बौद्धिक छलफल पछि छिट्टै मानक भाषाको निर्धारण गरिनुपर्छ- उपकुलपति डा.टीएन जोशी

द एभरेष्ट पोष्ट
२१ वैशाख २०८३ ६:४९
बौद्धिक छलफल पछि छिट्टै मानक भाषाको निर्धारण गरिनुपर्छ- उपकुलपति डा.टीएन जोशी

धनगढी २१ वैशाख । सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले डोटेली भाषालाई खण्डिकृत गर्न नहुने बताएका छन्।
भाषा आयोगद्वारा दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियामा आज आयोजित डोटेली, अछामी, बझाङ्गी, बैतडेली, दार्चुलेली, डडेल्धुरी र बाजुरेली भाषाको अन्तरसम्बन्ध अध्ययन विषयक गोष्ठीमा बोल्दै विशिष्ट अतिथि उपकुलपति डा.जोशीले नेपाली भाषाको उद्गम बिन्दू नै डोट्याली भाषा भएकोले डोट्याली भाषालाई एउटा जिल्लाको भाषाको रूपमा नहेरी समग्र डोटी सभ्यता र सांस्कृतिक डोटी नै अहिलेको सुदूरपश्चिम भएको बताए।
सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान प्रदेशको मानक भाषा केलाई बनाउने भनेर अध्ययन गरिरहेको बताउँदै उपकुलपति जोशीले सुदूरपश्चिम प्रदेशको पहाडी समुदायमा बोलिने भाषालाई डोट्याली भाषाकै रूपमा पहिचान दिनु उपयुक्त हुने बताए।
सबै भाषाप्रति उच्च सम्मान र गौरव रहेको बताउँदै उपकुलपति जोशीले प्रदेशमा बोलिने अछामी, बझाङ्गी, दार्चुलेली, बैतडेली, बाजुरेली र डडेल्धुरी भाषालाई डोट्याली भाषा परिवार भित्रै समेट्नु उपयुक्त हुने बताए। छलफल र बौद्धिक अन्तरकृयाबाट मानक भाषा एकीन गरि सुदूरपश्चिम प्रदेश सरकार समक्ष सिफारिस गरिने उपकुलपति जोशीले बताए।
भाषा आयोगका सदस्य डा.पुष्कर भट्टको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पनि सुदूरपश्चिमका पहाडी समुदायको भाषा डोट्याली नै भएको ठोकुवा गरे। उनले पनि डोट्याली भाषालाई खण्डिकृत गरी खुम्च्याउन नहुने बताए।
भाषा आयोगले यस अघि सुदूरपश्चिमको मानक भाषाको रूपमा मुख्य डोट्याली र थारू भाषालाई सिफारिस गरिसकेको छ।
कार्यक्रममा प्रा.डा हरिश्चन्द्र भट्ट, डा. भवानसिंह चलाउने, हरिकृष्ण कडायत, डा.योगेन्द्र बजगाईं, सह प्रा. गणेशराज जोशी, जगदीश ओझा,डा. नरेन्द्र ऐर, वीरबहादुर चन्द, कल्याण ओझा, नारा जोशी,तिलक सिंह, कलावती उपाध्याय, तीर्थराज भट्ट, खिमानन्द बडू, लगायतको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस