२१३औँ भानुजयन्तीमा अनेसासको नयाँ नेतृत्वले गर्‍यो सपथ ग्रहण

द एभरेष्ट पोष्ट
९ साउन २०८३ ३:३५
२१३औँ भानुजयन्तीमा अनेसासको नयाँ नेतृत्वले गर्‍यो सपथ ग्रहण

भर्जिनिया (अमेरिका)

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम अमेरिकाको भर्जिनियामा सम्पन्न भएको छ। अनेसास केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास डिसी मेट्रो च्याप्टरको संयोजनमा शनिबार आयोजित कार्यक्रममा नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हालेको हो।

अनेसासका निवर्तमान अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्व तथा अमेरिकास्थित नेपाली राजदूतावास, वासिङ्टन डीसीका कार्यवाहक राजदूत शरदराज आरणको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोर्ड अफ ट्रस्टिजका सभापति पदम विश्वकर्मा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्वअध्यक्षहरू, सल्लाहकारहरू, निर्वाचन समितिका पदाधिकारी तथा विभिन्न सामाजिक एवं साहित्यिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको शुभारम्भ अनेसास डिसी मेट्रो च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदीको स्वागत मन्तव्यबाट भएको थियो। त्यसपछि प्रमुख अतिथिसहित सहभागीहरूले आदिकवि भानुभक्त आचार्यको तस्बिरमा पुष्प अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।

यस अवसरमा प्रा. डा. विष्णु घिमिरेले भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र नेपाली भाषा–साहित्यमा उहाँले पुर्‍याएको ऐतिहासिक योगदानमाथि प्रकाश पार्नुभयो। संस्कृत भाषाको प्रभाव रहेको तत्कालीन समाजमा नेपाली भाषालाई साहित्यिक अभिव्यक्तिको माध्यम बनाउने साहस भानुभक्तले देखाएको उल्लेख गर्दै उहाँले आजको नेपाली साहित्य त्यही आधारमा अघि बढिरहेको बताउनुभयो।

कार्यक्रममा महासचिव राजु सिटौलाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष तारा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। निवर्तमान अध्यक्ष सर्वज्ञ वाग्लेले नवनिर्वाचित अध्यक्ष लालगोपाल सुवेदीलाई तथा निवर्तमान कोषाध्यक्ष तारा अधिकारीले नवनिर्वाचित कोषाध्यक्ष पुष्पा खनाललाई पद तथा जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो।

निर्वाचन आयुक्त डा. मुकुन्द वाग्ले ‘पथिक’ ले निर्वाचन समिति संयोजक डा. चूडामणि खनाल र सदस्य अम्बिका लोहनीको उपस्थितिमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूलाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गर्नुभयो।

नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमुख अतिथि शरदराज आरण, बोर्ड अफ ट्रस्टिजका सभापति पदम विश्वकर्मा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी तथा निवर्तमान अध्यक्ष सर्वज्ञ वाग्लेले खादा ओढाएर सम्मान गर्नुभएको थियो। निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गराएको योगदानको कदर गर्दै निर्वाचन समितिका सदस्यहरूलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष लालगोपाल सुवेदीले अनेसासलाई विश्वभर फैलिएका नेपाली साहित्यकारहरूको साझा र सशक्त साहित्यिक मञ्चका रूपमा अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। संस्थापक अध्यक्ष सुवेदी तथा बोर्ड अफ ट्रस्टिजका सभापति विश्वकर्माले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै संस्थाको गरिमा अझ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको दोस्रो चरणमा स्रष्टा गोमा पोखरेल न्यौपानेको नवीन कृतिको विमोचन गरिएको थियो। कृतिमाथि बोर्ड अफ ट्रस्टिजका उपसभापति तीर्थराज पाण्डेयले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो। त्यसपछि सुदीपभद्र खनाल, ऋषवदेव घिमिरेलगायतका स्रष्टाहरूले कविता तथा साहित्यिक रचनाहरू वाचन गरेका थिए।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि शरदराज आरणले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा अनेसासले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। विश्वका विभिन्न मुलुकमा रहेका नेपाली स्रष्टाहरूलाई एउटै साहित्यिक मञ्चमा जोड्न संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।

कार्यक्रमको अन्त्यमा सभापति सर्वज्ञ वाग्लेले सहभागी सबैप्रति आभार व्यक्त गर्दै समारोहको औपचारिक समापन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

सरेको नाति

५ साउन २०८३ ११:४२

खोज्नुहोस