पूर्वमिस्टर नेपाल उपाध्यायले अछाम २ बाट चुनाव लड्ने

द एभरेष्ट पोष्ट
२७ पुष २०८२ २१:०९
पूर्वमिस्टर नेपाल उपाध्यायले अछाम २ बाट चुनाव लड्ने

धनगढी, २७ पुष ।

पूर्वमिस्टर नेपाल तथा टिभी होस्ट सन्तोष उपाध्यायले अछाम २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरेका  छन् ।

नेपाली कांग्रेस अछामले प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस गरेका उपाध्यायले पार्टीबाट टिकट नपाए स्वतन्त्र उम्मेदवारको रुपमा भएपनि चुनाव लड्ने बताएका छन् ।

जेनजी आन्दोलनमा सरकारबाट भएको दमनको बिरोधमा नेविसंघबाट राजीनामा दिएका उपाध्यायले जेनजीको सुशासन, विकास र समृद्धिको मुद्दालाई सम्बोधन गर्न आवश्यक भएको बताए । उनले तिनै मुद्दा र मागको सम्बोधनका लागि आफूले चुनाव लड्ने निर्णयमा पुगेको बताए ।

अछाम जिल्ला घर भएका सन्तोष चिकित्सक हुन् । महाराजगञ्जको त्रिवि शिक्षण अस्पतामा छात्रवृतिमा नाम निकालेका सन्तोषले पढाइसँगै करारको २ वर्ष अछामको कमलबजार प्राथमिक स्वास्थ्यकेन्द्रमा सेवा दिएका थिए ।

उनी हावर्डबाट ‘लिडरसिफ इन मेडिसिन’ विषयमा स्नातकोत्तर गरेर नेपाल फर्किएका हुन्। उनी सन् २०१९ का मिस्टर नेपालका विजेता समेत हुन् ।

सन् २०२१ मा पोल्याण्डमा भएको मिस्टर सुपरनेसनल प्रतियोगितामा तेस्रो रनर अप बन्न सफल भएका थिए । उनले कान्तिपुर टिभीमा गुड मर्निङ नेपालका टिभी होस्टको रुपमा समेत काम गरिसकेका छन् ।

देश बनाउनुपर्छ भन्ने लागेर आफू राजनीतिमा होमिन लागेको उनले बताए । सरकारले २१ फागुनलाई प्रतिनिधिसभा चुनावको मिति तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस