यस्तै हो भने म प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ – पूर्व प्रधानमन्त्री ओली

काठमाडौं ।  पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले यस्तै अराजकता चलिरहे फेरि आफू प्रधानमन्त्रीमा फर्किने दावी गरेका छन् । सम्पादकहरुले सम्पादकीय नै लेखेर आफूलाई फिर्ता ल्याउन माग गर्ने उनको भनाइ छ ।

आज सम्पादकहरुसँग अन्तरक्रियामा बोल्दै उनले भने, ‘यस्तै भयो भने केपी ओली फेरि प्रधानन्त्रीमा फर्किने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैन नि, किन सहने ? अरुबाट हुने रहेनछ। यस्तो अराजकता । तपाईंहरुले (सम्पादकहरु) विशेष सम्पादकीय लेखेर केपी ओली फिर्ता ल्याउँ भनेर लेख्नुहुन्छ । नलेख्नुपर्ने कारण छन् भने भन्नुस ।’

जेन–जी पुस्तालाई धोकामा पारियो: ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी पुस्तालाई धोकामा पारिएको बताएका छन्।

जेन–जी आन्दोलनबाट सरकार छाड्न बाध्य भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै निवर्तनमा प्रधानमन्त्री ओलीले जेन–जी आन्दोलनलाई आफूले तीन भागमा छुट्याएर हेर्ने गरेको बताए।

‘जेन–जी आन्दोलनलाई तीन भागमा हेर्छु। उनीहरूका खुलस्त रूपमा तीनवटा माग थिए। भ्रष्टाचार, अन्त्य, सुशासन कायम र रोकिएका सामाजिक सञ्जाल खुलाइनुपर्छ भन्ने माग थिए,’ उनले भने, ‘जेन–जीलाई धोकामा पारियो, जे गरेर भए पनि विरोध प्रदर्शनका लागि तयार पारियो।’

एमाले अध्यक्ष ओलीले जेन–जीले आन्दोलनको क्रममा प्रधानमन्त्रीको राजीनामा नमागेको बरु धोकामा पारेर संसद् भवनतर्फ पुर्‍याइएको बताए।

हङकङ सिक्सेसका लागि नेपाली टोलीको घोषणा

काठमाडौं : हङकङमा हुने हङकङ सिक्सेस खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शरद भेषावकरको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो।

७ सदस्यीय टोलीमा शरदसहित सन्दीप जोरा, लोकेश बम, बसिर अहमद, आदिल आलम, रसिद खान र रुपेश सिंह रहेका छन्।

हङकङ सिक्सेस नोभेम्बर ७ देखि ९ सम्म हुनेछ। यो प्रतियोगितामा नेपालले दोस्रो पटक सहभागिता जनाउन लागेको हो।

विपिन जोशीको शव सोमबार काठमाडौँ आइपुग्ने

काठमाडौँ  : गाजा र इजरायलको द्वन्द्वमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव भोति (कार्तिक ३गते) सोमबार २:३५ बजे दुबईबाट काठमाडौं आईपुग्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, जोशीको शव फ्लाइ दुबईको उडानमार्फत् नेपाल आइपुग्ने भएको हो ।

उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २:३५ बजे अवतरण गर्ने तालिका रहेको छ। सहप्रवक्ता भुलका अनुसार, पार्थिव शरीरको सम्मानपूर्वक व्यवस्थापन र स्थानान्तरणका लागि विमानस्थलमा सम्पूर्ण तयारी पूरा गरिएको छ।

नेपाली सेनाको उच्च स्रोतका अनुसार, विपिन जोशीको पार्थिव शरीरलाई नेपाली सेनाको विमान मार्फत धनगढी विमानस्थल पुर्‍याइनेछ। त्यसपछि सेनाले धनगढीबाट एम्बुलेन्सद्वारा महेन्द्रनगर लैजाने र परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ।

यसैबीच, प्रधानमन्त्री सुशिला कार्कीले बिपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली सेनाको नं. १४ बाहिनी मुख्यालयमा पुग्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरू, उच्च प्रशासकहरू, नेपाली सेना तथा प्रहरीका वरिष्ठ अधिकारीहरू पनि सहभागी हुने सरकारी स्रोतले जनाएको छ।

रक्षा र पराराष्ट्र प्रधानमन्त्रीसँगै राखेर मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद् विस्तारमा जुटेकी छन्।  कार्कीले रक्षा र पराराष्ट्रमन्त्री आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तारको लागि छलफल तीव्र पारेकी हुन्।

हाल कार्की नेतृत्वको मन्त्रिपरिषद् आठ सदस्यीय छ। प्रधानमन्त्री कार्कीले बढीले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने बताएकी छन्।

प्रधानमन्त्री तीन(चार दिनयता मन्त्रिपरषद् विस्तारको लागि घनिभूत छलफमा रहेको एक मन्त्रीले जानकारी दिए। ‘मन्त्रिपरिषद् विस्तार आजै हुन पनि सक्छ। तर, टुंगो भइसकेको छैन,’ ती मन्त्रीले भने, ‘आज नभए एकदुई दिनमै मन्त्रिपरिषद् विस्तार हुन्छ।’

प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङ मन्त्रिपरिषद् विस्तारको घनिभूत छलफलमा जुटेका छन्। ‘विभिन्न पक्ष, उमेर समूह, समावेशिता, विशेषज्ञता सबैलाई हेरेर मन्त्रिपरिषद् विस्तार हुनेछ,’ छलफलमा सहभागी ती मन्त्रीले भने।

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु

धनगढी- कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

बर्दगोरिया गाउँपालिका- ४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुवा नगरपालिका अन्तर्गत पर्ने धोबेनी खोलामा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र बहादुर सिंहका अनुसार दुर्घटनामा परि बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको छ।

घाइते भएका ९ जनालाई स्थानीयवासी र प्रहरीले उद्धार गरी लम्कीस्थित लाल रत्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्याक्टरमा मलामी लिएर चिसापानीतर्फ जाँदै गर्दा अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ।

जेन–जी आन्दोलनमा क्षति भएका पूर्वाधार पुनर्निर्माणका लागि कोषमा ६ करोड १० लाख सङ्कलन

काठमाडौं । गत २३ र २४ भदौको जेन–जी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा हालसम्म ६ करोड १० लाख रुपैयाँ सङ्कलन भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आज बिहानसम्म कोषमा ६ करोड १० लाख रुपैयाँ सङ्कलन भएको हो ।

जेन–जी प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले उक्त कोष स्थापना गरेको थियो । कोषमा योगदानका लागि सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, विभिन्न सङ्घसंस्थालगायत दातृ निकायलाई आग्रह गरेको थियो । पुनर्निर्माण कोषमा गरिने आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्च कट्टी गर्न पाइने सुविधा सरकारले दिएको छ ।

पुनर्निर्माणका कोषका लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा खाता खोलिएको छ । योगदानकर्ताले कोषको खाता नम्बर १९६०१००१०२०७०००४ मा सहायता रकम जम्मा गर्न सक्नेछन् । कोषका योगदानकर्ताको विवरण शीघ्र सार्वजनिक गर्ने तयारी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रचण्डले भने– कृष्णबहादुर महरामाथि षड्यन्त्रको सुरुआत गरियो

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गरेका छन् । अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढेको उनले बताएका छन् ।

नेपाल संवत् ११४६ को उपलक्ष्यमा आइतबार (कात्तिक २) माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिले आयोजना गरेको शुभकामना आदनप्रदान, चियापान तथा भेटघाट कार्यक्रममा उनले अहिलेको अवस्थामा पार्टीलाई ठूलो जिम्मेवारी आएको र १० बुँदे मार्गदर्शन जारी गरिएको बताए ।

“गत भदौ २३ गते जेनजीले बेथिति, भ्रष्टाचार र कुशासनको विरुद्धमा आन्दोलित भएर राजनीति र देशप्रतिको मायाका साथै सुधारका लागि शक्ति प्रदर्शन गरेको हो । तर, भदौ २४ गतेको आन्दोलनले देशमा कति खतरनाक ढंगले गलत प्रवृत्तिको विकास हुँदै छ भन्ने पनि शिक्षा दिएको छ, यो हामीले बुझ्नुपर्छ । त्यसपछि हामी सबैले मुलुकमा राज्यविहीनताको अवस्थालाई अन्त्य गर्न भूमिका निर्वाह गर्‍यौँ,” उनले भने ।

संयोजक प्रचण्डले ‘जेनजी’ आन्दोलनका माग पनि पार्टीकै अनुसारको भएकाले आफूहरूले समर्थन गरेको बताए । युवाको चाहना र भावनाअनुसार  पार्टी रूपान्तरण हुनुपर्नेमा उनले जोड दिए ।

“परिवर्तित परिस्थितिमा पनि रूपान्तरण हुने पार्टी माओवादी हो । जेनजी युवासँग पनि निरन्तर संवाद र छलफल भइरहेको छ । संविधान संशोधन गरेर, उनीहरूले बुझ्नुपर्छ, क्रान्तिकारीहरूले दुष्मन र मित्र चिन्नुपर्छ, यो कुरा नवयुवाहरूले बुझ्नुपर्छ,” उनले भने ।

उनले सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विषयमा आमजनता र युवालाई बुझाउन आवश्यक रहेको बताए । “लेनिनले भनेको जस्तो क्रान्तिकारी पार्टीले र नेताले मात्र गल्ती स्वीकार गर्छन्, बुर्जुवा र प्रतिक्रान्तिहरूले गल्ती स्वीकार गर्दैनन् । जनताको नेतृत्व गर्ने पार्टीका रूपमा हामी फेरि रूपान्तरण हुनुपर्नेछ, भ्रष्टाचारीको संरक्षण गर्नेहरू र क्रान्तिकारीहरू एकै हैनन्,” उनले भने ।

उनले प्रतिक्रियावादी र प्रतिक्रान्तिवादीले पूर्वसभामुख कृष्णबहादुर महरालाई गलत सन्देश, बेइमानी र षड्यन्त्रको सुरुआत गरेको धारणा राखे ।

संयोजक प्रचण्डले नेतृत्वमा को हुनुपर्छ वा हुनु हुँदैन भनेर पत्रकारले भन्ने हैन भन्दै त्यसको निराकरण सम्बन्धित पार्टीका सदस्यले गर्ने विषय भएकामा ध्यानाकर्षण गराए ।

केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य एवं पूर्वमन्त्री पम्फा भुसालले जनताका अधिकतम अधिकार प्रत्याभूति गर्ने संविधान लेखिएको उल्लेख गरिन् । उनले समाजवादी ‘जनक्रान्ति’ सफल बनाउन जेनजी समूहका नवयुवा पुस्ताले गरेको मागअनुसारको सुशासन र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्नेमा जोड दिइन् ।

उनले १० वर्षे सशस्त्र द्वन्द्वमा समेत नभएको विध्वंस जेनजी आन्दोलनका क्रममा भएको र संविधान र व्यवस्था मास्ने षड्यन्त्रविरुद्ध राष्ट्रपतिले खेलेको भूमिकाले त्यसलाई शान्त बनाएको टिप्पणी गरिन् । फागुन २१ गतेको निर्वाचनलाई सफल बनाउन आवश्यक रहेको उनले बताइन् । रासस

बाजुराको बुढीगंगाले १२० करार, ज्यालादारी र अस्थायी कर्मचारी हटायो

धनगढी : बाजुराको बुढीगंगा नगरपालिकाले एक सय भन्दा धेरै करार, ज्यालादारी र अस्थायी कर्मचारीलाई हटाएको छ। ४९ औँ कार्यपालिका बैठकले नगरपालिकामा झन्डै १२० अस्थायी कर्मचारीको कार्तिक १ गतेदेखि म्याद थप नगर्ने निर्णय गरेको नगर प्रमुख रामबहादुर बानियाँले बताए।

सुदूरपश्चिम प्रदेश सभाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन बनाइसकेको छ। उक्त ऐनमा स्थानीय तहबाट गरिने सेवा प्रवाहका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्न तथा स्थानीय सेवा प्रभावकारी, सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने विषय उल्लेख गरिएको छ। सोही ऐनमा रहेर आफूहरूले अस्थायी कर्मचारीहरूलाई बिदा गरेको नगर प्रमुख बानियाले बताए। ‘प्रदेश सरकारको ऐन अनुसार हामीले कर्मचारीहरूलाई बिदा गरेका हौँ ’ उनले भने, ‘प्रदेश सरकारको ऐन कार्यान्वयन गर्ने हामी सुदूरपश्चिम प्रदेशमा पहिलो स्थानीय तह हौँ।’

अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई बिदा गरेको नगरपालिकाले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर नयाँ कर्मचारीको व्यवस्थापन गर्ने तयारी रहेको छ। पालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूमा कति कर्मचारी आवश्यक छन् भन्नेबारे विज्ञबाट ओएनएम गराउने र सोही अनुसार स्थायी कर्मचारीको लागि पहल गर्ने तयारी गरिएको हो। ‘सुशासन र पारदर्शी काम होस् भन्ने हाम्रो उद्देश्य हो। प्रदेश सरकारको ऐन अनुसार ओएनएम गरेर नयाँ कर्मचारीहरूको व्यवस्था गर्ने हाम्रो तयारी छ ’ उनले भने।

केही समय अघि विकास कचहरी आयोजना गरेर स्थानीय स्तरबाटै स्थानीय तहलाई विकासको गति दिन सकिन्छ भनेर सन्देश दिएको नगरपालिकाले यसपटक अस्थायी करार र ज्यालादारी कर्मचारी हटाएर ठुलो आर्थिक भार पनि कम गरेको छ।

तिहारमा पश्चिमी वायुको सामान्य प्रभाव रहने, सतर्क रहन सुझाव

धनगढीः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यस वर्षको तिहार अवधिका लागि विशेष मौसम बुलेटिन जारी गरेको छ। जसअनुसार तिहार अवधिमा पश्चिमी वायुको सामान्य प्रभाव रहने र देशका केही पहाडी र हिमाली भू–भागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाएको छ।

शनिवार साँझ ६ बजे जारी बुलेटिनअनुसार तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने तर पश्चिमी वायुको कारणले देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारण बदली रहने र कतिपय स्थानमा फाटफुट वर्षा हुने उल्लेख छ। उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

लक्ष्मी पूजाका दिन कार्तिक ३ गते देशका अधिकांश भूभागमा मौसम सफा रहने भए पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

कार्तिक ४ गते अर्थात् औंसीको दिन पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने र कोशी, गण्डकी तथा कर्णालीका पहाडी क्षेत्रमा फाटफुट वर्षा हुने सम्भावना छ। गोवर्धन पूजाको दिन कार्तिक ५ गते भने पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहने र कोशी तथा कर्णालीका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागको भनाइ छ।

भाइटीकाको दिन कार्तिक ६ गते कोशी र मधेश प्रदेशलगायत देशका अन्य पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहने र सबै प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ। उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना पनि रहेको बुलेटिनमा उल्लेख छ। विभागले सम्भावित वर्षा र मौसम परिवर्तनबारे सतर्क रहन सुझाव समेत छ।

निर्वाचन समयमै सम्पन्न गर्न सबै पक्ष एकजुट हुन आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री र अन्य मन्त्रीहरूको उपस्थितिमा चारै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे गम्भीर छलफल गरेकी छन्।

बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका तयारी, सुरक्षा व्यवस्था र राजनीतिक वातावरणबारे विस्तृत समीक्षा गरिएको थियो। सबै सुरक्षा निकायका प्रमुखहरूले उच्च मनोबलका साथ शान्ति, सुरक्षा र निर्विघ्न निर्वाचन सुनिश्चित गर्न पूर्ण तयारी रहेको जानकारी गराएका छन्।

प्रधानमन्त्री कार्कीले राजनीतिक तहबाटै निर्वाचनमैत्री वातावरण बनाउन पहल भइरहेकाे र दलहरूसँग संवाद सुरु भएको बताइन्। उनले सहज राजनीतिक निकास र लोकतान्त्रिक अभ्यास सुदृढीकरणका लागि निर्वाचन समयमै सम्पन्न गर्न सबै पक्ष एकजुट हुन आवश्यक रहेको उल्लेख गरेकी छन्।

ओमानले एकै पटक किन गर्यो २० नेपालीलाई डिपोर्ट ?

काठमाडौं । ओमानबाट २० जना नेपालीलाई देश निकाला (डिपोर्ट) गरिएको छ। उनीहरुलाई साइबर ठगी अपराधमा संलग्न भएको आरोपमा देश निकाला गरिएको मस्कटस्थित नेपाली दूतावासका द्वितीय सचिव बिशेष कुमार साहले जानकारी दिए। सचिव साहका अनुसार ओमानको सोहारको डिटेन्सन सेन्टरमा २० जना नेपालीहरूलाई साइबर ठगी अपराधको अनुसन्धानका लागि राखिएको थियो।

उनीहरु मध्ये ११ जनाको प्रक्रिया पूरा गरी ओमानबाट डिपोर्ट गरिएको छ भने बाँकी ९ जनालाई नेपाल फर्काउने प्रक्रिया जारी रहेको उनले बताए । उनीहरुलाई पनि चाँडै डिपोर्ट गरिनेछ । उनीहरुलाई करिब ७ महिना अगाडि रोयल ओमानको प्रहरीले पक्राउ गरी डिटेन्सन सेन्टरमा दूतावासले जनाएको छ।

एनआरएनए नेपाली सोसल क्लब ओमानलाई करिव ६ महिना अघि केहि व्यक्तिहरुबाट फोन तथा म्यासेज आएको र आफ्नो मान्छे दुबईमा काम गरेको र भिजिट भिसामा ओमान छिरेको भन्ने खबर आएको थियो। एनआरएनए ओमानका नेपाली सोसल क्लबका अध्यक्ष सुरेश खड्काका अनुसार दुबईबाट नजिक रहेको ओमानको सोहारमा २०-२५ जना नेपालीलाई प्रहरीले थुनेर राखेको भन्ने जानकारी आएको थियो।

पछि बुझ्दै जाँदा उनीहरु एउटा चाईनिज कम्पनीमा नेटवर्ककिङ्ग बिजनेशमा काम गरेको अध्यक्ष खड्काले बताए। नेटवर्ककिङ्ग बिजनेश गर्ने क्रममा नेपाली मात्र नभएर अन्य मुलुकका गरी करिव १०० जनालाई ओमान प्रहरीले पक्राउ गरेको थियो। उनीहरु जेल परेको थाहा पाए देखि नै सोहारमा रहेका एनआरएनए केन्द्रीय सदस्य देवन खड्काले पहिलो दिनदेखि नै उनीहरुलाई गएर बुझ्ने,भेट्ने र नेपालमा रहेका परिवारहरु सँग पनि कुराकानी गराईदिने काम गरे।

देवनले जेलमा रहेका र दूतावासबीच समन्वय भूमिका खेलेका कारण स्वदेश फर्काउन सम्भव भएको बताईएको छ। पछिल्लो समय दलालको प्रलोभनमा परी आकर्षक रोजगारी पाउने आशमा भिजिट भिसामार्फत नेपाली महिला त्यहाँ पुगेर उद्धारका लागि हारगुहार गर्नेको संख्या पनि ठूलो रहेको पाईन्छ।

दाहालको टिप्पणी: हिजो हामीलाई आतंककारी भन्थे, अहिले जेन–जीलाई भन्दै छन्

काठमाडौं ।   नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले हिजो आफूलाई आतंककारी भन्नेले आज जेन–जीलाई आतंककारी भनिरहेको दाबी गरेका छन्। शनिवार एक कार्यक्रममा बोल्दै दाहालले यस्तो दाबी गरेका हुन्।

‘देशभित्र दुइटा विचारहरू छन्, एउटा विचारले भनिरहेको छ तपाईँ९जेन–जी०हरूलाई आतंककारी,’ दाहालले भने, ‘तपाईँहरूले सुन्नुभएको छ नि, तपाईँहरूको आन्दोलनलाई आतंककारीहरुको आन्दोलन भन्ने विचार छ।’

एक थरी पार्टी र नेताहरूले त्यसो भनिरहेको दाहालले दाबी गरे। उनले भने, ‘तपाईँहरूलाई आतंककारी भन्दा चसक्क बिझ्ने।’

हिजो आफूले आन्दोलन गर्दा आफूलाई पनि आतंककारी भनेको भन्दै दाहालले आफूसँग दाँजे। ‘हिजो उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्ग, समुदायको हक अधिकारको निम्ति लड्न खोज्दा हामीलाई आतंककारीकै आरोप लगाइन्थ्यो,’ दाहालले भने।

आफ्नो भनाई जेन–जीले बुझ्छन् या बुझ्दैनन् आफूलाई थाहा नभएको उनले बताए।

राष्ट्रपतिलाई सुरक्षा प्रमुखहरूको ब्रिफिङ : २०६४ भन्दा अवस्था अनुकुल छ, सुरक्षाकै कारण चुनाव रोकिँदैन

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटमा चारवटै सुरक्षा निकायका प्रमुखहरूले आगामी निर्वाचन सुरक्षाकै कारण नरोकिनेमा आश्वस्त पारेका छन्।

शनिबार राष्ट्रपति भवन शीतल निवासमा भएको उच्चस्तरीय छलफलमा उनीहरूले २०६४ को भन्दा सहज परिस्थिति रहेको भन्दै निर्वाचन सम्पन्न गराउन आफूहरू पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘२०६४ सालको संक्रमणकालीन अवस्थामा त चुनाव गराउन सकियो। चुनावको वातावरण त्यस्तो प्रतिकुल छैन, अनुकुलै छ’, उनीहरूलाई उद्धृत गर्दै स्रोतले भन्यो।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूको समेत उपस्थिति रहेको उक्त भेटमा राष्ट्रपति पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्नेमा राजनीतिक दल र आम नागरिकलाई विश्वास दिलाउन सरकार र सुरक्षा निकायलाई निर्देशन दिएका थिए।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, राष्ट्रपति पौडेलले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरण सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई ‘बोल्ड्ली’ प्रस्तुत हुन निर्देशन दिए। उनले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दीहरूलाई अविलम्ब नियन्त्रणमा लिन पनि आग्रह गरे।

छलफलमा प्रधानसेनापति अशोक सिग्देल र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले २०६४ सालको संक्रमणकालीन र माओवादीको दबदबा रहेको कठिन परिस्थितिमा समेत निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको स्मरण गराए।

उनीहरूले हालको अवस्था त्योभन्दा निकै सहज रहेकाले निर्वाचनका लागि वातावरण अनुकूल भएको बताउँदै शान्ति सुरक्षाबारे ढुक्क रहन राष्ट्रपतिलाई आग्रह गरे।

तर, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले भने हालैको ‘जेन-जी’ आन्दोलनका क्रममा प्रहरीतर्फ सबैभन्दा ठूलो क्षति भएकोतर्फ ध्यानाकर्षण गराए। उनले निर्वाचनअघि आवश्यक स्रोत र साधन उपलब्ध गराइएमा प्रहरी संगठन निर्वाचन सुरक्षाका लागि पूर्ण रूपमा तयार रहेको बताए।

राष्ट्रपतिसमक्ष उनले भने, ‘हाम्रो साधन-स्रोतमा सबैभन्दा बढी क्षति भएको छ। चुनावअघि आवश्यक सामग्री उपलब्ध भएमा चुनावलक्षित सुरक्षा प्रबन्ध गर्न हामीलाई कुनै आपत्ति छैन।’

सुरक्षा प्रमुखहरूको ब्रिफिङपछि प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधन-स्रोत सरकारले उपलब्ध गराउने आश्वासन दिँदै पूर्ण तयारीका साथ लाग्न निर्देशन दिए।

छलफलमा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की, अर्थमन्त्रीबाहेक अन्य मन्त्रीहरू, प्रधानसेनापति सिग्देल, प्रहरी महानिरीक्षक खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागिता थियो।

एनपीएल ट्रफी टुर : जानकी मन्दिरमा पूजापाठसँगै टुर सुरु

सर्लाही । नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुरको क्रममा आज जनकपुरधाममा विशेष कार्यक्रमका साथ ट्रफी प्रदर्शनी गरिएको छ ।सातै प्रदेशमा आयोजना भइरहेको ट्रफी टुर कार्यक्रम अन्तर्गत मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज जानकी मन्दिरमा विधिवत पूजापाठ गरी ट्रफी प्रदर्शन सुरु गरिएको हो ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास वैष्णवले ट्रफीको पूजापाठ गरेपछि आयोजक टोलीले मन्दिर प्रांगणमा निर्माण गरिएको विशेष मञ्चमा ट्रफी प्रदर्शन गरेको थियो । त्यसपछि ट्रफीलाई नगरका विभिन्न प्रमुख स्थलहरूमा ¥यालीसहित घुमाइएको जनाइएको छ ।

जानकी मन्दिरबाट सुरु भएको ट्रफी यात्रा राम मन्दिर, मुरलीचौक, जिरो माइल, रामानन्द चौक, पिडारी चौक, मिल्स एरिया, भानु चौक, कदम चौक हुँदै पुनः मुरलीचौक र जिरो माइल पार गर्दै बस स्ट्यान्डस्थित होटलमा सम्पन्न गरिने छ । नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा जनकपुर बोल्ट्सले विजयी भएको थियो ।

तीन महिनामा १८ प्रतिशत बजेट खर्च, राजस्व संकलन लक्ष्यको १६ प्रतिशत मात्र

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा सरकारले १८ प्रतिशत बजेट खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा ३ खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख अर्थात् वार्षिक विनियोजनको १८ दशमलव ५६ प्रतिशत खर्च भएको हो । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो ।

कार्यालयका अनुसार असोज मसान्तसaम्ममा चालुगत शीर्षकमा वार्षिक विनियोजनको २१ दशमलव ७५ प्रतिशत अर्थात् २ खर्ब ५६ अर्ब ८० करोड ६० लाख खर्च भएको छ । यस्तै, पुँजीगत शीर्षकमा वार्षिक विनियोजनको ४ दशमलव ७ प्रतिशत अर्थात् १ खर्ब १९ अर्ब १८ करोड ३४ लाख र वित्तीय व्यवस्था शीर्षकमा २३ दशमलव ६१ प्रतिशत अर्थात् ८८ अर्ब ६० करोड खर्च भएको छ ।

यस अवधिमा सरकारको राजस्व संकलन वार्षिक लक्ष्यको १६ दशमलव ५१ प्रतिशत छ । यस वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म २ खर्ब ५३ अर्ब १८ करोड ७९ असुली भएको हो ।

आन्तरिक राजस्वतर्फ १४ खर्ब ८० अर्ब उठाउने सरकारी लक्ष्य रहेकोमा असोज मसान्तसम्ममा वार्षिक लक्ष्यको १६ दशमलव ८३ प्रतिशत अर्थात् २ खर्ब ४९ अर्ब ५ करोड १४ लाख असुली भएको छ ।

यसैगरी, ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने लक्ष्य रहेकोमा हालसम्म ३ दशमलव ७६ प्रतिशत अर्थात् २ अर्ब ७२ लाख प्राप्ति भएको छ ।

सरकारले किन छानीछानी राजदूतहरू फिर्ता बोलायो ?

काठमाडौँ : अघिल्लो सरकारले राजनीतिक भागबन्डाबाट नियुक्ति गरेका ११ राजदूतलाई फिर्ता बोलाइएको छ । राजनीतिक भागबन्डाबाटै नियुक्त अन्य ६ राजदूतलाई भने सरकारले चलाएको छैन । परराष्ट्र सेवाबाट नियुक्ति पाएका राजदूतहरू पनि यथावत् छन् ।

सरकार परिवर्तन भएपिच्छे राजदूत हेरफेर गर्ने प्रवृत्तिले यसपालि पनि निरन्तरता पाएको हो । परराष्ट्र मन्त्रालयसमेत सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उनीहरूलाई २० कात्तिकभित्र फर्किन भनिएको छ ।

संयुक्त राष्ट्रसंघका ३ स्थायी नियोगका लागि समेत गरी विभिन्न मुलुकमा ३४ नेपाली राजदूत छन् । राजदूत नियुक्ति निर्देशिकाअनुसार परराष्ट्र सेवाबाट ५० र राजनीतिक सेवाबाट ५० प्रतिशत राजदूत नियुक्ति गर्ने अभ्यास छ । राजनीतिकतर्फबाट गरिने नियुक्तिमा सत्तारूढ दलहरूबीच भागबन्डा हुने गरेको छ ।

त्यसरी राजनीतिक कोटाबाट नियुक्त १७ मध्ये ११ राजदूतलाई फिर्ता बोलाइएको हो । फिर्ता बोलाइएकामा कृष्णप्रसाद ओली (चीन), शैल रूपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नेत्रप्रसाद तिमिल्सिना (मलेसिया), रमेशचन्द्र पौडेल (कतार), जंगब चौहान (रुस), नरेशविक्रम ढकाल (साउदी अरब), सनिल नेपाल (स्पेन), चन्द्रकुमार घिमिरे (बेलायत), लोकदर्शन रेग्मी (अमेरिका) र दुर्गाबहादुर सुवेदी (जापान) छन् ।

जापानका लागि राजदूत सुवेदी परराष्ट्र सेवाका हुन् । तर शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला उनले राजनीतिक कोटाबाट २०७९ साउनमा नियुक्ति पाएका थिए । १० महिना कार्यकाल बाँकी रहँदै उनी फिर्ता बोलाइनुको कारण राजनीतिक कोटाबाट भएको नियुक्तिलाई मानिएको छ । परराष्ट्रको सहसचिवबाट उनले पहिले नै अवकाश पाइसकेका हुन् ।

राजनीतिक भागबन्डाबाटै नियुक्ति पाएका राजदूत शंकरप्रसाद शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलिया), पूर्णबहादुर नेपाली (श्रीलंका), शिवमाया तुम्बाहाङफे (दक्षिण कोरिया), सुम्निमा तुलाधर (डेनमार्क) र कपिल श्रेष्ठ (दक्षिण अफ्रिका) लाई भने यथावत् राखिएको छ । शर्मा, यादव र श्रेष्ठ कांग्रेसको कोटामा र अन्य तीन जना एमाले कोटाबाट नियुक्त भएका हुन् ।

राजदूतहरूको पदावधि चार वर्षको हुन्छ । तर राजनीतिक भागबन्डामा नियुक्त राजदूतलाई सरकार फेरिएपिच्छे फिर्ता बोलाइने अभ्यासले विरलैले मात्र पूरा कार्यकाल काम गर्न पाउँछन् । परराष्ट्र सेवा (क्यारियर) बाट राजदूत भएकाहरूले भने प्रायः चार वर्षको कार्यकाल पूरा गर्दै आएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार राजदूत फिर्ता बोलाउन वा यथावत् राख्न कुनै विशेष मापदण्ड तयार गरेर अध्ययन गरिएको थिएन । पहिलेका सरकारले राजनीतिक भागबन्डाबाट नियुक्ति गरेका सबै १७ राजदूतलाई फिर्ता बोलाउने तयारी थियो ।

प्रधानमन्त्री कार्की भारतका लागि नेपाली राजदूत शर्मालाई अहिले नै फिर्ता नबोलाउने पक्षमा थिइन् । उनलाई मात्रै फिर्ता नबोलाउँदा एक जनालाई मात्रै किन छाडियो भन्ने प्रश्न उठ्ने भएपछि महिला राजदूतलाई यथावत् राख्ने निर्णय लिइएको थियो । त्यसपछि श्रीलंकामा रहेका पूर्णबहादुर नेपाली र दक्षिण अफ्रिकामा रहेका कपिल श्रेष्ठलाई पनि यथावत् राख्ने निर्णय भयो ।

भारतका लागि राजदूत शर्मा अर्थशास्त्री हुन् । शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला शर्मा भारत पठाइएका थिए । दाहाल नेतृत्वको सरकारले गत वर्ष उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उनी फिर्ता पनि भए । पछि कांग्रेस–एमाले गठबन्धन सरकारले पुनः उनलाई भारत पठाएको थियो । दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानको सम्भावना तथा चुनाव तयारीका लागि भारतबाट सरसहयोग लिनुपर्ने परिस्थिति विश्लेषण गर्दै उनलाई नहटाइएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।

श्रेष्ठ मानव अधिकारकर्मी र निर्वाचन पर्यवेक्षकका रूपमा पहिचान बनाएका व्यक्ति हुन् । उनीहरू राजनीतिक भागबन्डाबाट नियुक्त भए पनि पूर्वसरकारी कर्मचारी वा राजनीतिक दलका कार्यकर्ताको सूचीमा पर्दैनन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल राजनीतिक रूपमा नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने छलफल भए पनि केही राजदूतलाई त्यहाँको आवश्यकता, उनीहरूको क्षमता हेरेर फिर्ता नबोलाइएको बताए ।

‘समावेशीको पनि कुरा भयो । केहीले राम्रो काम गरिरहनुभएको छ । उहाँहरूलाई फिर्ता गरिएको छैन,’ उनले भने, ‘विशेष परिस्थितिमा नयाँ सरकार बनेको छ । पहिलेका सरकारले राजनीतिक रूपमा पठाएका राजदूतहरूले अहिलेको सरकारको प्रतिनिधित्व सही ढंगले गर्न सक्दैनन् कि भन्ने कुरा पनि आयो ।’

गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक भागबन्डाका आधारमा नियुक्ति पाएर कार्यसम्पादन कमजोर रहेका राजदूतलाई फिर्ता बोलाइएको बताए । ‘फिर्ता बोलाइएका ठाउँमा तत्कालै नियुक्ति हुँदैन । नयाँ नियुक्ति सिफारिसको तयारी छैन । कार्यवाहक दिएर कर्मचारीबाटै काम चलाउने हो,’ उनले भने ।

पूर्वपरराष्ट्र सचिव तथा कूटनीतिज्ञ मधुरमण आचार्य राजनीतिक प्रयासबाट नियुक्ति पाएर गएकाहरू त्यसैगरी नै फिर्ता हुनु परिरहेको बताउँछन् । ‘हिजो सामान्य ढंगले सरकार परिवर्तन हुँदा त राजदूत फिर्ता बोलाउने काम भइराख्यो । अहिले आन्दोलनबाट सरकार बनेको छ । संसद् विघटन भएको छ । सामान्य तरिकाले सरकार फेरिएको होइन,’ उनले भने ‘अघिल्लो सरकारले नियुक्ति गरेका राजदूतहरूबाट अहिलेको सरकारको प्रतिनिधित्व नहुने बुझाइ भएको हुन सक्छ । त्यही भएर फिर्ता बोलाएका होलान् ।’

योग्यता, क्षमता, कार्यसम्पादन वा समावेशी पक्षलाई हेरेर कसैलाई फिर्ता नबोलाइएको भए राम्रै मान्नुपर्ने उनी बताउँछन् । राजदूत नियुक्तिमा बढ्दो राजनीतिक हस्तक्षेप र भागबन्डालाई नियन्त्रण गरिनुपर्ने उनको भनाइ छ ।

गाजामा युद्धविराम उल्लंघन: इजरायली आक्रमणमा २८ प्यालेस्टिनी मारिए

काठमाडौं । युद्धविराम लागू भएपछि इजरायली सेनाको आक्रमणमा गाजामा हालसम्म २८ प्यालेस्टिनीको मृत्यु भएको छ।

इजरायल र हमासबिच युद्धविराम लागू भए पनि आक्रमण जारी रहँदा गाजाको अवस्था तनावपूर्ण बनेको छ। गाजा सहरको जेइटौनमा पहेँलो रेखा पार गरेको आरोपमा इजरायली सेनाले एउटा सवारी साधनमाथि आक्रमण गर्दा एकै परिवारका ११ सदस्यको मृत्यु भएको अल जजीराले लेखेको छ। यसैबिच उत्तरी गाजामा थप आक्रमणमा धेरै प्यालेस्टिनी मारिनुका साथै धेरै घाइते छन्।

हमासले रेडक्रस मार्फत मृतक इजरायली बन्दीको अर्को शव फिर्ता गरेपछि अमेरिका र मध्यस्थकर्ता राष्ट्रहरूलाई इजरायललाई युद्धविराम सम्झौताको सम्मान गर्न र तत्काल आक्रमणहरू बन्द गर्न दबाब दिन आग्रह गरेको छ। संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेको ठूलो मात्रामा मानवीय सहायता वितरणमा अझै पनि इजरायली अवरोधहरूको सामना गर्नुपरेको छ। गाजाका प्यालेस्टिनीहरू खाना र पानीको चरम अभावबाट गुज्रिरहेका छन्।

युद्धविराम भएको एक हप्ता बितिसक्दा पनि इजरायलले गाजाको इजिप्टसँगको रफाह नाकालाई बन्द गर्न जारी राखेको छ। ठूलो मात्रामा सहायता वितरणलाई अनुमति दिन बारम्बार अन्तर्राष्ट्रिय आह्वानहरूको बाबजुद इजरायलले रफाह नाका नखोल्दा सहायता पुर्‍याउन कठिन भएको छ। एजेन्सी

मिराज ढुङ्गना भन्छन् दल खोल्नुको अर्थ चुनावमा जानु होइन, क्लियर होस् भन्ने हो

काठमाडौं । जेनजी युवा मिरज ढुंगानाले आफूहरूले दल खोल्ने निर्वाचनमा जाने उद्देश्यका लागि मात्रै नभएको बताएका छन् । साथै, उनले आफूहरूका मुख्य बटमलाइन पूरा नभइ कुनै हालतमा निर्वाचनमा नजाने प्रष्ट पारेका छन् ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । विशेषगरी प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग पूरा नभइ निर्वाचनमा नजाने उनको भनाइ छ ।

‘हामीले राजनीतिक दल खोल्नुको अर्थ निर्वाचनमा जानु भनेर कदापी होइन । यो क्लियर होस्,’ उनले भनेका छन् ।

हुलमुल मात्रै भएर देशको विकास नहुने जिकिर गर्दै उनले आधिकारिक बन्नका लागि कि त एनजीओ कि त राजनीतिक दल नै खोल्नुपर्ने बताए ।

‘आधिकारिक हुनका लागि भिड भएर देश विकास हुँदैन । कि त मैले एनजीओ खोल्नुपर्‍यो, कि त राजनीतिक दल हुनुपर्‍यो । नत्र हुलमुल मात्रै हुन्छ । हुलमुल नै भएर देश विकास गर भन्न त भएन,’ ढुंगानाले भने, ‘म सबै जनालाई आउनुस् भन्छु । हाम्रो छाता ठूलो छ । यो खालको क्रान्ति धेरै समयपछि आउने कुरा भयो ।’

उनले सबै बाहिर भएका समूहरूलाई संगठित भएर अघि बढ्न पनि आग्रह गरे ।

‘बटमलाइन पूरा नभइ हामी चुनावमा जाने तयारीमा छैनौं । गर्दैनौं,’ ढुंगानाले भने, ‘प्रत्यक्ष कार्यकारी निर्वाचित कार्यकारीको मुद्दा हाम्रो एउटा बटमलाइन हो । जसलाई सुन्नैपर्छ ।’

उनले थप भने, ‘विदेशमा भएका नेपालीलाई भोट हाल्ने व्यवस्था हुनैपर्छ । ३ करोडमा ८० लाखलाई छुटाएर हुन्छ ? त्यत्रो रगत पसिना बगाएर गर्नुभएको जनसंख्यालाई छाड्न हुँदैन । यो नभइ पनि हामी निर्वाचनमा जानेवाल नै छैनौं ।’

अमेरिका पुगेका अर्थमन्त्रीले गरे सिङ्गापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौं । विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आज सिङ्गापुरका राष्ट्रपति थार्मान शनमुगारात्नमसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटमा राष्ट्रपति थार्मानले देशको तीव्र आर्थिक विकासमा मानवपुँजी, पूर्वाधार, ऊर्जा, व्यापार र खुलापनमा लगानी केन्द्रित गर्न अर्थमन्त्रीलाई सुझाव दिएको अर्थमन्त्री खनालको सचिवालयले जनाएको छ । त्यस क्रममा अर्थमन्त्री खनालले नेपाल सरकारले युवाको चाहनाअनुरुप सुशासन कायम गरी आर्थिक विकासमा केन्द्रित हुने लक्ष्यका साथ काम गरिरहेको बताए।

उनले आजै अन्तरराष्ट्रिय वित्त निगमका उपाध्यक्षसहितका अधिकारीसँग पनि अन्तरक्रिया गरेका छन् । त्यस अवसरमा अर्थमन्त्री खनालले अन्तरराष्ट्रिय वित्त निगमले नेपालमा लगानी बढाउँदै लगेकोमा धन्यवाद दिए । उनले नेपालमा निजी क्षेत्रको विकास र प्रतिस्पर्धात्मक क्षमता विकासमा निगमको थप लगानी र प्राविधिक सहयोगको अपेक्षा गरे ।

अन्तरराष्ट्रिय वित्त निगमका अधिकारीहरूले नेपालमा निगमको लगानी वृद्धि गरिने जानकारी दिँदै अन्तरराष्ट्रिय पुँजीको आप्रवाह बढाउन केही कानुनी र नियामकीय प्रबन्धमा सुधारको खाँचो रहेको बताएको जनाइएको छ । प्रतिउत्तरमा मन्त्री खनालले नियामकीय प्रबन्धमा तत्काल सुधार गर्ने प्रतिबद्धता जनाउँदै कानुनी सुधारका लागि आवश्यक तयारी गरिने विश्वास दिलाए ।

जापानमा सुदूरपश्चिमेली समाज कान्साईको दोस्रो अधिवेशन सम्पन्न, धर्मराज पाध्याय पुनः अध्यक्ष

जापान : सुदूरपश्चिमेली प्रदेश समाज जापान, कान्साई क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले धर्मराज पाध्यायको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

अधिवेशनका प्रमुख अतिथि एनआरएनए जापानका केन्द्रीय उपाध्यक्ष दिलीप कंडेल तथा विशिष्ट अतिथि सुदूरपश्चिमेली प्रदेश समाज जापानका केन्द्रीय अध्यक्ष विकास रोकाया रहेका थिए। धर्मराज पाध्यायको अध्यक्षतामा सम्पन्न अधिवेशनमा कान्साई क्षेत्रमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा संस्थाको आगामी कार्ययोजना, प्रवासमा सुदूरपश्चिमेली नेपालीबीच एकता र सहयोग विस्तार, साथै सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनबारे विस्तृत छलफल गरिएको थियो।

अधिवेशनले पुनः धर्मराज पाध्यायलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै अन्य पदाधिकारीहरू यस प्रकार रहेका छन् — वरिष्ठ उपाध्यक्ष पुष्कर चैसर, उपाध्यक्षहरू कविता कुँवर, भक्तबहादुर बिक र कृष्ण पुन, महासचिव विनोद शाह, सचिव जिगर बिक, सह–सचिव राजेन्द्र ठगुन्ना, कोषाध्यक्ष भीम रावल, सह–कोषाध्यक्ष पारस मल्ल तथा सदस्यहरू मनोज जैसी, सन्ध्या ओखेडा, मेनुका कुँवर, अनुभव परियार, नरेश विश्वकर्मा, दिपेन्द्र विष्ट, रेहान भण्डारी, धनश्याम जोसी, नरेन्द्र साउद, डाइमण्ड ढुंगाना, लक्ष्मी शर्मा, टिकाराम साउद र सन्तोष पाण्डे रहेका छन्।

कार्यक्रमका अतिथिहरूले नव–निर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालका शुभकामना व्यक्त गरे। अधिवेशनको समापनमा अध्यक्ष पाध्यायले सबै अतिथि, सुभेच्छुक र सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा संस्थाको गतिविधिलाई अझ प्रभावकारी र एकीकृत ढङ्गले अगाडि बढाउने प्रतिबद्धता जनाए।

 

जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा जेनजी आन्दोलनका घाइतेबाट निवेदन माग

धनगढीः जिल्ला प्रशासन कार्यालय कैलालीले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुबाट निवेदन माग गरेको छ।

प्रशासनले आन्दोलनका घाइतेलाई परिचयपत्र र भैपरी खर्च उपलब्ध गराउनका लागि निवेदन माग गरेको हो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कैलालीका ५४ जना घाइते भएको सरकारी तथ्याङ्क छ। निवेदन दिएका घाइतेलाई कागजात र प्रमाणका आधारमा घाइते परिचयपत्र तथा खर्च वाफत २० हजार रुपियाँ उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

प्रशासनले घाइतेहरुलाई सम्बन्धित स्थानीय तहको सिफारिससहित अस्पताल भर्ना टिकट, घाइतेको बैङ्क खाता नम्बर, हालसालै खिचिएको दुई थान फोटो, नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर घाइते स्वयमलाई उपस्थित हुन अनुरोध गरेको छ।

 

 

सुटकेस र पासपोर्ट फर्कियो, तर फर्किएनन् विपिन

काठमाडौं १ कार्तिक ।०८२ भदौ पहिलो साता विपिन जोशीका आमा पद्मा र बहिनी पुष्पाले इजरायल भ्रमण गरे । दाइ/छोराको रिहाइको आशा बोकेका उनीहरू विपिन अपहरणस्थल पुगे, इजरायलका राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू, सेनाप्रमुखलगायत सबै उच्च पदाधिकारीसँग भेटेर पुकारा गरे । विपिनको खबर फेला पर्ला भन्ने आस थियो, तर फेला परेन । तर, उनीहरूले फेला पारे विपिनको सुटकेस, ल्यापटप, नागरिकता र पासपोर्ट । इजरायली सेना (आइडिएफ)ले विपिन अपहरणका वेला भएका घटनाको जाँचबुझका लागि लगेको ल्यापटप आमा र बहिनीलाई उपलब्ध भयो । सुटकेसभित्र नागरिकता, पासपोर्टसहित विपिनका सामान भेट्दा उनीहरूको भक्कानो फुट्यो । विपिन थिएनन्, तर विपिनका सामान लिएर उनीहरू इजरायलबाट नेपाल फर्किए ।

इजरायलमा भेटिएको सुटकेस, नागरिकता र पासपोर्ट नै विपिनको अन्तिम चिनो बन्न पुग्यो । इजरायल सरकारको व्यवस्थापनमा गएका परिवार विपिनको चिनो लिएर भदौ पहिलो साता स्वदेश फर्कियो, तर विपिन फर्केनन् । बरु, यही सोमबार (२७ असोज) इजरायलबाट मुटु चुँडिने खबर फैलियो, विपिन दुनियाँमा रहेनन् ।

विपिनको खबर सुनेका नेपालीको आँखा एकैसाथ भिजेका छन् । उनलाई स्वागत गर्ने नेपालीको अधैर्य चाहनामा सोमबारदेखि विराम लागेको छ । जे नहोस् भनिएको थियो, त्यही भयो । विपिन जीवित छैनन् भन्ने इजरायली सूचनाले परिवारमा मात्र नभई सिंगो देश बेचैन भयो । सोमबार बिहान इजरायली अधिकारीले सुरुमा नेपाली राजदूत धनप्रसाद पण्डितलाई सम्पर्क गरे । कामविशेषले साइप्रस पुगेका उनलाई भनियो, ‘विपिन जोशी जीवित भएको प्रमाण भेटिएन । यो जानकारी परिवारलाई पनि गराउन चाहन्छौँ ।’ हमास समूहबाट प्राप्त सूचनाका आधारमा इजरायली अधिकारीले यो अप्रिय सूचना परिवारलाई केही बेरमा साझा गरे । अमेरिकामा रहेका विपिनकी आमा र बहिनी, कञ्चनपुरमा रहेका विपिनका ठुलो बुबाका छोरा किशोर, नेपाली राजदूत पण्डित र इजरायली प्रधानमन्त्री कार्यालय तथा परराष्ट्र मन्त्रालयका अधिकारीसहितको भिडियो बैठकमा इजरायली रक्षा बल (आइडिएफ)का फिल्ड कमान्डरले भने, ‘विपिन अब जीवित छैनन् ।’ करिब सात मिनेटमा भिडियो बैठक स्तब्धताबिच सकियो । राजदूत पण्डितले उक्त भिडियो बैठकअघि पंक्तिकारलाई सम्पर्क गरेर सुनाइसकेका थिए । नयाँ पत्रिकामा पहिलोपटक यो खबर सार्वजनिक भएसँगै धेरैले पंक्तिकारसँग सोधिरहेका थिए, ‘के खबर सही हो ?’

परिवारमा अक्टोबर ७, २०२३ देखि अक्टोबर १३, २०२५ सम्म दुई वर्षको बेचैनी कम्ती पीडादायी थिएन । इजरायल र हमास समूहबिच यसबिचमा भएका युद्धविराम र बन्दी रिहाइमा विपिन परेनन् । युद्धविरामको यो किस्तामा हमाससँग बाँकी रहेका मानिस मुक्त हुँदा विपिन सकुशल फर्किने आशामा परिवार र देश नै थियो । त्यस दिन हमासको कब्जामा रहेका २० जना जीवित बन्धक र शव इजरायललाई हस्तान्तरण गर्ने र इजरायली जेलमा रहेका एक हजार ७१८ जना प्यालेस्टाइनी बन्दीलाई मुक्त गर्ने पूर्वघोषित सहमति कार्यान्वयन हुँदै थियो । जीवित वा मृतकको सूचीमा विपिनको नाम थिएन । तर, उनी काहीँ कतै जीवित होलान् र शान्ति सम्झौताको उपहारस्वरूप सकुशल फिर्ता होलान् भन्ने आस थियो । गाजापट्टीबाट जीवितै सकुशल विपिन फर्किने व्यग्र प्रतीक्षाको निराशाजनक अन्त्य भयो ।

सन् २०२० असोज २० गते दक्षिणी इजरायलको गाजासँग सीमा जोडिएका इजरायली भूभागमा हमास समूहले अन्धाधुन्ध गोली हान्दा १२ सयभन्दा बढी मारिए । नेपाली विद्यार्थी १० जना पनि हमासको ग्रिनेड आक्रमणको सिकार भएर मारिए । हमास समूहले हानेको ग्रिनेड बाहिर फालेर चारजना नेपाली साथी बचाएका विपिन त्यही क्षण अपहरणमा परे । गाजाको सीमावर्ती आलुमिम किबुजबाट अपहरणमा परेका विपिन जोशीको मृत्यु घोषणा मात्र भएन, गत साता यो पनि यकिन भयो कि उनको मृत्यु २०२३ नोभेम्बरमै भइसकेछ । विपिनको मृत्यु भएको खबर र शव एकैसाथ गाजाक्षेत्रमा भेटियो । इजरायलमा विपिनको शव पुग्यो, डिएनए र पोस्टमार्टम परीक्षण भयो । यो पंक्ति लेखिने वेलासम्म उनको शव एउटा कार्गो कम्पनीलाई नेपाल ल्याउन हस्तान्तरण भएको छ । इजरायल सरकारको खर्चमा विपिनको दुई वर्ष पुरानो शवको बाकस महेन्द्रनगर पुग्दै छ ।

विपिनको शव सोमबार साँझ इजरायल पुग्यो । मंगलबार उनको डिएनए र पोस्टमार्टम परीक्षण भयो । अपहरणको अर्को महिना अर्थात् २०२३ नोभेम्बरमै हमासको कब्जाबाट उनको मृत्यु भएको पत्ता लागेको छ । यो सूचना पाउन दुनियाँले दुई वर्ष पर्खिनुपर्‍यो ।

विपिनको मृत्यु घोषणा भयो । यसमा सबैभन्दा आश्चर्य त विपिनको खबर दुई वर्षदेखि गुपचुप थियो । हमास समूहले यो खबर लुकाएर राखेको थियो कि खबर थाहा पाएरै इजरायलले मौनता साँधेको थियो ? थाहा हुन सकेको छैन । नेपाल त यसमा बेखर छँदै थियो । यसअघिका सरकारले विपिन छुटाउन सार्थक प्रयास गरेनन्, उनीमाथि राजनीति मात्रै गरिरहे । दुई वर्षसम्म विपिन आउने आशामा त्यतैतिर आँखा र ध्यान फर्काएको परिवारलाई सरकारले असह्य पीडा दिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट बिएससी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्नअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका ४९ जना साथीहरूको समूहमा विपिन थिए । उनी २७ भदौ ०८० मा गएका थिए । उनीहरूको समूहलाई नेपालका लागि इजरायलका तत्कालीन राजदूत (हाल म्यानमारका लागि इजरायली राजदूत) हनान गोदरले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

लर्न एन्ड लर्न कार्यक्रमअन्तर्गत इन्टर्नका लागि गएका नेपाली विद्यार्थी किबुज आलुमिममा थिए । ग्रामीण प्रकारको परिवेशमा उनीहरू कृषिमा इन्टर्न गर्दै थिए, स्थानीयसँग उनीहरू भिजेका थिए । पंक्तिकार साउन अन्तिम साता इजरायल भ्रमणका क्रममा उनी अपहरण परेको किबुज आलुमिम जाँदा भेटिएका स्थानीयले नेपाली युवा र विपिनको हार्दिकताको खुलेर प्रशंसा गरेका थिए । विपिनप्रति उनीहरूले हृदयदेखि नै चिन्ता जनाइरहेका थिए ।

गत साउन अन्तिम साता नेपाली पत्रकारको टोलीपछि विपिनका परिवारलाई भदौ पहिलो साता इजरायल सरकारले विपिन अपहरणमा परेको आलुमिक किबुज पुर्‍याएका थिए । त्यहाँबाट १८ सय मिटर परको काँडेतारभित्र गाजापट्टीतिर विपिनलाई हमास समूहले लगेका थिए । त्यहाँको सिफा अस्पतालमा उनलाई सुरुमा लगेको भिडियो सार्वजनिक भयो । त्यसपछि विपिनको अवस्था अज्ञात थियो । नेपाल सरकार र परिवार भगवान् भरोसामा थियो ।

किबुजस्थित कृषि फार्मको साधारण घरकोठाबाट विपिन २० असोज ०८० देखि हमासको कब्जामा परेर बेपत्ता भए । त्यस दिन हमासको गोली प्रहारबाट इजरायलतिर एक हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो, जसमा १० जना नेपाली पनि मारिएका थिए । त्यसवेला परराष्ट्रमन्त्री एनपी साउद आफैँ नेपाल एयरलाइन्समा चालकदलका सदस्यको कानुनी हैसियतमा इजरायल पुगेर विद्यार्थी फर्काएका थिए ।

सरकारले हमास समूहसँग सम्बन्ध र सम्पर्क रहेका इरान, इजिप्ट, साउदी अरेबिया, कतारसँग सम्पर्क गर्‍यो । तर, सार्थक कूटनीतिक प्रयास भएनछ । यतिसम्म कि सरकारले विपिन हमासको कब्जामा रहेको खबर पनि आधिकारिक रूपमा पाउने स्रोत भेटेन । सल्यानका विधान सेजवाल, दाङका रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेलले विपिनलाई हमास समूहले नियन्त्रणमा लिएको बयान दिँदै आएका थिए । हमास समूहले दुइटा ग्रिनेड फालेकोमा एउटा विपिनले समाएर बाहिर फालेका थिए । त्यसपछि विपिन उनीहरूको अपहरणमा परे । नेपाल सरकारको सूचनाको स्रोत यही थियो, बाँकी सूचनाको स्रोत पर्गेल्न उसले सकेन । नेपाल कूटनीतिमा कमजोर हुँदा विपिनको खबर समयमै पाउन सकिएन ।

हमास समूहले ग्रिनेड आक्रमणमा सुरक्षित घर (घर खासमा सुरक्षित थिएन) मानिएको कोठामा चारजना नेपाली विद्यार्थी घाइते भए । तिनै घाइते विद्यार्थीले दिएको सूचनामा सरकार निर्भर रह्यो, थप सूचना खोज्नतिर सरकार लागेन । -नयाँ पत्रिका

 

 

रुकुमपूर्व खण्ड (मध्यपहाडी लोकमार्ग) १९ दिन बन्द हुने

रुकुमपूर्व १ कार्तिक । रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा जोड्ने रुकुमपूर्वको  प्रमुख सडक करिब तीन साता बन्द हुने भएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गतको रानिकोट-किटनी सडकखण्ड १९ दिनभित्र बाँकी रहेको निर्माण कार्यलाई सम्पन्न गर्ने भन्दै यही कात्तिक १२ गतेदेखि ३० गतेसम्म सवारीसाधन आवागमनमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारका अुनसार तोकिएको अवधिभित्र सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।

मध्यपहाडी लोकमार्ग आयोजना निर्माण कार्यालयका अधिकारीहरूले रानिकोट-किटनी सडकखण्डमा बाँकी काम सम्पन्न गर्न तत्काल सवार आवागमन रोक्नुपर्ने प्रस्ताव सश गरेका थिए । सोही प्रस्तावका आधारमा १९ दिनका लागि रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले सडक बन्दको अवधिमा सर्वसाधारणलाई वैकल्पिक मार्गमार्फत यात्रा गर्न आग्रह गरेको छ ।

ठूला सवारीसाधनले वैकल्पिक मार्गका रूपमा कैचिमोड-धाउन्ने-पोखरा-छिन्खेत सडक प्रयोग गर्न सकिने र साना सवारी साधनहरूले कैचिमोड-धाउन्ने-नाथिगाड-धपे मार्ग प्रयोग गर्न सक्ने छन् ।

बैंक ब्याजदर ५.१९ प्रतिशतमा झर्‍यो

काठमाडौं १ कार्तिक । निक्षेपको ब्याजदर घटाएर अधिक तरलता व्यवस्थापन गर्ने प्रणालीलाई बैंक तथा वित्तीय संस्थाले कात्तिकमा पनि निरन्तरता दिएका छन् । कात्तिक महिनाभर लागू हुने गरी २० वटा वाणिज्य बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपको औसत ब्याजदर ५.१९ प्रतिशतमा झारेका हुन् ।

असोजमा यस्तो ब्याजदर ५.४४ प्रतिशतमा कायम थियो । संस्थागत निक्षेपको ब्याजदर पनि ३.९ प्रतिशतबाट घटेर ३.६५ प्रतिशत कायम गरिएको छ । २० वाणिज्य बैंकको निक्षेप संकलन ६७ खर्ब एक अर्ब रुपैयाँ पुगेको छ ।

भदौ मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप संकलन ६५ खर्ब ८० अर्ब रुपैयाँ थियो । यो अवधिमा निक्षेप संकलन एक खर्ब २१ अर्बले बढेको छ । निक्षेप संकलन थुप्रिँदै गइरहेको र कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसक्दा बैंकहरूले ब्याजदर घटाइरहेका हुन् । भदौसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ५६ खर्ब ३० अर्ब थियो । २९ असोजमा आइपुग्दा ५६ खर्ब ३३ अर्ब कायम छ । भदौ मसान्तसम्म वाणिज्य बैंकहरूको मात्रै कर्जा प्रवाह ५० खर्ब एक अर्ब थियो । २९ असोजसम्ममा ५० खर्ब नौ अर्ब पुगेको छ । यसबिच आठ अर्बले कर्जा विस्तार भएको छ । कर्जा निक्षेपको अनुपात ७४.६६ प्रतिशत छ ।

२० मध्ये १३ वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर घटाएका छन् भने पाँचवटाले स्थिर राखेका छन् । बाँकी दुईवटाले भने बढाएका छन् । ब्याजदर घटाउनेमा माछापुच्छ्रे एनएमबि, नबिल, प्राइम, प्रभु, सिटिजन्स इन्टरनेसनल, लक्ष्मी सन्राइज, एभरेष्ट, नेपाल इन्भेस्टमेन्ट मेगा, एनआइसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबिआई र कृषि विकास बैंक रहेका छन् । सिद्धार्थ, राष्ट्रिय वाणिज्य, कुमारी, ग्लोबल आइएमई र हिमालयन बैंकको ब्याजदर स्थिर छ भने नेपाल बैंक र सानिमा बैंकले मात्रै ब्याजदर बढाएका छन् ।

ग्लोबल आइएमई र हिमालयन बैंकले व्यक्तिगत मुद्दतीमा ६ प्रतिशत ब्याजदर दिएका छन् । एनआइसी एसियाले निक्षेपमा ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर ५.५ प्रतिशत छ । सानिमा बैंकको ५.१५ प्रतिशत र नेपाल बैंकको ५.१२५ प्रतिशत छ । कुमारी बैंकले ५.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । माछापुच्छ्रे बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, लक्ष्मी सन्राइज बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल एसबिआई बैंकको ब्याजदर ५ प्रतिशत छ । नबिल, प्रभु र कृषि विकास बैंकले ४.९५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

सेनाको प्रस्टीकरण : सिंहदरबार जोगाउने प्रयास नभएको होइन

काठमाडौँ । जेनजी आन्दोलनमा सिंहदरबारमा आगजनी हुँदा त्यसलाई रोक्न सेनाले कुनै पहल नगरेको भनेर आलोचना भएपछि त्यसबारे जङ्गी अड्डाले प्रस्टीकरण दिएको छ । सिंहदरबार जोगाउन प्रयास नै नभएको तथ्य सेनाले अस्वीकार गरेको छ ।

भदौ २४ मा भएको प्रदर्शनमा न्यूनतम शक्ति प्रयोग गर्दा अराजक भिड नहटेको सेनाको युद्धकार्य विभागका प्रमुख ‘उपरथी’ अनुपजंग थापाले बताए । जङ्गी अड्डामा पत्रकारहरूसँग कुरा गर्दै थापाले भने– ‘सिंहदरबार जोगाउन ४६ राउन्ड हवाई फायर र आन्दोलनकारीलाई धकेलेर दुई पटक गेट बाहिर पठाएको अवस्था छ ।’

तर, आक्रोशित प्रदर्शनकारी चारैतिरबाट सिंहदरबार छिरेपछि कन्ट्रोल गर्न नसकिएको उपरथी थापाले बताए । चारैतिरबाट प्रदर्शनकारी छिरेपछि ठुलो मानवीय क्षति हुने अवस्था आएको सेनाको विश्लेषण छ । उपरथी थापा भन्छन्– ‘चारै दिशाबाट आक्रोशित जनशक्ति छिरेपछि ठुलो मानवीय क्षति हुने अवस्थामा बाहेक सिंहदरबार नजोगिने अवस्था देखियो ।’

लेथल हतियार प्रहार गर्दा धेरै मानवीय क्षति हुने विश्लेषण गरिएको उल्लेख गर्दै थापाले भने– ‘त्यसैले हामी मानवीय क्षति हुन नदिनेमा गयौँ ।’ राष्ट्रिय संरचनामा क्षति हुनु दुःखद भएको थापाले बताए ।

जेनजी प्रदर्शनमा सेनाले सिंहदरबार भित्रका महत्त्वपूर्ण ३ ठाउँलाई फोकस गरेको थियो । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, रक्षा मन्त्रालयमा भएका महत्त्वपूर्ण कागजात र अर्थ मन्त्रालयको एलएमबीआईएस डेटा सेन्टर जोगाउन फौजलाई केन्द्रित गरिएको उपरथी थापाले बताए । उनले भने– ‘अर्थ मन्त्रालयको डाटा सेन्टर जोगाउन हाम्रो सहायक रथी नै खटिनुभएको थियो ।’

ती तिनै वटा निकायलाई बल्लबल्ल जोगाइएको थापाले बताएका छन् । उनले भने– ‘हाम्रो सहायक रथी धुवाँको दाग सहित अर्थ मन्त्रालयबाट कार्यालय फर्केर आउनुभएको थियो ।’

नेपालको उत्कृष्ट ब्याटिङ, सामोआले पायो २ सय १२ रनको चुनौती

काठमाडौं- आईसीसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तरगत सामोआविरुद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा सामोआले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २ सय १२ रनको चुनौती दिएको छ । निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनाएपछि सामोआले उक्त लक्ष्य पाएको हो ।

आजको खेलमा नेपालका ओपनर आशिफ शेख र मिडिल अर्डर ब्याटर दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । शेखले ४१ बलमा ६९ रन बनाए । उनले ४ छक्का र ७ चौका प्रहार गरे । त्यस्तै, ऐरीले ३३ बलमा ५३ जोडे । यस क्रममा उनले ४ छक्का र २ चौैका प्रहार गरे ।

आजको खेल जितेमा नेपाल अपराजित रहँदै उत्त प्रतियोगिताको च्याम्पियन बन्नेछ। छनोटका समूह चरण र सुपर सिक्समा नेपाल एक मात्र अपराजित टोली हो। यता सामोआले सुपर सिक्समा कुनै खेल जितेको छैन ।

नेपाली टोलिमा कप्तान रोहित पौडेल सहितआसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरि, आरिफ शेख, गुल्सन झा, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छ्न ।

८ उद्योगले तिरे डेडिकेटेड ट्रंक लाइनको बक्यौता

काठमाडौं । कात्तिक ३ भित्र बक्यौता नतिरे लाइन काट्ने नेपाल विद्युत प्राधिकरणको सूचनापछि ८ वटा उद्योगले डेडिकेटेड ट्रंक लाइनको बक्यौता महसुल तिरेका छन् । शुक्रबार अपराह्न हामा आइरन एन्ड स्टील, लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले बक्यौता तिरेका हुन् ।

सिमरास्थित हामा आइरन एन्ड स्टील इन्डस्ट्रिजले डेडिकेटेड ट्रंक लाइनको कुल बक्यौता ५ करोड ८५ लाख मध्ये पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ बुझाएको छ । यसअघि नै बक्यौता तिर्न सुरु गरी बैशाखबाट तिर्न छोडेको परासीस्थित लक्ष्मी स्टीलले पनि किस्ता बापत ८४ लाख ९८ हजार बुझाएको छ । त्यसै गरी यसअघि किस्ता बुझाइ बिचमा छोडेको सर्वोत्तम सिमेन्टले पनि ४० लाख रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ । यसअघि बाराको सिमरामा रहेका हुलास स्टिल इण्डस्ट्री र अशोक स्टिल उद्योगले डेडिकेटेड ट्रंक लाइनको बक्यौता तिरेका थिए । प्राधिकरणका अनुसार दुवै उद्योगले पहिलो किस्ताको रकम बुझाएका हुन् ।

हुलास स्टिल इण्डस्ट्रिज प्रालिले २०७२ साल माघदेखि २०७५ साल वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको बापतको बक्यौता रकम तिर्न सुरु गरेको हो ।

उद्योगको कुल बक्यौता रकम १४ करोड १२ लाख ५ हजार रुपैयाँ रहेको र उक्त रकम २८ किस्तामा तिर्न प्राधिकरणले स्वीकृति दिएको छ ।

हुलासले पहिलो किस्ताका रूपमा ५० लाख ४३ हजार रुपैयाँ बुझाएको छ । यो पहिलो पटक उद्योगले बक्यौता रकम तिरेको हो।

यसैगरी, सिमराकै अर्को उद्योग अशोक स्टिल इण्डस्ट्रीले पनि १७ करोड ५८ लाख रुपैयाँ बक्यौता रकम किस्ताबन्दीमा तिर्न सुरु गरेको छ । अशोकले २८ किस्ताको सुविधा लिई पहिलो किस्ताका रूपमा ६३ लाख रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ ।

यसअघि सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डस्ट्रिजले बक्यौता रकमको किस्ता बुझाएका थिए । सम्राट समेन्टले उद्योगले एकैपटक तीन किस्ता बराबर ४० लाख ४७ हजार रुपैयाँ बुझाएर जेठसम्मको किस्ता चुक्ता गरेको छ ।

रोल्पा सिमेन्टले पाँच किस्ता बराबर १७ लाख ७० हजार रुपैयाँ एकैपटक तिरेको हो । त्यस्तै नव नेपाल प्लास्टिक इन्डस्ट्रिजले १२ किस्ता बराबर १ लाख २३ हजार रुपैयाँ तिरेर आफ्नो सम्पूर्ण बक्यौता रकम चुक्ता गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले असोज १२ गते सूचना प्रकाशित गर्दै २१ दिनभित्र बक्यौता नतिरे बिजुलीको लाइन काट्ने भनिसकेको छ । प्राधिकरणको सूचना अनुसार आगामी कात्तिक ३ गतेभित्र उद्योगीले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने हुन्छ । कात्तिक ३ भित्र बक्यौता नतिरे उद्योगहरूमा लाइन काट्ने प्राधिकरणको तयारी छ ।

खोज्नुहोस