अश्वत्थामा हतोहत :

२ पुष २०८२ ९:१८
अश्वत्थामा हतोहत :

चीरहरणको वीष पिएर
द्रोपदीहरु बाँच्न विवश छन्,
हरेक युगमा

व्यभिचारी शासकका
अघिल्तिर
निरीह छन्, युधिष्ठिर
द्रोर्णाचार्य र भिष्मपितामहहरु
मौन छन्, विदुरका नीतिहरु

कुमारी आमा हुनुको पीडा
हरेक युगमा
भोग्न विवश छन्, कुन्तीहरु
रोकिएको छैन्,
कर्णहरु गंगामा बगाउने श्रृंखला

हरेक युगको आफ्नै महाभारत छ
युधिष्ठिर र दुर्योधनहरु
कृष्ण र शकुनीहरु
शल्य र कर्णहरु
जन्मिएकै छन्, फरक फरक रुपमा
कसैलाई अपमानको बदला लिनुछ
कसैलाई साँध्नु छ प्रतिशोध
कसैलाई हेर्नुछ, रमिता
भाईहरु लडाएर

राजपाट एक्लै चलाउनु छ कसैलाई
सुखसयल भोग गर्नुछ एक्लै

एक्लो अनि निहत्था अभिमन्यूको
बधका लागि
चक्रव्यूह रच्ने
पितातुल्य जयद्रथहरु
जन्मिएकै छन्, हरेक युगमा

शिखण्डीहरु पखाईमा छन्,
भिष्म पितामहमाथि तीर बर्साउने
उपर्युक्त समयको

जहाँ मत्स्यन्याय हुन्छ
त्यहाँ भईरहने छ धर्म युद्ध

कर्ण, जसलाई
जीवनभर
तिरस्कार र अपमानको
घाउले दुखाईरह्यो
जसले दानमा
दिए निसंकोच
कुण्डल र कबच
त्यो दानवीर कर्ण
धर्म च्यूत कसरी भयो ?
महाभारत साक्षी छ

अन्यायको खिलाफमा आफ्नै
भाईहरुका विपक्षमा उभिने
युयुत्सु
र,
गुनका खातिर
सत्य र न्याय विर्सिने
कर्ण
जन्मिरहन्छन, हरेक युगमा

जहाँ शक्ति र सत्ताले मैमत्त मान्छेहरु
कुल्चिरहन्छन,
क्षमा र करुणा
न्याय र सम्मान
त्यहीबाट शुरु भएको छ
हरेक युगमा एउटा महाभारत

छल, कपट, प्रतिशोध
घृणा, बदला
र, अपमानले
रक्तरञ्जित भईरहनेछन्,
महाभारतका हरेक पर्वहरु
उल्लंघन भईरहनेछ, अनुशासन

पुत्रमोहले धृतराष्ट्र झै
बिबेकसंगै
दृष्टि गुमाएकी छन्, गान्धारीले

फेरि दुर्योधनको हठले
नमारिउन आफ्नै भाई र आफन्तहरु
फेरि नलेखियोस अर्को महाभारत
नहोस चीरहरण द्रोपदीको

म युद्ध रोक्ने कृष्णको
खोजीमा छु
हो, म एउटा बुद्धको
खोजीमा छु
जहाँ शकुनीको पाशाले नउल्टियोस
शान्ति र भाईचारा

पिताको मृत्यु क्रोधमा
नहोस फेरि अश्वत्थामाबाट
निहत्था बालकहरुको संहार
नबिर्सिउन मर्यादा
अमरत्व नै पीडादायी होस
नगरुन त्यस्तो कृत्य

सञ्जयले
बंश नाशको दृष्य
सुनाउनु नपरोस
अव कुनै युगमा
धृतराष्ट्रलाई

मिथ्या खवरले नलेओस प्राण
द्रोणाचार्यको
नदोहरियोस
अश्वत्थामा हतोहतः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस