाब बढेको थियो ।

खतिवडा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा २०८० भदौ ११ गते निर्विरोध निर्वाचित भएका थिए । त्यसबेला समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले उनी सभापति भएको घोषणा गरेका थिए ।

सभापतिमा निर्वाचित भएपछि खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल हुने जानकारी दिएका थिए । तर उनी आफैं विवादमा परेर पद त्याग्न बाध्य भएका हुन् ।

वीरगञ्जमा कैदीको मृत्यु भएपछि प्रदर्शन

काठमाडौं । पर्सामा एक कैदीको मृत्यु भएपछि आफन्तहरू प्रदर्शनमा उत्रिएका छन् । कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएपछि आफन्त प्रदर्शनमा उत्रिएका हुन् ।

नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि आफन्तले टायर बालेर प्रदर्शन शुरू गरेका छन् । अहिले आफन्तसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम मिश्रले बताए ।

एसपी मिश्रका अनुसार उनी मंगलबार बिहान एक्कासी बेहोस भएका थिए । ‘बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका रहेछन् । उपचारका लागि लगिएकोमा अस्पतालमा मृत्यु भयो’, एसपी मिश्रले अनलाइनखबरसँग भने ।

नारायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको प्रहरीले बताएको । आफन्तले भने कारागार प्रशासनको लापरबाहीले राहुलको ज्यान गएको आरोप लगाउँदै आएका छन् ।

कारागारहरू मानव अधिकारमैत्री छैनन्, सुधार गर्नू : मानव अधिकार आयोग

काठ्माण्डौँ- राष्ट्रिय मानव अधिकार आयोगले देशभरिका कारागारहरूको व्यवस्थापन सुधार गर्न सरकारलाई निर्देशन दिएको छ।

हालै कैलाली कारागारमा कैदीबन्दीबीच भएको मुठभेडबाट उत्पन्न स्थिति र रूपन्देही कारागारको समग्र स्थितिको बारेमा आयोगले अनुगमन गरेको थियो।

आयोगका सदस्य लिली थापासहितको टोलीले रूपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य कैदीबन्दीहरुसँग भेट गर्नुका साथै कारागारको भौतिक अवस्था र समग्र व्यवस्थापनको बारेमा अनुगमन गरेको थियो।

‘कारागारमा रवि लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाइले बन्द गर्दा कोठामा हावा पास हुन नसकेको, निजलाई कोठाबाहिर हिँडडुल गर्न नदिइएको, कोठासँगै खुला ट्वाइलेट रहेको, स्वास्थ्यको दृष्टिकोणले निजलाई राखिएको कोठा उपयुक्त नभएको र अदालतबाट आदेश हुँदा समेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको छ,’ आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रूपन्देही कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, जेष्ठ नागरिक र बिरामीलाई राख्ने छुट्टै स्थान नभएको, पर्याप्त पत्रपत्रिका उपलब्ध नभएको, पढ्न चाहनेहरूका लागि शिक्षाको उचित व्यवस्था नभएको, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुपर्नेहरुले प्राप्त गर्न नसकेको, बेलाबेलामा कारागारभित्र सर्प पस्ने गरेको र कतिपय आधारभूत आवश्यकताहरुको व्यवस्थापनका लागि समेत कारागार कार्यालयसँग पर्याप्त बजेट नभएको भन्ने जानकारी अनुगमनका क्रममा पाइएको छ।’

यसैगरी कैलाली कारागारमा पछिल्लो पटक भएको हिंसात्मक मुठभेडबाट उत्पन्न परिस्थितिको आयोगको सुदूरपश्चिम कार्यालयले निरन्तर अनुगमन गरिरहेको आयोगको भनाइ छ।

कैलाली कारागारमा २०८२ साउन २४ गते भएको घटना अगावै आयोगले मिति २०८१\१०\४ र २०८२\४\१९ गते सम्भावित घटनाप्रति सतर्कता अपनाउन कारागार सम्बद्ध निकायमा पत्राचार गरेको थियो।

घटनापश्चात् तत्काल आयोगको सुदूरपश्चिम कार्यालय धनगढीले अनुगमन गर्दा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएको, कारागारमा कैदीबन्दी बीच पटक-पटक झगडा हुँदा पनि राज्य संयन्त्रले समस्या समाधानको लागि पर्याप्त पहल नगरेको, सुरक्षाकर्मीको संख्या न्यून रहेको, सुरक्षा चेकजाँच अत्यन्तै फितलो हुनुका साथै प्रविधियुक्त नरहेको र स्थानान्तरण प्रक्रिया पारदर्शी नहुँदा कैदीबन्दीबीच द्विपक्षीय भिडन्त हुन पुगेको पाइएको आयोगको भनाइ छ।

कारागार व्यवस्थापनका लागि पर्याप्त जनशक्ति र बजेटको व्यवस्था गर्न, रुपन्देही तथा कैलाली कारागारलगायतका सबै कारागारहरूको क्षमता अभिवृद्धि गरी उचित सुधार गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ।

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क-२’ लागू गर्छौँ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो वर्ष दोस्रो चरणको ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने बताएका छन् ।

राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आज आयोजित बैठकमा मन्त्री गुरुङले  डिजिटल नेपाल फ्रेमवर्क–२ (डिएनएफ–२) को मस्यौदा तयारी भइसकेको र मन्त्रालयले चाँडै कार्यान्वयनको स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिएका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘डिजिटल गभर्नेन्स’ अवलम्बन गर्ने सम्बन्धमा  सरकारका तर्फबाट भएका कामकारबाही बारेमा छलफल गर्न समितिको बैठक आयोजना गरेको हो ।

मन्त्री गुरुङका अनुसार सरकारले २०७६ मा पहिलो चरणको डिजिटल ‘फ्रेमवर्क’ (डिएनफ १.०¬) ले ८ मुख्य ‘डोमेन’ र ८० वटा ‘इनिसिएटिभ्स’को फ्रेमवर्क तयार पारेको थियो । दोस्रो चरणको डिजिटल फ्रेमवर्क समयसापेक्ष रहेको फ्रेमवर्कमा आठ ‘डोमेन’ कृषि, स्वास्थ्य, शिक्षा, सहरी पूर्वाधार, ऊर्जा, पर्यटन, वित्त र डिजिटल ‘फाउन्डेसन’ समेटिएका छन् ।

देशको आर्थिक रूपान्तरण र समृद्धिका लागि महत्त्वपूर्ण अवधारणाका रूपमा अधि सारिएको डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि एक खर्ब सात अर्ब ५० करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले डिजिटल फ्रेमवर्कको लक्ष्य पूरा हालसम्म बाह्य सहायता प्राप्त नभएकाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफ्नै प्रयासमा डिजिटल नेपाल फ्रेमवर्क–२ लागू गर्ने जानकारी दिए।

साथै, डिजिटल नेपाल फ्रेमवर्क–२ का विषयगत क्षेत्रलाई लागू गर्न सम्बन्धित मन्त्रालयसँग साझेदारी गर्नुपर्ने बताउँदै मन्त्री गुरुङले मन्त्रालयगत समन्वयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिवको संयोजकत्वमा समिति गठन हुने जानकारी दिए ।

डिजिटल नेपाल फ्रेमवर्क प्रभावकारी बनाउन मन्त्रालयले कृत्रिम बौद्धिकता (एआई) को नीतिगत मस्यौदा चाँडै मन्त्रिपरिषद्बाट स्वीकृत गरिने उनले सुनाए  ।

हुलाक सेवा विभागलाई ‘डिजिटाइजेसन’, ‘डेटा सेन्टर’ निर्माणलगायत कार्यमा आफ्नो मन्त्रालय सक्रिय रहेको जानकारी दिँदै मन्त्री गुरुङले ‘फोरजी नेटवर्क’ घरघरमा पुर्याउनाका साथै यो वर्ष ‘फाइभ जी नेटवर्क’लाई काठमाडौँ र पोखराबाट थालिने बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले नीतिगत र कानुन निर्माणमा भएका प्रगतिबारे जानकारी दिइन् । उनले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी कार्यान्वयनमा रहेको, डेटा सेन्टर तथा ‘क्लाउड’ सेवा निर्देशिका (सञ्चालन तथा व्यवस्थापन), २०८१ जारी भई कार्यान्वयनमा आएको, सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशिका कार्यान्वयन गरिएको बताइन्।

यसैबीच, गोश्वारा हुलाक कार्यालयले मंगलबार आयोजना गरेको वाग्मती प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा मन्त्री गुरुङले हुलाक सेवालाई ‘डिजिटाइज्ड’ गर्न नीतिगत, कानुनी र संरचनागत रूपान्तरण गर्न आवश्यक भएको बताए ।

उनले हुलाकका सेवा जनताका घरघरमा पुर्‍याउन प्रविधिको व्यापक प्रयोग गर्नुपर्ने बताए । वि.स १९३५ मा स्थापना भएको हुलाक पुरानै ऐन र कानुनबाट सञ्चालित हुन हुँदैन भने । आफ्नो मन्त्रालयले हुलाकको संरचनागत रूपान्तरणका निम्ति नयाँ हुलाक ऐन ल्याउने तयारीमा गरेको जानकारी पनि उनले दिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव कोशहरि निरौलाले हुलाकको इतिहासलाई संरक्षण गर्दै गतिअनुसारको कार्य सुधार गर्न कर्मचारीले अतिरिक्त परिश्रम गर्नुपर्नेमा जोड दिए ।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले हुलाकको कार्यशैलीमा विगतको तुलनामा व्यापक रूपान्तरण भएको बताइन्  ।

मेरो नाम भजाएर कसैले गलत गर्न खोजे झपारेर पठाउनू : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कमजोरी देखिए पनि कारबाही गर्न निर्देशन दिएका छन् ।

राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती गर्दै नगरी जनतालाई सहज सेवा प्रवाहको सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुने बताए ।

नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै सचिव, सुरक्षा निकायका प्रमुखसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, परादर्शीता र सेवा प्राप्ति नागरिकको हक भएकाले त्यो अधिकार उपलब्ध गराउने मामिलामा राज्यका सबै निकाय उत्तिकै चलायमान हुनुपर्ने बताए ।

भ्रष्ट आचरण र पथभ्रष्ट भएका व्यक्ति छन् भने पदाशीन भए पनि तिनले मनदेखि अरुको सम्मान नपाउने उनले बताएका छन् ।

‘बिनामोलाहिजा छानबिन र अनुगमन गर्नुस् । देखिएका कुरा खुलस्त भन्नुस् । मेरै कमजोरी देखिए पनि आएर भन्नुस् । मेरो नाम भजाएर कसैले गलत काम गराउन खोज्न भने त्यस्तो काम नगर्नुस्, झपारेर पठाउनुस्’, प्रधानमन्त्री ओलीले भने, ‘सार्वजनिक रुपमा गिर्ने गरी कुनै कामा नगर्नुस् । अरुको आँखाबाट नझर्नुस् । आफ्नो आँखाबाट पनि नझर्नुस् । त्यसो गरेर सुशासनलाई सघाउनुस् ।’

काम गर्दा लाग्ने रोगलाई सरकारले दियो कानुनी मान्यता

काठमाडौं । सरकारले पहिलो पटक कामको सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार यी रोगहरूको सूची राजपत्रमा प्रकाशित गरेको हो ।

यो निर्णयले कार्यस्थलको धुलो, रसायन, कोलाहल वा कामको प्रकृतिका कारण श्रमिकमा देखिने स्वास्थ्य समस्यालाई व्यक्तिगत समस्याको रूपमा नभई कानुनी रूपमा सम्बोधन गरेको छ । यसले लाखौं श्रमिकको स्वास्थ्य अधिकार सुरक्षित गर्न र रोजगारदातालाई आफ्नो कार्यस्थल सुरक्षित बनाउन थप जिम्मेवार बनाउनेछ ।

सरकारले मान्यता दिएका व्यवसायजन्य रोगहरूलाई विभिन्न आठ श्रेणीमा विभाजन गरिएको छ । कार्य गतिविधिहरूबाट उत्पन्न हुने एजेन्टहरूको सम्पर्कको कारण हुने व्यवसायजन्य रोगहरूमा रासायनिक एजेन्टहरूको कारण हुने रोगहरू, भौतिक एजेन्टहरूको कारण हुने रोगहरू, जैविक एजेन्टका कारण हुने संङ्क्राकम वा परजीवी रोगहरू रहेका छन् ।

जसमा क्रोमियम, लिड (सिसा), पारा (मर्करी), बेन्जिन, श्वासप्रश्वासमा अवरोध गर्ने ग्यास, सल्फर अक्साइड, जिंक, अर्गानिक सोल्भेन्ट्स, क्लोरीन र अन्य फार्मास्युटिकल एजेन्टहरूबाट हुने रोगहरू रहेका छन् ।

त्यस्तै भौतिक कारणले हुने रोगहरूमा श्रवण शक्ति ह्रास, विकिरणको असर, अत्यधिक तापक्रममा काम गर्दा हुने स्वास्थ्य समस्या रहेका छन् ।

जैविक तत्वबाट हुने संक्रामक रोगमा हेपाटाइटिस बी, सी र एचआईभी, ब्रुसेलोसिस र एन्थ्रेक्स, टिटानस, क्षयरोग र लेप्टोस्पाइरोसिस जस्ता खिया लागेका औजार प्रयोग हुने, जुनसुकै कार्यस्थल र पशुको मूत्रबाट सर्न सक्ने रोगहरू रहेका छन् ।

श्वासप्रश्वास प्रणालीका रोगहरूमा निमोकोनियोसिस, साइडरोसिस, ब्यागासोसिस, दीर्घकालीन अवरोधक पल्मोनरी रोग रहेका छन् ।

त्यस्तै छाला र हाडजोर्नीका रोगहरूमा छालाका रोगहरू रसायन वा अन्य वस्तुको सम्पर्कले हुने एलर्जी र डर्माटाइटिस रहेका छन भने हाडजोर्नी रोगमा कार्पल टनेल सिन्ड्रोम, टेनोसिनोभाइटिस र बर्साइटिस, मेनिस्कस लिजन्स रहेका छन् ।

त्यस्तै मानसिक तथा व्यवहारिक रोगमा आघातपछिको तनाव रोग (मानसिक समस्या) रहेका छन् । जुन कामको सिलसिलामा दुर्घटना वा हिंसा जस्ता भयानक घटना भोगेका श्रमिकमा देखिने मानसिक समस्या हुन् ।

त्यस्तै व्यवसायजन्य क्यान्सरमा एस्बेस्टोस, क्रोमियम, कोइला टार्स, कोइला टार पिचहरू वा सुट्स, बेन्जिन, आयोनिक विकिरण, टार, पिच, बिटुमेन, खनिज, तेल काठको धुलो, आर्सेनिक र यसका कम्पाउन्डहरू, क्याडमियम, र हेपाटाइटिस बी–सी भाइरस जस्ता तत्वहरूको सम्पर्कमा आउने कामहरूलाई क्यान्सरको जोखिमयुक्त मानिएको छ ।

श्रम ऐन २०७४ को परिच्छेद १२ मा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी व्यवस्था रहेको छ । जसमा कुनै व्यवसायजन्य रोग लागेमा प्रतिष्ठानले त्यस्तो रोगको उपचारका लागि तोकिए बमोजिमको उपचार खर्च तथा त्यस्तो रोगको उपचार हुन नसक्ने भएमा तोकिए बमोजिमको क्षतिपूर्ति रकम श्रमिकलाई दिनु पर्नेछ ।

भारत उत्तराखण्डको बाढीमा २६ जना नेपाली बेपत्ता : दूतावास

काठमाण्ठौ : भारतको उत्तराखण्डमा अघिल्लो हप्ता आएको बाढीमा २६ जना नेपाली बेपत्ता रहेको दूतावासले जनाएको छ । दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा ५ गरी २६ जना बेपत्ता छन् । धराली क्षेत्रमा हराएकाहरुमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खडका, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश र प्रिया रहेका छन् ।

यसैगरी दिपक मगर, सुरज राना, मानबहादुर, नीम बहादुर, रवि सिंह र रामबहादुर पनि बेपत्ता रहेको दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।दूतावासका अनुसार पौडीगढवालमा बेपत्ता भएकाहरूमा नरेन्द्र खड्का, सन्ध्या खड्का, रोमन खड्का, अमृता परियार र बिमल विक रहेका छन् । उत्तरकाशीको धराली क्षेत्रमा गएको मङ्गलवार आरीघोप्टे वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गमा पर्ने धराली बजार तहसनहस गरेको छ ।

धराली क्षेत्रमै होटेल तथा स्याउ फार्ममा काम गर्न गएका नेपालीहरु बाढीमा परेको अनुमान गरिएको छ । धराली क्षेत्रमा फोन र विद्युत सेवा शुरू भएपछि खोजीको काम तीव्र भएको छ ।

कञ्चनपुरका आरक्षपीडितको समस्या समाधान गर्न एनपी साउदको माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले विभिन्न समयमा गठन भएका आयोगहरूले गरेको सिफारिस तत्काल लागू गरी कञ्चनपुरका आरक्षपीडितहरूको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले गृहजिल्ला कञ्चनपुरका आरक्षपीडितहरूको समस्या समाधानका लागि गठन गरिएका आयोगहरूको सिफारिस तत्काल लागू गर्न माग गरेका हुन् ।

‘अहिले आरक्षपीडितहरू आमरण अनसन बसेको अवस्था छ । आरक्षपीडित समस्याले दशकौँदेखि जंगलमा बसोबास गरिरहेका पीडित र तिनका बालबालिकाको शिक्षा, स्वास्थ्यसमेत दृष्टिगत गरी आफैँले गठन गरेका आयोगका सिफारिस तत्काल लागू गरी सरकारले समस्या समाधान गरोस्,’ साउदले भने ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षपीडितहरूको समस्या समाधानका लागि अहिलेसम्म राज्यले करोडौँ खर्च गरेर विभिन्न राजनीतिक, प्रशासनिक र अर्धन्यायिक आयोगहरू गठन गरिसकेको छ ।

‘३४ आयोग बनिसकेका छन् । कराडौँ खर्च भइसकेको छ । सबै आयोगले लगभग सहमतिमा निर्णयहरू सिफारिस गर्ने गर्दछन् । आरक्षपीडित समस्या वास्तविक छ,’ साउदले भने, ‘जग्गा मुआब्जा आरक्ष विस्तार गरेका कारणले सुकुम्बासी भएका आरक्षपीडितहरूलाई उपलब्ध गराउनुपर्छ । जग्गा उपलब्ध गराउन नसकिए आर्थिक सहयोग पनि पु¥याउनपर्छ भनेर सबै आयोगले सिफारिस गरेका छन् ।’

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा तत्कालीन वनमन्त्री महेश आचार्यबाट गठित अर्धन्यायिक आयोगले निश्चित मापदण्ड निर्धारण गर्दै संख्या यकिन गरी सम्भव पीडितहरूलाई जग्गा र नपुगलाई आर्थिक मुआब्जा उपलब्ध गराउन रकमसमेत यकिन गरी अर्थमन्त्रालयबाट सहमति लिएर मन्त्रिपरिषद्बाट समेत पास गरेको स्मरण गराए ।

‘क्षतिपूर्ति कम भएको भन्ने पीडितहरूको गुनासो र आफैँले गठन गरेका सबै आयोगहरूको जग्गा र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सिफारिसलाई सरकारले लामो समयदेखि वेवास्ता गर्दै आएको छ,’ पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका साउदले भने ।

राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी

काठ्माण्डौँ । कुलिङ अफ पिरियड सम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवार किटान गरेका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिने तयारी गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्नका लागि उनले सभामुखसँग समय मागेका छन् । स्रोतका अनुसार प्रतिनिधि सभाको बैठक सुरु हुनु अघि सभामुख देवराज घिमिरे, कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग उनले भेटेका थिए ।

कुलिङ अफ पिरियडको गडबडी छानबिन विशेष समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई किटान नै गरेर जिम्मेवार ठहर गरेको थियो ।

संक्रमणकालीन न्यायसम्बन्धी रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले संक्रमणकालीन न्यायसँग सम्बन्धित रिट निवेदन दर्ता नगर्ने (दरपीठ गर्ने) आफ्नै प्रशासनको आदेश बदर गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले द्वन्द्वपीडित गीता रसाइली लगायतले पेश गरेको रिट निवेदन दरपीठ गर्ने आदेशलाई बदर गरेको हो । न्यायाधीश श्रेष्ठको इजलासले रसाइली लगायतको निवेदनमा ‘मागबमोजिम हुने’ भनी आदेश गरेको छ । अब उनीहरुको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्नुपर्नेछ ।

उनीहरुले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको नियुक्ती बदर र त्यससम्बन्धी कानुनी व्यवस्था खारेज हुनुपर्ने माग राखेर रिट निवेदन पेश गरेका थिए ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ बस्ने रामकुमार भण्डारी लगायत ३३४ जना द्वन्द्वपीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग अनि बेपत्ता छानबिन आयोगका पदाधिकारीहरुको नियुक्तीको खारेज हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।

आफूहरुलाई नियुक्तीको आधार र कारण खुलाएर कुनै जानकारी नदिएको, द्वन्द्वपीडितसँगको परामर्श र छलफलबिना नै पदाधिकारी नियुक्त गरिएको भन्दै द्वन्द्वपीडितहरुले उनीहरुको नियुक्ती खारेजीको माग गरेका हुन् ।

उनीहरुले सत्य निरुपण तथा मेलमिलाप अनि बेपत्ता छानबिन आयोग ऐन, २०७१ को कतिपय प्रावधान संविधानसँग बाझिएको भन्दै बदर गर्न माग गरेका थिए । अनि ऐनको आवश्यक संशोधन र परिमार्जन गर्न लगाउन सरकारका नाममा परमादेश माग गरेका थिए ।

सर्वोच्च अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले आयोगका पदाधिकारी नियुक्तीको विषयसँग रिट निवेदकहरुको सार्थक सम्बन्ध र तात्विक सरोकार पुष्टि हुने प्रमाण नभएको भन्दै निवेदन दर्ता गर्न अस्वीकार(दरपीठ) आदेश गरेका थिए ।

रजिष्ट्रार कार्कीले संक्रमणकालिन न्यायसँग सम्बन्धित दुई आयोगका पदाधिकारीको नियुक्तीका कारण द्वन्द्वपीडितहरुको मौलिक र कानुनी हक कसरी हनन हुन गएको भन्ने दाबी पुष्टि भएन भन्ने आधार देखाएर निवेदन दरपीठ गरेका हुन् । दरपीठ आदेशमा मुद्दामा बेसरोकार व्यक्तिलाई प्रत्यर्थी बनाइएको उल्लेख थियो ।

संक्रमणकालीन न्याय हेर्ने दुई आयोगका पदाधिकारीहरु चयन भएदेखि नै त्यसको प्रक्रियामा प्रश्न उठाउदै द्वन्द्वपीडितहरूले आयोगको कामकारबाही अस्वीकार गर्दै आएका छन् ।

विभिन्न राजनीतिक दलदेखि अन्तर्राष्ट्रिय समूदायको ध्यानाकर्षण गराउँदै आएका द्वन्द्वपीडितहरु नियुक्तीको बदर माग गरेर सर्वोच्च अदालत पुगेका हुन् ।

पुटिन १० वर्षपछि अमेरिका जाँदै, ट्रम्पसँगको बैठकमा युक्रेन संकट मुख्य एजेण्डा

काठमाडौँ। आगामी शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्का राज्यमा एक महत्वपूर्ण शिखर बैठक हुँदैछ। पुटिन १० वर्षपछि अमेरिका जाँदैछन् । सन् २०१५ पछि रुसी राष्ट्रपतिको यो पहिलो अमेरिका भ्रमण हो।

रुसी राष्ट्रपति कार्यालयका सल्लाहकार युरी उशाकोभले ऐतिहासिक रूपमा रुसको अधीनमा रहेको अलास्कालाई बैठकको स्थान बनाउनु उपयुक्त रहेको बताएका छन्। अलास्काका राज्य प्रमुख माइक डनलीभीले पनि राष्ट्रिय सुरक्षा, ऊर्जा स्रोत र आर्कटिक रणनीतिमा यस क्षेत्रको महत्वलाई ध्यानमा राख्दै यस्तो अन्तर्राष्ट्रिय बैठक आयोजना गर्नु उचित रहेको धारणा व्यक्त गरे।

बैठकको मुख्य एजेण्डा युक्रेन संकटको दिगो र स्थायी समाधान खोज्नु हुने अपेक्षा गरिएको छ। राष्ट्रपति ट्रम्पले केही भूभाग साटासाटको सम्भावनाबारे संकेत गरेका छन् भने रुसका विदेशमन्त्रीले युद्ध अन्त्यका लागि दुवै पक्षबीच समझदारी आवश्यक रहेको बताएका छन्।

यसबाहेक, प्राकृतिक स्रोतले धनी अलास्का र आर्कटिक क्षेत्रमा वातावरण संरक्षण, पूर्वाधार र ऊर्जा विकास मा दुई देशबीच सहकार्यको अवसरबारे पनि छलफल हुने रुसी लगानी प्रमुख किरिल दिमित्रिएवले जानकारी दिएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीको बैठकमा सहभागिताको सम्भावना अझै अनिश्चित छ। राष्ट्रपति ट्रम्पले पुटिनसँगको भेटका लागि उनको उपस्थिति आवश्यक नरहेको बताएका छन्। यद्यपि, राष्ट्रपति जेलेन्स्कीले भने कुनै पनि शान्ति सम्झौतामा युक्रेनको पूर्ण सहभागिता नभएसम्म गरिने निर्णयहरू बाधक हुने स्पष्ट रूपमा बताएका छन्।

 

भारत भ्रमणबाट फर्किएपछि बिरामी परेको सानो खैरो गिद्धले पायो पुनर्जीवन

काठमाडौं । आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्धलाई सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा छाडिएको छ। गाडीमार्फत ल्याइएको उक्त गिद्धलाई पिँजडाबाट छाडेपछि पखेटा खोल्दै आकासमा उडेको दृश्य दुर्लभ थियो।

‘टाउको झोक्राएको, हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको गिद्धलाई कैलालीको लम्की चुहास्थित लालीगुराँस सामुदायिक वनबाट उद्धार गरेका थियौँ’, सबडिभिजन वन कार्यालय पहलवानपुरका वन अधिकृत शेरबहादुर भण्डारीले भने, ‘गिद्धको अवस्था हेर्दा बाँच्लाजस्तो लागेकै थिएन, उपचारसँगै स्याहारसुसार र आहारमा ध्यान दिइएपछि तन्दुरुस्त भयो।’

गिद्धलाई निकुञ्जको सुरक्षित स्थानमा लगेर छाड्दा दुई–तीन पाइला हिँड्दै उडेको देखेर निकै खुसी लागेको उनले बताए । ‘उडेको दृश्य निकैबेर नियाल्यौँ’, उनले भने, ‘केही बेरको उडानपछि गिद्ध अस्नाको रुखमा पखेटा फिँजाउँदै बसेको दृश्य क्यामेरामा कैद गर्न भ्यायौँ ।’

सामुदायिक वनका पदाधिकारीले वन क्षेत्रमा गत साउन १९ गते बिरामीको अवस्थाको गिद्ध देखापरेपछि डिभिजन वन कार्यालय कैलालीमा खबर गरेका थिए । त्यसपछि गिद्धको उद्धार गरी उपचार गरिएको थियो । बिरामी परेको गिद्धको बर्दिया राष्ट्रिय निकुञ्जस्थित प्रकृति संरक्षण कोष(एनटिएनसी) का भेटेरिनरी चिकित्सक विकल्प कार्कीसहितको टोलीले आठ दिनसम्म उपचार गरेका हुन् ।

पूर्वी नवलपरासीको जटायु रेष्टुराँबाट प्राकृतिक विचरणका लागि उडेको गिद्ध भारतका विभिन्न बस्ती हुँदै कैलालीको लम्की पुगेर बिरामी परेका अवस्थामा फेला परेको नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का चरा विज्ञ हिरुलाल डगौराले बताए ।

वर्षात्का समयमा झुण्डबाट छुट्टिएर लामो दूरी तय गर्दा अर्ध वयस्क सानो खैरो गिद्ध पर्याप्त पानी, आहारा नपाउँदा रगतको कमी भई बिरामी परेको हुनसक्ने उनले बताए । गिद्धको बाह्य चोटपटक लागेको भने नरहेको उनले जानकारी दिए ।

‘गत असार २७ गते नवलपुरबाट उडेको गिद्ध सुरूका पाँचदेखि सात दिनसम्म कपिलवस्तुको गैडहवा वन तथा रेस्टुरेन्ट क्षेत्रमै विचरण गरेको पाइएको छ’, उनले भने, ‘त्यसपछि गिद्धले कपिलवस्तुको गैडहवाबाट विचरणका लागि भारतको बहराइच, लखिमपुर, टिकुलिया, सीमावर्ती क्षेत्र भजनी हुँदै मसुरियासम्म पुगेर फर्किने क्रममा लाँलीगुरास वनमा बिरामी अवस्थामा फेला परेको हो ।’

गिद्धको खुट्टामा लगाइएको रातो स्याटेलाइट टयाग ‘जे १६’ ले उक्त गिद्धले पूर्वी नवलपरासीको जटायु रेष्टुरेन्टबाट उडान भरेको पुष्टि भएको चरा विज्ञ डगौराले बताए ।

नेपाल पक्षी संरक्षण सङ्घको तथ्याङ्कअनुसार विगत केही वर्षअघि रेष्टुरेन्टकै एक डङ्गुर गिद्धले भारतको पश्चिमी क्षेत्रसहित पाकिस्तानसम्म विचरणका लागि उडान गरेको थियो । नेपाल पक्षी संरक्षण सङ्घ र सबडिभिजन वन कार्यालय लम्कीको टोलीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा गिद्धलाई सुरक्षित क्षेत्रमा छाडेको डगौराको भनाइ छ ।

‘गिद्ध उपचारपछि स्वस्थ र तन्दुरुस्त छ’, उनले भने, ‘पुनः पुरानै बासस्थानमा फर्कनेमा विश्वस्त छौँ ।’ गिद्धमा जडान गरिएको रेडियो कलरको सहायताले जिपिएस ट्र्याकिङ गरी अवस्थाबारे अध्ययनको कार्य निरन्तर जारी रहने उनले उल्लेख गरे । अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ(आइयुसिएन)ले यस प्रजातिको गिद्धलाई अतिसङ्कटापन्नको सूचीमा सूचीकृत गरेको छ। रासस

त्रिविले माग्यो सरकारसँग सुरक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षा माग गरेको छ । विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण असुरक्षित भएको भन्दै त्रिविले सुरक्षाका लागि सरकार गुहारेको हो ।

