बंगलादेशमा नयाँ प्रधानमन्त्रीको शपथ: नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुँदै

द एभरेष्ट पोष्ट
४ फागुन २०८२ १७:०६
बंगलादेशमा नयाँ प्रधानमन्त्रीको शपथ: नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुँदै

काठमाडौं । बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री बालानन्द शर्मा आइतबार ढाका जाँदैछन्।बङ्गलादेशमा हालै सम्पन्न आमनिर्वाचनपछि गठन हुन लागेको नयाँ सरकारको  स्वागत र द्विपक्षीय सम्बन्ध नवीकरणका लागि उनी त्यसतर्फ जान लागेका हुन्।

पछिल्लो समय नेपाल र बङ्गलादेशबीच ऊर्जा व्यापारको विषयले निकै प्राथमिकता पाएको छ। नेपालबाट ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने ऐतिहासिक सम्झौता कार्यान्वयनको चरणमा रहेका बेला यो उच्चस्तरीय भ्रमण हुन लागेको हो।

हालै भएको निर्वाचनबाट तारिक रहमान नेतृत्वको बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले दुई तिहाइभन्दा बढी सिटसहित ऐतिहासिक जित हासिल गरेको थियो। रहमान प्रधानमन्त्री हुँदैछन्।

परराष्ट्रका अनुसार मन्त्री शर्माले ढाकामा रहँदा नवनिर्वाचित प्रधानमन्त्री र विदेशमन्त्रीसँग संक्षिप्त शिष्टाचार भेट गरी डेडिकेटेड ट्रान्समिटर लाइन र जलविद्युतमा लगानीका विषयमा समेत कुराकानी पनि गर्नेछन्।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार भ्रमण दलमा परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका वरिष्ठ अधिकारीहरू समेत छन्। मन्त्री शर्मा फागुन ७ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

नेपालले बङ्गलादेशसँग बिमिस्टेक र सार्क जस्ता क्षेत्रीय मञ्चहरूमा पनि निकट रहेर काम गर्दै आएको छ। काठमाडौँ र ढाकाबीच सिधा हवाई सम्पर्क र बङ्गलादेशको चटगाउँ तथा मोङ्ला बन्दरगाहको प्रयोगका विषयमा विगतदेखि नै छलफल भइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस