ड्यालसमा ‘हिमालय डायलग’ हुँदै

द एभरेष्ट पोष्ट
१५ जेठ २०८३ ३:१९
ड्यालसमा ‘हिमालय डायलग’ हुँदै

ड्यालस । अमेरिकाको टेक्सस राज्यस्थित ड्यालसमा ‘हिमालय डायलग’ शृंखला अन्तर्गत विशेष साहित्यिक तथा बौद्धिक कार्यक्रम आयोजना हुने भएको छ ।

टेक्ससबाट प्रकाशित हुँदै आएको हिमालय खबरले विभिन्न विषयमा विज्ञ तथा अनुभवी व्यक्तित्वहरूसँग छलफल, बहस र मन्थन गर्ने उद्देश्यसहित ‘हिमालय डायलग’ प्रारम्भ गर्न लागेको हो ।

यसै क्रममा हिमालय खबरको आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालस च्याप्टरको संयोजनमा ‘हिमालयखबर संवाद, कविता र किताबका कुरा’ शीर्षकको विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।

आगामी शनिबार मे ३० तारिखका दिन साँझ ४ बजे इरभिङस्थित भेटघाट रेस्टुरेन्टमा कार्यक्रम सुरु हुने हिमालय खबरका व्यवस्थापकीय सम्पादक तथा संयोजक विकासराज न्यौपानेले जानकारी दिनुभएको छ ।

कार्यक्रममा टेलिभिजन प्रस्तोता, पत्रकार तथा कवि नारायण श्रेष्ठद्वारा एकल कविता वाचन हुनेछ । साथै ‘अमेरिकामा नेपाल–मन्थन’ विषयमा कान्तिपुर दैनिकका पूर्व प्रधान सम्पादक तथा लेखक सुधीर शर्मा र अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेतबीच विशेष संवाद हुने कार्यक्रम रहेको छ ।

त्यसैगरी ‘केही टाढाका कुरा, केही नजिकका कुरा’ शीर्षकमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेल र हिमालयखबरका प्रधान सम्पादक विजय घिमिरेबीच विचार आदानप्रदान हुनेछ । ‘किताबका कुरा’ सत्रमा अज्ञात पुस्तकका लेखक केशवराज ज्ञवालीका विचार प्रस्तुत गरिनेछ ।

कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार तथा लेखक सञ्जय घिमिरेले गर्नुहुनेछ । आयोजकका अनुसार कार्यक्रममा नेपाली भाषा, साहित्य, पत्रकारिता तथा समसामयिक विषयका साथै नेपाली समुदायका विविध सरोकारबारे खुला संवाद हुनेछ ।

आयोजकले ड्यालस क्षेत्रमा रहेका नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई साहित्यिक तथा वैचारिक अन्तरक्रियालाई सफल बनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस