शाहब आलमले एनपिएलकै पहिलो ह्याट्रिक गरेसँगै काठमान्डु प्लेअफमा

द एभरेष्ट पोष्ट
१९ मंसिर २०८२ १५:४६
शाहब आलमले एनपिएलकै पहिलो ह्याट्रिक गरेसँगै काठमान्डु प्लेअफमा

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत स्पिनर शाहब आलमको उत्कृष्ट बलिङमा काठमान्डु गोर्खाज प्लेअफमा पुगेको छ। पोखरा एभेन्जर्समाथि १३ को जितसँगै काठमान्डु १० अंकसहित प्लेअफमा पुगेको छ।

काठमान्डुलाई प्लेअफमा पुर्‍याउने क्रममा स्पिनर शाहब आलमले अन्तिम ओभरमा ह्याट्रिकसहित ४ विकेट लिए। खेलमा उनले कुल ६ विकेट लिए। जारी सिजनको एकै खेलमा ६ विकेट लिने शाहब पहिलो बलर बन्न पुगे।

यता हारसँगै अन्तिम खेलअघि ४ अंक जोडेको पोखरा लिग चरणबाटै बाहिरिने संघारमा पुगेको छ।

काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा १५२ रनमा अलआउट हुन पुग्यो।

पोखराको सुरुवात राम्रो हुन सकेन। उसका ओपनिङ ब्याटर एडम रोसिङटन ५ रनमा सनी पटेलबाट बोल्ड भए।

दोस्रो ओभरमा रोसिङटनलाई गुमाएको पोखराका जासन रोय पाँचौ ओभरमा शाहब अलामबाट १६ रनमा बोल्ड भए। उनले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे।  सातौं ओभरमा तृतराज दास ९ रनमा सनी पटेलको एलबिडब्लूको धरापमा परे।

कप्तान कुशल भुर्तेल २२ रनमा आउट भएपछि पोखरा दबाबमा आयो। त्यसपछि धनञ्जय लक्षन र ऋषी धवनबीच छैटौं ‌विकेटका लागि ७६ रनको साझेदारी हुँदा पोखराको आशा बढ्यो।

धनञ्जय १७ बलमा १ चौका र १ छक्काको मद्दतमा ३० रनमा आउट भए।

लक्षनलाई करणले केसीले आउट गरेपछि अर्को ओभरमा किरण ठगुन्नालाई शाहबले मिलिन्द कुमारबाट ५ रनमा आउट गरे।

 

पोखराका लागि अन्तिम दुई ओभरमा २५ रन चाहिएको स्थितिमा काठमाडौंका करण केसीले १९औं ओभरको पहिलो तीन बलमा एक रन मात्र दिए। पोखराका सन्दीप क्षेत्रीले करणको बलिङमा ब्याटिङ गर्न संघर्ष गरेका थिए। त्यसपछि वाइड हुँदा चौथो बलमा धवनले दुई रन लिए। पाँचौ बल डट भयो। छैटौं बलमा एक रन लिए धवनले।

आलामको ह्याट्रिक

अन्तिम ओभरमा काठमान्डुका शाहब आलम बलिङमा आए भने पोखरालाई जितका लागि २० रन चाहिएको थियो। पहिलो बलमा धवन ५४ रनमा आउट हुन पुगे। धवनले ३१ बलमा ३ चौका र २ छक्का प्रहार गरे। उनी अन्तिम ओभरको पहिलो बलमा आउट भएसँगै पोखराको आशा सकियो। धनवलाई शाहबले मिलिन्द कुमारबाट क्याच गराए।

दोस्रो बलमा उनले विपिन खत्रीलाई जोन सिमसनबाट स्टमपिन गराए भने तेस्रो बलमा आकाश चन्दलाई मिलिन्द कुमारबाट क्याच गराउँदै एनपिएलकै पहिलो ह्याट्रिक लिए। यस्तै उनले अन्तिम बलमा सागर ढकाललाई पनि करण केसीबाट क्याच गराएर एकै ओभरमा चार विकेट लिए। उनले कुल ६ विकेट लिँदा २५ रन मात्र दिए। उनले १२ बल डट फ्याँक्दा १ चौका र १ छक्का दिए।

काठमाडौंका लागि दुई ब्याटरको अर्धशतक

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन बनायो। काठमाडौंले पछिल्लो पाँच ओभरमा ६६ रन बनाएको थियो।

चार्ल्सवर्थले ५५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाए।

यस्तै भीम सार्कीले १९ बलमै अर्धशतक पूरा गर्दा काठमान्डुको स्कोरबोर्डले गति लियो। अन्तिम ओभरमा आउट हुनुअघि उनले २२ बल खेलेर ५ चौका र ४ छक्काको मद्दतमा ५५ रन बनाए।

चार्ल्सवर्थ र भीमबीच छैटौं विकेटका लागि ८४ रनको साझेदारी भयो।

त्यसअघि ओपनर आकाश त्रिपाठी शून्यमा पोखराका धनञ्जय लक्षनबाट बोल्ड भए। रशिद खान ७ रनमा आउट भए भने  मिलिन्द कुमारले १३ रन जोड्न सके। जोन सिमसन २ रन र आदिल अन्सारी ७ रनमा पेभिलियन फर्के।

बलिङमा पोखराका धनञ्जयले ४ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा १६ रन मात्र दिए। कप्तान कुशल भुर्तेलले २ विकेट लिए भने विपिन खत्री र किरण ठगुन्नाले १-१ विकेट हात पारे।

काठमान्डु गोर्खाज
करण केसी (कप्तान), शहाब अलाम, भीम सार्की, रशिद खान, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल अन्सारी, वेन चार्ल्सवेथ, मिलिन्द कुमार, सनी पटेल, जोन सिमसन।

पोखरा एभेन्जर्स
कुशल भुर्तेल (कप्तान), सन्दीप केसी, किरण ठगुन्ना, सागर ढकाल, तृतराज दास, आकाश चन्द,  विपिन खत्री, ऋषि धवन, एडम रोसिङटन (विकेटकिपर), धनञ्जय लक्षन्, जासन रोय।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस