कैलाली ४ बाट निर्वाचित खेमराज कोइराला को हुन् ?

द एभरेष्ट पोष्ट
२४ फागुन २०८२ १०:५४
कैलाली ४ बाट निर्वाचित खेमराज कोइराला को हुन् ?

कैलाली- कैलाली–४ बाट प्रतिनिधि सभा सदस्यमा खेमराज कोइराला विजयी भएका छन् । शिक्षा, सामाजिक सेवा र कृषि उद्यममा लामो अनुभव सँगालेका कोइराला अब संघीय संसदमा यहाँका जनताको प्रतिनिधित्व गर्ने जिम्मेवारीमा पुगेका छन् ।

यो क्षेत्रमा कुल मतदाता १ लाख १५ हजार १४३ रहेकोमा ६३ हजार २९१ मत खसेको थियो । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार कोइरालाले आफ्ना प्रतिद्वन्द्वी गोरखबहादुर विष्टलाई १७ हजार २५५ मतले पछि पार्दै जित हासिल गरे ।

उनले कुल २८,५५६ मत प्राप्त गर्दा बिष्टले ११ हजार ३०१ मत प्राप्त गरे । उनलाई पछ्याइरहेका एमालेका लेखराज भट्ट यो क्षेत्रमा तेस्रो स्थानमा झरेका छन् । उनले ९ हजार ४४४ मत प्राप्त गरे । यस्तै नेपाली कम्युनिस्ट पार्टीका हरिराम चौधरीले ५ हजार ६०९ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवारले १ हजार ३५८ मत ल्याए ।

२०३३ गौरीगंगाको मंगलपुरमा जन्मिएका कोइराला पेशाले शिक्षक र कृषक हुन । विविध अनुभवले भरिएका उनी यसअघि कुनै दलसँग आबद्ध थिएनन् ।  धनगढीस्थित पञ्चमी माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका उनले कैलाली बहुमुखी क्याम्पसबाट अंग्रेजी र अर्थशास्त्र विषयमा स्नातक गरेका छन् । त्यसपछि महेन्द्र बहुमुखी क्याम्पसबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर अध्ययन गरेका छन् ।

भारतको कुमौन विश्वविद्यालयबाट अंग्रेजी विषयमा डबल मेजर अध्ययन गरेका उनी हाल महेन्द्र बहुमुखी क्याम्पसमा एलएलबीको अन्तिम वर्षमा अध्ययनरत छन् । कोइरालाले करिब २४ वर्ष शिक्षण पेशामा बिताएका छन् । शिक्षा क्षेत्रमै लामो समय काम गरेका उनले निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सनमा केन्द्रीय सदस्यका रूपमा पनि भूमिका निर्वाह गरिसकेका छन् ।

सँगै सामाजिक क्षेत्रमा पनि उनी सक्रिय रहे । लायन्स क्लब अफ गौरिगंगाका सदस्य रहेका उनको विभिन्न सामाजिक अभियान तथा सामुदायिक कार्यक्रममा सक्रिय सहभागिता रहँदै आएको छ । शिक्षण पेशासँगै उनले वैदेशिक रोजगारीको अनुभव पनि सँगालेका छन् । दक्षिण कोरियामा करिब दुई वर्ष काम गरेको अनुभव उनीसँग छ ।

विदेश हुादा आफ्नै देश केही गर्नुपर्छ भनेर फर्किएका कोइरालाले कृषि क्षेत्रमा उद्यम सुरु गरे । आफ्नै ६ बिघा जमिनमा व्यावसायिक केरा खेती गर्दै आएका उनी कृषि सम्भावनालाई रोजगारीसँग जोड्न सक्ने उदारणीय व्यक्ति पनि हुन् ।

कोइरालाले शिक्षा सुधार, युवालाई रोजगारी, कृषि आधुनिकीकरण, लागुऔषध नियन्त्रण र सुशासनलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन् । प्रत्येक पालिकामा गुणस्तरीय सरकारी विद्यालय सुदृढीकरण, प्राविधिक तथा सूचना प्रविधि (आईटी) शिक्षाको विस्तार, युवालाई सीपमूलक तालिम र स्थानीय उद्योग तथा कृषि आधारित रोजगारी सिर्जना गर्ने उनको योजना छ ।

कृषि क्षेत्रलाई सुदृढ बनाउन किसानलाई बजार सुनिश्चितता, आधुनिक प्रविधिको प्रयोग र सहकारी सशक्तीकरण आवश्यक रहेको उनको धारणा छ । त्यसैगरी खुला सीमाका कारण बढ्दै गएको लागुऔषध समस्या नियन्त्रणका लागि कडा नीतिगत पहल, युवालाई सचेतना तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले प्रतिबद्धता जनाएका थिए । अब त्यी सबै योजना सफल बनाउन कैलाली ४ का जनताले उनलाई चुनेका छन् ।

यससँगै पारदर्शी बजेट प्रणाली र जनप्रतिनिधिको प्रत्यक्ष जवाफदेहिता सुनिश्चित गर्दै सुशासन प्रवर्द्धन गर्ने उनका प्रतिबद्धता कसरी पुरा हुन्छन् त्यो समयले नै देखाउला । तर शिक्षा, सामाजिक सेवा र स्थानीय विकासका क्षेत्रमा लामो अनुभव सँगालेका कोइरालाले अब संघीय संसदमा कैलाली–४ का जनताको अपेक्षा सम्बोधन गर्ने मतदाताले विश्वास लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस