भीम र बेनको अर्धशतकमा काठमाडौंले पोखरालाई दियो १६६ रनको लक्ष्य

द एभरेष्ट पोष्ट
१९ मंसिर २०८२ १३:५४
भीम र बेनको अर्धशतकमा काठमाडौंले पोखरालाई दियो १६६ रनको लक्ष्य

काठमाडौं । काठमाण्डु गोर्खाजले त्रिवि क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई १ सय ६६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको उसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६५ रन बनायो । उसका लागि भीम सार्कीले कीर्तिमानी अर्धशतक बनाए । उनले २३ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ५५ रन बनाए ।

सार्कीले आज १९ बलमै अर्धशतक बनाए । योसँगै उनको जारी सिजनमा नेपाली ब्याटरको तर्फबाट सर्वाधिक छिटो अर्धशतक बनाउने ब्याटरको उपलब्धि हासिल गरेका छन् ।

विदेशी खेलाडीको रूपमा हरिमत सिंहले यही सिजनमा १९ बलमा अर्धशतक पूरा गरेका थिए ।

त्यस्तै, आज बेन चार्ल्सवर्थले पनि अर्धशतकीय पारी खेले । ५५ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्काको मद्दतमा ६४ रनको पारी खेलेका हुन् । यस्तै, मिलिन्द कुमारले १३ रन जोडे ।

पोखराका लागि बलिङमा धनञ्जय लक्ष्मणले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १६ रन खर्चिएर चार विकेट लिए । त्यस्तै, विपिन खत्रीले दुई, किरण ठगुन्ना तथा कप्तान कुशल भुर्तेलले एक/एक विकेट हात पारे ।

जारी लिगमा काठमाण्डुको यो अन्तिम खेल हो । ऊ आजको खेल जितेमा १० अंकका साथ सिधै प्लेअफमा प्रवेश गर्नेछ ।

त्यस्तै, सिजनको छैटौँ खेल खेलिरहेको पोखराका लागि पनि यो म्याच महत्वपूर्ण छ । आजको खेल गुमाए उसलाई प्लेअफमा पग्न कठिन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस