विपुल पोख्रेलको बाको अनुहार’ कविता संग्रह सार्वजनिक

द एभरेष्ट पोष्ट
२९ चैत २०८१ १६:१४
विपुल पोख्रेलको बाको अनुहार’ कविता संग्रह सार्वजनिक

चैत २९, दाङ ।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलद्वारा रचित कविता संग्रह ‘बाको अनुहार’ सार्वजनिक गरिएको छ।

शनिबार बिहान दाङको घोराहीमा आयोजित विशेष समारोहकाबीच नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संग्रहको विमोचन गरे।

महामन्त्री शर्माले विपुल पोख्रेलका कविताले देश, समाज र समयको गहिरो चित्रण गरेको बताए ।

शर्माले साहित्य समाजको ऐना भएको चर्चा गर्दै भने, “ पोखरेलका कविता समाजको ऐना हुन् । उनका कवितामा समाज, परिवेश र आममान्छेका समान अनुभूति छन् । कविता पढ्ने जो कोहीलाई लाग्छ, यी मेरा पनि अनुभूति हुन् ।

कविता सङ्ग्रह विमोचन गर्दै महामन्त्री शर्माले साहित्य समाज परिवर्तनको ऐना रहेको भन्दै साहित्य मार्फत मुलुकलाई सही बाटोमा लैजान सकिने बताए।

‘कला साहित्यले मुलुकलाई सही बाटोमा लैजान सक्छ,’ महामन्त्री शर्माले भने ‘समाजमा रहेका नकारात्मक कुराहरूलाई कला र साहित्य मार्फत सच्याउन सकिने भएकाले समाज परिवर्तनका लागि कला साहित्य महत्त्वपूर्ण विधाका रुपमा रहन्छ।’

पोख्रेलको कविता सङ्ग्रह माथि साहित्यकार डा. कृष्णराज डिसी र डा. टिकाराम उदासीले टिप्पणी गरेका थिए।

टिप्पणीकारद्धयले पोख्रेलको कविता सङ्ग्रहको व्याख्या गर्दै साहित्यिक लेखनको यात्रालाई निरन्तरता दिन सुझाव दिए।

साहित्यकार डिसीले पोख्रेलका कविता आफ्ना बाबुको मात्र नभई हरेक पिताको कथाव्यथा बोकेको बताउँदै यसले पाठकको भावनामा गहिरो प्रभाव पार्ने धारणा राखे।

राप्ती साहित्य परिषद्का अध्यक्ष  उदासीले पोख्रेलका कविताले समाज र देशको यथार्थ प्रस्तुत गरेको भन्दै संग्रहलाई समय सापेक्ष महत्वपूर्ण कृति भएको बताए ।

पोख्रेलले आफ्नो कविता सङ्ग्रहमा बाबुका बारेमा कविता कोरेका छन् भने छोरा प्रतिको आमाको प्रेम र चिन्तनलाई पनि समेटेका छन्।

शनिबार कविता सङ्ग्रह सार्वजनिक गरेर आफ्नो साहित्यिक यात्रालाई प्रारम्भ गरेका पोख्रेल गीत लेखनको यात्रामा पनि छन्।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष पोखरेल पत्रकारितासंगसंगै साहित्यिक लेखनमा पनि सक्रिय छन् । कला साहित्य आफ्नो औधी रुचीको विषय भएको भन्दै पोख्रेलले भने, कला साहित्य मेरो रुचीको विषय पनि महासङ्घको नेतृत्वमा रहदा केही समय टाढा भएपनि पुनः साहित्य लेखनमा फर्किएको छु ।

महासङ्घको अध्यक्ष कार्यकाल सकिए पश्चात् उनले दुई गीत सार्वजनिक गरिसकेका छन्।

‘बाको अनुहार’ कविता संग्रहमा जम्मा ३० वटा कविता समावेश गरिएका छन्। आदिम केसीले सम्पादन  गरेको कविता सङ्ग्रहको  प्रकाशन गोरक्ष दैनिकले गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

साउदी र सपना (कविता)

५ जेठ २०८३ १४:४६

खोज्नुहोस