अफगानिस्तानमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९०० पुग्यो

काबुल । पूर्वी अफगानिस्तानमा गएको विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या ९०० पुगेको छ । एक अधिकारीले मंगलबार बताएअनुसार भूकम्पमा परेर घाइते हुनेको संख्या अहिलेसम्म लगभग ३ हजार पुगेको छ ।

भग्नावशेषमा फसेका मानिसहरूलाई बाहिर निकाल्ने काममा राहत टोलीहरू जुटिरहेका छन् । आइतबार राति अबेर ६ म्याग्निच्यूडको विनाशकारी भुकम्प आएको थियो ।

भूकम्प पहाडी क्षेत्रमा आएको थियो, जसका कारण धेरै गाउँका घरहरू पूर्ण रूपमा भत्किए र मानिसहरू घण्टौँसम्म भग्नावशेषमा पुरिए । ‘घाइतेहरूलाई बाहिर निकालिने काम भइरहेको छ, त्यसैले यो तथ्याङ्क अझ बढी हुन सक्छ,’ अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता युसुफ हम्मदले एसोसिएटेड प्रेसलाई भने ।

केही क्षेत्रहरूमा भूकम्पका कारण पहिरो गएकोले सडकहरू बन्द भएको उनले बताए । केही क्षेत्रहरूमा भूकम्पका कारण पहिरो गएकोले सडकहरू बन्द भएको उनले बताए ।

अनलाइन ट्रयाकिङमा विदेशी पर्यटक, १ असोजदेखि कार्यान्वयन

१७ भदौ, काठमाडौं । अब नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गरिने भएको छ ।

अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणाली विकास गरेको जनाएको छ ।

यस्तो प्रणाली पहिलो चरणमा १ असोजबाट काठमाडौं उपत्यका भित्रका तारे होटेलमा अनिवार्य लागु गर्न लागिएको विभागले जनाएको छ ।

दोस्रो चरणमा १ मंसिरबाट सबै तारे होटेल, विमान कम्पनी, टूर्स एण्ड ट्राभल कम्पनी, मनी एक्स्चेन्जमा लागु गरिने भएको छ ।

विभागका अनुसार त्यसपछि सबै प्रकारका होटेल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू हुने भएको छ ।

विभागले सबै विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था तथा निजी कम्पनीलाई प्रणालीमा अनिवार्य रुपमा आवद्ध हुन अनुरोध गरेको छ ।

विभागको सोमबारको निर्णय अनुसार यो प्रणाली कार्यान्वयन गर्न लागिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

उनका अनुसार यस प्रणालीको कार्यान्वयनमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास तथा गतिविधिको अभिलेख व्यवस्थित हुने भएको छ । यसले आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षा सुनिश्चितता गर्न सहज हुने विश्वास लिइएको छ । यसले सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायबीच सूचना आदान प्रदानको प्रक्रिया प्रभावकारी हुने र पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने उनले बताए । विभागले आफ्नो वेबसाइटमा सो प्रणालीमा आवद्ध हुने तरिकाबारे समेत जानकारी गराएको छ ।

निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित व्यवस्थाअनुसार नै अघि बढाउने सहमति

काठ्माण्डौँ । कर्मचारीहरूको अवकाश उमेर हद बढाउने प्रस्तावबाट सरकार पछि हटेलगत्तै निजामती सेवा विधेयकमा सहमति जुटेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले राष्ट्रिय सभाको विधायन समितिको आजको बैठकमा प्रतिनिधि सभाबाट पारित व्यवस्थाअनुसार नै अघि बढ्न सहमत भएको बताएका हुन् ।

हिजोको बैठकमा उनले कर्मचारीहरूको अवकाश उमेर हद ऐन पारित भएको आर्थिक वर्षमै ५९ वर्ष बनाउनुपर्ने प्रस्ताव राख्नुभएको थियो । यसमा प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए । आजको बैठकमा मन्त्री न्यौपानेले विधेयकमा आफ्नो व्यक्तिगत कुनै स्वार्थ नरहेको र सर्वसम्मत गरेर जाने परम्परा रहेको बताए।

यसअघि प्रतिनिधि सभा र विधायन समितिमा पनि ऐन पारित भएको आर्थिक वर्षमा कर्मचारीहरूको अवकाश उमेर हद ५८ वर्ष राख्ने सहमति थियो । अब यही सहमतिअनुसार निजामती सेवा विधेयक अघि बढ्ने भएको छ । विधेयक आज राष्ट्रिय सभामा पेश गरी आजै पारित गर्ने तयारी छ ।

प्रतिनिधि सभामा छलफलपछि विधेयकले ऐनको रूप लिएर लागू भएको आर्थिक वर्षमा ५८ वर्षमा अवकाश हुने, त्यसपछिको वर्षमा ५९ वर्षमा र तेस्रो वर्षदेखि ६० वर्षमा अवकाश हुने गरी सहमति जुटेको थियो । राष्ट्रिय सभाको विधायन समितिमा पनि यही व्यवस्था राख्ने सहमति जुटेको छ ।

नेपालमा पनि सुरू भयो फेसबुकको कन्टेन्ट मोनिटाइजेसन सुविधा, अब आम्दानी गर्न सकिने

काठ्माण्डौँ । फेसबुकले नेपालमा पनि कन्टेन्ट क्रियटरलाई मोनिटाइजेसन सुविधा दिन थालेको छ । कन्टेन्ट मोनिटाइजेसनको सूचीमा मेटाले नेपालको नाम पनि समावेश गरेसँगै अब आम्दानी गर्न सकिने छ ।

फेसबुक पेज र प्रयोगकर्ताले आफ्ना पोस्ट, रिल्स, टेक्स्ट तथा स्टोरीमार्फत समेत आम्दानी गर्न सक्नेछन् ।

यसअघि पनि केही कन्टेन्ट क्रियटरले विदेशमा लोकेसन राखेर आम्दानी गर्दै आएका थिए । तर अब मेटाले आधिकारिक रूपमा नेपाललाई मोनेटाइजेसन इलिजिबल कन्ट्रीको लिस्टमा राखेसँगै नेपालबाटै मोनिटाइज सुविधा उपलब्ध हुनेछ । साथै गरेको आम्दानी नेपाली बैंकबाट झिक्न सकिने छ ।

बेइजिङ पुगे प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चीनको शाङ्घाई संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै बेइजिङ पुगेका छन्। ​​​​​ तियानजिनको कार्यक्रम सकाएर प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्गबाट चीनको बेइजिङ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण विरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८० औं वार्षिकोत्सव समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बेइजिङ पुगेका हुन्।

त्यहाँ प्रधानमन्त्री ओलीको चीनका उराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ। उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यसूची छ।

प्रधानमन्त्री ओली  चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते चीन गएका हुन्।

गौरामय बन्यो मेरिल्याण्ड, धुमधामसंग मनाईयो गौरा पर्व

मेरिल्याण्ड, १ सेप्टेम्बर ।

विगतका वर्षमा झै यस वर्ष पनि अमेरिकाको मेरिल्याण्ड राज्यमा  भव्य रुपमा गौरा पर्व मनाईएको छ ।

शनिवार मेरिल्याण्ड स्थित हिन्दुबुद्ध मन्दिरमा एक भव्य कार्यक्रमकाबीच गौरा पर्व मनाईएको हो ।

कार्यक्रममा गौरा पूजा, दुबधागो, गौरा नाच, पन्चे बाजा, फल फट्काउने, गौरा सेलाउने, कार्यक्रम बिधि पूर्वक सम्पन्न गरिए । सोही अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा देउडासंगै सुदूर पश्चिमको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रर्दशन गरिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा राजदूतावासका आर्थिक सल्लाहकार पाण्डेयले धर्म, संस्कृति, भाषा र परम्पराहरु पहिचानसंग जोडिएकोले गौरापर्व जस्ता मौलिक पहिचान बोकेका पर्वहरुको संरक्षण आवश्यक भएको बताए ।

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बिशिष्ट अतिथि तथा मेरिल्याण्ड राज्यका सिनेटर कार्ल ज्याकसनले नेपाली समुदायबाट प्राप्त माया प्रेमको प्रशंसा गर्दै नेपाली समुदायको हितका लागि आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रमका अतिथि मन्दिर व्यबस्थापन समितिका अध्यक्ष डा. श्याम कार्कीले सुदूरपश्चिमको मौलिक पर्व गौरा मन्दिरको आगनमा मनाउन पाएकोमा खुशी व्यक्त गर्दै आगामि दिनमा पनि गौरा पर्व लाई भव्य रुपमा सम्पन्न गर्न सुप समाज संग मिलेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी कार्यक्रममा बाल्टिमोर काउन्टीका प्रतिनिधि यान मा, एपीआई मिडल ईस्टर एण्ड डेजी अमेरिकन टियु सेन्टर फर स्टुडेन्ट डाईभर्सिटीका कोअर्डिनेटर एकिता सेड, एसिस्टेन्ट अफ ईस्टुडेन्ट गर्भमेन्ट एसोसिएसनका ब्राएन्ट रेईज, बानाका अध्यक्ष जितेन्द्र गुरुङ, मन्दिर व्यबस्थापन समितिका उपाध्यक्ष क्रिस घिमिरे, समाजका पुर्व अध्यक्ष दमनबिक्रम शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गौरा व्यवस्थापन समितिका संयोजक तीर्थराज पाण्डेयले गौरा पर्वको माहत्म्यमाथि चर्चा गरेको कार्यक्रममा सुदूरपश्चिम समाजका अध्यक्ष बिक्रम शाही र समाजका सल्लाहकार भीम विकले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सुदूरपश्चिम नेपाली समाजका कार्यवाहक अध्यक्ष हरिश साँउदको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन समाजका महासचिव यज्ञ रानाले गरेका थिए ।  कार्यक्रममा मेरिल्याण्ड, भर्जिनिया, डिसि लगायतका राज्यबाट नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । बिशेष गरी नेपालको मध्य तथा सुदूरपश्चिमका साथै भारतको उत्तराखण्डमा भाद्र महिनामा मनाईने यो गौरा पर्व केही वर्षदेखि प्रवास पनि मनाउन थालिएको छ ।

तीजका दिनबाट शुरु हुने गौरा मुलतः पञ्चमीका दिनबाट चार दिन मनाईन्छ । महेश्वर र गौराबीच बिवाह भएको प्रसंग यस पर्वमा जोडिएको पाईन्छ । गौरापूजन विवाहित महिलाले मात्र पूजा गर्ने भएपनि पुरुष र अविवाहित महिला पनि पर्वमा सामेल हुने गर्दछन ।

भाद्र शुक्ल पक्षमा उज्याली र कृष्ण पक्षमा अन्यारी गौरा मनाईन्छ । गौरामा निराहर व्रत वसी महिलाहरुले गौरा माताको पुजाअर्चना संगै दुबधागो परिवर्तन गर्ने गर्दछन । पुरुषहरुले जनैपुर्णिमा जनै बदले जस्तै महिलाहरुले दुबधागो बदल्ने गर्दछन । गौरा माताको व्रत बस्नाले घरपरिवारमा सुख, शान्ति तथा सम्बृद्धि बढ्ने जनविश्वास छ ।

नेपाली समुदायलाई सांस्कृतिक तथा सामाजिक रुपमा एकिकृत गर्न मेरिल्याण्ड राज्यमा सुदूरपश्चिम नेपाली समाजले चार वर्ष देखि लगातार गौरा पर्वको आयोजना गर्दै आईरहेको छ ।

Processing…x

टेक्सासको ड्यालसमा धुमधामसंग मनाईयो गौरा

टेक्सास,(अमेरिका), ३१ अगष्ट ।
अमेरिकाको टेक्सासको युलेसस्थित पशुपतीनाथ बुद्ध मन्दिरमा आईतवार गौरा पर्व धुमधामसंग मनाईएको छ ।

सुदूर पश्चिम नेपाली समाज टेक्सासको आयोजनामा ड्यालसस्थित पशुपतीनाथ बुद्ध मन्दिरमा गौरा पर्व धुमधामसंग मनाईएको हो ।

गौरा पर्वका अवसरमा गौरी पूजा, दुबधागो अभिषेक, गौरादेवी र महेश्वर नृत्य, प्रसाद फट्काउने, गौरा सेलाउने लगायतका कार्यहरु बिधिवत रुपमा सम्पन्न गरिए ।

कार्यक्रममा सुदूर पश्चिमकी चर्चित गायिका रेखा जोशी र नेपाल आईडल रवि ओडले देउडा गाएका थिए । जोशीले सुन हौ कि चाँदी हौ बोलको गीत गाएर सबैलाई मन्त्रमुग्ध पारिन् ।

नेपाल आईडल ओडले भुईचम्फा, राई झुमा र चल गोविन्दे लगायतका गीतहरु गाउदा सहभागीहरुले गाएर साथ दिए ।गौरा पर्वका अवसरमा उपस्थित सुदूर पश्चिमेलीसंगै अन्य समुदायका व्यक्तिहरुले समेत देउडा खेलेर भरपुर मनोरञ्जन लिए ।

कार्यक्रममा बालबालिकाहरुले सुदूरपश्चिमको पहिरन तथा भेषभुषामा नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

गौरा पर्वका अवसरमा आयोजित कार्यक्रममा सुदूर पश्चिम समाजका तर्फबाट देउडा गायक रेखा जोशी र रवि ओड, गैर आवासीय नेपाली संघ टेक्सासको महिला उपाध्यक्षमा निर्विरोध निर्वाचित दीपा बोहरा ऐर र सचिवमा निर्वाचित लता सुवेदीलाई सम्मान गरिएको थियो ।

सुदूर पश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष गगन केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव गुञ्जन भण्डारीले गरेकी थिईन् ।

समाजका अध्यक्ष केसीले गौरा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी र कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा समाजकी बोर्ड सदस्य दीपा बोहरा ऐरले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।

मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष सीता सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेकी थिईन् ।

कार्यक्रममा समाजका पूर्व अध्यक्ष भक्त बहादुर भण्डारी र प्रेम शाही, नेपाली समाज टेक्सासका महासचिव बिजय भुषाल, एनआरएनएका अगुवाहरु र सुदूर पश्चिमेलीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कुवेतमा ४० हजार नेपाली महिला बेचिएको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौँ। राष्ट्रिय सभाका सदस्य नरबहादुर विष्टले भिजिट भिसामार्फत झन्डै ४० हजार नेपाली महिलाहरूलाई कुवेतमा लगेर बेचिएको खबर आएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद विष्टले मानव बेचबिखनको यो घटनामा अध्यागमन विभागका कर्मचारीसमेत संलग्न रहेको दाबी गरे। उनले भने, “भिजिट भिसामा कुवेत जाने महिलाहरूले अध्यागमन विभागका कर्मचारीहरूलाई एक लाख रुपैयाँ बुझाउने गरेको पाइएको छ।”

सांसद विष्टले ती महिलाहरू अहिले कुवेतमा एउटै घरमा बन्धकको रूपमा रहेको र उद्धारका लागि आग्रह गरिरहेको बताए। उनले सरकार र गृह मन्त्रालयले यसबारेमा सदनमा आएर स्पष्ट जानकारी दिनुपर्ने माग गर्दै सरकारको जवाफ माग गरेका छन्।

बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ राजमार्ग आंशिक रुपमा सञ्चालनमा

काठमाडौं : अविरल वर्षा र बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्ण रूपमा बन्द भएका छन् भने १५८ राजमार्ग आंशिक रूपमा मात्रै सञ्चालनमा छन्। सडक विभागका अनुसार कतै बाढीले सडक कटान गरेको छ भने कतै भीषण पहिरो खसेपछि आवागमन नै ठप्प भएको छ।

कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आइतबार सडक अवरुद्ध अवस्थाबारे बैठक बोलाएर तत्काल सडक खुलाउने निर्देशन दिएका छन्। नागरिकलाई आवतजावतमा सहजता दिलाउन सबै निकायलाई सक्रिय हुन आग्रह गर्दै उनले ढिलाइ नगरी काम अगाडि बढाउन आदेश दिएका हुन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार धेरै खण्डमा पहिरो पन्छ्याउने र बाटो मर्मतको काम भइरहेको छ तर लगातारको वर्षा र नदीमा बढ्दो बहाबले कार्य अवरुद्ध भएको छ। कतिपय ठाउँमा एक्साभेटर र लोडर परिचालन गरी बाटो खोल्ने प्रयास भइरहेको छ भने कतै अझै पानी घटेपछि मात्र सफाइ सुरु गर्न सकिने अवस्था छ।

पूर्ण अवरुद्ध भएका राजमार्गमध्ये ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-वेत्रावती-मैलुङ-स्यफ्रुबेंसी-रसुवागढी सडकखण्ड चीनतर्फबाट आएको बाढीले सडक कटान गरेपछि बन्द भएको छ। जमुनाहा-नेपालगञ्ज-कोहलपुर-सुर्खेत-खुलालु-हिल्सा जाने कर्णाली राजमार्ग पैमा खोलाको बहाब बढ्दा रोकिएको छ। त्यसैगरी कोशी राजमार्ग पनि अवरुद्ध छ, बरुण नदीमा डाइभर्सन बगाएको र पुल निर्माण अधूरो भएकाले आवतजावत ठप्प भएको विभागले जनाएको छ। तमोर करिडोरमा पाँच वर्षअघि बनेको रानी पुल साउनको बाढीले बगाएपछि सम्पूर्ण आवागमन रोकिएको छ।

छिन्चु-कुदु हुँदै जाजरकोट-दुनै-धो-तिन्जे-मरिम जाने भेरी करिडोर पहिरो र बाढीले ढाकेको छ भने कोइलाबास-लमही-अर्जुनखोला-घोराही-होलेरी-घर्तीगाउँ-थवाङ-लुकुम जोड्ने सहिद मार्ग पनि लगातारको वर्षा र पहिरोले पूर्ण रूपमा बन्द भएको छ। यस्तै सुर्खेत–डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु हुँदै नाग्मा–जुम्ला जोड्ने सडकमा ठूलो पहिरोसहित ठूला ढुङ्गा खसेपछि आवतजावत बन्द भएको छ। विभागका अनुसार लगातार सुख्खा पहिरो खसिरहेकोले राति सडक बन्द गर्नुपरेको र दिउँसो मात्र सवारी संचालन गरिने प्रयास भइरहेको छ।

सडक विभागले पानी पर्न रोकिएपछि र नदीको बहाब घटेपछि अवरुद्ध खण्डहरू खोल्ने प्रयासलाई तीव्रता दिने जनाएको छ। हाल अस्थायी रूपमा सफाइ, डाइभर्सन र बेलीब्रिज निर्माण गर्ने काम अघि बढाइएको छ।

बंगलादेश र नेपालको राष्ट्रिय टिमबीच दुई फुटबल म्याच हुँदै

काठ्माण्डौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बंगलादेशको राष्ट्रिय फुटबल टोलीबीच आउँदो शनिबार र आइतबार फिफा इन्टरनेसनल विन्डो खेल हुने भएको छ ।

दशरथ रंगशालामा हुने खेलका लागि तयारी तीव्र पारिएको एन्फाले जनाएको छ । प्रतियोगिताको मार्केटिङ र डिजिटल अधिकारी एड रिलिज प्राइभेट लिमिटेडलाई प्रदान गरिएको छ भने खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट गरिने भएको छ ।

दुवै खेलको टिकटिङ अधिकारी एन्फाकै स्वामित्वमा हुने बताइएको छ । टिकट दर भीआईपी पारापिटतर्फ १ हजार रुपैयाँ र सामान्य पारापिटतर्फ ५ सय रुपैयाँ तोकिएको छ ।

बंगलादेशको राष्ट्रिय टोली पर्सि नेपाल आइपुग्ने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनका अनुसार टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र च्यासलस्थित च्यासल रंगशालाको मैदानमा व्यवस्था गरिएको छ ।

खेलहरू आयोजनाका लागि करिब १ लाख २७ हजार ५ य १६ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

आसामविरुद्धको निर्णायक खेलमा पहिला ब्याटिङ गर्दै नेपाल ‘ए’

काठ्माण्डौँ । भारतको गुहाटी भ्रमणमा रहेको नेपाल ‘ए’ ले आज आसाम स्टेट टिमसँग निर्णायक खेल खेल्दैछ । यी दुई टिमबीचको पाँचौं तथा निर्णायक टी–२० बेलुका ३:१५ देखि सुरु भएको छ ।

आजको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

सिरिज २–२ को स्थितिमा छ । आजको खेल जित्ने टिमले सिरिज आफ्नो पक्षमा पार्नेछ । नेपाल ‘ए’ आइतबारको हारको बदला लिँदै निर्णायक खेल जित्ने सोचमा छ ।

श्रृंखलाको पहिलो खेलमा १५ रनको हार बेहोरेको नेपालले दोस्रो र तेस्रो खेलमा क्रमशः ९६ रन र ९ रनको जित निकाल्यो । नेपाल आज उत्कृष्ट पुनरागमन गरेर सिरिज जित्ने योजनामा छ ।

दोस्रो चरणको कडा आन्दोलन गर्ने शिक्षक महांसघको चेतावनी

काठमाडौं– नेपाल शिक्षक महांसघले जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यालय अगाडि धर्ना दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ ।

सोमबार महांसघले विद्यालय शिक्षा विधेयकमा विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै जसपा कार्यालय अगाडि धर्ना गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो।
उनीहरुले भदौ ११ देखि निरन्तर रुपमा राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा दुई घण्टे धर्ना दिइरहेका छन्।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा विधेयक प्रतिनिधि सभामा दर्ता हुँदा केही र महत्वपूर्ण विषयहरु छुटेका कारण धर्ना गरेको बताएका छन्।

उनले उल्टो दिशामा हिँडेको विषय सुल्टो दिशामा ल्याउनका लागि र छुटेको विषयलाई समावेश गराएर ऐन जारी गर्न दबाब दिन आन्दोलनका कार्यक्रम जारी राखेको जानकारी दिए।

उनले पहिलो चरणको कार्र्यक्रम सकिएपछि दोस्रो चरणको कार्यक्रम अवरोधात्मक र कडा खालको हुने दाबी गरे।

‘कार्यक्रम २० गते सम्म जारी रहन्छ। त्यसपछि दोस्रो चरणका कार्यक्रमहरु सार्वजनिक गर्नेछौं। दोस्रो चरणका कार्यक्रमहरु अलि अवरोधात्मक र कडा खालका हुन्छन्। हाल धर्ना गर्नुको कारण समितिबाट शिक्षा विधेयकमा प्रतिनिधि सभामा दर्ता हुँदै गर्दाखेर केही विषयहरु सम्बोधन भए तर महत्वपूर्ण विषयहरु छुटेका छन्। केही महत्वपूर्ण विषयहरु उल्टो दिशामा गएको छ। उल्टो दिशामा हिँडेको विषय सुल्टो दिशामा ल्याउनको लागि र छुटेको विषयलाई समावेश गराएर ऐन जारी गर्न प्रतिनिधि सभा र राष्ट्रिय सभामा काम हुन बाँकी छ । दुवै सभामा छुटेका विषयलाई समवेशी गराएर अग्रगामी ऐन जारी गराउन धर्ना आयोजना गरिएको हो,’उनले भने ।

आन्दोलनकै अगुवा नानु मैया पराजुलीले यसअघि २९ दिनको आन्दोलनमा शिक्षा विधेयकमाथि छलफल अगाडि बढेको भएपनि उपसमितिमा बुझाएको प्रतिवेदनप्रति सन्तुष्ट हुन नसकेकाले पहिलो चरणको कार्यक्रम गर्नुपरेको बताइन्।

दोधारा चाँदनीमा बाढी : सशस्त्रका दुई बीओपी पनि विस्थापित

कञ्चनपुर । अविरल वर्षापछि दोधराा चाँदनी नगरपालिकामा रहेका सशस्त्र प्रहरीका दुई वटा बोर्डर आउट पोस्ट(बीओपी)समेत सारिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वडा नं. १० मा रहेका सुन्दरनगर र वडा नं. ७ मा रहेका कञ्चनभोजस्थित बीओपीका सुरक्षाकर्मी डुबानका कारण विस्थापित भएका हुन् ।

सुन्दरनगर बीओपीका सुरक्षाकर्मी नजिकैको ओमकार आधारभूत विद्यालयमा र कञ्चनभोजका सुरक्षाकर्मीलाई नजिकैको सशरी खोप केन्द्रमा सारिएको छ ।

‘जोगबुडा नदीको वहाव बढदै गएको छ, जोखिम बढी भएकाले सुरक्षित स्थानमा सारिएको हो,’ सशस्त्र प्रहरीको झलारी स्थित ३५ नं. गणका प्रमुख एसपी लोकेन्द्र भट्टले भने, ‘सुरक्षाकर्मीहरू सुरक्षित स्थानमा सरेर बाढीमा परेकाहरुको उद्धारमा खटिएका छन् ।’

प्रहरीका अनुसार जोगबुडा नदीको बाढीका कारण दोधारा चाँदनी नगरपालिका १० शान्ति टोलका १० परिवार, सोही नगरपालिकाको वडा नं. ८ को रामपुरे टापु र जर्गा टोलमा २५ परिवार र वडा नं. ३ पटेराखल्लाका १५ परिवार विस्थापित भएका छन् ।

यसैगरी डुबानका कारण भीमदत्त नगरपालिका ११ चौकिसोतामा पनि ५ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापितलाई नजिकैको विद्यालयमा सारिएको छ ।

हाम्रो मात्रै यस्तो पार्टी हो, जहाँ कार्यकर्ताले आफूले देखेको खुला रूपमा राख्ने अवसर पाउँछन् : प्रचण्ड

काठ्माण्डौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्।

सोमबार माओवादीको सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखे।

प्रचण्डले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने बताए।

‘सचिवालय र इन्चार्ज कमरेडले भौतिक रूपमा सुदूरपश्चिम आइदिन अनुरोध गर्नुभएको थियो, तर महिलाको राष्ट्रिय सम्मेलनलगायत केन्द्रीय गतिविधिका कारण म यो पटक भर्चुअलमार्फत सहभागी हुनुपर्‍यो,’ प्रचण्डले भने, ‘दसैंपछि मध्यपहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सकिएपछि २ दिनको समय निकालेर म सुदूरपश्चिम प्रदेशमै आएर प्रत्यक्ष संवाद गर्नेछु।’

सबै जिल्ला संयोजक र इन्चार्जहरूको रिपोर्टिङको प्रशंसा गर्दै उनले सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताए। प्रचण्डले भने, ‘अब सबै नेता-कार्यकर्ताले गाउँ-बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ।’

त्यसैगरी, उनले पार्टीभित्र आत्मसमीक्षा र आलोचना-आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउँदै हरेकले विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।

बैठकका केही सहभागीले पार्टीभित्रको अन्तरसंघर्षबारे चासो व्यक्त गरेपछि प्रचण्डले यसबारे स्पष्ट पारेका थिए। ‘हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो जहाँ कार्यकर्ताले आफूले देखेको कुरा खुला रूपमा राख्न सक्ने अवसर पाउँछन्,’ उनको भनाइ छ, ‘पदाधिकारी बैठकदेखि स्थायी समिति बैठकसम्म खुला छलफल हुने हाम्रो संस्कार माओवादी केन्द्रमा मात्रै छ।’

सुदूरपश्चिमलाई राजनीतिक र सांगठनिक हिसाबले माओवादी केन्द्रको सम्भावनायुक्त प्रदेश बताउँदै त्यहाँका नेता तथा कार्यकर्ताहरूलाई व्यवस्थित, योजनाबद्धकेन्द्रित र परिचालित गर्ने आवश्यकता प्रचण्डले औंल्याए।

भदौ २२ गते आइतबार खग्रास चन्द्रग्रहण

काठमाडौ ।  भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति ०१ः४१ बजे ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिने पनि उनले सुनाए ।

यो ग्रहण विसं २०८२ को पहिलो ग्रहण हो । यसै वर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको पनि उनले सुनाए । भदौ २२ गते आइतबार दिउँसो १३ः११ बजेपछि बाल, वृद्ध र आतुर बाहेकले भोजन गर्नु हुँदैन । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरुले चित्त दुखाउनुपर्दैनः गृहमन्त्री लेखक

वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूमि लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको आपत्ति सही भएको बताए।

“ लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि नेपालको हो । हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भन्दा कुनै पनि देशसँग हाम्रो सम्बन्ध बिग्रिनुपर्ने कारण छैन,” उनले भने, “यसमा मित्रराष्ट्र भारत र चीनले पनि चित्त दुखाउनुपर्ने कुनै कुरा छैन । त्यो भूमि हाम्रो हो । यसमा हामी प्रष्ट छौंँ ।”

गृहमन्त्री लेखकले प्रधानमन्त्री ओली चीन गएको अवस्थामा मित्रराष्ट्र भारत र चीनसँग हाम्रो भूमिलाई लिएर भएको सम्झौतामा आपत्ति जनाउनु सही भएको स्पष्ट पार्नुभयो । नेपालको भूमि कुनै पनि राष्ट्रका विरुद्धमा प्रयोग हुन नदिने उनले स्पष्ट पारे।

एकता पौडेल निर्देशित ‘हर्ष’ का दुई पोस्टर सार्वजनिक

काठ्माण्डौँ । एकता पौडेलको डेव्यु निर्देशकीय सिनेमा ‘हर्ष’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। सोमबार बिहान सिनेमाका दुई पोस्टर सार्वजनिक गरिएका हुन्। सिनेमा मंसिर १२ गते रिलिज हुँदैछ।

सार्वजनिक दुवै पोस्टरमा सिनेमाका मुख्य कलाकारहरूलाई प्रस्तुत गरिएको छ। सार्वजनिक दुवै पोस्टरमध्ये एकमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री वर्षा राउत र शर्मिला मल्ललाई सिनेमाको नाम जस्तै हर्षित भावमा अर्थात् मिठो मुस्कानमा देख्न सकिन्छ भने सन्तोष पन्तलाई केही असन्तुष्ट भावमा छड्के हेराइ हेरिरहेको देख्न सकिन्छ।

यो पोस्टरमा खगेन्द्र र वर्षालाई छोरासँग रमाइरहेको देख्न सकिन्छ। छोराको भूमिका गर्ने बालकलाकार साइमन वादी हुन्। यसैगरी दोस्राे पोस्टरमा खगेन्द्र र वर्षालाई पहिलो पोस्टरमा जस्तै मीठो मुस्कानमा देख्न सकिन्छ।

नेपथ्यमा सम्भवतः सिनेमाको गीतको दृश्य हुनुपर्छ जहाँ सन्तोष पन्तको साथमा विशाल पहारी, लुनिभा तुलाधर, माओत्से गुरुङ र अंशु महर्जनलाई नाचिरहेको-रमाइरहेको देख्न सकिन्छ।

यो पोस्टरमा बालकलाकार साइमनलाई बाल कृष्णको पहिरनमा पेस गरिएको छ। यस्तै अभिनेता नीर शाहलाई गम्भीर भावमा देख्न सकिन्छ। सार्वजनिक यी दुई पोस्टरले पारिवारिक जीवनका उकालीओरालीको कथा पेस गर्ने स्पष्ट बुझ्न सकिन्छ। यस हिसाबले धेरै समयपछि दर्शकहरूको पारिवारिक ड्रामा हेर्न पाउनेछन्।

डेब्यू निर्देशक एकता पौडेलले आफ्ना दिवंगत मामा निर्देशक शिव रेग्मी- जो पारिवारिक सिनेमाका लागि परिचित छन् उनकै विरासत समातेको बुझ्न सकिन्छ। यसअघि टाइटल भिडियो पनि उनले आफ्ना मामा सम्झिंदै सार्वजनिक गरेकी थिइन्।

निर्देशक पौडेल न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसञ्चारमा स्नातक गरेकी छन्। व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि छाेटा केही सिनेमा समेत निर्माण गरिसकेकी छन्।

सम्पूर्ण छायांकन चितवनमा नै गरिएको सिनेमा हाल पोष्ट प्रोडक्सनको चरणमा रहेको छ। पौडेलले आफू र आफ्नो टिमले दर्शकलाई ‘हर्ष’ सिनेमा उत्कृष्ट रूपमा पस्किने बताउँदै आइरहेकी छन्।

सिनेमामा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित तथा बाल कलाकार साइमन वादीको अभिनय छ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। सिनेमामा आलोक शुक्लाको छयांकन, समीर/हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ।

सिनेमाका निर्माता प्रसन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल छन्। सिनेमामा शिव रेग्मी, डा. कृष्णहरि बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना, ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर, कुलदीप अधिकारी मुख्य सहायक निर्देशक छन्। गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स बुढासुब्बा डिजिटलले किनेको छ।

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ ।

शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबीच भेटवार्ता भएको हो । उनीहरूबीच जलवायु परिवर्तनबाट परेको असर र त्यसका ठूला मुलुकले निर्वाह गर्नुपर्ने दायित्वका विषयमा समान मत रहेको थियो ।

प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणामा मिलेर काम गर्न आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रतिनिधिमण्डलमा सहभागी उच्चपदस्थ पदाधिकारीको सहभागिता थियो ।

अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६२२ पुग्यो

काठमाडौँ । अफगानिस्तानको भूकम्पमा मृत्यु हुनेको संख्या ६२२ पुगेको छ ।

आइतबार राति आएको ६.३ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म ६२२ जनाको मृत्यु भएको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले जानकारी दिएका छन् । उनले अहिलेसम्म १५ सय ५५ जना घाइते भएका छन् भने ठूलो संख्यामा घरहरू ध्वस्त भएको बताएका छन् ।

मृतकमध्ये ६१० जना कुनारमा र १२ जना नान्गरहारका रहेका छन् भने घाइतेमध्ये १३ सय जना कुनारमा र २५५ जना नान्गरहारमा रहेको उनले बताएका छन् ।

अहिले राहत र उद्धारको काम जारी रहेको र मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

भूकम्पको केन्द्रबिन्दु जमिनबाट १६० किलोमिटर तल थियो। यसको कम्पन पाकिस्तानको इस्लामाबाद र एबोटाबादसम्म महसुस गरिएको थियो ।  पहिलो भूकम्पपछि पनि ४.७, ४.३ र ५.० रेक्टर स्केलका कम्पन महसुस गरिएको टोलोन्यूजले उल्लेख गरेको छ ।

यसअघि ७ अक्टोबर २०२३ मा अफगानिस्तानमा विनाशकारी भूकम्प आएको थियो । तालिबान सरकारले यस भूकम्पमा ४ हजारको मृत्यु भएको दाबी गरेको थियो भने संयुक्त राष्ट्र संघले १५०० जनाको मृत्यु भएको पुष्टि गरेको थियो । अफगानिस्तानमा शक्तिशाली भूकम्पको इतिहास छ। हिन्दुकुश पर्वत शृङ्खला भूकम्पको हिसाबले सक्रिय मानिन्छ, जहाँ हरेक वर्ष भूकम्प आउँछ । अफगानिस्तान भारतीय र युरेशियन टेक्टोनिक प्लेटहरूको बीचमा अवस्थित छ। यो फल्ट लाइन अफगानिस्तानको हेरातसम्म जान्छ। प्लेटहरूमा हलचल हुँदा भूकम्प आउँछ ।

नेपाल र कम्बोडियाबीच व्यापार र लगानीका विषयमा छलफल

थियानजिन । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई देशबीचको सम्बन्ध, व्यापार र लगानीका क्षेत्रहरुको विस्तारलगायत विषयमा छलफल भएको थियो । भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । उनीहरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

धनगढीमा आजदेखि सुदूरपश्चिम गौरा महोत्सव, प्रदेश प्रमुख मियाँले उद्घाटन गर्ने

कैलाली । कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम गौरा महोत्सव’ सुरु हुँदैछ । गौरा पर्वको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको महोत्सवको १०औं संस्करण आजदेखि प्रारम्भ हुँदैछ ।

डेउडा प्रतिष्ठानले आयोजना गर्न लागेको महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले विशेष समारोहका बीच गर्ने अध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ले जानकारी दिए ।

उनका अनुसार महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ । काली–कर्णाली क्षेत्रको सांस्कृतिक पहिचानका रूपमा रहेको डेउडाको संरक्षण र प्रचार–प्रसारसँगै सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

महोत्सव अवधिभर खुला डेउडा दोहोरी प्रतियोगिता र विद्यालयस्तरीय डेउडा प्रस्तुति हुनेछन् । धनगढीस्थित नेपाल पत्रकार महासंघको कार्यालय अगाडिको चौरमा हुने महोत्सवमा प्रवेश शुल्क निःशुल्क रहेको आयोजक समितिले जनाएको छ ।

आसाम र नेपालबीचको अन्तिम खेल आज, खेल जित्नेलाई उपाधि उचाल्ने

काठमाडौँ- नेपालको ‘ए’ टिमले भारतको आसाम टिमसँग पाचौँ तथा अन्तिम टी २० खेल खेल्दैछ। उक्त खेल भारतको गुवाहाटीमा साँझ ५ बजेबाट सुरु हुनेछ।

उक्त खेल सिरिजको निर्णायक खेल हो। यो खेलमा जित निकाल्ने टोलीले सिरिज आफ्नो पक्षमा पार्नेछ। दुवै टोलीले अघिल्लो दुई दुई खेलमा जित निकालेका छन्। पहिलो खेलमा आसामले नेपाललाई डीएलएस पद्धतिबाट १५ रनले पराजित गरेको थियो।

नेपालले दोस्रो खेलमा ९६ र तेस्रो खेलमा ९ रनले विजयी भएको थियो। चौथो खेलमा आसाम १८ रनले विजयी भएको थियो।नेपालको ‘ए’ टिमले भारतको आसाम टिमसँग ५ खेलको टी २० शृंखला खेलेको छ।

साफ महिला यू- १७ च्याम्पियनसिप खेल्न गएको टोली स्वदेश आइपुग्यो

काठ्माण्डौँ । भुटानमा सम्पन्न साफ यू-१७ महिला च्याम्पियनसिप खेलेर नेपाली टोली स्वदेश फर्किएको छ।

नेपाली यू- १७ महिला टोली सोमबार बिहान नेपाल आइपुगेको हो। नेपाल सम्पन्न प्रतियोगितामा तेस्रो हुँदै स्वदेश फर्कियो।

डबल राउन्ड रोबिनमा भएको खेलमा नेपालले कूल ६ खेल खेलेको थियो। ६ खेल खेलेको नेपालले १ खेलमा मात्र जित हात पार्न सक्यो।

नेपाल भारत र बंगलादेशसँग समान २( २ खेलमा पराजित भयो। नेपालले आयोजक राष्ट्र  भुटानलाई एक खेलमा पराजय गर्दा अर्का खेलमा बराबरी खेलेको थियो। प्रतियोगिता गत भदौ ५ गते सुरु भएको थियो।

साफ यू- १७ महिला च्याम्पियनसिपको उपाधि भारतले जित्यो।

अफगानिस्तान भूकम्प : राहत र उद्धार कार्यमा कठिनाइ

बगदाद । अफगानिस्तानको पूर्वी क्षेत्रमा भूकम्पमा परेर सयौँको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ । बीबीसीको पश्तो सेवाका अनुसार तालिबान सरकारले यस भूकम्पमा सयौँ मानिसहरूको मृत्यु भएको हुनसक्ने आशङ्का व्यक्त गरेको छ ।

सरकारले अहिलेसम्म भने २० जनाभन्दा बढीको मृत्युको पुष्टि गरेको छ । भूकम्पबाट नान्गारहार र कुनार प्रान्त सबैभन्दा बढी प्रभावित भएका छन् ।  अधिकारीहरूका अनुसार ११५ भन्दा बढी घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

भूकम्पबाट धेरैजसो क्षति कुनार प्रान्तमा भएको रिपोर्ट गरिएको छ, जसको लगभग ९० प्रतिशत जमिन पहाडी क्षेत्र रहेको छ । भूकम्प प्रभावित क्षेत्रहरूमा जाने सडकहरू धेरै साँघुरा छन् । तीमध्ये धेरै पहिरोका कारण बन्द भएका छन् । केही क्षेत्रहरूमा मोबाइल नेटवर्कले काम गरिरहेको छैन ।

भूकम्पको धक्काका कारण आएको बाढी र पहिरोका कारण यस क्षेत्रका सडकहरू बन्द भएको कुनार प्रान्तका प्रहरी प्रमुखले बीबीसीलाई बताए । आफूहरूसँग सीमित स्रोतहरू भएकोले प्रभावित क्षेत्रहरूमा पुग्न हेलिकप्टर उपलब्ध गराउन र अन्तर्राष्ट्रिय संस्थाहरूबाट मद्दतको लागि अनुरोध गरिरहेका तालिवान अधिकारीहरूले भने ।

२०२२ को भूकम्पमा पनि यस्तै कठिनाइहरू देखिएका थिए । त्यतिबेला भूकम्पमा परेर लगभग १,००० मानिसहरूको मृत्यु भएको थियो ।  त्यस समयमा पनि पहिरोका कारण दुर्गम गाउँहरूमा राहत र उद्धार कार्यमा बाधा पुगेको थियो । त्यस समयमा पनि राहत र उद्धार कार्य आकाशबाट गरिएको थियो ।

अफगानिस्तान भूकम्पमा मृत्यु हुनेको संख्या २५० नाघ्यो, ५ सय बढी घाइते

 एजेन्सी । अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परि २५० जना भन्दा बढीको मृत्यु भएको छ ।

पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा ६.३ म्यग्निच्युडको भूकम्पमा परेर अन्य ५ सय बढी घाइते भएका छन् ।

घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको जनाएको छ ।

स्थानीय समय अनुसार आइतवार राती १२ बजेर ४७ मिनेट जाँदा गएको भूकम्पको केन्द्रबिन्दु देशको पाँचौं ठूलो सहर जलालाबादबाट २७ किलोमिटर पर रहेको बताइएको छ।

दर्जनौँ घरहरू भग्नावशेषमा परिणत भएको बताएका छन्। मारिएकाहरूको सङ्ख्या बढ्न सक्ने गरिएको छ।

तालिबान अधिकारीहरूले दुर्गम पहाडी क्षेत्रहरूमा उद्धार कार्यका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूलाई आग्रह गरेका छन्।

धेरैजसो भूकम्पको क्षति कुनार प्रान्तमा भएको ठानिएको छ जसको झण्डै ९० प्रतिशत भूभाग पहाडी छ।

अमेरिकाको विस्कान्सिनमा धुमधामसंग मनाईयो गौरा

विस्कान्सिन, ३१ अगष्ट ।
अमेरिकाको विस्कान्सिनमा शनिवार गौरा पर्व धुमधामसंग मनाईएको छ ।

गौरा समाज विस्कान्सिनको आयोजनामा शनिवार विस्कान्सिनको हिन्दु मन्दिरमा गौरा पर्व धुमधामसंग मनाईएको हो ।

गौरा पर्वका अवसरमा गौरी पूजा, दुबधागो अभिषेक, गौरादेवी र महेश्वर नृत्य, प्रसाद वितरण, गौरा सेलाउने लगायतका कार्य बिधि पूर्वक गरिए ।

गौरा पर्वका अवसरमा आयोजित कार्यक्रममा कलाकार तथा देउडा गायक शंकर बिष्टले हुड्केली प्रस्तुत गरे । बिष्टको प्रस्तुतीले सबैलाई मन्त्रमुग्ध बनायो ।

कार्यक्रममा विस्कान्सिनका बिभिन्न भागबाट गौरा पर्वमा सहभागी भएका सुदूरपश्चिमेलीसंगै अन्य समुदायका व्यक्तिहरुले देउडा खेलेर भरपुर मनोरञ्जन लिए ।

गौरा समाजको आयोजनामा हिन्दु मन्दिरमा बिहान १० बजे गौरा पूजा शुरु भयो । २ बजे गौरा भित्र्याईयो । २ बजेदेखि ३ बजेसम्म बिरुडा प्रसाद वितरण गरियो । ३ देखि ५ बजे हुड्केली, देउडा खेल, दाईना दमाउ र नृत्य प्रदर्शन गरियो । अन्तिममा साँझ पाँच बजे गौरा विसर्जन गरियो ।

गौरा समाज विस्कान्सिनका अध्यक्ष अध्यक्ष बासुदेव जोशीको अध्यक्षमा सम्पन्न कार्यक्रममा सुदूर पश्चिम समाजका अगुवा रामचन्द्र शर्मा, टंक प्रसाद जोशी, देवराज जोशी, गौरा समाजका सल्लाहकार बासुदेव अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा गौरा पर्वको महत्वमाथि चर्चा गरेका थिए ।

खोज्नुहोस