भूमिसम्बन्धी समस्या समाधानका लागि अन्तिम आयोग : मन्त्री अधिकारी

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि समस्या समाधानका लागि अन्तिम आयोग बनाइएकाले त्यसका लागि आवश्यक कानुन छिटो तर्जुमा गरिनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उनले राष्ट्रिय भूमि समस्या समाधानका लागि गठन गरिएको आयोगको तीन वर्षे कार्यकालमध्ये एक वर्ष सकिँदा पनि कानुन बनाउन नसकेर काम रोकिएको बताए ।

मन्त्री अधिकारीले छिटो कानुन बनाएर तीन वर्षभित्रमा भूमिसम्बन्धी सबै खालका समस्या समाधान गर्न लागिएकाले सोहीअनुसार सहयोगको अपेक्षा रहेको बताए ।

‘सरकारको नाममा लालपूर्जा भएको जग्गामात्र आयोगले भूमिहीनका लागि दिन्छ, राष्ट्रिय निकुञ्जभित्रबाट निकालेर बाहिर ल्याइएका तर हालसम्म जग्गा नपाएकालाई पनि जग्गा दिन सकिने व्यवस्था विधेयकमा गरिएको छ’, मन्त्री अधिकारीले भने, ‘भूमिहीनसँग सम्बन्धित समस्या समाधान गर्ने प्रयोजनका लागि हुने काममा ७० प्रतिशत जति काम स्थानीय तहलाई नै दिइएको छ । पालिकाले सुरु नगरी आयोगले केही पनि गर्न सक्दैन ।’

विगतमा नापजाँच गर्ने क्रममा सबै जग्गा ननापिएकाले पनि हाल भूमिसम्बन्धी धेरै समस्या रहेको सुनाउँदै उनले ती सबै समस्या समाधानका लागि विधेयक छिटो पारित गरेर अघि बढ्नुपर्ने विचार व्यक्त गरे ।

‘मुस्ताङामा ५०० रोपनी जग्गामात्र नापिएको थियो, अरु जग्गा नाप्नु पर्दैन भनेर त्यसबेला प्रधानपञ्चले भने रे । जसले गर्दा हाल स्याउ रोप्नेलगायत काममा त्यहाँ समस्या भएको छ’, मन्त्री अधिकारीले भने ।

कञ्चनपुरमा वृक्षरोपणमा चासो : संरक्षणमा उदासिनता

कञ्चनपुर– जिल्लामा हरेक वर्ष लाखौँ बिरुवा वन क्षेत्र, निजी जग्गा र बाँझो जग्गामा रोपिन्छन् । तर वन क्षेत्रको सघनता र विस्तारमा उल्लेख्य वृद्धि भने हुनसकेको छैन । डिभिजन वन कार्यालयका अनुसार गएको असारमा मात्र चार लाख ५० हजार बिरुवा उत्पादन गरी वितरण गरिएको छ ।

त्यसभन्दा अघिल्ला वर्षहरूमा पनि नर्सरीमा बिरुवा उत्पादन गरी वितरण गर्ने कार्य गरिएको थियो । प्रत्येक वर्ष लाखौँ रूपैयाँ खर्च गरी बिरुवा उत्पादन गरी वितरण हुन्छन् तर संरक्षणको अभावमा बिरुवा हुर्कन नपाउँदै मर्ने गरेका छन् । वनजङ्गलमा डढेलो, खुला चरिचरन र मानवीय लापरवाहीका कारण बिरुवा हुर्कन नपाउँदै मर्ने गरेको वन संरक्षणकर्मीको भनाइ छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवास कुँवर वृक्षरोपणपछिको व्यवस्थापन पक्ष कमजोर भएकाले उद्देश्य पूरा हुन नसकेको बताउँछन्।

‘बिरुवा रोप्ने त हो, तर त्यसपछि कसैले हेर्दैन’, उनले भने, ‘न सिँचाइ, न जाली घेराबारा, न त निगरानी नै हुन्छ’, कुँवरका अनुसार नेपालमा अझै ‘छिटो प्रतिफल दिने बिरुवा’ रोप्ने प्रवृत्ति छ, जुन दीर्घकालीन वन विकास दृष्टिकोणबाट कमजोर मानिन्छ ।

‘तीन–पाँच महिनाका साना बिरुवा रोपिन्छन्, भारत र चीनले दुईतीन वर्ष उमेरका बिरुवा रोप्छन्, त्यसैले उनीहरूको सफलताको दर ९० प्रतिशत हुन्छ’, उनले भने। ‘वनलाई अतिक्रमण र हस्तक्षेपबाट जोगाउने हो भने वृक्षरोपण नगरे पनि प्राकृतिक रूपमै हुने पुनः उत्पादनले वन विकास हुन्छ’, उनले भने, ‘खाली चौर तथा बगरमा वृक्षरोपण गर्दा राम्रै हुन्छ ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्ले पनि वृक्षरोपणबारे प्राविधिक ज्ञानको अभाव देख्छन् । ‘बिरुवा रोप्दा माटोको प्रकृति, प्रजातिको अनुकूलता, सिजन आदि विचार गरिँदैन’, वाग्लेले भने, ‘यसबाहेक रोपेपछि संरक्षण, सिँचाइ र मलजल नगर्ने हो भने पनि वृक्षरोपण अभियानले सार्थकता पाउँदैन ।’

बिरुवा रोप्नेबारे प्राविधिक ज्ञान नहुँदा वृक्षरोपण अभियान आशातित रूपमा सफल हुन नसक्नुको मुख्य कारण भएको उनी बताउँछन्।

‘वृक्षरोपण गर्ने भनेर जथाभावी रूपमा बिरुवा रोपिन्छन्, बिरुवा रोप्ने तरिका थाहा हुँदैन’, उनले भने, ‘माटोको अवस्था विश्लेषण गरेर त्यसअनुसारका प्रजातिको बिरुवामात्र रोप्नुपर्छ ।’ बिरुवा रोपिसकेपछि संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ छ । ‘बिरुवालाई संरक्षणसँगै समयसमयमा सिँचाइ पनि गर्नुपर्छ”, उनले भने, ‘त्यसो गर्न सकिएमा मात्र वृक्षरोपणको कार्यले सफता पाउँछ ।’

सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशी वृक्षरोपणको कार्य प्रत्येक वर्ष हुँदै आए पनि विभिन्न कारण रोपेका सबै बिरुवा नबाँच्ने गरेको बताउँछन् ।

‘रोपेका सबै बिरुवा त बाँच्दैनन्’, उनले भने, ‘५०–६० प्रतिशत बिरुवा हुर्कियो भने पनि उपलब्धि नै हुन्छ ।’ सामुदायिक वन समन्वय समितिले निजी जग्गा र बजर क्षेत्रमा वृक्षरोपणलाई जोड दिइरहेको उनको भनाइ  छ ।

वृक्षरोपणसँगै वन क्षेत्रमा चरिचरन, आगलागी र अतिक्रमण रोक्न सकेमा बिरुवा पुनः उत्पादन प्रभावकारी हुने उनी बताँछन्। विजय सालका बिरुवा पुनः उत्पादनलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले यस कार्यमा सफल भएको बताए ।

समन्वय समितिसँग आबद्ध वनहरूमा विजयसालका पुनः उत्पादन भएका वनहरू देख्न सकिनेमा उनले जोड दिए । जोशीका अनुसार वृक्षरोपणसँगै अब बिरुवा पुनः उत्पादन ९नर्सरीबिना उम्रने बिरुवा० प्रविधिमा पनि जोड दिनुपर्ने आवश्यकता छ ।

‘स्थानीय जातका माउ रुख सुरक्षित गरौँ’, उनले भने, ‘त्यसबाट आफैँ उम्रिने बिरुवा संरक्षण गर्न सकियो भने वन आफैँ बढ्छ ।’

दीर्घकालीन रूपमा सोचेर बहुवर्षे प्रजातिका बिरुवा उत्पादन, रोपणपछि संरक्षण, निगरानी तथा समुदायमा जनचेतना फैलाउने अभियान सञ्चालन गरिएमा मात्र वृक्षरोपण सफल हुने उनी बताउँछन् ।

सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्ट वृक्षरोपण कार्यक्रम पूर्ण रूपमा असफल भने नभएको बताए । ‘असफल भने भएको होइन, सोचेजति सफल पनि हुनसकेको छैन’, उनले भने ।

‘विगतका वर्षहरूको तुलनामा वनमाथिको निर्भरता कम हुँदै गएको छ’, उनले भने, ‘स्थानीय बासिन्दाले निजी जग्गामा गर्ने वृक्षरोपणले दाउरा, घाँसपातका लागि वनमाथि नै पहिले निर्भर हुनुपर्दथ्यो, हाल वनमाथिको निर्भरता निकै घटेको पाइएको छ ।’

बिरुवा रोपेरमात्र नपुग्ने भएकाले हुर्काउन सकेनौँ भने लगानी खेर जाने उनले बताए। उनका अनुसार नर्सरीबाट बिरुवा ल्याउने तरिका, खाल्डोको गहिराइ, रोप्ने विधि, संरक्षण विधि, सिँचाइ, घेराबार, मलजल, रोगकीराबाट जोगाउने उपायबारे उपभोक्ता जानकार नहुँदा वृक्षरोपणले सफलता प्राप्त गर्न कठिन हुन्छ ।

“नर्सरीबाट वनसम्म ल्याइने बिरुवालाई बच्चाजस्तै स्याहारसुसार अनिवार्य हुन्छ’, निर्देशक विष्ट भन्छन्, ‘बर्सेनि लाखौँ बिरुवा रोपिन्छन्, तर संरक्षणमा कमजोरी हुँदा रूखमा परिणत नहुँदै सकिन्छन् ।’

सामुुदायिक वनका सरोकारवालालाई वृक्षरोपणको गुणस्तर र दीर्घकालीन प्रभावका विषयमा जागरुकता बढाउन आवश्यक रहेको उनी बताउँछन्। त्यसका लागि कञ्चनपुरका केही वनहरूमा आफैँ पुगेर वृक्षरोपणबारे प्राविधिक जानकारी दिने कार्य गरिएको उनको भनाइ छ ।

रास्वपाले आजदेखि खुला आँगन कार्यक्रम प्रारम्भ गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष जनसम्पर्क तथा पार्टी नेतृत्व र नागरिकबिच  खुला संवादको संस्कार विकास गर्ने उद्देश्यका साथ खुला आँगन कार्यक्रम प्रारम्भ गर्ने भएको छ ।

यस कार्यक्रममा पार्टी सदस्य, शुभेच्छुक, आम नागरिक सहभागी भई राष्ट्र निर्माणसँग सम्बन्धित विभिन्न विषयहरूमा छलफल, संवाद  हुने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

बुर्लाकोटीका अनुसार अपराह्न ४ देखि ६ बजेसम्म पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा कार्यक्रमको प्रारम्भ गर्दैछ।  खुला आँगन कार्यक्रममा पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूले पार्टीका सदस्य शुभचिन्तकहरूसँग भेटघाट गर्ने गरी तालिका तय गरिएको छ।

आजको कार्यक्रममा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल, पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटी, पार्टी सहमहामन्त्री विपिनकुमार आचार्य, पार्टी सहप्रवक्ता रमेश प्रसाई लगायतका नेताहरू सहभागी हुनेछन्। पार्टी सदस्य, शुभचिन्तक एवं आम नागरिकहरूलाई आफ्ना विचार, सुझाव र जिज्ञासासहित उपस्थित हुन आग्रह गरेको छ ।

बैतडीकि अनमी पुजारालाई स्वास्थ्यमन्त्री पौडेलको फोन

बैतडी । स्वास्थ्य केन्द्रमा निसासिएर जन्मिएको नवजात शिशुलाई मुखले कृत्रिम श्वास दिएर बचाउने अनमी जानकी पुजारालाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले फोन गरेर धन्यवाद दिएका छन् ।

बुधबार अपराह्न ५ बजेतिर स्वास्थ्यमन्त्री पौडेलले फोन गरेर धन्यवादसहित कामको उच्च मूल्याङ्कन गरिने आश्वासन दिएको अनमी पुजाराले बताइन्। उनले भनिन्, “बुधबार बेलुकी ५ बज्न थालेको थियो । म स्वास्थ्य केन्द्रमै थिएँ । मोबाइलको घण्टी बज्यो । फोन उठाउनेबित्तिकै जानकीजी ! नमस्कार, म स्वास्थ्यमन्त्री प्रदीप पौडेल बोलेको हुँ । तपाईंलाई धन्यवाद छ । हामी तपाईंको कामको उचित मूल्याङ्कन गर्छौं भन्नुभयो । एकछिन त म बोल्नै सकिनँ । उहाँसँग तीन मिनेट जति कुरा भयो । असाध्यै खुसी लागेको छ ।” अनमी पुजारासँग फोनमा कुरा गरेर स्वास्थ्यमन्त्री पौडेलले सामाजिक सञ्जाल फेसबुक पेजबाट समेत अनमी पुजाराको प्रशंसा गरेका छन् । उनले भनेका छन् “जानकीजी देशलाई तपाईं जस्तै स्वास्थ्यकर्मीको खाँचो छ ।

श्वासप्रश्वासमा जटिल समस्या देखिए पनि भौगोलिक कठिनाइका कारण अस्पताल लैजान नसकिएको शिशुको जीवन रक्षामा भगवानरूपी योगदान दिन सफल बैतडीको सिगास गाउँपालिका-४, को आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धारकी अनमी जानकी पुजारासँग फोनमा कुराकानी गरेर धन्यवाद दिएँ । मन्त्री पौडेलले अगाडि लेखेका छन्, “तमाम असहज र कठिनाइका बाबजुद हामीले स्थानीय तहदेखि प्रदेश र सङ्घका स्वास्थ्य संस्थाको सेवा सुधार तथा विस्तारमा यथाशक्य प्रयत्न गरिरहेका छौँ ।

यस्तोमा नागरिकको जीवन रक्षामा अनवरत खटिइरहने स्वास्थ्यकर्मीको महìवपूर्ण हात छ । सुख र सुविधा नभनी देशको स्वास्थ्य रक्षामा तल्लीन जानकी र अरू धेरै जानकीप्रति मेरो हृदयदेखि नै सम्मान छ । जानकीजी देशलाई साँच्चै तपाईं जस्तै स्वास्थ्यकर्मीको खाँचो छ र तपाईंहरूको योगदानको पक्कै मूल्याङ्कन हुने छ ।” सिगास गाउँपालिका-४, कन्धार आधारभूत स्वास्थ्य केन्द्रमा करार पदमा कार्यरत अनमी जानकी पुजाराले कृत्रिम श्वास दिएर निसासिएर जन्मिएको शिशुको ज्यान बचाउनुभएको हो ।

सिगास गाउँपालिका-४ की २० वर्षीय लक्ष्मी धामीले गत बिहीबार राति ९ बजेर ३३ मिनेटमा निसासिएको अवस्थामा शिशु जन्माएकि थिइन् । शिशुले श्वास फेर्न नसकेपछि राति ९:३० बजेदेखि बिहान ४ बजेसम्म कृत्रिम श्वास दिएर शिशुको ज्यान जोगाउन सफल भएको अनमी पुजाराले बताइन् । अनमी पुजारा विगत डेढ वर्षदेखि करार पदमा कन्धार आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत छिन् । स्वास्थ्य केन्द्रमा नवजात शिशुलाई कृत्रिम श्वास दिन कुनै साधन छैन । बिजुलीबत्ती पनि पुग्न सकेको छैन । गाउँपालिकाले एक महिनाअघि सोलार बत्ती दिएपछि त्यसकै उज्यालोको सहाराले प्रसूति सेवा दिइँदै आएको छ ।

स्वास्थ्य केन्द्रमा निसासिएर जन्मिएको नवजात शिशु र सुत्केरी महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्य केन्द्रबाट घर फर्किएकी सुत्केरी आमा लक्ष्मी धामीलाई नियमित चेकजाँच गर्न घरमै पुगेर सेवा दिइरहेको अनमी पुजाराले बताइन् ।

नेपाली तेक्वान्दो टोली थाइल्यान्ड जाने

काठमाडौं । आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली थाइल्यान्डको पटाया जाने भएको छ ।

त्यसका लागि टोली अगष्ट ८ तारिख थाइल्यान्ड प्रस्थान गर्ने छ । अगष्ट ९ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष २५–२८ केजीमा आर्यन अम्गाईं तथा ३५–३८ केजीमा आर्यन तामाङले प्रतिस्पर्धा गर्ने छन् ।

महिला २३ केजीमा आरुसी अम्गाईं, ४२–४४ केजीमा रोनशा थापा तथा पुम्सेमा योजना गौली र छ्लोइ डोल्मा तामाङले खेल्ने छन् । प्रशिक्षकमा गौरव रजक र दिनेश न्यौपाने छन् ।

टोलीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले परिवर्तन अभियान नेपालको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा विदाइ गरे ।

कैलाली बहुमुखी क्याम्पसको प्रमुखमा बिष्ट नियुक्त

धनगढी, १६ साउन ।

सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस कैलाली बहुमुखी क्याम्पसको प्रमुखमा सह प्राध्यापक डा. लोक बहादुर बिष्ट नियुक्त भएका छन् ।

विश्वविद्यालयले विहीवार बिष्टलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो। उमेर हदका कारण क्याम्पस प्रमुख तोयराज भट्टले अवकाश पाएपछि बिष्ट क्याम्पस प्रमुख नियुक्त भएका हुन् ।

अढाई दशकदेखि कैलाली बहुमुखी क्याम्पसमा कार्यरत बिष्ट २०७९ साल सहायक क्याम्पस प्रमुख नियुक्त भएका थिए ।

२०३७ सालमा स्थापना भएको कैलाली बहुमुखी क्याम्पसमा छ हजारभन्दा बढि विद्यार्थी अध्ययनरत छन् ।

सियरालियोनमा अस्ताए पाल्पाका भेषबहादुर

सियरालियोन, ३१ जुलाई ।
पाल्पा पुर्वखोला गाँउपालिकाका भेषबहादुर थापा घर्तीको बुधवार अफ्रिकाको सियरालियोनमा मृत्यु भएको छ ।

सियरालियोनमा किराना व्यवसाय सञ्चालन गर्दै आएका थापाको छताट खसेर मृत्यु भएको हो ।

सियरालियोनमा कार्यरत नेपाली गोपाल पाठकका अनुसार घरको छतबाट खसेर घाईते भएका थापालाई उपचारका लागि तत्काल अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो ।

खोज्नुहोस