राजनीतिमा सक्रिय हुन्छु, ‘रिटायर्ड लाइफ’ बिताउँदिन: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अब ‘रिटायर्ड लाइफ’ नबिताउने स्पष्ट पारेका छन् ।

शुक्रबार प्रेस सेन्टर नेपालले काठमाडौंमा आयोजना गरेको छलफलमा प्रचण्डले राजनीतिक रूपमा सक्रिय रहिरहने बताएका हुन् । तर उनले पार्टीको शीर्ष नेतृत्वमै निरन्तर रहिरहनुपर्ने पक्षमा भने आफू नरहेको स्पष्ट पारे ।

‘रिटायर्ड लाइफ त बिताउँदिन, तर म पार्टी प्रमुख भइरहनै पर्छ भन्ने छैन,’ उनले भने । प्रचण्डले पछिल्लो समय तीन पार्टी र तीन नेतामाथि उस्तै धारणा बनाइएकामा असन्तुष्टि जनाए । ‘यसरी खबरदारी गर्ने दल र मलाई पनि उही डालोमा राख्दा मन दुख्छ,’ उनले भने ।

उनले जेन–जी आन्दोलनको मागप्रति समर्थन जनाउँदै त्यसलाई सम्मान गर्नुपर्ने धारणा राख्दै यसलाई सम्बोधन गर्न नसके देश पछाडि पर्ने बताए ।

प्रचण्डले अहिलेको मुख्य प्राथमिकता फागुन २१ गते तोकिएको निर्वाचनलाई सफल बनाउनु रहेको पनि बताए।

उनले आफूले भन्दै आएको कुरा ठ्याक्कै मिल्न गएको भन्दै ज्योतिषीजस्तो लाग्ने गरेको बताउ ।

सुमना श्रेष्ठकाे सुझाव- ‘काँग्रेस वा एमालेले देशको साझा शत्रु बन्ने चेष्टा नगरेकै वेश’

काठमाडौं । पूर्वसांसद सुमना श्रेष्ठले नेपाली कांग्रेस र नेकपा (एमाले)लाई देशको एक मात्र साझा शत्रु बन्ने चेष्टा नगर्न चेतावनी दिएकी छन्।

ताजा जनादेशको लागि सिंगो नेपाली समाज तयार भइसकेको अवस्थामा ठूला राजनीतिक दलका ‘स्वार्थी र सत्तालिप्सामा डुबेका नेताहरू’ले संसद पुनर्स्थापनाको बहस चलाउनुलाई उनले ‘भाद्र २३ को युवा क्रान्तिको मर्म विपरीत’ कार्य भनेकी छन्।

‘नेपाल र विश्वको ईतिहास साक्षी छ। ‘प्रतिक्रान्ति’ को नेतृत्व गर्ने तत्वहरु विरुद्ध सामान्य जनताहरु विभाजन रेखाहरु भन्दा माथि उठेर गोलबद्ध हुन्छन्,’ उनले स्मरण गराएकी छन्, ‘त्यसैले काँग्रेस वा एमालेले यो देशको एक मात्र साझा शत्रु बन्ने चेष्टा नगरेको वेश।’

सामाजिक सञ्जालमार्फत श्रेष्ठले निर्वाचनको निष्पक्षतामाथि शंका गर्नुलाई ‘जनता समक्ष जान नसक्ने हत्यारा, भ्रष्टाचारि, कायर अपराधिक तत्वहरुको निकृष्ट बहाना’ मात्र भएको दाबी गरेकी छन्। उनले आफूलाई लोकतान्त्रिक भन्ने तर लोकतान्त्रिक चरित्र देखाउन नसक्नेहरू लोकतन्त्रको अभ्यासबाट भाग्न खोजेको नेपाली जनताले प्रष्टसँग बुझेको समेत उल्लेख गरेकी छन्।

शान्तिपूर्ण निकासका लागि एक कदम अगाडि बढिसकेको नेपाली समाजलाई द्वन्द्वतिर लैजान आफ्ना भातृ संगठनहरूलाई उक्साउनु ‘प्रतिक्रान्ति’ को तयारी गर्नु मात्रै भएको उनको भनाई छ।

 

वन्यजन्तु संरक्षणमा चुनौतीः शुक्लाफाँटामा चोरी–शिकारी रोकिएन

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वनका वन्यजन्तु र वन पैदावार चोरी–निकासीका घटना बढेका पाइएको छ।

सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराका अनुसार राजनीतिक अस्थिरताको फाइदा उठाउँदै केही व्यक्तिहरू र समूहहरूले घरेलु हातहतियार, भरुवा बन्दुक र कुकुरको प्रयोग गरी वन्यजन्तु शिकारी तथा वन्यजन्तुका बच्चा समाउँदै  आएका छन्। साथै उनीहरूले वन सिमानाका तारबार) भत्काउने, अनुमति पुर्जी नलिई घाँस, दाउरा, डालेघाँसलगायत वन पैदावार सङ्कलन गर्ने र सामुदायिक वन क्षेत्रभित्रलाई अनधिकृत चरिचरनका रूपमा बारम्बार प्रयोग गरिरहेका छन्।

‘वन क्षेत्रभित्र रहेका नदीनालामा घातक विषादी र विद्युत् उपकरण प्रयोग गरी माछा मार्ने र नदीमा करेन्ट प्रवाह गर्ने कार्यले वन्यजन्तु तथा जलचर प्रजातिको जीवनमा गम्भीर असर पारेको छ’, उनले भने, ‘सामुदायिक वनभित्र चोरी शिकारी नियन्त्रण गर्न जडान गरिएका सिसिटिभी क्यामेरा, सौर्य बत्ती र निगरानीका अन्य उपकरण तोडफोड गरिएको छ।’

सामुदायिक वन क्षेत्रभित्र राति र दिउँसो सवारीसाधन प्रवेश गरी वन्यजन्तु शिकारी, अवैध बालुवा उत्खनन र रातो माटो उत्खनन भइरहेको उनले उल्लेख गरे। अध्यक्ष महराले भने, ‘सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित निकाय र स्थानीयलाई गैरकानुनी कार्य नगर्न आग्रह गरेका छौँ, त्यस्ता कार्य जारी रहे वन ऐन, २०७६ र समूहको विधानअनुसार  कारबाही गर्न बाध्य हुनेछौँ।’ सामुदायिक वनका पदाधिकारीहरूले डिभिजन वन कार्यालय, स्थानीय प्रशासन र प्रहरीलाई वन पैदावार र वन्यजन्तुको चोरी शिकारी  नियन्त्रणमा लाग्न आग्रह गरेका छन्।

राष्ट्र बैंकले बढायो सुन आयातकाे कोटा, अब दैनिक २५ किलोसम्म सुन ल्याउन पाउने

काठमाडौँ, २४ असोजः  नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा २० किलोबाट २५ किलो पुर्‍याएको छ ।

अब वाणिज्य बैंकहरूले दैनिक २५ किलोसम्म सुन आयात गर्न पाउने छन् । आयात गरिएको सुन व्यवसायीहरूले खरिद गरेर सर्वसाधारणलाई गहनाको रूपमा बिक्री गर्नेछन् ।

केन्द्रीय बैंकले बजारमा सुनको बढ्दो माग र मूल्य वृद्धिलाई ध्यानमा राखेर कोटा बढाएको हो । दीपावली नजिकिँदै गर्दा सुनको माग अझ बढ्ने अपेक्षा गरिएको छ । शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ३५ हजार रुपैयाँमा कायम भएको छ ।

यसैगरी, नेपाल राष्ट्र बैंकले विदेशबाट ल्याउन सकिने रेमिट्यान्सको सीमा पनि २० लाख रुपैयाँबाट २५ लाख रुपैयाँ पुर्‍याएको छ । अब नेपाली नागरिक वा नेपालमा दर्ता भएका फर्मरकम्पनीहरूले विदेशबाट पठाइएको रकम दैनिक २५ लाख रुपैयाँसम्म खातामा जम्मा गर्न सक्नेछन् ।

विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा ग्राहकको पहिचान कागजात लिनुपर्नेछ र हरेक महिना आएको रेमिट्यान्सको विवरण सम्बन्धित विभागमा सात दिनभित्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

नापी कार्यालय कैलालीमा ९५ लाख बरावरको क्षति

कैलाली । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगलागी भएको नापी कार्यालय कैलालीमा ९५ लाख बराबरको क्षति भएको छ । ६५ लाख बराबरका दुई गाडी, एउटा मोटरसाइकल, कम्प्युटर, प्रिन्टर, स्क्यानर, दराज कुर्सीहरू जलेको कार्यालयले जनाएको छ ।

नापी कार्यालय कैलालीका प्रमुख जनक राज भट्टले कार्यालयका सबै अभिलेखहरू भने सुरक्षित रहेको बताए । ‘भौतिक र आर्थिक क्षति भए पनि नापीका सबै अभिलेखहरू सुरक्षित छन् । सेवाग्राही समस्यामा पर्ने अवस्था छैन,’उनले भने । उनका अनुसार कार्यालयको नक्सा प्रिन्ट गर्ने कोठा आगलागीबाट बढी प्रभावित भएको हो ।

त्यसमा केही सामान्य कागजातहरू जले पनि महत्त्वपूर्ण डाटामा क्षति नपुगेको उनले बताए । भदौ २४ देखि बन्द भएको सेवा प्रवाह २ असोजबाट पूर्ण रूपमा सुचारु भएको कार्यालय जनाएको छ । क्षतिको विवरण सङ्कलन गरी क्षतिपूर्ति विभागमा पठाएको र त्यहाँबाट सहयोग आए पुनः निर्माणको काम सुरु हुने कार्यालय प्रमुख भट्टले जानकारी दिए ।

मालपोत कार्यालयको सेवा पनि सुचारु 

भूमिसुधार तथा मालपोत र नापी कार्यालय कैलालीको   भवन सँगै जोडिएका छन्  । आगलागीबाट नापी भन्दा मालपोतमा बढी क्षेति पुगेको छ । यद्यपि मालपोतले पनि आफ्नो सबै काम सुचारु गरिसकेको छ । कार्यालयका सूचना अधिकारी दिलाराज भट्टका अनुसार असोज सात गते देखि सेवा प्रवाह सुचारु भइसेको हो ।

आगलागीबाट कार्यालयका तीन वटा कोठामा पूर्ण क्षति पुगेको छ । जस मध्य रजिस्ट्रेसन फाँट, स्टोर फाँट र दर्ता चलानी फाँट प्रभावित भएका छन् । अन्य कोठाहरूमा पनि आंशिक क्षेति भएको सूचना अधिकारी भट्टले जानकारी दिए । आगलागीबाट पुरै भवनको वायरिङ,नेटवर्किङमा पनि क्षेति पुगेको थियो ।

लालपुर्जा केही मात्रामा जले पनि अन्य सबै विवरण सुरक्षित रहेका कार्यालयले जनाएको छ । कार्यालयका अनुसार भौतिक तर्फ भवनमा क्षति, तीन वटा गाडी, दुई मोटरसाइकल, सबै कोठाका कम्प्युटर, स्क्यानर,प्रिन्टर, नष्ट भएका छन् । यद्यपि विभिन्न ठाउँबाट कम्प्युटर, प्रिन्टर, वायरिङ लगाएतको सहयोग पाएपछि काम सुरु भएको सूचना अधिकारी भट्टले जानकारी दिए । उनका अनुसार यो घटना पछि राजस्व सङ्कलनमा भने भारि गिरावट आएको छ ।

 

 

गाजामा जीवित रहेको विश्वास गरिएका बन्धक को–को हुन् ?

काठमाडौं । इजरायल र हमासबीच गाजामा रहेका बाँकी बन्धक मुक्त र प्यालेस्टाइनी कैदी रिहा गर्ने सम्झौता भएको छ । यो सम्झौता यसै सप्ताहान्तमा कार्यान्वयन हुने सम्भावना छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसक्रममा २५० जनालाई बन्धक बनाइएको थियो । उनीहरूमध्ये अझै ४८ बन्धक गाजामा छन् । तीमध्ये २० जीवितै र २६ जनाको मृत्यु भइसकेको इजरायली सरकारको विश्वास छ ।

इजरायली अधिकारीका अनुसार, दुई बन्धकको मृत्यु घोषणा गरिएको छैन । तर, उनीहरूको जीवनका कुनै पछिल्लो संकेत प्राप्त छैन ।

जीवित रहेको विश्वास गरिएका बन्धकको विवरण–

१. एलोन ओहिल (२४ वर्ष)
उत्तरी इजरायलका पियानोवादक एलोन ओहिललाई हमासको आक्रमणमा ३८० भन्दा बढी मानिस मारिएका नोभा संगीत महोत्सवबाट भाग्ने क्रममा सडकछेउको बम आश्रयस्थलबाट हमासले नियन्त्रणमा लिएको थियो ।

आक्रमणका क्रममा उनको दाहिने आँखामा छर्राको घाउ लागेको थियो । हमासले हालै सार्वजनिक गरेको भिडियोमा उनी आंशिक रूपमा दृष्टिविहीन देखिएका परिवारको भनाइ छ । फेब्रुअरीमा मुक्त गरिएका तीन बन्धकले ओहिललाई सुरुङमा साङ्लोले बाँधेर राखिएको बताएका थिए ।

२. एरियल कुनियो (२८ वर्ष)
एरियल कुनियो र उनकी प्रेमिका अर्बेल येहुदलाई गाजा सीमानजिकको किबुज निर ओजस्थित घरबाट अपहरण गरिएको थियो ।

जनवरीमा रिहा भएकी येहुदले गएको महिना फेसबुक पोस्टमा कुनियोको ७०० दिनको बन्दी जीवन सम्झँदै लेखेकी थिइन्, “यो हाम्रो निजी स्वर्ग थियो ।”

कुनियोका दाइ डेभिडलाई पनि किबुजबाट अपहरण गरिएको थियो ।

३. डेभिड कुनियो (३५ वर्ष)
डेभिड कुनियो आफ्नी पत्नी शारोन र तीन वर्षीया जुम्ल्याहा छोरीहरू युली र एम्मासँगै अपहरणमा परेका थिए । पत्नी र छोरीहरू २०२३ को नोभेम्बरमा रिहा भए ।

गएको जुलाईमा खिचिएको भिडियोमा छोरीहरूले आफ्नो पाँचौँ जन्मदिनमा बुवा फर्किऊन् भन्ने इच्छा व्यक्त गरेका थिए । शारोनले भनिन्, “यो सधैँ एक मात्र इच्छा हो, अरू केही होइन ।”

४. अविनातान ओर (३२ वर्ष)
अविनातान ओर आफ्नी प्रेमिका नोआ आर्गमानीसँग नोभा संगीत महोत्सवबाट अपहरणमा परेका थिए । भिडियो फुटेजमा बन्दुकधारीले उनलाई घिसार्दै लगेको देखिन्छ, जबकि आर्गमानीलाई मोटरसाइकलमा राखेर गाजातर्फ लगिँदा उनी रोइरहेकी थिइन् ।

आर्गमानीलाई इजरायली सेनाले २०२४ को जुनमा मध्य गाजाको एक अपार्टमेन्टबाट उद्धार गरेको थियो । अपहरणपूर्व ओर एक प्रमुख प्रविधि कम्पनीमा कार्यरत थिए ।

५. बार कुपरस्टीन (२३ वर्ष)
बार कुपरस्टीन नोभा महोत्सवमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । उनका आफन्तका अनुसार, उनी अरूलाई बचाउन त्यहाँ बसेका थिए ।

६. विपीन जोशी (२४ वर्ष)
नेपाली विद्यार्थी विपीन जोशी अपहरणमा पर्नुभन्दा करिब २५ दिनअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गाजा सीमानजिकको किबुज अलुमिम पुगेका थिए । इजरायली अधिकारीले उनको जीवन जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

गएको बुधबार उनको परिवारले २०२३ को नोभेम्बरतिर गाजामा खिचिएको एउटा फुटेज सार्वजनिक गरेको थियो । त्यसमा उनी चोट नलागेको अवस्थामा देखिएका थिए । परिवारले विज्ञप्तिमा भनेको छ, “यो फुटेजले उनी जीवित छन् भन्ने हाम्रो अटल विश्वासलाई पुष्टि गर्छ ।”

७. एतान हर्न (३८ वर्ष)
एतान हर्न किबुज निर ओजबाट दाइ इआइर हर्नसँगै अपहरणमा परेका थिए । इआइर फेब्रुअरीमा रिहा भए । संसदीय समितिमा बयान दिँदा उनले बन्धकलाई रिहा र युद्ध अन्त्य गर्ने सम्झौताका निम्ति आग्रह गरेका थिए । उनले सुरुङमा मिसाइल खस्दा भाइलाई तानेर बचाउने प्रयास गरेको बताएका थिए ।

८. एतान मोर (२५ वर्ष)
एतान मोर नोभा महोत्सवमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । आक्रमणका बेला उनी घाइतेलाई बाहिर निकाल्न सहयोग गरिरहेका थिए । उनले अपहरण भएमा आफू आतंकवादको अभियोगमा दोषी ठहरिएका प्यालेस्टाइनीसँग आदानप्रदान हुन नचाहने बताएका थिए ।

९. एल्काना बोहबोट (३६ वर्ष)
नोभा महोत्सवमा उत्पादन क्षेत्रमा काम गर्ने एल्काना बोहबोट भाग्नुको सट्टा अरूलाई मद्दत गर्न बसेका थिए । त्यहीक्रममा अपहरणमा परे ।

१०. एभ्याटर डेभिड (२४ वर्ष)
एभ्याटर डेभिड साथी गाय गिल्बोआ–दलालसँग नोभा महोत्सवबाट अपहरणमा परेका थिए । डेभिडका दाइ इलाईले उनलाई ‘लाज मान्ने तर जीवनले भरिएको व्यक्ति’ भन्दै उनको संगीतप्रेमको चर्चा गरेका छन् ।

इलाई डेभिडले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा दिएको भाषणमा हमासले जारी गरेको भाइको भिडियोमा उनले शरीरको लगभग आधा वजन गुमाएको बताएका थिए ।

११. निम्रोड कोहेन (१९ वर्ष)
निम्रोड कोहेन अनिवार्य सैन्य सेवामा रहेका सिपाही थिए । २०२३ को अक्टोबर ७ मा उनी गाजा सीमानजिकै ट्यांक चालक दलसँग गार्ड डियुटीमा थिए । ट्यांक बिग्रिएपछि उनलाई जीवितै गाजा लगिएको थियो, जबकि चालक दलका अरू सदस्य मारिएका थिए ।

१२. गाली बेर्मन र जिभ बेर्मन (२८ वर्ष)
यी जुम्ल्याहा दाजुभाइलाई साथी एमिली दामारीसँगै कफर अजाबाट अपहरण गरिएको थियो । जनवरीमा रिहा भएकी दामारीका अनुसार, बन्धक जीवनको पहिलो दिनमै उनीहरूलाई अलग गरिएको थियो ।

१३. गाय गिल्बोआ–दलाल (२४ वर्ष)
उनी नोभा महोत्सवबाट अपहरणमा परेका थिए । हमासले जारी गरेका कम्तीमा दुई भिडियोमा उनी देखिएका छन् । यस्ता भिडियो दबाबमा बनाइने र यसलाई युद्ध अपराध मानिने मानवअधिकार समूहको भनाइ छ ।

१४. म्याक्सिम हेर्किन (३७ वर्ष)
युक्रेनबाट इजरायल बसाइँ सरेका म्याक्सिम हेर्किन नोभा महोत्सवबाट अपहरणमा परेका थिए । अपहरणको समयमा उनकी ती वर्षीया छोरी थिइन् । उनी परिवारका मुख्य आयस्रोत थिए ।

१५. मातान एङ्ग्रेस्ट (२२ वर्ष)
इजरायली सेनाका सिपाही मातान एङ्ग्रेस्ट गाजा सीमानजिकको भिडन्तका क्रममा ट्यांकबाट अपहरणमा परेका थिए ।

१६. मातान जाङ्गाउकर (२५ वर्ष)
उनी प्रेमिका इलाना ग्रिट्जेस्कीसँग निर ओजबाट अपहरणमा परेका थिए । उनकी प्रेमिका २०२३ को नोभेम्बरमा युद्धविरामका बेला रिहा भइन् । जाङ्गाउकरकी आमा आइनाभ छोराको अपहरणपछि सरकारको कट्टर आलोचक बनेकी छन् ।

१७. ओम्री मिरान (४८ वर्ष)
किबुज नाहल ओजबाट हमास लडाकुले ओम्री मिरानलाई अपहरण गरेका थिए, जबकि उनकी पत्नी र दुई साना सन्तानलाई छाडिएको थियो । उनकी पत्नीले बीबीसीसित भनेकी छन्, “कहिलेकाहीँ श्रीमान्को नजिक महसुस गर्न म गाजाबाट आधा माइल टाढा रहेको हाम्रो ध्वस्त किबुजमा फर्कन्छु ।”

१८. रोम ब्रास्लाभ्स्की (२१ वर्ष)
उनी नोभा महोत्सवमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । उनी अन्तिमपटक हमासले जारी गरेको भिडियोमा देखिएका थिए । त्यहाँ उनी कमजोर र रोगी देखिन्थे ।

१९. सेगेभ काल्फोन (२७ वर्ष)
आक्रमणका बेला नोभा महोत्सवबाट भाग्ने क्रममा उनलाई बन्धक बनाइएको थियो ।

२०. तामिर निम्रोदी (२० वर्ष)
इजरायली सैनिक तामिर निम्रोदी २०२३ को अक्टोबर ७ मा आक्रमणका क्रममा गाजानजिकको सैन्य अखडाबाट अपहरणमा परेका थिए । यही वर्षको सुरुमा अधिकारीहरूले उनको मृत्यु भएको आशंका गरेका थिए । तर, बन्धक तथा बेपत्ता परिवार मञ्चका अनुसार, उनी जीवित छन् वा छैनन् भन्नेबारे कुनै निश्चित प्रमाण छैन ।

२१. योसेफ–हाइम ओहाना (२५ वर्ष)
नोभा महोत्सवमा घाइतेलाई बचाउने क्रममा हमासले उनलाई नियन्त्रणमा लिएको थियो । अपहरणअघि उनी तेल अभिभमा बारटेन्डरका रूपमा कार्यरत थिए । न्युयोर्क टाइम्सबाट ।

उच्च मूल्यबाट ४ हजार २ सय घट्यो सुन

काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ शुक्रबार घटेको छ ।

अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ हजार २ सय रुपैयाँ मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अघिल्लो दिन प्रतिऔंस ४ हजार ४० डलरसम्म पुगेकोमा आज ४ हजार मुनि झरेको छ ।

चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ८५ रुपैयाँ पुगेको छ ।

राष्ट्रपतिले प्रधानमन्त्री र दलहरूसँग आज निर्वाचनबारे छलफल गर्दै

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको विषयमा छलफल गर्नका लागि आज (शुक्रबार) अपराह्न ४ बजे प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएका छन्।

राष्ट्रपति पौडेलले शीतलनिवासमै गर्न लागेको यो छलफललाई वर्तमान सरकारको संवैधानिक वैधता र आगामी निर्वाचनको मिति बारे प्रमुख राजनीतिक दलहरूबीच देखिएको मतभेदलाई कम गर्ने प्रयासका रूपमा लिइएको छ।

बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए।

 

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा त्रिभुवन विश्वविद्यालयका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जलेको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार स्नातक तहको दोस्रो वर्षको आंशिक र मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो ।

‘तीन वटा सेन्टरको जलेको छ,’ परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीले भने, ‘उत्तरपुस्तका जलेका कारण पुन परीक्षाको सूचना निकाल्दै छौं ।’

उत्तरपुस्तिकाहरू प्रहरी चौकीमा राखिएको थियो । चौकी जलेसँगै उक्त पुस्तिकाहरू पनि जलेको हो ।

जेनजी सहिद परिवारले क्याबिनेटमा खोजे भाग

काठमाडौँ- जेनजी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन्।

बिहिबार काठमाडौँमा जेनजी आन्दोलन सहिद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी सहिदको रगतबाट बनेको सरकारले आफूहरुलाई नै वेवास्ता गरेकाले खबरदारीका लागि भए पनि आफूहरुको उपस्थिति क्याविनेटमा जरुरी भएको बताएका हुन्।

सहिद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाईले प्रधानमन्त्री सुशीला कार्कीदेखि विभिन्न जेनजी समूह कसैले पनि आफूहरुलाई वास्ता नगरेको गुनासो गरे। चौलागाईले विभिन्न मन्त्रालयहरूमा पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारबाट माग सम्बोधन नहुँदा आफूहरू पीडित र सहिद परिवारले गहिरो पीडा भोग्नुपरेको गुनासो गरे।

जेनजी सहिद परिवार संघर्ष समितिले सरकारसमक्ष श्रम तथा रोजगार मन्त्रालयका लागि सहिद विजय चौधरीको दाजु दिपक चौधरी, खानेपानी मन्त्रालयमा सहिद इस्वत अधिकारीको आफन्त भोजविक्रम थापा र युवा तथा खेलकुद मन्त्रालयका लागि सहिद योगेन्द्र न्यौपानेको मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ। समितिले सो माग ७ दिनभित्र सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

बालेनको समर्थन रास्वपालाई, रविको ठाउँमा कुलमान राख्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकारी नेतृत्वमा कुलमान घिसिङलाई राखेर अघि बढ्ने तयारी भएको छ । सभापति रहेका रवि लामिछानेको ठाउँमा सर्वमान्य व्यक्ति राखि नेतृत्व परिवर्तन गरे आफ्नो समर्थन रहने काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को सहमतिपछि छलफल तीव्र भएको पार्टीका एक नेताले जानकारी दिए ।

उनका अनुसार हाल रवि, बालेन र घिसिङसँग चरणबद्ध छलफल भएको छ । बालेनसँगको छलफलमा पार्टीको नाम र चुनाव चिह्न (रास्वपा र घण्टी) पुरानै रहने सहमति जुटिसकेको छ । त्यस्तै सभापतिबारे भने सबैलाई मान्य हुने पात्रको खोजी गर्दा घिसिङ उपयुक्त हुने ठहर भएरै उनीसँग समेत बुधबार लामो छलफल भएको स्रोतको दाबी छ ।

उक्त स्रोतका अनुसार घिसिङले रवि र बालेनको समर्थन पाएर दर्ता गर्ने तयारीमा रहेको नयाँ पार्टीको प्रक्रिया रोकेका छन् । उनले अब रास्वपाको नेतृत्वमा रहने अन्तिम टुंगो लागेसँगै हाल रहेको मन्त्री पदबाट राजीनामा दिने तयारी छ ।

२३ र २४ भदौको जेन–जी आन्दोलनपछि नख्खु जेलबाट निकालिएका लामिछानेकै कारण रास्वपाभित्र तीव्र मतभेद थियो । आन्दोलनपछि उत्पन्न विशेष परिस्थितिमा बालेनले नयाँ राजनीतिक दल खोलेर जेन–जी आन्दोलनको आधिकारिकता ग्रहण गर्न चाैतर्फी दबाबसमेत बढेको थियो ।

यहीबीचमा बालेनले समेत नयाँ राजनीतिक शक्ति निर्माण गर्ने चर्चा चलिरहेको थियो । तर, बालेनले परम्परागत राजनीतिक शक्तिहरूसँग जुध्न वैकल्पिक शक्तिहरूको एकतालाई जोड दिने भन्दै नयाँ दल खोल्नुभन्दा रास्वपालाई समथर्न गरेर अघि बढ्ने रणनीतिमा देखिएका छन् ।

‘बालेनलाई कुनै पद चाहिएको छैन । न उहाँ कुनै पदाधिकारीमा बस्नुहुन्छ न प्रधानमन्त्री र अध्यक्ष/सभापति नै बन्नुहुनेछ,’ स्रोतले भन्यो, ‘उहाँको चाहना नै जनअपेक्षा अनुरुप वैकल्पिक शक्ति एकजुट भएर असल शासन स्थापना होस् र मुलुकको विकास होस् भन्ने नै रहेको देखिन्छ ।’

यसबारे रास्वपाले एक केन्द्रीय सदस्यको नेतृत्वमा संवाद समिति बनाएको थियो । आन्दोलनपछि उत्पन्न परिस्थिति, नख्खु प्रकरण र दलभित्रकै केही नेताहरूको समेत असन्तुष्टिले रास्वपालाई क्षति भइरहेको अवस्थामा थप क्षति हुन नदिन परिस्थिति अनुकूल निर्णय गरेर जान नेताहरू सहमत भएका थिए । रवि र बालेनसँग नजिक रहेर यो भूमिका खेलिरहेका एक नेताले रविलाई समेत भेटेर उनको समर्थन लिएपछि छलफलले अन्तिम रूप लिने तयारीमा रहेको स्रोतको भनाइ छ ।

ती नेताका अनुसार रविलाई कन्भिन्स गर्न केही समय लागेको थियो । तर, रविलाई कार्यकारी भूमिकामा तत्काल नराखे पनि रास्वपाको इतिहाससँग जोडिएको व्यक्ति रवि नै भएको हुँदा उनलाई संरक्षक, सल्लाहकार वा के राख्न उपयुक्त हुन्छ सो बारेमा समेत छलफल भइरहेको स्रोतको भनाइ छ ।

लगातार २ दिन उच्च अङ्कले घटेकाे शेयर बजार आज बढ्याे

काठमाण्डाै : लगातार २ दिन उच्च अङ्कले घटेकाे शेयर बजार आज बढेकाे छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ५९ अङ्कले बढेर २ हजार ५ सय ८२ दशमलव १८ विन्दुमा पुगेकाे छ । शेयर बजार हिजाे र अस्ति गरी २ दिनमा १ सय ३ अङ्कले घटेकाे थियाे ।

आज नेप्से बजार खुलेकाे ३ मिनेटमै १ सय २ अङ्क अर्थात् ४ प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक लागेपछि २० मिनेटका लागि काराेबार राेकिएकाे थियाे । हिजो राष्ट्र बैंकले शेयर धितो कर्जामा २५ करोड रुपैयाँको सीमा खारेज गर्ने निर्णय गरेसँगै आज बजार खुल्नेबित्तिकै लगानीकर्ताहरूमा उत्साह देखिएकाे थियाे । तर सर्किट ब्रेकपछि बजार खुल्दा नेप्सेकाे वृद्धि २२ अङ्कमा खुम्चिन पुग्याे ।

आज व्यापार बाहेक सबै समूहकाे शेयर बढेकाे छ । आज २ सय वटा कम्पनीकाे शेयर बढेकाे छ भने ४१ वटाकाे घटेकाे छ । यस्तै १० वटा कम्पनीकाे शेयर घटबढ भएन ।

आज विन्ध्यवासिनी हाइड्राेपावर डेभलपमेन्ट कम्पनीकाे शेयर सबैभन्दा धेरै ८ दशमलव २१ प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेकाे दिन थ्री स्टार हाइड्राेपावर कम्पनीकाे शेयर भने ९ प्रतिशतले घटेकाे छ ।

आज नेप्से बढे पनि काराेबार रकम भने घटेकाे छ । हिजाे ५ अर्ब ७६ करोडकाे काराेबार भएकाेमा आज ३ सय १३ वटा कम्पनीका १ कराेड १८ लाख कित्ता शेयर ५ अर्ब २७ कराेड रुपैयाँमा किनबेच भएकाे छ ।

 

भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृत्युमा औषधि कम्पनीका मालिक पक्राउ

काठमाडौँ– भारतीय प्रहरीले २१ बालबालिकाको मृत्युमा संलग्न औषधि कम्पनीका मालिकलाई पक्राउ गरेको छ।

अधिकारीहरूका अनुसार चेन्नाईस्थित आफ्नै घरमा पक्राउ परेका ७५ वर्षीय जी रंगनाथनलाई गैरकानूनी हत्या र लागुऔषधमा मिलावट गरेको आरोप लगाइएको छ।

मध्य प्रदेश राज्यमा गत महिना कम उमेरका बालबालिकाहरूको घातक विषाक्त पदार्थले दूषित खोकी सिरप सेवनपछि मृत्यु भएको थियो। सो सिरप दक्षिणी भारतको तमिलनाडु राज्यस्थित स्रेसन फार्मा युनिटमा ‘कोल्ड्रिफ’ ब्रान्ड नामले उत्पादन गरिएको थियो।

भारतीय स्वास्थ्य मन्त्रालयको परीक्षणले सिरपमा डाइथाइलिन ग्लाइकोल (डीईजी) भएको पुष्टि गरेको छ, जुन औद्योगिक सम्मिश्रण हो र थोरै मात्रामा सेवन गरे पनि घातक हुन सक्छ।

यस प्रकरणपछि मध्य प्रदेश र अन्य राज्यहरूले उक्त सिरपमा प्रतिबन्ध लगाएका छन्। विश्व स्वास्थ्य संगठनले पनि भारतीय अधिकारीहरूलाई सो सिरप अन्य देशमा निर्यात गरिएको छ कि छैन भनेर स्पष्टीकरण मागेको छ।

यो घटना भारतमामात्रै सीमित छैन । सन् २०२२ मा भारतबाट आयात गरिएको दूषित सिरप खाएपछि गाम्बियामा ७० भन्दा बढी बालबालिकाको मृत्यु भएको थियो। उज्बेकिस्तानमा पनि २०२२–२०२३ बीचमा भारतमा उत्पादित दूषित सिरप सेवन गर्दा ६८ बालबालिकाको मृत्यु भएको थियो।

घटनाले भारतको औषधि उद्योगको प्रतिष्ठामा गम्भीर धक्का पुगेको छ र विश्वभरका स्वास्थ्य अधिकारीहरूलाई सतर्क बनाएको छ।

गृहमन्त्री अर्यालसँग ५ देशका राजदूतको भेट

काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदूतहरुले भेट गरेका छन्। बिहीबार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्वीट्जरल्याण्डका राजदूतहरुले शिष्टाचार भेटवार्ता गरेका हुन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपालको हित र समृद्धिबारे छलफल भएको बताइएको छ।

नेपालको पछिल्लो अवस्था, समसामयिक विषय र नेपाललाई गर्ने सहयोगका बारेमा छलफल भएको बताइएको छ।

मंसिरभित्र महाधिवेशन गर्न चितवनका कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको माग

काठमाडौं । चितवनमा रहेका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूको भेलाले आगामी मंसिर मसान्तभित्रमा नियमित महाधिवेशन सम्पन्न गर्न नेतृत्वलाई दबाब दिने दिने निर्णय गरेको छ।

भेलाले मंसिरभित्र नियमित महाधिवेशन गर्न नसक्ने अवस्था भए सोही मितिमै विशेष महाधिवेशन गर्न दबाब दिने निर्णय सर्वसम्मत रूपमै गरेको निवर्तनमान जिल्ला सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए। उनकाअनुसार भेलामा ९० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी थिए।

केन्द्रीय सदस्य उमा रेग्मी, टेकप्रसाद गुरुङ, जिल्ला सभापति राजेश्वर खनाल, पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरेलगायत ६० जना महाधिवेश प्रतिनिधिहरु बैठकमा सहभागी थिए। संस्थापन पक्षमा रहेका प्रतिनिधिसमेत सहभागी रहेको भेलाले विशेष महाधिवेशन गर्न पार्टीलाई दबाब दिएको हो।

‘केही प्रतिनिधि विदेश भएकाले उपस्थित हुन सक्नुभएन, केही स्वास्थ्यलगायतका प्राविधिक समस्याले उपस्थित हुन सक्नुभएन। तर समग्ररूपमा चितवनले मंसिरभित्रमा महाधिवेशन गर्न दबाब दिने सर्वसम्मत निर्णय गरेको छ,’ श्रेष्ठले भने।

 

के विवाहपछि संगीत छोड्दै छिन् टेलर स्विफ्ट ?

एजेन्सी । टेलर स्विफ्टले विवाहपछि संगीत नगर्ने हल्लालाई अस्वीकार गरेकी छन्। अमेरिकी पप स्टार टेलर स्विफ्टले बीबीसी रेडियो–२का स्कट मिल्ससँगको अन्तर्वार्तामा यसबारे खुलासा गरेकी हुन्। अन्तर्वार्तामा मिल्सले सोधे, “तपाईंको नयाँ एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ के तिम्रो अन्तिम एल्बम हो?”

मिल्सले भनेका थिए, “मैले केही फ्यानहरूलाई यस्तो भनिरहेका देखेँ – ‘अब ऊ बिहे गर्नेछे, बच्चा जन्माउनेछे, त्यसैले यो अन्तिम एल्बम हो।’”

यसमा टेलरले भनेकी थिइन्, “यो निकै अपमानजनक कुरा हो।”

उनले थपिन्, “मान्छेहरूले विवाह त्यसका लागि गर्दैनन् कि आफ्नो काम छोड्न। मलाई थाहा छ, फ्यानहरू कहिलेकाहीँ डराउँछन्, तर म उसलाई (ट्राभिसलाई) माया गर्छु किनभने ऊ मेरो कामलाई माया गर्छ र ऊ म कला र संगीत बनाउँदा म कति सन्तुष्ट हुन्छु भन्ने कुरा बुझ्छ।”

‘लभ स्टोरी’ गीतकी गायक स्विफ्टले भनिन्, आफू र ट्राभिस दुवै आफ्ना कामप्रति अत्यन्तै जोशिला भएकाले उनीहरूबीच राम्रो सम्बन्ध रहेको छ।

“ट्राभिसको सबैभन्दा राम्रो कुरा के हो भने ऊ आफ्नो कामप्रति निकै उत्साही छ। म मेरो कामप्रति उत्साही छु, जसले हामीलाई जोड्छ। कहिल्यै पनि ऊ यस्तो होइन कि ‘तिमी अझै पनि संगीत बनाइरहेकीछौ भनेर म असन्तुष्ट छु’ भन्ने कुरा गर्छ,” उनले हाँस्दै भनिन्।

टेलरले सन् २०२५ को अगस्टमा इन्स्टाग्राममार्फत एक सुन्दर बगैंचामा भएको प्रस्तावको तस्बिर साझा गर्दै ट्राभिससँग आफ्नो सगाइको घोषणा गरेकी थिइन्।

टेलरले अक्टोबर ३ मा आफ्नो नयाँ एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ सार्वजनिक गरेकी थिइन्, जसमा ‘द फेट अफ ओफेलिया,’ ‘ओपलाइट,’ र ‘एल्डेस्ट डटर’ जस्ता गीतहरू समावेश छन्।

नेपाली क्रिकेट खेलाडीका नाममा हुलाक टिकट

काठमाडौं । हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको छ।

नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सद्स्य सचिव टंकलाल घिसिङले हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमा टाँचा लगाए ।

विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला यू-१९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा टाँचा लगाउनका साथै प्रदर्शनी गरिएको हो।

खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कुटनितिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेका नेपाली क्रिकेट खेलाडीहरुको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ ।

विभागले रु १० दरको पाँच लाख प्रति हुलाक टिकट प्रकाशन गरेको हो ।

‘सुशीला कार्कीको डरले केपी ओली भाग्छ गुडुडु ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का गरेको प्रचार गरेर सरकारले तमासा देखाएको प्रतिक्रिया दिएका छन् । नेकपा एमाले भक्तपुरले आज गुण्डुमा आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा ओलीले प्रश्न गरे, ‘सुशीला कार्कीदेखि डराएर केपी ओली भाग्छु गुडुडु रु’

उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूले नचिनेको समेत बताए । गृहमन्त्रीलाई उनले बाबु भन्दै धेरै नहौसिन चेतावनीसमेत दिए ।

 

अहिलेको सरकार संविधानअनुसार बनेको छैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको परिस्थिति असाधारण र असामान्य रहेको दाबी गरेका छन्। आज भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको सरकार संविधानअनुसार नबनेको धारणा राखेका हुन्।

 

‘अहिले देशको परिस्थिति असाधारण र असामान्य रहेको छ। अहिलेको सरकार संविधानअनुसार  बनेको छैन।’ उनले भने, ‘संसद भंग गर्ने पूर्वसर्त राखेर प्रधानमन्त्री बन्नुभयो। जेन्जीको त्रास देखाउनुभयो।’

अझै गायब छन् प्रहरीका ८ सय बढी हतियार

काठमाडौं। जेन–जी आन्दोलनको क्रममा लुटिएका मध्य नेपाल प्रहरीका ८ सय भन्दा बढी हतियार अझै गायब छन् । २३ र २४ भदौमा देशभर भएको जेन–जीको प्रदर्शनको क्रममा प्रहरीका साना ठूला गरी ११ सय भन्दा बढी हतियार लुटपाट भएको थियो ।

प्रहरी कार्यालय तोडफोड र आगजनी गर्दै हतियार लुटेर लगेको तस्बिर, भीडीओमा समेत देखिन्थ्यो । ती मध्ये तीन सय भन्दा बढी हतियार फिर्ता तथा सुरक्षा निकायले बरामद गरेका छन् ।

तर अझै ८ सय भन्दा बढी हतियार गायब रहेको प्रहरी प्रधान कार्यालय बताउँछन् ।

हतियार खोज्नका लागि समिति नै बनाएर अहिले काम भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

प्रहरीका हतियार अहिलेसम्म गायब हुँदा सुरक्षा चुनौती बढ्दो छ भने यता सुरक्षाकर्मी भने हतियारबिहिन हुनुपर्ने अवस्था छ ।

लुटिएका मध्ये केही हतियार नेपाली सेनाले बरामद गरेको थियो । केही हतियार तथा पेस्तोलसहित प्रहरीलेृ केही व्यक्तिलाई पक्राउ पनि गरेको थियो । तर अझै ठूलो संख्यामा हतियार गायब रहेको पाइएको छ ।

प्रदर्शनको क्रममा प्रहरीका हतियार नै बोकेर आन्दोलनकारी हिँडेका थिए । प्रहरीलाई आत्मसमर्पण गर्न लगाउनेदेखि बर्दी र हतियार फुकाल्न लगाउनेसम्मका काम भएका थिए ।

प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत एक गरी तीन प्रहरीले आन्दोलनमा ज्यान समेत गुएका थिए । केहीले भने भागेर र आत्मसर्पण गरेर ज्यान बचाएका थिए ।

माइतीघरमा पक्राउ पर्नेको संख्या १४ पुग्यो

काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।

प्रहरीले डा. निकोलस भुसाल, सञ्जिव दाहालसहित १४ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

जेन-जीका विभिन्न समूहहरू माइतीघरमा प्रदर्शन गर्ने भन्दै पुगेका थिए ।

अहिले प्रहरीले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।

नेपाल र भियतनामले एएफसी एसियन कप छनोटको खेल खेल्दै

काठमाडौं : एएफसी एसिया कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज भियतनामसँग खेल्नेछ। नेपाली टोलीले भियतनामको होची मिन्हको गो डाउ स्टेडियममा साँझ ६ः१५ मा खेल्नेछ।

नेपाली टिमले आज अवे म्याचको रुपमा भियतनामसँग खेल्नेछ। पछिल्लो पटक लाओससँगको हार बिर्सन नेपाली टिमले बलियो भियतनामविरुद्ध जित निकाल्ने महत्वकांक्षी लक्ष्य राखेको छ। नेपाली टिमका प्रशिक्षक म्याट रसले नेपाली टिम ३ अंकको लागि खेल्ने बताए।

खेलअघि, बुधबार भएको प्रि म्याच प्रेस कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक म्याट रस भन्छन्,‘हामी यहाँ हुन पाउँदा निकै उत्साहित छौँ । हामी तीन अंकका लागि खेल्नेछौँ , यदि त्यो सम्भव भएन भने कम्तीमा पनि एक अंकका लागि प्रयास गर्नेछौँ । लाओसविरुद्धको प्रदर्शन निकै निराशाजनक थियो । हामी त्यसलाई सुधार्ने प्रयासमा छौँ ।’

फिफा वरियतामा नेपाल १७६ औँ स्थानमा रहेको छ भने भियतनाम ११४ औँ स्थानमा रहेको छ। बलियो भियतनामविरुद्ध एसिया कप छनोटको खेल खेल्नु खेलाडीको लागि राम्रो अवसर रहेको प्रशिक्षक रसले बताए।

उनले भने,‘यी प्रतियोगिताहरू खेलाडीहरूले सपना देख्ने प्लेटफर्म हुन्। यसले टोलीलाई सुधार गर्न निकै राम्रो अवसर हो। हामी टोलीको सम्भावना र मानसिकताबारे कुरा गर्छौं र आगामी दुई खेल टोलीले आफूलाई प्रमाणित गर्ने उत्कृष्ट मौका हो। यदि हामीले ती दुई खेलमा राम्रो नतिजा ल्याउन सक्यौँ भने, हामीसँग योग्यता हासिल गर्ने सबै मौका छ ।’

प्रशिक्षक रससँगै कप्तान किरण चेम्जोङ पनि यो खेलको लागि निकै उत्साहित रहेको बताए। उनले भने,‘म भियतनाम टिमको सामना गर्न उत्साहित छु । सम्पूर्ण टोलीले यो अवसरका लागि तयारी गर्दै आएको छ। हामी सकारात्मक नतिजा घर लैजान प्रयास गर्नेछौँ।’

नेपाली कप्तान चेम्जोङ भन्छन्,‘मलाई थाहा छ, भियतनामको अट्याक धेरै उत्कृष्ट छ, तर हामी खेलमा सबैभन्दा राम्रो प्रदर्शन गर्न आफ्नो सबै प्रयास गर्नेछौँ।’

नेपालले ४४ वर्षको एसिया कप छनोटको यात्रामा हालसम्म २ खेल मात्र जित निकाल्न सकेको छ। सन् २००३ मा नेपालले अफगानिस्तानलाई हराएको थियो। त्यसयता २२ वर्षसम्म नेपालले एसिया कप छनोटको खेलमा जित निकाल्न सकेको छैन। नेपालले होम म्याच पनि अक्टोबर १४ मा भियतनाममा नै खेल्नेछ।

नेपाली टोलीः
किरण चेम्जोङ(कप्तान), अञ्जन विष्ट, अनन्त तामाङ, सनिस श्रेष्ठ, आयुष घलान, जिलेस्पी जंग कार्की, लकेन लिम्बु, कुशल देउवा, सुवास ठकुरी बम, विमल पाण्डे, विशाल सुनार(गोलकिपर), दिप कार्की(गोलकिपर), एरिक विष्ट, दिनेश हेन्जन, अभिषेक लिम्बु, कृतिश रत्न छुन्जु, मणी कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ

केपी ओलीलाई छोए देशभर आगो बाल्ने महेश बस्नेत चेतावनी

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई छोए देशभरि आगो बल्ने चेतावनी दिएका छन् ।

बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा उनले अन्तरिम सरकारलाई ओलीलाई पक्राउ गर्न चुनौती दिए । ‘केपी ओलीलाई छोए देशभरि आगो बल्नेछ’ उनले चेतावनी दिँदै भने, ‘नेकपा एमालेका अध्यक्ष केपी ओली र म, महेश बस्नेत, छाती फर्काएर कहिल्यै हिँड्दैनौं । हिजो राणा, पञ्च र शाही शासनविरुद्ध माओवादीलाई युथफोर्स बनाएर लडेको यही टोली हो।’

बस्नेतले विदेशीको आडमा जेनजी आन्दोलनका क्रममा १९ जना कलिलबा भाइबहिनीको हत्या भएको र त्यसको मुख्य दोषी बालेन र सुधन गुरुङ रहेको आरोप लगाए । ‘विदेशीको खेताला भएर स्नाइपर ल्याएर कलिला भाइबहिनीको हत्या गरिएको छ त्यसको मुख्य पात्र विदेशी दलाल बालेन हो, सुधन गुरुङ हो छानबिन त्यहाँबाट सुरु हुनुपर्छ,’ बस्नेतले भने।

बस्नेतले भ्रष्टाचारविरुद्धको अनुसन्धानमा एमाले सहयोग गर्न तयार रहेको पनि बताए । उनले भने, ‘हामी पूर्ण सहयोग गर्न तयार छौं, हाम्रा विषयमा पनि छानबिन गर्नुस् । तर छानबिन नेपालको पहिलो नम्बर भ्रष्टाचारी कुलमान घिसिङबाट सुरु गर्नुस् ।’

त्यस्तै, उनले अर्थमन्त्री रामेश्वर खनालको सम्पत्तिको स्रोतबारे प्रश्न उठाउँदै काठमाडौं महानगर प्रमुख बालेन शाह र हामी नेपालका संयोजक सुदन गुरुङमाथि पनि अनुसन्धान गर्न माग गरे ।

बस्नेतले असोज २५ गते युवा संघ नेपालले देशव्यापी मोटरसाइकल र्यालीमार्फत आफ्नो शक्ति प्रदर्शन गर्ने चेतावनी पनि दिए ।

माइतीघरबाट प्रहरीले नियन्त्रणमा लियो निकोलस भुसालसहित ३ जनालाई

काठमाडौं । निकोलस भुसालसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार बिहान काठमाडौंको माइतीघरबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले परिसरमा राखिएको छ।

जेनजी पुस्ताका अगुवाहरूले बिहीबार गर्ने भनिएको प्रदर्शनलाई धमाधम फिर्ता लिएका थिए। प्रदर्शन फिर्ता लिए पनि भुसाल प्रदर्शनमा उत्रिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उनले जेनजी आन्दोलनले आफ्ना मागहरू पूरा नगरेको बताउँदै आएका छन्।

दोलखामा अलपत्र परेका ४ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं । दोलाखाको बिगु गाउँपालिका-१ स्थित लप्ची गुम्बामा ध्यान गरेर फर्कने क्रममा बीच बाटोमा फसेका चार जना विदेशी पर्यटकको उद्धार गरिएको छ ।

रसियाका २ जना र स्वीजरल्याण्डका २ जना गरी ४ जना पर्यटक बाटो अवरुद्ध भएपछि सोही गाउँपालिकाको इलुकमा रहेको नासा हाईड्रोपावरमा बसेका थिए ।
उनीहरु असोज २१ गते गुम्बाबाट काठमाडौ र्फकने क्रममा दोलखाको लामाबगरस्थित लप्ची सडकको कच्ची बाटोमा सुख्खा पहिरो गएपछि अलपत्र परेका हुन् ।

उनीहरुलाई आज (बिहीबार) बिहान करिब १० बजे सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) लामाबगरबाट खटिएको सुरक्षा फौंज र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी काठमाडौंतर्फ पठाएको हो ।

काठमाडौंमा उच्च सुरक्षा सतर्कता, सात हजार प्रहरी परिचालन

काठमाडौं । काठमाडौं प्रहरीले बिहीबार बिहानैदेखि उच्च सतर्कता अपनाएको छ । जेनजी समूहका विभिन्न टिमले प्रदर्शन गर्ने तथा नेकपा (एमाले)ले समेत भक्तपुरमा बिहीबार नै कार्यक्रम गर्ने तालिका राखेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

काठमाडौं प्रहरीले सम्भावित घटना रोक्न सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । माइतीघर मण्डलादेखि थापाथली र विभिन्न चोकमा प्रहरीको टोली परिचालन गरिएको छ ।

प्रहरी अधिकारीका अनुसार सात हजारको हाराहारीमा प्रहरीको टोली परिचालन गरिएको छ । प्रहरीबाहेक सशस्त्र प्रहरी बलको टोलीसमेत खटाइएको छ ।

विपिन जोशीको जीवनबारे केही जानकारी छैन : राजदूत पण्डित

काठमाडौं। इजरायल र हमासबीच युद्धविराम सहमति भएपछि नेपालका युवक विपिन जोशीको अवस्था सार्वजनिक हुने आशा पलाएको छ । तर उनको अवस्था कस्तो छ भनेर अहिलेसम्म स्पष्ट जानकारी आइसकेको छैन ।

नेपालका लागि इजरायलका राजदूत धनप्रसाद पण्डित इजरायलका अधिकारीहरुसँग आफू निरन्तर सम्पर्कमा रहेको र विपिनको अवस्था बुझ्ने कोसिस गरिरहेको बताउँछन् । तर अहिलेसम्म ठोस जानकारी केही नपाएको उनले बताए ।

बिहीबार बिहान राजदूत पण्डितले भने, ‘विपिनको बारे धेरैले सोधिरहनु भएको छ तर अहिलेसम्म उनको जीवनको बारेमा केही जानकारी छैन ।’

परराष्ट्र मन्त्रालयका कर्मचारीहरु पनि विपिनको अवस्था पत्ता लगाउने कोसिस भइरहेको तर थाहा हुन नसकेको बताउँछन् । मन्त्रालयका एक कर्मचारी विपिनको ‘जुनसुकै अवस्था’को सूचना आउनसक्ने बताउँछन् ।

 

सुनको मूल्य निरन्तर अकासिँदो

काठमाडौँ  : अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन एक हजार २ सय रुपैयाँले महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल आज एक हजार २ सय बढेर दुई लाख ३९ हजार २ सय रुपैयाँ भएको छ ।

चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी दुई हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार २५ रुपैयाँमा क्रयविक्रय भइरहेको महासंघलेजनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

खोज्नुहोस