राजीनामा दिएका नेताबारे सीके राउतले भने: उहाँहरूको निर्णय स्वागतयोग्य छ

द एभरेष्ट पोष्ट
२ असोज २०८२ १३:१४
राजीनामा दिएका नेताबारे सीके राउतले भने: उहाँहरूको निर्णय स्वागतयोग्य छ

काठ्माण्डौँ- जनमत पार्टीका अध्यक्ष सीके राउतले वरिष्ठ उपाध्यक्ष अब्दुलखानसहित ६ नेताले दिएको सामूहिक राजीनामा स्वागतयोग्य भएको बताएका छन्।

नेपालखबरसँग कुरा गर्दै अध्यक्ष राउतले किन पार्टी छोडेको भन्ने जानकारी थाहा नभए पनि उनीहरूको निर्णयको सम्मान गर्दै स्वागत गरिएको बताएका हुन्।

‘६ नेताले दिएको राजीनामा पत्र म कहाँ आइसकेको छ,’ उनले नेपालखबरसँग भने, ‘उहाँहरूको व्यक्तिगत निर्णय हो मैले सम्मान गर्दै स्वागतयोग्य ठानेको छु।’

उनले अब बस्ने केन्द्रीय समिति बैठकले ती नेताको राजीनामा स्वीकृत गर्ने पनि बताए।

नेतृत्व परिवर्तनको माग पूरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सीके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदुरपश्चिम प्रदेश) राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका हुन्।

राजीनामा दिनेहरूले बुधबारमात्रै २४ घण्टाको अल्टिमेटमसहित राउतलाई पार्टी नेतृत्व छोड्न भनेका थिए। राउतले नेतृत्व नछोड्ने भएपछि उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस