संकट टार्न एमाले नेता भट्टराईले पेस गरे १० बुँदे सुझाव, भने– नेपाल बचाऔँ

द एभरेष्ट पोष्ट
२५ भदौ २०८२ १२:४२
संकट टार्न एमाले नेता भट्टराईले पेस गरे १० बुँदे सुझाव, भने– नेपाल बचाऔँ

काठ्माण्डौँ- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले देश इतिहासकै गम्भीर संकटमा परेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको ‘स्टाटस’मा उनले मुलुक र समाज भयानक अस्थिरतामा रहेको बताउँदै सबैलाई संयमित र विवेकपूर्ण ढंगले अघि बढ्न आग्रह गरेका छन् ।

भट्टराईले उत्तेजनामा लिएर गरिने निर्णयले सही मार्ग नदिने चेतावनी दिँदै पार्टीभित्र आत्मालोचना, कमजोरीको समीक्षा र संगठनलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले पार्टी एकता, पारदर्शिता र लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउन जोड दिएका छन् ।

उनले जनतासँग निरन्तर सम्पर्कमा रहनु, उनीहरूको आवाज सुन्नु र त्यसअनुसार निर्णय लिनु अहिलेको मूल आवश्यकता भएको बताएका छन् । साथै, लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता र कानुनको शासनलाई पार्टीले आधारभूत मूल्यका रूपमा अंगिकार गर्नुपर्ने धारणा राखेका छन् ।

भट्टराईले सबै जाति, भाषा, संस्कृतिबीचको एकतालाई बलियो बनाउन र खरानीबाट उठेर देशको पुनर्निर्माण गर्न आह्वान गरेका छन् । उनले भ्रष्टाचार र बेथिती अन्त्य गर्ने जेन–जी समूहका मागलाई समर्थन गर्ने समेत स्पष्ट पारेका छन् ।

उनले अहिलेको संकट टार्न १० बुँदे सुझाव पेस गरेका छन्:

१. विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरौँ, हामीबाट भएका कमजोरीको समीक्षा गरौँ । गल्तीप्रति आत्मालोचित होऔँ ।

२. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौँ । यो काम होसियारीपूर्वक गरौँ, जसले हाम्रो पार्टी एकता कायम गरोस् ।

३. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागिता सुनिश्चित गरौँ ।

४. पार्टीका आन्तरिका प्रक्रियाहरूलाई पूर्णत: पारदर्शी र लोकतान्त्रिक बनाऔँ ।

५. जनतामा जाऔँ, जनतालाई सुनौँ र त्यसअनुसार निर्णय गरौँ ।

६. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानुनको शासन यो जवजको आत्मा हो, यसबाट दायाँ–बाँया नजाऔँ ।

७. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसँगको समन्वयबाट यो काम समपन्न गर्ने अठोट गरौँ ।

८. हिमाल, पहाड, तराई, सबै जात, जाति र भाषा, भाषीबीचको एकतालाई बलियो बनाऔँ ।

९. देशभित्रको आन्तरिक सहमति अनि संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्दछ । विश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नुपर्दछ । यही आधारमा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरौँ ।

१०. जेन–जी समूहले अघि सारेका भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस