धनगढी : बिबिधतामा हुर्किएको सुदूरको ‘गेट वे’

धर्मेन्द्र बिह्वल

हामी पलियाकलाँ आइपुग्दा दिउँसोको करिव एक बजिरहेको थियो । हामी रेलबाट ओर्लेर स्टेशनबाहिर निस्कदा मनमा प्रश्न उव्जियो, यो कुन नयाँ ठाउँमा आइपुगियो ? केटाकेटीकै उमेर न हो । स्टेशनबाहिर आउँदा भोक लागेको भन्ने मेरो जानकारीका आधारमा पिताजीले एउटा सामान्य होटेलमा लिएर जानुभयो । खाना खाइयो र अब अगाडीको यात्राका लागि तयार हुनु थियो, भइयो । पिताजीका अनुसार अबको गन्तव्य गौरीफन्टा र त्यसपछि धनगढी । जंगलको बीचबाट गौरीफन्टासम्म एउटा सामान्य बसमा यात्रा गरियो भने गौरीफन्टाबाट मोहना नदी पार गर्दै रिक्साबाट धनगढी टेकिएको थियो । अहिले मोहना नदी छेउ नेपाली भूमिमा सानो वजार, जो डोके वजारका नामले चिनिन्छ, अवस्थित छ । वास्तवमा यहीँबाट पुनर्वास वस्ती सुरु हुन्छ । अलिकति पश्चिम कञ्चनपुर जिल्लामा पुगेपछि यो वस्ती अझै बाक्लिन्छ र एउटा नगरपालिकाको परिस्कृत स्वरुप ग्रहण गर्दछ । तर जुनबेला पहिलोपटक मैले यो भूगोल टेकेको थिएँ, त्यसवेलासम्म यो घना जंगल नै थियो र वस्ती वस्न प्रारम्भ भइसकेको थिएन ।

भर्खर प्रवेशिका (एसएलसी) परीक्षा दिएर बसेको १६ वर्षे किशोर । म मेरा पिताजीसँग मेरो घर जनकपुरबाट निकै टाढा पलियाकलाँ हुँदै धनगढीसम्म आइपुगेका थिएँ । सबै कुरा नौलो लागीरहेको थियो । यस क्षेत्रका लागि म त नयाँ थिए नै मेरा पिताजी पनि सुदूरपश्चिमको तराईको यो भूगोलबाट त्यति खासै परिचित हुनुहुन्न थियो भन्ने मेरो अहिलेको बुझाई हो । म त यतिमात्र ठानिरहेको थिएँ–म त पिताजीसँग छु र पिताजीलाई सबै कुरा थाहा हुन्छ । मेरा पिताजी यो विश्वकै सबैभन्दा जान्ने बुझ्ने व्यक्ति । पिताजी सँगै भएपछि सबै समस्याको समाधान सहजै भइहाल्छ नि ।

त्यसवेला हाम्रालागि नितान्त नयाँ यात्रामा पिताजीले कति समस्या वेहोर्नुपरेको थियो होला भन्ने कुराको अनुमान म आज ४१ वर्षपछि गरिरहेको छु । पक्कै सहज थिएन होला त्यो समय । मैले उल्लेख गरिहालेँ सन्दर्भ ४१ वर्ष पहिलेको हो, जब मैले पहिलोपटक धनगढीको भूगोल टेकेको हुँ ।

नेपालको पश्चिमी भूगोलको ‘गेट वे’

धनगढी–सुदूरपश्चिमको हालको राजधानी शहर । यस शहरको नामकरणका बारेमा अनेकौं किंवदन्ती प्रचलित छन । कतिले धन गाडिएको ठाउँ भन्छन भने कतिले धानको उत्पादन बढी हुने ठाउँका रुपमा पनि चिनाउने गरेका छन । थारु जातिको बाक्लो उपस्थिति रहेको कैलालीको सदरमुकाम धनगढीमा भने उत्तर पहाडबाट वसाई सरेर आएकाको संख्या उल्लेख्य छ । यस शहरको रवाफ त्यसबेला पनि राम्रै रहेको म सम्झन्छु । नेपालको पश्चिमी भूगोलको ‘गेट वे’ नगरका रुपमा धनगढी त्यसवेला पनि स्थापित थियो । त्यसको यो प्रभावमा आज पनि कुनै कमी आएको छैन भन्ने मेरो बुझाई हो । हो, हिजोभन्दा आज क्रमशः यो शहर सुगम भने बन्दै गएको छ । पहिले कर्णाली र राप्ती नदी पारी अर्थात पूर्वका हामीजस्ता व्यक्तिका लागि यहाँ आउनु सहज थिएन । जनकपुर घर भएका हामीजस्ताले भारतको लामो बाटो हुँदै यहाँ आउनुपर्ने बाध्यता थियो । यस अर्थमा त यो विकट नै थियो नि । हामी पनि त्यस्तै बाध्यता तह लगाउँदै यहाँसम्म आइपुगेका थियौं । अहिले अवस्थामा निकै परिवर्तन आएको छ । आज यस शहरबाट नेपालको कुनै पनि स्थानका लागि सडकयात्रा गर्न सकिन्छ भने दस किलोमीटर उत्तरमा अवस्थित अतरियाबाट सुदूरपश्चिमका सबै पहाडी जिल्ला सडक सञ्जालमा जोडिन्छ । छेवैको भारतीय नगर पलियाकलाँ र वनवासाबाट भारतको जुनसुकै ठाउँका लागि सडक र रेलबाट यात्रा गर्न सकिन्छ । यो निश्चित हो, असहजबाट सहज बन्दै गएको आधुनिक धनगढीको निर्माण एक दिनमै भएको भने होइन ।

विद्यमान विकटतालाई छिचोल्दै, समस्याहरु पार लगाउँदै हामी त्यसवेला धनगढी आइपुगेका थियौं । मैले धनगढी पहिलोपटक टेकेको तिथिमिति त यकिन छैन तर किशोरावस्थाको त्यो समय वर्तमानमा स्मरण गर्दा यति सम्झन्छु, झण्डै चार दिनको यात्रा तय गरेर धनगढी टेक्दा म निकै थकित थिएँ । पानी प्यास लागेको थियो । मैले पिताजीलाई पानीको आग्रह गर्दा उहाँले अलि कडा स्वरमा एकछिन पख्न भनेको स्मरण मेरो मानसपटलमा अझै ताजै छ । यहाँ पुग्दा झमक्क साँझ परिसकेको थियो । घडीमा कति वजेको थियो, त्यो त थाहा भएन ।

म एसएलसी दिएर बसेको थिएँ । अन्य कुनै दवाव थिएन । पिताजीको सरुवा कञ्चनपुरको महेन्द्रनगर (अहिलेको भीमदत्त नगर)स्थित घरेलु कार्यालयको प्रमुखका रुपमा भएको थियो । उहाँ त्यहाँ जानुपर्ने थियो । उहाँले धेरैजनासँग सल्लाह गरेर धनगढी हुँदै महेन्द्रनगर जाने बाटो रोज्नु भएको थियो । मैले पनि सँगै जाने ढिपी गरेको थिएँ । जसमा म सफल भएको थिएँ । यो ढिपी प्रमाण हो, मलाई घुमघाममा त्यसै वेलादेखि रुची थियो । हामीले जनकपुरबाटै रेलको यात्रा प्रारम्भ गर्यौ । भारत विहारको जयनगरसम्म नेपाली रेलबाट आइपुगेका हामीले यहाँबाट भारतीय रेलबाट मधुवनी, दरभंगा, पटना, गोण्डा र पलियाकलाँसम्मको यात्रा तय गरेका थियौं । यसक्रममा अनेक स्टेशनमा रेलबाट ओर्लने र रेल चढने हाम्रो दैनिकी नै बनेको थियो । कतिपय ठाउँमा स्टेशनकै प्लेटफर्मलाई आवास बनाएको र त्यतै कतै पेटलाई सन्तुष्टि प्रदान गर्ने प्रयास गरेको स्मृति मेरा लागि निकै महत्वपूर्ण छ । यात्राका सँगैका सहयात्रीको प्रभाव, रेल्वेका कर्मचारीको सहयोग र असहयोग, बाटामा उत्पन्न समस्या र तिनको समाधानको प्रक्रियालाई यतिखेर सम्झँदा मलाई लाग्छ मेरा जीवनका लागि ती अत्यन्त महत्वपूर्ण सिकाई थिए र हुन ।

धनगढीसँगको निरन्तर सम्पर्क

हामी धनगढी आइपुग्दा साँझ परिसकेको थियो । महेन्द्रनगर त भोलि जाने हो तर आज बस्ने कहाँ ? समस्या थियो । त्यसवेला कैलाली जिल्लाको सदरमुकाम पश्चिमको नेपालको मुख्य व्यापारिक नगर धनगढीमा आजको जस्तो विकसित सडक वजार, होटेल आदि थिएनन् । पिताजीका अनुसार आजको रात यहाँको घरेलु कार्यालयमा विताउनुपर्ने थियो तर त्यस कार्यालयका बारेमा कुनै जानकारी उपलब्ध थिएन । कहाँ छ ? कुन ठाउँमा छ ? थाहा छैन । आजको जस्तो फोन प्रणाली नभएको युगमा, जब इच्छयाएको नम्बर पाउन एक्सचेन्जको सहयोग आवश्यक पर्दथ्यो, सोधखोज गर्दै धुले बाटोहरु पछ्याउँदै गन्तव्यसम्म पुग्नुबाहेक कुनै विकल्प थिएन । पिताजीले त्यसै गर्नुभयो । हामी कसैगरी घरेलु कार्यालय पुग्यौ तर त्यहाँ कार्यालय प्रमुख थिएनन । हाम्रा सामु विकराल समस्या उत्पन्न भएको थियो । तर सायद एकजना सहायक स्तरका कर्मचारी भेटिए । उनले सहयोग गरे र हामीले कसै गरी त्यहाँ रात विताएको सम्झन्छु । भोलिपल्ट विहान सबेरै अगाडी मुख निस्केको ट्रकजस्तो एउटा वसमा हामी महेन्द्रनगरतर्फ प्रस्थान गरेका थियौं ।

आजको दिनमा म आफैसँग दावी गर्न सक्छु, धनगढीलाई म विगत ४१ वर्षदेखि जान्दछु । म निरन्तर यो शहरको सम्पर्कमा छु । पेशाले पत्रकार भएका कारणले पत्रकारिताको गतिविधिको त म साक्षी हूँ नै यस अवधीमा भएका यहाँका सामाजिक, राजनीतिक र भौतिक विकासको पनि कुनै न कुनैरुपले म प्रत्यक्षदर्शी हूँ । साक्षी हूँ । २०४० सालदेखि २०५२ सम्मको अवधिमा पिताजीको जागिरका कारणले एक÷दुईपटक म धनगढी गएँ हुँला, त्यो पनि सम्झने गरी होइन । त्यसपछि २०५३/५४ देखि निरन्तर रुपमा म यो शहरसँगको सम्पर्कमा छु । सबैभन्दा बढी पत्रकारिताका कारणले । हो, कैलाली र त्यसमा पनि धनगढीको भूमि पत्रकारिता कर्मका कारणले मेरा लागि निकै महत्वपूर्ण छ । २०५६ तिर म हिमालय टाइम्समा कार्यरत थिएँ । त्यसैताका मैले कमैयासम्बन्धी समाचारवृत्ति (फेलोसिप) प्राप्त गरेको थिएँ । त्यस सन्दर्भमा मैले कैलाली पनि गएर अध्ययन गर्नुपर्ने थियो । म गएँ र त्यसैवेला मैले धनगढीलगायत कैलालीका धेरै ठाउँ घुम्ने अवसर पाएको हूँ । चिसापानी, लम्की, टीकापुर, पहलमानपुर, जोशीपुर, मोहन्याल, बौनियाँ, जानकी, प्रतापपुरजस्ता ठाउँ मैले त्यसैवेला घुमेको हुँ । यो भ्रमणमा मलाई सहजीकरण गरी सहयोग गरिदिने मित्र टीकापुरमा भुवनेश्वर अधिकारी र धनगढीमा करुणाकर पाण्डेप्रति म आभार व्यक्त गर्न चाहन्छु । २०५६ पछि पनि मैले यी ठाउँहरुको पटकपटक भ्रमण गरेको छुँ, निकै परिवर्तनको अनुभूति सँगालेको छु ।

कैलालीको पत्रकारिता र पत्रकारको कुरा गर्दा मैले यहाँ सबैभन्दा पहिले चिनेको पत्रकार करुणाकर पाण्डे हुन । पाण्डे र मैले हिमालय टाइम्समा सँगै काम गरेका हौं । त्यसै सन्दभएमा शायद २०५३ देखि नै उनीसँग मेरो सम्बन्ध निरन्तर छ । पाण्डे र म नेपाल पत्रकार महासंघको केन्द्रीय समिति (२०५६–५९)मा सदस्यका रुपमा पनि सँगै कार्यरत थियौं । पाण्डेसँगका पत्रकारिताका मेरा अनेक अनुभव स्मृतिमा छन । पाण्डेपछि कैलालीका मेरा अर्का पुराना मित्र हुन मनमोहन स्वाँर, जो म नेपाल पत्रकार महासंघको अध्यक्ष हुँदा (२०६५–६८) सुदूरपश्चिम संयोजक (केन्द्रीय सदस्य)थिए । यी दुबैसँग एक किसिमले मेरो पारिवारिक सम्बन्ध पनि छ । यी दुबै मित्रको घरमै पनि मैले केही दिन विताएको छु । धनगढी आउने जाने सन्दर्भमा मैले अग्रज पत्रकारहरु घनबहादुर शाह, उमीद बागचन्द, टिएन जोशी, मोहन बुढा ऐर आदिलाई पनि चिनेको हुँ ।

सशस्त्र द्वन्द्वकालमा एक रातको साक्षी

धनगढी सम्झने कुरा गर्दैगर्दा २०६०/६१ को एउटा दिन (तिथि यकिन छैन)लाई मैले कहिले विर्सन सक्दिन । सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका साथीको प्रतिनिधित्व हुने गरी कैलालीका पत्रकारहरुको संख्या अधिक रहेको समाचार लेखन र अन्तरवार्ता विषयक एक तालिमको आयोजना गरिएको थियो । नेपाल प्रेस इन्स्टिच्यूट (एनपिआएइ)ले आयोजना गरेको उक्त सातदिने तालिमको सहजकर्ताका रुपमा मसँगै गएका थिए नेपालगञ्जका अग्रज पत्रकार हेमन्त कर्माचार्य । हामी होटेल विद्यामा थियौं । सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । त्यस समयमा एक रात भएको भीडन्तको साक्षी हामी पनि बन्न पुगेका थियौं । धनगढी वजारमा निकैबेर गोली चलेको सुनियो । म र हेमन्त दाई होटेलको छतमा गयौ र गोली कहाँ चलेको हो भनेर ठम्याउन खोज्यौ । केही हदसम्म ठम्यायौ पनि । भोलिपल्ट तालिम सुरु हुनुअघि विहान वजार घुम्दा हामीले धनगढी वजारको स्वर काँपेको अनुभव गरेका थियौं । शहरी क्षेत्रमा दुईपक्षीय भीडन्तमा भएको गोलीवारीले स्थानीयको सुरक्षाका सम्बन्धमा एकैपटक थुप्रै प्रश्नको उठान भएको हाम्रो ठम्याई थियो । त्यसै तालिम सन्दर्भको बसाईपछि, पत्रकारहरु कर्ण शाह, दीर्घराज उपाध्याय, शिवराज भट्ट, भरत शाह, जगत साउद, हिक्मत रावल, हेमन्त पौडेल, गणेश चौधरी, टेकराज जोशी, वीरेन्द्र रावल, एकिन्द्र तिमिल्सेना, मीन वम, टेकेन्द्र देउवा, योगेन्द्र वलायर, भावना जोशी, करुणा जोशी आदिसँग मेरो सम्बन्ध झाँगिएको हो । यो सम्बन्ध अहिलेसम्म पनि निरन्तर छ भन्न पाउँदा मलाई गौरवबोध छ । पछिल्ला दिनमा त कैलाली कार्यक्षेत्र भएका प्रकाशविक्रम शाह, हिमाल जोशी, योगेश रावल, परमानन्द पाडे, श्रवण देउवा, दुर्गा देवकोटा, मीन ठकुरी, दीपेन्द्र भट्ट, टंक कुवँर, सीताराम ओझा, भोजराज जोशी, हरि जोशी, दीपक ओली, भीम चौधरी, सिद्धराज भट्ट, टीकाराम सुनार, भीष्मराज ओझा, देवानन्द न्यौपाने, डम्मर वम, नवराज खनाल, युवराज न्यौपाने, चन्द्र खनाल, तिलक ओझा, मुकेश टेर्रा, प्रेम चौधरी, दिनेश चौधरी, हरिश विक, प्रिन्स विके, लक्ष्मी जैशी घोडासैनी, सुनील आउजी, गगन ऐडी, शेरवहादुर ऐर शेरु, लोकबहादुर देउवा, जस्ता पत्रकार मित्रसँग पनि मेरो आत्मीय सम्बन्ध छ ।

पत्रकारिताका अनेक मुद्दा, दीर्घको नेतृत्व महत्वपूर्ण

पत्रकारिताका सन्दर्भमा धनगढीसँग सम्बन्ध जोडिएका अनेक स्मृति शेष छन । सबैको चर्चा गर्नु सम्भव छैन । तर केही विषय यस्ता छन जसको चर्चालाई अस्वीकार पनि गर्न सकिँदैन । यस्तो चर्चाको प्रयत्न गर्दा पत्रकार दीर्घराज उपाध्यायको नाम अत्यन्त टडकारो रुपमा अगाडी आउँदछ । म पत्रकार महासंघको केन्द्रीय अध्यक्ष हुँदै गर्दा उनी महासंघ कैलालीका अध्यक्ष थिए । त्यस कालखण्डमा उनको र मेरो अर्थात केन्द्र र जिल्लाबीच सफल समन्वय थियो । हो, केन्द्रीय सदस्यका रुपमा यसमा मनमोहनजीको महत्वपूर्ण भूमिकालाई अस्वीकार गर्न सकिँदैन ।

हामीले स्थानीय पत्रकार र व्यवसायीबीचको खस्कँदो सम्बन्ध सुधारको विषय होस वा पत्रकार लक्की चौधरीलाई सुरक्षित रुपमा काठमाडौमा स्थापित गर्ने कुरा होस हामीले महत्वपूर्ण सफलता प्राप्त गरेका थियौं । यतिमात्र होइन अतरियाका पत्रकार जेपी जोशीको हत्या प्रकरण मेरो पत्रकारिता क्यारियरकै एक महत्वपूर्ण घटना थियो । शायद यस्तै अनुभूति दीर्घको पनि हुनुपर्छ । यो घटनालाई लिएर नेपाल पत्रकार महासंघ देशव्यापीरुपमा आन्दोलित भयो र सरकार घटनाको छानविन गर्न एक उच्चस्तरीय आयोग गठन गर्न बाध्य भयो । त्यस कालखण्डमा कैलालीमा जति पनि घटना भए, सबैलाई सम्बोधन गर्न महासंघ सफल रह्यो । म स्थानीय नेतृत्वका नाताले वास्तवमै दीर्घको प्रशंसा गर्न चाहन्छु ।

सामाजिक सद्भावको शहर

मैले चिनेको धनगढीको अर्को रुप हो सामाजिक सद्भावको शहर । तराईमा शायद यति समाजिक विविधतायुक्त अर्को शहर छैन भन्दा अन्यथा हुदैन । हार्दिकता यो शहरको गहना हो । सबै भाषा, भाषी, जाती, धर्म र समुदायबीचको सौहाद्र्धता अन्य शहरका लागि पनि अनुकरणीय छ । त्यसो त केही वर्षअघि धनगढी र कैलालीले खण्ड–अखण्ड र थरुहट आन्दोलनको पीडा सँगाल्न बाध्य हुनुप¥यो । यिनलाई अपवाद मान्ने हो भने कैलालीको समाज आपसमा मिलेर बसेको समाज हो । धनगढीलाई त्यसको प्राकट्य रुपमा ग्रहण गर्न सकिन्छ । धनगढीमा सबैथरि जातजाती मिलेर बसेका छन । धनगढीले सबैलाई मान, सम्मान र स्थान प्रदान गरेको छ । यस शहरले सबैलाई आफूभित्र समेट्ने निरन्तर प्रयत्न गर्दै आएको छ÷गरेको छ । यहाँका आदिवासीका साथै पहाडबाट तल झरेका होउन कि तराई मधेशकाहरु पश्चिम सरेका होउन, धनगढीले सद्भावका साथ सबैलाई स्वीकार गरेको छ । वास्तवमा भन्ने हो भने आजका दिनमा यस शहरको शक्ति पनि यही सद्भावमा आधारित छ । यसको प्रभाव पनि यही हो ।

आधुनिक धनगढीको निर्माणमा सबैको योगदान छ । यसको निर्माणमा सुदूरपश्चिमका व्यक्तिको योगदान त महत्वपूर्ण छ नै, पूर्वी नेपालका नेपालीको भूमिका पनि कम महत्चवपूर्ण छैन । यहाँ सुदूरपश्चिमका पहाडका सात जिल्लाका साथै छेवैका बाँके, वर्दिया र पूर्वी मधेशका सिरहा, सप्तरी, सर्लाही, धनुषा र महोत्तरी जिल्लाका झा, मिश्र, ठाकुर, मण्डल, कर्ण, साह, शुक्ला थर भएका व्यक्तिहरुको ठूलो संख्यामा वसोवास छ र धनगढीको आर्थिक, सामाजिक र राजनीतिक गतिविधिमा यिनको योगदान महत्वपूर्ण छ । पूर्वी मधेशबाट आएर यहाँ वसोवास गरिरहेकामध्ये अधिकांशको पुर्वजको सम्बन्ध शिक्षण पेशासँग छ । सुदूरका पहाडी जिल्लामा शिक्षाको ज्योति फैलाउन आएकाहरु पछि धनगढीमा आएर वसोवास गर्न थाले र यो शहरले तिनलाई स्वीकार गर्दै आफूभित्र स्थान दिएर संरक्षित गर्यो । अहिले तिनैका सन्तानमध्ये अधिकांश यहाँ अनेकथरी व्यवसायमा संलग्न छन । धनगढी आउने जाने क्रममा वेलावखत सञ्जय चौधरी, प्रेमचन्द्र झा, रोहित मिश्र लगायतसँग पनि भेटघाट हुने गरेको म सम्झन्छु ।
यस आधारमा कहिलेकाहीँ लाग्छ, धनगढी आगन्तुकहरुको शहर हो र स्वाभाविकरुपले यहाँको राजनीति, आर्थिक क्षेत्रमा आगन्तुकको प्रभाव निर्णायक रहने गरेको छ । धनगढीले त तिनलाई अपनत्व प्रदान गरेको छ तर तिनले धनगढीसँग कति अपनत्वभाव विकसित गर्न सकेका छन ? प्रश्न विचारणीय छ ।

पछिल्लो समयमा धनगढी चर्चामा रहने गरेको थप केही कारण छन । पहिलो सुविधासम्पन्न विमानस्थल, दोस्रो गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान (जो निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन), तेस्रो सुदूरपश्चिमको अस्थायी राजधानी, चौथो सुदूरपश्चिमको प्रवेश द्धार (गेट वे) अत्तरिया र पाँचौ श्री वेहडा बाबाको नगर ।

सामान्यतया धनगढीमा मोहना किनारलाई अपवाद मान्ने हो भने यहाँ आउने पर्यटकका लागि घुम्ने गन्तव्यको नितान्त अभावबोध भइरहेको वर्तमानमा वेहडा बाबा स्थान चर्चामा आएको छ । यो एक प्रसिद्ध धार्मिक तथा आध्यात्मिक स्थल हो । यो स्थान सिद्ध बाबा वा तपस्वीको रूपमा पूजिन्छ । धनगढी नजिकैको वन क्षेत्रको आसपास अवस्थित यो स्थल पछिल्लो समयमा धार्मिक यात्राका लागि पनि प्रसिद्ध हुँदैछ । यहाँ मानिसहरू राम्रो स्वास्थ्य, सफलता, र संकटबाट मुक्ति पाउन आशीर्वाद माग्न जाने गर्दछन । हरियाली र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थान धार्मिकमात्र नभई मन शान्त पार्ने स्थलका रुपमा पनि चर्चित हुँदैछ ।

यति हुँदाहुँदै पनि धनगढीलाई पूर्ण मान्न सकिने अवस्था भने छैन । म जबजब यहाँ जान्छु, भगवान लक्ष्मीनारायण मन्दिर जाने प्रयत्न गर्छु र पाउँछु भगवान हिजो जहाँ थिए आज पनि त्यहीँ छन । उनको मन्दिरमा खासै परिवर्तन आउन सकेको छैन ।
–––

टेक्सास संसदद्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास, २ जेठ ।
अमेरिकाको टेक्सास राज्यको संसदले  हरेक वर्षको १५ मेलाई ‘बुद्ध डे’ रुपमा मनाउने संकल्प प्रस्ताव पारित गरेको छ टेक्सासको राज्य संसदबाट नेपाल डे र लुम्बिनी डे पछि पारित भएको यो तेस्रो सङ्कल्प प्रस्ताव हो ।

बिहीबार सम्पन्न टेक्सास राज्यको संसदको बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल भएको भन्दै हरेक वर्षको १५ मेलाई ‘बुद्ध डे’ का रुपमा मनाउने संकल्प प्रस्ताव पारित गरेको हो ।

राज्यसभाको बैठकमा सभामुख डस्टिन बुरोले पेस गरेको १५ मे लाई ‘बुद्ध डे’का रुपमा मनाउनेसम्बन्धी प्रस्ताव संसदले सर्वसम्मतले पारित गरेको हो ।

बुद्ध जन्मभूमिलाई लिएर बेलोबलामा विवाद गर्ने गरिएकोमा अमेरिका टेक्सास राज्यको संसदले नै बुद्ध जन्मभूमि नेपाल भएको स्वीकार गर्दै बुद्ध डे मनाउने संकल्प प्रस्ताव गर्नुलाई टेक्ससका नेपालीभाषीहरुले महत्वपूर्ण उपलब्धीका रुपमा लिदै खुशी व्यक्त गरेका छन् ।

टेक्सासका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने राज्य सांसद (हाउस अफ रिप्रजेन्टेटिभ) डा सुलेमान ललानी, टेरी मेजा, सलमान भोजानी लगायतले ‘बुद्ध डे’सम्बन्धी संकल्प प्रस्ताव तयार गरी संसद्मा दर्ता गराएका थिए ।

उक्त अवसरमा नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र टेक्सास, नेपाली समाज टेक्सास, ग्रेटर अस्टिन नेपाली समाज, बुद्धिस्ट एशोसियसन अफ टेक्सास, तामाङ सोसाइटी अफ टेक्सासलगायत दर्जन बढी संस्था, नेपाल, भियतनाम, कोलम्बिया, म्यानमारलगायत विभिन्न देशका ६० भन्दाबढी बौद्ध भिक्षुहरुको उपस्थिति थियो ।

बुद्धको जन्मभूमिका विषयमा बिभिन्न भ्रमहरु फैलाउने कार्य भईरहेको बेला टेक्सासको राज्यसभा संसदले नै बुद्ध नेपालमा जन्मिएको कुरा स्वीकार गरेर बुद्ध डे मनाउने संकल्प प्रस्ताव पारित गर्नु गर्वको कुरा भएको नेपाली अगुवा प्रभात दीक्षितले बताए ।
टेक्सास राज्यसभाका सांसदहरुसंगको निरन्तर संवाद, छलफल र आग्रहपछि यो महत्वपूर्ण उपलब्धी हासिल भएको दीक्षितले बताए ।
यो निर्णयले लुम्बिनीको मात्र नभएर समग्र नेपालको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने दीक्षितले बताए ।

बुद्ध डे मनाउने सम्बन्धी संकल्प प्रस्ताव टेक्सासको राज्यसभा संसदबाट पारित हुनु नेपालीहरुका लागि गर्वको कुरा भएको एनआरएन अगुवा पदम ठकुराठीले बताए ।

टेक्सासको राज्यसभाले गौतम बुद्धको जन्मभूमि नेपालको लुम्बिनी भएको स्वीकार गरी संकल्प प्रस्ताव पारित गरेको दिनलाई नेपालीहरुलाई विशेष रुपमा लिएको ग्रेटर अष्टिन नेपाली सोसाईटीका निवर्तमान अध्यक्ष भोजराज भट्टले बताए ।

ग्रेटर अस्टिन नेपाल सोसाईटीले हरेक वर्षको १५ मे लाई बुद्ध डेका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने जनाएको छ ।

न्यूयोर्कमा १८ मेमा भव्य रुपमा नेपाल डे परेड मनाईदै

न्युयोर्क(अमेरिका), १६ मे ।
अमेरिकाको न्यूयोर्कमा १८ मे मा ‘नेपाल डे परेड २०२५’ आयोजना हुने भएको छ ।

न्यूयोर्कमा रहेको नेपालीहरुले सन २०१६ देखि हरेक वर्ष वर्ष मे महिनामा उत्सवका रुपमा मनाउदै आएको नेपाल डे परेड यस वर्ष १८ मे मा मनाउन लागिएको हो ।

गैर आवासिय नेपाली संघ अमेरिका राष्ट्रिय समन्वय समिति, न्युयोर्क च्याप्टर र अन्य नेपाली संघ–संस्थाहरुको संयुक्त आयोजनामा १८ मेमा नेपाल डे परेड मनाउन लागिएको हो ।

एनआरएनए न्यूयोर्क च्याप्टरका उपाध्यक्ष तथा नेपाल डे परेडका संयोजक छिरिङ शेर्पाले परेडको सम्पूर्ण तयारी पुरा भएको द एभरेष्ट पोष्टलाई जानकारी दिए ।

उनले नेपालीहरुले हरेक वर्ष नेपाल डे परेडलाई उत्सवका रुपमा मनाउने गरेको बताए ।

नेपाल डे परेडले नेपाल र नेपालीलाई अमेरिकामा चिनाउने उनको विश्वास छ ।

नेपाल डे परेडका संयोजक शेर्पाका अनुसार नेपाल डे परेडमा नेपालका सात वटै प्रदेशको पहिचान झल्किने गरी झाँकी, पहिरन, कला, संस्कृतिहरु प्रदर्शन गरिने बताए ।

नेपाल डे परेडमा न्यूयोर्कमा रहेका दुई हजार पाँच सयभन्दा बढि नेपालीहरुको उपस्थिति रहने संयोजक शेर्पाले जानकारी दिए ।

नेपाल डे परेडका को कन्भेनर रैभान महराले परेडमा सुदूरपश्चिमको पहिचान, भेषभुषा झल्किने पहिरन सहित डेउडा र छलिया लगायतका संस्कृति प्रदर्शन गरिने बताए ।

आआफ्ना मौलिक पहिरन सहित परेडमा सहभागी हुने थारु र पहाडी समुदायका व्यक्तिहरुले गौरा, डेउडा, हुड्के, सखिया लगायतका सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने महराले जानकारी दिए ।

न्यूयोर्कमा २०१६ मा नेपाल डे परेड मनाउन थालिएको हो । कोभिडका कारण २०२२ मा मनाउन नपाईएको त्यसयता लगातार रुपमा मनाउदै आईएको छ ।

न्यूयोर्कको ३८ स्ट्रिटबाट ११ बजे शुरु हुने नेपाल डे परेड मेडिसन पार्कमा पुगेर समापन हुनेछ ।

महावाणिज्य दूतावास न्यूयोर्क र एनआरएनए अमेरिकाको सहयोगमा आयोजना हुन लागेको नेपाल डे परेडमा न्यूयोर्कमा रहेका नेपाली समुदायका बिभिन्न संघसंस्थाहरुको समेत सहयोग तथा सहभागिता रहने छ ।

अमेरिका र यूएईबिच दुई सय अर्ब डलरको सम्झौता

संयुक्त राज्य अमेरिकाले बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग दुई सय अर्ब डलरभन्दा बढीको सम्झौता गरेको छ। यो सम्झौतामा अत्याधुनिक अन्तरिक्ष यान, ऊर्जा र महत्वपूर्ण खनिजहरू समावेश छन्।

ह्वाइट हाउसले प्रेस विज्ञप्तिमार्फत जीई एरोस्पेसले इतिहाद एयरवेजसँग जिइ इन्जिनद्वारा सञ्चालित बोइङ र अन्य विमान खरिद गर्न १४.५ अर्ब डलरको सम्झौता गरेको जनाएको छ।

‘इमिरेट्स ग्लोबल एल्युमिनियम’ ले ओक्लाहोमा राज्यमा चार अर्ब डलरको प्राथमिक एल्युमिनियम गाल्ने परियोजनामा लगानी गर्ने विज्ञप्तिमा उल्लेख छ।

एक्सोनमोबिल, अक्सिडेन्टल पेट्रोलियम र इओजी रिसोर्सेजले अबु धाबीको नेसनल आयल कम्पनीसँग ६० अर्ब डलरको तेल र प्राकृतिक ग्यास उत्पादनका लागि सहकार्य गरिरहेका छन्। त्यस्तै, आरटीएक्सले इमिरेट्स ग्लोबल एल्युमिनियम र यूएईको काउन्सिल तवाजुनसँग ‘ग्यालियम प्रोजेक्ट’ मा साझेदारी गरिरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार साउदी अरब र कतारको भ्रमणपछि यूएईको भ्रमण गरेका हुन्। सिन्ह्वा

यू–१९ फुटबल च्याम्पियनसिप: बंगलादेशसँग पराजित हुँदै नेपाल बाहिरियो

काठमाडौं स् बंगलादेशसँग पराजित हुँदै नेपाल यू–१९ फुटबल च्याम्पियनसिपबाट बाहिरिएको छ। गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा बंगलादेशले नेपाललाई २–१ ले पराजित गरेको हो।

खेलको पहिलो हाफ शून्यको बराबरीमा सकिएको खेलमा बंगलादेशले दोस्रो हाफमा २ गोल गर्दै अग्रता कायम गरेको थियो। नेपालले १ सान्त्वना गोल फर्कायो। खेलको ७३ औँ मिनेटमा बंगलादेशका लागि आशिकुर रहेमानले गोल गर्दै १–० को अग्रता दिलाए।

खेलको ८१ औँ मिनेटमा कप्तान नाज्मुल हुडा फेजलले गोल गर्दै बंगलादेशलाई २–० को अग्रतासहित फाइनलमा पुर्‍याए।

खेलको ८७ औँ मिनेटमा सुजन डंगोलले गोल गर्दै नेपालको तर्फबाट सान्त्वना गोल फर्काएका हुन्।

बंगलादेशले भारत र माल्दिभ्सबिच हुने सेमिफाइनल खेलेको विजेता टिमसँग उपाधिका लागि खेल्नेछ।

 

महिला टी–२० विश्वकप छनोट : नेपाल सुपर–३ मा

काठमाडौँ– हङकङ र बहराइनको खेल वर्षाका कारण रद्द भएपछि नेपाल आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश गरेको छ। समूह ‘सी’ मा हङकङसँग समान पाँच अंक भए पनि बढी जित निकालेका आधारमा नेपाल सुपर–३ मा प्रवेश गरेको हो।

आईसीसीको नियमअनुसार ‘डबल राउन्ड रोबिन’ लिगपछि शीर्ष दुई टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि बढ्छ। नेपालको चार खेलमा दुई जित, एक हार र एक नतिजाविहीन भएको थियो। हङकङको समान खेलमा एक जित र तीन नजिताविहीन भएको थियो।

शुक्रबार विजयी भएको भए हङकङ ६ अंकसहित समूह विजेता बनेर सुपर–३ मा प्रवेश पाउने थियो। तर, वर्षा बाधक बन्दा हङकङ प्रतिस्पर्धाबाट बाहिरिएको छ।
प्रतियोगितामा तीन समूहका शीर्ष टोली सुपर–३ मा पुगेका छन्।

नेपालले सुपर–३ मा बलिया टोली यूएई र थाइल्यान्डको सामना गर्नेछ। सुपर–३ मा एकअर्कासँग खेलेपश्चात शीर्ष दुई टोली ग्लोबल छनोटमा पुग्नेछन्।

सातौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

धनगढी। महालेखा परीक्षकको कार्यालयले सुदूरपश्चिम प्रदेशको सातौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख नजिर मियाँ समक्ष पेस गरेको छ । महालेखा परीक्षक तोयम रायाले शुक्रबार प्रदेश प्रमुखसमक्ष सातौं वार्षिक प्रतिवेदन पेस गरेका हुन ।

संविधानको धारा २९४ को उपधारा (३) बमोजिम संवैधानिक निकायहरुले प्रत्येक प्रदेशका सम्बन्धमा छुट्टाछुट्टै प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेस गर्नु पर्ने व्यवस्था रहेको छ । प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख मियाँले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अनिवार्य रहेको धारणा राखे ।

सो अवसरमा नायब महालेखा परीक्षक पशुपति काफ्ले, निमित्त सचिव शेखरकुमार रोकाया, प्रदेश प्रमुखका स्वकीय सचिव साविर अलि, अधिकृत शमशेरबहादुर रावल, गंगाराम सापकोटा, दीर्घराज भट्ट, कानुन अधिकृत पूजा रतौकी लगायतको उपस्थिति रहेको थियो ।

गभर्नर प्रकरण : ‘बा’ हरुको स्वार्थमा ‘दाई’को प्रयोग

कानूनी समस्या देखाएर गभर्नरको दौडबाट डा. गुणाकर भट्टलाई आउट गर्न सफल भएपनि प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली काँग्रेसले विश्व पौडेललाई गभर्नर बनाउने कोर्सलाई गति दिन सकेका छैन ।

गभर्नरको दौडमा पौडेल भित्रिएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले योग्यता र रोलक्रम अनुसार गभर्नर नियुक्ति गर्ने अभिव्यक्ति दिए । योग्यता र रोलक्रमको कुरा उनले त्यसै गरेका होईनन् । त्यसको अर्थ ओली अझै पनि निलम ढुंगानालाई बनाउन चाहन्छन् । ढुंगानालाई देखाएर ओलीले जसरी भट्टलाई गभर्नरको रिङ बाट आउट गरे । त्यसैगरी पौडेललाई पनि आउट गर्ने छन् । र, अन्तमा निलमलाई नै गभर्नर बनाउन देउवालाई सहमत गराउने छन् ।

प्रधानमन्त्री ओली झापाली हुन् । उनी झापाकै व्यक्तिलाई गभर्नर बनाउन चाहन्छन् । भन्नलाई उनी पहिलो महिला गभर्नर बनाउने भन्छन् । तर अभिष्ट झापालीलाई गभर्नर बनाउने हो । ओलीलाई त्यसैपनि एमालेका नेता कार्यकर्ताले बा भन्छन् । त्यसअर्थमा उनी निलमको पनि बा हुन् । होे, ओली पनि चेलीलाई गभर्नर बनाउन चाहन्छन । निलमका बुवा काँग्रेसी हुन् । पति एमाले । र, निलम पनि एमाले । त्यसमाथि झापाली । उनको योग्यता यति भए काफि छ । बाँकी त तपसिलका कुरा हुन् ।
प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहूँच छ भन्ने काँग्रेस महामन्त्री गगन थापाको अभिव्यक्ति र गभर्नरको खेलमा अर्बौको चलखेल भईरहेको रास्वपा नेता स्वर्णिम वाग्लेको आरोप त्यसै आएको होईन । विश्व तिनै व्यक्ति हुन्, काँग्रेसबाट जेजति सुविधा, अवसर र नियुक्ति पाए, स्वर्णिमले हात समातेर उनले यो अवस्थामा पु¥याएका हुन् । बिडम्बना स्वर्णिम काँग्रेसबाट आउट भए । विश्वको त्यही काँग्रेसमा रजगज भयो ।

रोचक कुरा त के भने काँग्रेसले गभर्नरमा अघि सारेका विश्व पौडेल अर्थमन्त्री विष्णु पौडेलका चेला हुन् । विश्वले अर्थमन्त्रीलाई बा भन्छन् । दशैंमा टीका लगाउछन् । विश्व अर्थमन्त्री पौडेलका आर्थिक सल्लाहकार मात्र होईनन, यसअघि विष्णु पौडेल अर्थमन्त्री हुदा ल्याएको बजेटमा विश्वको महत्वपूर्ण भूमिका र योगदान थियो भन्ने कुरा ओपन सेक्रेट छ ।

नेपाली काँग्रेसबाट टिकट पाएर चितवनमा चुनाव नलडेका भए यतिबेला विश्व प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकार हुने कुरा आशंका मात्र हुने थिएन, वास्तविकता हुने थियो । टिकट, पद, सुविधा र अवसर जति काँग्रेसबाट पाएकै कारण उनी प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकार हुन नसकेका हुन् ।

अर्थमन्त्री पौडेलको आर्थिक सल्लाहकार त यतिबेला पनि विश्व नै भएको कुरा एमालेका नेताहरु मात्र भन्दैनन्, काँग्रेसकै नेताहरुलाई यो कुरा थाह छ ।

बाहिरबाट हेर्दा गभर्नरमा काँग्रेसले अघि सारेपनि विश्व एमालेका अर्थमन्त्री विष्णु पौडेलका प्रिय चेला हुन् । अर्थमन्त्री पौडेल निलमलाई गभर्नर बनाउन चाहदैनन् । उनी त निलम भन्दा भट्ट नै गभर्नर बनोस भन्ने चाहन्थे । तर ओलीका अगाडि उनी प्रतिवाद वा आफ्नो बिचार लाद्ने क्षमता नराख्दा निलमको नाम सुन्न बाध्य भएका हुन् ।

दुई बा (प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेल) का अगाडि दाई (शेर बहादुर देउवा) निरीह झै देखिएका छन् । देउवाले त प्रधानमन्त्री ओलीले भट्टलाई गभर्नर बनाउन चाहेको तर राष्ट्र बैंकको आन्तरिक समस्याले ढिलाई भएको अभिव्यक्ति नै दिए । ओलीले देउवालाई कुन हदसम्म गुमराहमा राख्न सफल भए देउवाको यही अभिव्यक्तिले पुष्टि गर्छ ।

निलम, जसलाई ओलीले कार्यकारी निर्देशकबाट डेपुटी गभर्नर बनाए । र, डेपुटीबाट कामु गभर्नर । र, उनलाई गभर्नर बनाउने आश्वासन र आड दिने पनि ओली नै हुन् । निलमले कार्यकारी निर्देशक भट्टको राजिनामा स्वीकृत नगर्नु र त्यही बहानामा भट्टको सट्टा विश्वलाई गभर्नरका लागि काँग्रेसले अघि सार्नु संयोग मात्र होईन । यो नियोजित हो ।

निलमलाई गभर्नर बनाउने सवालमा पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर युवराज खतिवडाका बीचमा समान धारणा छ । यद्दपि दुबैका स्वार्थ भने फरक फरक छन् । भनिन्छ, खतिवडा आगामि १० वर्षसम्म एमाले अझ खासगरी आफ्नो नियन्त्रणमा राख्न चाहन्छन् । निलमलाई गभर्नर बनाएर उनी कार्यकारी निर्देशक रहेका आफ्ना ज्वाई रामशरण खरेललाई डेपुटी गभर्नर हुदै कामु र पाँच वर्षपछि गभर्नर बनाउन चाहन्छन् । निलम गभर्नर भएपनि आफू अनुकूल चलाउन सकिने र अधिकार जति ज्वाईलाई दिन लगाएर त्यहाँभित्र एमाले र आफ्नो हालीमुहाली गर्ने ध्याउन्नमा छन् ।

अव गभर्नर जो भएपनि कि एमालेको मान्छे –निलम) हुनेछिन् । कि एमालेको फेवरको मान्छे (विश्व)हुनेछ । त्यसको अर्थ निलम र विश्व बाहेक अर्को गभर्नर हुने देखिदैन् ।

बिचरा भट्ट त मोहरा बनाईए । बस्, चर्चामा ल्याएर ओली र देउवाले उनको जागीर र क्यारिएर सकिदिए । घर न घाटको बनाए ।
भट्टको राजिनामा स्वीकृत होस भन्ने राष्ट्र बैंकभित्रकै सिनियर लेवलका कर्मचारीहरुको पनि ईच्छा थियो । उनी गभर्नर हुदा त्यही भित्र अरु कर्मचारीको पदोन्नती हुन्थ्यो ।

बाहिरबाट ब्ल्याक मनी ल्याउन र पछिल्ला केही वर्षमा थुपारेको देशभित्र र बाहिर थुपारेको धनलाई बैधता दिन र त्यसलाई व्यवस्थापन गर्न गभर्नरमा निलम र विश्व उपर्युक्त र विश्वासिला पात्र हुने शीर्ष नेताहरुका बीचमा समझदारी जस्तै बनेको भन्नेहरु पनि छन् ।

जसका लागि भट्ट उपर्युक्त पात्र थिएनन । देशलाई ग्रे लिष्टबाट बाहिर ल्याउन वा अर्थतन्त्र सुधार गर्ने सोच र नियत कसैको छैन् । अर्थतन्त्र बुझेको व्यक्ति होईन, शीर्ष नेताको नियत र मति बुझेको गभर्नरको खोजी भईरहदा त्यो योग्यता भट्टमा थिएन । उनी आउट गरिनुको कारण यति हो ।

पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महत शुरुमा डा. रविन्द्र पाण्डेलाई गभर्नर बनाउन चाहन्थे । उनी त्यो दौडबाट आउट भएपछि महत ज्ञानेन्द्र ढुंगानालाई गभर्नर बनाउने दौडमा थिए । ढुंगानालाई अर्वपति व्यवसायी बिनोद चौधरीको साथ थियो । साथै अन्य बैंकका सञ्चालकहरुको पनि । भनिन्छ्, ढुंगानालाई गभर्नर बनाउन उनीहरु सय करोड रुपैयाभन्दा बढि लगानी गर्न तयार थिए ।
यसैबीचमा सुशिल भट्टको नाम पनि गभर्नरका रुपमा केही समय चर्चामा आयो । लगानी बोर्डको सिईओका रुपमा सुशिलले निर्बाह गरेको भूमिका उत्कृष्ट भएपनि भाई दीपकसंग जोडेर उनलाई हेरियो । उनको कामलाई अवमूल्यन गरियो भन्नेहरु पनि छन् । यस पटक सुशिल चर्चा गरे जस्तो गभर्नरको दौडमै थिएनन । भनिन्छ्, उनका भाई दीपक भट्टको ईच्छा निलम ढुंगाना नै गभर्नर बने हुन्थ्यो भन्ने थियो । ओलीले नै निलमलाई बोकेपछि उनले बोक्नु पर्ने आवश्यकता नै रहेन् ।

एकथरीले बिनोद चौधरी र दीपक भट्टका साझा उम्मेदवारका रुपमा ज्ञानेन्द्र ढुंगानालाई चर्चा गरेपनि भट्ट भने चौधरीसंग उम्मेदवार साझा नगर्ने प्रष्ट देखिन्छ । किनकी मारवाडी समूहहरुबीच बिभाजन छ । एउटा समूहको नेतृत्व र संरक्षण भट्टले गर्छन । अर्कोको चौधरीले ।

काँग्रेस पृष्ठभूमिका ढुंगानाले काँग्रेस सभापति देउवा बाहेक काँग्रेसका सबै नेता समेत मिलाईसकेका थिए । सुदूरपश्चिमका सबै नेता, नौ वटै जिल्लाका पार्टी सभापति, नागरिक समाज र सर्वसाधारणले एक स्वरमा भट्टलाई गभर्नर बनाउन दवाव दिएका कारण देउवा भट्टलाई गभर्नर बनाउन अडिग थिए । तर देउवाका नजिकका अरु कुनै पनि व्यक्तिले भट्टलाई गभर्नर बनाउदा आफ्नो स्वार्थ पूर्ति नहुने देखेपछि भट्ट रिङबाट आउट भएका हुन् । सत्य यही हो ।

देउवालाई सबैले घुमाईदिए । उनलाई सबैले गुमराहमा राखे । राजिनामा स्वीकृत नभएकै अवस्थामा पनि भट्टलाई गभर्नर बनाउदा कुनै कानूनी जटिलता नआउने बरिष्ठ कानूनवीदहरु र पूर्व न्यायधिवक्ता खम्म खातीको सुझाव पनि किन कार्यान्वयन हुन सकेन् । त्यो ओपन सेक्रेट ।

बा हरुका अगाडि दाई निरीह भएकै कारण भट्ट गभर्नरको रिङबाट आउट भएका हुन् ।

भट्टलाई रोक्न सके ज्ञानेन्द्रलाई गभर्नर बनाउन सकिन्छ कि भनेर यो प्रकृयालाई गिजोल्ने एउटा पात्र डा. प्रकाश शरण महत पनि हुन् भनिन्छ । त्यही खेल अन्तर्गत ज्ञानेन्द्रसंगको साठगाठ र उक्साहटमा निलमले भट्टको राजिनामा स्वीकृत नगरेको बुझ्न कठिन हुदैन् । ज्ञानेन्द्र निलमका माईती हुन् । उनीहरु पारिवारिक नाता छ । भट्टलाई रोक्न सके आफूहरु मध्ये कुनै एक हुने निलम र ज्ञानेन्द्रको बुझाई थियो । त्यही बुझाई भट्टको राजिनामा स्वीकृत नहुनुको कारण हो । निलमले राजिनामा स्वीकृत नगर्दा भट्टलाई गभर्नर नियुक्त गर्दा कानूनी समस्या उत्पन्न हुन्न भन्ने डर देउवामा पैदा गर्न सक्ने ओलीले चैतको दोस्रो साता तिन महिना कार्यकाल बाँकी छदै कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्नुले नै पुष्टि गर्छ, ओली कानूनी समस्यासंग डराउछन् कि डराउदैन् । तर नभएको डर देउवामा पैदा गर्न ओली सफल भए ।

सरकार जोगाउन देउवाले अघि सारेका भट्टलाई गभर्नर बनाउने प्रस्तावमा सहमती जनाएपनि ओली कुनै पनि हालतमा निलमलाई गभर्नर बनाउन चाहन्छन् भन्ने दुई महिना यताका ओलीका अभिव्यक्ति, व्यवहार र गतिबिधिले देखाईसकेको छ । विश्व पौडेल केही दिनमा नियुक्त भएनन भने उनी पनि गभर्नरको रिङबाट आउट हुनेछन् । र, निर्विकल्प उम्मेदवार हुनेछिन्, निलम । ओलीले चाहेको त्यही हो ।

जलवायु परिवर्तन अब कुनै क्षेत्र वा देश विशेषको रहेनः परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तन अब कुनै क्षेत्र वा देश विशेषको नभएको बताएकी छिन्। काठमाडौंमा शुक्रवारदेखि शुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनको मुद्दा अब विश्वको समस्या भएकाले यसले सिंगो मानवतालाई नै संकटमा पारिरहेको उल्लेख गरिन्।

विश्वव्यापी संकटसँग जुध्नका लागि कुनै पनि देशको आफ्नो एक्लो प्रयास पर्याप्त नभएको मन्त्री राणाको भनाइ छ। उनले संयुक्त र सामूहिक प्रयासका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको जिकिर गरिन्।

अब विश्वले नै जलवायु परिवर्तनका समस्याहरूको पहिचान र तिनको निदानका लागि संयुक्त प्रयास गर्न आवश्यक रहेको बताइन्। जलवायु परिवर्तनबाट नेपाल र विश्वकै वातावरण हाल जोखिममा रहेको भन्दै मन्त्री डा. राणाले इमान्दार संवाद र प्रभावकारी कार्यको अभावले मानवताको भविष्यलाई पनि ठूलो खतरामा पार्नसक्ने बताइन्।

मन्त्री डा. राणाले नेपालले हालैका वर्षहरूमा विनाशकारी तथा श्रृंखलाबद्ध गम्भीर मौसमी समस्याहरू भोगिरहेको बताउँदै बाढी र हिमनदी विस्फोटन, खडेरी, पानीको अभाव र वन डढेलोजस्ता समस्याले देशभर ठूलो क्षति भएको बताइन्।

 

सुदूरपश्चिमको विकासमा प्राथमिकता दिएका छौं : प्रचण्ड

डडेल्धुरा : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन् । प्रेस सेन्टर नेपालले शुक्रबार डडेल्धुरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सरकार उल्टो बाटोमा हिँडेको भए पनि सरकार ढाल्नेतर्फ आफ्नो पार्टीको ध्यान नभएको जानकारी दिए ।

बैतडीको पाटन नगरपालिकामा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको उद्घाटन गर्ने शिलशिलामा डडेल्धुरा पुगेका प्रचण्डले माओवदीको ध्यान सरकार ढलाउने वा बनाउने तिर नभएको ठोकुवा गरे। उनले सरकार गलत बाटोतिर हिँडेको भन्दै चिन्ता व्यक्त गरे । ‘सरकार हामीले सुरु गरेको सुशान भत्काउनतिर लागेको छ । राम्रो काम गर्नेलाई दण्डित गर्दैछ। नराम्रो काम गर्नेलाई पुरस्कृत गर्दैछ र सरकार उल्टो बाटोमा हिँडेको छ,’ उनले भने,’यसप्रति हामी चिन्तित छौं।’

उनले मध्यपहाडी लोकमार्ग या हुलाकी लोकमार्ग यी दुईटै मार्गलाई अगाडि बढाउने प्रस्ताव गरिरहेको बताए । मध्यपहाडी लोकमार्ग आफू पहिलो पटक प्रधानमन्त्री हुँदा प्रस्ताव गरिएको जनाए । मध्यपहाडी क्षेत्रमा बस्ने जनताको आर्थिक,राजनीतिक,सांकृतिक जीवन र राष्ट्रिय एकता सुध्रिढ होस् भन्ने उद्देश्यले मध्यपहाडी लोगमार्गको प्रस्ताव अघि बढाइएको प्रचण्डले बताए ।

हुलाकी मार्ग धेरै वर्षदेखि रोकिएर बसेको थियो। उनले भने,’हामीले नै हुलाकी मार्गलाई कञ्चनपुरसम्म ल्याउने गरि निर्माण गर्नुपर्छ भनिएको हो । यस्तो थुप्रै तथ्यहरू छन् । जसमा सुदूरपश्चिमलाई प्राथमिकता दिएर काम गरिनुपर्छ भनिएको छ ।’

सुदूरपश्चिमको विकासका लागि माओवादीले प्राथमिकता दिएको उनको भनाइ छ। उनले विश्वविद्यालय,सुक्खा बन्दरगाह,मध्यपहाडी लोकमार्गलगायतका थुप्रै भौतिक पूर्वाधारका संरचनाहरू आफ्नो पार्टीको नेतृत्वमा अगाडि बढाइएको बताए ।

उनले सबै पार्टीका नेता विकासका योजना ल्याउन र काम गर्न नसक्ने बताए । सुदूरपश्चिम विश्वविद्यालय,मेडिकल कलेज,दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि माओवादी पार्टी र स्वयंम आफूले पहल गरेको दावी गरे।


बेलायतमा शरण खोज्ने आप्रबासीको सङ्ख्यामा वृद्धि

एजेन्सी– बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको सरकारी तथ्यांकले देखाएको छ। आप्रवासनका लागि दिइएका दशौँ हजार आवेदनहरू अझै निर्णय हुन बाँकी रहेको तथ्यांकमा उल्लेख छ ।

बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बेलायतमा रहनका लागि सबै कानुनी मार्गहरू समाप्त भएकाहरूका लागि बेलायतबाट बाहिर ‘फिर्ती केन्द्र’ हरू सिर्जना गर्न सकियोस् भनी बिहीबार विभिन्न देशहरूसँग औपचारिक वार्ता सुरु गरेको घोषणा गरेका छन् ।

सन् २०२४ मा बेलायतमा शरण माग्नेको सङ्ख्या तीन गुणाले वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ । यो समयमा ८४ हजार २०० ले शरणार्थीका लागि आवेदन दिएका छन् । सन् २०११ देखि सन् २०२० को बीचमा औसतमा २७ हजार ५०० शरणार्थीले बेलायतमा शरणका लागि आवेदन दिएका थिए । 

सन् २०२२ मा बेलायतमा प्रति १० हजार व्यक्तिमा लगभग १३ जनाले शरणका लागि आवेदन दिएका थिए । ईयूमा यो सङ्ख्या प्रति १० हजार २५ रहेको थियो । सन् २०२३ मा बेलायतमा रहेका करिब ११ प्रतिशत आप्रवासी शरणार्थी वा शरणार्थी थिए, जुन सन् २०१९ को छ प्रतिशतको तुलनामा झण्डै दुई गुणा बढी हो ।

आवेदन अस्वीकृत दर सन् २००४ मा ८८ प्रतिशत र सन् २०२२ मा २४ प्रतिशत रहेको थियो भने सन् २०२४ मा ५३ प्रतिशत रहेको थियो । सन् २००४ देखि सन् २०२१ को बीचमा, शरणार्थीका लागि लगभग तीन चौथाई आवेदकको प्रारम्भिक अनुरोध अस्वीकार गरिएको थियो । त्यसपछि उनीहरूले सरकारको निर्णयबारे पुनःआवेदन गरेका थिए भने त्यसमध्ये एक तिहाईले शरणार्थीको मान्यता पाउन सफल भएका थिए ।

सन् २०२४ मा शरणार्थीका लागि आवेदन स्वीकृत नभएका नौ हजारभन्दा बढी व्यक्तिलाई देश छोड्न निर्देशन गरिएको थियो । यो सङ्ख्या सन् २०२३ को तुलनामा ३६ प्रतिशतले बढी हो । सन् २०२४ मा करिब दुई लाख २४ हजार ७०० मुद्दामाथि सुनवाई भएको र यसमध्ये ८७ हजार २०० प्रारम्भिक निर्णयको पर्खाइमा रहेका थिए भने एक लाख ३७ हजार ५०० आवेदन प्रारम्भिक अस्वीकारपछि थप कानुनी निरन्तरताका लागि पर्खाइमा थिए ।

यो सङ्ख्या सन् २०२२ देखि घट्दै गएको छ तर सन् २०१४ को तुलनामा चार गुणा बढी छ किनभने प्रारम्भिक निर्णयका लागि लामो समय पर्खनु परेको छ भने ठूलो सङ्ख्यामा मानिसहरू निर्वासनको सामना गरिरहेका छन् ।

सन् २०१८ भन्दा पहिले अस्तित्वमा नै नभएको अस्थायी डुङ्गामा च्यानल पार गर्नेको सङ्ख्या हालैका वर्षहरूमा ह्वात्तै बढेको छ।

सन् २०१८ देखि सन् २०२४ को डिसेम्बरसम्मको अवधिमा एक लाख ४८ हजार आप्रवासीले आफ्नो ज्यान जोखिममा राखेर इङ्लिस च्यानलको बाटो भएर बेलायतको तटीय क्षेत्रमा पुगेको सरकारी तथ्यांकले देखाएको छ ।

तीमध्ये ९५ प्रतिशतले शरणका लागि आवेदन दिएका थिए । यो सङ्ख्या सन् २०१८ देखि सन् २०२४ को डिसेम्बरसम्मको अवधिमा सबै शरण चाहनेमध्ये २९ प्रतिशत हो ।

सन् २०२५ मा करिब १३ हजार आप्रवासीले च्यानल पार गरिसकेका छन्, जुन सन् २०२४ को सोही अवधिको तुलनामा बढी हो । सन् २०२४ मा शरण माग्नेको सबैभन्दा ठूलो समूह पाकिस्तानबाट आएकाको रहेको थियो । अघिल्ला वर्षहरूमा मुख्यतया सिरिया र इरानबाट आएका आप्रवासी शरणार्थीको सङ्ख्या बढी हुने गरेको थियो ।

सालको रुख भाँचिदा घाइते भएको पूर्व क्याम्पस प्रमुख को मृत्यु

रञ्जना बिसी, कैलाली । कैलालीमा हावा हुरीका कारण सालको रुख भाँचिदा घाइते भएको पूर्व क्याम्पस प्रमुख को मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१ सुखडको राष्ट्रिय कलेजका पूर्व क्याम्पस प्रमुख कर्णबहादुर भण्डारीको उपचारका क्रमममा मृत्यु भएको हो ।

शुक्रवार बिहान  घर नजिकैको सालको रुख भाँचिएर भण्डारी गम्भिर घाइते भएका थिए। टाउकोमा चोट लागेका उनलाई उपचारका लागि  घोडाघोडी अस्पताल, सुखडमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि माया मेट्रो अस्पताल, धनगढीमा रिफर गरिएको थियो। दिउसो करिब साढे १२ बजे भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

सगरमाथा आरोहणका लागि आधार शिविरमा नेपाली काँग्रेसका महामन्त्री शर्मा

काठमाण्डौं, २ जेठ ।
सगरमाथा आरोहणका लागि नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा आधार शिविर पुगेका छन् ।

यद्दपि उनले समय र प्रशिक्षणको अभावमा यस पटक सगरमाथाको फाईनल यात्रा तय गर्न नसकिने संकेत गरेका छन् ।

आधार शिविरमा रहेका शर्मा सगरमाथा आरोहणका लागि प्रशिक्षण लिईरहेका छन् । उनले सगरमाथा आरोहणका लागि आधार शिविरसम्मको यात्रालाई सेमीफाईनल भनेका छन् । काठमाण्डौंबाट सेमीफाईनल यात्रा गर्ने भनेर हिडेको हूँ, उनी भन्छन्, फाईनल अझै बाँकी छ । त्यसका लागि प्रशिक्षण लिईरहेको छु ।

६ हजार १ सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेर सगरमाथा चढ्न पाउने मापदण्डमा पुरा गरेको शर्माले बताएका छन् ,उनी भन्छन्, मसंग सगरमाथा चढ्ने अनुमती पत्र छ । तर सगरमाथा चढिसकेको छैन ।

द एभरेष्ट पोष्टसंगको कुराकानीमा सगरमाथा आरोहणका लागि चाहिने आवश्यक प्रशिक्षण र समय भने आफ्ना लागि पर्याप्त नभएको बताए ।

उनले सगरमाथा आरोहणका लागि सामान्यतया आरोहीलाई ४२ दिनको प्याकेज बनाउने गरिएपनि आफूले त्यति समय दिन नसकेको बताए ।

सगरमाथा दिवसका दिन मे २९ (जेठ १५) मा आरोहरण क्लोज गरिने र सो अबधिभित्र सगरमाथा आरोहण गरिसक्नु पर्ने छ, शर्माले भने, यद्यपि शिखर नजिक पुगेकाहरुले त्यसको केहिदिनसम्म पनि आरोहण गर्न पाउँछन् ।

उनले आफू केहीदिनयता मात्र आधार शिविर भएकोले समय र आरोहणका लागि पर्याप्त समय नभएको बताएका छन् ।

म यतिबेला बेसक्याम्पमा छु । अहिलेलाई यत्तिमात्र भनौं सगरमाथा बेसक्याम्प पुग्दैमा सगरमाथा पुगिन्न, उनले भनेका छन्, इच्छाएका कुरा हासिल गर्न सो बमोजिमको योग्यता पनि हुनुपर्छ । अहिले नै मसँग त्यसका लागि पर्याप्त योग्यता छैन ।

उनले सगरमाथा आरोहणका लागि शुभकामना प्रदान गर्नेहरु प्रति आभार व्यक्त गरेका छन् ।

हल्लाका पछाडि नेपाली मिडिया, तथ्यको जाँच नगरेर भट्टले देश छोडेको हल्ला

काठमाण्डौं, १ जेठ ।
अमेरिकाको ओहायोमा अध्ययनरत छोरीको दिक्षान्त समारोहमा सहभागी हुन सपरिवार नेपालबाट उडेका डा. गुणाकर भट्टले देश छोडेको हल्ला फैलाएका छन् ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि कार्यकारी निर्देशक पदबाट राजिनामा दिएका भट्ट गभर्नर नबन्ने भएपछि देश छोडेको भ्रामक समाचार प्रकाशित भएका थिए ।

छोरीको दिक्षान्त समारोहमा सहभागी हुन पूर्व निर्धारित कार्यक्रम अनुसार डा. भट्ट पत्नी गीता भट्ट सहित अमेरिकाको ओहायोका लागि उडेका हुन् । भट्ट यतिबेला अमेरिकाको सिनसिनाटीमा रहेका छन् । छोरीको दिक्षान्त कार्यक्रममा सहभागी भएपछि डा. भट्ट नेपाल फर्किने छन् । भट्टले पूर्व निर्धारित कार्यक्रम अनुसार अमेरिका आएको र एक सातापछि नेपाल फर्किने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबीच भट्टलाई गभर्नर बनाउने सहमती भएपनि उनको राजिनामा कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगरेपछि काँगे्रसले विश्व पौडेललाई अघि सारेको थियो । गभर्नर नबन्ने पक्का भएपछि निराश भएर डा. भट्टले सधैका लागि देश छोडेको भ्रामक समाचारहरु प्रकाशित भएका थिए ।

बिहेको खर्च कटाएर शाहीले सञ्चालनमा ल्याए कुकुरको आश्रयस्थल

धनगढी, जेठ १ गते ।

समाजमा सधै फरक काम गरेर छुट्टै पहिचान बनाएका गजेन्द्र शाहीले बुधवार एउटा पृथक अभियानको शुरुवात गरेका छन् । एक साताअघि बैबाहिक बन्धनमा बाधिएका शाहीले बिबाहको खर्च कटाएर जोगाएको रकमले सडकमा आश्रित कुकुरहरुसंगै चराहरुको आश्रयस्थल सञ्चालनमा ल्याएका छन् ।

हुन त उनी नेपाली काँग्रेसका तर्फबाट धनगढी उपमहानगरपालिका –५ का निर्वाचित वडाअध्यक्ष हुन् । तर राजनीतिभन्दा पनि यस्तै सामाजिक कार्यमा निरन्तर रुपमा संलग्न भएका कारण उनले पृथक पहिचान बनाएका छन् ।

पशुपञ्छी र जनावरलाई पनि बाँच्ने अधिकार छ । जो बोल्न सक्दैनन्, जो आफ्नो पीडा व्यक्त गर्न सक्दैनन्, उनीहरुको पीडा मान्छेले बुझ्नुपर्छ, शाहीले भने, यही भावनाले कुकुर र चराहरुको बासस्थल सञ्चालनमा ल्याएको हूँ ।

वडाध्यक्ष शाहीले आश्रयस्थलमा रहेको कुकुरलाई मानिसहरूले आफ्नो जन्मदिन वा अन्य शुभ अवसरको बेला खाना दिन सक्ने बताए । आश्रयस्थलमा कुकुरलाई खाना र पानीको व्यवस्था गरिएको छ । चराहरुको लागि गुड बनाईएको छ ।

लागुपदार्थ र दुव्र्यसनको अम्मलमा फसेका युवाहरुलाई समाजमा पुनस्र्थापित गर्दै आएका शाहीले गरीव तथा विपन्न परिवारलाई निशुल्क कपडा वितरण गर्न कपडा बैंक समेत सञ्चालन गर्दै आएका छन् ।

कोभिडको महामारीमा भारतबाट आएका व्यक्तिहरुसंगै काठमाण्डौंमा खान नपाएका व्यक्तिहरुका लागि निशुल्क खाना खुवाउने अभियान समेत सञ्चालन गरेका थिए ।

प्रचण्डको निर्देशनमा १६ महिनापछि सुदूरपश्चिममा माओवादीको संसदीय दलको नेतामा भट्ट पुनस्र्थापित

धनगढी, १ जेठ ।

१६ महिनापछि सुदूरपश्चिम प्रदेश माओवादी संसदीय दलको नेतामा खगराज भट्ट पुनस्र्थापित भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्जसहितका नेताहरूको उपस्थितिमा दलको नेता परिवर्तन गरिएको हो ।

२०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो । बिहीबार डडेल्धुराको एक सरकारी कार्यालयको गेस्ट हाउसमा बसेको बैठकले पुन संसदीय दलको नेताको जिम्मेवारी भट्टलाई दिने निर्णय गरेको हो । माओवादीका सबै सांसदहरूको उपस्थितिमा संसदीय दलको नेता परिवर्तन गरिएको उपमहासचिव तथा प्रदेश इन्चार्ज पोखरेलले जानकारी दिए ।

माओवादी अध्यक्ष प्रचण्डले यस अघि नै संसदीय दलको नेता परिवर्तन गर्न लिखित तथा मौखिक निर्देशन दिएका थिए । आफ्नो पटक पटकको निर्देशन उल्लङ्घन भएपछि डडेल्धुरामा आफ्नै उपस्थितिमा बैठक राखेर प्रचण्डले दलको नेता परिवर्तनको निर्णय गराएका हुन् ।

सुदूरपश्चिम सरकारमा नाउपाबाट रामेश्वर मन्त्री बन्दै

काठमाडौं । मन्त्रीको नाम सिफारिसलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र विवाद चर्किएको छ । संसदीय दलले अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशनविपरीत मन्त्रीको नाम सिफारिस गरेपछि नागरिक उन्मुक्तिभित्रको विवाद पुनः सतहमा आएको छ ।

नागरिक उन्मुक्तिको सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सांसद रामेश्वर चौधरीलाई मन्त्री नियुक्त गर्न सिफारिस गरेको पत्र सार्वजनिक भएको छ । पत्रमा नेता घनश्याम चौधरीले रामेश्वरलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन संसदीय दललाई सिफारिससहित निर्देशनात्मक पत्र बुधबार पठाएकी थिइन् । तर संसदीय दलको बहुमतले त्यसलाई कार्यान्वयन नगरेपछि उन्मुक्तिको विवाद फेरि सतहमा आएको हो ।

अध्यक्षको पत्रपश्चात् दिनभर बसेको संसदीय दलको बैठकले अबेर रातिमात्रै बहुमतको आधारमा दलका नेता घनश्याम चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो । तर प्रदेशसभाको विषयगत समितिको सभापतिसमेत रहेकोले चौधरी पछि हटेपछि मन्त्री नियुक्तिका लागि रामेश्वरको नाम सिफारिस गरिएको बताइएको छ ।

गत मंगलबार बसेको संसदीय दलको बैठकले पार्टी केन्द्रलाई पत्र पठाउँदै मन्त्रीको नाम सिफारिस गर्न वा मन्त्री चयनको अधिकार संसदीय दललाई दिन आग्रह गरेको थियो । त्यही पत्रका आधारमा अध्यक्ष श्रेष्ठले कैलाशलाई मन्त्री बनाउन दललाई निर्देशनात्मक पत्र पठाएकी थिइन् । उनले मुख्यमन्त्रीलाई समेत कैलाशलाई मन्त्री नियुक्त गर्न सिफारिस पत्र पठाएकी थिइन् । संसदीय दलमा अध्यक्ष श्रेष्ठ पक्ष अल्पमत र संरक्षक रेशम चौधरी पक्ष बहुमतमा छ ।

कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। यस प्रयोजनका लागि महामन्त्री शर्माले पर्यटन विभागबाट हिमाल आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

विभागका निर्देशक हिमाल गौतमका अनुसार वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा कांग्रेस महामन्त्री शर्माले पर्यटन विभागबाट आरोहण अनुमतिपत्र प्राप्त गरेका छन्।

वसन्त ऋतुको जारी आरोहणमा हालसम्म ५० भन्दा बढीले सगरमाथा आरोहण गरेको आरोहण एक्सपिडिसन कम्पनीले जनाएका छन्। बिहीबार राति पनि धेरै आरोही चुचुरो पुग्ने योजनामा छन्।

विभागको तथ्यांकअनुसार वसन्त ऋतुको सगरमाथा आरोहणका लागि हालसम्म ४५ आरोही समूहका ४५८ जनाले अनुमति लिएका छन्। सगरमाथासहित २७ हिमालका लागि १२४ समूहका कूल एक हजार एकसय ४० ले अनुमति पाएका हुन्।

प्रतिनिधिमार्फत पुटिनलाई ओलीको आग्रह : रुसी सेनामा नेपाली भर्ना नलिनूू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ।प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा नेपाल र रुसबीचको मित्रवत सम्बन्धका विविध आयामबारे छलफल भएको छ ।

प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिनुुभयो भने प्रधानमन्त्री ओलीले रुसका राष्ट्रपति भ्यादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणाको सन्देश सुनाइ दिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइ दिन पनि आग्रह गरे। जवाफमा प्रमुख कासिकोभले अब त्यसरी भर्ना नगाइने विश्वास दिलाए । भेटका अवसरमा नेपालस्थित रुसी राजदूतावासका राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।

 

दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौंः प्रवक्ता गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताएका छन् ।

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले गभर्नर दुई–चार दिनभित्रै नियुक्त हुने दाबी गरेका हुन् । ‘अब तलमाथि नभइकन दुई–चार दिनमै हामीले नयाँ गभर्नर पाउँछौँ,’ उनले भने ।

प्रदेश सभाको अधिवेशन आह्वान गर्न सिफारिस

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । प्रदेश सरकारले आगामी जेठ ११ गतेबाट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख नजिर मियाँलाई सिफारिस गरेको हो ।

आज बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले जेठ ११ गते ११ बजे बैठक बस्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए।

अघिल्लो अधिवेसन चैत २५ गते राति १२ बजेबाट लागु हुने गरी अन्त्य भएको थियो । दोस्रो कार्यकालको प्रदेश सभाको तीन वर्ष पुगे पनि यो प्रदेशमा हालसम्म कानुन निर्माणमा उल्लेखनीय प्रगति भएको छैन । प्रदेश सभाबाट संशोधन ऐनमात्रै बनेका छन् ।

यसैबिच, प्रदेश सभा बैठकमा विपक्षी दलले पनि अवरोध गर्दै आएका छन् । प्रदेश सरकारले फजुल खर्च कटौती गर्नु पर्ने, सुशासन कायम गर्नु पर्ने लगायतको माग राखेर अवरोध गर्दै आएका हुन । प्रतिपक्षीको अवरोधकै कारण अघिल्लो अधिवेशन सूचना टाँस गरेर अन्त्य गरिएको थियो ।

विश्व टेस्ट च्याम्पियनशिपको विजेताले ४९ करोड रुपैयाँभन्दा धेरै पुरस्कार पाउने

काठमाण्डाै : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनशिपको पुरस्कार राशि सार्वजनिक गरेको छ ।

आईसीसीका अनुसार विश्व टेस्ट च्याम्पियनशिपको विजेताले ३६ लाख मिलियन अमेरिकी डलर अर्थात् ४९ करोड १५ लाख रुपैयाँभन्दा धेरै पुरस्कार रकम पाउने भएका छन् । यो पुरस्कार रकम यसअघिको संस्करणभन्दा दोब्बरभन्दा बढी हो । सन् २०२१ र २०२३ मा विजेताले १६ लाख मिलियन डलर पुरस्कार पाएका थिए ।

यस्तै यस संस्करणको उपविजेताले २१ लाख ६० हजार डलर पुरस्कार पाउने भएका छन् । यसअघिका संस्करणमा उपविजेताले ८ लाख डलर पुरस्कार पाएका थिए ।

पूर्वविजेता अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको विश्व टेस्ट च्याम्पियनपिशको फाइनल आउँदो जुन ११ देखि बेलायतको लर्ड्स क्रिकेट मैदानमा शुरू हुनेछ । उपाधि प्रतिस्पर्धाका लागि दुवै देशले टोली घोषणा गरिसकेका छन् ।

 

अब कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस् : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले कांग्रेस र एमालेलाई दुई जना गभर्नर बनाउन व्यङ्ग्यात्मक सुझाव दिएका छन् । उनले गभर्नर नियुक्तिमा दुई दलबीच लडाइँ चलेको उल्लेख गर्दै दुई वटा गभर्नर बनाउन सुझाव दिएका हुन् ।

उनले भने,‘म गठबन्धन सरकारलाई जे गर्नु छ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस् भन्छु । चल्या छ लडाइँ, दुई वटा गभर्नर बनाउनुस् न, एउटा बिचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने, अर्को काम पनि गर्नुहोस् । ३१ महिनामा कि त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुहोस् ।’

उनले अहिले नेपालमा दलीय करणको अभ्यास भइरहेको बताए । उनले  गभर्नर एउटा बिचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने बनाउन आग्रह गरे ।

नेपालमा जन्मिएका सारु बेलायतमा बने मेयर

बेलायत । नेपालमा जन्मिएका भूतपूर्व गोर्खा क्याप्टेन भीम सारु मगर बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित भएका छन् ।

आज ननिटनको काउन्सिल हलमा सम्पन्न बार्षिक बैठकमा भएको निर्वाचनमा सत्तापक्ष लेबर पार्टीका काउन्सिलर क्याप्टेन सारु, मेयर पदमा निर्वाचित भएक हुन् । लेबरका १९, कन्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जना काउन्सिलर रहेको बरोमा सारुले २० मत प्राप्त गरेका हुन् ।

उनका प्रतिस्पर्धी विल मार्कमले १५ मत प्राप्त गरे । अन्य चार जना काउन्सिलर निर्वाचन प्रक्रियामा अनुपस्थित थिए । मेयरमा निर्वाचित भएका सारुले आजै काउन्सिलको पूर्ण बैठकमा पद तथा गोपनियताको शपथ लिएक छन् । उनलाई निवर्तमान मेयर विल ह्यानकक्सले पद हस्तान्तरण गरेका छन् ।

बेलायतमा गोर्खा भर्तीको दुई सय बर्ष भन्दा लामो इतिहासमा पूर्व गोर्खाको तर्फबाट नेपालमा जन्मिएका व्यक्ति पहिलो पटक मेयरको रुपमा निर्वाचित भएका हुन् ।

पाल्पाको चिदिपानी चन्द्रवन, हालको माथागढी गाउँपालिका–१ मा जन्मिएका सौभाग्य माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पुरा गरेका छन् । त्यसपछि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातक पढ्दै गर्दा सन् १९९३ मा बेलायती सेनामा भर्ती भएक थिए ।

झण्डै तीन दशक ब्रिटिश सेनामा सेवा गरेका सारु हाल ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्षसमेत हुन् । उनी विगत चारबर्षदेखि बेलायती राजनीतिमा पनि सक्रिय छन् ।

 

मालीमा सबै राजनीतिक दल प्रतिबन्धित

काठमाडौं : पश्चिम अफ्रिकी मुलुक मालीमा सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाइएको छ । मालीमा सन् २०२० देखि सैन्य हुन्टाले शासन गरिरहेको छ ।

गत महिना आयोजित राष्ट्रिय सम्मेलनले सैन्य नेता जनरल अस्सिमी गोइटालाई सन् २०३० सम्म राष्ट्रपतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । उक्त सम्मेलनलाई विपक्षी पार्टीहरुले बहिष्कार गरेका थिए ।

राष्ट्रपति गोइटाले आदेश जारी गर्दै सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । बीबीसीका अनुसार गत वर्षदेखि माली सरकारले राजनीतिक दलमाथि दमन बढाएको थियो ।

गत साता मालीमा लोकतन्त्रको समर्थनमा आयोजित प्रदर्शनमा बन्दुकधारीको समूहले दुई जना विपक्षी नेतालाई नियन्त्रणमा लिएको थियो । ती बन्दुकधारीले आफूलाई प्रहरी अधिकारी बताएका थिए ।

विपक्षी नेतालाई बन्दुकधारीले नियन्त्रणमा लिइएको विषयमा सरकारले कुनै टिप्पणी गरेको छैन । सेनाले सत्तापलट गरेपछि लोकतान्त्रिक निर्वाचनको माग गर्दै आएका राजनीतिक दलले यस निर्णयको तीव्र प्रतिरोध गर्ने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिममा स्थानीय तहको सेवा अस्तव्यस्त

धनगढी :  यतिबेला सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका कर्मचारी सेवा शर्तसम्बन्धी ऐन जारी गर्न माग गर्दै आन्दोलनमा छन् । अत्यावश्यकबाहेक सम्पूर्ण सेवा ठप्प पार्दै ४ दिनदेखि धनगढीकेन्द्रित चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

संविधानको धारा २२७ बमोजिम स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी ऐन प्रदेश सरकारले बनाउने व्यवस्था छ । सात प्रदेशमध्ये सुदूरपश्चिमबाहेक सबै प्रदेशमा ऐन जारी भई कार्यान्वयनमा आइसकेको छ । तर सुदूरपश्चिम सरकारले ऐन पारित गर्न नसक्दा कर्मचारीहरू अप्ठ्यारोमा परेका हुन् । ऐन जारी नहँदा स्थानीय तहमा र्कारत कर्मचारीको वृत्ति विकास, सेवा स्थायित्व, पदपूर्ति, अवकास पछिको सुविधालगायतमा समस्या आएको छ । प्रदेश सरकारको उदासिनता, पटक–पटकको आश्वासन र राजनीतिक ढिलासुस्तीले सडकमा उत्रिन बाध्य भएको कर्मचारीहरु बताउँछन् ।

प्रदेश सरकारले २०८० सालको माघमा सेवा शर्तसम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट पारित गरी प्रदेशसभामा पेस गरेको थियो । त्यसपछि ०८१ साउन २९ गते प्रदेशसभाले उक्त विधेयक प्रदेश मामिला तथा विधायन समितिमा दफावार छलफलका लागि पठायो । समितिले सात महिनासम्म नौवटै जिल्ला पुगेर प्रतिवेदन तयार पारी ०८१ माघ १५मा सभामा दर्ता गरायो । तर, ०८१ चैत २५ सम्म विधेयक कार्यसूची मै नराखी हिउँदे अधिवेशन नै अन्त्य भयो ।

०८१ चैत २८मा विभिन्न ट्रेड युनियनहरूले संयुक्त हस्ताक्षरसहित मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । त्यस पत्रमा ऐन यथाशीघ्र जारी नभए संघर्षका कार्यक्रम घोषणा गरिने उल्लेख गरिएको थियो । मुख्यमन्त्री कमलबहादुर शाहले भारत भ्रमणपछि वैशाख २८–२९ गते सभामा ऐन पारित गराउने प्रतिबद्धता गरेका थिए । तर प्रतिबद्धताअनुसार ऐन जारी गर्न सकेनन् । ऐन जारी नगरेपछि, वैशाख २६ गते सुदूरपश्चिम प्रदेशका ८८ वटै पालिकामा कार्यरत कर्मचारीहरूको भेलाले प्रदेश संघर्ष समिति गठन गरी संघर्षको घोषणा गरेको थियो ।

यसमा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमिति, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरूले समेत ऐक्यबद्धता जनाएका छन् । केही जनप्रतिनिधिहरू सडकमै आएर आन्दोलनमा सहभागीसमेत भएका छन् ।

कर्मचारीहरूको निरन्तर मौखिक तथा लिखित अनुरोधका बाबजुद पनि कुनै निर्णायक पहल हुन नसकेको स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिका संयोजक झलकबहादुर दौल्याल बताउँछन् । भन्छन्, ‘हामीले भोलि/पर्सी, कार्तिक १५, मंसिर मसान्त, पुस मसान्त, माघ १५ जस्ता धेरै मितिमा आशा गर्‍यौं, तर सबै झुटा आश्वासन सावित भए ।’ अब प्रदेश अधिवेशनमा ऐन पारित हुने विश्वासिलो आधार नरहेको संयोजक दौल्याल बताउँछन् ।

यता प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले जेठ १० गते प्रदेशसभाको बैठक बसेर ऐन पारितबारे निर्णय गर्ने बताएका छन् । ‘विपक्षी दलको अवरोधका कारण ऐन रोकिएको हो । अब प्रदेशसभा बैठक बसेर तुरुन्त ऐन पारित गर्ने छौ’, उनले भने । उनले आन्दोलनरत कर्मचारीहरुलाई ऐन पारित हुनेमा ठुक्क रहन आग्रह गरेका छन् ।

के हुन् आन्दोलनका मागहरू ?

– स्थानीय तहका कर्मचारीहरूको सेवा शर्तसम्बन्धी ऐन तत्काल जारी गर्नुपर्ने

– छिटोभन्दा छिटो प्रदेशसभा बैठक बोलाउनु पर्ने नभए बैठक बस्नुअघि अध्यादेशमार्फत ऐन जारी गर्नुपर्ने

– ऐन तथा नियमावली जारी गरी ८८ वटा पालिकामा रिक्त रहेका दरबन्दीहरुको पदपूर्ति प्रक्रिया प्रदेश लोकसेवा आयोगबाट सञ्चालन गर्नु पर्ने माग कर्मचारीहरुले राखेका छन् ।

संघर्ष समितिले ऐन जारी नहुँदासम्म संघर्षका कार्यक्रम जारी राख्ने अडान लिएको छ । आन्दोलनमा सहभागी हुने कर्मचारीहरूको संख्या दिनहुँ बढ्दै गएको छ भने बाँकी रहेका कर्मचारीहरू पनि सहभागी हुन धनगढी आउने समितिले जनाएको छ । स्थानीय तहका पदाधिकारीहरूलाई पनि संघर्षमा सहभागी गराउने रणनीति समितिले लिएको छ ।

घोडा, भैसी र एनआरएनएको कथा

यो त्यो समयको कथा हो, जतिबेला घोडा र भैसी स्वतन्त्र थिए । एकदिन घोडाको मनमा पाप पलायो । उसले सोच्यो, भैसीलाई तह लगाउन पाए, चरन क्षेत्रमा मेरो एकाधिकार हुन्थ्यो ।

तर तह कसरी लगाउने ? घोडाले एउटा जुक्ति निकाल्यो । उसले मान्छेलाई भेट्यो । र, भन्यो, तपाईका लागि एक बहु उपयोगी जनावर छ । उसको दुधले तपाई र तपाईका सन्तानलाई तन्दुरुस्त बनाउनेछ । उसको गोवरको प्रयोगले तपाईको खेतमा मनग्गे उब्जनी हुनेछ ।

मान्छेले घोडालाई बिलम्ब नगरी सोध्यो, त्यो जनावर कहाँ छ ? घोडाले भन्यो, तपाईलाई त्यसकहाँ म लिएर जान्छु, मेरो पछि पछि आउनुहोस ।

घोडाले भने झै मान्छे पछि पछि हिड्यो । घोडा अघि । मान्छे पछि । हिडेर जाने हो भने भैसी भएको ठाँउ पुग्न दुई दिन लाग्ने । घोडाले मनमनै सोच्यो, त्यसलाई जति सक्दो चाँडो मान्छेको जिम्मा लगाउन पाए, त्यो चरन क्षेत्र आजैदेखि मेरो हुन्थ्यो ।

घोडाले थप एक दिन धैर्य गर्न सकेन । मान्छेलाई भन्यो, मेरो पिठ्युमा चढ्नुहोस । म तपाईलाई जति सक्दो चाँडो भैसी भएको ठाउँ पु¥याउछु ।

मान्छेलाई घोडचढीको अनुभव थिएन । पहिलो पटक मान्छे घोडामाथि चढ्यो । घोडा जसै कुद्न थाल्यो, मान्छेलाई घोडचढी रोमाञ्चकारी लाग्यो, उ निकै प्रफुल्लित भयो । ओहो ! कस्तो आनन्द ?

घोडा कु्द्दै गयो । मान्छेले मनमनै सोच्यो, यसले भेटाउन खोजेको जनावर कस्तो होला ? त्यो त थाह छैन । तर यो चाही त्योभन्दा पक्कै उपयोगी छ । अव यसलाई त झन छोड्ने कुरै भएन ।

पैदल दुई दिन लाग्ने यात्रा घोडाले कुदेर आधा दिनमा पार गरायो । र, भैसीको नजिकै पुगेर भन्यो, मैले भनेको जनावर यही हो, अव यसलाई आफ्नो नियन्त्रणमा लिई घर लैजानुहोस ।

मान्छेले घोडालाई भन्यो, यसलाई त लैजान्छु । अव तिमीलाई पनि छोड्दैन ।

त्यसैदिन देखि मान्छेले भैसीलाई गोठ र घोडालाई तबेलामा बाँध्न थाल्यो । भैसीको चरन क्षेत्रमा आँखा लगाउदा आफू पनि तवेलामा बाधिनु प¥यो । लोभ, ईष्र्या र अरुको अस्तित्व स्वीकार नगर्दा घोडाले भैसीसंगै त्यसैदिनदेखि स्वतन्त्रता गुमायो । अर्कोलाई तह लगाउन खोज्दा कुनै अमुक शक्तिलाई आमन्त्रण गर्नु आफ्नै लागि कति घातक हुन्छ ? भैसी र घोडाको कथाको सार यही हो ।

गैर आवासीय नेपाली संघको बिघट्नको अवस्था, घोडा र भैसीको यो कथासंग मेल खान्छ । स्वतन्त्र रुपमा प्रवासमा आफ्नो पेशा र व्यवसाय गरिरहेकाहरुले संगठित भएर जन्मभूमि र स्वयम प्रवासमा रहेका नेपालीहरुको हकहीतका लागि काम गर्न एउटा संस्थाको आवश्यकता महशुस गरे, र, गैर आवासीय नेपाली संघको जन्म भयो ।

तर त्यही संस्थामाथि एकाधिकार कायम गर्ने जुन पाप त्यसका संस्थापक र ती संस्थापकहरुका अनुनायीहरुमा पलायो, त्यही दिन यसको पतनको शुरुवात भयो । अहिले गैर आवासीय नेपाली संघले जुन अवस्था भोगिरहेको छ, यो त्यही पापी सोचको परिणाम हो ।

स्वतन्त्र संस्थालाई सधै भरी आफ्नो कब्जामा राखिरहन अनेक हतकण्डाहरु गरिए । पहिले उनीहरुले राजनैतिक दलहरुलाई आमन्त्रण गरे । त्यसपछि आफू अनुकुल संघ नहुदा सरकारलाई हस्तक्षेप गर्न उक्साईरहे । जसले जन्माए, उसैलाई त्यो संस्थाप्रति माया नभएपछि अरुलाई हुने त कुरै भएन । राजनैतिक दल र सरकारलाई संघको प्रसव पीडा महशुस भए पो ?

नेपालका राजनैतिक दलहरु र सरकारलाई संघमा बारम्बार हस्तक्षेप गर्न लगाउने त्यही ‘घोडा प्रबृति’ थियो, जसले भैसीलाई तह लगाउन आफूलाई समेत नामेट गरिदियो ।

युवा नेतृ रामकुमारी झाक्रीले एनआरएनको कार्यक्रममा उसकै हुर्मत लिएको नविर्सिएको भए अगुवाहरु अलिकति भएपनि सच्चिन्थे की ? मूली नसच्चिदा घर सक्किएको निर्मम ईतिहास छ । एनआरएनएले त्यही नियति भोग्यो । अनुहारमा भएको दाग ऐना सफा गरेर जाने कुरै भएन । झाक्रीले देखाएको ऐनामा आफ्नो अनुहार एकपटक हेरिदिएको भए ? कालीदासहरुले अनुहार सफा गरेनन, ऐना नै फुटाई दिए । कसले हेरोस अनुहार ?

अगुवाले निर्माण गरेको गुटमा सदस्यहरु बिभाजित भएपछि एकताको महाधिवेशन नाम दिदैमा नहुदो रहेछ, एनआरएन जोड्ने सुपरग्लु बन्ने विश्वास गरिएको एकताको महाधिबेशनले नै एनआरएनएलाई कहिल्यै नजोडिने अवस्थामा पुर्याईदिएको छ । ढुंगाको डीएनए त्यसलाई फोरेर कणमा खोज्ने मूर्ख कालिदास झै हुन् । घर बालेर आगो ताप्नेहरुबाट अपेक्षा गर्नु र अदालत र परराष्ट्र मन्त्रालयलाई आफ्नो डीएनए परीक्षणका लागि बुझाउनेहरु उस्तै हुन् । तिनै मूर्ख कालिदासहरुका कारण एनआरएनको साख सकिएको हो । अव सकिन बाँकी केही छैन् ।

हरेक कुराका लागि अदालत धाउने र अदालतका फरक फरक फैसलालाई आफू अनुकूल व्याख्या गरेर त्यसैका रमाउने अनौठो रोग लागेको छ, अगुवाहरुमा । जुन रोगको शल्यक्रिया वा समाधान छैन् ।

जसले नेपथ्यमा बसेर सधै संघभित्र खेलिरहे, जसले कहिल्यै मिल्न दिएनन, मिल्नुपर्छ भन्ने सुझाव दिनेहरु तिनैछन् । अनि कसरी संभव हुन्छ एकता ?

अव मिल्ने कि, सकिने ? बिगतका कमिकमजोरीको आत्मालोचना गर्ने कि ? फेरि पनि भारुण्ड चरा जस्तै विष पान गरेर, अरुलाई नामेट गर्न आफू पनि मेटिने ?

एउटा छोटो मर्मस्पर्शी प्रसंग छ ।

एउटा गाउँमा बुवाआमाको मृत्युपछि दुई भाईबीच अंश विवाद भयो । एकले अर्कोलाई अलिकति पनि अंश छोड्न मानेन । जग्गाको टुक्रा टुक्रा बाड्नु पर्ने दुबै दाजुभाईको अडान अन्तिम समयसम्म कायम रह्यो ।

अन्तिममा घरको विवाद लिएर एउटा भाई वकिल कहाँ गयो । वकिलले उसका तर्फबाट मुद्दा लड्ने निधो ग¥यो । र, त्यसका लागि शुल्क अग्रिम लियो । भोलिपल्ट दाई पनि त्यही वकिललाई मुद्दा लडिदिन आग्रह गर्न पुग्यो । भाईको मुद्दा त्यही वकिलले लडिरहेको छ भन्ने उसलाई थाह थिएन ।

भाईको मुद्दा लड्न शुल्क लिईसकेको वकिलले दाईलाई चिनिहाल्यो । उसले आफूले भाईको मुद्दा लडिरहेको त बताएन, तर आफू व्यस्त रहेकोले अर्को राम्रो वकिललाई मुद्दा लड्न आफूले आग्रह गरेर पत्र पठाईदिने बतायो । वकिलले पत्र लेखे । र, पत्र लिएर दाई अर्को वकिललाई भेट्न हिड्यो ।

बाटोमा उसलाई कौतुहलता भयो, पत्रमा के लेखेको छ ? उसको मनले नहेरी मानेन । र, उसले खाम भित्र रहेको पत्र निकाल्यो । र, पढ्न थाल्यो ।

पत्रमा लेखिएको थियो, हड्डीका लागि लडिरहेका दुई कुकुरमध्ये एक कुकुरलाई मैले राखेको छु । अर्को तपाईलाई पठाईदिएको छु । यसलाई तपाई आफ्नो अनुकुल प्रयोग गर्नुहोला ।

पत्र पढेपछि उ वकिल कहाँ गएन । सोझै घर गयो । भाईलाई भेटेर भन्यो, मलाई केही चाहिएन, तलाई जति अंश चाहिन्छ    लैजानु ।

दाईको कुरा सुनेर भाई अवाक भयो । हिजोसम्म एक ईञ्च जमीन नदिने अडानमा रहेको दाईलाई अचानक भयो के ? भाई चकित प¥यो ।

दाईको कुरा सुनेर भाईको पनि मन पग्लियो, उसले भन्यो, दाई मलाई केही चाहिएन, तपाईको माया भए पुग्यो । तपाईको आशिर्वाद र साथ भए यस्तो सम्पत्ती त बाँचे फेरि जोडि हाल्छु ।

भाईको कुरा सुनेर दाईले आफूलाई सम्हाल्न सकेन । भाईलाई अंगालो हालेर बेस्सरी रोयो । ओहो, म त यस्तो भाईको बिरुद्ध मुद्दा हाल्न गएछु ।

दुबैले आफ्ना हठप्रति पश्चाताप गरे । त्यो दिनदेखि मिलेर बसे । दुबैले मिलेर दिन दुगुना रात चौगुना प्रगती गरे ।

अव गैर आवासीय नेपाली संघका भाईहरु पनि लडेर जग हसाउछन कि ? मिलेर अघि बढ्छन, त्यो हेर्न बाँकी छ ?

आफ्नै भाईलाई कठघरामा उभ्याउछु भन्ने हठ त्यागेर वकिलको त्यो पत्रमा लेखिएको ‘हड्डीका लागि लड्ने दुई कुकुर’ वाक्यांशबाट पाठ सिक्छन, कि सिक्दैनन, सोचनीय छ ।

अन्तिममा एउटा कविता,

जर्मन कवि मार्टिन निम:ल(अ)रको कालजीय कविता यो तत्कालिन समय र मनोदशालाई लिएर लेखिएपनि यो हरेक प्रसंगमा जहिले सान्दर्भिक हुने गर्छ । उनी लेख्छन्,
सर्वप्रथम, नाजीहरु कम्युनिष्ट सिध्याउन आए
म मौन बसें, किनभने म कम्युनिष्ट थिइन ।
त्यसपछि उनीहरुले यहुदीहरुलाई आँखा लाए
मैले केही बोलिन, किनभने म यहुदी पनि थिइन ।
पछि उनीहरु प्रोटेष्टेण्टहरुलाई सखाप पार्न आए
म क्याथोलिक थिएँ, त्यसैले केही बोलिन ।
अन्ततः ती मलाई लिन आए तर
त्यतिञ्जेल मेरा लागि बोलि दिने कोही बचेकै थिएन ।

आफ्ना जति सबैलाई गुमाएपछि बोली दिनेसम्म नहुदाको पीडा कस्तो हुन्छ, यो कविताले त्यही पीडा बयान गर्छ । एनआरएनका अगुवाहरुबीच व्यक्तिगत ईगो, लहड र प्रतिशोध साध्न जुन सुकै तहमा उत्रिने प्रवृति जति घातक छ, एनआरएनमाथि भईरहेको हस्तक्षेपमा देखिएको उनीहरुको मौन समर्थन उत्तिकै घातक छ । संस्था सकिएपछि त्यसको सदस्यताको खोष्टोको के अर्थ ?

अगुवाहरुमा आफैले जन्माएको एनआरएनएको अलिकति पनि माया बाँकी छ भने अदालतमा गैर आवासीय नेपाली संघको डिएनए परीक्षण गराउने कार्य बन्द गराउनुपर्छ । कतिपटक गराउछौ आफ्नै डिएनए परीक्षण ?

एनआरएनए अगुवाहरु सत्ताको मतियार भए । सत्तालाई हतियार बनाएर आफूलाई बैध बनाउने दाउमा उनीहरुले एनआरएनलाई भने अबैध बनाए ।

परराष्ट्र मन्त्री डा. आरजु राणालाई बोलाएर एक पक्ष उत्साही भएको दुई हप्ता नबित्दै अर्को पक्ष के कम उसले कन्क्लेभमा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएर हर्ष बढायो ।

मिलेर आउ अनि मात्र कार्यक्रममा आउछु भन्नु पर्ने प्रधानमन्त्री र मन्त्री पालैपालो विवादित संस्थाका कार्यक्रममा जानु दुर्भाग्य   हो । विवादरहित र साझा हुन नसकेका संस्थाका कार्यक्रममा जान हतार गर्ने प्रधानमन्त्री र मन्त्रीहरुको आशिर्वाद र आडमा एनआरएनको यो हालत भएको हो । कम्तिमा एउटै सरकारमा रहेका प्रधानमन्त्री र मन्त्रीका बीचमा एनआरएनका विषयमा साझा बुझाई र धारणा हुनुपथ्र्यो ।

आस्था र निकटताका आधारमा शासकहरुलाई आमन्त्रण गरेर ‘हामीले देखाई दियौ’ भन्ने भ्रममा बाँच्ने अगुवाहरुबाट एनआरएन पार लाग्दैन ।

एउटा पक्षले एकताको महाधिवेशन गरेको दुई साता नबिन्दै अर्को पक्षले एनआरएनए कन्क्लेभ आयोजना गरेर आफ्नो शक्ति प्रदर्शन ग¥यो । न एकताका महाधिबेशनमा त्यो एकता देखियो, जहाँ अग्रज र संस्थापकहरुको सहभागिता देखियो । कन्कलेभका बारेमा भनिरहन परेन ।

सबै भ्रम, दम्भ र ईगोबाट मुक्त भएर जवसम्म अगुवाहरु एक ठाउँमा उभिदैनन्, एनआरएनलाई अदालतले बलियो बनाउछ, न परराष्ट्र मन्त्रालयले । न त सरकारले ।

भैसीलाई तह लगाउन मान्छेलाई आमन्त्रण गरेर घोडाले जसरी स्वतन्त्रता गुमायो । त्यही मूर्खता बिगतमा एनआरएनका अगुवाहरुले परराष्ट्र मन्त्रालय र राजनैतिक दललाई आमन्त्रण गरेर गरे । त्यही कारण एनआरएनएले आफ्नो स्वतन्त्र हैसियत गुमायो ।

यतिकुरा अगुवाहरुले बुझिदिए पुग्छ ।

खोज्नुहोस