संसद्‌मा सेना र रास्वपा सरकारमाथि एमाले नेता बादलका ८ प्रश्न

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति तथा कार्यक्रममाथि प्रश्नैप्रश्न गरेका छन् ।

सोमबार संघीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि मंगलबार चलिरहेको छलफलमा क्रममा बादलले ती प्रश्नको नीति तथा कार्यक्रमले जवाफ दिन नसकेको बताएका हुन् ।

‘सम्माननीय राष्ट्रपतिमार्फत आएको सरकारको १०० बुँदे नीति तथा कार्यक्रमले केही गम्भीर कुराको जवाफ दिन सकेको छैन,’ बादलले भने ।

यस्ता  छन् बादलका ८ प्रश्न :

१. राष्ट्रिय झन्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ ?

२. देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मूकदर्शक बन्यो ?

३. लिपुलेकमा अतिक्रमण हुँदा बेखबर हुँदा त्यही सेनाले सुकुमवासी बस्तीमा किन परेड खेल्दैछ ?

४. असंलग्न नीतिको खिल्ली उडाउँदै सशस्त्र टीओबीहरूको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ ?

५. निरंकुश पञ्चायत ढाल्दा शहीद विद्यार्थी गणतन्त्रका लागि लड्दा आफ्नो जागिर गुमाउने शिक्षक, कर्मचारी र पेशाकर्मीहरूको संगठित हुने मौलिक अधिकार बलात् खोसिँदा यो नीति तथा कार्यक्रमको घण्टी किन बज्दैन ?

६. ऋण लिएर विकास हुन्न भन्नेले सरकारको पहिलो बैठकबाटै अर्बौं ऋण स्वीकृत किन गर्छन् ?

७. शिक्षा, स्वास्थ्य, सहकारी आदि नियमनको नाममा बलात् स्वायत्त हनन् हुँदा किन मसानघाटको मौनता ?

८. सुशासन, सुसंस्कार संस्कृतिको नमुना बन्नुपर्ने प्रतिनिधिसभाले बारम्बार असभ्य र अराजक आचरण प्रदर्शन गर्दा सम्मानित सदन, सभामुख किन लाचार र नतमस्तक ?

बालेनमाथि हर्कको प्रश्नैप्रश्न– यो सरकारको प्रधानमन्त्री छ कि छैन ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई प्रश्नैप्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै साम्पाङले प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।

“यो सरकारको प्रधानमन्त्री छ कि छैन ? छ भने प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदहरूले उठाएका प्रश्नहरूको सरकार प्रमुखको हैसियतले उत्तर दिनुपर्छ की पर्दैन ? संसद्मा उभिएर सांसदहरूको प्रश्नको उत्तर नदिनु भनेको जनताको उत्तर नदिनु हो,” उनले भने ।

जनताका प्रश्नहरूको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना भएको उनले बताए । “जनताका प्रश्नहरूको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना हो । के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ? जनता सरकारले असुरक्षित महशुस गरिरहेका छन् यो बेला । जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो ? यही हो त लोकतन्त्र ? जनताको सुरक्षा गर्न नसक्नु ? सीमा रक्षा गर्न नसक्नुलाई कसरी सफल सरकार भन्न सकिन्छ,” उनले प्रश्न गरे ।

‘मकै बारी दराम दराम’ गायिका एसइईमा ३.२५ जीपीए ल्याएर उत्तीर्ण

काठमाडौँ । ‘मकै बारी दराम दराम’ जस्ता चर्चित लोक दोहोरी गीतका माध्यमबाट दर्शकको मन जित्न सफल गायिका सुष्मा शाही ठकुरीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्साहजनक सफलता हासिल गरेकी छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका स्थायी घर भएकी शाहीले ३.२५ जीपीए प्राप्त गर्दै विद्यालय तहको शिक्षा पूरा गरेकी हुन् ।

काठमाडौँको चाबहिलस्थित सगरमाथा स्कुलमा अध्ययन गरेकी उनले कपनस्थित दीक्षालय स्कुल केन्द्रबाट परीक्षा दिएकी थिइन् । उनका लागि यो सफलता केवल शैक्षिक उपलब्धि मात्र नभई १४ वर्ष लामो समयदेखिको अधुरो सपनाको साकार रूप पनि हो ।

पारिवारिक कारणले १४ वर्षअघि पढाइ बीचमै छोड्न बाध्य भएकी सुष्माका लागि यो नतिजा भावनात्मक छ । २०७९ सालमै एसएलसी दिनुपर्ने भए पनि सानै उमेरमा भएको विवाहका कारण उनको पढाइ रोकिएको थियो ।

सामाजिक सञ्जालमा खुसी बाँड्दै उनले विगतका ती दिनहरू स्मरण गरेकी छन्, जहाँ उनले पढाइप्रतिको धोकोको कारण कयौँ रात सपनामा परीक्षा दिएको र बिउँझिँदा आँसु झारेको उल्लेख गरेकी छन् ।

कलिलै उमेरमा आमा बनेकी सुष्माले आफ्नो छोराको भविष्य र साङ्गीतिक यात्रालाई सँगसँगै अघि बढाइन् । ‘छोराको भविष्य सुधार्ने क्रममा मैले कलाकारिता रोजेँ’ उनी भन्छिन्, ‘तर शुभचिन्तकहरूको प्रेरणा र आफ्नै दृढ इच्छाशक्तिले मलाई फेरि किताब समात्ने हौसला दियो । आज मेरो जीवनको एउटा ठूलो सपना पूरा भएको छ ।’

अहिलेकी व्यस्त र लोकप्रिय गायिका सुष्माको ‘मकै बारी दराम दराम’ गीतले युट्युबमा ५६ मिलियनभन्दा बढी भ्यूज पाइसकेको छ । साङ्गीतिक क्षेत्रको यो व्यस्तताका बीच पनि समय व्यवस्थापन गरेर उनले हासिल गरेको यो उपलब्धि धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।

उनको यो सफलतामा अहिले प्रशंसकले बधाई तथा शुभकामना दिइरहेका छन् ।

सरकारलाई आयोगले बुझायो ‘मानव अधिकारका विषयहरू’

काठमाण्डाै- राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सरकारसमक्ष पेश गरेको छ ।

नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि–महासन्धिले सुनिश्चित गरेका मानव अधिकारसम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र त्यसका लागि गरिनुपर्ने कार्यहरूसमेत उल्लेख गरी आयोगले सरकारसमक्ष पेश गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।

आयोगले गएकाे शुक्रवार पठाएको पत्रमा मौलिक हकको कार्यान्वयन, कानूनी सुधार, सङ्क्रमणकालीन न्याय, मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना, विकास र मानव अधिकार, मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्रबाट प्राप्त सुझाव र राष्ट्रिय मानव अधिकार आयोगको सुदृढीकरण गर्नुपर्ने विषय समावेश छ ।

दलीय कोटाबाट नियुक्त भन्दै न्यायाधीशहरूमाथि रास्वपाको प्रश्न

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसअघि दलीय कोटाबाट न्यायाधीशहरूको नियुक्ति हुने गरको भन्दै प्रश्न उठाएको छ ।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले मंगलबारको प्रतिनिधिसभा बैठकमा न्यायाधीशहरूले दलको कोटाबाट नियुक्ति लिएको भन्दै उनीहरूमाथि प्रश्न उठाएका हुन् ।

“सम्मानित न्यायलयलाई दूषित बनाउनका लागि दलको कोटाबाट नियुक्ति भएका न्यायमूर्तिहरूले देखाएको चरित्र देख्दै गर्दा लाज पनि आफैँ लजाएको छ । न्यायालयमाथि राष्ट्रले विश्वास कायम राख्ने राज्यका तीनवटा निकाय व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका आफ्नो दलको कोटाबाट नियुक्ति दिलाएर नेपाली जनताले न्यायको परिकल्पना गरिदिनू ?” उनले भने ।

कैलालीको गोदावरीमा दुई किशोरी मृ’त फेला, एसईईको नतिजाप्रति असन्तुष्टि

धनगढी ।  कैलालीको गोदावरीमा दुई किशोरी मृत फेला परेका छन् ।

मंगलबार गोदावरी नगरपालिका -५ गेटामा १६ वर्षीय र सोही नगरपालिका वडा नम्बर-८ स्थित स्याउलेक १५ वर्षीय किशोरी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरू आ-आफ्नो घरकै कोठामा पङ्खामा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी याेगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

उनीहरूले किन यस्तो निर्णय गरे भन्ने विषयमा सोधपुछ गर्दा दुवै किशाेरी एसईईको नतिजाप्रति सन्तुष्ट नरहेको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

नेप्सेमा ३९.४४ अंकको गिरावट

काठमाडौं । सेयर बजारमा ३९.४४ अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.४४ अंक अर्थात् १.४१ प्रतिशतले घटेर २७४४.४० बिन्दुमा कायम भएको छ ।

अघिल्लो कारोबार दिन सोमबार भने नेप्से ३८.१९ अंकले बढेर २७८३ बिन्दुमा उक्लिएको थियो । यसअघिका दुई कारोबार दिन पनि नेप्से बढेको थियो ।

मंगलबार नेप्सेमा कुल ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार भने नेप्सेमा कुल ४ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार नेप्सेमा कारोबारमा आएकामध्ये १३ कम्पनीको सेयर मूल्य बढ्दा २५१ कम्पनीको घटेको छ । यस्तै, ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

मंगलबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा फस्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १२.४० प्रतिशतले घटेको छ ।

 

प्रधानमन्त्रीले मर्यादा पालन नगरे संसद्को गरिमा रहँदैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाहले मर्यादा पालना नगरे संसद्को गरिमा नहने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीको कार्यशैलीमा सबैको भविष्य जोडिएको धारणा राखे ।

“प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसद्को गरिमा रहन सक्दैन,” उनले भने ।

प्रधानमन्त्री बालेन सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा बीचैमा संसद् बैठक छोडेर हिँडेका थिए ।

संसद्‌मा हरेक क्षेत्रको प्रतिनिधित्व गराउन हामीले हिजो बन्दुक उठायौं : प्रचण्ड

काठमाडौं । नेकपाका संयोजक प्रचण्डले नयाँ संसद्लाई समावेशी सहिदहरूको बलिदानको उपज भएको बताएका छन् । प्रतिनिधिसवशभा बैठकमा आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘बाहरिबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौं सहीदको बलिदान रहेको छ। हरेक वर्ग, वर्ण, जाति, लिंग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौं, आन्दोलन गर्‍यौं,’ उनले भने, ‘यो भवनको जगमा त्यही शहादत छ । यसका हरेक भित्ता बलिदानले रंगिएका छन्। म इतिहासका ती सबै, सशस्त्र र शान्तिपूर्ण आन्दोलन एवं पछिल्लो जेनजी आन्दोलनसम्मका सहीद, वेपत्ता, घाइते योद्धा र अभियानकर्मीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।’

उनले आज सत्तामा रहेको रास्वपाको सफलताबारे उनले बधाई दिए ।

उनले भने, ‘हिजो सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा झण्डै दुई तिहाइको सफलता पाएको छ। त्यसका लागि सभापति माननीय रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई मेरो विशेष बधाइ छ,’ उनको भनाइ छ ।

विद्यार्थी र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य छैन : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थी र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य नहुने बताएका छन् । नयाँ संसद् आएपछि पहिलोपटक संबोधन गरेका प्रचण्डले सरकारका कदम पञ्चायती शैलीबाट अघि बढिरहेको टिप्पणी गरे ।

उनले विद्यार्थी संगठनमाथिको प्रतिबन्ध राजनीतिक इतिहासप्रतिको अपमान भएको बताए । ट्रेड युनियनमाथिको प्रतिबन्ध अन्तर्राष्ट्रिय अभ्यास र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताको विरुद्ध रहेको ध्यानाकर्षण गराए ।

“लोकतन्त्रको रोडम्याप लोकतन्त्रलाई बलियो बनाउने र संविधानको रक्षा गर्दै विस्तारित गर्ने हुनुपर्छ । नागरिकलाई आवाज उठाउन प्रतिबन्धित गरेर लोकतन्त्र बलियो हुन सक्दैन । आज अस्तित्व नै नरहनेगरी अब तिमीहरूको औचित्य छैन भन्ने हो भने विद्यार्थीमाथि मात्र होइन सिंगो राजनीतिक इतिहासमाथिको अपमान हुनेछ,” प्रचण्डले भने, “विद्यार्थी संगठनमा सुधार गर्नुपर्ने कुरा सुधार गरौँ । तर, आवाज नै थुन्ने कुरा विलकुल स्वीकार्य हुन सक्दैन ।”

उनले विद्यार्थी शैक्षिक सुधारका बाधक हुन् भन्ने बुझाई सरकारको अपरिपक्व धारणाका रूपमा व्याख्या गरे ।

ट्रेड युनियनमाथिको प्रतिबन्ध अलोकतान्त्रिक भएको भन्दै अन्तर्राष्ट्रिय अभ्यास र नेपालले अनुमोदन गरेको महासन्धीहरूविरुद्ध नउभिन उनले आग्रह गरे ।

“विश्वका लोकतान्त्रिक मुलुकहरूले असल अभ्यासका रूपमा ट्रेड युनियनलाई अघि बढाएका छन् । यो उनीहरूको नैसर्गिक अधिकार हो,” उनले भने, “विद्यार्थी र ट्रेड युनियनमाथि प्रतिबन्ध कायम रहे गम्भीर परिस्थिति आउन सक्छ, अहिले म यति मात्र भन्न चाहन्छु ।”

संविधान संशोधनलाई हल्का रूपमा लिने गल्ती नगरियोस् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन केका लागि भन्नेमा प्रस्ट हुनुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले सरकारले संशोधनको छलफल गर्न लागेको हो भने कसका लागि भन्नेमा प्रस्ट हुनुपर्ने बताए ।

“सरकारले संविधान संशोधनका लागि छलफल सुरु गर्न खोजेको हो भने १० वर्षपछि संविधानको समीक्षा संविधानमा नै उल्लेख छ, कसका लागि संशोधन ? के–का लागि संशोधन प्रस्ट हुनुपर्छ,” उनले भने ।

प्रधानमन्त्रीले गिनिज बुकमा नाम लेखाउने प्रयास गर्नुभयो : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीबीचमा उठेर हिँड्नुले रेकर्ड राख्न खोजेको टिप्पणी गरेका छन् । उनले संसारमा यस्तो नदेखिएको बताए ।

“आफ्नै सरकारको नीति कार्यक्रम संसद्मा पेश भइरहँदा संसारको कुनै देशको प्रधानमन्त्री बीचमै हिडे भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ,” उनले भने ।

उनले रेकर्ड राख्न लागेको बधाई दिऊँ कि दुःख व्यक्त गरौँ भनेर सोधे ।  उनले प्रधानमन्त्री अस्वस्थ भएर हिँडेको खबर सुनिएको बताए ।  उनले प्रधानमन्त्री अस्वस्थ भए चाडोभन्दा चाडो स्वास्थ्य परीक्षणको जानकारी गराइयोस् भन्ने माग राखे ।

“उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो ? अबिलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्,” उनले माग राखे ।

उनले प्रधानमन्त्री रास्वपाको मात्रै सम्पत्ति नभएको बताए । उनले युवा प्रधानमन्त्रीको मन शान्त र स्थिर नदेखिएको टिप्पणी गरे ।  “हिजोको उहाँको व्यवहारले जनताको मन कुँडिएको छ । शीर निहुरिएको छ,” उनले भने ।

उनले सभामुखको भूमिकाप्रति प्रश्न उठाए । सदनलाई गरिमामय बनाउन नसक्नु दुःखको कुरा भएको बताए ।

खेल क्षेत्रलाई विद्यालयमा अनिवार्य गरियोस् : सांसद श्रेष्ठ

काठ्माण्डौ । रास्वपा सांसद रजनी श्रेष्ठले खेल क्षेत्रलाई विद्यालयमा अनिवार्य गर्न माग गरेकी छिन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा आफ्नो धारणा राख्ने क्रममा उनले कहिले पनि राज्यले खेलाडीको पीडा नबुझेको भन्दै आपत्ति जनाइन् ।

‘म यो सदनमा केवल सांसद भएर होइन, एउटा खेलाडीको मन बोकेर उभिएको छ । देशको लागि पसिना बगाउने खेलाडी आज विदेश पलायन हुन बाध्य भएका छन् । हामीले ताली बजायौं तर उनीहरूको पीडा कहिल्यै बुझेनौं,’ उनले भनिन् ।

पर्याप्य पूर्वाधार, समयमा पुरस्कार र भविष्यको सुनश्चितता नहुँदा युवाहरू विदेशिएको उनको भनाइ छ ।

‘यदि युवाहरू कुलतमा होइन देश निर्माणमा लागून् भन्ने हो भने खेल क्षेत्रलाई विद्यालयमा अनिवार्य गरियोस् । खेलाडीलाई बीमा रोजगारको ग्यारेन्टी दिइयोस् । खेल क्षेत्रमा राजनीतिकरण र आबद्धतावादलाई बन्द गरियोस्,’ उनले भनिन् ।

प्रसाईंको प्रश्न– तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अदालतमा मुद्दा बुझाउन केले अड्कायो ?

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले आफ्नै सरकारमाथि प्रश्न गरेका छन् । मंगलबार (वैशाख २९) बसेको प्रतिनिधिसभा बैठकमार्फत उनले सरकारमाथि प्रश्न गरेका हुन् ।

“सहिदप्रतिको श्रद्धाञ्जली मैले मुखले औपचारिक भूमिका निर्वाह गरेर होइन, मैले प्रतिनिधित्व गर्ने मेरो सरकारको व्यवहारबाट पुष्टि हुनुपर्छ,” उनले भने, “जेनजी आन्दोलनका ‘अभियुक्त’द्वय, ‘नरसंहारका अभियुक्त’ तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अदालतमा मुद्दा बुझाउन आजसम्म सरकारलाई केले अड्कायो ? प्रमाण पुगेन कि प्राथमिकता पुगेन ?”

सांसद प्रसाईंले अगाडि थपे, “सभामुख महोदय, यो देशमा मल्लिक आयोगको प्रतिवेदन दराजमा थन्क्याइयो । रायमाझी आयोग र लाल आयोगका प्रतिवेदनहरू कार्यान्वयन नगरेर हरेक सहिदहरूमाथि अन्यायजस्तो गरियो । यदि, उहिले बाजेको पाला र हाम्रो पालाको चाला उस्तै भयो भने उही उखान चरितार्थ हुन्छ, हात्ती आयो हात्ती आयो…।”

शिक्षा क्षेत्र सुधारका लागि मन्त्रालय प्रतिबद्ध छ : शिक्षामन्त्री

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा भएका कमजोरी सुधार्न सरकार सकारात्मक रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन् ।

मन्त्री पोखरेलले इन्धन अभाव र मन्त्रिपरिषद्को निर्णयका कारण यस वर्षको शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्नुपरेको जानकारी दिए ।

सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण भर्ना र पठनपाठनको समयतालिकामा केही फेरबदल गरी २१ वैशाखदेखि कक्षा सञ्चालन गरिएको उनको भनाइ छ ।

आइतबारको बिदा र क्रेडिट आवरका सम्बन्धमा कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनका लागि काठमाडौं र ललितपुर महानगरपालिकासहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल भइसकेको उनले बताए ।

विद्यालयको शुल्क नियमन गर्ने अधिकार स्थानीय तहकै भएकाले यसबारे समन्वय भइरहेको र तोकिएको भन्दा बढी शुल्क लिने विद्यालयमाथि कारबाही हुने उनले प्रतिबद्धता जनाए ।

संस्थागत विद्यालयले उपलब्ध गराउनुपर्ने १० प्रतिशत छात्रवृत्तिलाई पारदर्शी बनाउन मन्त्रालयले नयाँ प्रणाली सुरु गरेको मन्त्री पोखरेलले जानकारी दिए ।

अबदेखि छात्रवृत्ति पाउने विद्यार्थीको व्यक्तिगत विवरण, अभिभावकको आयस्रोत र तस्वीरसहितको प्रोफाइल ‘इमिज’ प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै, दुर्गम क्षेत्रमा विज्ञान र प्रविधिको पहुँच पु¥याउन मन्त्रालयले विशेष नीतिगत एजेन्डा बनाएर काम गरिरहेको उनले बताए ।

यसैगरी, त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदा लिएर भत्ता बुझ्ने तर फिर्ता नगर्ने प्राध्यापकहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको र कतिपयले रकम फिर्ता गर्न सुरु गरिसकेको उनले जानकारी दिए ।

चितवन मेडिकल कलेजका डाक्टरहरूको ‘स्टाइपेन्ड’ सम्बन्धमा नियमअनुसार भुक्तानी दिन निर्देशन दिइसकेको समेत उनले बताए ।

उनले भने, ‘राजनीति गर्ने भए शिक्षकहरूले मार्कर छोडेर आउनुपर्छ । हामीले विचारको निषेध गरेका होइनौँ, तर शिक्षण संस्थामा व्यावसायिकता कायम हुनुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता हो ।’

बैठकमा मन्त्री पोखरेलले विद्यालय गाभ्ने (मर्जर) प्रक्रियालाई अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गरिने स्पष्ट पारे ।

विद्यार्थी संख्या न्यून भएका र भौतिक रूपमा पहुँचयोग्य स्थानमा मात्र मर्जर गरिने उनको भनाइ छ ।

साथै, एसईईमा अनुत्तीर्ण विद्यार्थीका लागि पूरक परीक्षा र थप कक्षाको व्यवस्था गर्ने, विद्यालयमा शुद्ध खानेपानीको पहुँच पुर्‍याउने र चिकित्सा शिक्षातर्फ ’डीएम’ गरेका चिकित्सकलाई पीएचडी सरहको मान्यता दिने विषयमा ऐन संशोधनका लागि मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए ।

सुकुमवासी बस्तीका विद्यार्थीको शिक्षामा अवरोध नआओस् भन्नका लागि मन्त्रालयले छुट्टै ‘पोर्टल’ बनाएर गुनासो सम्बोधन गरिरहेको समेत मन्त्री पोखरेलले समितिलाई जानकारी गराए ।

स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य

काठमाडौं । ओपनर जर्ज मुन्सीको अर्धशतकप्रेरित स्कटल्यान्डले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय श्रृंखलाको पहिलो खेलमा नेपाललाई २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४३ रनको योगफल खडा गरेको हो । स्कटल्यान्डका मुन्सीले ७५ रनको अर्धशतकिय इनिङ खेले । उनले ६२ बलमा १२ चौका र दुई छक्का प्रहार गरे ।

फिन्ले म्याककिएथले ३५ र माइकल इंग्लिसले अविजित ३४ रनको योगदान दिँदा माइकल लिस्कले २९, मार्क वाटले २४ र म्याथ्यु क्रसले १८ रन बनाए । पहिलो विकेटका लागि मुन्सी र म्याककिएथले ११४ रनको साझेदारी गरेका थिए ।

सन्दीप लामिछानेले यो शतकीय साझेदारी तोडे । नेपालका सन्दीप लामिछानले सर्वाधिक चार विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडनसहित ४१ रन खर्चिए । करण केसीले र नन्दन यादवले समान दुई विकेट हात पारे ।

कांग्रेसले माग्यो प्रधानमन्त्री बालेनको जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको जवाफ माग गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह बीचैमा उठेर हिँड्नु अशोभनीय भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ माग गरेको हो ।

कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री बाहिरिनु सामान्य विषय नभएको बताउँदै प्रधानमन्त्रीको जवाफ माग गरिन् ।

“हिजो बिरलै देखिने दृष्य देख्यौँ । प्रधानमन्त्री बाहिरिनु सामान्य विषय होइन,” उनले भनिन्, “सरकारबाट स्पष्ट जवाफ दिइयोस् । पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हो । हामी प्रधानमन्त्रीको जवाफ चाहन्छौँ ।”

नयाँ बजेटको सिलिङ १८ खर्ब ९० अर्ब

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रूपैयाँको बजेट सिलिङ तोकिएको छ । मंगलबार अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले अर्थ समितिको बैठकमा आगामी आवको बजेटको सीमाबारे जानकारी दिएका छन् ।

उनका अनुसार राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको स्रोत र खर्चको आवश्यकतालाई ध्यानमा राखेर यो सिलिङ तय गरेको हो । यसै सिलिङमा रहेर बजेट निर्माण गर्न विभिन्न मन्त्रालय र निकायहरूलाई सीमा पठाइसकिएको उनले जानकारी दिए ।

सचिव उपाध्यायले भने, ‘मन्त्रालयगत बजेट सूचना प्रणालीमा सबै मन्त्रालयले आफ्नो योजना र विवरण प्रविष्ट गरिसकेका छन् । अहिले अर्थ मन्त्रालयले प्रत्येक मन्त्रालयसँग बजेटका प्राथमिकता, अनावश्यक खर्च कटौती र अधुरा आयोजनाका बारेमा छुट्टाछुट्टै छलफल गरिरहेको छ ।’

त्यस्तै, उनले चालू आर्थिक वर्षको पुँजीगत खर्च हालसम्म २६ प्रतिशत भएको छ । अर्थ मन्त्रालयबाट सम्पादन भइरहेका रकमान्तर लगायतका कार्यहरू सम्बन्धित मन्त्रालयबाट नै हुने र यसबाट पुँजीगत खर्चमा बढोत्तरी हुनेगरि जिम्मेवारी दिएको उनले जानकारी दिए ।

राष्ट्रपति र सभामुख बीच भेटवार्ता

काठ्माण्डौ- राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बीचमा भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

अर्थ समितिद्वारा ४ वटा कार्य क्षेत्रगत उपसमिति गठन

काठ्माण्डौ- प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले ४ वटा कार्य क्षेत्रगत उपसमिति गठन गरेको छ ।

समिति सभाकक्ष सिंहदरबारमा मंगलबार बसेको बैठकले सार्वजनिक वित्त, वित्तीय क्षेत्र तथा आर्थिक विकास, निजी क्षेत्र तथा लगानी प्रवर्द्धन र वित्तीय तथा संघीयता अध्ययन उपसमिति गठन गरेको हो ।

उपसमितिको कार्यअवधि ६ महिनाको रहने छ भने आवश्यकताअनुसार वा १ महिना नबढ्ने गरी लिखित प्रगति प्रतिवेदन उपलब्ध गराइ समितिमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरिएको छ।

१०० रुपैयाँभन्दा बढीको वस्तुमा भन्सार कडाइबारे अर्थमन्त्रीले के भने ?

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सीमा क्षेत्रमा आम नागरिकलाई दैनिक उपभोगका सामग्री खरिदमा सहजीकरण गर्ने बताएका छन् । तर, संगठित तस्करी र राजश्व चुहावट नियन्त्रणमा भने कडाइ गर्ने उनको भनाइ छ ।

मंगलबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति बैठकमा मन्त्री वाग्लेले १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था वर्तमान सरकारले ल्याएको नभई दशकौँदेखि कायम रहेको नीति भएको बताए ।

अघिल्लो सरकारको आर्थिक ऐनमै समेत उक्त व्यवस्था उल्लेख भएको स्मरण गराउँदै त्यसको कार्यान्वयनमा विगतमा कमजोरी, बेवास्ता वा नियोजित लापरबाही भएको हुनसक्ने संकेत गरे ।

 मन्त्री वाग्लेको भनाइ :

यो १०० रुपैयाँभन्दा बढी वस्तुमा भन्सार लाग्ने इत्यादि नियमहरू यो हाम्रो सरकारले ल्याएको होइन । यो दशकौँ अगाडिदेखि चलिआएको र योभन्दा अगाडिको सरकारको आर्थिक ऐनमा पनि उल्लेख भएको चिज हो । आजका दिनमा १०० रुपैयाँभन्दा बढी सामानमा बोर्डर सीमानामा बसेर नेपालको सार्वभौमिकताको रक्षा गर्ने, हैन, मुख्यतः तराई मधेसका नेपाली नागरिकहरूलाई दैनिक जीवनयापनमा सहजीकरण गर्ने नै यो सरकारको नीति रहेको छ । त्यसैले त्यसलाई हामी बढाउँछौँ तर त्योसँगै जेलिएर आएको असाध्यै डरलाग्दो विकराल तस्करीको समस्या, राजश्वको चुहावट नियन्त्रण गर्न भने हामी निर्मम ढंगले अगाडि बढ्छौँ ।

राजश्व चुहावटका संघीय, प्रादेशिक, स्थानीय जुन समितिहरू छन्, तिनीहरूलाई हामी पूर्ण रूपमा परिचालन गर्छौं । गृहमन्त्री र अर्थमन्त्रीको द्वैध संयोजकत्वमा रहने एउटा उच्चस्तरीय राजश्व परिचालन कमिटी छ । हामी इलिगल स्मग्लिङ यो र्‍याकेटहरू दिनमा २० चोटी वारपार गरेर आएर नेपाली सीमापट्टिका गोदामहरूमा सामान राखेर हाम्रो स्वदेशी उत्पादनहरूलाई चाहिँ क्षति पुर्‍याउने नियतले गर्ने यो अवैध तस्करी इत्यादिहरूमा हामी निर्मम ढंगले लाग्छौँ । तर, आम नागरिक, पारि गएर साबुन किन्ने, पारि गएर चिनी किन्ने आम दैनिक जीविकोपार्जनका लागि दिनुपर्ने सुविधामा फेरि हामी हदैसम्म लचिलो हुन्छौँ ।

यसबारे हिजो नीति कार्यक्रममा पनि बोलेका छौँ । सीमाना भनेको सिमाना हो । त्यसैले सिमानाको विषयमा अवैध गतिविधिमा निर्मम तर वैध र मानवीय कुराहरूमा हदैसम्मको उदारता हामी अपनाउनेछौँ र यसमा आधुनिक प्रविधिहरू, क्यामेरा, फेस रिकग्निसन डिभाइसहरू, नाइट भिजनका कुराहरू, एआई, यी सबैमा आधुनिक प्रविधिमा हामी जानका लागि यसपालि गृह मन्त्रालयलाई उल्लेख्य रूपमा चाहिँ बजेट विनियोजन पनि गर्दैछौँ । र, सशस्त्र प्रहरी जसले हाम्रो सिमानाको रक्षा गरिरहेको छ, पेट्रोलिङ गर्छ, उनीहरूलाई पनि साधनस्रोत सम्पन्न बनाउन यसपालि हामीले बोर्डर पोस्टहरूदेखि लिएर अन्य उपकरणहरूमा पनि ठूलै विनियोजन गर्ने, लगानी गर्ने योजना बनाएका छौँ । न्युज एजेन्सी नेपाल

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनीत

नेकपा एमाले संसदीय दलको उपनेतामा प्रतिनिधिसभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन्।

एमाले दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोनयन गरेको सचिव महेश बस्नेतले जानकारी दिए। अर्याल एमाले केन्द्रीय सचिव समेत हुन्।

यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत थिए।

राजश्व अनुसन्धान विभाग खारेज गर्ने प्रकृया अघि बढिसक्यो : अर्थसचिव

काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले सरकारले कानुनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको मंगलबार बसेको बैठकमा उपाध्यायले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयले पहिलो निर्णयबाटै १५ वटा असान्दर्भिक तथा समयसापेक्ष नरहेका कानुन खारेजी प्रक्रियामा लगिएको जानकारी दिए ।

“वर्तमान अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णयबाट नै १५ ओटा असान्दर्भिक कानुन खारेजी प्रकृयामा अघि बढेका छन्,” उनले भने ।

निजी क्षेत्र तथा व्यावसायिक समुदायले लामो समयदेखि जटिल र दोहोरो कार्यक्षेत्रका कारण असहज महसुस गर्दै आएको राजश्व अनुसन्धान विभाग खारेज गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको उनले बताए । विभाग खारेजसँगै त्यसले गर्दै आएका कामहरू सम्बन्धित निकायहरूमा हस्तान्तरण गरिने र त्यसका लागि आवश्यक कानुनी तथा प्रशासनिक तयारी भइरहेको उनको भनाइ छ ।

“बिजनेस कम्युनिटीले असहज महसुस गरेको राजश्व अनुसन्धान विभाग खारेज गर्ने प्रकृया अघि बढिसकेको छ,” उनले भने ।

अर्थसचिव उपाध्यायले हाल राजश्व अनुसन्धान विभागले गर्दै आएका जिम्मेवारीहरू राजश्व विभाग, भन्सार विभाग तथा सम्पत्ति शुद्धीकरण विभागमार्फत सञ्चालन भइरहेको जानकारी दिए । अब ती निकायहरूलाई अझ प्रभावकारी बनाउने गरी कामको पुनःसंरचना गरिने बताए ।

“राजश्व अनुसन्धान विभागसम्बन्धी कानुन खारेजीसँगै त्यसका कार्यसम्पादन अन्य विभागहरूमा सारिँदै छ । राजश्व विभाग र भन्सार विभागबाट राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागबाट कार्यसम्पादन गराइँदै छ,” उनले भने, “राजस्व अनुसन्धान विभागको काम अन्य निकायहरूबाट गराउने गरी कानुनी सुधारको काम भइरहेको छ ।”

एउटै प्रकृतिको काम विभिन्न निकायबाट हुँदा प्रशासनिक दोहोरोपन, निर्णय प्रक्रियामा ढिलाइ तथा व्यवसायिक वातावरणमा अनावश्यक दबाब सिर्जना भएको भन्दै उनले अब सरकारले जिम्मेवारी स्पष्ट गर्ने र संस्थागत दक्षता बढाउने दिशामा सुधार अघि बढाएको बताए । –न्युज एजेन्सी नेपाल

लिग–२ः सन्दीपले लिए स्कटल्याण्डको चार विकेट

विश्वकप लिग २ अन्तर्गत जारी खेलमा स्कटल्याण्डविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ।

नेपालको लागि सन्दीप लामिछानेले एक्लैले चार विकेट लिएका हुन्।

स्कटल्याण्डका जर्ज मुन्सेय ७५ रन बनाएर आउट भए। यस्तै,, कप्तान रिचि ४ रनमै समेटिए।

ताजा स्थितीमा स्कटल्याण्डले २५ ओभरमा चार विकेट गुमाएर १२८ रन बनाएको छ।

एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको थियो ।

चाँदीको भाउ पनि आज एकैदिन तोलामा ३ सय ५५ रुपैयाँले बढेको छ । हिजो तोलाको ५ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर तोलाको ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

कञ्चनपुरमा ९६ परिवारलाई लालपुर्जा

 कञ्चनपुर  । कञ्चनपुरमा ९६ परिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति कञ्चनपुरले चार हजार ९८५ लगत सङ्कलन गरिएकोमा आयोग विगठन हुनुपूर्व ९६ परिवारलाई पुर्जा वितरण गरिएको जनाएको हो । भूमि समस्या समाधान आयोग जिल्ला समितिका अनुसार सबैभन्दा बढी बेदकोट नगरपालिकामा ९१ पुर्जा वितरण गरिएको छ । सो कार्यालयका प्रमुख नेत्रप्रकाश पन्तले आयोगका काम अनियमित हुँदा बेदकोटमा एक हजार ७० लगत सङ्कलन गरिएकोमा ९१ पुर्जा वितरण गर्न सफल भएको बताए । बेदकोट नगरपालिकामा ३०८ भूमिहीन दलित, २०५ भूमिहीन सुकुमवासी र नौ हजार २१ अव्यवस्थित बासोबासी गरेर नौ हजार ५३४ भूमिहीन परिवार रहेका छन् ।  त्यसै गरी बेलडाँडी गाउँपालिकाका पाँच परिवारलाई पुर्जा वितरण गरिएको पन्तले बताए । उनले बेलडाँडी गाउँपालिकामा ३८ लगत सङ्कलन गरिएकोमा सात पुर्जा तयार गरिए पनि पाँच पुर्जा वितरण गर्न सकिएको बताए । बेलडाँडी गाउँपालिकामा चार हजार ४०३ अव्यवस्थित बासोबासी, १९५ भूमिहीन सुकुमवासी र १५७ परिवार भूमिहीन दलित गरेर चार हजार ७५५ परिवार भूमिहीन रहेको उनले बताए ।

विसं २०८१ चैतमा आयोगले पूर्णता पाए पनि सुशीला कार्की सरकारले गत २३ असोजको मन्त्रीपरिषद् बैठकमार्फत भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो तर गत कात्तिक १२ गते सर्वोच्च अदालतले सो निर्णय बदर गरेपछि पुनः लालपुर्जा वितरणको काम अगाडि बढाइए पनि गत २२ गते वर्तमान सरकारले नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ जारी गरेसँगै आयोग विगठन भएको हो । आयोग विगठन भएपछि राजस्व बुझाएका चार सय परिवार लालपुर्जाबाट वञ्चित भएका छन् ।

आयोग विगठन गरिएपछि भीमदत्त नगरपालिकामा २०८ पुर्जा, कृष्णपुर नगरपालिकाका ८० पुर्जा र दोधाराचाँदनी नगरपालिकाका १०२ तयार पुर्जा वितरणको काम अलपत्र परेको छ । भूमि समस्या समाधान आयोग जिल्ला समितिले चार हजार ९८५ लगत सङ्कलन गरेकोमा अन्तिम निर्णय भएर चार सय पुर्जा वितरणका लागि मालपोतमा पठाउने काम बाँकी रहेको बताउनुभयो तर आयोग विगठन भएसँगै तयार भएका ती पुर्जा वितरणको काम भने रोकिएको कार्यालयका प्रमुख पन्तले बताए ।  जिल्लामा दुई हजार ७७२ भूमिहीन दलित, चार हजार ६८ भूमिहीन सुकुमवासी र ६७ हजार ७६४ अव्यवस्थित बसोबासी रहेका छन् ।  दोधाराचाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले ९९ परिवारलाई पुर्जा वितरणको काम अन्तिम चरणमा रहे पनि पुर्जा वितरण गर्न नसकिएको बताए  ।

९ महिनामा १६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाण्डौ- नेपाल भित्रिने रेमिट्यान्स अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा १६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भएको हो । राष्ट्र बैङ्कले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को नौ महिना अर्थात् गएको चैतसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले बढेको थियो ।

गएको चैतमा रेमिट्यान्स आप्रवाह दुई खर्ब नौ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ९४ हजार १८६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ९३ हजार २५९ रहेको छ ।

गएको चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको औसत उपभोक्ता मुद्रास्फीति २.३९ प्रतिशत रहेको छ । कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब ७३ करोड रहेको छ ।

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभा वैठक बस्दै

काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्ने छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३–८४ को बजेट समेत प्रस्तुत हुनेछ ।

खोज्नुहोस