जेन–जी आन्दोलनको क्रममा क्षति भएका मन्त्रालय सार्दै सुदूरपश्चिम प्रदेश सरकार

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका मन्त्रालय सार्ने भएको छ ।

प्रदेशका दुई मन्त्रालयमा काम नै नलाग्ने गरी क्षति पुगेपछि अन्य भवनमा सार्न थालिएको हो । प्रदेश सरकारका अनुसार आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय अर्को भवनमा सार्ने काम सुरु भइसकेको छ ।

‘आर्थिक मामिला मन्त्रालयको भवन पुनः प्रयोग गर्न सकिने अवस्थामै छैन,’ मन्त्रालयका उपसचिव धनबहादुर रोकायाले भने, ‘भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको भवनमा सार्न लागिएको छ ।’ उपसचिव रोकायाले भूमिगतको भवनमा व्यवस्थापनको काम सुरु भइसकेको बताउँदै एक सातापछि सोही भवनबाट सेवा सुचारु हुने जानकारी दिए ।

भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको भवन भर्खरै निर्माण गरिएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालय पनि सार्न थालिएको छ । सोही मन्त्रालयअन्तर्गतको मोहना सिँचाइ आयोजनाको कार्यालयमा मन्त्रालय सार्ने काम सुरु गरिएको मन्त्रालयका उपसचिव मेखराज जैशीले बताए । उक्त भवन पनि हालै निर्माण सम्पन्न गरिएको हो ।

२४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा प्रदेश सरकारको ५० करोड बढीको क्षति भएको छ । सवारीसाधन र जिन्सी सामग्री मात्रै ५० करोड ६३ लाखको क्षति भएको हो भने भवनको क्षति विवरण प्रदेश सरकारले सार्वजनिक गरेको छैन । आन्दोलनका क्रममा ६६ वटा चारपाङ्ग्रे सवारीसाधान र १०० वटा दुईपाङग्रे सवारीसाधन जलाइएको छ । भवनबाहेक सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयमा भएको छ । उक्त मन्त्रलयको १० करोड ५७ लाख ४६ हजार रुपैयाँको क्षति भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ९ करोड ७४ लाख रुपैयाँ, प्रदेशसभा सचिवालयमा ६ करोड ९३ लाख २१ हजार रुपैयाँ, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ५ करोड रुपैयाँ, सामाजिक विकास मन्त्रालयमा ४ करोड २५ लाख ६७ हजार रुपैयाँ, आर्थिक मामिला मन्त्रालयमा ३ करोड ७५ लाख ९४ हजार रुपैयाँ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ३ करोड ५५ लाख रुपैयाँ, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ३ करोड ३० लाख रुपैयाँ क्षति भएको छ ।

मुख्य न्याधीवक्ताको कार्यालयको १ करोड ७० लाख रुपैयाँ, प्रदेश प्रशिक्षण प्रतिष्ठानको १ करोड २५ लाख रुपैयाँ, प्रदेश लोकसेवा आयोगको ३१ लाख ९६ हजार रुपैयाँ र प्रदेश नीति तथा योजना आयोगको २५ लाख रुपैयाँ क्षति भएको प्रदेश सरकारले जनाएको छ ।

केपी ओलीका सामू लम्पसार पर्न तयार हुनेहरू गए हुन्छ : माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई संकेत गर्दै पार्टी छोडेर जान चुनौती दिएका छन् ।

बुधबार पार्टी केन्द्रीय समितिको बैठकमा उनले एमालेविरुद्ध विद्रोहको औचित्य थिएन भन्‍ने नेताहरूलाई केपी ओलीका सामू लम्पसार तयार भएको टिप्पणी गरेका हुन् ।

पार्टीभित्र सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूले एमालेसँगको विद्रोहको औचित्य अझै पुष्टि हुन नसककेको भन्दै प्रश्न उठाइरहेका थिए ।

‘एमाले विरुद्ध विद्रोहको औचित्य छैन भन्‍ने कुरामा  कुनै दम छैन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नु बाहेक केही होइन।’  उनले भने ।

उनले एकीकृत समाजवादी पार्टी खोलेर कुनै गल्ती नगरेको बताए ।  ‘चुनौती आइरह्नछन्। ती चुनौतीको सामना गर्नुपर्छ। हामीले चुनौतीको समाना गरेका थियौं।’ उनले भने ।

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सुरु

नेकपा एकीकृत समाजवादी (एस)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । सुकेधारास्थित मिराकल पार्टी भेनुमा बैठक सुरु भएको हो ।

एसको केन्द्रीय कमिटी बैठकले वामपन्थी पार्टीसँग एकताको विषयमा छलफल गर्ने बताइएको छ । नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने एसको तयारी रहेको छ ।

सोही कारण अहिले एसभित्र एकताको पक्ष र विपक्षमा दुईधार देखिएको छ । आजको बैठकमा नेताहरू त्यसरी विभाजित हुने नेताहरूले बताएका छन् । अध्यक्ष माधवकुमार नेपाल एकताको पक्षमा भए पनि सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरू एकताको पक्षमा खुलिसकेका छैनन् ।

बैठक १४ कात्तिकसम्म चल्नेछ ।

प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइमा न्यायाधीशहरूको आग्रह : अन्तरिम आदेशबारे बहस केन्द्रित गर्नुहोस्

काठमाडौं । संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूले प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइ मा अन्तरिम आदेशबारे बहस केन्द्रित आग्रह गरेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। अधिवक्ता प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले बहस गरिसकेका छन् ।

बहसका क्रममा न्यायाधीशहरूले कानुन व्यावसायीहरूलाई अन्तरिम आदेशबारे बहस केन्द्रित गर्न भनेका हुन् ।

न्यायाधीश कुमार रेग्मीले भनेका छन्, ‘अन्तरिम आदेशमा निर्वाचन पनि नगर भन्ने ? त्यसो हो भने सबै ठप्प हुने भयो । ठप्प भएर मुलुक चल्छ ?’

न्यायाधीश सपना प्रधान मल्लले इजलासबाट सोधिकी छन्, ‘अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने ? पर्ने भए के-के विषयमा अन्तरिम आदेश दिने ?’

अरू न्यायाधीशहरुले पनि यही प्रश्न गरेका छन् ।

संवैधानिक इजलासबाट बारम्बार अन्तरिम आदेशबारे बहस केन्द्रित गर्न भनिएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् ।

जेन-जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेश सरकारको ५० करोड बढी क्षति

कैलाली- जेन-जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतका मन्त्रालय तथा कार्यालयहरूमा भवनबाहेक सवारीसाधन र जिन्सी सामग्री मात्र ५० करोड बढीको क्षति मूल्यांकन गरिएको छ ।

सात वटा मन्त्रालय रहेको सुदूरपश्चिममा आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय रहेका भवनहरू प्राविधिक रूपमा मर्मतसमेत गर्न अयोग्य भनिएपछि ती मन्त्रालयहरू अर्को भवन खोजेर सार्ने क्रममा छन् ।

प्रदेश सरकारले संकलन गरेको तथ्यांक अनुसार ६६ वटा चार पाङ्ग्रे सवारीसाधन र एक सय वटा दुई पांग्रे सवारीसाधन क्षति भएको उल्लेख छ । सवारीसाधन र जिन्सी सामग्रीमा भएको क्षतिको प्रारम्भिक मूल्यांकन प्रतिवेदन अनुसार ५० करोड ६३ लाख २४ हजार क्षति आकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । ‘भवनहरूमा भएको क्षति यसमा संलग्न गरिएको छैन,’ मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले भने ‘आर्थिक र भौतिक मन्त्रालयको भवनमा बस्नै नसकिने गरी क्षति भएकाले ती मन्त्रालय अन्य भवनमा सार्ने तयारी भइरहेको छ ।’

प्रतिवेदन अनुसार सबैभन्दा बढी क्षति भौतिक पूर्वाधार विकास मन्त्रालयको भएको छ । उक्त मन्त्रालयमा भवनबाहेक १० करोड ५७ लाख ४६ हजार अनुमान गरिएको छ । भौतिक मन्त्रालयमा सवारीसाधनमा क्षति पनि सबैभन्दा धेरे भएको छ ।

१४ वटा चार पांग्रे र २० वटा २ पांग्रे सवारीसाधनमा आगजनी गरिएको मन्त्रालयको तथ्यांक छ । दोस्रोमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको क्षति भएको छ । उक्त कार्यालयको क्षति ९ करोड ७४ लाख रहेको उल्लेख छ ।

क्षति बढी हुने तेस्रो कार्यालय प्रदेश सभा सचिवालय हो । प्रदेश सभा सचिवालयमा भवनबाहेक ६ करोड ९३ लाख २१ क्षति भएको तथ्यांक छ । यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ५ करोड, सामाजिक विकास मन्त्रालयमा ४ करोड २५ लाख ६७ हजार, आर्थिक मामिला मन्त्रालयमा ३ करोड ७५ लाख ९४ हजार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ३ करोड ५५ लाख, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ३ करोड ३० लाख क्षति भएको छ ।

मन्त्रालयबाहेक मुख्य न्यायाधिवक्ता कार्यालय, प्रदेश नीति तथा योजना आयोग, प्रदेश लोकसेवा आयोग र प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सवारीसाधन र जिन्सी सामानमा पनि आगजनी भएको छ । मुख्य महान्यायाधिवक्ता कार्यालयमा एक करोड ७० लाख, प्रदेश प्रशिक्षण प्रतिष्ठानको एक करोड २५ लाख, प्रदेश लोक सेवा आयोगको ३१ लाख ९६ हजार र प्रदेश नीति तथा योजना आयोगको २५ लाख क्षति भएको तथ्यांक छ ।

मन्त्रालयको भवन पुनः प्रयोग गर्न नमिल्ने गरी आगजनी गरिएपछि भौतिक पूर्वाधार मन्त्रालय सोही मन्त्रालय अन्तर्गतको मोहना सिँचाइ आयोजनाको कार्यालयका लागि हालै निर्माण सम्पन्न गरिएको भवनमा सार्ने काम सुरु गरिएको छ । मन्त्रालयका कर्मचारीहरूका अनुसार मंगलबारदेखि पुरानो भवनमा बचेका कागजात सार्ने र नयाँ फर्निचर सेटअप गर्ने काम सुरु भएको मन्त्रालयका उपसचिव मेखराज जैशीले बताए ।

आर्थिक मामिला मन्त्रालयको भवन समेत पुनः प्रयोग गर्न नमिल्ने भएपछि भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको हालै निर्मित भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको भवनमा सार्न लागिएको छ । ‘भवन मात्र तयार भएको थियो । आन्तरिक कामहरू तयार गरेर हाम्रो मन्त्रालय सार्ने काम सुरु भएको छ,’ मन्त्रालयका अधिकृत सुरज श्रेष्ठले भने ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन, भूमि व्यवस्था कृषि तथा सहकारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा भने पुरानै भवनमा मर्मत कार्य भइरहेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको भवनमा तोडफोड मात्र भएको थियो ।

मंगलबारसम्म कुनै पनि मन्त्रालयका कर्मचारीहरू लयमा फर्किसकेका छैनन् । सबै कर्मचारीहरू हाजिर भए पनि पूर्वाधार अभावले काम गर्ने वातावरण भने नबनेको सम्बन्धित मन्त्रालयका कर्मचारीहरू बताउँछन् । ‘मन्त्रालय मातहतका जिल्ला कार्यालयहरूबाट काम भइरहेको छ, मन्त्रालयहरूमा अझै काम गर्ने वातावरण तयार भएको छैन,’ मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले भने ।

कात्तिक २२ भित्र प्रतिनिधिसभा समानुपातिक उम्मेदवार आह्वान गर्ने रास्वपाको निर्णय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको आगामी फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको छ । रास्वपा सचिवालयको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको हो ।

रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार कात्तिक २२ गतेभित्र समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्ने निर्णय भएको छ । ‘आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित तयारीहरूको क्रममा समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्नका लागि आवश्यक दस्तावेजहरूबारे छलफल गरियो,’ रास्वपा सचिवालयको निर्णय छ, ‘२०८२ कात्तिक २२ भित्र समानुपातिक तर्फको उम्मेदवारी आह्वान गर्ने निर्णय गरियो ।’

त्यस्तै, प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलनका लागि सहजीकरण अभियान संचालन गर्ने पनि रास्वपाको निर्णय छ । ‘निर्वाचन आयोगले मतदाता नामावली दर्ताको लागि यहि कात्तिक मसान्तसम्मको लागि समयसीमा तोकेको र देशभर धेरै नवयुवा लगाएत नागरिकहरूको मतदाता नामावलीमा दर्ता नभएको अवस्थालाई ध्यानमा राख्दै मतदाता नामावली दर्ताको लागि नवयुवा एवं आम नागरिकलाई सहजीकरण गर्नका लागि पार्टी संयन्त्र रहेको हरेक वडा, पालिका, निर्वाचन क्षेत्र र जिल्ला तहमा मतदाता नामावली दर्ता सहजीकरण अभियान यही कात्तिक ११ देखि २५ सम्म संचालन गर्ने निर्णय गरियो,’ रास्वपाको निर्णय छ ।

रास्वपाले जेन-जी आन्दोलनपछिको परिस्थितिको विषयमा कात्तिक १४ मा बृहत राजनीतिक संवाद कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ । ‘आम नेपाली जनताले आशा अपेक्षा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरूबीच सार्थक सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थवोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि यहि कात्तिक १४ गते “बृहत् राजनीतिक संवाद” आयोजना गर्ने निर्णय गरिएको छ,’ रास्वपाले भनेको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस सुरु

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ ।

सुरुमा अधिवक्ता प्रेमराज सिलवालले बहस सुरु गरेका छन् ।

प्रतिनिधि सभा विघटन विरुद्धको रिटमाथि सुनुवाई गर्न संवैधानिक इजलास गठन भएको छ । इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधिशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् ।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत २७ भदौमा प्रतिनिधि सभना विघटन गरेका थिए । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि आजबाट संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि प्रतिनिधिसभाबाट सरकार बन्ने अवस्था बनेन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । सोही अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको हो ।

सरकार गठन र प्रतिनिधिसभा विघटन दुवै संविधानसम्मत नरहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । ति रिटहरूमाथि आजबाट सुनुवाई सुरु भएको हो ।

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा मुद्दामा बहसकर्तालाई ५/५ मिनेट समय दिइएको छ । संवैधानिक इजलासमा बहसकर्तालाई समय व्यवस्थापन गर्नका लागि समय तय गरिएको हो ।

प्रतिनिधि सभा विघटनविरुद्ध युवराज पौडेल, अधिवक्ता किर्तीनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, अधिवक्ता खडकबहादुर शाह, डम्बर प्रसाद शिवाकोटी, अधिवक्ता दल बहादुर धामी, अधिवक्ता प्रकाश भूजेल, अधिवक्ता बिपिन ढकालले रिट दिएका छन् ।

आयुष भण्डारी, अधिवक्ता आभाष पोखरेल, ओम प्रकाशजङ्ग शाह, अधिवक्ता विमल पोखरेल, अधिवक्ता डा पुण्यप्रसाद खतिवडा र अधिवक्ता शेरबहादुर रोकायाले अन्तरिम सरकार गठन र प्रतिनlिधसभा विघटन संविधानसम्मत नरहेको दाबी गर्दै रिट निवेदन दिएका हुन् ।

नेकपा एसका ५२६ जनाले गरे पार्टी पुनर्गठनको माग, झाँक्रीको समर्थन

काठमाडौं । एकीकृत (समाजवादी)को विभिन्न संगठनमा आबद्ध ५२६ जना पार्टी पुनर्गठनको माग गरेका छन्। माओवादी केन्द्रसँग एकताको प्रयास भइरहेको बेलामा संयुक्त अपिल जारी गर्दै अन्य दलसँगको गठजोडको बहस छाडेर पार्टी पुनर्गठनमा गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्।

अपिलमा भनिएको छ, ‘अन्य दलसँगको गठजोडको अनावश्यक बहसमा समय गुजार्नेतिर लाग्नुको बदला नेकपा (एस) भित्र यथाशक्य नेतृत्व सम्मानजनक अभिभावकको भूमिका निर्वाह गरी पुस्तान्तरण र हस्तान्तरणको कार्ययोजनासहित आम नागरिक र विशेषतः जेनजी पुस्तालाई उनीहरूले उठान गरेका विषयलाई संगठित रूपमा पुरा गर्न हाम्रो पार्टीको झन्डामुनि गोलवन्द भएर सम्भव छ भन्ने विश्वास दिलाउँदै अगाडी बढ्नु पर्दछ ।’

यो प्रस्तावलाई स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पनि समर्थन गरेकी छन्। समयको माग अनुसार पार्टीमा जेनजी पुस्ता अगाडि आउनुपर्ने उनको भनाइ छ।

उनले भनेकी छन्, ‘यो मात्र पुस्ता हो, न वर्ग हो, न जातजाति हो, न त यो विचार धारा हो, न भूगोल वा क्षेत्र हो। यो त मात्र एउटा निश्चित समयमा जन्मेका मान्छेहरूको समूह मात्र हो। त्यसैले यसलाई राजनीति र विचारधारात्मक रूपमा दीक्षित गर्दै संगठित गर्नुपर्छ।’

जेनजी पुस्तालाई राजनीति र विचारले परिपक्व बनाएर देशको नेतृत्व गर्न सक्ने बनाउनुपर्ने उनको भनाइ छ।

‘राजनीतिक दलका युवा विद्यार्थी सङ्गठनहरू समाजमा प्रभावहीन भएकै कारण यो पुस्ताले स्पेस लिएका हुन, सङ्घर्ष सुरु गरेको हो। विचार र राजनीतिमा संगठित नभएकै कारण त्यो विद्रोह अरूले हाईज्याक गरे। तपाईँहरूको प्रयास ठिक छ’ उनले भनेकी छन्, ‘मिल्नेहरू जोडिँदै जान्छन, नमिल्नेहरू छोडिँदै जान्छन, यो अभियान हो । आत्तिनु पर्दैन। अगाडी बढ्नुस् मेरो सधैँ साथ र धेरै शुभकामना छ।’

त्यसो त हालै बसेको स्थायी कमिटी बैठकमा महासचिव घनश्याम भुसालसहित नेताहरू जीवनराम श्रेष्ठ, डा.विजय पौडेल, रामकुमारी झाँक्रीलगायत नेताहरूले अध्यक्ष माधव नेपालको राजीनामा मागेका थिए। आजबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकमा पनि यो विषयले प्रवेश पाउने नेताहरूले बताएका छन्।

नेपाल-भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

काठ्माण्डौँ- नेपाल र भारतको महिला फूटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल बुधबार हुने भएको छ । यसअघि, एन्फाले उक्त खेल बिहीबार खेलिने बताएको थियो ।

नेपाल र भारतबीचको दोस्रो खेल सिक्किममा खेलिने छ । यसअघि, नेपाली टोलीले भारतमै त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो ।

मेघालयको सिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा खेलिएको त्रिदेशीय खेलमा इरान च्याम्पियन बनेको थियो ।

नेपाली टोली पहिलो खेलमा इरानसँग ०–३ गोलले पराजित भएको थियो ।

अर्को खेलमा इरानले भारतलाई २–० गोलले हराएको थियो । तेस्रो खेलमा नेपाली टोलीले चिरप्रतिद्वन्द्वी भारतलाई २–१ गोलले हराएको थियो ।

उक्त खेलमा नेपाली टोलीका लागि दुवै गोल सावित्रा भण्डारी ‘साम्बा’ले गरेकी थिइन् । त्रिदेशीय खेल फिफा विन्डोअन्तर्गत खेलिएको थियो । तर, बुधबार हुने नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भने फिफा विन्डोमा परेको छैन ।

संसद् विघटनको मुद्दा हेर्न संवैधानिक इजलास गठन

काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दा हेर्न हेर्न संवैधानिक इजलास गठन भएको छ ।

इजलसामा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधिशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् ।

सरकार, दल र जेनजीबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्ने भएको छ ।

छलफलका लागि सरकारले आज (बुधबार) त्रिपक्षीय बैठक आयोजना गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे हुने बैठकका लागि सरकारले राजनीतिक दल र जेनजी समूहलाई आमन्त्रण गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना गरिएको बताए ।

उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षहरूसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए । यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबैपक्ष सकारात्मक भएका थिए ।

यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछिको औपचारिक राजनीतिक संवादले निर्वाचन वातावरण तयार गर्ने अपेक्षा सरकारको छ ।

नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई मन्त्री घिसिङको आह्वान

नयाँ दिल्ली। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै मन्त्री घिसिङले आह्वान गरे, ‘जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइन तथा ऊर्जा सम्बन्धकासाथ हामीसँग क्षेत्रलाई दिगो रूपमा ऊर्जायुक्त बनाउन सक्ने सम्भावना छ, म हाम्रा मित्र राष्ट्रहरू र साझेदारहरूलाई निम्तो दिन्छु—नेपालमा लगानी गर्नुहोस्, नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस् र सबैका लागि उज्यालो र हरित भविष्यको हिस्सा बन्नुहोस् ।’

बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पना (Envisioning Regional and Global Interconnections for Large-Scale Clean Energy Transition) बारे सभाको विषयगत सत्रमा विशाल ऊर्जा सम्भावनाको दिगो विकास र त्रिपक्षीय विद्युत् व्यापार (नेपाल–भारत–बङ्गलादेश) का लागि मार्गचित्र विषयमा मुख्य/विशेष वक्ताको रुपमा मङ्गलबार सम्बोधन गर्दै मन्त्री घिसिङले नेपालको जलविद्युत दक्षिण एशियाकै स्वच्छ ऊर्जा रुपान्तरणको रणनीतिक सक्षमकर्ता स्रोतको रुपमा रहेको बताए । नेपालको जलविद्युत यस क्षेत्रको लचिलो तथा स्थिर ग्रिडका लागि महत्वपूर्ण स्रोत रहेको उनले उल्लेख गरे ।

जलविद्युत उत्पादन देशको विकासलाई मात्र नभई दक्षिण एशियाकै स्वच्छ तथा हरित ऊर्जा प्रमुख निर्यातकर्ता बन्ने नेपालको भिजन रहेको उल्लेख गर्दै घिसिङले सन् २०३५ सम्ममा १५ हजार मेगावाट नविकरणीय ऊर्जा निर्यातको लक्ष्यसहित नेपाल र भारतले संयुक्त रुपमा उच्च क्षमताका प्रसारण लाइन पूर्वाधार पहिचान गरी निर्माणका काम भइरहेको बताए ।

झण्डै ८३ हजार मेगावाट जलविद्युत् सम्भावना र करिब ४२ हजार मेगावाट पम्प स्टोरेज जलविद्युत सम्भावनाले सम्पन्न ऊर्जाका स्रोत स्वच्छ, नवीकरणीय र नेपालका छिमेकी देशहरूको सौर्य तथा वायु ऊर्जासँग उत्कृष्ट रूपमा परिपूरक रहेको उनले उल्लेख गरे ।

उनले क्षेत्रीय र विश्वव्यापी रुपमा ग्रिड विकसित हुँदै जाँदा अन्तरआवद्ध प्रसारण सञ्जालले विभिन्न क्षेत्रहरूबीच नविकरणीय ऊर्जा प्रवाह सम्भव बनाउँदै विद्युत माग र आपूर्तिको सन्तुलन कायम गर्ने, लागत घटाउने र पहुँच विस्तार गर्ने बताए ।

‘यो दृष्टि एक सूर्य, एक विश्व, एक ग्रिड अवधारणासँग पूर्ण रूपमा मेल खान्छ, जहाँ स्वच्छ ऊर्जा सीमाना नाघेर सहज र दिगो रूपमा प्रवाहित हुन्छ, यस दृष्टिलाई वास्तविकता बदल्न क्षेत्रीय देशहरूले एकीकृत विद्यु्त बजारतर्फ अघि बढ्नुपर्छ,’ उनले भने ।

‘सहज, भेदभावरहित र अप्रतिबन्धित हरित ऊर्जाको प्रवाह सुनिश्चित गर्छ, यसका लागि पारदर्शी नियमन, मापदण्डहरूको एकरुपता र प्रसारण पूर्वाधारमा खुला पहुँच विस्तार जस्ता कुरा निजी लगानी आकर्षित गर्न र दीर्घकालीन दिगोपन सुनिश्चित गर्ने मुख्य तत्वहरू हुनेछन् ।’

सीमापार ऊर्जा सहकार्य नेपालको स्वच्छ ऊर्जाभिजनको मुटुमा रहेको उल्लेख गर्दै घिसिङले विद्युतको प्रभावकारी क्षेत्रीय एकीकरण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) मा आवद्ध मुलुकहरुबीचको पूर्ण आवद्ध ग्रिडको जग बसाल्न नेपाल–भारत मात्र होइन, भारत–बङ्गलादेशबीचको प्रसारण पूर्वाधार पनि सुदृढ गर्न अत्यावश्यक रहेकोमा जोड दिए ।

उनले जलवायु परिवर्तनका विद्युत प्रणाली र जीविकोपार्जनमा परिरहेको गम्भीर क्षतिलाई सम्बोधन र न्यूनीकरण गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यलाई अझै सुदृढ बनाउन आह्वान गरे ।

मन्त्री घिसिङले भने, ‘दिगोपनको अर्को महत्वपूर्ण पक्ष भनेको जलवायु परिवर्तनका बढ्दो प्रभावसँग जुध्न हाम्रो ऊर्जा पूर्वाधारको सहनशीलता हो, यद्यपि नेपालको कार्वन उत्सर्जनमा योगदान नगन्य छ, बारम्बार बढ्दै जाने बाढी र खडेरीका घटनाले हाम्रो विद्युत् प्रणाली र जीविकोपार्जनमा गम्भीर क्षति पुर्याइरहेका छन्, जसका कारण प्रायः ठूला पुनर्निर्माण आवश्यक पर्दछ, त्यसैले जलवायुप्रतिरोधी पूर्वाधारलाई सुदृढ बनाउनु हाम्रो राष्ट्रिय प्राथमिकता हो, र हामी यी जलवायुजन्य क्षतिहरूलाई सम्बोधन र न्यूनीकरण गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउन आह्वान गर्दछौं ।’

बंगालको खाडीको ‘मोन्था चक्रवात’ दुई दिनभित्र नेपाल प्रवेश गर्दै

काठमाडौँ। बंगाललको खाडीमा विकसित भएको ‘मोन्था’ नामक सामुद्रिक चक्रवात आगामी दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। चक्रवातको प्रभावले विशेषगरी कोशी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ।

हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको यो चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिएका छन्।

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भोलि हुने

काठमाडौं : नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भोलि (बुधबार) हुने भएको छ। यसअघि बिहीबार हुने भनी तय गरिएको मैत्रीपूर्ण खेल एक दिन अगाडि सारिएको हो।

नेपालकी कप्तान सावित्रा भण्डारीसहित एन्जिला तुम्बापो सुब्बा र प्रिती राईले यो खेल गुमाउने भएका छन्।  सावित्रा भण्डारी र एन्जिला तुम्बापो सुब्बा आफ्नो व्यवसायीक फुटबल खेल्न क्लबमा फर्किएका हुन् भने प्रिती झापा गोल्ड कपका लागि झापा आएकी हुन्।

मैत्रीपूर्ण खेल सिक्किममा हुँदैछ। खेलले फिफा अन्तर्राष्ट्रियको मान्यता भने पाएको छैन।

सर्वोच्चले प्रहरीमा जाहेरी दिने

काठमाडौं । सर्वोच्च अदालतले देशभरका अदालतमा भएको तोडफोड र क्षतिमा संलग्नहरूलाई कारबाहीको माग गरी प्रहरीमा जाहेरी दिने भएको छ । गत आइतबार सबै न्यायाधीश पूर्ण बैठक (फूल कोर्ट) को बैठकले प्रहरीमा जाहेरी दिने निर्णय गरेको हो ।

‘जाहेरी लेख्ने क्रम चलिरहेको छ, भोलिसम्ममा जिल्ला प्रहरी परिसर, काठमाडौंमा गएर जाहेरी दर्ता हुन्छ होला,’ सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले अनलाइनखबरसँग भने, ‘हामीले यकिन गर्न नसकेकाले कसैको पनि नाम किटानी गर्न सकेका छैनौं, प्रहरीले नै अनुसन्धानबाट यकिन गरी संलग्नहरूलाई कारवाही गरोस् भन्ने हाम्रो चाहना हो ।’

आइतबारको फूलकोर्टको बैठकले सर्वोच्च सहित देशभरको अदालतमा आगजनी र क्षति गर्नेलाई कारवाहीको माग सहित कानूनी उपचार खोज्नुपर्ने निर्णय गरेको थियो । तर जाहेरी दिने काममा न्यायाधीश नभई सर्वोच्च अदालत प्रशासनका उच्च अधिकारीहरू संलग्न हुनेछन् । सम्भवत: मुख्यरजिष्ट्रार वा रजिष्ट्रारहरूको नामबाट जाहेरी पेश हुनेछ ।

जेन–जी आन्दोलनमा भएको दमनको भोलीपल्ट देशव्यापी रुपमा भएको तोडफोड र आगजनीका कारण रामशाहपथस्थित सर्वोच्च अदालत आगजनीले ध्वस्त भएको थियो । करिब तीन दिनसम्मको आगोले अदालतमा विचाराधीन करिव २० हजार मुद्दाका फाइल जलेका छन् भने फैसला भइसकेका एक लाख ९७ हजार फाइल नष्ट भएका छन् ।

आगजनीले न्यायाधीश, कर्मचारीले प्रयोग गरेका ५० भन्दा बढी चारपाङ्ग्रे सवारीसाधन जलेर नष्ट भएका छन् । त्यसक्रममा सर्वोच्च अदालत परिसरमा रहेका किरव डेढ सयभन्दा बढी मोटरसाइकल जलेका छन् । त्यसक्रममा अदालतमा आएका सेवाग्राही र कानून व्यवसायीका केही गाडी र मोटरसाइकल पनि जलेको अनुमान छ ।

सर्वोच्च अदालत मात्रै नभई अरु अदालतको आगजनी र तोडफोडमा संलग्नहरूमाथि समेत कारवाहीको मागको विवरण जाहेरीमा समावेश गर्ने सर्वोच्च अदालत प्रशासनको तयारी छ । काठमाडौंमा सर्वोच्च सहित विशेष अदालत र जिल्ला अदालत काठमाडौं आगजनीका कारण क्षतिग्रस्त भएका छन् ।

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले दिए राजीनामा

काठमाडौं। राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् ।

सचिव अर्यालले सचिवको पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क)बमोजिम आजैदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ …सेवा र शर्त सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२/०७/११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ ।’

दसैँतिहार सकिएसँगै सुदूर पहाडमा जात्राको रौनक

कैलाली- नेपालीका दुई ठूला पर्व दसैँ र तिहार सकिएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ । कात्तिक शुक्लपक्षको सुरुवातसँगै विभिन्न शक्तिपीठमा जात्राको रौनक सुरु भएको हो ।

बैतडीको प्रसिद्ध शिवनाथ धाममा आजदेखि जात्रा सुरु भएको छ । आज साँझको समयमा शिवनाथ गाउँपालिकाका विभिन्न स्थानबाट देउरो आइसकेपछि राति शिवनाथ मन्दिरमा पूजा लाग्ने गर्छ । शिवनाथको जात्रामा छालाको गिर (भकुण्डो) खेल्ने प्रचलन रही आएको छ । शिवनाथ गाउँपालिकाको कफाडीस्थित उदयदेव मन्दिरमा दसैँको समयमा बलि गरिएको राँगाको छालाबाट उक्त गीर बनाउने गरिन्छ । शिवनाथ जात्राको अवसरमा शिवनाथ गाउँपालिकाले दुई दिन स्थानीय बिदा पनि दिएको छ ।

बैतडीकै प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने ‘देहिजात’ १८ र १९ कात्तिकमा हुने भएको छ । जात्रामा राँगाको बलि दिने गरिन्छ । ‘देहिजात’मा मेलौली भगवतीको दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरूसमेत आउने गरेका छन् ।

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष मनाइने देहिजात अर्थात् उग्रतारा मेला १९ कात्तिकमा लाग्ने भएको छ । उग्रतारा क्षेत्र विकास समितिका अनुसार हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउसेडी मेला लाग्दै आएको छ । यस वर्ष कात्तिक १८ कात्तिकमा रतेडी र १९ कात्तिकका दिन दिउसेडी लाग्ने क्षेत्र विकास समितिले जनाएको छ । डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका– ८ को सुन्दर डाँडामा अवस्थित उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पुग्ने गरेका छन् ।

चौलोले प्रख्यात रहेको सुदूरपश्चिमको प्रसिद्ध बडाल जाँत भने १५ कात्तिकमा हुने भएको छ । १४ कात्तिकको राति रतेडी र १५ कात्तिकमा दिउसेडी मेला लाग्ने वडाध्यक्ष मनोज देउवाले बताए । लाटागन्याप देवताको भक्ति स्वरुप मनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले उक्त मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ । सुदूरपश्चिमकै सबैभन्दा बढी दाइन, दमाहा र भोक्कर बजाइने मेलाका रूपमा समेत बडाल जाँता प्रसिद्ध छ ।

यस वर्षको जगन्नाथ मेला (खोले जाँत) २२ कात्तिकमा लाग्ने भएको छ । अजयमेरु गाउँपालिका वडा नम्बर ३ र ४ को सिमानामा पर्ने प्रसिद्ध जगन्नाथ धाममा २१ कात्तिकमा रतेडी र २२ कात्तिकमा दिउसेडी परेको हो । मेलामा गुनपाल, चौडी, चिपुर र मड गाउँका भक्तजनहरूले देउरो बोकेर जगन्नाथ मन्दिरमा पुग्ने परम्परा छ । यस्तै, डडेल्धुरामा प्रसिद्ध भागेश्वर (धुरा) जाँत १८ गते लाग्ने भएको छ ।

उता सुदूरपश्चिम प्रदेशको प्रख्यात धार्मिक एवं पर्यटकीयस्थल बडीकेदार धाममा १७ कात्तिकमा मेला लाग्ने भएको छ । डोटीको दक्षिणी क्षेत्रमा अवस्थित बडिकेदार गाउँपालिका र बोगटान फुडसिल गाउँपालिकाको संगमको रूपमा रहेको बडिकेदारधाममा १६ कात्तिकदेखि तीन दिनसम्म धार्मिक मेला लाग्ने बडिकेदार धामका मूल पुजारी सिद्धराज बिनाडीले जानकारी दिए । बडिकेदार धाममा १६ र १७ कात्तिकमा मेला तथा १८ कात्तिकमा केदार पुजनको कार्यक्रम रहेको उनले बताए ।

डोटीको बोगटान फुडसिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने धार्मिकस्थल बडिकेदारधाममा वैकुण्ठ चतुर्दशीमा पुजन गर्ने चलन छ । बडिकेदार दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । बडिकेदारधाममा जान कैलालीको सहजपुरबाट डोटीको विपिनगर, खँड्यौली बजारहुँदै अत्तरकाडासम्म सडकको सुविधा छ । त्यहाँबाट सवा एक घण्टाको पैदल यात्रामा बडिकेदारधाममा पुग्न सकिन्छ ।

सूचना संकलनका लागि जाँचबुझ आयोगका पदाधिकारीहरू देशव्यापी भ्रमणमा

काठमाडौं । गत महिनाको जेनजी आन्दोलनमा भएको दमन र भोलीपल्टको आगजनीको घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगका पदाधिकारीहरू सूचना एवं विवरण संकलनका लागि देशव्यापी दौडाहामा लागेका छन् ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की हेटौंडामा छन् । उनी त्यहाँबाट मधेश प्रदेशको पश्चिमी भागहरू घुमेर फर्किने योजना छ ।

सदस्य विज्ञानराज शर्मा केही साताअघि विराटनगर लगायतका क्षेत्रमा एक चरण भ्रमण गरिसकेका छन् । अब उनी पोखरा लगायतका क्षेत्रमा पुगेर फर्किने योजना छ । अर्का सदस्य विश्वेश्वर भण्डारी नेपालगञ्ज लगायतका क्षेत्रमा जाँदैछन् । उनले पश्चिमक्षेत्रका केही ठाँउको स्थलगत भ्रमण गरेर सूचना संकलन गर्ने तयारी छ ।

‘आयोगले काठमाडौंमा एक चरणको विवरण संकलन गरेपछि देशका अन्य भागको पनि विवरण संकलनको काम गर्दैछ’ आयोगका एक कर्मचारीले भने, ‘स्थलगत सूचना संकलनका लागि सकेसम्म आयोगकै पदाधिकारी संलग्न हुने नीति अनुसार नै पदाधिकारीहरू फिल्डमा जानुभएको हो ।’

आयोगले सामाजिक सञ्जाल एवं सार्वजनिक वृत्तमा उपलब्ध भिडियो एवं अरु प्रमाण अध्ययनका लागि नेपाली प्रहरी लगायत विभिन्न सेवाका कर्मचारीहरूलाई काजमा झिकाएको छ । उनीहरूले उजुरीका आधारमा अरू विवरण एवं प्रमाण संकलनको काम गरिरहेका छन् ।

यो साता देशका विभिन्न ठाँउमा पुग्ने पदाधिकारीहरू शनिबारसम्म फर्कने र अर्को सातादेखि काठमाडौंमै केन्द्रित अनुसन्धानको काम अघि बढाउने आयोगको तयारी छ ।

एक महिनादेखि जिल्ला अस्पताल बाजुरामा जीवनजलको चरम अभाव

 बाजुरा । जिल्ला अस्पताल बाजुरामा विगत एक महिनादेखि जीवनजलको चरम अभाव भएको छ ।

अघिल्लो आर्थिक वर्षमा खरिद गरेको चाँडै सकिएको र नयाँ खरिद प्रक्रिया ढिलाइ भएकाले अस्पतालमा जीवनजलको चरम अभाव भएको सूचना अधिकारी नृपराज गिरीले बताएका छन् ।

जीवनजल अभाव हुँदा झाडापखाला र जलवियोजनका विरामीले जीवनजल निजी अस्पतालबाट किनेर खानुपर्ने बाध्यता रहेको छ ।

अस्पतालमा ९८ प्रकारका औषधि निशुल्क विरामीलाई दिनुपर्ने रहेको छ । निशुल्क औषधि अन्तर्गत जीवनजल अति आवश्यक पर्ने अन्तर्गत पर्ने गर्छ, तर महिनौ सम्म पनि जीवनजल अभाव हुँदा अस्पताल बेखबर बनेको स्थानियले बताएका छन् ।

जीवनजल झाडापखालाका विरामीका लागि अत्यावश्यक मानिने गरेको छ ।

झाडापखाला तथा शरिरमा जलवियोजन भएको बेला शरीरको पानी सन्तुलन राख्न प्रयोग गरिने जीवनजल नपाउँदा विरामी समस्यामा परेको स्थानिय सन्तोष बिकले वताएका छन् ।

अस्पतालमा दैनिक १ सय ८० देखि २ सय सम्म विरामी आउने गरेका छन् ।

त्यसमध्ये १२ देखि १८ जनालाई जीवनजल आवश्यक पर्छ, तर एक महिना देखि अभाव भएको सुचना अधिकारी गिरीले बताएका छन् ।

यो आर्थिक वर्षको औषधि खरिद प्रक्रिया अघि बढिसकेको छ । अस्पतालमा जीवनजल आउन अझै एक महिना जति लाग्ने अस्पतालले जनाएको छ ।

एकातिर औषधि खरिदका लागि बजेट पर्याप्त छैन्, यो आर्थिक वर्ष औषधि खरिदका लागि २५ लाख मात्र बजेट रहेको अस्पतालले बताएको छ । यो बजेट धेरै कम रहेको अस्पताल स्रोतले बताएको छ ।

जीवनजल निशुल्क उपलब्ध हुने औषधि मात्र नभइ अत्याआवश्यक हुने औषधि हो ।

अभाव भएको धेरै समय भइसक्दा पनि परिपूर्तिका लागि कतै बाट ध्यान नगएको स्वास्थ्यकर्मीले बताएका छन् । धेरै विरामीलाई जीवनजल आवश्यक पर्ने गर्दछ, बजारमा गएर किन्न भन्ने गरेको उनले बताए ।

बाजुराका अन्य केही स्वास्थ्य संस्थामा समेत जीवनजल नरहेको पाइएको छ ।

स्थानिय तहले औषधि खरिदमा ढिलाइ गरेका कारणले स्थानिय स्वास्थ्य संस्थामा समेत जीवनजल अभाव भएको हो । स्वास्थ्य संस्थामा जीवनजल अभाव भएको लामो समय भइसक्दासम्म सम्बन्धित निकाय बेखबर जस्तो बनेका छन् ।

प्रतिकूल मौसमले हवाई उडान सामान्य प्रभावित

काठमाडौं- प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ ।

मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान केही ढिला हुन गएका छन् ।

अहिले अन्तर्राष्ट्रियतर्फ उडान केही समयदेखि ‘होल्ड’मा रहेका छन् । हिमाली क्षेत्रतर्फ लुक्लाको तेन्जिङ हिलारी, हुम्लाको सिमीकोटलगायत विमानस्थलमा उडान सामान्य प्रभावित भएको बताइएको छ ।

विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार खराब मौसमका कारण अहिले विमानस्थलमा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै भइरहेको छ ।

केही उडान डिले भए पनि रद्द नै गर्नुपर्ने अवस्था नभएको उनले बताए । निश्चित हवाई रुट भएकाले उडानमा सामान्य चाप बढेको छ ।

हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ ।

यस प्रणालीको प्रभावले गएरातिदेखि बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको आकाशमा बिहानदेखि बद्ली रहेको छ ।

एनसेलको नयाँ सीईओमा माइकल फोले नियुक्त

काठमाडौं – एनसेलले आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल फोलेलाई नियुक्त गरेको छ।

फोलेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेसँगै कार्यवाहक सीईओका रूपमा कार्यरत सैयद इनामुल कबीर पुनः कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को भूमिकामा फर्किने भएका छन्।

दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा नेतृत्वको अनुभव बोकेका फोलेले यसअघि एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा सात अफ्रिकी बजारको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि उनले टेलिनोर पाकिस्तान (टीपी)को सीईओका रूपमा सफलतापुर्वक कम्पनीलाई नाफातर्फ डोर्‍याएका थिए।

फोलेले ग्रामीणफोन (बंगलादेश) र टेलिनोर (बुल्गेरिया)को सीईओका रूपमा समेत काम गरिसकेका छन्। उनले यी कम्पनीहरूमा ७ करोडभन्दा माथि ग्राहक संख्या पु¥याउँदै ईबिट्डामा ६० प्रतिशतभन्दा बढी नाफा हासिल गरेका थिए। साथै, उनले टामीर माइक्रोफाइनान्स (इजीपैसा, पाकिस्तान) र टेलिनोर हेल्थको अध्यक्षका रूपमा समेत काम गरिसकेका छन्।

हाल उनी अफ्रिकाको अग्रणी एसेट माइक्रोफाइनान्स कम्पनी वाटु अन्तर्गत वाटु डीआरसी एसएको अध्यक्षका रूपमा कार्यरत छन्।

नियुक्तिपछि आफ्नो धारणा व्यक्त गर्दै उनले भने, “काठमाडौंमा एनसेलको यो जिम्मेवारी लिन पाउँदा म अत्यन्त खुसी र सम्मानित महसुस गरिरहेको छु। एनसेल देशका लागि महत्वपूर्ण पूर्वाधार हो, जसले नेपाली जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्दै डिजिटल रूपान्तरणलाई अघि बढाउने, आर्थिक प्रतिस्पर्धात्मकता बढाउने र विदेशी लगानी आकर्षित गर्ने अपार सम्भावना बोकेको छ।”

एनसेल सञ्चालक समितिले फोलेप्रति विश्वास व्यक्त गर्दै भन्यो, “हामी उनलाई स्वागत गर्न पाउँदा अत्यन्त खुशी छौं। उनको रणनीतिक दृष्टिकोण र अनुभवले एनसेलको रूपान्तरणमा मार्गदर्शन गर्नेछ र समुदायप्रतिको हाम्रो सेवा प्रतिबद्धतालाई थप मजबुत बनाउनेछ।”

फोले म्याकगिल विश्वविद्यालयका स्नातक हुन् । उनले इनसीएडबाट ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्स मा कार्यकारी प्रमाणपत्र प्राप्त गरेका छन्। उनी क्यानडा र केन्या दुबैका नागरिक हुन्।

सन् २००४ मा स्थापना भएर २००५ बाट सेवा सुरु गरेको एनसेल नेपालकै पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो। यसले हालसम्म कर र शुल्कका रूपमा सरकारलाई ३६० अर्ब रुपैयाँभन्दा बढी तिरेको छ।

एनसेल फाउन्डेसनमार्फत शिक्षा, स्वास्थ्य, वातावरण, कला र संस्कृतिको क्षेत्रमा २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक उत्तरदायित्व (सीएसआर) परियोजना सञ्चालन गर्दै आएको पनि कम्पनीले जनाएको छ।

डिसेम्बर १, २०२३ मा बेलायतमा स्पेक्ट्रलाइट यूके लिमिटेडले आजियाटा ग्रुप बरहाद अन्तर्गतको आजियाटा यूकेमार्फत रेनल्ड्स होल्डिङ्स लिमिटेड को १०० प्रतिशत सेयर स्वामित्व लिएको थियो। रेनल्ड्सको एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको छ।

फोलेको नियुक्ति कार्तिक १५ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ।

सिंगापुर विमानस्थलमा ह्विलचेयरमा देखिए देउवा दम्पती

काठ्माण्डौ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा आरजु राणा देउवा सिंगापुर पुगेका छन्।

उपचारका लागि भन्दै सोमबार राति काठमाडौँबाट सिंगापुर प्रस्थान गरेका उनीहरू त्यहाँको विमानस्थलमा देखिएका छन्।

देउवा दम्पती सिंगापुरको विमानस्थलबाट बाहिरिँदै गर्दा ह्विलचेयरमा देखिएका छन्।

जेनजी आन्दोलन क्रममा गत भदौ २४ गते देउवा दम्पती काठमाडौँको बुढानीलकण्ठस्थित आफ्नै निवासमा कुटिएका थिए। त्यतिबेला आरजु परराष्ट्रमन्त्री थिइन्।

सांघातिक आक्रमणबाट कांग्रेस सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने आरजु पनि घाइते भएकी थिइन्।

त्यसबेला नेपाली सेनाले उद्धार गरी लगिएका उनीहरू उपचारपछि पहिलोपटक असोज २८ गते कांग्रेस केन्द्रीय समितिको बैठकमा सार्वजनिक भएका थिए।

त्यस दिन सभापतिको कार्यकारी भूमिका त्याग गरेको घोषणा गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए।

अहिले थप उपचारका लागि देउवा दम्पती सिंगापुर पुगेको बताइएको छ।

ओलीसहितलाई जाँचबुझ आयोगले यात्रामा लगाएको रोकविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहितलाई यात्रामा रोक लगाउनेदेखि पासपोर्ट रोक्कासम्म गर्ने निर्णय गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट पेस भएको छ ।

अधिवक्ता प्रेम सिलवालले रिट पेस गरेका हुन् । उनले जेन-जी आन्दोलनको छानबिनको अधिकार पाएको आयोगले कुनै पनि कानुनी आधार नलिई पूर्वप्रधानमन्त्री सहितलाई एक स्थानबाट अर्को स्थानमा जानसमेत रोक लगाउने कार्य असंवैधानिक भएको दाबी गरिएको छ । सर्वोच्चमा पेस भएको यो दोस्रो रिट हो । यसअघि पनि एक थान पेस भई दर्तासमेत भएको थियो ।

दर्ता हुने वा नहुनेबारे अध्ययनपछि मात्र निर्णय हुने सर्वोच्चको मुद्दा महाशाखाले जनाएको छ । आयोगले २३ भदौको आन्दोलन दमन गर्न भूमिका खेलेको भन्दै छानबिनका लागि यात्रा गर्नुअघि अनुमति लिनुपर्ने भनेको थियो । यस्तै तत्कालीन गृहमन्त्री रमेश लेखकको पनि पासपोर्ट रोक्का गरिएको छ । तत्कालीन गृहसचिव रहेका गोकर्णमणी दवाडीको हकमा भने यसअघि नै खुल्ला गरेको छ ।

बंगालको खाडीमा सक्रिय भयो ‘मोन्था’ चक्रवात, नेपालमा कस्तो असर पर्छ ?

 काठमाडौं । भारतीय मौसम विभागले बंगालको खाडीमा सक्रिय चक्रवात ‘मोन्था’ आज (मंगबार) अधिक शक्तिशाली भएर गम्भीर चक्रवाती आँधीमा परिणत हुने बताएको छ ।

जसका कारण आन्ध्र प्रदेशको तमिलनाडुका केही भागमा भारी वर्षा हुन सक्ने विभागको भनाइ छ । चक्रवात आज आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गर्ने अनुमान गरेर आन्ध्र प्रदेश, ओडिशाका केही भूभागका लागि चक्रवातको चेतावनी जारी गरिएको छ ।

भारतीय मौसम विभागले जारी गरेको बयानमा भनिएको छ, ‘चक्रवाती आँधी बेलुका वा रातमा आन्ध्र प्रदेशको काकिनाडा निजक मछलीपट्टनम र कलिंगपट्टनमको बीचको तट पार गर्न सक्छ ।’

विभागका अनुसार त्यो समयमा हावाको गति ९०-१०० किलोमीटर प्रति घण्टासम्म पुग्न सक्ने छ । मौसम विभागले सोमवार ‘मोन्था’ को प्रभावबाट महाराष्ट्रको विदर्भ क्षेत्रमा २८ देखि ३० अक्टोबारको बीच मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको बताएको थियो ।

‘मोन्था’को प्रभाव नेपालमा पनि देखिनेछ । मौसमविद्हरूका अनुसार भारतमा सक्रिय भएको केही दिनमै यो नेपालमा प्रवेश गर्ने छ ।

बंगालको खाडीमा विकसित भएको यो प्रणाली पूर्वी नेपालमा प्रवेश गर्नेछ । बिहीबार यो पूर्वी नेपालमा सक्रिय हुने पूर्वानुमान छ । यसको प्रभाव कोशी प्रदेशका साथै मधेश हुँदै मध्य नेपालसम्म पर्नेछ ।

नेदरल्यान्ड्सका डाउडले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाण्डौ – कर्णाली याक्स स्पोट्स प्रा.लि.ले नेदरल्याण्ड्सका ओपनिङ ब्याटर म्याक्स्वेल प्याट्रिक ओ डाउडलाई अनुबन्ध गरेको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि डाउडलाई अनुबन्ध गरेको जानकारी दिए ।

यसअघि कर्णाली याक्सले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको छ । कर्णालीले बासिष्टोसँग सम्झौता नवीकरण गरेको थियो । वाट र डाउडले भने पहिलो पटक एनपीएल खेल्नेछन् ।

३१ वर्षीय डाउडले नेदरल्यान्ड्सबाट ८७ टि ट्वान्टी आई खेल खेलिसकेका छन् । जसमा १ शतक र १६ अधशतकसहित उनले २ हजार ३ सय ९ रन बनाएका छन् ।

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

काठमाण्डौ – सूर्यको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो ।

सूर्योदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवम् सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शनिवारदेखि शुरू भएको हो । हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जागा बसी आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

छठ पर्वका अवसरमा तराई मधेशसँगै काठमाण्डौ उपत्यका र अरू ठाउँका नदी, पोखरी तथा जलाशयका किनारमा सिंगारेर झकिझकाउ बनाइएको छ । छठको मुख्य दिन हिजो देशभरी सार्वजनिक बिदा दिइएको थियो भने मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ ।

१२ घण्टायता यी प्रदेशमा वर्षा र हिमपात, मौसम विभागले जारी गर्‍यो चेतावनी

काठ्माण्डौ- बितेका १२ घण्टादेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले आज मंगलबार बिहान १० बजे दिएको जानकारीअनुसार गएको १२ घण्टामा विशेषगरी गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थान साथै कोसी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका पहाड र तराई भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भइरहेको हो।

गण्डकी प्रदेशका मनाङ र मुस्ताङ आसपासका हिमाली क्षेत्रमा भने मध्यमदेखि भारीसम्म हिमपात भइरहेको मौसम विभागले जानकारी दिएको छ।

सजग गराउँदै विभागले अगाडि भनेको छ, ‘वर्षा/हिमपात भइरहेका स्थानहरूमा थप वर्षा/हिमपात हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहोला।’

‘जेन-जी’ प्रदर्शन : सुदूरपश्चिममा २३४ भौतिक संरचनामा क्षति

कञ्चनपुर–  ‘जेन-जी’ प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टी कार्यालय गरी २३४ भौतिक संरचनामा क्षति पुगेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदर्शनका क्रममा  कैलाली र कञ्चनपुरमा बढी क्षति भएको छ । सरकारी कार्यालयतर्फ कैलालीमा दुई, कञ्चनपुरमा एक, बझाङमा एक र दार्चुलामा एक गरी पाँच वटा सरकारी संरचना पूर्ण रूपले क्षतिग्रस्त भएका छन् । प्रदेशभरि १५१ वटा सरकारी संरचनामा आशिंक क्षति पुगेको प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए ।

आशिंक क्षति हुने सरकारी भवनमा पनि सबैभन्दा बढी कैलालीमा १०३, कञ्चनपुरमा २४, डडेल्धुरामा नौ, डोटीमा आठ, अछाममा चार र दार्चुलामा तीन वटा छन् । यसैगरी व्यापारिक र निजीतर्फ ३८ घरमा क्षति पुगेकामा कञ्चनपुरमा सबैभन्दा बढी २३ र कैलालीमा १५ वटा रहेका छन् ।

प्रदेशमा ५७३ दुई पाङ्ग्रे र १३५ चार पाङग्रे गरी ७०८ सरकारी सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ । निजीतर्फ तीन वटा सवारीसाधनमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले क्षतिबारे ठाडो निवेदन आए पनि जाहेरी नआएको बताए। उनले जोहरी आए संकलन गरिने बताए। यस्तै, कञ्चनपुर कारागारबाट भागेका ४७८ जनामध्ये ९८ जना फरार र  खोजी कार्य जारी रहेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले सम्पत्ति क्षतिका हकमा कैलालीमा पनि जाहेरी नपरेको बताए । उनले प्रदर्शनको मौका पारेर भागेका कैदीहरूमध्ये धेरै जना फर्केको र फर्केकाहरूको खोजी भइरहेको बताए।

‘कारागारबाट भागेकामध्ये ४०६ जना फर्केर आएका छन् । अझै २०० भन्दा बढी कैदी फर्केका छैनन् । उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको छ’, प्रवक्ता सिंहले भने, ‘हामीले प्रदर्शनका क्रममा काठमाडौँमा लुटिएका तीन थान हतियार कैलालीबाट बरामद गरी काठमाडौँ पठाएको छ ।’

आन्दोलनका क्रममा सुदूरपश्चिममा प्रदेशसभा भवनदेखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वगृहमन्त्री रमेश लेखकलगायत प्रदेशसभा सदस्य, पालिकाका प्रमुख तथा उपप्रमुखका निवास तथा व्यापारिक संरचनामा आगजनी र तोडफोड गरिएको थियो ।

खोज्नुहोस