बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय, मानवता विरुद्धका अपराधमा दोषी ठहर

काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।

गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका क्रममा मानवीय अपराध गरेको आरोप शेख हसिनामाथि लगाइएको थियो। भारतमा निर्वासनमा बसेकी हसिनाको अनुपस्थितिमै उनीविरुद्ध मुद्दा चलाइएको थियो।

४५३ पृष्ठको फैसलाको प्रतिलिपि पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले यो फैसला छ भागमा सुनाइने जानकारी दिए।

बंगलादेश टेलिभिजनले उक्त फैसलाको घोषणा प्रत्यक्ष प्रसारण गरेको थियो ।

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरिएको छ । समाचार संस्था रोयटर्सका अनुसार, त्यहाँको एक अदालतले सोमबार हसिनालाई मानवअधिकार विरुद्धका अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको हो।

गत वर्ष विद्यार्थी–नेतृत्वमा भएको विद्रोहमाथि उनले घातक दमनकारी कारबाही गर्न आदेश दिएको आरोपमा महिनौँसम्म चलेको मुद्दाको फैसला सोमबार सुनाइएको हो ।

इन्टरनेसनल क्राइम ट्रिब्यूनलले हसिनामाथि लागेका मानवता विरुद्धको अपराधका ५ आरोपहरूमाथि सुनुवाइ गर्दै फैसला सुनाएको हो ।

यसमा हत्या, अपराध रोक्न नसक्नु र मानवता विरुद्धको अपराध सबैभन्दा महत्त्वपूर्ण छन्।

हसिनाको फैसलालाई लिएर देशभर हिंसा जारी छ। सरकारले उच्च सतर्कता (हाई अलर्ट) को घोषणा गरेको छ। ढाकामा १५,००० प्रहरी परिचालन गरिएको छ। उनीहरूलाई हिंसात्मक प्रदर्शनकारीहरूमाथि गोली चलाउने आदेश दिइएको छ।

शनिबार अबेर रातिदेखि आइतबार बिहानसम्म ढाकामा दुईवटा बसमा आगजनी गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । फैसलापछि हिंसा अझ बढ्ने आशंकालाई ध्यानमा राख्दै देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ।

फैसला आउनुअघि नै हसिनाले आफूविरुद्धका आरोपहरू झूटो भएको र यस्ता फैसलाहरूलाई आफूले पर्वाह नगर्ने बताएकी थिइन्।

अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) को निर्णयअघि आफ्ना समर्थकहरूलाई पठाएको अडियो सन्देशमा अवामी लीग नेतृ हसिनाले नोबेल विजेता मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले आफूको पार्टीलाई समाप्त गर्ने षड्यन्त्र गरिरहेको बताइन् ।
‘यति सजिलो छैन, अवामी लीग जरा–जरा गाउँबाट उठेको पार्टी हो, कुनै सत्ता हत्याराको खल्तीबाट जन्मिएको होइन,’ ७८ वर्षीया हसिनाले बंगालीमा भनेकी छिन्।

हसिनाले बंगलादेशमा विरोधका योजनाहरूमा आफ्ना समर्थकहरूले स्वस्फूर्तरूपमा प्रतिक्रिया दिएको दाबी गरिन्।

‘उनीहरूले हामीलाई विश्वास दिएका छन्। यो भ्रष्ट, उग्रवादी र हत्यारा युनुस र उसका सहयोगीहरूलाई बंगलादेश कसरी फेरिन्छ भनेर जनताले देखाउनेछन्; न्याय जनता स्वयं गर्छन्,’ उनले भनिन्।

एनपीएलमा २३ सय बढी प्रहरी परिचालन हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा २३ सय बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

मंसिर २८ गतेसम्म चल्ने एनपीएलको सुरक्षार्थ १९०० प्रहरी परिचालन हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । २२५ सशस्त्र प्रहरी र २ सय प्राइभेट गार्ड खटाइने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

दोस्रो संस्करणको एनपीएल आजदेखि सुरु हुँदैछ । पहिलो खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोखार्जबिच दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

दिन र रातमा दुवै समयमा खेल हुने हुँदा एनपीएलको सबै पक्षको सुरक्षाका लागि सुरक्षाकर्मी खटिनेछन् ।

एनपीएलका लागि १७ सयभन्दा बढी प्रहरी परिचालन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन खेलका लागि काठमाडौं प्रहरीले १७ सयभन्दा बढी प्रहरी परिचालन गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पार्न यो जनशक्ति खटाइएको हो, जसमध्ये १२ सय २३ जना प्रहरी खेल मैदानको प्रत्यक्ष सुरक्षामा केन्द्रित छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार खेल स्थलको भित्री तथा बाहिरी सुरक्षाका लागि मात्रै १२ सय २३ जनाको ‘डेडिकेटेड’ प्रहरी टोली खटिएको छ।

यसबाहेक खेलाडीको आवास, आवतजावत, ट्राफिक व्यवस्थापन, अपराध अनुसन्धान तथा सूचना संकलन जस्ता कार्यका लागि थप ५ देखि ७ सयको संख्यामा अतिरिक्त जनशक्ति परिचालन गरिएको छ।

‘खेल खेल्ने ठाउँमै हामीले १२ सय २३ जना प्रहरीको डिप्लोयमेन्ट गरेका छौँ,’ परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईले उकेरासँग भने, ‘त्यसबाहेक खेलाडी बस्ने ठाउँ, आवतजावत, ट्राफिक व्यवस्थापन र अन्य निगरानीका लागि थपिएको जनशक्तिसहित समग्र संख्या धेरै हुन आउँछ।’

उद्घाटन खेलका लागि सबै टिकट बिक्री भइसकेकाले सम्भावित भीड र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले यति ठूलो संख्यामा जनशक्ति परिचालन गरेको हो। नेपाली क्रिकेटप्रति दर्शकको बढ्दो क्रेजका कारण मैदानमा ठूलो भीड हुने अनुमान छ।

यसै सन्दर्भमा प्रहरीले एक सूचना जारी गर्दै टिकट नभएका दर्शकलाई मैदान वरपर भिडभाड नगर्नसमेत अनुरोध गरेको छ।

‘आजको सम्पूर्ण टिकटहरू बिक्री भइसकेको जानकारी प्राप्त भएकोले टिकट नभएका महानुभावहरू उक्त स्थान वरपर भिडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ’, प्रहरीको सूचनामा भनिएको छ।

टिकट नभएका समर्थकहरू मैदान बाहिर जम्मा हुँदा सुरक्षा व्यवस्थापनमा कठिनाइ हुने र अनावश्यक भीड बढ्ने भएकाले प्रहरीले सबैलाई घर वा अन्य स्थानबाटै खेलको मज्जा लिन आग्रह गरेको छ।

शेख हसिना विरुद्धको फैसला सुनाउन सुरु, बांग्लादेशमा सुरक्षा कडा

एजेन्सी- बांग्लादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवता विरुद्धको अपराधसम्बन्धी मुद्दाको फैसलाअघि सोमबार राजधानी ढाका तथा देशका विभिन्न स्थानहरूमा कडा सुरक्षा व्यवस्था लागू गरेको छ।

सन् २०२४ को जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोहमा सयौँको हत्या गरी १५ वर्षे शासन अन्त्य गरेको आरोपमा भारतमा निर्वासित हसिनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सोमबार दिउँसो ११ बजे (स्थानीय समय) बाट फैसला सुनाउन सुरु गरेको हो। ४५३ पृष्ठको फैसलामा छ भाग छन्, जसमा विद्रोहका समयका भिडियो प्रमाण, मानवअधिकार प्रतिवेदन र हसिनाको टेलिफोन कुराकानी बजाइएको छ।

अभियोजन पक्षले हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्ड दिन माग गरेको छ। तर पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल-मामुन साक्षी बनेकाले सजाय सिफारिस भएको छैन। संयुक्त राष्ट्र संघको फेब्रुअरी प्रतिवेदनअनुसार घटनामा १४ सय जनासम्म मारिएका थिए। उता, अन्तरिम सरकारले ८०० भन्दा बढी मृत्यु र १४ हजार घाइते पुष्टि भनेको छ।

जवाफमा हसिनाको अवामी लिगले न्यायाधिकरणलाई ‘कंगारु अदालत’ भन्दै देशव्यापी बन्दको आह्वान गरेको छ। राजधानी ढाकासहित अन्य स्थानमा अर्धसैनिक सीमा रक्षक तथा प्रहरी तैनाथ छन्। गत हप्ताको बन्दपछि बम विस्फोट र आगजनी बढेपछि प्रहरी प्रमुख शेख मोहम्मद सज्जत अलीले आगो लगाउने वा बम प्रहार गर्नेहरूलाई ‘देख्ने बित्तिकै गोली हान्ने’ आदेश जारी गरेका छन्।

गत हप्तामा मात्र ५० भन्दा बढी आगजनी र बम धमाकाका घटना भएका थिए, जसमा दुई जनाको मृत्यु भयो।

ढाका महानगरीय प्रहरीका अनुसार ढाकामा लगभग १५ हजार प्रहरी तैनाथ गरिएको छ। हसिना विरुद्धको मुद्दाको फैसला प्रत्यक्ष हेर्न ढाका विश्वविद्यालयको विद्यार्थी-शिक्षक केन्द्रमा ठूलो स्क्रिन राखिएको छ। त्यहाँ धेरै मानिसहरू भेला भएका छन्। बांग्लादेश टेलिभिजनले फैसलाको प्रत्यक्ष प्रसारण गरिरहेको छ।

फैसलाको तयारीमा अवामी लिगले पुनः बन्द आह्वान गरेको छ। हसिनाले अडियो सन्देशमार्फत समर्थकहरूलाई ‘फैसलाबाट नर्भस नहुन’ भनेकी छन्। सर्वोच्च अदालतले सेना मुख्यालयलाई न्यायाधिकरण वरिपरि सैन्य तैनाथीको अनुरोध गरेको छ।

हसिना गत अगस्ट ५ मा अपदस्थ भएपछि भारत पुगेकी थिइन्। अन्तरिम सरकार प्रमुख प्रोफेसर मुहम्मद युनुसले उनलाई कानूनी सजाय दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले फेब्रुअरीमा निर्वाचन हुने बताए पनि अवामी लिगलाई सहभागी हुन नदिने तयारी छ।

‘जेरी अन टप’ को कमाइ १२ करोड

काठमाडौं । अनमोल केसी स्टार र फिल्म ‘जेरी अन टप’ अहिले पनि केही हलमा प्रदर्शन भैरहेको छ । यो फिल्मले अहिलेसम्म घरेलु बक्सअफिसमा १२ करोडभन्दा धेरै कमाइ गरेको छ ।

पछिल्लो शनिबारसम्म सुयोग गुरुङ निर्देशित फिल्मले १२ करोड ७ लाख ३४ हजार ३४६ नेरु ग्रस कमाएको छ ।

चलचित्र विकास बोर्डले सिनेपाः बक्सअफिसको कमाइ सोमबार सार्वजनिक गरेको छ ।

फिल्मले सोही अवधिसम्म ३ लाख ८५ हजार ९२८ वटा टिकट बेचेको छ ।

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट दर्ता

काठमाडौं । राजदूत फिर्ता बोलाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ ।

सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीविरुद्ध दायर भएको यो पहिलो रिट हो । अधिवक्ता प्रेम सिलवालले दायर गरेको रिट निवेदनको पेसी यही मंसिर ७ गतेलाई तोकिएको छ ।

जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले अघिल्लो सरकारको पालामा नियुक्त ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णयक असोज ३० गते गरेको थियो ।

त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न कात्तिक १६ गते अन्तरिम आदेश दिएको थियो ।

तर त्यसको भोलिपल्टै प्रधानमन्त्री कार्कीले नै सम्हालेको परराष्ट्र मन्त्रालयले राजदूत फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो । सो निर्देशनपछि राजदूतहरू मन्त्रालयमा हाजिर गरी फर्किने गरेका छन् ।

पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको मुद्दाको फैसला आउँनु नै अघि बंगलादेशमा हिंसात्मक घटना बढ्दै

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको फैसला आउँनु भन्दा पहिले आज देशभर हिंसा भड्किएको छ । विभिन्न ठाउँमा गाडीमा आगजनी, तोडफोड र रुख ढालेर सडक अवरुद्ध गरिएका टाइम्स अफ इन्डियाले जनाएको छ ।

बढ्दो तनाव रोक्न अन्तरिम सरकारले सेना, प्रहरी र सीमा सुरक्षा बल परिचालन गरेको छ भने ढाका प्रहरीलाई आवश्यकता परे गोली चलाउन आदेश दिइएको खबरमा उल्लेख छ । अस्ति शनिवार रातिदेखि शुरू भएको हिंसा फैसला पछि अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

सरकारी वकिलले हसिनाविरुद्ध हत्या, अपराध रोक्न असफलता र मानवताविरुद्ध अपराधसहित पाँच गम्भीर आरोपमा मुद्दा दायर गर्दै मृत्युदण्ड माग गरेका छन् । अदालतले हसिनासहित पूर्वगृहमन्त्री असदुज्जमान खान कमाल र तत्कालीन आईजीपी चौधरी अब्दुल्लाह अल मामूनको मुद्दामा फैसला सुनाउँदैछ ।

साउदीमा बस दुर्घटना, ४२ भारतीयको मृत्यु

एजेन्सी साउदी अरवमा बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको मृत्यु भएको छ । सोमबार मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा हैदराबादका २० महिला र ११ बालबालिकाको ज्यान गएको हो। अन्य पनि भारतीय भएको जनाईएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि बसमा आगो लागेको थियो। प्रारम्भिक रिपोर्टहरूमा दाबी गरिए अनुसार, मृत्यु हुने सबै भारतीय हुन्। उनीहरूमध्ये धेरैजसो यात्रु हैदराबादबाट तीर्थयात्रा जाँदै थिए।

यो दुर्घटना मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिकै भारतीय समयअनुसार राति करिब १ः३० बजे भएको थियो। त्यस समयमा धेरै यात्रुहरू सुतिरहेका थिए, जसले गर्दा ठोक्किएपछि बसमा आगो लाग्दा मानवीय क्षति बढेको हो ।

तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावासको लगातार सम्पर्कमा रहेको बताएको छ। राज्य सरकारले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीमा रहेका अधिकारीहरूलाई दूतावाससँग समन्वय गरेर पीडितहरूको पहिचान र अन्य औपचारिकताहरूमा सहयोग गर्न निर्देशन दिएका छन्।

एनजीओ र आईएनजीओले दल र उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुन नपाउने

काठमाडौं । राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ र आइएनजिओ) राजनीतिक दल र उम्मेदवारको पक्ष/विपक्षमा प्रचारप्रसारमा संलग्न हुन पाउने छैनन् ।

निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहितामा यस्तो व्यवस्था छ । प्रतिनिधि सभाको चुनाव अगामी फागुन २१ गते हुँदैछ । उक्त चुनावका लागि तयार आचारसंहितामा गैरसरकारी संस्था वा विकास साझेदार संस्था, सम्बद्ध पदाधिकारी तथा कर्मचारीले पालना गर्नुपर्ने आचरणसम्बन्धी व्यवस्था आचारसंहिताको बुँदा नम्बर १२ मा छ ।गैरसरकारी संस्था वा विकास साझेदार संस्था तथा त्यस्तो संस्थासँग सम्बन्धित पदाधिकारी तथा कर्मचारीले पालना गर्नु पर्ने आचरणलाई ९ वटा बुँदामा समेटिएको छ ।

यी हुन पालना गर्नुपर्ने ९ बुँदा –

(क) राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने,

(ख) कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न नहुने,

(ग) कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा आफ्ना सवारी साधन, भवन वा अन्य सामग्री प्रयोग गर्न दिन, कार्यक्रम वा सभा वा सम्मेलन गर्न वा प्रचारप्रसारको प्रायोजन गर्न नहुने,

(घ) निर्वाचन शिक्षा सम्बन्धी प्रचारप्रसार बाहेक कुनै राजनीतिक प्रकृतिको कार्यक्रम गर्न नहुने,

(ङ) निर्वाचन वा मतदाता शिक्षालाई प्रभावित गर्ने उद्देश्यले कुनै सहयोग, पुरस्कार, सामग्री प्राप्त गर्न नहुने,

(च) कुनै पनि स्रोत नखुलेको रकम प्राप्त गर्न नहुने,

(छ) कार्यालयमा निर्वाचन सम्बन्धी शिक्षामूलक सूचना सामग्री टाँस्न तथा प्रयोग गर्न बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारका सामग्री टाँस्न वा राख नहुने, प्रारम्भि

(ज) आफू वा आफू सम्बद्ध संस्थाको तर्फबाट कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नहुने,

(झ) सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा प्रतिक्रिया दिन वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने ।

राष्ट्रियसभा सदस्य चुनावको लागि निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगबाट स्वीकृत कार्यक्रमअनुसार आउँदो पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ ।

पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रियसभाका १८ सदस्यको चुनाव माघ ११ गते सम्बन्धित मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।

युवाहरुका लागि १३ वटा विधामा नि:शुल्क रोजगारमुलक तालिम सञ्चालन हुने

काठमाडौं । नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषद्‍ले युवाहरुका लागि विभिन्न १३ वटा विधामा रोजगारमुलक सीप विकास तालिम सञ्चालन गर्ने भएको छ। परिषद्‍ले सातै प्रदेशमा ३९० घण्टे तालिम सञ्चालन गर्ने भएको हो ।

परिषद्‍द्वारा प्रकाशित सूचनामा प्लम्बर, सिलाइकटाइ, असिष्टेन्ट ब्युटिसियन, विल्डिङ् इलेक्ट्रिसियन, वारिष्टा, कुक, सिकर्मी तथा डकर्मी मेसिनको तालम सञ्चालन गर्ने जनाइएको छ। यसैगरी सामुदायिक पशु स्वास्थ्य कार्यकर्ता, मोटरसाइकल सर्भिस मेकानिक, विल्डिङ् पेन्टर, बारवर, मन्टेश्वरी र बेकरी सम्वन्धि तालिम दिइने जनाइएको छ ।

परिषद्को आ. व. २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न बिषय क्षेत्रमा युवाहरुका लागि रोजगारमूलक सिप बिकास तालिम सञ्चालन गर्न लागिएको कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए। युवाहरुलाई तालिम सक्ने वित्तिकै स्वरोजगारीमा जोड्न यस खालको तालिम आयोजना गरिएको बस्नेतले बताए ।

तालिममा सहभागी हुनका लागि इच्छुक युवाहरुले २०८२ मंसिर १५ गतेभित्र गुगल फर्म क्लिक गरी आवेदन फारम भर्नुपर्नेछ। आवेदक मध्येवाट छनोट भएकालाई तालिममा सहभागी गराइने र तालिम पश्चात् सीप परीक्षणसमेत गराइने प्रशासकीय प्रमुख गेहनाथ गौतमले जनाए ।

टीयू क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले टीयू क्रिकेट मैदान वरपर भीडभाड नगरिदिन आग्रह गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको आजको सम्पूर्ण टिकटहरू सकिएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरीले सूचना नै निकालेर भनेको छ, ‘टिकट नभएका महानुभावहरू उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।’

एनपीएलको दोस्रो संस्करण आजदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । उद्घाटन खेल साँझ ४ बजेदेखि  काठमाडौं गोर्खाज र साविक विजेता जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन् । टीयूमा पहिलोपटक फ्लडलाइटमा खेल हुन लागेको हो ।

निर्वाचन सुरक्षार्थ सवा ३ लाख सुरक्षाकर्मी, १ लाख ३० हजार म्यादी

काठमाडौँ — सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा करिब सवा ३ लाख सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको समितिको बैठकले २१ फागुनका लागि तय भएको निर्वाचन सुरक्षामा करिब ३ लाख १४ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । यसका लागि करिब १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गरिने भएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार निर्वाचन सुरक्षार्थ नेपाली सेनाका करिब ७९ हजार, नेपाल प्रहरीका करिब ७२ हजार, सशस्त्र प्रहरीका ३३ हजार र म्यादी प्रहरी १ लाख ३० हजार जनशक्ति परिचालन गरिनेछ ।

निर्वाचन आयोगबाट मतदाता नामावली, मतदानस्थल र मतदान केन्द्रको अन्तिम टुंगो लागिसकेपछि परिचालन हुने सुरक्षाकर्मीको संख्यामा केही थपघट हुने र अहिलेलाई सवा तीन लाखको हाराहारीमा खटाउने गरी निर्वाचन सुरक्षा कार्ययोजना स्वीकृत भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचन र बदलिँदो चुनौतीलाई आधार बनाएर आगामी निर्वाचन सुरक्षा योजना तर्जुमा भएको जानकारी दिए । सुरक्षा समिति बैठकले आइतबार निर्वाचनका लागि ‘एकीकृत सुरक्षा योजना–२०८२’ स्वीकृत गर्दै सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको हो । सुरक्षा समितिबाट सुरक्षा कार्ययोजना स्वीकृत भएसँगै अब सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्ले मन्त्रिपरिषद्समक्ष सिफारिस गर्नुपर्ने छ । सेना परिचालन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिले अनुमोदन गर्नुपर्छ ।

क्रिकेट महोत्सव नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि शुरु

काठमाडौं १ मंसिर ।  नेपाली क्रिकेटको महोत्सव मानिने नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आज (सोमबार)बाट सुरु हुँदै छ । २७ दिन अर्थात् २७ मंसिरसम्म खेल हुनेछ । यसपालिको ‘एनपिएल’ यसकारण पनि थप आकर्षण छ कि लिग हुने त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बदलिएको छ भने पहिलोपटक ‘फ्लड लाइट’मा प्रतियोगिता हुँदै छ । ३२ मध्ये २३ खेल रातमा हुँदै छन् ।

सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार ‘फ्लड लाइट’को स्विच थिचेर रंगशाला राष्ट्रिय खेलकुद परिषद्मार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई हस्तान्तरण गरेका छन् । सरकारले ४२ करोड १९ लाख ९१ हजार लागतमा ६ पोलमा लाइट जडान गरेको हो ।

एनपिएलमा संघीय संरचनाअनुसार सातै प्रदेशको प्रतिनिधित्व छ । कोशी प्रदेशबाट विराटनगर किंग्स, मधेश प्रदेशबाट पहिलो संस्करणको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स, बागमती प्रदेशबाट दुई टोली काठमाडौं गोर्खाज र चितवन राइनोज, गण्डकीबाट पोखरा एभेन्जर्स, लुम्बिनीबाट लुम्बिनी लायन्स, सुदूरपश्चिमबाट गत वर्ष उपविजेता बनेको सुदूरपश्चिम रोयल्स र कर्णाली प्रदेशबाट कर्णाली याक्स सहभागी हुँदै छन् ।

स्वदेशी मात्रै होइन, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आयोजना गर्ने टी–२० विश्वकप र एकदिवसीय विश्वकप जितेकादेखि चर्चित क्रिकेट लिग खेलिसकेका विदेशी खेलाडी एनपिएलका लागि त्रिवि रंगशालामा उत्रिँदै छन् । ठुला घरानाले लगानी गरेको एनपिएलमा हरेक फ्रेन्चाइज टोलीले १० देखि १५ करोडसम्म खर्च गर्दै छन् । पहिलो संस्करणमा एक सय करोड भ्यालु बनाएको क्यान दोस्रो संस्करण अझै ब्रान्ड बढाउने योजनामा छ । यो प्रतियोगितामा नेपाली खेलाडीले दुई लाखदेखि २० लाखसम्म कमाउनेछन् । सहभागी सबै टोलीले आफ्ना १६ खेलाडीसहित अफिसियललाई पाँचतारे होटेलको सुविधा दिएर राखेका छन् । प्रतियोगिताले नेपालमा पर्यटन प्रवद्र्धन हुने र अर्थतन्त्र सुधार्न टेको बन्ने अपेक्षा गरिएको छ ।

क्यान सचिव पारस खड्काले एनपिएल राज्यलाई प्रतिनिधित्व गर्ने खेल बनिसकेको बताए । ‘क्रिकेटको माध्यमबाट हामीले राम्रो म्यासेज दिएका छौँ । मेरो विचारमा राज्यले माथिल्लो लेभलमा सोचेर हेर्नुपर्छ । राज्यलाई प्रतिनिधित्व गर्ने खेल बनिसकेको छ,’ उनले भने, ‘अब एनपिएल घरेलु क्रिकेट मात्र नभएर अन्तर्राष्ट्रिय ब्रान्ड बनिसकेको छ । यो प्रतियोगितालाई साथ सहयोग चाहिन्छ । एनपिएलमा स्थानीय खेलाडीले पनि आर्थिक रूपमा फाइदा लिनेछन् ।’

मनिषको पहिलो गीत ‘बन्दीपुर बजारमा’ सार्वजनिक

कोलोराडो, १५ नोभेम्बर ।

गायक मनिष विश्वकर्माको ‘बन्दीपुर बजारमा’ बोलको गीतको म्युजिक भिडिओ शनिवार अमेरिकाको कोलोराडोमा सार्वजनिक गरिएको छ । मनिषको यो पहिलो म्युजिक भिडिओ हो ।

मनिष तनुहँको बन्दीपुरमा जन्मिए । उनको बालापन त्यही बित्यो । एक दशकअघि अवसरले उनलाई अमेरिका पु¥यायो । उनको शरीर अमेरिकामा रहेपनि मन मुटुमा बन्दीपुर थियो ।

मनिषलाई बन्दीपुरको सुन्दरता, संस्कृति र आफ्नोपनले अमेरिकामा पछ्याईरह्यो । संगीतमा उनको लगाव थियो । मनमा बन्दीपुरको प्रेम । बन्दीपुरको त्यही प्रेम गीतमा छचल्कियो । र, बन्यो एउटा सुन्दर गीत–‘बन्दीपुर बजारमा’।

त्यसपछि उनी पुगे, संगीतकार राजन भक्त श्रेष्ठको कोलोराडोको थ्रोन्टनस्थित मिष्टिक भाईभ्स स्टुडियो । जहाँ उनले आफ्नै स्वरमा गीत रेकर्ड गरे । जसमा श्रेष्ठले मिठो संगीत भरे ।

यस पटक दशैंमा बन्दीपुर  पुगेका मनिषले नेपाल छोड्नु अघि हतारमा म्युजिक भिडिओका लागि कलाकार खोजे । र, दुई दिनमै गीतको छायांकन गरे । र, अमेरिका फर्किए ।

उनी त्यसपछि चुपचाप बसेनन् । आफैले भिडिओ सम्पादन गरे । र ‘बन्दीपुर बजारमा’ लाई पूर्णता दिए ।

र, झण्डै दुई महिनाको पखाईपछि मनिषले शनिवार साँझ ७ : ३० बजे थ्रोन्टनमा आफन्त, शुभेच्छुक र साथीभाईहरुका माझमा म्युजिक भिडियो सार्वजनिक गरे ।

मन, मुटु र नजरबाट कहिल्यै ओझेल नहुने बन्दीपुर झै हृदयमा सुटुक्क पसेकी एउटी युवतीको प्रेममा परेका छन्, एक युवक । र, उनी थानीमाईलाई चमत्कार गर्न भाकल गर्छन् । ‘बन्दीपुर बजारमा’ गीत त्यही युवकको प्रेम कथा हो । ।

उनको जीवनको सहयात्री रविना घिमिरे विश्वकर्माले निर्माण गरेको गीतको छायांकन, सम्पादन र निर्देशन मनिषले गरेका हुन् । म्युजिक भिडिओका दृष्यहरु तनहुँको बन्दीपुर बजार र त्यसैको सेरोफेरोमा छायांकन गरिएका हुन् ।

‘बन्दीपुर बजारमा’ म्युजिक भिडिओको सहायक निर्देशन तथा उत्पादन प्रमुखको भूमिका बिबेक बिकेले निर्वाह गरे । जसमा दिप्शन माजकोटी, कृपा गुरुङ र सुष्मिता बयलकोटीको अभिनय रहेको छ । मेकअपमा पनि कृपा र सुष्मिताले नै साथ दिएकी छन् ।

शनिवार म्युजिक भिडिओ सार्वजनिक भएपछि मनिषले सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

उनले गीतको म्युजिक भिडिओ हेरेर सुझाव, सल्लाह र प्रतिक्रिया दिन दर्शक तथा स्रोताहरुलाई आग्रह गरे ।

डिम्ब तस्करी प्रकरणमा ‘क्लिनचिट’ दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट पेस

काठमाडौँ  : नाबालिकाको डिम्ब निकाली महँगो मूल्यमा बिक्री गरेको अभियोगमा मुद्दा नचलाउने भन होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई उन्मुक्ति दिने भनि महान्यायाधिवक्ता कार्यालयबाट भएको निर्णय बदर माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

कानुनका विद्यार्थीहरु उपेन्द्र राउत र आयुष मिश्रले आइतबार रिट पेस गरेका हुन् । रिटमा महान्यायाधिवक्ता सविता भण्डारी बराललाई पदमुक्त गर्नसमेत माग गरिएको छ । रिटमा बरालको प्रत्यक्ष स्वार्थ बाझिने मुद्दामा दबाब दिएर निर्णय गराएको जिकिर गरिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार रिट पेस भएको र दर्ता हुने वा नहुने बारे अध्ययन भइरहेको बताए । उनले सोमबार निर्णय हुन सक्ने बताए ।

यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले होपका सञ्चालक डा। स्वस्ति शर्मा, डा। मलिनी चौधरी, प्रत्यूषा बराल र डा। असीम अधिकारीलाई पक्राउ गरेको थियो । उनीहरू पछि हाजिरी जमानतमा छुटेका थिए ।

महान्यायाधिवक्ता कार्यालयले असोज ३१ मा नायब महान्यायाधिवक्ताको तहबाट जिल्ला सरकारी वकिल कार्यालय हुँदै उच्चबाट आएको मुद्दा नचल्ने फाइल सदर गरेको थियो ।

उक्त निर्णयले संविधान, फौजदारी कानुन र पीडितको न्याय प्राप्त गर्ने हकलाई अवरुद्ध र नियन्त्रण गर्नुका साथै भविष्यमा समेत यस प्रकारको पत्र जारी गरि फौजदारी न्याय प्रणालीलाई कमजोर बनाइ प्रभावित गराउन सक्ने कार्य हुन सक्ने सम्भावना समेत रहने जिकिर रिटमा गरिएको छ ।महान्यायाधिवक्ताको ज्यादतीले पूर्वप्रधानन्यायाधीशको सरकारमाथि नैतिक प्रश्न
महान्यायाधिवक्ताको ज्यादतीले पूर्वप्रधानन्यायाधीशको सरकारमाथि नैतिक प्रश्न

विपक्षी कार्यालयलाई जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयमा न्यायको लागि याचना गर्न सक्ने हुँदा व्यक्ति विशेषले धारण गरेको पदको बेवास्ता गरी, अनुसन्धान नगर्नु, मुद्दा नचलाउनु भन्ने जस्ता आदेश सम्पूर्ण विपक्षीलाई सम्प्रेषण नगर्नु र आफ्ना मातहतका अनुसन्धान गर्ने निकायलाई मेडिकल नेगलिजेन्स जस्ता कसुरमा कसैले कुनै व्यक्ति उपर जाहेरी, सूचना, प्रतिवेदन पेस गर्छ भने सो व्यक्ति उपर निर्बाध रूपमा अनुसन्धान गर्नु गराउनु भनी परमादेशको आदेश माग रिटमा गरिएको छ ।

ुनायब महान्यायाधिवक्ताको निर्णय व्यहोराुको निर्णय विपक्षी कार्यालयबाट भएको हुँदा महान्यायाधिवक्ताले पदको दुरुपयोग गरी आफूले संविधान अन्तर्गत धारण गरेको जिम्मेवारीबाट विमुख भई अनुसन्धान प्रक्रियामा प्रत्यक्ष रुपमा सामेल भई अनुसन्धान तहकिकातमा अनुचित प्रभाव पारेको र भविष्यमा समेत पार्न सक्ने गम्भीर सम्भावना रहेको हुँदा, संविधानको धारा १५७ को उपधारा ४९ख० बमोजिम प्रधानमन्त्री तथा मन्त्री परिषद्को सिफारसमा राष्ट्रपतिबाट महान्यायाधिवक्तालाई पदमुक्त गर्नुपर्ने माग रिटमा गरिएको छ ।

होप फर्टिलिटी डिम्ब तस्करी मुद्दामा महान्यायाधिवक्ता सविता भण्डारीले गरेको निर्णय किन विवादित बन्यो रु पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्
होप फर्टिलिटी डिम्ब तस्करी मुद्दामा महान्यायाधिवक्ता सविता भण्डारीले गरेको निर्णय किन विवादित बन्यो रु पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्
३ भदौमा जारी भएको थियो डिम्ब निकाल्न कार्य रोक्नु भन्दै अन्तरिम आदेश

सर्वोच्च अदालतले ३ भदौमा महिला तथा किशोरीहरूबाट डिम्ब ननिकाल्न र भण्डारण नगर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले डिम्ब निष्कासन तथा भण्डारणको कार्य रोकेर सरकारको नियमन र निगरानी प्रभावकारी बनाउन आदेशमा भनिएको थियो ।

अधिवक्ताहरू निरब ज्ञवाली, ध्रुव भण्डारी र अंकिता त्रिपाठीले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरीलगायतलाई विपक्षी बनाउँदै १ भदौमा रिट दायर गरेका थिए ।

बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक प्रालिले अवैध रूपमा किशोरीहरूको डिम्ब निकालेर बिक्री वितरण गरेको विषय सार्वजनिक भएपछि यस सम्बन्धमा सर्वोच्च अदालतमा रिट परेको हो ।

भदौ २३ र २४ मा ७८ अर्बको क्षति, ५५ जिल्लामा तोडफोड

गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा ७८ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको देखिएको छ।

यसअघि निजी क्षेत्रको मात्रै ९० अर्ब रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको थियो। ठूलो रकमको क्षति भएको सरकारी आकलन थियो।

नेपाल चेम्बरले राखेको छलफलमा अर्थमन्त्री रामेश्वर खनालले दिएको तथ्यांक अनुसार ७८ अर्ब रुपैयाँको क्षति देखिएको हो।

उनका अनुसार क्षति धेरै ठूलो नभए पनि करिब ५५ जिल्लाका विभिन्न १९ सय ५७ इकाईहरूमा क्षति भएको तथ्याङ्क छ। जसमध्ये निजी क्षेत्रको ४१९ इकाई मात्र रहेको र यसको मूल्याङ्कन ३६ अर्ब बराबरको देखिएको छ।

बाँकी करिब १५०० इकाई सङ्घीय, प्रादेशिक वा स्थानीय तहको क्षति रहेको छ, जसमा ५१४ वटा त स्थानीय तहमा मात्रै क्षति भएको थियो। सबै क्षतिको कुल मूल्याङ्कन करिब ७८ अर्ब ५१ करोड बराबरको देखिएको छ।

अर्थमन्त्रीले अर्थतन्त्रको लाभ, वृद्धि, रोजगारी सिर्जना गर्न र विदेशिने युवालाई नेपालभित्रै रोजगारी वा व्यवसायमा लगाउनका लागि प्रस्तुत गरिएका सुझावहरू आफूले पक्कै पनि ग्रहण गरेको बताए।

तर, उनले कार्यान्वयनमा जान सक्ने सुझावहरू सरकारको अहिलेको तीनवटा क्षेत्राधिकार (म्यान्डेट) को सिमाभित्र रहेर मात्र गरिने स्पष्ट पारे।

उनले कार्यान्वयनका लागि कानुनी उपकरण (ऐन) नभएसम्म सुझाव मन पर्दापर्दै र सदिक्षा हुँदाहुँदै पनि सरकारको वर्तमान क्षेत्राधिकारको अधिनमा रहेर काम गर्न नसकिने उल्लेख गरे।यसबारे उनले भने, ‘कतिपय कुराहरू कार्यान्वयन गर्नका लागि कानूनी उपकरण चाहिने भएकाले कानुन नभएसम्म कार्यान्वयन गर्न नसकिने पनि हुन सक्छ।

’यसबारे उनले भने, ‘कतिपय कुराहरू कार्यान्वयन गर्नका लागि कानूनी उपकरण चाहिने भएकाले कानुन नभएसम्म कार्यान्वयन गर्न नसकिने पनि हुन सक्छ।’

दोस्रो महिला कबड्डी विश्वकप खेल्दै नेपाल

काठमाडौँ । नेपालले सोमबारदेखि बङ्गलादेशमा हुने दोस्रो महिला कबड्डी विश्वकप खेल्ने भएको छ ।

विश्वकपमा सहभागिता जनाउन नेपाली टोली बङ्गलादेश प्रस्थान गरिसकेको छ । नेपाली टोलीलाई शनिबार केबी साम नेपाल कबड्डी लिग (एनकेएलल) ले ट्रयाकसुटलगायत खेल सामाग्रीसमेत प्रदान गरेको थियो ।

नोभेम्बर २५ तारिखसम्म सञ्चालन हुने विश्वकपमा आयोजक बङ्गलादेशसँगै साविक विजेता भारत र नेपाल, इरान, जापान, जर्मनी, केन्या, चाइनिज ताइपेई, थाइल्यान्ड, युगान्डा, अर्जेन्टिना र इन्डोसियाले प्रतिस्पर्धा गर्दै छन् । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालले पहिलो खेल नोभेम्बर १७ तारिख खेल्ने छ ।

नेपाली कबड्डी टिमका पदाधिकारीले विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपालले उत्कृष्ट प्रदर्शनसहित विश्वकप पदक हासिल गर्ने घर फर्कने विश्वास व्यक्त गरेका छन् ।

मानमती विष्टको कप्तानीमा रहेको नेपाली टोलीमा जयन्ती बडु उपकप्तान छिन् । अन्य खेलाडीमा गङ्गा घिमिरे, रविना चौधरी, मेनुका राजवंशी, मनिषा जोशी, सृजना धानुक, आशिका कुँवर, सन्जु थामी, मीना नेपाली, बिनिता क्षेत्री, आस्मा यादव, सृजना थारू र उरुसा शाक्य रहेका छन् ।

टोलीको प्रशिक्षकमा विष्णु दत्त भट्ट, प्रशिक्षकमा हरिना थापा र व्यवस्थापकमा शरद दर्शनधारी र टेक्निकल अफिसरमा रमेशचन्द्र ओझा छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

कञचनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४ दशमलव ४२ हेक्टर क्षेत्रफल अतिक्रमण भएको हो ।

साथै नेपाल–भारत सिमाना पिल्लर नं २८ क्षेत्रमा करिब १३९ दशमलव ८९ हेक्टर निकुञ्ज क्षेत्र अतिक्रमणमा परेको निकुञ्ज कार्यालयले जनाएको छ ।

अतिक्रमित क्षेत्रमा तत्कालीन शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापितहरू बसिरहेका छन् । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले ढक्कामा ६०४, तारापुरमा १५५ र लल्लेरीमा १३ परिवारले अतिक्रमण गरेर बसिरहेको जानकारी दिए ।

उनका अनुसार नेपाल–भारत सिमाना पिल्लर नं २८ क्षेत्रमा भारतीय नागरिकले करिब १३९ दशमलव ८९ हेक्टर निकुञ्जको क्षेत्र अतिक्रमण गरेर खेती गर्दै आएका छन् ।

सूचना अधिकारी वाग्लेले निकुञ्जको मध्यवर्ती क्षेत्र (कोर एरिया)मा मानवबस्ती बसेकाले वन्यजन्तुको बासस्थानमा असर पुग्ने बताए । ‘कोर एरियामा निकुञ्जबाट विस्थापित भएकाहरू बस्दै आएका छन्, यसले वन्यजन्तुको बासस्थानमा समस्या हुन्छ’, उनले भने, ‘यहाँ बस्नेहरूले पनि न्यूनतम सेवासुवधा पाउन सक्दैनन् । सोहीकारणले कोर एरियामा बस्ती हुँदा दुवै पक्षलाई असर परेको छ ।’

निकुञ्जबाट विस्थापितको समस्या समाधान हुन नसक्दा निकुञ्जको कोर एरिया अतिक्रमणमा परेको वाग्लेको भनाइ छ । हालसम्म ३३ वटा आयोग बने पनि आरक्ष विस्थापितको समस्या समाधान हुन नसकेको उनले बताए ।

नेपाल–भारत सिमानाको पिल्लर नं २८ र २७ बीचको निकुञ्ज क्षेत्रमासमेत अतिक्रमण भएको छ । सिमानामा मुख्य पिल्लरको बीचमा सबपिल्लर नभएकाले उक्त क्षेत्र विवादित बनेको सूचना अधिकारी वाग्लेले उल्लेख गरे ।

‘उक्त क्षेत्रमा भारतीय नागरिकले खेतीपाती गर्दै आएका छन्, त्यो क्षेत्रमा हाम्रो पनि दाबी छ’, उनले भने, ‘गत जेठमा पिल्लर नं २८ नजिक नेपाली सेना र निकुञ्ज कार्यालयले संयुक्त रूपमा पोष्ट स्थापना गरेका छौँ ।’ भारतीय पक्षले अतिक्रमण गरेर खेतीपाती गरिरहेका क्षेत्रमा सेनाले पोष्ट स्थापना गरेर गस्ती सुरु गरेको उनले जानकारी दिए ।

सूचना अधिकारी वाग्लेका अनुसार अहिले निकुञ्जको सुरक्षामा राष्ट्रिय निकुञ्जका विभिन्न स्थानमा नेपाली सेना र राष्ट्रिय निकुञ्ज कार्यालयका १५ वटा संयुक्त सुरक्षा पोष्ट छन् भने सेनाका छुट्टै तीन वटा पोष्टबाट सेना खटिएका छन् ।

विसं २०५८ मा तत्कालीन शुक्लाफाँटा आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) को पूर्वी क्षेत्र विस्तार गर्ने क्रममा विस्थापित भएकाहरू निकुञ्जको विभिन्न स्थानमा अतिक्रमण गरेर बसेकाले मानव–वन्यजन्तु द्वन्द्वसमेत बढ्दै गएको छ ।

यहाँ एक दशकमा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र १४ पुरुष गरी १७ जनाको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ । रासस

निर्वाचन आयोगमा १२२ दल दर्ता

काठमाडौं :  निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दलहरू दर्ता भएको जानकारी गराएको छ। आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आयोगले १२२ वटा दल दर्ता भएको र २८ वटा दर्ताको क्रममा रहेको जानकारी दिएको हो।

दर्ताका क्रममा रहेका दलका हकमा कानुनबमोजम काजगपत्र माग्ने र सनाखत गर्ने प्रक्रिया अघि बढेको छ। ७ वटा राजनीतिक दलहरू खारेज भएको आयोगले जनाएको छ।

आयोगले फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आह्वान गरेको थियो। सोही अनुसार आज दल दर्ताका लागि अन्तिम दिन हो।

दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले अमेरिकालाई १० विकेटले हरायाे

काठमाण्डाै – भारतमा चलिरहेको दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले अमेरिकालाई १० विकेटले हराएको छ ।

अमेरिकाले दिएको १८ रनको लक्ष्य नेपालले ४ बलमै १ विकेट पनि नगुमाई भेटायो । नेपालकी दिल्लीसरा धमलाले १२ रन बनाइन् । नेपालले ६ रन अतिरिक्त पायो ।

यसअघि बेङ्गलुरुमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ९ ओभर ४ बलमा १७ रन बनाउँदा सबै विकेट गुमायो । अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अमेरिकाले १३ रन अतिरिक्त पाएको थियो । नेपालकी दिल्लीसरा धमलाले ३ विकेट लिइन् ।

प्रतियोगितामा नेपालको यो तेस्रो जीत हो । यसअघि नेपालले अस्ट्रेलियालाई ८ विकेट र श्रीलङ्कालाई ९ विकेटले हराएको थियो भने भारतसँग ८५ रनले पराजित भएको थियो ।

प्रसाईंको ‘नागरिक बचाउ दल’ दर्ताका लागि सनाखत

काठमाडौं  । दुर्गा प्रसाईंको ‘नागरिक बचाउ दल’ दर्ता प्रयोजनका लागि सनाखत गरिएको छ । नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले आइतबार निर्वाचन आयोग पुगेर नयाँ पार्टीका लागि सनाखत गरेका छन् ।

अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा रहेको ‘नागरिक बचाउ दल, नेपाल’का लागि उनले सनाखत गरेका हुन् । दलको प्रस्तावित अध्यक्षसमेत रहेका कल्पितले आयोगमा पुगेर सनाखत पत्रमा हस्ताक्षर गरे ।

सनाखतपछि कल्पितले आगामी प्रतिनिधिसभा निर्वाचनमा गरिब र नागरिकका मुद्दामा आधारित स्पष्ट एजेन्डा लिएर चुनावी मैदानमा उत्रिने दाबी गरे । उनले परम्परागत राजनीतिक शक्तिहरूले जनताको सरोकार बिर्सिएको अवस्थामा आफ्नो दल वैकल्पिक शक्तिको रूपमा उभिने दाबी गरे ।

“हामी राजनीतिमा सेवा र समर्पण गर्नका लागि नागरिक बचाउ दल स्थापना भएको हुँदा आगामी चुनावमा हामी अरू दलभन्दा पल्ला भारीको रूपमा जनताको पक्षमा काम गर्नका लागि संसद् भवन र सिंहदरबार छिर्नेछौँ,” उनले भने ।

न्युज एजेन्सी नेपाल

रेमिट्यान्स ३५.४ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपाल भित्रिने रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विवरणअनुसार, ०८२ साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रिने रेमिट्यान्स ११.९ प्रतिशतले बढेको थियो ।

०८२ असोज महिनामा मात्र दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अघिल्लो वर्षको सोही महिनामा एक खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।

मेक्सिकोमा सरकारविरुद्ध प्रदर्शनका क्रममा १२० जना घाइते

काठमाडौं :  मेक्सिको प्रहरीका अनुसार मेक्सिको सिटीमा सरकार विरोधी प्रदर्शनका क्रममा भएको झडपमा १०० प्रहरी अधिकारीसहित कम्तीमा १२० जना घाइते भएका छन्। शनिबार मेक्सिकोको राजधानीमा हिंसात्मक अपराध र राष्ट्रपति क्लाउडिया शेनबाउमको सरकारको विरुद्धमा प्रदर्शनकारीहरूले मार्च निकाले। अन्य शहरहरूमा पनि विरोध प्रदर्शनहरू भए।

प्रदर्शनकारीहरूले शेनबाउम बस्ने राष्ट्रिय दरबारको सुरक्षा घेरा तोडेर भागेका  छन्। परिसरको सुरक्षामा खटिएका प्रहरीले भीडमाथि अश्रुग्यास प्रहार गरेका थिए।  मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाज्क्वेजले डकैती र आक्रमणलगायत विभिन्न अपराधहरूमा २० जनालाई पक्राउ गरिएको बताए।

राष्ट्रपति शेनबाउमले मार्चलाई उनको सरकारको विरोध गर्ने दक्षिणपन्थी नेताहरूले आर्थिक सहयोग गरेको बताए।

यो र्‍याली जेन जेड युवा समूहहरूद्वारा आयोजना गरिएको हो । उरुपानका मेयर कार्लोस मान्जोको हत्यासहित उच्च -प्रोफाइल हत्याहरूको विरोध गर्नेहरूबाट समर्थन प्राप्त भएको बताइएको छ। नोभेम्बर १ मा डे अफ द डेड फेस्टिवलमा मान्जोलाई गोली हानी मारिएको थियो।

सोमबारदेखि एनपिएल सुरु, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) सोमबारदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्नेछन्। यो खेल सोमबार दिउँसो ४ बजे सुरु हुनेछ।

एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति हुनेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ। पहिलो दिनको खेलको टिकट दुई दिन अगाडि नै बिक्री भइसकेको छ। क्यानका सचिव पारस खड्काले थप दर्शकलाई घरमै बसेर हेर्न अनुरोध गरेका छन्।

एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने छ। एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन्।

उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ।

एनपिएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

क्यानले दोस्रो संस्करणको एनपिएलबाट ४० करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।

एनपीएलको उद्घाटन खेलका सबै टिकट बिक्रि, घरमै बसेर खेल हेर्न क्यानको आग्रह

काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल)को भोलि हुने उद्घाटन खेलको सबै टिकट बिक्रि भएको छ । पहिलो खेलका लागि सबै टिकट बिक्रि भइसकेकाले टिकट नहुनेलाई घरमै बसेर खेल हेर्न नेपाल क्रिकेट सङ्घ (क्यान)ले आग्रह गरेको छ ।

क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत् टिकट उपलब्ध नभएका वा प्राप्त गर्न नसकेका दर्शकलाई रङ्गशालामा आएर हुलहुज्जत नगर्न पनि आग्रह गरे । साथै उनले टिकट नहुने दर्शकले घरमै बसेर खेल हेर्दै एनपीनएल क्रिकेटलाई समर्थन गर्ने आफूले अपेक्षा राखेको बताएका छन् ।

एनपीएल एउटा ब्राण्ड बनिसकेकाले विश्वको ध्यान नेपाली क्रिकेटमा पर्ने हुँदा दर्शक तथा समर्थकलाई अनुशासित भएर खेल हर्न क्यानले अनुरोध गरेको छ । साथै आउँदा दिनमा विश्वस्तरका धेरै खेलाडीलाई बोलाएर नेपालमा खेल्ने वातावरण बनाउने सन्देश दिनुपर्नेमा क्यानका सचिव खड्काको जोड छ ।

अहिले सिट सङ्ख्या निश्चित भएकाले क्यानले पहिलो खेलका लागि झन्डै आठ हजार टिकट बेच्न दिएको छ भने झन्डै दुई हजार टिकट खेलाडीका परिवार, प्रायोजक, आयोजकलगायतका लागि छुट्याइएको छ । यस्तै थप तीन हजार सिट पदाधिकारी, खेलसँग सम्बन्धित अधिकारी र पाहुनाका लागि छुट्याएको छ ।

हिजो क्यानले गरको पत्रकार सम्मेलनमा पनि सचिव खड्काले एनपीएलका खेलहरु भइरहेकाे समयमा कुनै पनि समूहलाई काठमाण्डौ केन्द्रीत आन्दोलन नगर्न आग्रह गरेका थिए ।

भोलिदेखि त्रिवि क्रिकेट रङ्गशालामा शुरु हुने दोस्रो संस्करणको एनपीएल क्रिकेटको सबै तयारी पूरा भएको छ । प्रतियोगितामा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ड्स र काठमाण्डु गोर्खाजले खेल्नेछन् । खेल दिउँसो चार बजे शुरु हुनेछ ।

प्रवासी नेपालीलाई पनि भोट हाल्न दिन अध्यादेश ल्याउने तयारी

काठमाडौं ३० कात्तिक। सरकारले विदेशमा रहेका नेपाली नागरिकहरुलाई पनि निर्वाचनमा सहभागी गराउन अध्यादेशमार्फत् कानुन संशोधनको तयारी गरेको छ ।

मतदाता नामावलीमा नाम समावेश भएका तर विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अवसरका लागि अध्यादेश ल्याउने तयारी गरेको हो ।

गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने, ‘अध्यादेशको मस्यौदा कानुन मन्त्रालयमा पठाइएको छ र त्यसमा चारवटा ऐन संशोधनको प्रस्ताव गरिएको छ ।’

प्रवक्ता काफ्लेका अनुसार, मतदाता नामावली, प्रतिनिधि सभा सदस्य निर्वाचन, निर्वाचन कसुर तथा सजाय र निर्वाचन आयोग सम्बन्धी ऐन संशोधन प्रस्ताव गरिएको छ । यी संशोधन भए विदेशमा रहेका नेपालीहरुले समानुपातिकतर्फ मतदानमा भाग लिन पाउने छन् ।

सो मस्यौदामा नेपालभित्रै रहेका तर आफ्नो निर्वाचन क्षेत्रबाट अर्को निर्वाचन क्षेत्रमा रहेका नेपालीहरुलाई पनि समानुपातिकतर्फको मतदानमा भाग लिन दिनेबारे उल्लेख छैन । तर त्यसबारे पनि छलफल भइरहेको प्रवक्ता काफ्लेले जानकारी दिए ।

कानुन मन्त्रालयका एक अधिकारीका अनुसार सो अध्यादेश आवश्यक परिमार्जनपछि सम्बन्धित मन्त्रालयमा पठाइने छ । र, मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि राष्ट्रपतिबाट जारी हुने छ । त्यसलाई राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनमा आउने छ । यी सबै प्रक्रिया एक साताभित्रै पूरा गर्ने गरी तयारी भइरहेको कानुन संशोधन प्रक्रियामा संलग्न अधिकारीहरुले बताएका छन् ।

अध्यादेशको मस्यौदामा दूतावास वा नियोगलाई मतदान केन्द्र निर्धारण गर्ने प्रस्ताव छ । दूतावास वा नियोगमा कार्यरत कर्मचारी नै मतदान अधिकृत तोकिने छ । मतदाता नामावलीको प्रमाणीकरण पनि दूतावास तथा नियोगका कर्मचारीहरुले गर्नेछन् ।

सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई पनि मताधिकार प्रयोगको अवसर दिने कानुन बनाउन एक दशक अघि नै आदेश दिएको थियो । तर सो आदेश सरकारले कार्यान्वयन गरेको थिएन । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले भने सोही आदेश कार्यान्वयनको गृहकार्य गरिरहेको छ ।

प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तोकिएको छ । त्यसका लागि अहिले दल दर्ताको काम भइरहेको छ । दल दर्ताको प्रमाणपत्र लिने अवधि आजै सकिंदैछ ।

खोज्नुहोस