एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत

काठमाण्डौ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

नेपालले दिएको  ११४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो । भुटानका लागि डेचेन वाङ्मोले ६० बलमा सर्वाधिक ३९ रन बनाइन् । चाडो ओमले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालको बलिङतर्फ रुबिना क्षेत्रीले ३ तथा रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर र मनिषा उपाध्यायले समान १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल २० ओभरमा ११३ रन बनाएर अलआउट भएको थियो । नेपालका लागि सीता राना मगरले २८ बलमा सर्वाधिक ३७ रन बनाइन्। रुबिना क्षेत्रीले २४ रन जोडिन् भने सोनी पाख्रिनले १३ र सम्झना कुमारीले १० रन बनाइन् ।  भुटानका लागि सोनाम र छेरिङ जाङ्मोले समान ३/३ विकेट लिए ।

पहिलो खेलमा हिजो कतारलाई ८ विकेटले हराएको नेपाल समूह ‘डी’ मा लगातार दोस्रो जित निकाल्न सफल भएको हो । नेपाल रहेको समूहमा कतार, भुटान र हङकङ छन् । नेपालले समूह चरणको अन्तिम खेल पर्सि हङकङसँग खेल्ने तालिका छ ।

महिला टी–२० एसिया कप छनोट प्रतियोगितासमेत रहेको एसीसी महिला प्रिमियर कपमा १८ टोली सहभागी छन् । प्रतियोगिताबाट उत्कृष्ट चार टोली महिला एसिया कपका लागि छनोट हुनेछन् ।

मदिरा पिएपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु

बाजुरा । बूढीनन्दा नगरपालिका–६ कोटिलाका टेकेन्द्र र नीर रावतबिच स्थानीय होटलमा मदिरा पिएपछि विवाद हुँदा नीरको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार मदिराले मातेका दुवैजनाबिच विवाद हुँदा टेकेन्द्रले प्रहार गरेको ढुङ्गाले लागेर नीरको घटनास्थलमै मृत्यु भएको हो ।

घटना आज बिहानको हो । यसबारे जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको उनले जानकारी दिए । -रासस

दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा संसद् प्रतिबद्ध छ : सभामुख

सभामुख डोलप्रसाद अर्यालले संविधानको धारा ४० मा व्यवस्था भएका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय संसद् प्रतिबद्ध रहेको बताएका छन्।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले जातीय विभेद तथा छुवाछूतको अन्त्य सरकार वा कुनै एक निकायको मात्र जिम्मेवारी नभई राज्य, राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र, शैक्षिक संस्था तथा सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताए।

सभामुख अर्यालले दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित नगरी नेपाली समाज साँचो अर्थमा न्यायपूर्ण र समतामूलक बन्न नसक्ने बताए। उनले दलित समुदायले भोग्दै आएका समस्या, पीडा र चुनौतीप्रति संसद् पूर्णरूपमा सचेत रहेको तथा समाधानका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे।

सभामुख अर्यालले सामाजिक चेतना, कानुनी कार्यान्वयन र आर्थिक सशक्तीकरणलाई सँगसँगै अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै दलित समुदाय आर्थिक रूपमा सशक्त नभएसम्म सामाजिक चेतनामात्रले पूर्ण परिवर्तन ल्याउन कठिन हुने बताए।

उनले संविधान, कानुन र नीतिगत व्यवस्थामार्फत जातीय विभेदविरुद्ध उल्लेखनीय प्रगति भए पनि व्यवहारमा अझै विभिन्न स्वरूपमा विभेदका घटना भइरहेकाले संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थल तथा रोजगारीका क्षेत्रमा छुवाछूतका घटना अझै विद्यमान रहेको उनको भनाइ थियो।

सभामुख अर्यालले संविधानको धारा ४० को प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्थालाई थप सुदृढ बनाउन सङ्घीय संसद निरन्तर सक्रिय रहने बताए।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले नेपाल मानव अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय महासन्धि तथा प्रतिबद्धताहरूको पक्षराष्ट्र भएकाले दलित समुदायको अधिकार संरक्षणका लागि आफू क्रियाशील रहेको बताइन्। त्यस अवसरमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

तत्काल नेतृत्व नछाड्ने ओलीकाे घाेषणा

काठमाण्डौ – नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्दै अगाडि बढ्ने बताएका छन्।

आजदेखि शुरू भएको पार्टीको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुई दिने कार्यशालामा उनले आफ्नो स्वास्थ्यमा पूर्ण सुधार आएको जानकारी दिँदै पार्टीलाई सफलताको मार्गमा डोहोर्‍याएर मात्र विधिसम्मत ढङ्गले विश्राम लिने उल्लेख गरे ।

अध्यक्ष ओलीले पार्टीभित्र अनुकूल परिस्थितिमा उत्साहित हुने र प्रतिकूल समयमा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको आलोचना गरे । विगत केही समयदेखि स्वास्थ्यका कारण कार्यकर्ता र नागरिकको बीचमा सघन रूपमा पुग्न नसकेको स्वीकार गर्दै उनले अब आफू पूर्ण स्वस्थ भएको र सक्रिय रूपमा सार्वजनिक गतिविधिमा फर्कने बताए ।

आफ्नो नेतृत्वको विषयमा चर्चा गर्दै ओलीले महाधिवेशनले आफूलाई प्रधानमन्त्री बन्नका लागि मात्र नभई सङ्घर्षको नेतृत्व गर्न अध्यक्ष चुनेको स्मरण गराए ।

उनले भने, ‘सजिलो परिस्थिति आयो भने फुरुङ्ग परिहाल्ने, केटाकेटीलाई दशैँ आएजस्तो आँगनमा निस्केर ‘दशैँ आयो’ भनेर नाच्न थाल्ने, अप्ठ्यारो परिस्थिति आयो भने अनेक प्रकारका वितण्डा मच्चाउने, अनेक निहुँ खोज्ने, आफूले राम्रो गरेको तर अरूले नराम्रो गरेको भन्दै नागरिकका बीचमा जाने, आफ्नो कमी नदेख्ने र अरूको कमी मात्र देख्ने प्रकारको हुनु हुँदैन । सजिलो पर्‍यो भने, अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री बन्न पाइने भयो भने कस्सिएर अगाडि बढ्ने र प्रधानमन्त्री बन्ने, अनि अप्ठ्यारो अवस्था आयो भने झोला फालेर भागिहाल्ने होइन ।’

अध्यक्ष ओलीले राजनीतिक दल र नागरिकबीचको सम्बन्ध नङ्ग र मासुको जस्तो हुनुपर्ने पनि बताए ।

साफ च्याम्पियनसिप : नेपाल र बंगलादेशबीचको पहिलो हाफ बराबरी

काठमाडौं । नेपाल र बंगलादेशबीच जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ ।

भारतको गोवास्थित जवाहरलाल नेहरु रंगशालामा जारी खेलेको २३औँ मिनेटमा नेपालले अग्रता लिएको थियो । दीपा शाहीको कर्नरमा बनेको मुभमा गीता रानाले बललाई जाली चुमाएकी हुन् ।

पहिलो हाफको इन्जुरी समयमा रितु पोर्ना चक्माले बंगलादेशका लागि बराबरी गोल फर्काइन् । उनको कर्नर प्रहार सिधै गोलमा परिणत भएको थियो ।

नेपालले पाएको केही अवसरलाई सदुपयोग गर्न सकेन । दीपाकै कर्नरमा ३४औँ मिनेटमा रश्मीकुमारी घिसिङको हेडरलाई बंगलादेशकी गोलकिपर मिली अख्तरले सहजै नियन्त्रणमा लिइन् ।

नेपालले खेलको ३६औँ मिनेटमा अग्रता दोब्बर गर्ने अवसर गुमायो । प्रीति राईको प्रहार क्रस बारमा लागेर फर्किएको थियो ।

कार्यसूचीमै प्रवेश नगरी राष्ट्रियसभा बैठक स्थगित

काठमाण्डाै- सांसदहरूको विरोधका कारण राष्ट्रियसभाको आजकाे बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा दिनुभएको ’नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विपक्षी दलले विरोध गरेपछि बैठक अवरुद्ध भएको हो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पटक पटक आ–आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक आउँदो २६ गते मङ्गलवार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभएको हो । बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो ।

यसअघि हिजो प्रतिनिधिसभाको बैठक पनि विपक्षीको अवरोधका कारण सोमवारसम्मका लागि स्थगित भएको थियो ।

प्रधानमन्त्री शाहले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा सांसदका प्रश्नको जवाफ दिने बेलामा नेपालले पनि भारतको सीमा मिचेको बताउनुभएको थियो । उहाँको त्यो भनाइको विरोध हुँदै आएको छ ।

 

न्यायालय सुधार सहकार्यबाट मात्रै सम्भव : प्रधानन्यायाधीश

काठमाडौं : प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकालाई थप समुन्नत र सबल बनाउनेतर्फ आफ्नो प्रयन्त हुने बताएका छन्। सर्वोच्च अदालत बार एशोसिएसनले बुधबार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानन्यायाधीश शर्माले यसअघिका प्रधानन्यायाधीशका कार्यकालमा अवलम्बन गरिएका असल अभ्यासलाई अनुसरण गर्दै न्यायपालिकालाई थप समुन्नत र सबल बनाउने आफ्नो प्रयन्त हुने बताए।

अदालतमार्फत गरिने विवाद समाधान पहिलो रोजाइ नभइ अन्तिम विकल्पको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले विवाद समाधानलाई व्यवहारमा प्रभावकारी बनाउन बारको सक्रिय भूमिका अपेक्षित रहेको बताए ।

संविधानको सर्वोच्चता,विधिको शासन,न्यायपालिकाको स्वतन्त्रता,न्यायिक निष्पक्षता तथा संस्थागत सुशासनप्रति अडिक रहने उनले बताए । प्रधानन्यायाधीश शर्माले संविधानले परिकल्पना गरेबमोजिम न्याय प्रशासनलाई छिटो,छरितो,सर्वसुलभ,मितव्ययी,निष्पक्ष,प्रभावकारी र थप जनउत्तरदायी बनाउन सके आम नागरिकको विश्वास आर्जन गर्न सकिने धारणा राखे।

उनले न्यायिक सुधारका योजना कार्यान्वयन गर्ने कार्यमा प्रधानन्यायाधीशको नेतृत्वदायी भूमिका हुने भए पनि न्यायाधीश तथा कर्मचारीहरूको समन्वनात्मक सहकार्यबाट मात्रै न्यायालयको सुधार र सुदृढीकरण सम्भव हुने बताए।

सेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौं । सेयर बजारमा सामान्य अंकको वृद्धि देखिएको छ । बुधबार बजार २.६६ अंक बढेको हो ।

यससँगै बजार २७८०.२५ विन्दुमा उक्लिएको छ । यसदिन १४९ कम्पनीको सेयर मूल्य बढेको छ । ११६ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

बजारसँगै कारोबार रकममा वृद्धि देखिएको छ । पाँच अर्ब ७३ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । एक करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर ६२ हजार १४८ पटकमा खरिद बिक्री भयो ।

कालिन्चोक हाइड्रो, एसबीएल डिबेन्चर, विजय लघुवित्त, सयपत्री हाइड्रो, नेपाल इन्स्यारेन्सलगायत कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।

समूहगत सूचकतर्फ बैंकिङ, फाइनान्स, हाइड्रो पावर, इन्भेष्टमेन्ट र अन्य सूचक रातो देखिए । बाँकी समूहको सूचक बढेको छ ।

मुख्यमन्त्री शाहले बाेलाए संसदीय दलको बैठक

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ। मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता कमलबहादुर शाहले बुधबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।

आफ्नै दलका सांसदहरूले संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनीतिक घटनाक्रमकाबिच मुख्यमन्त्री शाहले दलको बैठक बोलाएका हुन् ।

मङ्गलबार मात्रै नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका १८ मध्ये ९ जना सांसदले मुख्यमन्त्री शाहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, प्रस्ताव दर्ता भएको केही समयमै हस्ताक्षरकर्ता मध्येकी एक सांसद डम्बरी महराले आफ्नो हस्ताक्षर फिर्ता लिएको घोषणा गरिन् ।

उनले आफू मुख्यमन्त्रीकै पक्षमा रहेको र समर्थन कायमै रहेको बताएकी थिइन्। बहुमत सांसदको हस्ताक्षर नपुग्ने भएपछि र महराले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले दलभित्रको पछिल्लो अवस्था र आपसी असमझदारी हटाउने विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।

बैठकमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरू र अन्य सदस्यहरूबिच छलफल हुने बताइएको छ। बैठकले दलभित्रको विवाद समाधान गरी अगाडि बढ्ने रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

भारतीय प्रधानमन्त्री मोदीसँग सभापति लामिछानेको भेट

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ।

भारत भ्रमणमा रहेका लामिछाने र प्रधानमन्त्री मोदीबीच नेपाल-भारत सम्बन्ध, आपसी हितका विषय तथा दुई देशबीचको सहकार्यका विभिन्न आयामबारे छलफल भएको जनाइएको छ।

लामिछानेले यसअघि मंगलबार एस जयशंकर, अमित शाह तथा भारतीय जनता पार्टीका नेताहरूसँग भेटवार्ता गरेका थिए।

भारत भ्रमणका क्रममा लामिछानेले भारतीय राजनीतिक नेतृत्व तथा उच्च सरकारी अधिकारीहरूसँग निरन्तर संवाद गरिरहेका छन्।

रास्वपा सभापति नेतृत्वको प्रतिनिधिमण्डल जेठ २२ गतेसम्म भारत भ्रमणमा रहने कार्यक्रम छ।

भ्रमणको मुख्य उद्देश्य नेपाल र भारतबीचको राजनीतिक, कूटनीतिक तथा आपसी सहकार्यका सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको बताइएको छ।

 

प्रधानमन्त्रीले देशद्रोही कुरा गर्नुभयो, नेपालले भारतको एक इन्च जग्गा पनि मिचेको छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले देशद्रोही कुरा गरेको बताएका छन् ।

पार्टीको केन्द्रीय विभागले आयोजना गरेको राष्ट्रिय कार्यशालामा उनले प्रधानमन्त्रीले रोष्ट्रममा देशद्रोही कुरा गरेको बताए । ओलीले भने, “उहाँले देशद्रोही कुरा गर्नुभयो । नेपालले भारतको धेरै ठाउँमा सिमाना मिचेको छ भनेर ।”

एक इन्च पनि भारतको जमिन नेपालले नमिचेको उनले जिकिर गरे ।

राज्य संयन्त्रलाई संयमित रहन ओलीको चेतावनी

काठमाण्डौ – नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राज्य संयन्त्रमा रहेका व्यक्ति तथा निकायहरूलाई आफ्नो अधिकारको दुरुपयोग नगर्न र संयमित रहन चेतावनी दिएका छन् ।

आजदेखि शुरू भएको पार्टीको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुई दिने कार्यशालामा बोल्दै अध्यक्ष ओलीले समय र परिस्थिति सधैँ एकैनासको नरहने उल्लेख गर्दै राज्यका जिम्मेवार ओहोदामा रहेकाहरूलाई ‘उत्ताउलिएर’ अगाडि नबढ्न सचेत गराए ।

नेपालको राजनीतिक इतिहास स्मरण गर्दै उनले राणा शासन, पञ्चायती तानाशाही र राजतन्त्रजस्ता शक्तिशाली व्यवस्थाहरू त ढलेको अवस्थामा वर्तमान ’अराजक तन्त्र’ लामो समय नटिक्ने दाबी गरे ।

अध्यक्ष ओलीले गएको भदौ २३ र २४ गते भएका आगजनी तथा राष्ट्रिय सम्पत्ति विनाशका घटनाहरूप्रति सरकारको ध्यानाकर्षण गराए । उनले राष्ट्रव्यापी रूपमा भएका यस्ता उपद्रवकारी र आपराधिक क्रियाकलापलाई सरकारले सामान्य रूपमा लिएर बेवास्ता गर्न खोजेको आरोप लगाए ।

उनले भने, ‘राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरूलाई म भन्न चाहन्छु—समय र परिस्थिति सधैँ एउटै रहँदैन । उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला । सधैँ एउटै परिस्थिति रहँदैन ।’

कार्की आयोगले मैले नदिएको बयान छाप्यो : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले आफूले नदिएको बयान छापेको बताएका छन् ।

निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा बोलेका ओलीले आफूले आयोगलाई मान्यता नै नदिएको बताए ।

“भदौ २३ गते नै ककसलाई जेल हाल्नुपर्छ भन्दै हिँडेका व्यक्ति गौरीबहादुर कार्की नेतृत्वको आयोलाई हामीले मान्यता नै दिएको छैन,” उनले भने, “जसले पहिल्यै आफ्नो योजना सार्वजनिक गरेको छ, त्यसकै नेतृत्वमा आयोग बनाएर न्याय निरपण हुन्छ ?”

आयोगले प्रतिष्ठाका लागि मात्र बयान भनेर छापेको उनले बताए । यद्यपि, यसबारेको लफडामा आफू नपर्ने उनले बताए ।

“अरुले जेसुकै गरुन् मैले बयान दिएको छैन,” ओलीले भने, “आयोगले प्रश्न लेखेर पठाएको थियो, मैले जवाफ लेखेको छैन । मेरो जवाफ भनेर छाप्यो– उसको इज्जतका लागि ।”

ओलीको आक्रोश- सम्पत्ति विवरण चाहिए खरानी उठाएर लैजा सरकार

काठमाडौं । नेकपा (एमाले) का अध्याक्ष केपी शर्मा ओलीले आफ्नो घरमा आगो लगाउनेको खोजी नगर्ने सरकारले आफूसँग सम्पत्ति विवरण मागेको भन्दै आक्रोश पोखेका छन् ।

निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका ओलीले सम्पत्ति विवरण मागिएको भन्दै आपत्ति जनाए । “मेरो घरमा आगो लगाएर खरानी बनाएको छ । अब सम्पत्ति विवरण फारम भर्नुपर्‍यो अरे,” ओलीले भने, “खरानी उठाएर लैजा सरकार ।”

आफूहरूले निर्वाचन परिणाम भने स्वीकारेको उनको भनाइ छ । “हामीले निर्वाचनको परिणाम स्वीकारेका छौँ । हामी अन्धविश्वासमा होइन आँखा खोलेर सबै चीजहरू हेर्छौं,” उनले भने ।

भदौ २३ र २४ को घटना पूर्वनियोजित र षड्यन्त्र : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना पूर्वनियोजित, आपराधिक र षड्यन्त्र भएको टिप्पणी गरेका छन् । निर्वाचनपछि पहिलोपटक सार्वाजनिक कार्यक्रममा बोलेका ओलीले सो घटना आकस्मिक आक्रोशबाट सृजित मात्र नभएको दाबी गरे ।

“भाद्र २३ र २४ को घाटना पूर्वनियोजित र षडयन्त्र थियो । यो मेरो भनाइ होइन राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार हो,” ओलीले भने, “त्यो षडयन्त्र हाम्राविरुद्ध त थियो नै, देशका विरुद्ध पनि थियो ।”

असंगठित रूपमा निस्किएका जेनजी युवाहरूलाई ढाल बनाइएको ओलीको दाबी छ । त्यसका आधारहरू पनि घटनाक्रमले पुष्टि गरेको उनको भनाइ छ । “संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन र विभिन्न उद्योगहरू देखिएकै थिए,” ओलीले भने, “नेताका घरहरू लोकेट गरेर वितरण गरिएको थियो ।”

सीमाबाट पाँच सय रुपैयाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने

काठमाडौं । सरकारले स्थलमार्गबाट आउँदा ल्याउन पाउने एक सय रुपैयाँको किनमेल दर बढाएको छ ।

नयाँ व्यवस्थाअनुसार अब ५०० रुपैयाँसम्मको वस्तु ल्याउन पाइनेछ । यसअघि रहेको एक सय रुपैयाँ दरलाई परिमार्जन गर्दे पाँच सय पुर्‍याइएको हो ।

“स्थलमार्गबाट सिमाना ओहोरदोहोर गर्ने व्यक्तिलाई यस सूचनामा उल्लेख भएका कुनै पनि सुविधा दिइने छैन । तर, पाँच सय रुपैयाँ मूल्यसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लागेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ,” सूचनामा उल्लेख छ ।

एमाले फेरि धूलो टकटक्याएर उठ्ने छ : विष्णु पौडेल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभाको चुनावमा पार्टीले इतिहासकै सबैभन्दा ठूलो धक्का व्यहोरेको बताएका छन् । सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै धूलो टकटकाएर फेरि कम्युनिस्ट आन्दोलनलाई उठाउने उनले बताए ।

उनले भने, ‘स्वाभाविक रूपमा यतिबेला नेपालको कम्युनिस्ट आन्दोलनले एउटा गम्भीर धक्काको सामना गरेको छ । भदौ २३–२४ हुँदै फागुन २१ सम्म आइपुग्दा, फागुन २१ को निर्वाचनसम्म आइपुग्दा हामीले धेरै ठूलो धक्का बेहोरेका छौँ, धेरै ठूलो क्षति बेहोरेका छौँ ।’

उपाध्यक्ष पौडेलले भने, ‘हाम्रो आन्दोलनले निकै ठूलो क्षति बेहोरेको छ । कतिपय मानिसहरूलाई लागेको छ कि अब यो आन्दोलन उठ्न सक्दैन । अब नेपालको कम्युनिस्ट आन्दोलन सदासदाका निम्ति समाप्त भएर जान्छ भन्ने कतिपय मानिसहरूले अनुमान गरेका छन्, कतिपय मानिसहरूले त्यस प्रकारको कामना पनि गरेका छन् ।

’उनले पार्टीको सचिवालय बैठकले पार्टीलाई आम रुपमा पुनगठन गर्नका लागि कार्यदल नै गठन गरिएको समेत जानकारी गराएका छन् । कार्यदलले समयमै काम गर्ने बताउँदै उपाध्यक्षले पार्टीको केन्द्रीय कमिटी बैठकमा विस्तृतरुपमा छलफल र बहस गर्ने बताए । उनले आजको समस्या देख्न सक्ने, भोलिको भविष्य बनाउन सक्ने गतिशिल पार्टी बनाउन आफूहरु लाग्ने बताएका छन् ।

एमालेको राष्ट्रिय कार्यशाला सुरु

काठमाडौं : नेकपा (एमाले)ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला आजबाट काठमाडौंमा सुरु भएको छ। जेठ २० र २१ गते काठमाडौंमा आयोजित कार्यशालामा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय पदाधिकारीसमेत सहभागी छन्।

पार्टी प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश संगठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला संगठन विभाग प्रमुख, जनसंगठनका केन्द्रीय इन्चार्ज तथा अध्यक्ष, साथै जनसंगठनका संगठन हेर्ने सचिव तथा संगठन प्रमुखहरू सहभागिता छन्।

पार्टीका सचिव भानुभक्त ढकालका अनुसार एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारी गरेको छ। सदस्यता नवीकरण, अभिलेखीकरण तथा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित कार्यशाला आयोजना गर्न लागिएको हो। 

कार्यशालामा डिजिटल सदस्यता प्रणालीको प्रयोग, सदस्यता नवीकरण प्रक्रिया तथा संगठनात्मक सुदृढीकरणका विषयमा प्रशिक्षण र अभिमुखीकरण प्रदान गरिनेछ। पार्टीले यस कार्यशालामार्फत सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी, प्रभावकारी तथा आधुनिक प्रविधिसँग आबद्ध बनाउने अपेक्षा गरेको छ।

कञ्चनपुरका स्थानीय तह : बेरुजु १३ करोडभन्दा बढी

बेलौरी (कञ्चनपुर), जेठ २० गते । नौ स्थानीय तह रहेका कञ्चनपुरमा आर्थिक वर्ष २०८१/८२ मा १३ करोड रुपियाँभन्दा बढी बेरुजु आएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ प्रतिवेदनमा आव २०८१/८२ मा यहाँका नौ वटा स्थानीय तहको बेरुजु १३ करोड ८३ लाख १४ हजार रुपियाँ रहेको छ । जबकी अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यहाँका स्थानीय तहको बेरुजु ४० करोड ६० लाख ७१ हजार रुपियाँ थियो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा लालझाँडी गाउँपालिको बेरुजु अत्यधिक रहेको छ । सो पालिकाको १० अर्ब ३१ करोड ८४ लाख तीन हजार रकमको लेखा परीक्षण गरिएकोमा दुई करोड १९ लाख ७४ हजार रुपियाँ अर्थात् २.१३ प्रतिशत बेरुजु देखिएको छ ।

त्यसै गरी भीमदत्त नगरपालिकामा चार अर्ब १९ करोड ७९ लाख ६९ हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा पाँच करोड ३९ लाख एक हजार अर्थात् १.२ प्रतिशत बेरुजु रहेको छ । भीमदत्तमा आव २०८०/८१ मा १५ करोड एक लाख ६८ हजार रुपियाँ बेरुजु रहेको थियो । बेदकोट नगरपालिकाको आव २०८१/८२ को १८ खर्ब ८८ करोड दुई लाख सात हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा १६ करोड ५० लाख आठ हजार रुपियाँ बेरुजु रहेको छ । जुुन ०.८७ प्रतिशत बेरुजु हो ।

बेदकोट नगरपालिकामा सङ्घ तर्फबाट ४५ करोड ६१ लाख ३४ हजार अनुदान प्राप्त भएकोमा प्रदेशबाट ४५ करोड सात लाख तीन हजार रुपियाँ अनुदान प्राप्त भएको थियो । बेदकोटको आन्तरिक आय ६५ करोड ८५ लाख चार हजार रुपियाँ रहेको छ भने, पालिकाले राजस्व बाँडफाँटबाट १२ करोड ७० लाख ९९ हजार रुपियाँ प्राप्त गरेको थियो ।

बेलौरी नगरपालिकाको एक अर्ब ८१ करोड ८३ लाख ६९ हजारको लेखा परीक्षण गरिँदा ६४ लाख ८० हजार रुपियाँ बेरुजु आएको छ । जुन ०.३६ प्रतिशत बेरुजु हो । आव २०८०/०८१ मा भने, बेलौरी नगरपालिकाको बेरुजु छ करोड ७३ लाख ४७ हजार रुपियाँ आएको थियो । बेलौरी नगरपालिकाले बेरुजु घटाएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लामा शुक्लाफाँटा नगरपालिकाको बेरुजु सबैभन्दा कम अर्थात् कुल रकमको ०.३६ प्रतिशत आएको छ । आव २०८१/८२ मा एक अर्ब ८१ करोड ८३ लाख ६९ हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा ६४ लाख ८० हजार रुपियाँ बेरुजु आएको छ । जबकी अघिल्लो आवमा शुक्लाफाँटा नगरपालिकाको बेरुजु एक करोड १३ लाख २० हजार रुपियाँ थियो । शुक्लाफाँटाले पनि बेरुजु निरन्तर घटाउँदै लगेको महालेखाको प्रतिवेदनले देखाएको छ । दोधारा चाँदनी नगरपालिकाको आव २०८१/८२ मा एक अर्ब ५२ करोड ८६ लाख ९३ हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा आठ करोड आठ लाख ३७ हजार अर्थात् ०.८७ प्रतिशत बेरुजु आएको छ तर अघिल्लो आवमा भने दोधारामा तीन करोड ८४ लाख ९५ हजार रुपियाँ मात्रै बेरुजु थियो ।

बेलडाँडी गाउँपालिकाको ९६ करोड ४४ लाख ३७ हजार रुपियाँको लेखा परीक्षणका क्रममा ४६ लाख ७८ हजार अर्थात् ०.४९ प्रतिशत बेरुजु आएको छ । अघिल्लो आवमा बेलडाँडीमा दुई करोड ७२ लाख १७ हजार रुपियाँ बेरुजु देखिएको थियो ।

जिल्लाको कृष्णपुर नगरपालिकाको एक अर्ब ९४ करोड २६ लाख ७८ हजार रुपियाँको लेखा परीक्षणका क्रममा एक करोड ४० लाख ९९ हजार रुपियाँ अर्थात् ०.७३ प्रतिशत बेरुजु आएको छ । अघिल्लो आवमा कृष्णपुरमा चार करोड ७१ लाख १४ हजार रुपियाँ बेरुजु देखिएको थियो ।

लुम्बिनीमा एमालेका ४ मन्त्रीले राजीनामा दिए

काठमाण्डौ – लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदबाट नेकपा एमालेका चार जना मन्त्रीले राजीनामा दिएका छन् । आफूहरूले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए ।

राजीनामा दिनेहरूमा भौतिक पूर्वाधार विकासमन्त्री ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्थी र स्वास्थ्यमन्त्री खेम सारु छन्।

एमालेले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्ने तयारी गरेको छ । लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन्।

छाडा पशुचौपायाका बहुआयामिक असर

 कैलाली  । एक समय थियो, गाउँघरका हरेक गोठ गाईगोरुले भरिएका हुन्थे । बिहान सबेरै किसानहरू हलो काँधमा बोकेर खेततिर निस्कँदा गोरु उनीहरूका मुख्य साथी हुन्थे । खेत जोत्न, मल उत्पादन गर्न, दूध दिन र घरपरिवारको आर्थिक आधार बन्न गाईगोरुको महत्त्वपूर्ण भूमिका थियो । गाउँको सम्पन्नता गोठमा बाँधिएका चौपायाको सङ्ख्यासँग तुलना गरिन्थ्यो ।

तर समयसँगै कृषि प्रणाली बदलिँदै गयो । आधुनिक प्रविधिको प्रयोग बढेसँगै खेत जोत्न ट्रयाक्टर भित्रिए । दूध नदिने गाई र काम गर्न नसक्ने गोरु किसानका लागि उपयोगीभन्दा बढी आर्थिक भार बन्न थाले ।  पालनपोषण खर्चिलो बन्दै जाँदा धेरै किसानले गाईगोरु खुला छाड्न थाले । यही प्रवृत्तिले अहिले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा छाडा चौपाया समस्या गम्भीर सामाजिक र वातावरणीय चुनौतीका रूपमा देखापरेको छ । राजमार्गदेखि ग्रामीण सडकसम्म छाडा गाईगोरु देखिन्छन् । बजार क्षेत्र, सार्वजनिक स्थान, खेतबारी र वन क्षेत्रसम्म उनीहरूको पहुँच पुगेको छ । सडक दुर्घटना, खेतीपातीमा क्षति, वन विनाश र व्यवस्थापनको अभावले समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ ।

सडकमा बढ्दो जोखिम

पूर्वपश्चिम राजमार्ग हुँदै रातिको समयमा यात्रा गर्ने धेरै चालकका लागि छाडा चौपाया त्रासको विषय बनेका छन् । सडकको बीचमै सुतेका वा अचानक सडक पार गर्ने गाईगोरुका कारण दुर्घटनाको जोखिम बढेको छ । विशेषगरी राति र हिउँदको कुहिरो लागेको समयमा दुर्घटनाको सम्भावना झनै बढी हुने गरेको छ ।

घोडाघोडी नगरपालिका–१, सुख्खडका हरिलाल सापकोटा छाडा चौपायाका कारण स्थानीयले समस्या झेलिरहेको बताउँछन् । उनका अनुसार सडकमा अचानक गाईगोरु निस्किँदा मोटरसाइकल चालकहरू धेरै जोखिममा पर्ने गरेका छन् । कतिपय अवस्थामा दुर्घटनामा मानिसले ज्यानसमेत गुमाएका छन् भने चौपायाहरूसमेत मर्ने गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कैलालीको अध्ययनअनुसार कैलाली र कञ्चनपुरका सडक क्षेत्रमा मात्रै करिब तीन हजारभन्दा बढी छाडा चौपाया रहेका छन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार प्रदेशमा हुने सडक दुर्घटनामध्ये दुई प्रतिशत दुर्घटना छाडा पशुचौपायाका कारण हुने गरेका छन् । उनी भन्छन्, “राजमार्ग क्षेत्रमा गाईगोरु नियन्त्रणका लागि पटकपटक अभियान सञ्चालन गरिए पनि दिगो समाधान नहुँदा समस्या रहेको छ । सडकमा छाडा चौपायाले निम्त्याएको समस्या केवल दुर्घटनामा सीमित छैन । यसले यात्रुमा मानसिक त्राससमेत सृजना गरेको छ । रातिको समयमा लामो दूरीमा यात्रा गर्ने चालकहरू विशेष सतर्क रहनुपर्ने अवस्था छ ।”

खेतबारीमा सङ्कट

छाडा चौपायाको सबैभन्दा ठूलो असर किसानको खेतबारीमा देखिएको छ । मिहिनेत गरेर लगाइएको बाली रातारात गाईगोरुले खाइदिँदा किसान चिन्तित बन्न थालेका छन् । हाल धानको बीउ छर्ने समय भए पनि बीउ नै जोगाउनसमेत समस्या हुने हो कि भन्ने चिन्ताले सताएको किसान डम्बर विष्ट बताउछन् । कैलालीकी किसान पार्वती खत्रीका अनुसार खेतमा लगाएको धान, गहुँ, मकै र तरकारी जोगाउन रातभर जाग्राम बस्नुपर्ने अवस्था छ । “दिनभर खेतमा काम गरियो, राति फेरि बाली जोगाउन चौपाया धपाउनुपर्छ”, उनी भन्छन् ।

घोडाघोडी नगरपालिका–३ का किसान टेकबहादुर चौधरी पनि छाडा चौपायाका कारण खेतीपाती गर्नै कठिन बन्दै गएको बताउनुहुन्छ । उनी भन्छन्, “गाईगोरुले  खेतको मकै र तरकारी नष्ट गरिदिने गरेका छन् । महिनौँको मिहिनेत केही घण्टामै सकिन्छ, बाली हुर्काउन नै कठिन हुन्छ ।” विशेषगरी बाली हुर्काउने समयमा किसानलाई बढी समस्या हुने गरेको छ । गाउँका धेरै किसानले खेत वरिपरि काँडेतार लगाउने वा राति पालैपालो खेत कुरुवा बस्ने गरेका छन् ।

छाडा पशुचौपायाको समस्या समाधानका लागि स्थानीय तहहरूले विभिन्न प्रयास गरिरहेका छन् । घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतका अनुसार नगरपालिकाले कान्जी हाउस निर्माण गरेर छाडा चौपाया व्यवस्थापनको प्रयास गरेको छ । तर सीमित स्रोतसाधन र बढ्दो समस्याका कारण प्रभावकारी व्यवस्थापन गर्न चुनौती भइरहेको उनको भनाइ छ । कान्जी हाउस निर्माण गरिए पनि धेरै स्थानमा व्यवस्थापन कमजोर देखिएको छ । घोडाघोडी, लम्कीचुहा, भजनी, जोशीपुर र गोदावरी क्षेत्रमा निर्माण गरिएका गौशाला तथा कान्जी हाउसमा आहारा, पानी र उचित हेरचाहको अभाव देखिएको छ ।

कतिपय स्थानमा गाईगोरु भोकभोकै मर्ने अवस्थासमेत आएको छ । छाडा चौपाया समस्या बढ्नुमा समुदायकै मुख्य भूमिका रहेको स्थानीय रामु बुढाथोकी बताउँछन् । उनका अनुसार मानिसहरूले दूधमात्र उपभोग गर्ने तर गाईगोरुको हेरचाहमा बेवास्ता गर्ने प्रवृत्तिका कारण यस्तो समस्या उत्पन्न भइरहेको छ । दूध दिन छाडेका वा काम गर्न नसक्ने गाईगोरुलाई खुला छाड्ने प्रवृत्ति अझै रोकिएको छैन । छाडा चौपायाको समस्या समाधानका लागी स्थानीय तहले मात्र नभई समुदाय स्वयं जिम्मेवार बन्नुपर्ने घोडाघोडीका नगरप्रमुख खडक रावतको भनाइ छ ।

समाधान खोज्दै गौशालाको अभ्यास

समस्याकै बीच केही सकारात्मक अभ्यासहरू पनि भइरहेका छन् ।  कैलालीको टीकापुरमा सञ्चालन भइरहेको व्यवस्थित गौशालाले धेरैको ध्यान तानेको छ । टीकापुरस्थित गौशालामा छाडा गाईगोरुको संरक्षणसँगै उनीहरूबाट आर्थिक आम्दानी गर्ने अभ्यास सुरु गरिएको छ । यहाँबाट मल उत्पादन गरिन्छ । उक्त मल किसानमाझ लोकप्रिय बन्दै गएको छ ।

गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तमकुमार शाहका अनुसार पहिले किसानलाई मल लैजान आग्रह गर्नुपर्ने अवस्था थियो । अहिले भने अग्रिम बुकिङ हुने गरेको छ । प्रतिट्रली रु छ हजार ५०० मा गोबर मल बिक्री हुने गरेको उनी बताउँछन् । गौशालामा हाल १० जना कर्मचारी कार्यरत छन् । टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले व्यवस्थापनका लागि बजेट विनियोजन गर्दै आएका छन्, जसले कर्मचारीको तलब तथा अन्य व्यवस्थापनमा सहयोग पुगेको छ । अध्यक्ष शाहका अनुसार गौशालालाई पूर्ण रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित काम भइरहेको छ । गोबरबाट मल उत्पादन, गहुँतको प्रयोग र अन्य आयमूलक गतिविधिमार्फत सञ्चालन खर्च धान्ने योजना बनाइएको छ ।

गौशालामा गोबर ग्यास प्लान्टसमेत निर्माण गरिएको छ । उक्त प्लान्टबाट स्थानीय ४० भन्दा बढी घरधुरीलाई प्रतियुनिट ४५ रुपैयाँका दरले ग्यास वितरण गरिएको थियो । तर वनक्षेत्र नजिक भएकाले धेरै स्थानीयले दाउरा प्रयोग गर्न सहज ठानेपछि गोबर ग्यासको प्रयोग घट्दै गयो । त्यसपछि हाल ग्यास उत्पादन बन्द अवस्थामा छ । गौशाला व्यवस्थापन समितिका सदस्य दिलबहादुर ठकुल्ला भन्छन्, अब टीकापुर बजार क्षेत्रलाई लक्षित गरेर ग्यास वितरण गर्ने लक्ष्य रहेको छ । उनी भन्छन्, “सिलिन्डरमा ग्यास भरेर वितरण गर्ने योजना बनाइएको छ । यदि यो योजना सफल भयो भने गौशालालाई थप आम्दानीको स्रोत बन्न सक्ने अपेक्षा गरिएको छ ।”

चरिचरनले वन वातावरणमा असर 

छाडा चौपाया व्यवस्थापनका लागि निर्माण गरिएका गौशाला र कान्जी हाउसले चुनौती पनि थपिँदै गएको छ । अधिकांश यस्ता संरचना सामुदायिक वन क्षेत्रभित्र वा वन नजिकै निर्माण गरिँदा वन अतिक्रमणको समस्या देखिन थालेको छ । गौशाला र कान्जी हाउसमा राखिएका गाईगोरुहरूलाई चरिचरनका लागि वन क्षेत्रमा लगिने गर्दा वन संरक्षणमा थप दबाब सृजना भएको छ ।

डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत विश्वराज पण्डितका अनुसार खुला र अव्यवस्थित चरिचरनका कारण वनको प्राकृतिक संरचना गम्भीर रूपमा प्रभावित भएको छ । उनका अनुसार वनभित्र छाडा चौपाया प्रवेश गर्दा साना बिरुवा उम्रिन र हुर्किन नपाउने अवस्था सृजना भएको छ, जसले वनको पुनरुत्पादन प्रक्रियामा दीर्घकालीन नकारात्मक असर पारिरहेको छ । “साना बिरुवा उम्रिए पनि टिक्नै सक्दैनन्”, उनी भन्छन्, “गाईगोरुले खाइदिने, कुल्चिने वा नष्ट गर्ने कारण वन पुनरुत्पादन कमजोर हुँदै गएको छ ।”

वन क्षेत्रमा अनियन्त्रित चरिचरनले केवल वनस्पतिमात्र होइन, माटोको संरचना र गुणस्तरमा समेत असर पारिरहेको संरक्षणकर्मीहरू बताउँछन् । चौपाया धेरै चराउँदा माटो कडा हुने, घाँस–झाडी हराउने र वर्षायाममा माटो बग्ने समस्या देखिने संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउँछन् । वनभित्र चौपायाको अत्यधिक प्रवेशले जैविक सन्तुलनमा समेत असर पु-याइरहेको छ । उनी भन्छन्, “वन्यजन्तुका बासस्थान सङ्कुचित हुने, शान्त वातावरण खल्बलिने र वन्यजन्तु विस्थापित हुने अवस्था पनि बढ्छ ।” रासस

राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय काठमाडौंले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय जनसङ्ख्या नीति २०८२ को सार्वजनिकीकरण तथा अभिमुखीकरण गरेको छ।

उक्त कार्यक्रममा जनसङ्ख्या व्यवस्थापन महाशाखाका सहसचिव हेमराज सुवेदीले नीति कार्यान्वयनका संस्थागत, कानुनी, वित्तीय व्यवस्थाका साथै समन्वय र जोखिम पहिचान र व्यवस्थापन, अनुगमन, मूल्याङ्कन तथा पुनरावलोकन, कार्ययोजना, नीति खारेजी तथा बचाउका बारेमा जानकारी दिए । नीतिमा चार उद्देश्य, २० विशेषता, २७ रणनीति, १२० कार्ययोजना र दुई वटा अनुसूची  छन्।

मन्त्रालयका जनसङ्ख्या व्यवस्थापन महाशाखा (तथ्याङ्क) का उपसचिव झविन्द्रप्रसाद पाण्डेयले नेपालको समग्र जनसाङ्ख्यिक अवस्थाबारे बताए।

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले लागुऔषध, सडक दुर्घटना, आत्महत्याजस्ता घटना पछिल्लो समयमा बढिरहेकाले ती समस्या समाधान गर्ने नीति बन्नुपर्ने र त्यसको कार्यान्वयन प्रभावकारी हुनुपर्ने बताए।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)  नेपालका अधिकृत तीर्थमान तामाङले बुहप्रतिक्षित नीति बन्नुमा उल्लेखनीय  उपलब्धि हासिल भएको जानकारी दिए। रासस

भारतले भन्यो– ‘नेपाल–भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य’

काठमाण्डौ – भारतले नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नरहने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई छिमेकी देशबीचको आपसी मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताएका हुन् ।

नयाँ दिल्लीमा रहेको विदेश मन्त्रालयमा आज आयोजित पत्रकार सम्मलेनमा प्रवक्ता जैसवालले सीमासम्बन्धी विषयहरूलाई दुई पक्षबाट नै हल गर्ने प्रयास भइरहेको उल्लेख गरे ।

आइतवार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादबारे दिनुभएको अभिव्यक्तिपछि भारतको यो प्रतिक्रिया आएको हो । प्रधानमन्त्री शाहले सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भइरहेको बताएका थिए। तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता जैसवालले भने तेस्रो पक्षको भूमिका नरहने उल्लेख गरे ।

एनआईसी एशिया बैंक सञ्चालक समितिको अध्यक्षमा अग्रवाल नियुक्त

एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका हुन्। जेठ १८ गते सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले उनलाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो।

नवनियुक्त अध्यक्ष अशोक कुमार अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन्। अध्यक्ष अशोक कुमार अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुको साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्‍याएका छन्।

उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राख्नुहुने उनको कार्यकालमा बैंकले उच्चतम उपलब्धिहरु हासिल गर्दै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्याउने विश्वास लिइएको छ।

रवि र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

भारत भ्रमणमा रहेका सभापति लामिछानेले मंगलबार जयशंकरलाई भेटेका हुन्।

जयशंकरले यसबारे आफ्नो सामाजिक सञ्जालमा राख्दै विकास साझेदारी बारेमा छलफल भएको उल्लेख गरेका छन्।

‘आज दिल्लीमा नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लाग्यो। हाम्रा छलफल विकास साझेदारी र जनता-जनताबीचको सम्बन्धमा केन्द्रित थिए। यी सम्बन्धहरूले विकास, प्रगति र समृद्धिलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्छन्,’ उनले लेखेका छन्।

लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा छन्।

रवि लामिछाने र भारतीय गृहमन्त्रीबीच भेट हुँदै

काठमाण्डाै– भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता हुने भएको छ ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारतको राजधानी नयाँ दिल्लीमा रहनुभएका सभापति लामिछाने र गृहमन्त्री शाहबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरुबीचको संवाद र सहकार्यका विषयमा विचार–विमर्श हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

सभापति लमिछाने भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा ५ दिने भारत भ्रमणका लागि हिजाे भारत प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले भारतमा बसोवास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्नुका साथै अयोध्याको भ्रमण पनि गर्नेछन्।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री एवम् प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य एवम् प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य छन्।

यसअघि आजै सभापति लामिछानेले भाजपा मुख्यालयमा अध्यक्ष नवीनलगायतका शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए ।

 

सुदूरपश्चिमका मुख्यमन्त्रीको पद जोगियो, एक सांसदले लिए हस्ताक्षर फिर्ता

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि जोगिएको छ ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ९ सांसदमध्ये डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि तत्कालका लागि शाहको मुख्यमन्त्री पद जोगिएको हो ।

महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तनभन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताएकी छन् ।

शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

प्रदेश सभा सदस्य दिवानसिंह विष्ट समेतको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको थियो ।

एक लाख बढी विदेशी पर्यटक नेपालमा भित्रिए

काठमाडौं : सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार मेमा एक लाख दुई हजार ६२६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। उक्त संख्या गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो।

बोर्डका अनुसार गत वर्षको मे महिनामा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए। कोरोना महामारी अगाडि सन् २०१९ को मे महिनामा ७८ हजार ३२९ विदेशी नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका रहेका छन्।

उक्त महिनामा भारतबाट मात्र ४० हजार ७८२ पर्यटक नेपाल घुम्न आएका छन्। यस्तै, दोस्रोमा चीनबाट ११ हजार ५१४, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट नौ हजार एक, चौँथोमा बंगलादेशबाट पाँच हजार २९८ र पाँचौँमा संयुक्त अधिराज्यबाट तीन हजार ३७५ पर्यटक नेपाल घुम्न आएका छन्।

यस्तै, क्षेत्रगत रूपमा विश्लेषण गर्दा सबैभन्दा बढी सार्क मुलुकबाट ४७.२ प्रतिशत, अन्य एसियाली मुलुकबाट १९.९ प्रतिशत, युरोपबाट १३.१ प्रतिशत, अमेरिका क्षेत्रबाट १०.३ प्रतिशत र अस्ट्रेलिया/न्यूजिल्याण्ड क्षेत्रबाट ३.१ प्रतिशत, मध्यपूर्वबाट एक दशमलव पाँच प्रतिशत र अन्य मुलुकबाट ४.५ प्रतिशत विदेशी नेपाल आएका छन्।

पश्चिम एसियाली मुलुकमा देखिएको द्वन्द्वका कारण नेपालको पर्यटनमा केही असर देखिएको छ। तर, अन्तर्राष्ट्रिय बजारमा नेपालप्रतिको बढ्दो विश्वास र पर्यटकीय गतिविधिका कारण आगामी दिनमा यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।

खोज्नुहोस