एनसीसी अमेरिकाले एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा शुक्रबार भव्य कार्यक्रम गर्दै

द एभरेष्ट पोष्ट
४ असार २०८२ १०:५३
एनसीसी अमेरिकाले एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा शुक्रबार भव्य कार्यक्रम गर्दै

अमेरिका । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनसीसी अमेरिकाले महेश कुमार श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीसँग सहकार्य गर्ने भएको छ ।

हाल संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका अध्यक्ष श्रेष्ठको सम्मानमा मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्वागत कार्यक्रम आयोजना गर्न लागिएको छ ।

एनआरएनए मेरिल्याण्ड च्याप्टरको सहयोगमा एनआरएनए  एनसीसी अमेरिकाले यही शुक्रबार (२० जुन) साँझ ७ बजे एक बृहत् स्वागत तथा अन्तरक्रिया कार्यक्रम राखेको छ ।

उक्त स्वागत कार्यक्रममा सहभागी हुन एनसीसी अमेरिकाले नेपाली संघसंस्थाका अध्यक्ष लगायत पदाधिकारीहरु, समाजसेवी, व्यवसायी तथा एनआरएन अभियन्ताहरुलाई आमन्त्रण गरेको एनसीसी अमेरिकाले जनाएको छ ।

गत मे ३ र ४ तारिखमा काठमाडौँमा आयोजित एनआरएनको  एकता महाधिवेशनद्वारा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति (आइसीसी) निर्विरोध निर्वाचित भएको थियो । अध्यक्षमा निर्वाचित भए यता श्रेष्ठको यो पहिलो अमेरिका भ्रमण हो ।

यस अघि गत आइतबार अध्यक्ष श्रेष्ठको स्वागतमा टेक्सासमा पनि एक कार्यक्रम आयोजना गरिएको थियो ।

अमेरिका निवासी  एनआरएनए आइसीसीका उपाध्यक्ष सुनील साहको संयोजनमा आयोजित उक्त अन्तरक्रियामा ड्यालसस्थित विभिन्न नेपाली संघसंस्थाका पदाधिकारी तथा एनआरएन अभियन्ताहरुको उत्साहजनक उपस्थिति थियो ।

यसैगरी सानफ्रान्सिस्कोमा पनि अध्यक्ष श्रेष्ठको सम्मानमा कार्यक्रम आयोजना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस