धनगढीमा डा. गोबिन्द केसीको सुरु गरे अनसन
कैलाली ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसी पुनः आमरण अनसन बसेका छन्। धनगढीको एलएनचोको कृष्ण मन्दिरस्थित धर्मशालामा बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनले आफ्ना मागहरूका लागि दबाब दिन सत्याग्रहको घोषणा गरेका हुन्।
डा. केसीले सरकारलाई आफ्ना ५ बुँदे मागहरू सम्बोधन गर्न साउन ५ गतेसम्मको समयसीमा दिएका थिए। तर, तोकिएको समयभित्र सरकारले कुनै चासो नदेखाएपछि पुनः अनसन बस्नु परेको उनले बताएका छन्।
यसपटकको अनशाका लागि बुधबार साझ केसी धनगढी पुगेका थिए । बिहीबार दिउँसो ३ बजेबाट औपचारिक रूपमा उनको अनसन सुरु भएको छ ।
अनसनमा डा. केसीले विशेष गरी नियुक्तिमा हुने राजनीतिक हस्तक्षेप र स्वार्थको द्वन्द्वलाई मुख्य मुद्दा बनाएका छन्। उनले दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्थापित नियमविपरीत गरिएका गैरकानुनी र स्वार्थपूर्ण नियुक्तिहरू तत्काल खारेज गर्दै ऐनका विवादित प्रावधानहरू संशोधन गर्न माग गरेका छन्।

यस्तै, चिकित्सा शिक्षा आयोगमार्फत विद्यार्थीको छात्रवृत्ति कटौती गर्ने र मापदण्ड नपुगेका निजी कलेजहरूमा सिट वृद्धि गर्ने प्रस्तावलाई समेत तत्काल रोक्नुपर्ने उनको अडान छ। आफ्नो सत्याग्रहका क्रममा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को भावनाअनुरूप चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउनुपर्ने र विगतमा सरकारले गरेका लिखित सहमतिहरू इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्ने उनको माग छ।
विशेष गरी सुदूरपश्चिम र सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा र रोजगारीका लागि छिमेकी मुलुक भारतमा निर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै स्वदेशमै गुणस्तरीय पूर्वाधार र सेवा विस्तार गरी नागरिकको राष्ट्रिय आत्मसम्मानको रक्षा गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
यसका साथै, डा. केसीले सुशासन र न्यायको पक्षमा उभिने क्रममा २०८२ भदौमा भएका जघन्य हत्या र लुटपाटका दोषीहरूलाई कडा कारबाही गर्नुपर्ने माग पनि अघि सारेका छन्। उनले २०४६ सालदेखि हालसम्म उच्च पदमा रहेका राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार तथा अपराधहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग पनि उठाएका छन्।
