मृगौला प्रत्यारोपणका लागि शेर्पालाई १५ लाख ९० हजार सहयोग
काठमाण्डौं, २६ पुस ।
आफ्नो पुख्र्यौली थलोको विकास, समृद्धि र सामाजिक क्षेत्रमा योगदान पु¥याउदै आएका अमेरिकाको कोलोराडोमा बस्दै आएका मनकारी शेर्पाहरुले मृगौला प्रत्यारोपणका लागि ३७ वर्षीय मिंग्मा ग्याल्जेन शेर्पालाई १५ लाख ९० हजार सहयोग गरेका छन् ।
पुष २३ गते धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गराएका सोलुखुम्बुको स्याङ्माका शेर्पालाई कोलोराडोमा बसोबास गर्ने शेर्पा समुदायका व्यक्तिहरुले उक्त सहयोग गरेका हुन् ।
स्याङ्मामा जन्मिएका कोलोराडोको बोल्डरस्थित शेर्पा एड्भेन्चर रेष्टुरेन्टका सञ्चालक पेम्बा शेर्पाले सात लाख २० हजार, लाक्पा शेर्पा र उनकी पत्नी डिकी शेर्पाले सात लाख २० हजार, निमा शेर्पाले एक लाख र बोल्डरस्थित फुजी रेष्टुरेन्टका एस.एन. निमा शेर्पाले ५० हजार रुपैया सहयोग गरेका थिए ।
कोलोराडोको गोल्डनस्थित शेर्पा शेपा हाउसका सञ्चालक लाक्पा शेर्पाले शनिवार उक्त रकम मिंग्मा ग्याल्जेन शेर्पालाई काठमाडौंको बौद्धास्थित हिमालयन हेभमा हस्तान्तरण गरे ।
उनले मिंग्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद दिए ।
३७ वर्षीय मिंग्मा ८ वर्षीय छोराका पिता पनि हुन् । मृगौला प्रत्यारोपणका क्रममा आर्थिक अभावसंग जुधिरहेका मिंग्मालाई मनकारी व्यक्तिहरुको यो सहयोगले ठूलो राहत भएको छ ।
