सौका समुदाय ‘कुञ्चा’ सर्न थाले

दार्चुलाः नेपालको दार्चुला जिल्लामा मात्रै बसोबास रहेको सौका समुदाय आफ्नो थातथलोबाट सदरमुकाम खलङ्गा बसाइँ सर्न थालेका छन्।

परम्परागत रूपमा विगतदेखि नै गर्मीयामको छ महिना व्यास गाउँपालिका–१, तिङ्कर र छाङरु गाउँमा बस्ने सो समुदाय हिउँदको छ महिना सदरमुकाम खलङ्गामा बसाइँ सर्ने गर्दछन्। बसाइँसराइ गर्नुलाई सौका समुदायको भाषामा ‘कुञ्चा’ सर्नु भनिन्छ। हिउँदेयाम सुरु भएसँगै चिसो छल्न थातथलोबाट सदरमुकाम खलङ्गा झर्न लागेको तिङ्करका स्थानीय दानसिंह तिङ्करीले जानकारी दिए।

मङ्सिर १ गते सदरमुकाम खलङ्गाका लागि हिँडेका तिङ्कर गाउँका पाँच परिवार छाङरुस्थित सीतापुल हुँदै भारतको बाटोबाट नेपाल आउन लागेको उनले बताए। नेपालको बाटोबाट कुञ्चा सर्न तत्काल सम्भव नभएको उनले बताए। उनले भने, “गाउँमा चिसो बढेको छ, तिङ्करको पाँच परिवार आयौँ, बाँकी परिवार मङ्सिरको ७ गतेतिर आउँछन्।” गत वैशाख दोस्रो साता गाउँ उक्लेको कुञ्चा सदरमुकाम खलङ्गा झर्न लागेको हो । सौका समुदायका बालबच्चासहितको परिवार र वस्तुभाउसहित कुञ्चा सर्ने गर्दछन्।

सदरमुकाम खलङ्गाबाट २८ कोस टाढा रहेको तिङ्कर र छाङरुका मानिस भारतको बाटो हुँदै पैदल कुञ्चा सर्ने गर्दछन्। नेपालबाट सो गाउँसम्म पुग्ने बाटो छैन। छाङरुका स्थानीय भने मङ्सिरको १५ पछि मात्रै बसाइँ सर्ने बताइएको छ। भारतीय बाटो प्रयोग गर्दा सुरक्षाकर्मीको दुव्र्यवहार खेप्नुपर्ने, अनुमति लिनुपर्नेलगायतका समस्या तिङ्करीले बताए। कुञ्चा सर्दा भारतको बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले बाटोघाटो तथा सडक निर्माण गर्नुपर्ने यहाँका स्थानीयले माग गरेका छन्।

सौका समुदायको कुञ्च भारतको बाटो हुँदै सदरमुकाम आउने भएपछि आफूले भारतको स्थानीय प्रशासनसँग समन्वय र सहयोगका लागि आग्रह गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। सदरमुकाम खलङ्गाबाट तिङ्कर गाउँ पुग्न छ दिनको पैदलयात्रा गर्नु पर्दछ। व्यासको छाङरु गाउँमा १२५ र तिङ्कर गाउँमामा ७० परिवारको बसोबास रहेको व्यासी सौका समाज दार्चुलाले जनाएको छ।

आफ्नै भाषा, संस्कृति मौलिकता र पहिचान भएका आदिवासी जनजाति व्यासी सौका समुदायका मानिस जिल्लाको व्यास, राप्ला र सितोलामा आदिमकालदेखि बसोबास गर्दै आइरहेका छन्। सौका समुदायका मानिसले (रं) भाषा बोल्ने गर्दछन् । वर्षभरि एक मात्रै खेती हुने तिङ्कर र छाङरुका स्थानीय उवा, नप्पल, फापर र आलुलगायतका अन्नबाली लगाउने गर्दछन्।

एमाले अध्यक्षमा उठ्ने ईश्वर पोखरेलको घोषणा

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशन तयारीबारे छलफलका लागि बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकमा उनले अध्यक्षको उम्मेदवार बन्ने अध्यक्ष केपी ओलीसहित नेताहरूलाई औपचारिक जानकारी गराएका हुन् ।

दुई कार्यकाल महासचिव, एक कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेका पोखरेल ०३२ मा स्थापित कोअर्डिनेसन केन्द्रको संस्थापक सदस्य हुँँदै करिब ५० वर्षदेखि लगातार केन्द्रीय कमिटीमा छन् । बैठकमा उनले अध्यक्ष ओलीले तेस्रो कार्यकाल पनि नेतृत्व लिँदा पार्टी कमजोर बन्ने जिकिर गर्दै औपचारिक रूपमा बिदा लिएर सर्वसम्मत अध्यक्ष बनाउने काममा सहयोग गर्न ध्यानाकर्षणसहित आग्रह गरे ।

‘तपाईंको कार्यशैली, अभिव्यक्ति र व्यवहारले पार्टीलाई घाटा भइरहेको छ, अब बिदा लिनु नै राम्रो हुन्छ । अब म पार्टी चलाउँछु, तपाईं सहयोग गर्नुस् । तैपनि बिदा हुनुभएन भने एघारौँ महाधिवेशनमा प्रतिस्पर्धा गर्छु,’ पोखरेलको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले नयाँ पत्रिकासँग भने । पोखरेलले एमालेको अध्यक्ष लिने योजनाबारे लामै पृष्ठभूमिसहित ओलीको असफलतामाथि प्रहारसमेत गरेका थिए ।

जवाफमा ओलीले भने अहिले राष्ट्र र पार्टीको आवश्यकताले गर्दा फेरि पनि अध्यक्ष बन्नुपर्ने अवस्था रहेको भन्दै सर्वसम्मतिको अवस्था नबने स्वस्थ प्रतिस्पर्धालाई भने आफूले अन्यथा ढंगले नलिने बताएका थिए । यद्यपि, उनले पार्टीभित्र अध्यक्षमा प्रतिस्पर्धा हुँदा पराजित भएर पनि पार्टी बचाउन एकताबद्ध बनाएर अघि बढाउन आफूले मात्र योगदान गरेको दृष्टान्त प्रस्तुत गर्दै केही गरी नेतृत्वमा पराजित भएको अवस्थामा माधव नेपाल र भीम रावलले जस्तो पार्टीमै नरहने अवस्था नआओस् भन्दै सचेततापूर्वक स्वस्थ प्रतिस्पर्धामा भाग लिन ध्यानाकर्षण गराएका थिए ।

उपमहासचिव प्रदीप ज्ञवालीले भने बैठकमा कसैले पनि अध्यक्षको उम्मेदवार बन्ने घोषणा नगरेको बताए । यद्यपि, उनले अध्यक्ष ओलीले महाधिवेशनको नेतृत्व सर्वसम्मत हुने अवस्था नभए विगतको विभाजनका घटनाबाट पाठ सिक्ने गरी स्वस्थ प्रतिस्पर्धाका लागि ध्यानाकर्षण गराएको जानकारी दिए ।

‘बैठकमा कसैले पनि उम्मेदवारी घोषणा वा आफू बन्ने ढंगले कुरा गर्नुभएन । कुरा गरिहालेमा पनि स्वाभाविक रूपमै लिन्छौँ । तर, अध्यक्षले बैठकमा थप एउटा कुरा भन्नुभो– अहिलेसम्म विभिन्न महाधिवेशनमा प्रतिस्पर्धा भयो । म मात्र त्यस्तो पात्र रहेँ जसले प्रतिस्पर्धामा पराजित भएर पनि पार्टी एकताका लागि निरन्तर योगदान पुर्‍यायो, म पार्टी एकता सुदृढ गर्नतिर मात्र लागेँ । तर, विगतमा प्रतिस्पर्धा गर्ने साथी माधव नेपाल, भीम रावलहरू पार्टीमै रहनुभएन, त्यस्तो स्थिति नबनोस्, स्वस्थ प्रतिस्पर्धा गरौँ भन्ने आग्रह गर्नुभो,’ ज्ञवालीले भने, ‘स्वस्थ प्रतिस्पर्धाले खास फरक पर्दैन, तर आज आन्दोलन र देशको आवश्यकता सहकार्यका साथ एकताबद्ध भएर अगाडि बढ्ने नै हो भन्ने आग्रह अध्यक्षले गर्नुभयो ।’

ओलीले एकता र सर्वसम्मतिको महाधिवेशन बनाउन आग्रह गरे । ‘आमकार्यकर्ता पंक्ति र देशले चाहेको एकता र सर्वसम्मत्ति हो । यति हुँदाहुँदै पनि कसैले प्रतिस्पर्धा गर्छ भने त्यसलाई स्वस्थ प्रतिस्पर्धा गर्न सकिन्छ भन्नेबारे छलफल भएको छ,’ ज्ञवालीले भने ।

उपाध्यक्ष युवराज ज्ञवालीले पनि अध्यक्ष ओलीले महाधिवेशनलाई एकता र सर्वसम्मतिको महाधिवेशन बनाउने कुरामै जोड दिएको जानकारी दिँदै स्वस्थ प्रतिस्पर्धा गर्ने कुरालाई भने पार्टीले अवलम्बन गरेको नीति र सिद्धान्तकै निरन्तरताका रूपमा लिनुपर्ने विषयमा बैठकमा सबैको सर्वसम्मत धारणा बनेको बताए ।

सचिव योगेश भट्टराईले पार्टीलाई बलियो बनाउने विषयलाई केन्द्रविन्दु बनाएर कसैले फरक मत राख्नेबित्तिकै उसलाई शत्रु करार गरेर निषेध गर्ने, किनरीकृत गर्ने प्रवृत्ति हाबी भएको भन्दै अध्यक्ष ओलीकै संरक्षणमा त्यस्तो काम हुनु ज्यादै दु:खद भएको बताए । भट्टराईको भनाइलाई समेत आधार मानेर पोखरेलले बैठकमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । उनले २३ र २४ भदौको जेन–जी आन्दोलनपछि देशमा नयाँ घटनाक्रम विकसित भएकाले त्यसको गम्भीर विश्लेषण र आत्मसमीक्षासहित पार्टी अगाडि जानुपर्नेमा जोड दिए ।

‘विधान महाधिवेशनलगत्तै भएको जेन–जी आन्दोलन र विकसित घटनाक्रमबारे हामीले गम्भीर ढंगले आत्मसमीक्षा गर्न जरुरी छ । त्यत्रो विध्वंसकारी घटना खाली सोलोडोलो विदेशी षड्यन्त्रका कारण मात्र भयो भनेर कसैले पनि पत्याउँदैन । त्यसभित्र सरकारको नेतृत्व गरेको हिसाबले हाम्रो कमजोरी कति हो, आत्मसमीक्षा गनुर्पछ, कमजोरी छ भने आत्मालोचना पनि गर्नुपर्छ,’ पोखरेलेको भनाइ थियो, ‘पक्कै पनि विदेशी षड्यन्त्र पनि होला, तर प्रधान कुरा त्यही हो कि होइन, हो भने कसरी हो ? केही पनि आत्मसमीक्षा भएन, त्यसैले महाधिवेशनमा हामी स्पष्ट दृष्टिकोणसहित प्रस्तुत भएर पार्टीलाई सही नीति र विचारसहित अगाडि बढाउनुपर्ने आवश्यकता छ ।’

पोखरेलको भनाइलाई उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्टले पनि समर्थन जनाएका थिए । भट्टराईले नेतृत्वले सही निर्णय लिन नसक्दा मधेशमा एमाले एक्लिने अवस्था बनेको भन्दै तत्काल कमजोरीको समीक्षासहित कोर्स करेक्सनको बाटोमा जानुपर्ने मत राखेका थिए । ‘संवैधानिक हिसाबले धारा १६८ को उपधारा २ हुँदै ३ को प्रयोग गर्ने प्रक्रिया आफ्नो ठाउँमा ठिकै होला, तर होटेलजस्तो ठाउँमा रातारात शपथ गराउँदा पार्टी बदनाम मात्रै भएन, मधेशको बौद्धिक समुदायले एमालेविरुद्ध नकारात्मक टिप्पणी गर्ने अवस्था बन्यो, त्यसैले कसरी हुन्छ सच्चिएर अगाडि जानुपर्छ,’ उनले भने ।

भट्टराईको भनाइलाई समर्थन जनाउँदै महासचिव शंकर पोखरेलले मुख्यमन्त्री सरोज यादवलाई तत्काल राजीनामा दिन निर्देशन दिएर कोर्स करेक्सन गर्नु उपयुक्त हुने र बदनामको घटनाबाट एमाले सच्चिएको सन्देश जाने धारणा राखेका थिए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सदस्यता नदिएर ठुलो गल्ती भएको र त्यसले पार्टीलाई घाटा पुर्‍याएको विगतकै धारणा दोहोर्‍याएका थिए । ‘अध्यक्ष उठ्ने कि नउठ्ने उहाँको विवेकको कुरा थियो होला र उहाँ पार्टी सदस्य मात्र पनि रहन सक्नुहुन्थ्यो । तर, सदस्यता नदिँदा उहाँमाथि अन्याय त भएकै छ, त्यसबाट पार्टीलाई समेत घाटा पुगेको छ,’ पोखरेलको भनाइ थियो ।

निर्वाचन आयोगलाई नेतृत्व दिन अध्यादेश आउँदै

काठमाडाैं ५ मङ्सिर ।  जेन–जी आन्दोलनपछिको अस्थिर र अनिश्चयमा चुनाव गराउने जिम्मेवारी पाएको निर्वाचन आयोग नै नेतृत्वविहीन हुँदा कतिपय वृत्तमा चुनावी सुनिश्चितालाई लिएर आशंका कायम रहेका वेला सरकारले अध्यादेशमार्फत पदाधिकारी नियुक्तिको बाटो खोल्ने तयारी गरेको छ । २१ फागुनका लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पनि आयोगमा हाल प्रमुख निर्वाचन आयुक्त र एक आयुक्त पद रिक्त छ ।

निर्वाचन तयारीका निर्णय प्रक्रिया र काम छिटोछरितो अगाडि बढाउन नेतृत्व अभावले चुनौती देखिने सम्भावना रहेपछि सरकारले पदाधिकारी नियुक्तिका लागि अध्यादेश अघि बढाएको हो । निर्वाचन आयोगमा पदाधिकारी नियुक्तिको उद्देश्यसहित सरकारले मन्त्रिपरिषद्बाट अध्यादेश जारी गर्ने निर्णय गरिसकेको छ ।

निर्वाचनका लागि राजनीतिक वातावरण निर्माण, शान्तिसुरक्षाको प्रत्याभूति र आवश्यक स्रोत–साधन व्यवस्थापनमा सरकार सक्रिय देखिएको सरकार अव आयोगको नेतृत्व नियुक्तिसम्बन्धी गृहकार्यमा जुटेको हो । अधिकारका हिसाबले प्रमुख आयुक्त र कार्यवाहक आयुक्तबिच कुनै भिन्नता नरहे पनि प्रमुख हुँदा कार्यसम्पादनमा सहजता आउने पूर्व प्रमुख निर्वाचन आयुक्तहरूको भनाई थियो ।

यसैबिच मंगलवार मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८२ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । संसद् नभएको अवस्थामै पदाधिकारी नियुक्त गर्नुपर्ने भएपछि सरकारले अध्यादेशको बाटो रोजेको हो ।

गत ५ वैशाखमा प्रमुख आयुक्त दिनेशकुमार थपलिया अवकाश लिएपछि आयोग नेतृत्वविहीन बनेको छ । अर्का एक आयुक्तको पद त झन्डै तीन वर्षदेखि रिक्त छ । ईश्वरी पौड्याल ५ वैशाख ०७९ मा निवृत्त भएयता पदपूर्ति भएको छैन । पद रिक्त भएको एक महिनाभित्र सिफारिस गर्ने संवैधानिक प्रावधान भए पनि सरकारले हालसम्म नियुक्ति गरेको छैन ।

प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार अध्यादेशले संवैधानिक परिषद् बैठक बस्न गणपूरक मिलाउने र संसदीय सुनुवाईमा उत्पन्न अड्चन हटाउने गरी दुई जटिलता समाधान गर्नेछ । राष्ट्रपतिसमक्ष पेस अध्यादेशको दफा ६ मा बैठक बस्ने र गणपुरक संख्यासम्बन्धी व्यवस्था छ । उक्त दफाअनुसार परिषद्को बैठक अध्यक्षले तोकेको मितिमा बस्ने र बैठक सूचना एजेन्डासहित ४८ घण्टा अघि पठाइने व्यवस्था छ । परिषद्को अध्यक्ष प्रधानमन्त्री, सदस्यसचिव मुख्यसचिव रहने व्यवस्था छ । परिषद्को बैठकमा तत्काल बहाल रहेका सबै सदस्य उपस्थित हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।

संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ । प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न गठन हुने परिषद्को अध्यक्षमा प्रधानमन्त्री र सदस्यमा प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र उपसभामुख रहने व्यवस्था छ । हाल प्रतिनिधिसभा विघटन भएकाले विपक्षी दलको नेता छैन ।

प्रतिनिधिसभा विघटन भएकाले विपक्षी दलको नेता नभएका कारण परिषद्को बैठक चलाउन समस्या परेको थियो । अब अध्यक्षसहित तीनजना भए बैठकका लागि गणपूरक पुगेको मानिनेछ ।

परिषद्को बैठकमा सबै सदस्य उपस्थित नभएमा वा निर्णयमा सर्वसम्मति कायम हुन नसकेमा सो बैठकका विषयसूचीमा छलफल र निर्णय गर्न अध्यक्षले बैठक बस्ने मिति, समय र स्थान तय गरी अर्को बैठक बोलाउने व्यवस्था अध्यादेशमा छ । दोस्रो बैठकमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्य उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था अध्यादेशमा छ । यसको अर्थ अध्यक्ष र अरु दुई सदस्यसहित तीन जना भए गणपूरक संख्या पुग्नेछ । र, परिषद् बैठकमा सर्वसम्मति नभए अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्यको मतबाट निर्णय गर्ने व्यवस्था अध्यादेशमा छ ।

अध्यादेशमा संसदीय सुनुवाई बिना नै नियुक्ति हुनसक्ने व्यवस्था छ । दफा ७ अनुसार प्रतिनिधि सभा विघटन भएको अवस्थामा परिषद्ले सिफारिस गरेका पदाधिकारीलाई संसदीय सुनुवाईअघि नै नियुक्त गर्न सकिनेछ । सचिवले परिषद्को निर्णय राष्ट्रपति समक्ष पठाएपछि नियुक्ति प्रक्रिया अघि बढ्नेछ । तर, नयाँ प्रतिनिधिसभा गठन भई सुनुवाई समिति सक्रिय भएको मितिले ४५ दिनभित्र सुनुवाईमा अस्वीकृत भए पदाधिकारी स्वत: पदमुक्त हुने व्यवस्था राखिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले अध्यादेशमार्फत उक्त कार्यविधिमा संशोधन गरी ५२ जना पदाधिकारी नियुक्त गरेका थिए । तर, अध्यादेश निष्क्रिय भएसँगै परिषद्को कार्यविधिसम्बन्धी व्यवस्था पनि स्वत: निष्क्रिय भएको थियो । त्यसपछि यो व्यवस्था पुन: सक्रिय पार्न ल्याइएको संशोधन विधेयक पनि प्रतिनिधिसभा विघटनसँगै निष्क्रिय भएको छ ।

निर्वाचन आयोगका सचिव महादेव पन्थले आयोग निर्वाचन तयारीमा जुटेको र  पदाधिकारी नियुक्ति गर्ने विषय सरकारको भएको बताए । ‘निर्वाचन आयोग निर्धारित मितिमा चुनाव गराउन लागिरहेको छ । आयोगले निर्वाचनकेन्द्रित आफ्नो काम गरिरहेको छ । पदाधिकारीको आवश्यकता र नियुक्ति गर्ने विषय सरकारको हो’, उनले भने ।

सर्वाेच्चले भन्यो– दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराऊ

काठमाडौं । सर्वोच्च अदालतले प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

केही दिनअघि मध्यराति प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि बिहीबार सुनुवाइ गर्दै सर्वाेच्च अदालतले प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो । प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर उनलाई हिरासतमा राखेको छ ।

आफ्ना बाबुलाई गैरकानूनी थुनामा राखिएको भन्दै प्रसाईंका छोराले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रसाईंलाई थुन्नुको कारण पेश गर्न र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

 

एनपिएल : चितवनविरुद्ध लुम्बिनीले टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ मा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सले पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा चितवनविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

एनपीएलमा लुम्बिनीले पहिलो खेल खेल्न लागेको हो । चितवन भने दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई पराजित गरेको थियो ।

सिमरा घटना : सिडिओ मिश्रद्धारा जेनजी युवालाई वार्तामा आउन आग्रह

सिमरा : बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्रकुमार मिश्रले सिमरामा आन्दोलनरत जेनजी युवालाई वार्तामा आउन आग्रह गरेका छन्।

जेनजीका बारा संयोजक सम्राट उपाध्यायसँग कुरा गर्दै सिडिओ मिश्रले वार्ताका लागि बोलाएका हुन्। सिडिओ मिश्रले जेनजी युवाको मागका विषयमा छलफल गर्नका लागि वार्तामा आउन आग्रह गरेका थिए।

जवाफमा उपाध्यायले आफूहरू वार्तामा बस्न तयार रहेको बताएका छन्। दुवै पक्षबीच कलैयामा वार्ता हुने बताइएको छ।

दुर्गा प्रसाईंको रिहाइ माग गर्दै विद्युत प्राधिकरणको मोबाइल एप ह्याक

काठमाडौँ । एक ह्याकर समूहले नेपाल विद्युत प्राधिकरणको एप ह्याक गरेको दाबी गरेको छ । ‘नेपाली फर नेपाल’ नामक उक्त समूहले प्राधिकरणको एप ह्याक गरी हिरासतमा रहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गरेको छ ।

प्राधिकरणको एपको होमपेजमा रहेको स्लाइडरमा प्रसाईंको रिहाइ माग गरिएको ब्यानर राखिएको छ । ‘अन्तरिम सरकार’ लाई सम्बोधन गर्दै राखिएको उक्त सूचनामा सोमबार राति पक्राउ परेका प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरिएको छ । माग पूरा नभए ‘साइबर प्रोटेस्ट’ गर्ने चेतावनी समेत दिइएको छ । ह्याकर समूहले मेसेजिङ एप टेलिग्राममार्फत उक्त ह्याक घटनाको जिम्मेवारी लिएको हो ।

ह्याकरले टेलिग्राममा एक भिडिओ सार्वजनिक गर्दै एपमा आफ्नो एड्मिन एक्सेस भएको खुलाएको छ । उक्त भिडिओमा प्राधिकरणको एपको कन्टेन्ट मेनेजमेन्ट सिस्टमको पुरै एक्सेस ह्याकरसँग भएको देखिन्छ । एपको ड्याशबोर्ड, नोटिफिकेसन पठाउने सिस्टम, ब्लग सेक्सन, आएका गुनासो हेर्ने सेक्सनको एक्सेस ह्याकरले पाएका छन् । त्यसैगरी चार्जिङ स्टेसन, सूचनाको सेक्सन, एपको मेनेजमेन्ट एक्सेस, प्रयोगकर्ताको विवरण, प्रयोगकर्ताले पठाएको सुझाव जस्ता सेक्सनको एक्सेस पनि उक्त ह्याकर समूहसँग भएको देखिन्छ ।

यसअघि यही समूहले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइटमाथि पनि साइबर आक्रमण गरेको थियो । केही समय अवरुद्ध भएको विभागको वेबसाइट अहिले सञ्चालनमा आइसकेको छ । आफूलाई ‘नेपालको रिसर्च एन्ड एनालाइसिस अर्गनाइजेसन’ बताउने यो समूहले अन्य सरकारी वेबसाइटमाथि पनि आक्रमण गर्ने चेतावनी दिएको छ ।

यता विद्युत प्राधिकरणले भने आफ्नो एप ह्याक नभएको दाबी गरेको छ । प्राधिकरणका सूचना अधिकारी सर्वजितकुमार चौधरीले वेबसाइट र मोबाइल एपमा प्रणाली अपग्रेडको काम भइरहेको बताए । “हामीले केही दिनअघि नै सूचना जारी गरेर मर्मतसम्भारबारे जानकारी दिएका थियौँ, अहिले पनि सोही काम जारी छ,” उनले टेकपानासँग भने । यस विषयमा थप अध्ययन भइरहेको उनले जनाए ।

प्राधिकरणले २७ कात्तिकमा सूचना जारी गर्दै २९ र ३० कात्तिक अर्थात् २४ घण्टा सिस्टम अपग्रेडका कारण सेवा अवरुद्ध हुने जनाएको थियो । तर, तोकिएको समय सकिएको केही दिनपछि एपमा ह्याकर समूहले ब्यानर राखेको भेटिएको छ । टेलिग्राममा सार्वजनिक लिङ्क हेर्दा प्राधिकरणको सिस्टमको ब्याकइन्डमा तस्बिर परिवर्तन भएको देखिन्छ ।

सहकारी ठगी प्रकरण : रवि र छविकाे मुद्दा स्थगित

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा पनि स्थगित भएको छ । न्यायाधीश स्वीकृति पराजुली र अवनी मैनाली भट्टराईको संयुक्त इजलासमा परेको पेशी बिहीबार लामिछानेका कानुन व्यवसायीले स्थगित गरेका हुन् ।

काठमाडौँ जिल्ला अदालतले धरौटी माग्ने आदेशविरुद्ध रवि र छवि उच्च अदालत गएका थिए । त्यस्तै आज उच्च अदालत बुटवलमा तोकिएको पेशी पनि स्थगित भएको छ ।बिगो बमोजिम रकम बुझाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै रास्वपा सभापति रवि लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको हो।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको निवेदनमा आजका लागि पेसी तोकिएको थियो ।

बाजुराको स्वास्थ्य कार्यालयका तत्कालीन निमित्त प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको स्वास्थ्य कार्यालयका तत्कालीन निमित्त प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले १५ लाख आठ हजार ५५७ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले बिहीबार (मंसिर ४) विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा स्वास्थ्य कार्यालय बाजुराका शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, तत्कालीन सबइन्जिनियर नरेश रावत, प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडी छन् ।

बाजुराको हिमाली गाउँपालिका–६ स्थित प्रसूति केन्द्र भवन निर्माण कार्य लागत अनुमानानुसार नगरी बढी भुक्तानी गरेर रकम हिनामिना गरेको भन्ने उजुरीपछि अख्तियारले उनीहरूमाथि अनुसन्धान अघि बढाएको थियो ।

उनीहरूले १५ लाख आठ हजार ५५७ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । दायर मुद्दामा उनीहरूसँग १५ लाख आठ हजार ५५७ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

राष्ट्रपति पौडेललाई २३ जेनजी समूहको ज्ञापनपत्र

काठमाडौं । विभिन्न नामका २३ वटा जेनजी समूहहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई आज ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संसोधन गर्नुपर्ने लगायत ५ बुँदे माग छन् ।

जेनजी विद्रोहको जगमा बनेको सरकारले केवल एक थान चुनाव मात्रै गराउने कुरा स्वीकार्य नहुने ज्ञापनपत्रमा उल्लेख छ । सरकार दिशाहिन अवस्थामा रहेको उनीहरुले आरोप लगाएका छन् ।

‘यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि मात्रै भएको थिएन । विद्रोहमा संलग्न जेनजीका २३ एलाइन्स, घाइते र शहिद परिवारका माग यो सरकारले तत्काल सम्वोधन गर्नुपर्छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

यदि यो सरकारले विद्रोही पक्षका माग पूरा गर्न नसकेमा सरकारलाई फिर्ता बोलाई आफूहरुको नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थता गरिदिन राष्ट्रपनिलाई आग्रह गरिएको छ । अन्यथा यस सरकारको विरुद्ध अर्को शान्तिपूर्ण आन्दोलन तथा दवाव कार्यक्रम गर्ने चेतावनी पनि दिइएको छ ।

ज्ञापनपत्र बुझाउनेमा जेनजी नेसनल फ्रन्ट लाइनर, जेनजीसी स्पार्क, एन टेक जेनजी, ऋणइी एसोसिएसन नेपाल, जेनजी वाइ युनाइटेड, रियल जेनजी लगायत छन् ।

ज्ञापनपत्रमा मुलुकमा भएका ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारवाही, जेनजी आन्दोलनमा नरसंहार गर्नेलाई कारवाही, जेन्जी घाइतेहरुको उपचार र जेनजीका सहिद परिवारको उचित क्षतिपूर्ति र भरणपोषणको पनि माग गरिएको छ ।

प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन् ।

बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक बस्न लागिएको हो ।

बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो ।

सिमरामा बुधबार जेनजी युवाहरूले विमानस्थलमा तोडफोड गरेका थिए । एमाले नेताहरू जाने भएपछि विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

बुधबार साँझ ८ बजेसम्म कर्फ्यू लगाइएको थियो । आज पुन: अवस्था तनावग्रस्त बनेपछि त्यहाँ कर्फ्यू लगाइएको छ । उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा मजबुत बनाउन राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गराएको छ ।

बाराको सिमरामा जिल्ला प्रशासनले फेरि लगायो कर्फ्यू

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यू आदेश जारी गरेको छ ।

बाराको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।

अखिल नेपाल फुटबल संघको गेट अगाडि पुन: धर्ना

अखिल नेपाल फुटबल संघ (एन्फा)को गेट अगाडि पुन: धर्ना भएको छ।

बिहीबार सातोबाटोस्थित एन्फा कम्प्लेक्समा ए डिभिजन क्लबहरू धर्ना बसेका हुन्। क्लबहरूले लिगका सबै प्रतियोगिताहरू समयमै गर्ने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता संचालन बारेको माग राख्दै उनीहरू धर्ना बसेका हुन्।

यसअघि ए डिभिजन लिग समयमा नभएको कारणले गर्दा अखिल नेपाल खेलाडी संघ र खेलाडीहरू एन्फामा धर्ना बसेका थिए।

त्यसपछि सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकमा ए डिभिनजन लिग चैत्रमा आयोजना गर्न तय भएको थियो। अहिले एन्फाका पदअधिाकरी र ए डिभिजन लिगका क्लबहरूबीच बैठक सकिएको छ। अब बैठक आइतबार बस्ने छ।

रवि-छविको मुद्दाको सुनुवाई स्थगित

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका कानुन व्यवसायीले माग गरेपछि उच्च अदालत बुटवलमा दायर गरेको रिट निवेदनमाथिको आजको सुनुवाइ स्थगित भएको छ। गोला प्रथाबाट तीन नम्बर इजलासको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ परेको थियो ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका रवि लामिछाने र छविलाल जोशीको मुद्दा आजका लागि पेसी तोकिएको थियो। तर, लामिछानेको मुद्दाको पेसी पाटन उच्च अदालतमा पनि परेकाले उनका कानुन व्यवसायीले बुटवल इजलासमा स्थगन माग गरेपछि सुनुवाइ स्थगित भएको अदालतका उपरजिष्टार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए। बिहीबार ३ नम्बर इजलासमा न्यायाधीश मिलनकुमार राई र सानुमाया डङ्गोलको संयुक्त इजलासमा परेको थियो ।

यसअघि कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सुप्रिम सहकारी ठगीबारे सर्वोच्च अदालतमा रहेको मूल अभियोग मिसिल झिकाउन आदेश दिएको थियो। सोही मिसिल प्राप्त हुने अपेक्षासहित बिहीबारका लागि पेसी तोकिएको थियो।

कात्तिक २० गतेको सुनुवाइमा पनि सोही इजलासले सुरु मिसिल मगाउन आदेश दिएको थियो। सर्वोच्चबाट सुरु मिसिल नआए पनि जिल्ला अदालतबाट प्रतिलिपि आएपछि आजको पेसी चढाइएको हो। अदालतले मुद्दालाई प्राथमिकताका साथ अघि बढाइरहेको ज्ञवालीले बताए।

यसअघि न्यायाधीश मिलनकुमार राई तथा ओमप्रसाद अर्यालको इजलासले लामिछाने र जोशीको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ राख्न आदेश गरिसकेको छ। बिगो बुझाएर थुनामै मुद्दा लड्न पाउने मागसँगै लामिछानेले दायर गरेको निवेदनमा उच्च अदालतले जोशीको फाइल समेत पेश गर्न निर्देश गरेको थियो।

रविले यसअघि जिल्ला अदालतमा पनि बिगो दाखिला गरी सहकारी ठगी मुद्दाबाट छुटकारा दिन माग गरेका थिए। तर, जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते सो निवेदन अस्वीकार गरेको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोग दायर गरिएको छ। सो रकममध्ये लामिछानेले चार भागमा बाँडिएको बिगोमध्ये आफ्नो एक भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा पेस गरेका छन्।

जोशीले पनि त्यति नै रकमबापत जमानत पेस गरेका थिए। तर, दुवैको व्यक्तिगत बिगो कति पर्ने भन्ने नटुंगिएकाले दुवैलाई रिहा नगरिने निर्णय भएको थियो। पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन् ।

अनलाइन ठगीबाट जोगिन प्रहरीद्वारा सात बुँदे अनुरोध

काठमाडौँ । पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको हो ।

परिसरका प्रवक्ता पवनकुमार भट्टराईले नागरिक प्रलोभनमा परेर रकम ठगीमा पर्ने गरेका दैनिकजसो घटना आइरहेकाले सचेतनाका लागि सूचना जारी गरिएको बताए । उनका अनुसार सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाटस्एप, भाइबर, इन्स्ट्राग्रामलगायत माध्यामबाट ‘तपाईंलाई चिठ्ठा परेको छ, उक्त रकम प्राप्त गर्न केही रकम (राजस्व) तिर्नुपर्छ’ भनी रकम पठाउन लगाउँदै ठगी गर्नसक्ने भएकाले त्यसतर्फ सचेत हुन अनुरोध गरिएको छ ।

सार्वजनिक सूचनामा अनलाइनबाट सामान खरिद गरी रकम भुक्तानी तिर्दा आधिकारिक बिक्रेता यकीन गरी मात्र तिर्न र नगद दिँदा पनि सुरक्षित हुन अनुरोध गरिएको छ । प्रवक्ता भट्टराईले भने, “अपरिचित व्यक्ति वा नम्बरबाट श्रव्यदृश्य सन्देश (भिडियोकल) गरी उक्त कल रेकर्ड गरेर भिडियोलाई अश्लिल बनाएर ‘ब्ल्याकमेल’ गर्ने र पैसा माग्ने जोखिम बढेकाले, त्यसतर्फ पनि सावधान हुनुस् ।”
उनका अनुसार आफ्ना साथीभाइहरू तथा आफन्तले विभिन्न सामाजिक सञ्जालबाट समस्या देखाइ आर्थिक सहयोग मागेमा प्रत्यक्ष सम्पर्क गरी यकीन गरेर मात्रै सहयोग गर्न अनुरोध गरिएको छ । उक्त समयमा खाता ‘ह्याक’ हुनसक्ने भएकाले सचेत हुनुपर्ने जरुरी रहेको उनले बताए । सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्याममा सस्तो दरमा सामान देखाएर अग्रिम (एड्भान्स) रकम पठाउन लगाई ठगी हुनसक्ने भएकाले पनि त्यसतर्फ ख्याल गर्न सूचनामार्फत अनुरोध गरिएको छ ।

त्यस्तै अपरिचित वा नयाँ सामाजिक सञ्जालका कुनै पनि ‘लिङ्क’ नखोल्न अनुरोध गर्दै प्रहरीले आफ्नो ‘ओटिपी कोड’ अरुलाई नदिन, आफ्नो मोबाइलको ‘स्क्रिन’ कसैलाई नदिन, सामाजिक सञ्जालमा आफ्ना महत्त्वपूर्ण जानकारी नराख्न, आफ्नो ‘पासवर्ड’लगायत नीजि विवरण साथीभाइ वा नजिकैका आफन्तलाई पनि नदिन अनुरोध गरेको छ ।

दुर्गा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदैछ । यो रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

प्रसाईंको तर्फबाट उनका छोरा निराजन प्रसाईंले गैरकानुनीरुपमा आफ्ना बुवालाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा मंगलबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय सिंहदरबार र  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई रिटमा विपक्षी बनाइएको छ ।

प्रसाईलाई सोमबार राति भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो ।  शान्ति व्यवस्थामा खलल पुर्याएको कसुरमा प्रसाईंलाई पक्राउ गरेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट ४ दिनको म्याद थप भएको छ

रवि र छविको मुद्दामा सुनुवाइका लागि आज पेसी

रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ।

यसअघि कार्तिक २७ गते भएको सुनुवाइमा सर्वोच्च अदालतबाट मुल अभियोगको सक्कल मिसिल मगाउने आदेश भएको थियो।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो।

जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।

अदालतले लामिछाने र जोशीको मुद्दा एउटै साथ हेर्न यसअघि नै आदेश दिएको थियो। आज पेसी तोकिएपछि दुवै पक्षका कानुन व्यवसायीहरू बहसमा सहभागीका लागि तयारी गरेका छन्।

‘प्रत्यक्ष सन्देश’ सुविधा ल्याउने तयारीमा युट्युब

युट्युबले आफ्नो प्लेटफर्ममा प्रत्यक्ष सन्देश  सुविधालाई ल्याउने तयारी गरिरहेको छ। यो फिचरले प्रयोगकर्ताहरूलाई युट्युब मोबाइल एपभित्रै एकअर्कासँग भिडियोहरू साझेदारी गर्न र तिनका बारेमा कुराकानी गर्न अनुमति दिनेछ।

यो सुविधालाई युट्युबले ‘शीर्ष सुविधा अनुरोध’ को रूपमा वर्णन गरेको छ। युट्युबले पहिले नै यो सुविधा राखेको थियो। तर सन् २०१९ मा यसलाई हटाइएको थियो। युट्युबको पछिल्लो परीक्षणले भिडियोहरू साझेदारी गर्ने नयाँ तरिकाहरूलाई प्राथमिकता दिएको छ। हाल यो सुविधा आयरल्याण्ड र पोल्याण्डमा मात्र रोल आउट गरिएको छ।

यो सुविधा १८ वर्ष वा सोभन्दा माथिका वयस्कहरूका लागि मात्र उपलब्ध हुने भएको छ। प्रयोगकर्ताहरूले लामो, छोटो र लाइभ स्ट्रिम भिडियोहरू सिधै युट्युब मोबाइल एपमा सेयर गर्न र तिनको बारेमा कुराकानी गर्न सक्ने छन्।प्रयोगकर्ताहरूले च्याट सुरु गर्नुअघि एकअर्कालाई निमन्त्रणा पठाउनुपर्नेछ।

निमन्त्रणा अस्वीकार गर्ने विकल्प पनि हुनेछ। साथै प्रयोगकर्ताहरूलाई ब्लक गर्ने र कुराकानीहरू रिपोर्ट गर्ने सुविधा पनि उपलब्ध हुनेछ। यो सुविधा कहिलेदेखि विश्वव्यापी रूपमा व्यापक उपलब्ध हुन्छ भन्नेबारे युट्युबले हाल स्पष्ट पारेको छैन ।

प्रधानमन्त्री कार्कीका चार सन्देश

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार निर्वाचन आयोगमा दर्ता भएका १२५ वटा दललाई सरकारको प्राथमिकताबारे जानकारी दिन छलफलका लागि बोलाएकी थिइन् । जुन बैठकबाट उनले सरकार चुनाव गर्ने लक्ष्यमा स्पष्ट रहेको मात्र बताइनन् चुनाव नहुने भन्दै संसद् पुनर्स्थापनाको माग लिएर हिँडिरहेको एमालेलाई उनले  चारवटा सन्देश दिइन् ।

बैठकमा एमालेका तर्फबाट उपमहासचिव प्रदीप ज्ञवाली र विघटित प्रतिनिधिसभा सदस्य महेश बर्तौला सहभागी थिए । एमालेको नाम त प्रधानमन्त्री कार्कीले लिइनन् तर उनका सबै भनाइहरू अहिले संसद् पुनर्स्थापनाको माग राख्ने दलप्रति नै लक्षित थियो ।

एमालेले कार्की नेतृत्वको सरकारले चुनाव गराउन नसक्ने भन्दै आशंका गर्दै आएको छ । यतिमात्रै होइन एमालेले सरकारको निर्माण नै असैवंधानिक तवरले भएको भन्दै संसद् पुनर्स्थापनाको हुनुपर्ने अडानसहित अब अदालतमा रिट हाल्ने समेत तयारी गरेको छ ।

एमाले प्रतिनिधिहरूसमेत सहभागी भएको बुधबारको बैठकमा प्रधानमन्त्री कार्कीले उनीहरूका गतिविधि कुनै हालतमा जायज नरहेको सन्देश दिइन् । उनका चार सन्देश यस्ता छन् :

 १. संसद् पुनर्स्थापनाको माग राजनीतिक दुर्घटना निम्त्याउने कोशिस

२. लोकतन्त्रमा विश्वास गर्ने चुनावबाट भाग्ने ?

३. के अराजकता खोजेको हो ?

४. हेट स्पिच बन्द गर 

दुईतिहाइबाट मधेश सभामुख पदमुक्त

जनकपुरधाम — मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । प्रदेशसभामा अविश्वासको प्रस्ताव दुई तिहाइले पारित भएपछि उनी पदमुक्त भएका हुन् । पद अनुकूल आचरण नगरेको भन्दै उनीविरुद्ध २७ कात्तिकमा अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

कांग्रेस प्रमुख सचेतक कुमारकान्त झाले बुधबारको बैठकमा अविश्वासको प्रस्ताव पेस गरेपछि प्रदेश सांसद उपेन्द्र महतो, राजकुमार गुप्ता र जवाहरलाल कुशवाहाले समर्थन गरेका थिए ।

बैठकमा हाल कायम १ सय ४ प्रदेश सांसदमध्ये ७८ जना उपस्थित थिए । दुईतिहाइका लागि ७२ मत आवश्यक थियो । प्रस्तावको पक्षमा अर्थात् पदअनुसार आचरण नगरेको पक्षमा ७६ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए भने मण्डलको पक्षमा शून्य मत परेको थियो । प्रस्तावमाथि छलफल तथा निर्णयार्थ प्रस्तुत हुँदा एमाले (एकबाहेक), नेपाल संघीय समाजवादी र राप्रपाका प्रदेशसभा सदस्यहरू अनुपस्थित रहे ।

कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) नेपालका १९ (एक निलम्बित), जनमत पार्टीको १३ (एक उपसभामुख), माओवादी केन्द्रका ९ (एक अनुपस्थित), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ९ (एक निलम्बित), एकीकृत समाजवादीका सात र नागरिक उन्मुक्तिकी उर्मिलादेवी सिंहले उक्त प्रस्तावको पक्षमा मतदान गरेकी थिइन् । उपसभामुख बबिता राउत इसर र एमालेका प्रदेशसभा सदस्य शारदादेवी थापा उपस्थित भए पनि मतदानमा भाग लिइनन् ।

थापाले सरकार पक्षको उपस्थिति नभएकाले बैठक सञ्चालन नगर्न माग गर्दै नियमापत्ति जनाएकी थिइन् । त्यसपछि उपसभामुख राउतले बैठकमा सरकारको उपस्थितिका लागि निर्देशन दिँदै दस मिनेटका लागि बैठक स्थगित गरेकी थिइन् । तर पनि सरकारको उपस्थिति नभएपछि बैठक सञ्चालन भएको थियो ।

प्रदेशसभाको बुधबारको बैठक निर्धारित समयभन्दा साढे दुई घण्टा ढिलो सुरु भएको थियो । दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान भए पनि कार्यव्यवस्था परामर्श समितिको बैठक नै ढिलो सुरु भएको थियो । त्यसपछि बैठक सञ्चालन गर्ने सचिव नहुँदा केही समय अन्योल सिर्जना भएको थियो ।

बैठक सुरु भएपछि प्रदेशसभा सदस्य कुँवरकान्त झाले प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८२ को उपनियम १ बमोजिम सभामुख मण्डलले पद अनुकूल आचरण पेस नगरेको प्रस्ताव संसद्मा पेस गरेका थिए । त्यसपछि उक्त प्रस्तावमाथि छलफल भएको थियो । छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले मण्डलले सुरुदेखि नै दलीय पक्षधरता देखाएको र आफूविरुद्ध प्रस्ताव नआओस् भन्ने नियत राखेर नै पाँच जना प्रदेशसभा सदस्यलाई बिना कारण पदमुक्त गरेको आरोप लगाए ।

मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक

काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरिएको छ । बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्ले गरेका २५ निर्णय सार्वजनिक गरेका हुन् ।

निर्णयअनुसार सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा कल्पना कुमारी श्रेष्ठलाई तोकिएको छ । यस्तै नयाँ व्यवस्था नहुँदासम्म नेपाल एयरलाइन्सको कार्यकारी सञ्चालकमा अमृतमान श्रेष्ठलाई नियुक्त गर्ने, नेपाली सेनाका दुई तथा महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने, सशस्त्र प्रहरी नियमावली स्वीकृति गर्ने, राष्ट्रपतिसमक्ष अध्यादेश स्वीकृति गर्ने निर्णय भएको खरेलले बताए ।

1

2

सुदूरपश्चिम रोयल्सविरुद्ध काठमाण्डू गोर्खाजले पहिले बलिङ गर्ने

काठ्माण्डौ- नेपाल प्रिमियर लिग ( एनपीएल) मा काठमाण्डू गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा काठमाण्डूका कप्तान करण केसीले टस जितेर बलिङको निर्णय लिए ।

काठमाडौं लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा काठमाण्डूले जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको थियो । सुदूरपश्चिम पनि जितका साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छ ।

कर्फ्यू आदेश उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन

काठमाडौं । स्थानीय प्रशासनले लगाएको कर्फ्यू आदेश उल्लङ्घन गर्दै युवाहरूले बाराको सिमरामा प्रदर्शन गरेका छन् ।

नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको तनावपछि उत्पन्न हुन सक्ने जोखिम मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको छ ।

तर, सिमराको मुख्य बजार क्षेत्रमै ठूलो संख्यामा उपस्थित भएर युवाहरू नारावाजीसहित प्रदर्शन गरिरहेका छन् ।

सुरक्षाकर्मीहरूले माइकिङ गर्दै युवाहरूलाई आआफ्ना घर फर्कन भनिरहेका छन् ।

स्थानीय प्रशासनले गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ ।

बुधबार बिहानै बाराको मुख्य बजार क्षेत्रमा एमाले कार्यकर्ताले जेनजी अगुवा सम्राट उपाध्ययमाथि हातपात गरेपछि सुरु भएको झडपले विमानस्थल क्षेत्र तनावग्रस्त बनेको थियो।

एमालेले बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो । त्यसलाई सम्बोधन गर्दै काठमाडौंबाट एमाले उपाध्यक्ष शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य महेश बस्नेतलगायतका नेता सिमरा आउँदै थिए ।

सो कार्यक्रमलाई लक्षित गर्दै जेनजी अगुवा उपाध्यायले मंगलबार बेलुकी सामाजिक सञ्जालमार्फत् एमालेको कार्यक्रम असफल पार्ने गरी शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेका थिए ।

सोही विषयलाई लिएर बुधबार बिहान सिमरा चोकमा एमाले नेता–कार्यकर्ताले उपाध्यायमाथि हातपात गरेका थिए। त्यस पछि आक्रोशित युवाहरू एमाले नेताहरूलाई पछ्याउँदै विमानस्थल  पुगेपछि तनावको अवस्था उत्पन्न भएको थियो ।

काठमाडौंबाट आउन लागेका एमाले महासचिव पोखरेल, पोलिट्ब्युरो सदस्य बस्नेत लगायतलाई स्वागत गर्न बाराका एमाले नेताहरू तथा पूर्वसांसदहरू अच्युत मैनाली, किशान श्रेष्ठ, ज्वाला साह लगायत विमानस्थल पुगेका थिए ।

नेताहरू विमानस्थल भित्र पसेका बेला जेनजी युवाहरूले विमानस्थलको मुख्यगेट ढालिदिएका थिए । उनीहरूले विमानस्थलभित्र ढुंगा तथा सिसाका बोतल प्रहार गर्दै निरन्तर नारावाजी गरेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो ।

त्यसक्रममा प्रहरी र जेनजी युवाबीच झडप भएको थियो ।

एमसीसी नेपाल कम्प्याक्टका लागि थप ५ करोड अमेरिकी डलर सहयोग सुनिश्चित

काठमाडौं : नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ। एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ)को अनुदान रकम थप गर्ने घोषणा गरेको हो।

यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ। यसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ।

यो थप स्रोतले प्राथमिकता प्राप्त विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापारको अभिवृद्धिलाई सम्भव बनाउन मद्दत गर्ने जनाइएको छ।

सम्झौताले अमेरिकी प्रविधि र कम्पनीहरूका लागि नेपाली बजारमा प्रवेश गर्ने अवसरको विस्तार हुने उल्लेख छ।

सिमरा विमान क्षेत्रमा तनाव बढेपछि सबै उडान रद्द

सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेपछि बुधबार सिमराका लागि निर्धारित सबै उडान रद्द भएका छन् । स्थानीय प्रशासनले  सिमरा एर्पोटमा मध्याह्नदेखि साँझ ८ बजेसम्म कर्फ्यू जारी गरेसँगै उडानहरू प्रभावित भएका हुन्।

सिमराका लागि बुद्ध एयरको आज एक मात्र उडान भएको थियो। त्यो उडानमा नेकपा एमालेका नेताहरू जाने तयारी भएपछि जेनजीहरुले सिमरा एर्पोटमा प्रर्दशन गरेसँगै विमानस्थल तनावग्रस्थ भएको थियो ।

जेनजी विद्रोहपछि काठमाडौंबाट सिमराका लागि हुने सबै उडानहरू रद्द गरिएका हुन् । विमानस्थलमा उडान बन्दसँगै सुरक्षा संवेदनशीलता बढेपछि कर्फ्यू  जारी गरेको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।

इन्सेकको २९ औँ साधारणसभा काठ्माण्डौमा सम्पन्न

कैलाली- अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको २९ औँ साधारणसभा कात्तिक २८ गते काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आगामी तीन वर्षका लागी विजयराज  गौतमको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति  निर्वाचित गरेको छ ।  केही दिनपछि हुने नवनिर्वाचित कार्यसमितिको बैठकले पदाधिकारीको टुंगो लगाउने इन्सेकले जनाएको छ । यस्तै यस साधारणसभाले सरकार समक्ष पाँच वुदे समसामयिक प्रस्ताव पारित समेत गरेको छ ।

प्रस्तावहरु
१.  गत भदौ २३ र २४ गते नव युवापुस्ताले गरेको प्रदर्शनका क्रममा भएको मानवीय क्षति प्रति यो साधारणसभा दुुःख  व्यक्त गर्दछ । प्रदर्शनका क्रममा भएको मानवीय क्षति, आगजनी तथा लुटपाटका घटनाको निष्पक्ष छानविन गरी संलग्नहरू कानुनी दायराभन्दा बाहिर नहुने सुनिश्चचतताका लागि नेपाल सरकारसँग आग्रह गर्दछौँ । भदौ २३ र २४ गतेको घटनापछि सरकारले गठन गरेको छानविन आयोगले गरिरहेका कार्यहरुले यसको निष्पक्षतामाथि प्रश्न उठेकाले पूर्वाग्रहविना कार्य सम्पादनका लागि साधारणसभा माग गर्दछ ।

२. अन्तरिम सरकारले २०८२ फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्ने अवस्था सृजना गर्न नेपाल सरकारसँग यो साधारण सभा आग्रह गर्दछ । घोषित निर्वाचन सफलतापूर्वक सम्पन्न हुनसके मात्रै हालको संवैधानिक संकटबाट देशले मुक्ति पाउने र नवयुवा पुस्ताले उठाएका सुशासनका माग पुरा हुनसक्ने भएकाले निर्वाचनतर्फ ध्यान केन्द्रित गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्दछौँ ।

३. भदौ २४ गते नेपालका कारागारबाट फरार भएका करिब पाँचहजार कैदी बन्दी तथा लुटिएका हतियारले सामाजिक अमन चयन तथा आगामी निर्वाचनका लागि खतरा उत्पन्न हुने भएकाले कैदी बन्दी नियन्तरणका लागि विशेष अभियान सञ्चालन गर्नर लुटिएका हतियार फिर्ता ल्याउन आवश्यक संयन्त्र परिचालन गर्न नेपाल सरकारसँग माग गर्दछौँ ।

४. सशस्त्र द्वन्द्धपीडितको न्याय परिपूरणका सवाल विगत १९ वर्षदेखि समाधान हुन सकेको छैन । पीडितको सहमति, संवाद र सहकार्यमा संक्रमणकालीन न्यायको सवाललाई टुंगो लगाउन आवश्यक पहलकदमी लिन यो साधारण सभा नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।

५. लोकतन्त्रमा नागरिक संवादको मुख्य आधार नागरिक संस्था हुन् । नेपालका नागरिक संस्था तथा तिनका गतिविधिप्रति बढेको आक्रमणको साधारणसभा गम्भीर सरोकार व्यक्त गर्दछ । नागरिक समाज र नागरिक संस्थाको गतिविधि कमजोर हुँदा लोकतन्त्रलाई संस्थागत गर्न कठिनाइ हुने कुरालाई ध्यानमा राख्न साधारण सभा सरोकारवाला सबैको ध्यानाकर्षण गर्दछ ।

चीनले तीन नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपणका लागी पठायो

काठमाडौं । चीनले बुधबार ‘लङ मार्च–२सी’ बोक्ने रकेट प्रयोग गरेर तीन नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।

रकेट चीनको उत्तरपश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार दिउँसो १२ः०१ बजे उडान भरिएको थियो । यसले शिजियान–३०ए, शिजियान–३०बी र शिजियान–३०सी नामक उपग्रहहरू निर्धारित कक्षमा पुर्‍याएको छ ।

शिजियान–३०ए, शिजियान–३०बी र शिजियान–३०सी चीनद्वारा प्रक्षेपित प्रायोगिक उपग्रहहरूको समूह हो, जसको मुख्य उद्देश्य अन्तरिक्ष वातावरणको निगरानी, वैज्ञानिक अध्ययन तथा नयाँ प्रविधिको परीक्षण–प्रमाणीकरण गर्नु हो । यी तीनै उपग्रहहरू समन्वित रूपमा काम गर्ने गरी डिजाइन गरिएको छ ।

यी उपग्रहहरू मुख्यतः अन्तरिक्ष वातावरण अनुसन्धान र सम्बन्धित प्रविधि परीक्षणका लागि प्रयोग गरिने बताइएको छ । यो उडान लङ मार्च शृङ्खलाको ६०८औँ प्रक्षेपण मिशन हो ।

सुदूरपश्चिम रोयल्सको ‘मेडिकल पार्टनर’ बन्यो नेसनल पाथ ल्याब

काठमाडौं । नेसनल पाथ ल्याब दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘मेडिकल पार्टनर’ बनेको छ ।

सुदूरपश्चिम रोयल्स र नेसनल पाथ ल्याबबीच गत शुक्रबार यसबारे सम्झौता भएको छ । सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र नेसनल पाथ ल्याबका प्रबन्ध सञ्चालक पवन जोशीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि सुदूरपश्चिम रोयल्सका सीईओ खड्काले नेपालकै प्रतिष्ठित ल्याबसँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताए ।

‘नेसनल पाथ ल्याबसँग सम्झौता गर्न पाउँदा धेरै खुसी छौं,’ उनले भने, ‘यो सम्झौताले नेपालको स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश मिल्ने छ ।’

नेसनल पाथ ल्याबका प्रबन्ध सञ्चालक जोशीले यो साझेदारीलाई स्वास्थ्य क्षेत्रका लागि सुखद पक्ष रहेको प्रतिक्रिया दिए ।

‘नेसनल पाथ ल्याब सुदूरपश्चिम रोपल्ससँग जोडिन पाउँदा हामीलाई खुसी लागेको छ,’ उनले भने, ‘यो साझेदारीले स्वास्थ्य क्षेत्रमा राम्रो सफलता मिल्ने छ ।’

नेसनल पाथ ल्याब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘क’ वर्गको मान्यताप्राप्त अत्याधुनिक र सुविधासम्पन्न ल्याब (प्रयोगशाला) हो । यहाँ क्यान्सर, हर्मोन, मुटु, मिर्गौला, कलेजो, बाँझोपन, हाडजोर्नी लगायत ८ सयभन्दा बढी प्रकारका जाँज हुने गर्छ ।

खोज्नुहोस