नेपाल पत्रकारिता संकटमा छ–अध्यक्ष शर्मा

नेजाको नवौ अधिवेशन अमेरिकाको लस भेगासमा शुरु

द एभरेष्ट पोष्ट
२८ वैशाख २०८२ २३:४८
नेपाल पत्रकारिता संकटमा छ–अध्यक्ष शर्मा

लसभेगास, २९ बैशाख
नेपाल अमेरिका पत्रकार संघ(नेजा) को नवौ अधिवेशन तथा साधारण सभा शनिवार अमेरिकाको लस भेगासमा शुरु भएको छ ।

एक समारोहका बीच नेजाको साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले नेपाल भाषा, पहिचान र पत्रकारिताको संरक्षण, सम्बद्र्धनका लागि नेजाले अमेरिकामा निर्वाह गरिरहेको भूमिका सह्रानीय भएको बताईन् ।

नेपाल पत्रकार महासंघ र नेजाबीच बिगत केही वर्षयता जारी सहकार्य र सम्बन्धलाई अझै बलियो बनाउने अध्यक्ष शर्माले प्रतिबद्धता गरिन ।

नेपाली पत्रकारिता संकटमा रहेको चर्चा गर्दै उनले भनिन्, पत्रकारिता मर्दैछ । आर्थिक रुपले पत्रकारिता संकटमा छ । पत्रकारहरुको भौतिक र पेशागत असुरक्षा बढ्दो छ । पत्रकारिताले विश्वसनीयताको पनि संकट पनि सामना गरिरहेको छ । यो कठिन घडीमा पत्रकारिता गरिरहेका सबै पत्रकारहरुकाबीच सामूहिक हितका लागि अझै एकता र विश्वासको वातावरण आवश्यक छ ।

नेजाका अध्यक्ष सुरज भण्डारीले प्रवासमा रहेर पत्रकारिता गरिरहन आफैमा चुनौतीपूर्ण भएपनि आफ्ना निजी समस्याभन्दा माथि उठेर नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना र प्रवासी नेपालीहरुका संघर्ष, सफलता र पीडाहरु उजागर गर्न नेजा सधै सक्रिय रहेको बताए ।

उनले नेजाको स्थापनाकालदेखि हालसम्म सहयोग गर्ने संस्थापक र साधारण सदस्यहरुप्रति आभार व्यक्त गर्दै आगामि दिनमा नेजालाई बलियो बनाएर लैजान सबैलाई आग्रह गरे ।

कार्यक्रमका वक्ताहरुले कुनै पार्टी, नेताका लागि नभई देश र जनताका लागि पत्रकारहरुले काम गर्नुपर्ने बताए ।

अधिवेशनमा अग्रज पत्रकारहरु कविर राणा, ओम शर्मा, यशोदा तिम्सिना, दीर्घराज उपाध्याय, नेजाका पूर्व अध्यक्षहरु भोला आचार्य, आङछिरिङ शेर्पा, गैर आवासीय नेपाल संघका बिभिन्न च्याप्टरका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका   थिए ।

अधिवेशनमा पत्रकारिताको विकास र नेपाली समुदायको पक्षमा निरन्तर रुपमा कलम चलाएर योगदान पुर्याए वाफत बिजय घिमिरे, किरण मरहठ्ठा, किशोर पन्थी, रामचन्द्र भट्ट लगायतका पत्रकारहरुलाई जनही एक हजार डलरका दरले सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा नेजाको स्थापनाकालदेखि सहयोग गर्ने पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा शुरु भएको उद्घाटन शत्रको सञ्चालन महासचिव बाबुराम दाहालले गरेका थिए ।
कार्यक्रममा अधिबेशनका कन्भेनर रोशन अधिकारीले स्वागत मन्तव्य र उपाध्यक्ष सुजन पण्डितले धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस