म भित्रको म : एक पाठकीय अनुभूति

द एभरेष्ट पोष्ट
१४ चैत २०८२ २३:२५
म भित्रको म : एक पाठकीय अनुभूति

कमला न्यौपाने ।

“म भित्रको म” मेरो हातमा परेको निकै समय भइसकेको थियो। यति सुन्दर शीर्षक भएको पुस्तक हातमा परेपछि तुरुन्तै पढेँ, छोटो टिप्पणी लेखेँ र आफ्नो सामाजिक सञ्जालमा पनि पोस्ट गरिसकेकी थिएँ। तर, पाठकीय हृदयले कस्तो अनुभूति गर्‍यो भन्नेबारे विस्तारमा लेख्ने जमर्को भने अहिले गर्दैछु।

“म भित्रको म” शीर्षक नै अत्यन्त बृहत् र अर्थपूर्ण छ। यस कृतिमा लेखिका तारा अधिकारीले आफ्ना मनका भावनाहरू खुलस्त रूपमा प्रस्तुत गर्नुभएको छ। झट्ट हेर्दा यो कुनै दार्शनिक कृति जस्तो लागे पनि वास्तवमा यो मिठा कविताहरूको संग्रह हो। यसमा ४९ वटा सरल, सहज र छोटाछोटा कविताहरू समावेश छन्।

शीर्षकसँग मिल्दोजुल्दो आकर्षक आवरण रमेश दाहालले तयार पार्नुभएको छ। यो कृति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रले वि.सं. २०७९ मा प्रकाशन गरेको हो।

लेखिकाले यो पुस्तक आफ्नी हजुरआमा स्व. सावित्री गिरी र ससुराबुवा बसन्तद्व अधिकारीलाई सादर समर्पण गर्नुभएको छ। यस संग्रहमा रहेका कविताहरूको गहिराइमा पुगेर प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले लेख्नुभएको भूमिका अत्यन्त पठनीय छ। साथै, अनेसास केन्द्र तथा ट्रस्टिजका परिचित व्यक्तित्वहरू गीता खत्री, प्रकाश पौडेल “माइला”, डा. विजय शर्मा, रमेश दाहाल र राजु सिटौलाका शुभकामना सन्देशहरूले यस संग्रहलाई अझ समृद्ध बनाएको छ। “मनका कुरा” शीर्षकमा लेखिकाले यस कृतिको सिर्जना प्रक्रिया, आफ्नो जीवनका घटनाहरू तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्नुभएको छ।

हाल लेखिका तारा अधिकारी अनेसास केन्द्रकी ट्रेजरर हुनुहुन्छ। भारतमा हुर्केर शिक्षा हासिल गर्नुभएकी उहाँ भारतीय साहित्यकारहरूका कृतिहरू पढ्दै साहित्यप्रति आकर्षित हुनुभएको देखिन्छ। सानैदेखि कविता लेख्न रुचाउने उहाँको यो पहिलो कविता संग्रह हो।

कवि तारा अधिकारीसँग मेरो परिचय सन् २०२० देखि हो। परिचयसँगै हामी नजिकियौँ र बेलाबेलामा फोनमा संवाद भइरहन्छ। उहाँलाई अझ नजिकबाट चिन्न पाएको अवसर २०२३ मार्चमा अनेसासले आयोजना गरेको च्याप्टर तथा महिला सम्मेलनमा मिल्यो। त्यही क्रममा एक सुमधुर बिहान उहाँले यो संग्रह मलाई उपहारस्वरूप दिनुभएको थियो। त्यो अविस्मरणीय क्षण हामीले क्यामेरामा कैद पनि गरेका थियौँ।

कवि जति सरल र नम्र हुनुहुन्छ, उहाँका कविताहरू पनि त्यत्तिकै सरल, सरस र कोमल छन्। छोटा र मिठा कविताहरूको यस संग्रहमा जुनसुकै पाठकले सहज रूपमा भाव बुझ्न सक्छन् । मेरो विचारमा यही नै यस कृतिको विशेषता हो।

लेखिकाले “मनका कुरा” मा उल्लेख गरेअनुसार उहाँको प्रिय कविता “पिपलका पातहरू” रहेछ। मैले पनि त्यही कविताबाट पढाइ सुरु गरेँ। बाल्यकालका सम्झनाहरूलाई एउटा सुकेको पिपलको पातसँग जोडेर लेखिएको यो कविता अत्यन्त मार्मिक छ, जसले जोकोहीलाई आफ्नो बाल्यकाल सम्झन बाध्य बनाउँछ।

संग्रहको सुरुवात “सरस्वती वन्दना” बाट गरिएको छ, जसले कविको आध्यात्मिक झुकावलाई संकेत गर्छ। ज्ञानको महत्त्व र सरस्वतीप्रतिको श्रद्धा यस कवितामा स्पष्ट झल्किन्छ।

“बाबा” शीर्षकको कविता छोरीको दृष्टिबाट बाबाप्रतिको गहिरो प्रेमलाई अभिव्यक्त गर्ने अत्यन्त भावुक र आदरणीय रचना हो।

“भावना” कविताका अन्तिम पंक्तिहरूले जीवनप्रति सकारात्मक दृष्टिकोण राख्न प्रेरित गर्छन्,

नखोज अन्त्य, यसको भयानक छ साह्रै

बढ्नु छ अगाडि साहसको कवच लगाई

दुई हात जोड्दै मुस्कानको च्यादर ओढी

विस्तृत छ धरती, सीमित छ आँगन

राख्नु छ यसलाई जीवन सिँगारि

यसले हार नमानी अघि बढ्नुपर्ने सन्देश दिन्छ।

“ध्रुव सत्य” कवितामा जन्मपछिको अपरिहार्य सत्य—मृत्युलाई स्वीकार गरिएको छ। “तिमी” कवितामा सँगै मर्ने वाचा भन्दा पनि बाँचुन्जेल साथको अपेक्षा व्यक्त गरिएको छ। “चेतनामा” कविताले सपना बोकेर हिँड्दा प्रियजन गुम्ने डरलाई प्रस्तुत गर्छ।

“म भित्रको म” शीर्षक कविता आत्मअन्वेषणको दार्शनिक यात्रा हो, जसले आफूलाई चिन्न र भेट्न निरन्तर प्रयास गर्नुपर्ने सन्देश दिन्छ। यही कविताबाट संग्रहको शीर्षक लिइएको छ।

आधुनिक जीवनशैलीप्रति व्यङ्ग्य गर्दै घडी, मोबाइल र गाडीप्रतिको हाम्रो निर्भरतालाई देखाउने चेतनामूलक कविता पनि संग्रहमा समावेश छ।

“बदलिँदो रूप” कवितामा बाल्यकालदेखि वृद्धावस्थासम्मको जीवनयात्रा र त्यससँग जोडिएका पीडाहरूलाई अभिव्यक्त गरिएको छ। “सजल नेत्र” मा बिछोडको वेदना छ भने “भाग्य चिठ्ठा” कविताले अमेरिकामा लोकप्रिय ‘पावरबल’ जस्ता चिठ्ठामार्फत सपना बुन्ने प्रवृत्तिलाई यथार्थपरक ढंगले प्रस्तुत गर्छ।

“मनको उडान” कवितामा मनको स्वतन्त्रता र त्यसको असीमित यात्रालाई चित्रण गरिएको छ। “क्रोधित तिमी” कविता नारीवादी स्वर बोकेको छ, जसमा एक निष्ठावान नारीको पीडा र पुरुषको व्यवहारप्रति प्रश्न उठाइएको छ।

“स्नेह”, “कोखको मोती” र “शिशुको कल्पनामा” कविताहरूमा आमाको ममता र सन्तानप्रतिको प्रेमलाई सुन्दर रूपमा प्रस्तुत गरिएको छ।

“आँसु”, “सम्झना”, “नशा”, “तिम्रो साथ”, “के हामी एक हौँ”, “अग्नि परीक्षा”, “गुलाफ”, “मुटु तिम्रो” र “वाचा” जस्ता कविताहरूमा प्रेम, अपेक्षा र त्यागका भावहरू अभिव्यक्त छन्।

“प्रश्न आफैसँग” कवितामा जन्मथलो छोडेर कर्मथलोमा आउँदा हुने आत्मद्वन्द्व र गुमाइको अनुभूति व्यक्त गरिएको छ।

“शिशुको कल्पनामा आमा”, “आमाको महत्त्व”, “सपनामा आमा सँग”, “आमालाई चिठ्ठी” र “छोरीलाई चिठ्ठी” कविताहरूमा आमा–छोरीबीचको माया, बिछोड र आशीर्वादका भावहरू पाइन्छन्।

“चुरोट”, “परोपकार” र “रक्तदान” जस्ता कविताहरूले स्वास्थ्य र सामाजिक चेतनाका सन्देश दिन्छन्। विशेषतः “रक्तदान” कवितामा रक्तदानलाई जीवनदानको रूपमा प्रस्तुत गरिएको छ।

“हिउँ”, “सुन्दर बिहानी”, “प्रलय” र “डढेलो” कविताहरूमा प्रकृतिका सुन्दर र भयावह दुवै रूपहरूको चित्रण गरिएको छ।

“नयाँ वर्ष”, “सडक”, “ज्ञानज्योति”, “सत्यतथ्य”, “नक्कली संसार” र “दुखेको मुटु” कविताहरूमा कविका मनका विविध भावनाहरू नदीझैँ बगेका छन्।

कवि तारा अधिकारीका सबै कविताहरू छोटा तर अत्यन्त प्रभावशाली छन्। उहाँ जस्तो मिठो कविता लेख्नुहुन्छ, त्यस्तै मधुर वाणी पनि बोल्नुहुन्छ। उहाँ एक कुशल उद्घोषकसमेत हुनुहुन्छ, जसका कार्यक्रमहरू सधैं रोचक र आकर्षक हुने गरेका छन्।

कविको जीवन भारतमा बितेको झल्को उहाँका केही शब्द चयनमा पनि देखिन्छ।

समग्रमा, प्रेम, देश, प्रवास, नारी, प्रकृति, चेतना, प्रेरणा, धर्म र कर्मका विविध आयामहरू समेटिएको “म भित्रको म” एउटा सुमधुर कविताहरूको संगम हो।

कविका यस्तै उत्कृष्ट कृतिहरू भविष्यमा पनि पढ्न पाइयोस् भन्ने अपेक्षासहित, उहाँलाई हार्दिक शुभकामना! यस सुन्दर कृतिका लागि हार्दिक धन्यवाद!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस