दुवै पक्ष अडानमै, कांग्रेस एकता टाढिँदै

द एभरेष्ट पोष्ट
२ वैशाख २०८३ ७:२७
दुवै पक्ष अडानमै, कांग्रेस एकता टाढिँदै

काठमाडौँ — पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि नरोकेपछि कांग्रेसको एकता प्रयास झन् टाढिएको छ । देउवा समूहका नेता पूर्णबहादुर खड्काले पार्टीको ‘लेटरहेड’ प्रयोग गरेर कार्यवाहक सभापतिकै हैसियतमा गतिविधिलाई निरन्तरता दिन थालेपछि संस्थापन पक्ष आक्रोशित बनेको छ ।

खड्काको गतिविधिलाई कारबाहीको विषय बनाउन तारामान गुरुङ नेतृत्वको केन्द्रीय अनुशासन समितिको बैठक बुधबार बोलाइएको छ । नेता शेखर कोइराला र देउवा समूहभित्रै पनि खड्काको समानान्तर गतिविधिको आलोचना हुन थालेको छ ।

२४ र २५ चैतको भेलापछि खड्काले बोलाएका समानान्तर गतिविधिबाट अलग भएका नेता कोइराला यसबीचमा पार्टी एकताका लागि जुटेका थिए । कोइरालाले देउवा पक्षका नेताहरू नेता मीनेन्द्र रिजाल र संस्थापन पक्षका पूर्वसहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारमार्फत संवाद अघि बढाइरहेका थिए । दुवै पक्षसँग एकताको प्रयास भइरहेका बेला खड्काले कार्यवाहक सभापतिकै हैसियतमा ‘पार्टीको लेटरहेड’ प्रयोग गरेर विज्ञप्ति निकालेपछि संस्थापन पक्ष खड्कामाथि कारबाही गर्ने तहमा उत्रिएको छ भने र कोइराला पक्ष पनि त्यसबाट असन्तुष्ट छ ।

पार्टी सभापति गगन थापाको उपस्थितिमा मंगलबार बिहान बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकले यसअघि गल्ती नदोहोर्‍याउन चेतावनी दिइसकेपछि पनि पुनरावृत्ति भएको भन्दै पहिलो चरणमा स्पष्टीकरण सोध्नुपर्ने निष्कर्ष निकालेको छ । गत २४ चैतमा अनुशासन समिति बैठकले खड्कालाई लक्षित गर्दै आइन्दा गल्ती नदोहोर्‍याउन चेतावनी दिएको थियो । ‘कस्तो कारबाही गर्ने, के गर्ने भन्नेबारे अनुशासन समिति स्यायत्त छ, समितिले पक्कै पनि यस विषयमा छलफल गरेर एउटा निर्णय ल्याउनेछ’ महामन्त्री गुरुराज घिमिरेले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस