सिंगापुर विमानस्थलमा ह्विलचेयरमा देखिए देउवा दम्पती
काठ्माण्डौ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा आरजु राणा देउवा सिंगापुर पुगेका छन्।
उपचारका लागि भन्दै सोमबार राति काठमाडौँबाट सिंगापुर प्रस्थान गरेका उनीहरू त्यहाँको विमानस्थलमा देखिएका छन्।
देउवा दम्पती सिंगापुरको विमानस्थलबाट बाहिरिँदै गर्दा ह्विलचेयरमा देखिएका छन्।
जेनजी आन्दोलन क्रममा गत भदौ २४ गते देउवा दम्पती काठमाडौँको बुढानीलकण्ठस्थित आफ्नै निवासमा कुटिएका थिए। त्यतिबेला आरजु परराष्ट्रमन्त्री थिइन्।
सांघातिक आक्रमणबाट कांग्रेस सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने आरजु पनि घाइते भएकी थिइन्।
त्यसबेला नेपाली सेनाले उद्धार गरी लगिएका उनीहरू उपचारपछि पहिलोपटक असोज २८ गते कांग्रेस केन्द्रीय समितिको बैठकमा सार्वजनिक भएका थिए।
त्यस दिन सभापतिको कार्यकारी भूमिका त्याग गरेको घोषणा गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए।
अहिले थप उपचारका लागि देउवा दम्पती सिंगापुर पुगेको बताइएको छ।
