बडिमालिकामा बढ्दै धार्मिक पर्यटक

द एभरेष्ट पोष्ट
१ जेठ २०८३ १५:३५
बडिमालिकामा बढ्दै धार्मिक पर्यटक

बाजुरा: धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकामा पछिल्लो समय आन्तरिक तथा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको छ। विशेषगरी प्रधानमन्त्री  बालेन शाहले चुनावी प्रचारका क्रममा “स्विजरल्याण्डको बाउ बडिमालिका यहीँ छ” भन्ने अभिव्यक्ति दिएपछि यस क्षेत्रको चर्चा थप चुलिएको हो।

स्थानीय पथप्रदर्शक नरबहादुर रावलका अनुसार प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि बडिमालिका पुग्ने धार्मिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। सरकारले सार्वजनिक गरेको १०० कार्यसूचीभित्र पनि बडिमालिकालाई समेटिएपछि यसको प्रचारप्रसार अझ व्यापक बनेको छ।
समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा अवस्थित बडिमालिका क्षेत्र प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र जैविक विविधताले भरिपूर्ण मानिन्छ। बडिमालिका नगरपालिकाका नगरप्रमुख अम्मरबहादुर खड्काले पछिल्ला दिनमा यहाँ आउने पर्यटक तथा तीर्थयात्रीको संख्या निरन्तर बढिरहेको बताए।

उनका अनुसार विगतमा जनैपूर्णिमाको अवसरमा मात्रै ठूलो संख्यामा भक्तजन आउने गरे पनि अहिले वर्षभर नै तीर्थयात्रीहरू पुग्न थालेका छन्। बडिमालिकाको दर्शनले मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।

यहाँको त्रिवेणी क्षेत्र, २२ पाटन, विष्णुपानी, धर्मद्वार तथा रङ्गीचङ्गी फूलले ढाकिएका फाँट पर्यटकका प्रमुख आकर्षण हुन्। स्थानीय किंवदन्ती अनुसार भगवती र मैसासुरबीच युद्ध भइरहेका बेला रोपिएको धान खेतिबेती क्षेत्रमा अझै रहेको विश्वास गरिन्छ।
बडिमालिका क्षेत्रमा डाँफे, मुनाल, कस्तुरी लगायत दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी पाइन्छन्। साथै यहाँबाट मनोरम हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिने भएकाले यो क्षेत्र धार्मिकसँगै प्राकृतिक पर्यटनको पनि महत्वपूर्ण गन्तव्य बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस