नवनियुक्त सचिव अधिकारीद्वारा पदभार ग्रहण

संसद् सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग उनले शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहणपछि नवनियुक्त सचिव अधिकारीले पदभार ग्रहण गरेका छन्।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल सुरु

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रममाथि ३५ वटा संशोधनको सूचना प्राप्त भएको व्यहोरा जानकारी गराए। छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरुलेआफ्नो धारणा राखिरहेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै आर्थिक वर्ष २०८३/८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीमा उल्लिखित असंसदीय शब्द प्रयोग नगर्न र बोल्ने क्रममा सो व्यवस्थालाई ख्याल गर्न पनि सबैसँग आग्रह गरे।

‘निमायवलीको नियम २१ को खण्ड (घ) मा उल्लेखित विषयमा सबै सांसदलाई संवेदनशील भइदिन आग्रह गर्दछु। अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्च्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने भन्ने यस बुँदालाई ध्यान दिन आग्रह गर्दछु’, उनले भने।

 अभिलेखबाट हटाउन निर्देशन

बैठकमा सभामुख अर्यालले सांसद गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गरेको ‘भरौटेहरु’ र ‘यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो गरी’ भन्ने शब्दहरु संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिए। यही वैशाख २९ गतेको बैठकमा सांसद पराजुलीले ती शब्द प्रयोग गरेका थिए। विपक्षी दलको तर्फबाट ती शब्द हटाउन माग भएको थियो।

 प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा देखाएको अस्वाभाविक कार्यशैलीप्रति चौतर्फी आलोचना

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा देखाएको एकपछि अर्को अस्वाभाविक कार्यशैलीप्रति चौतर्फी आलोचना भइरहेको छ । लोकतन्त्रमा संसद्प्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्नेमा उनको गतिविधिका कारण संसद्को गरिमामै क्षयीकरण हुने चिन्तासमेत व्यक्त हुन थालेको छ ।

सरकार गठन भएको साढे एक महिनामा प्रतिनिधिसभाका दुई अधिवेशन हुँदा प्रधानमन्त्री शाहले एक पटक पनि सम्बोधन गरेका छैनन् । प्रतिनिधिसभा निर्वाचनपछि १९ चैतमा भएको पहिलो संसद् बैठकमा नवनियुक्त प्रधानमन्त्री शाहले सम्बोधन नगर्दा राजनीतिक वृत्त र संसदीय अभ्यासका जानकार मात्रै नभई आम जनताले पनि आश्चर्य मानेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उनले झन् अस्वाभाविक गतिविधि देखाए ।

पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेको करिब ५० मिनेटपछि प्रधानमन्त्री बैठक छाडेर निस्किएका थिए । नीति तथा कार्यक्रम वाचनपछि राष्ट्रपतिलाई बिदाइ गर्दा पनि उनी उपस्थित भएनन् । राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधिसभामा टेबुल गर्ने क्रममा पनि प्रधानमन्त्री शाहले केही अभिव्यक्ति दिएनन् । राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री शाह किन बैठकबाट हिँडे भन्ने विषयमा सरकार वा उनको सचिवालयबाट कुनै कारण सार्वजनिक भएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेइजिङ पुगे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको निमन्त्रणामा उनी बुधबार साँझ बेइजिङ पुगेका हुन् ।

ट्रम्पलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पको यो करिब नौ वर्षयताको पहिलो चीन भ्रमण हो भने नोभेम्बर २०१७ पछिको दोस्रो चीन भ्रमण हो ।

चीन बसाइको क्रममा ट्रम्पले समकक्षी सी जिनफिङसँग भेटवार्ता गर्नेछन् ।

चीनको विदेश मन्त्रालयका अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध तथा विश्व शान्ति र विकाससँग सम्बन्धित प्रमुख विषयमा गहन विचार–विमर्श हुनेछ । दुई महाशक्ति राष्ट्रका प्रमुखबीचको यो भ्रमणलाई विश्वभर चासोका साथ हेरिएको छ ।

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा सङ्खुवासभाका प्रकाश अधिकारीलाई नियुक्त गरेका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले बुधबार अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन्। सभामुख डोलप्रसाद अर्यालले बुधबार बिहान मात्र अधिकारीको नाम नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थियो।

यसअघि सचिव रहेका हर्कराज राईलाई हटाएर अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरिएको हो। सङ्घीय संसद्को महासचिव र सचिवहरूको नियुक्ति तथा पदमुक्त गर्ने संवैधानिक व्यवस्थाअनुसार सभामुखको सिफारिसमा राष्ट्रपतिले सचिव नियुक्त गर्छन्।

सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवा निवृत्त कर्मचारी हुन्। २४ वर्ष निजामती सेवामा रहेका उनीसँग त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास र दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गरेको अनुभव छ।

आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन् । भट्टले बुधबार पदबाट दिएको राजीनामापत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएका हुन् । मन्त्रालय स्रोतले भट्टको राजीनामा दिएको पुष्टि गरेको छ ।

सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्दै नयाँ प्रक्रियाबाट नेतृत्व नियुक्ति गर्ने कार्यको थालनी गरेको छ । तथापि, सरकारको राजनीतिक नियुक्ति खारेजीमा आयल निगमको नेतृत्व परेको थिएन ।

तर, कामसँगै रास्वपा सरकारको निरन्तरको दबाबको प्रेसरमा रहेका महानिर्देशक भट्ट आफैँले राजीनामा दिएको बुझिएको छ ।

उखुको जुस बेचेरै दिनको तीन हजार आम्दानी

यशोदा शर्मा, कैलाली । 
कैलालीको धनगढीकी बिमला चौधरी विगत १० वर्षदेखि सडक किनारमा उखु जुस बेच्दै छिन् । उनले छोराछोरीको पढाइदेखि दैनिक घर खर्च यसैबाट चलाउँदै आएकी छिन् ।
सुरुमा महिला समूहबाट ऋण लिएर उनले यो व्यवसाय सञ्चालन गरेकी हुन । अहिले परिवारको आधारभूत आवश्यकता पूरा गर्ने माध्यम यहीँ बनेको छ । जुस बेचेरै दैनिक ३ हजार सम्म आम्दानी हुने उनी बताउँछिन् ।
‘घरमा अन्य आयस्रोत छैन । खेती किसानी गरे पनि ठुलो परिवार भएकाले वर्षभरि खानलाई पुग्दैन । सम्पूर्ण खर्च धानेकी यसैले धानेको छ,’ उनले भनिन् ।
बिलमाका दुई छोरा र एक छोरी छन् । उनले छोराछोरीलाई जुस बेचेर नै पडाइरहेकी छन् । जेठा छोरा र छोरी स्नातक तहमा अध्ययनरत छन् भने कान्छो छोरा १२ कक्षामा पढिरहेको उनले बताइन् ।
सुरुमा अहिलेको जस्तो आम्दानी नभए पनि सानो आम्दानीबाटै यहाँ सम्म पुगेको उनी बताउँछिन् । भन्छिन्, ‘सुरुसुरुमा आम्दानी कमै हुन्थ्यो त्यो बेला एक गिलासको २० रुपैयाँ थियो अहिले ४० रुपैयाँ पुगेको छ ।त्यसैले पहिलाको भन्दा आम्दानी राम्रो हुन्छ ।
उनी बिहान ९ बजे देखि राति ९ बजेसम्मै जुस बेच्छिन् । बिहानै देखि अबेर रातिसम्म काम गर्न बिलमालाई सहज त पक्कै छैन । तर परिवारको लागि दुःख गरिरहेकी छिन् । गर्मीको सिजनमा चिसो जुस खुवाएर अरूलाई शीतल पार्न उनी आफू भने दिउँसोको टन्टलापुर घाममा पिरोली रहन्छिन् ।

उखु व्यवसाय मौसममा निर्भर हुन्छ । गर्मीको समयमा मात्रै उनको व्यवसाय चल्छ । चिसो सिजन सुरु हुने बित्तिकै काम ठप्प हुन्छ ।चिसोमा गुजारा चलाउनको लागि विभिन्न ठाउँमा बेलरीको काम गर्ने गरेको विमलाले सुनाइन्  ।
महँगीको असर व्यवसायमा
पछिल्लो समय बजारमा बढेको महँगीको असर साना व्यवसायमा पनि परेको छ । अझ डिजेल र पेट«रोलको मूल्य वृद्धिले उखु पेल्ने मेसिन चलाउन निकै महँगो पर्छ ।  डिजेल, कागतीलगायतका आवश्यक सामानहरूको मूल्य वृद्धिका कारण लागत बढेको विमला बताउँछिन् ।

विमला जस्तै भारत घर भई धनगढीमा भाडामा बस्दै आएकी रेनु बर्माले पनि विगत ११ वर्षदेखि  रेनु जुस सेन्टर सञ्चालन गरी रहेका छन् । गर्मी सिजनमा यसबाटै मनग्य आम्दानी हुने बर्माले बताइन् ।


उनी अहिले उखु जुस पसल चलाउँदै परिवारको जिम्मेवारी सम्हालिरहेकी छन् । बिहान ८ बजेदेखि राति अबेरसम्म पसलमै खटिने उनी दिनभरि जुस बेच्ने र, राति पसल बन्द भएपछि उखु धुनेदेखि सरसफाइसम्मको काम सबै आफैँ गर्छिन् ।
‘दिनभर काममै हुँदा बच्चालाई पनि समय दिन सकिरहेको छैन,’उनले भनिन् । सुरुमा यो पसल सञ्चालन गर्न करिब डेढ लाख रुपैयाँ जति लगानी लागेको उनले बताइन् । अहिले यही पसलबाट उनको घर खर्च चलिरहेको छ । चिसो महिनामा भने काम ठप्प हुने भएकाले उनी धनगढीको बोरा डाँडीमा सिरक–डसना को काम समेत गर्छिन् ।
उनले जुस मेसिन राखेको जमिनको भाडा ३ हजार रुपैयाँ तिर्छिन् ।त्यसबाहेक दिनको १ सय रुपैयाँ नगरपालिकालाई पनि बुझाउनुपर्छ ।

रेनुले दिनमा तीन देखि ३५ सय सम्मको जुस बिक्री गर्छिन् ।
श्रीमानबाट आर्थिक सहयोग नपाएकी उनी भन्छिन्, ‘सबै खर्च आफैँले काम गरेर चलाउँछु । भात खानलाई पुगेकै छ, श्रीमानको भर पर्नु परेको छैन ।’
पछिल्लो समय बढेको बजारको महँगीले उनको व्यवसायमा पनि प्रभाव पारेको छ । बढ्दो खर्चका कारण नाफा कम हुँदा बचत गर्न नसकेको उनको भनाइ छ ।
सुरुमा अरूको सिरक–डस्नाको पसलबाट काम सुरु गरेकी उनले पछि आफ्नै पसल खोलिन र सँगै उखु जुस पसल पनि सञ्चालनमा ल्याइन् । अहिले उनले छोरालाई पनि बोलाएर दुई ओटा उखु जुस पसल चलाइरहेकी छन् ।
उनले आफूजस्तै अन्य महिलालाई पनि अरूको मजदुरी गर्नु भन्दा आफै काम गरेर आत्मनिर्भर बन्न सुझाव दिइन् । भन्छिन्, ‘अरूको आस गर्नु बेकार हो, आफैँ कमाउने र आफैँ खाने हो,’
काम गर्न अप्ठ्यारो भए पनि आफ्नो मेहनतले परिवार चलाइरहेकोमा रेनु सन्तुष्ट छिन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम छलफलको लागि राष्ट्रियसभामा पेस

 

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम छलफलका लागि राष्ट्रियसभामा पेस गरिएको छ ।

बुधबार बसेको सभाको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा छलफल सुरु भएको छ । राष्ट्रियसभाका १९ जना सांसदहरूले नीति तथा कार्यक्रममा आठवटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । न्युज एजेन्सी नेपाल 

 

नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । मंगलबार दोहोरो अंकले घटेको सेयर बजार बुधबार सामान्य अंकले घटेको हो ।

बुधबार नेप्से परिसूचक ४.१५ अंक (०.१५ प्रतिशत) ले घटेर २,७४०.२५ विन्दुमा पुगेर बजार बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ३९.४४ अंक (१.४१ प्रतिशत) ले घटेर २,७४४.४० विन्दुमा पुगेर बजार बन्द भएको थियो ।

बुधबार बजारमा कुल ३३९ कम्पनीका ५६ लाख ४३ हजार २८८ कित्ता सेयर ४२ हजार १७६ पटक किनबेच हुँदा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँको कारोबार भएको छ ।

बुधबार कारोबार भएका कम्पनीहरूमध्ये ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको सेयर मूल्य घटेको छ । यसबाहेक १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

यस्तै, सर्वाधिक नाफा कमाउने पहिलो कम्पनीमा एसियन हाइड्रोपावर रहेको छ । जसको सेयर मूल्य ११.४२ प्रतिशतले बढेको छ । यसैगरी बढी कमाउने कम्पनीमा क्रमशः एसवाई प्यानल नेपाल, हिमालयम बैंक लि. बोण्ड २०८६, एनआईसी एसिया ग्रोथ फण्ड–२, सेञ्चुरी डिवेञ्चर २०८८ रहेका छन् ।

बुधबार सर्वाधिक मूल्य गुमाउने ५ कम्पनीमा धौलागिरी लघुवित्त वित्तीय संस्था, झापा इनर्जी लिमिटेड, १० प्रतिशत सिटिजन्स बैंक डिवेञ्चर २०९०, रिजलाईन इनर्जी, आरबीबी फोकर ४०कम्पनी रहेका छन् ।

फेरि संसद्‌मा अवरोध, प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले प्रधानमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाउँदै संसदमा उपस्थित गराउन सभामुखसँग आग्रह गरेका हुन् ।

बैठकको पहिलो चरणमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षी दलका सांसदहरूले अवरोध गरेका थिए । त्यसपछि बैठक केही समय स्थगित गरिएको थियो । पछि नीति तथा कार्यक्रम टेबुल गर्न दिने सहमतिपछि विपक्षी दल बैठक सञ्चालन गर्न तयार भएका थिए ।

नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि त्यसबारे छलफल अघि बढाउनुअघि प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न कांग्रेसले सभामुखसँग रुलिङको माग गरेको हो ।

आङ्देम्बेले प्रधानमन्त्री साँच्चिकै अस्वस्थ भएको भए संसदलाई त्यसबारे जानकारी गराउनुपर्ने बताए । उनले विपक्षी दलका नेताले चासो व्यक्त गरिसकेको अवस्थामा सभामुखले स्पष्ट जानकारी दिनुपर्ने उल्लेख गरे ।

“हामीले सम्मानपूर्वक नीति तथा कार्यक्रम टेबुल गर्न दिएका छौँ । त्यसको जवाफका लागि प्रधानमन्त्रीको उपस्थिति आवश्यक छ, त्यसका लागि रुलिङ हुनुपर्छ,” उनले भने ।

सभामुख डीपी अर्यालले प्रधानमन्त्रीको उपस्थितिको विषयमा ध्यानाकर्षण भएको बताएका छन् । उनले नीति तथा कार्यक्रममाथि ३५ जना सांसदबाट संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिँदै प्रधानमन्त्रीको उपस्थितिबारे आजको बैठक सकिएपछि छलफल गरिने बताए ।

स्थगित भएको संसद् बैठक शुरू

१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक एक घण्टापछि शुरू भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नहुँदा विपक्षी दलहरूले विरोध गरेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

तर, दलहरूबीच सहमति नहुँदा संसद् बैठक पुन: शुरू हुन समय लागेको हो ।

सभामुख अर्यालले बैठक सञ्चालनका लागि दलहरूसँग परामर्श गरेका थिए ।

आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल शुरू गर्ने कार्यसूची थियो तर प्रधानमन्त्री जवाफ दिन उपस्थित नभएको भन्दै विपक्षी दलले अवरोध गरेका थिए ।

सदनलाई औपचारिकतामा सीमित गर्न खोजेपछि विरोध गर्‍यौँ : साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्लाई औपचारिकतामा मात्र सीमित गर्न खोजेपछि आफूहरूले विरोध जनाएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठक बहिष्कार गरेर बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले संसद् मनखुसी चलाइरहेको र औपचारिकतामा मात्र सीमित गर्न खोजेपछि आफूहरूले विरोध जनाएको बताए ।

आफूहरूसँग जनताका प्रश्नहरू रहेकाले देशको प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्ने उनले बताए । नीति तथा कार्यक्रमको अध्ययनका लागि पनि पर्याप्त समय नछुट्याइएको भन्दै उनले जबरजस्ती संसदलाई अघि बढाउन खोजको आरोप लगाए ।

उनले सरकारको क्रियाकपाललाई अब जनताले मूल्यांकन गर्ने पनि बताए । हिमालयन टेलिभ्वाइस

‘सुदूरपश्चिम कचहरी २०८३’ आयोजना हुने

 कैलाली । सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका लागि ‘सुदूरपश्चिम कचहरी २०८३’ आयोजना हुने भएको छ।

आगामी जेठ २ र ३ गते धनगढीमा सञ्चालन हुने कार्यक्रमको तीव्र तयारी भइरहेको आयोजक सुदूरपश्चिम विकास फाउण्डेसनले बुधबार धनगढीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

फाउण्डेसनका अध्यक्ष शेरबहादुर शाहीले सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगसँगको सहकार्यमा आयोजना गर्न लागिएको बृहत् संवाद कार्यक्रमले सुदूरपश्चिम प्रदेशको सम्भावना र समृद्धि उजागर गर्ने विश्वास व्यक्त गरे।

प्रदेशमा शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी, कृषि, पूर्वाधार, सुरक्षित आप्रवासन तथा सुशासनका विषयमा आधारित नीतिगत बहस गरी साझा विकास दृष्टिकोण तयार गर्ने बताइएको छ ।
कार्यक्रममा उठेका निष्कर्ष तथा सुझावलाई नेपाल सरकारको आगामी बजेट तथा नीतिनिर्माण प्रक्रियामा समावेश गराउन केन्द्र सरकारसमक्ष पठाइने पत्रकार सम्मेलनमा बताइएको थियो ।

‘सुदूरपश्चिम प्रदेशमा पर्याप्त सम्भावनाहरू छन्। हामी बृहत् संवादमार्फत ती सम्भावनाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन चाहन्छौं,’  अध्यक्ष शाहीले भने, ‘हामी कार्यक्रममार्फत आएका सुझावहरूलाई लिखित रूपमा प्रदेश तथा संघीय सरकारलाई उपलब्ध गराउँछौं। ’
पत्रकार सम्मेलनमा सार्वजनिक अवधारणापत्रअनुसार सुदूरपश्चिम प्रदेश ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटन सम्भावनाले समृद्ध भए पनि अपेक्षित विकास हासिल गर्न नसकेको उल्लेख गरिएको छ।
प्रदेशमा गरिबी, बेरोजगारी, कमजोर पूर्वाधार, शिक्षा तथा स्वास्थ्य सेवामा असमान पहुँच, युवा पलायन तथा नीति कार्यान्वयनका चुनौती अझै कायम छन् ।

कार्यक्रममार्फत विकासका बहसलाई एउटै मञ्चमा ल्याएर सरकार, निजी क्षेत्र र समुदायबीच समन्वय तथा सहकार्य बढाउने लक्ष्य लिइएको अध्यक्ष शाहीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनारले प्रदेशको विकास प्राथमिकता, लगानीमैत्री वातावरण, पर्यटन प्रवद्र्धन, युवा रोजगारी तथा नीति सुधारका विषयमा ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको बताए।

उनले यस्ता संवादले नीति तथा योजनामा एकरूपता ल्याउन तथा विकासका मुद्दामा साझा समझदारी निर्माण गर्न सहयोग पुग्ने उल्लेख गरे।

उनका  अनुसार कार्यक्रमबाट सुदूरपश्चिमको दीर्घकालीन विकासका लागि व्यवहारिक सुझाव तथा कार्ययोजनासमेत तयार गरिनेछ, जसलाई ‘सुदूरपश्चिम घोषणापत्र’का रूपमा सार्वजनिक गरिने  छ।
दुई दिनको कार्यक्रममा संघ, प्रदेश तथा स्थानीय तहका सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, नागरिक समाज, सञ्चारकर्मी तथा विज्ञहरूको सहभागिता रहने बताइएको छ।
पत्रकार सम्मेलनको सहजीकरण सचिव पविन्द्र शाहीले गरेका थिए।

राष्ट्रिय सभामा सांसदहरुले मागे समस्याको दीर्घकालीन समाधान

सांसदहरुले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै जातीय विभेदका घटना न्यूनीकरण र रुग्ण उद्योग सञ्चालनमा ध्यान दिन पनि सरकारसँग आग्रह गरेका छन्।

सांसद कमला पन्तले मुलुकको गौरवका रुपमा रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनको तयारी सम्बन्धमा सरकारले जवाफ दिनुपर्ने बताइन्।  त्यसैगरी  सांसद जयन्ती राईले अतिक्रमण हटाउने क्रममा विस्थापित भएका सुकुमवासीको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण हुनुपर्ने बताइन्। त्यसैगरी सांसद दुर्गा गुरुङले दीर्घकालीन रुपमा सुकुमवासी समस्या समाधान गर्न सरकारसँग आग्रह गरेकी छिन् ।

सांसद नरबहादुर विष्टले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने योजना ल्याउन सरकारको ध्यानाकर्षण गरेका थिए । अर्का सांसद नारायणदत्त मिश्रले नागरिक अधिकार र लोकतन्त्रको रक्षामा सरकारको प्रतिबद्धता माग गरेका छन्।

सांसद भुवनबहादुर सुनारले जातीय विभेदका घटना नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन् । युवराज शर्माले सुशासन, मूल्यवृद्धि नियन्त्रण, विकास निर्माणलगायत विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका थिए भने सांसद राजेन्द्रलक्ष्मी गैरेले स्वास्थ्य क्षेत्रमा संवेदनशील हुन् सरकारलाई सुझाव दिएकी छिन् ।

सदन चलाउने विषयमा सभामुख अर्याल विपक्षी दलका नेतासँग छलफलमा

सभामुख डिपी अर्यालले विपक्षी दलका नेताहरुसँग सदन चलाउने विषयमा छलफल थालेका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को उपस्थितिको माग गर्दै विपक्षी दलले अवरोध गरेपछि १५ मिनेट बैठक स्थगित गरेर अर्यालले विपक्षी दलका नेतासँग छलफल थालेका हुन् ।

नेपाली कांग्रेसको संस्थापनइतर पक्षको भेला काठमाडौंमा सुरु

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको भेला काठमाडौंमा सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भेला सुरु भएको नेता डा. प्रकासशरण महतले जानकारी दिए ।

भेलामा वाग्मती प्रदेशका जिल्ला सभापति, निर्वाचित प्रतिनिधिको सहभागिता रहेको उनले बताए । “पार्टीको बृहत्त् एकताका लागि भेला बोलाइएको हो । जुन खालको समझदारी हुनुपर्ने हो, अझै हुन सकेको छैन,” महतले बाह्रखरीसँग भने, “एक-दुईपटकको भेटले सार्थक निष्कर्ष आइसकेको छैन ।”

कांग्रेस सभापति गगनकुमार थापाले वैशाख २९ गते केन्द्रीय कार्यसमितिमा १९ जना मनोनयन गरेपछि इतर पक्ष चिढिएको छ ।

देउवा पक्षका नेता पूर्णबहादुर खड्का तथा नेता डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमितिमा गरिएको मनोनयनलाई लिए असन्तुष्टि जनाएका छन् । दुवै नेताले उक्त मनोनयनले बृहत्तर पार्टी एकतामा ठेस पुगेको उल्लेख गरेका छन् ।

महतले पछिल्लो मनोनयन आफूहरूको सहमति भन्दा पनि व्यक्तिगत रूपमा भएको बताए । “जानेहरू व्यक्तिगत रूपले गएका हुन् । १५औँ महाधिवेशन निष्पक्ष रूपमा हुन्छ भन्ने सुनिश्चितता हुनुपर्‍यो,” महतले भने, “समझदारी गरेको छैन । एक-दुईपटक कुरा भए पनि कुनै समझदारी भएको छैन । भेलाले एकताको समझदारीको विषय टुंगो लगाउनेछ ।”

संस्थापन पक्षले प्रदेशस्तरीय भेला गरिरहँदा इतर पक्षले पनि समानान्तर रूपमा भेला सुरु गरेको छ । देउवा पक्षले मंगलबार कोसीको विराटनगरमा भेला गरेको थियो । कोसीको जिम्मा नेता कृष्णप्रसाद सिटौलालाई दिइएको थियो । वाग्मतीमा भेलाको समन्वय प्रकाशमान सिंह र महतले गरेका छन् ।

ढुङ्गाले लागेर वडा सदस्यको मृत्यु

बाजुरा ।  जिल्लाको बूढीगङ्गा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर वडा सदस्यको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–३ ताँप्राकी ३७ वर्षीया कल्पनादेवी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।

आज दिउँसो फालासैनबाट घर फर्किने क्रममा गुइगाड खोलाको पुल नजिकै भिरबाट खसेको ढुङ्गा लागेर उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

स्थानीयले खबर गरेपछि बार्जुगाड प्रहरी चौकीबाट खटिएको टोलीले थापालाई मृतावस्थामा फेला पारेको प्रवक्ता शाहीले बताए । थापा विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएकी हुन् ।

 

रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी असारमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ।

आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन हुने रास्वपा सचिवालय सदस्य तथा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए।

आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तोकेको हो।

यसअघि पार्टीले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको छ । चाँदीको मूल्य भने १५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला पाँच हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी पाँच हजार ६९५ मा खरिदबिक्री भएको थियो ।

न्यूनतम समर्थन मूल्यमा कृषकले गहुँ बिक्री नगरेपछि खाद्यको खरिद प्रभावित

कञ्चनपुरः सरकारले तोकेको गहुँको न्यूनतम समर्थन मूल्यमा कृषकले गहुँ बिक्री गर्न नमान्दा खाद्यले कृषकबाट गहुँ खरिद गर्न सकेको छैन । महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कृषकले सरकारले तोकेको समर्थन मूल्यमा गहुँ बिक्री गर्न नमान्दा पाँच वर्षयता गहुँ खरिद गर्न नसकिएको जनाएको हो ।

खाद्य सुरक्षा कायम गर्न, दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्ति गर्न तथा बजार मूल्य नियन्त्रणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कृषकबाट खाद्यान्न खरिद गर्दै आएको छ । नियमित रूपमा धान खरिद भने गर्दै आएको सो कार्यालयले गहुँको समयमा भने न्यून समर्थन मूल्यका कारण कृषकबाट गहुँ खरिद गर्न नसकिएको जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगरका प्रमुख महिकरण महराले सरकारले तोकेको गहुँको न्यूनतम समर्थन मूल्यमा यहाँका कृषकले गहुँ बिक्री गर्न नमान्दा खरिदको काम रोकिएको बताए। पाँच वर्षयता गहुँ खरिद हुन नसकेको उनकाे भनाइ छ ।

“गत आर्थिक वर्षमा गहुँ खरिदका लागि तीन हजार क्विन्टल कोटा निर्धारण गरिएको थियो,” उनले भने, “कृषकले गहुँ बिक्री नै गर्न मानेनन् ।”सो कार्यालयले गत आवमा गहुँ खरिदका लागि निर्धारण गरिएको तीन हजार क्विन्टलमध्ये एक क्विन्टलसमेत गहुँ खरिद नहुँदा यस वर्ष भने खरिदका लागि कोटा नै निर्धारण नभएको जनाएको छ । यस वर्ष सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ९४५ रुपियाँ निर्धारण गरेको छ ।

गत वर्ष मात्रै प्रतिक्विन्टल चार हजार छ सयका दरले व्यवसायीलाई गहुँ बिक्री गरेका बेलौरीका कृषक हरिश उपाध्यायले सरकारले तोकेको समर्थन मूल्य ज्यादै न्यून भएको बताए।

यस वर्ष कञ्चनपुरस्थित मिल सञ्चालक तथा व्यवसायीले मनोमानी रूपमा गहुँ खरिद गर्दै आएको यहाँका कृषकको गुनासो छ । गत वर्ष चार हजार छ सयका दरले गहुँ खरिद गरेका यहाँका व्यवसायीले यस वर्ष चार हजार एक सय रुपियाँ प्रतिक्विन्टल मात्रै उपलब्ध गराउँदा घाटा सहनुपर्ने बाध्यता रहेको बेलौरी नगरपालिका–८, कलकत्ताका कृषक छेदुराम रानाले दुःखेसो पोखे।

बेदकोट नगरपालिका–७ स्थित गोदावरी मिलमा गहुँ बिक्रीका लागि पुग्नुभएका कृषक रामप्रसाद लम्सालले गत वर्षभन्दा पाँच सय कम मूल्यमा गहुँ बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए। सरकारले न्यूनतम समर्थन मूल्य ज्यादै कम कायम गर्ने तथा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण यस वर्ष घाटा सहेर गहुँ बिक्री गर्नु परेको उनले बताए।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले गत वर्षभन्दा कम मूल्यमा गहुँ खरिद गर्नु परेको बेलौरीका व्यवसायी खेमराज चौधरीले बताए। दुई बिघामा गहुँ खेती गर्दै आएका बेलौरीका कृषक मोतीलाल चौधरीले सरकारले बर्सेनि तोक्दै आएको समर्थन मूल्यले लगानीसमेत नउठ्ने गरेको भन्दै चिन्ता व्यक्त गरे। बढ्दो महँगीका बिच कृषकको मेहनतको मूल्याङ्कन नै नगरी सरकारले न्यूनतम समर्थन मूल्य तोक्दै आएपछि सरकारी निकायलाई गहुँ बिक्री गर्न नसकिने कृषकको भनाइ छ ।

व्यवसायीले विगतका वर्षभन्दा यस वर्ष कम मूल्यमा गहुँ खरिद गर्न थालेपछि घाटा सहनुपर्ने बाध्यता रहेको गुनासो कृषकको छ ।

सुदूरपश्चिममा एसइईको उत्तीर्ण दर ५१ प्रतिशत, गत वर्षभन्दा उल्लेखनीय सुधार

धनगढीः माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजामा सुदूरपश्चिम प्रदेशमा उत्तीर्ण दर बढेको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेशका अधिकांश जिल्लामा २०८१ को तुलनामा यस वर्ष उत्तीर्ण दर सुधार भएको देखिएको छ।

शिक्षा विकास निर्देशनालय डोटीका अनुसार कैलालीमा यस वर्ष ५५.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन गत वर्षको ४३.०१ प्रतिशतभन्दा करिब १२ प्रतिशतले बढी हो। कैलालीबाट १४ हजार १४६ विद्यार्थी सहभागी भएकामा ७ हजार ८२२ जना उत्तीर्ण र ६ हजार ३२४ जना नन–ग्रेड भएका छन्।कञ्चनपुरमा ८ हजार २४४ विद्यार्थी सहभागी भएकामा ५१.३२ प्रतिशत उत्तीर्ण भएका छन्, जुन २०८१ को ४५.२४ प्रतिशतभन्दा बढी हो। यहाँ ६ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन्।

डडेल्धुरामा ३५.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन अघिल्लो वर्ष २७.५२ प्रतिशत थियो। बैतडीमा भने ५१.४० प्रतिशत उत्तीर्ण दर रहे पनि अघिल्लो वर्ष ५२.३० प्रतिशतभन्दा केही घटेको देखिएको छ।

दार्चुलामा ३०.८४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन गत वर्षको ३५.०८ प्रतिशतभन्दा कम हो। डोटीमा ४१.२८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने अछाममा ५५.७१ प्रतिशत पुगेको छ। बाजुरामा ६१.९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

बझाङको जिल्लागत तथ्याङ्क भने उपलब्ध नभएको शिक्षा विकास निर्देशनालय डोटीले जनाएको छ।

समग्रमा सुदूरपश्चिम प्रदेशबाट २०८२ सालको एसइईमा ४२ हजार २९९ विद्यार्थी सहभागी भएकामध्ये २१ हजार ६६४ जना उत्तीर्ण भएका छन्, जुन ५१.२१ प्रतिशत हो। गत वर्ष प्रदेशको उत्तीर्ण दर ४२.३० प्रतिशत मात्र थियो।

अझै सार्वजनिक भएन रास्वपाका सांसदहरूको सम्पत्ति विवरण

काठमाडौं । भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पति विवरण सम्बन्धित कार्यालयमा बुझाउनुपर्छ ।

कानुनी व्यवस्थाभन्दा अगाडि बढेर राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक पद धारण गर्नु अगाडि नै सम्पत्ति विवरण सार्वजनिक गर्ने चुनावी वाचा गरेको थियो ।

२१ फागुनको चुनावका लागि रास्वपाले ल्याएको १०० बुँदे वाचापत्रको बुँदा नम्बर १६ मा यस्तो प्रतिवद्धता छ । जहाँ भनिएको छ, ‘सार्वजनिक पद सम्हाल्नुअघि हामी आफ्नो सम्पत्ति विवरण पूर्ण रूपमा सार्वजनिक गर्नेछौं ।’

निर्वाचनअघि र कार्यकाल पूरा भएपछि आफ्नो र आफ्नो परिवारको सम्पत्तिमा कति परिवर्तन आयो त्यसको स्वतन्त्र लेखा परीक्षण गराएर जनतासमक्ष सार्वजनिक गर्ने पनि रास्वपाको वाचापत्रमा छ ।

यी लगायतका वाचामार्फत रास्वपाले दुई सिट कम दुई तिहाइ मत प्राप्त गर्‍यो । यही शक्तिले सरकार पनि बनाएको छ । प्रतिनिधिसभा र प्रतिनिधिसभाअन्तर्गतका विषयगत समिति गठन लगायतका कार्य सकिएको छ ।

तर, सार्वजनिक पद धारण गर्नुअगाडि नै सम्पत्ति विवरण सार्वजनिक गर्ने चुनावी वाचा रास्वपाका सांसदहरूले सांसद भएर पनि सार्वजनिक गरेका छैनन् ।

संघीय संसद् सचिवालयको सांसद सुविधा शाखाका अनुसार केवल ५८ जना सांसदले आफ्नो सम्पति विवरण बुझाएका छन् ।

देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं । कांग्रेस संस्थापन पक्षले १६ देखि १९ असोजसम्म १५औँ महाधिवेशनको मिति घोषणा गरेर क्रियाशील सदस्यता अद्यावधिक गरिरहँदा इतर (शेरबहादुर देउवा) पक्षले पनि राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेर महाधिवेशनको मिति तोक्ने तयारी थालेको छ । राष्ट्रिय कार्यकर्ता भेला आह्वान गर्नुअघि प्रदेश भेला गर्ने योजना बनाएको इतर पक्षले मंगलबार कोशी प्रदेशस्तरीय भेला गरिसकेको छ । डा. शेखर कोइराला पक्षको समेत उपस्थितिमा भेला भएको हो ।

सभापति गगन थापाले सोमबार देउवा पक्षका १२ र कोइराला पक्षका सात गरी १९ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि विवादको नयाँ बिउ रोपिएको छ । आफूहरूसँग परामर्शविना नै केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. कोइरालाले असन्तुष्टि जनाएका छन् । यो असन्तुष्टिले कांग्रेसलाई समानान्तर महाधिवेशनतिर धकेलेको छ ।

मंगलबार इतर पक्षको कोशी प्रदेशस्तरीय भेलामा कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मालगायत नेताहरू सहभागी थिए । कोइराला पक्षका नेता केदार कार्की पनि सहभागी थिए । कोशी भेलाको जिम्मा नेता सिटौलाले नै पाएका थिए, जसलाई गत १६ वैशाखमा संस्थापन पक्षले राष्ट्रिय सभा संसदीय दलको नेताबाट हटाएको थियो ।

इतर पक्षले बुधबार बागमती प्रदेशस्तरीय भेला गर्दै छ । बागमतीको भेलाको जिम्मेवारी प्रकाशमान सिंह र प्रकाशशरण महतलाई दिएको छ । त्यस्तै, मधेश प्रदेशमा जेठ दोस्रो सातासम्म भेला गरिसक्ने तयारी छ, जसको नेतृत्व आनन्द ढुंगानालाई दिएको छ । गण्डकीमा मेखलाल श्रेष्ठ, लुम्बिनीमा किशोरसिंह राठौर, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई भेलाको जिम्मा दिएको छ । उनीहरूले सम्बन्धित प्रदेशमा छलफल र भेलाको संयोजन गर्नेछन् । भेलाबाट क्रियाशील सदस्यता अद्यावधिक र जरा अभियानको अवज्ञा गर्ने गरी प्रदेशगत जिम्मेवारी तोकिएको इतर पक्षले जनाएको छ । यो समूहले काठमाडौंमा सम्पर्क कार्यालयका लागि भाडाको घर खोजिरहेको छ ।

इतर पक्षले पूर्वबाट भेला सुरु गर्नुअघि संस्थापन पक्षले २६ र २७ वैशाखमा सुदूरपश्चिममा ‘प्रदेश र स्थानीय तहकेन्द्रित प्रदेशस्तरीय भेला’ गरेको थियो । संस्थापनले २८ र २९ वैशाख (मंगलबार)मा कर्णालीमा पनि भेला गरिसकेको छ । ३१ वैशाख र १ जेठमा गण्डकीमा ४ र ५ जेठमा बागमतीमा, ६ र ७ जेठमा मधेशमा, ८ र ९ जेठमा कोशीमा र १४ र १५ जेठमा लुम्बिनीमा भेला गर्दै छ ।

प्रतिनिधि सभाका सचिव राई बर्खास्त

काठ्माण्डौ- प्रतिनिधि सभाका सचिव हर्कराज राई बर्खास्त भएका छन्। सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पदबाट हटाएका हुन्।

संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवा सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई हटाइएको राष्ट्रपति कार्यालयद्वा जारी विज्ञप्तिमा उल्लेख छ।

‘ननग्रेडेड’ विद्यार्थीका लागि तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

काठ्माण्डौ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताएका छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मंगलबारकोे बैठकमा मन्त्री पोखरेलले एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका हुन्।

सोमबार प्रकाशित नतिजाअनुसार दुई लाख ८४ हजार १६० विद्यार्थी ‘ग्रेडेड’ भई ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी सफल भएका छन्। एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएका छन्। ‘ननग्रेडेड’ भएका विद्यार्थीले ग्रेडवृद्धि (मौका) परीक्षाको लाभ लिनेछन् ।

मन्त्री पोखरेलले देशभरका सम्पूर्ण विद्यालय भवन, खेलमैदान, शिक्षक, कर्मचारी, विद्यार्थी र अन्य संरचनाको विस्तृत अध्ययन पूरा प्राप्त हुने तथ्यका आधारमा विद्यालय तहको सम्पूर्ण पूर्वाधार पुनर्संरचना गरिने बताए।

बैठकमा सांसदहरुले सुकुमवासी बस्तीबाट विस्थापित बालबालिकाको पठनपाठनकाका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने, शिक्षा विधेयक तत्काल ल्याउनुपर्ने, खेलकुद विश्वविद्यालय स्थापना गरिनुपर्ने र विद्यार्थीको लागि ई–बुकको व्यवस्था गर्न सरकारलाई सुझाव दिए।

सांसदहरुले विद्यालय खाजा कार्यक्रममा हुने गरेको अनियमितता रोक्न र विभिन्न १७ प्रकारका शिक्षकका समस्या समाधान गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने विचार व्यक्त गर्दै व्यावसायिक र सीपमूलक  शिक्षाका लागि विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराए।

एक्लो माननीयलाई नहेपियोस् :महावीर पुन

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले आफूलाई बोल्नका लागि दिइएको ५ मिनेटको समय स्वीकार्य नभएको बताएका छन् ।

अरु सांसदहरूलाई १०-२० मिनेट दिँदा आफूलाई ५ मिनेट दिइएको भन्दै उनले रोस्ट्रमबाट असन्तुष्टि जनाए ।

“एक्लो माननीय भनेर हेला नगरियोस् । किनभने अरुले १०-२० मिनेट पाउँदाखेरी मलाई ५ मिनेट नदिने ? म एक्लो छैन । तपाईंहरूको कुनै पनि पार्टीको सदस्यहरूको भन्दा मेरो समर्थकहरू धेरै छन् नेपालमा । साँच्चिकै पत्याउनुहुन्न भने जनमत लिनुहोस्,” सांसद पुनले भने, “जनमत लिनुहोस् बाहिर गएर । म एक्लो छैन मेरो साथमा सारा नेपालीहरू छन् । सबैले चिन्छन्, बच्चा बच्चाहरूले चिन्छन् । टोल टोलमा चिन्छन् बस्ती बस्तीमा चिन्छन् । त्यसकारण मलाई स्वीकार्य छैन ।”

यती एयरलाइन्सले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

काठमाडौं । यती एयरलाइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । त्यसका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

धितोपत्र निष्कासनसम्बन्धी उक्त सम्झौतापत्रमा एयरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाद्वारा हस्ताक्षर गरिएको छ ।

आन्तरिक हवाई सेवा प्रदान गर्दै आइरहेको यती एयरलाइन्स नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकहरूमध्ये एक हो । कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा विशेष जोड दिँदै देशका प्रमुख सहरी तथा दुर्गम गन्तव्यहरुमा नियमित उडान सञ्चालन गर्दै आएको बताएको छ ।

साथै, नेपालको हवाई पहुँच विस्तार तथा क्षेत्रीय कनेक्टिभिटी सुदृढ गर्न कम्पनीले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

०८१ र ०८३ को नीति तथा कार्यक्रम हुबहु छ, लेख्ने मान्छे एउटै परेछ– शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको २०८३ सालको नीति तथा कार्यक्रम २०८१ सालसँग कसरी हुबहु भयो भनेर प्रश्न गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले त्यति बेला र अहिलेको नीति तथा कार्यक्रम लेख्ने व्यक्ति एकै परेर यस्तो भएको हो कि भनेर भने।

‘मेरो हातमा दुईवटा किताब छ। एउटा २०८३ सालमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको सरकारको नीति तथा कार्यक्रम र अर्को हिजो सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको २०८३ सालको नीति तथा कार्यक्रम। यी दुवै हुबहु एउटै छ। अघिल्लोमा २१७ बुँदा छन् भने अहिलेकोमा १०० बुँदा छन्।। ११७ बुँदा कम छ। तर दुवै फोटोकपी गरेजस्ता छन्,’ उनले भने, ‘लेख्ने मान्छे एउटै परेर यस्तो भएको हो कि!’

संसदमा नयाँ युवा अनुहारहरू प्रवेश गर्दा नीति तथा कार्यक्रम पनि फरक हुनुपर्ने तर त्यस्तो नभएको उनले बताए।

‘झन्डै १० प्रतिशत मात्र परिवर्तन होला। लेख्ने मान्छे त एउटै रहेछ। पढ्नुस् न घर गएर एकपल्ट, मज्जाले पढ्दा हुन्छ। हुबहु एउटै छ। एक-दुई वटा कुरा फरक छ। तर हामीले व्यापक सुधार हुनुपर्छ भनेका थियौं। किनभने सबै युवाहरू आएका थियौं नि। नयाँ-नयाँ साथीहरू आएका थियौं। पार्टी जुनसुकै होस् तर नयाँ अनुहार छ यहाँ,’ उनले भने।

उनले नीति तथा कार्यक्रमले विगतमा जस्तै कर्णालीलाई यस पटक पनि उपेक्षा गरेको बताए।

कर्णाली र कर्णालीका बासिन्दाप्रति माया र संवेदना झल्काउने स्ट्याटस सामाजिक सञ्जालमा लेखेर मात्र त्यो भेगको विकास निर्माणमा वर्षौंदेखि हुँदै आएको विभेद अन्त्य नहुने उनको भनाइ थियो।

खोज्नुहोस