त्रिविले सुरक्षित वातावरणमा हिँड्न र कार्यालयमा बसेर काम गर्न सुरक्षाको प्रबन्ध गर्न सरकारलाई भनेको छ ।

‘जिल्ला प्रशासन कार्यालयमा पत्र पनि पठाएका छौंँ,’ त्रिविका एक अधिकारीले भने । उनका अनुसार सुरक्षाको लागि गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्तलाई पनि सुरक्षाको प्रबन्ध मिलाइदिन भनिएको छ ।

सोमबार अखिल क्रान्तिकारीले शुल्क घटाउनु पर्ने भन्दै रजिस्ट्रार कार्यालय र रेक्टर कार्यालय तोडफोड गरेको थियो । सो क्रममा प्रहरीसँग झडप हुँदा केही विद्यार्थीहरु घाइते भएका थिए ।

अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो । गाभिएका कार्यक्रमको शुल्क घटाउनु पर्ने माग राखेर अखिल क्रान्तिकारीले २० दिनदेखि उपकुलपति अर्यालको कार्यकक्ष अगाडि ढोकामा धर्ना दिइरहेको छ । जसका कारण कार्यकक्षमा बसेर काम गर्न नपाएको उपकुलपति दीपक अर्यालले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागार तत्काल सुधार गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला कारागार, कैलालीको सुधार गर्ने भएको छ।क्षमताको पाँच गुणा बढी कैदीबन्दी रहेको कैलाली कारागारलाई प्रदेश सरकारले तत्काल सुधार गर्ने भएको हो।

कारागारभित्र कैदीबिच हिंसात्मक झडपपछि मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समितिको बैठकले कारागारलाई तत्काल प्रदेश सरकारले सुधार गर्ने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कारागारभित्र हेलोजन लाइट, सिसी क्यामरा जडान, कारागारको छानालगायतका आवश्यक मर्मत तत्काल सुरु गर्ने बैठकले निर्णय गरेको हो।

समितिको बैठकले कारागारको सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई तीन÷तीन महिनामा अदलीबदली गर्ने व्यवस्था मिलाउने निर्णय गरेको समितिका सदस्यसचिव एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सदस्यसचिव आमोद दाहालले बताए। कारागार प्रशासन र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कारागार सुरक्षाका लागि कारागार ऐनमा आवश्यक सुधारका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय समितिले गरेको छ।

कैलाली कारागारभित्र रहेको कैदीको सङ्ख्या कारागारको क्षमताभन्दा पाँच गुणा बढी देखिएका कारण उत्पन्न सुरक्षा चुनौती न्यूनीकरण गर्न कारागारको क्षमता अनुसार कैदीबन्दी व्यवस्थापनका लागि कारागार विभागसँग समन्वय गर्ने बैठकमा निर्णय गरिएको छ।

१७५ जना क्षमताको कैलाली कारागारमा ६९९ कैदी राखिएको छ। कारागारभित्र जाने खाद्यान्न, तरकारी तथा अन्य वस्तुको निगरानी र जाँच बढाउन कारागार प्रशासन र सुरक्षाकर्मीलाई प्रमुख जिल्ला अधिकारीमार्फत निर्देशन दिने निर्णय समितिले गरेको छ।

कैलाली कारागारमा रहेका कैदीबन्दीको सङ्ख्याभन्दा हालको कारागारको क्षमता निकै कम रहेका कारण सुरक्षा चुनौती उच्च देखिएको समितिको ठहर छ।

यो कारागारको क्षमता अभिवृद्धि गर्न र सुविधासम्पन्न कारागारको पूर्वाधार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गर्न सङ्घीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय सुरक्षा समितिको बैठकले गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कारागार प्रशासनबिच समन्वय गरी कारागारभित्र कैदीबन्दीलाई मनोवैज्ञानिक परामर्श, सकारात्मक सोच विकास गर्ने खालका कार्यक्रम सघन रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ।

कैदीबन्दीका लागि पुस्तक पनि उपलब्ध गराउने समितिको बैठकले निर्णय गरेको छ।कैलाली कारागारमा कैदीबिचको हिंसात्मक झडपमा परी ज्यान गुमाएका भरत चौधरीको परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपियाँ सहयोग गर्ने भएको छ।

शुक्रवार राति कारागारभित्र कैदीबिच हिंसात्मक झडप हुँदा धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय चौधरीको ज्यान गएको थियो।

उक्त घटनामा ४७ जना कैदी घाइते भए।घाइते कैदीको सरकारी खर्चमा उपचार गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ।घाइते कैदीको धनगढी र काठमाडौँमा उपचार भइरहेको छ।

टेक्सास गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु

टेक्सास । अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक बालक छन् ।

टेक्सासको डल्लासमा एक अपार्टमेन्टमा गत शनिबार बिहान ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया रञ्जना श्रेष्ठ र उनीहरुका ३ वर्षे छोरा प्रनिशको ज्यान गएको सीबीएस न्युजले जनाएको छ ।

रञ्जना र प्रनिश घटनास्थलमै गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । घटनास्थलमा गम्भीर घाइते अवस्थामा भेटिएका ललितको भने उपचारको क्रममा ज्यान गएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

ललित पूर्वी मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरबाट करिव डेढ दशकअघि पुनर्वासमा अमेरिका आएका हुन् । उनकी श्रीमती रञ्जनाको माइत भने काठमाडौंमा छ ।

ट्रम्पद्वारा वाशिङ्गटन डिसीमा आपतकाल घोषणा, प्रहरी संघीय नियन्त्रणमा

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्गटन डिसीमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा गर्दै राजधानीको प्रहरी विभाग (एमपीडी) लाई संघीय नियन्त्रणमा लिएका छन्। यो कदमसँगै वाशिङ्गटनका सडकहरूमा ठूलो संख्यामा प्रहरी अधिकारी र एफबीआई एजेन्टहरू तैनाथ गरिएको छ, जसले शहरमा आपराधिक गिरोहहरूलाई नियन्त्रणमा लिने भनिएको छ।

पत्रकारहरूलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘डिस्ट्रिक्ट अफ कोलम्बिया होम रुल एक्टको प्रयोग गर्दै हामी वाशिङ्गटन डिसी प्रहरी विभागलाई संघीय नियन्त्रणमा लिइरहेका छौँ। तपाईंहरू लुटपाट, बलात्कार, गोली प्रहार वा हत्या भएको हेर्न चाहनुहुन्न होला।’ ट्रम्पले वाशिङ्गटन डिसीको हत्या दर ‘पृथ्वीको सबैभन्दा खराब ठाउँहरू’ भन्दा पनि बढी भएको र कार चोरीका घटनामा पनि वृद्धि भएको दाबी गरे। यद्यपि, प्रहरीको तथ्याङ्कले हालैका वर्षहरूमा हिंसात्मक अपराधमा कमी आएको देखाएको छ।

राष्ट्रपति ट्रम्पले राजधानीमा ‘हिंसक गिरोह, रक्तपिपासु अपराधी, लागुऔषध दुर्व्यसनी र घरबारविहीन व्यक्तिहरू’ ले कब्जा जमाएको आरोप लगाएका छन्। उनले एक पूर्व कर्मचारीमाथि भएको आक्रमणको उल्लेख गर्दै भने- ‘बदमाशहरूको समूहले उनलाई निर्दयीपूर्वक पिटेको र रगतले लतपतिएको अवस्थामा छाडेको थियो।’

राष्ट्रपतिले सरकारी कर्मचारी, एक डेमोक्र्याटिक सांसद र एक इन्टर्नमाथि पनि आक्रमण भएको बताउँदै यसले सरकारको काममा बाधा पुगेको र अमेरिकाका लागि खतरा उत्पन्न भएको बताए। यो निर्णय डिस्ट्रिक्ट अफ कोलम्बिया होम रुल एक्टको धारा ७४० अन्तर्गत लिइएको हो, जसले राष्ट्रपतिलाई आपतकालीन अवस्थामा प्रहरी बललाई संघीय उद्देश्यका लागि प्रयोग गर्ने अधिकार दिन्छ। यस कदमलाई वाशिङ्गटन डिसीका स्थानीय अधिकारीहरूले चिन्ताजनक भनेका छन्।

अनिल झाले छाडे लोसपा, सद्‍भावना ब्युँत्याउने प्रयासमा कानुनी झमेला

काठमाडौं- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अनिलकुमार झाले राजीनामा दिएका छन् ।

लामो समयदेखि लोसपा राजनीतिमा निष्क्रिय रहँदै आएका झाले ह्वाटसपमार्फत् अध्यक्ष महन्थ ठाकुरलाई राजीनामा बुझाएका हुन् ।

बितेको एक वर्षदेखि नै लोसपामा निष्क्रिय झाले राजीनामा बुझाएलगत्तै अध्यक्ष ठाकुरले स्वीकृत गरिदिएको महासचिव सुरेन्द्रकुमार झाले बताए ।

‘उहाँ लामो समयदेखि लोसपामा निष्क्रिय जस्तै हुनुहुन्थ्यो, एक महिनाअघि उहाँले ह्ववाटसपबाट अध्यक्षज्यूलाई राजीनामा पठाउनु भएको थियो, अध्यक्ष ठाकुरजीले स्वीकृत गरिसक्नु भएको छ,’ उनले भने ।

यसबारे झासँग सम्पर्क गर्दा उनले भने, ‘हो मैले लोसपा छाडे ।’ तर, एक महिनाअघि राजीनामा दिए पनि मितिमा अघिल्लो वर्ष उल्लेख छ ।

समाचार अनुसार उनी लोसपामा नै रहँदा पनि नेपाल सदभावना पार्टी पुनर्गठन गर्न खोजिरहेका थिए । नेपाल सदभावना पार्टी र पञ्जा छाप चुनाव चिह्न लिने उनको प्रयास जारी रहेको छ तर सफल भएको छैन ।

उक्त पार्टी सिरहाका रामकुमार महतो नामका एकजना पुराना सद्भावना नेताको नाममा दर्ता छ । झाले पनि अध्यक्षको हैसियतमा त्यही नाममा निर्वाचनमा आयोगमा पार्टी दर्ता गराएपछि महतोले आफूलाई ‘अपहरण गरेर कब्जा गर्न खोजेको’ भन्दै आयोगमा उजुरी दिएका छन् ।

जुन मुद्दा अहिले पनि चलिरहेको छ। तर, उनले झालाई त्यो पार्टी दिन चाहिरहेका छैनन्। निर्वाचन आयोगमा उनले प्रयास गरे पनि अझै पाउन सकेका छैनन् ।

‘उहाँले पार्टी दिनका लागि विभिन्न अफर गर्नु भएको थियो, पार्टी नै हो कसरी उहाँलाई दिन सकिन्छ, मैले दिएको छैन, उहाँ लफडाबाजी गरिरहनु हुन्छ,’ महतोले भने ।

एक महिनाअघि मात्रै प्रवक्तामा नियुक्ति भएका महासचिव मनिष मिश्रको प्रवक्ताको जिम्मेवारी खोसिएको छ।

केपी शर्मा ओली सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको ‘फिर्ता’बारे अभिव्यक्ति दिएपछि उनको पद खोसिएको बुझिएको छ।

‘सहमतिअनुसार शरदसिंह भण्डारीले अब राजीनामा दिएर पार्टी काममा फर्कनु हुन्छ, अब सरकारमा नयाँ अनुहार जान सक्छन्,’ भन्ने अभिव्यक्ति दिएकाले उनलाई अध्यक्ष ठाकुरले प्रवक्तावाट राजीनामा दिन लगाएका थिए । उनले प्रवक्तावाट राजीनामा दिए पनि महासचिव पद कायमै छ ।

श्रममन्त्री भण्डारी ओलीको कार्याकालभर रहने सहमति भए पनि मिश्रले त्यसविपरीत अभिव्यक्ति दिएपछि उनको राजीनामा माग गरिएको हो ।

स्रोतका अनुसार भण्डारी ओलीको कार्यकालभर रहने छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्याकालमा लोसपाले नयाँ अनुहार पठाउने सहमति भइसकेको छ ।

यद्पि, यसअघिको सहमतिअनुसार भण्डारीले एक वर्षमात्रै मन्त्री बन्ने र राजीनामा दिएर अर्को व्यक्ति पठाउने सहमति भएको थियो । अहिले लोसपामा आभाष लाभ पनि प्रवक्ताको भूमिकामा छन् ।

अब नेपाल बनाउने अभिभारा युवाहरूको काँधमा छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा आइसकेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवस २०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल बनाउने युगिन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम भइसकेका छन भन्ने आफूलाई विश्वास लागेको बताए।

राष्ट्रपति पौडेलले आफू र आफ्नो पुस्ताको युवावय मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म ल्याएर राजनीतिक व्यवस्थालाई एउटा टुङगोमा पुर्‍याउनमै समर्पित रहेको उल्लेख गर्दै क्रान्ति र परिवर्तनको एउटा कालखण्ड गुज्रेर सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएको बताए।

राष्ट्रपति पौडेलले प्रविधिमा आधारित नवप्रवर्तन, खेलकुद, मनोरञ्जन एवम् सूचना प्रविधिसहितका उद्यमशीलताका विभिन्न क्षेत्रमा नेपाली युवाहरूले आफूलाई अब्बल प्रमाणित गरिसकेको उल्लेख गर्दै भने– ‘यो सामथ्र्य र शक्तिलाई दीगो विकासको अवधारणाअनुरुप देश नवनिर्माणको उज्यालो भविष्यतर्फ उन्मुख गराउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्दछ ।’

उहाँले प्रविधिसँग अभ्यस्त नेपाली युवालाई स्वदेशमा नै अवसर दिलाउन सरकारले सहुलियतपूर्ण कर्जा सहजिकरण, युवामैत्री लगानीका लागि वातावरण निर्माण, नवप्रवर्तन र उद्यमशीलता विस्तारलाई प्राथमिकता दिएको बताउँदै यसलाई उपलब्धिमूलक बनाउन देश परिवर्तनका संवाहक युवाको साथ, सहभागिता र जागरुकता आवश्यक रहेको स्पष्ट पारे।

राष्ट्रपति पौडेलले उद्यमशीलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने समयको माग भइसकेको बताउँदै विश्वव्यापिकरण र सूचना प्रविधिको तिव्रतर विकासको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास, सुशासन र समृद्धिको सपनालाई पूरा गर्नु नै आजको मूख्य कार्यभार भएको उल्लेख गरे। उनले उद्यमशीलता आर्थिक विकासको आधार भएको भन्दै युवाको विदेश पलायन रोकेर उनीहरूलाई रोजगारीतर्फ आकर्षित गर्ने उद्यमशीलता विस्तार एवम् प्रवद्र्धनका नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक रहेको स्पष्ट पारे।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय युवा दिवस युवा सहभागिता र सशक्तीकरणका लागि साझा उत्सव र ऐक्यवद्धताको आधार भएको भन्दै यसले स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्मको युवा सहभागितामार्फत दिगो विकास, एकता र ऐक्यवद्धतालाई जोड दिएको महशुस भएको बताए।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधिको उपस्थिती रहेको थियो

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौं । हरेक वर्ष १२ अगष्टमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘दिगो विकास र सुनौलो भविश्यको सारस् स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो ।

अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी कार्यक्रम गरी मनाइँदै आए पनि मूल समारोह आज आयोजना हुँदैछ । बिहान १० बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने मूल समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्वोधन गर्ने कार्यक्रम छ ।

पुटिन १० वर्षपछि अमेरिका जाँदै, ट्रम्पसँगको बैठकमा युक्रेन संकट मुख्य एजेण्डा

काठमाडौँ। आगामी शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्का राज्यमा एक महत्वपूर्ण शिखर बैठक हुँदैछ। पुटिन १० वर्षपछि अमेरिका जाँदैछन् । सन् २०१५ पछि रुसी राष्ट्रपतिको यो पहिलो अमेरिका भ्रमण हो।

रुसी राष्ट्रपति कार्यालयका सल्लाहकार युरी उशाकोभले ऐतिहासिक रूपमा रुसको अधीनमा रहेको अलास्कालाई बैठकको स्थान बनाउनु उपयुक्त रहेको बताएका छन्। अलास्काका राज्य प्रमुख माइक डनलीभीले पनि राष्ट्रिय सुरक्षा, ऊर्जा स्रोत र आर्कटिक रणनीतिमा यस क्षेत्रको महत्वलाई ध्यानमा राख्दै यस्तो अन्तर्राष्ट्रिय बैठक आयोजना गर्नु उचित रहेको धारणा व्यक्त गरे।

बैठकको मुख्य एजेण्डा युक्रेन संकटको दिगो र स्थायी समाधान खोज्नु हुने अपेक्षा गरिएको छ। राष्ट्रपति ट्रम्पले केही भूभाग साटासाटको सम्भावनाबारे संकेत गरेका छन् भने रुसका विदेशमन्त्रीले युद्ध अन्त्यका लागि दुवै पक्षबीच समझदारी आवश्यक रहेको बताएका छन्।

यसबाहेक, प्राकृतिक स्रोतले धनी अलास्का र आर्कटिक क्षेत्रमा वातावरण संरक्षण, पूर्वाधार र ऊर्जा विकास मा दुई देशबीच सहकार्यको अवसरबारे पनि छलफल हुने रुसी लगानी प्रमुख किरिल दिमित्रिएवले जानकारी दिएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीको बैठकमा सहभागिताको सम्भावना अझै अनिश्चित छ। राष्ट्रपति ट्रम्पले पुटिनसँगको भेटका लागि उनको उपस्थिति आवश्यक नरहेको बताएका छन्। यद्यपि, राष्ट्रपति जेलेन्स्कीले भने कुनै पनि शान्ति सम्झौतामा युक्रेनको पूर्ण सहभागिता नभएसम्म गरिने निर्णयहरू बाधक हुने स्पष्ट रूपमा बताएका छन्।

मल अभाव हुन नदिन कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा कृषि तथा पशुपक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग मंगलबार छलफल गर्दै छन् ।

प्रधानमन्त्रीले सो विषयमा अपराह्न छलफल गर्न कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव  गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डाकेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

देशमा  मलको मौज्दात रहेको र आयातको क्रम पनि जारी रहेका बेला किसानले समयमा मल नपाएको गुनासो सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले यो समस्या समाधानमा आफूलाई केन्द्रित गरेका छन् । यसै सन्दर्भमा प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

यसअघि पनि प्रधानमन्त्री ओलीले कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँगको छलफलमा मलको अभाव हुन नदिन, स्वदेशमा नै रासायनिक मलको उत्पादन कारखाना स्थापना तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने योजना तर्जुमा गर्न निर्देशन दिएका थिए ।

खोज्नुहोस